“मान्छे जन्मले होइन कर्मले ब्राह्मण हुन सक्नु पर्छ ।” – सन्त ज्ञानदिल दास

यतिखेर म शान्त स्थिर चित्तमा छु । अधीरता छैन, खल्बली छैन, असन्तुष्टि छैन । द्वेष पनि छैन । विशुद्ध आत्मा एउटा ज्योति समान प्रदीप्त छ । कस्तो अनौठो अनुभूति ! बोध गर्दै छु प्रकाशयुक्त आत्मालाई मनले कसरी छोपेको हुँदो रहेछ ? त्यसरी नछोप्दो हो मानिस अकारण हर्षित भइरहने थियो । शान्त हुने थियो, अविचलित हुने थियो ।

एउटा दुर्लभ संयोग नै भन्नु पर्छ यस्तो बोध प्राप्तिको क्षण । म विश्वस्त छु यो बोध केही निमेष पनि टिक्नेछैन । किनकि यो आत्मालाई मन, बुद्धि र विचारले फेरि पुरिसकेको हुनेछ ।
बेला बेला आफूलाई सजग बनाउन, सत् मार्गमा लगाउन, ब्रह्मचित्तमा एकाग्र हुन महात्मा, सिद्ध पुरुषहरूको संगत, उनीहरूको अध्ययन अत्यन्तै आवश्यक हुँदोरहेछ । मेरो अघिल्लो पठन वीरेन्द थोक्लिहाङ ‘वीरेनजी’ कृत फाल्गुनन्द थियो—जीवनीपरक आख्यान । परम्पराको सुधारद्वारा जातीय उत्थान गराउने समाज सुधारक, साधुसन्त, महापुरुषलाई पढ्दा म अभिभूत भएकी थिएँ ।

त्यसको लगत्तै सन्त ज्ञानदिल दास पढ्दैछु—खोज अनुसन्धानपरक जीवनी । महामानव, महान् समाज सुधारकप्रति श्रद्धाले शिर झुक्यो । अन्तस्करणदेखि नै नमन गरेँ ।

धन्य छ त्यो पूर्वेली भूमि जसले यस्ता अद्भूत व्यक्तित्वलाई जन्मायो । समचेतनाले निर्देशित दिव्य पुरुष । सन्त ज्ञानदिल दासको देहावसान भएको दुई वर्षपछि महागुरु फाल्गुनन्द जन्मिएका थिए । दिल दासको क्षतिपूर्ति स्वरूप शायद उनको जन्म भएको थियो । एकपछि अर्का दिव्य पुरुषको जन्म लगातार किन त्यहीँ हुन्छ ? हुन सक्छ त्यो भूमिले एउटा तपस्या गरेको थियो, युग नायकलाई जन्माउन ।

यी दुई प्रतापी पुरुषको अध्ययनपश्चात् सोच्दैछु, साधारण मानव र उनीहरूका बीच कुन तत्त्वले फरक गरेको होला ? उनीहरू जस्तै हामी हुन किन सक्दैनौँ ? अनि किन सक्दैनन् उनीहरू हामी जस्तै हुन ?

समय समयमा युगले क्रान्ति चाहिरहेको हुन्छ । अनि योद्धाहरू उसैले छनोट गरेको हुन्छ, शायद । आफूले चाहँदैमा योद्धा नभइने कुरामा म निश्चित छु, हजारौँ कबीरहरू नत्र जन्मिन सक्थे । कन्फ्युसियस, मार्टिनलुथर, सुकरातहरू जन्मिने थिए । तर जन्मिँदैनन् ।

एउटा किंवदन्ती बनिसकेका सन्त ज्ञानदिल दास (१८७८—१९४०) लाई अघिका दिनमा मैले उदयलहरीका सर्जक भनेर चिनेकी थिएँ । निर्गुण भक्ति धाराका एक कवि भनेर जान्दथेँ । एक साधारण मानिसको रूपमा लिएकी थिएँ । तर होइन जति बुझेर पनि बुझ्न बाँकी नै रहने उनको दैविक व्यक्तित्व अगम रहेछ ।

ज्ञानदिल दास जोसमनी सन्त परम्पराका एक प्रभावक अनुयायी हुन् । उनको प्रभुत्वमा जोसमनी परम्परा अझ सशक्त भएको थियो । जातिवादको विरोध र मानवतावादको आह्वान गर्ने, विकृत परम्पराको विरुद्ध नव चेतनाको पक्षमा बोल्ने यो एउटा समाज सुधारवादी सम्प्रदाय हो । अष्ठसिद्धि प्राप्त स्वामी शशिधर नै यस सम्प्रदायका आदिगुरु थिए भनिएको छ ।

प्रथमतः सिक्किमका साहित्यिक स्रष्टा पत्रकार वीरभद्र कार्कीढोलीलाई हार्दिक शुभकामना दिन चाहन्छु । उनी प्रखर साहित्यकार हुन् । समालोचक हुन् । बहु विशेषित छ—त्यो सक्रिय व्यक्तित्व । अनुवादक, सम्पादक कार्कीढोलीलाई सम्झिनु पर्दा म प्रक्रिया (सिक्किमको चर्चित लोकप्रिय साहित्यिक पत्रिका) को निकट पुग्छु । उनी त्यस पत्रिकाका सम्पादक हुन् । समर्पित संरक्षक र संवद्धक पनि हुन् । केही समय अगाडि प्रक्रिया अन्तर्राष्ट्रिय स्वर्ण विशेषाङ्क—२०२१ पढेर म एकदमै प्रभावित भएकी थिएँ ।

त्यसैले आकृष्ट भएर फेरि कार्कीढोलीलाई पढ्दैछु अर्थात् उनको कर्मलाई पच्छ्याउँदैछु । एउटा शोध कर्ता, कुशल अन्वेषक कार्कीढोलीले तयार पारेको सन्त ज्ञानदिल दास अध्ययन ग्रन्थले यतिखेर मेरो ध्यान खिचेको छ ।

ज्ञानदिल दास

अन्वेषक कार्कीढोलीबाट यो ठूलो काम भएको छ । महत्त्वपूर्ण काम भएको छ । अप्राप्य उपलब्धि उनलाई मिलेको छ । नेपाली भाषा साहित्यलाई मिलेको छ । भोलिका दिनमा आउने खोज अन्वेषकलाई मिलेको छ । उनको खोज अनुसन्धान, लेखन, सम्पादनमा ३२८ पृष्ठको बृहत ग्रन्थ—जसमा एउटा सिङ्गो सन्त ज्ञानदिल दासको आकृति बनिएको छ । त्यस्तै तत्कालीन समयको सामाजिक, राजनैतिक वातावरणको पनि गहिरो अध्ययन भएको छ ।

सिद्ध पुरुष ज्ञानदिल दास विषय शोध कार्य अत्यन्तै कठिन कुरा हो । लिखित सामग्री अभाव र शोध नायक नै किंवदन्ती भइसकेका बेला उनका विषयमा सत्य, तथ्य प्रमाण जुटाउनु एउटा दुसाध्य प्रयत्न भएको छ ।

दुई वर्षको निरन्तर लगनशीलतामा उक्त ग्रन्थ एउटा निष्कर्षमा पुगेको छ—सन्त पुरुष ज्ञानदिल दास एक धार्मिक नेता हुन् । युग नायक हुन् । क्रान्तिकारी युग चेतक हुन् । अलौकिक शक्ति सम्पन्न सिद्धमुनि तथा दिव्य पुरुष हुन् । महान समाज सुधारक हुन् । नलेखिएका एक इतिहास पुरुष हुन् । लोक उद्धारक हुन् ।

सिक्किमका मुख्य मन्त्री प्रेम सिंह तामाङ (गोले) स्वयं एक सशक्त सर्जक हुन्—क्रान्तिकारी सर्जक । नेपाली भाषा साहित्यलाई सबल बनाउन त्यहाँ थुप्रै स्रष्टा कलाकार लागिपरेका छन् । त्यसै मध्येका जुझारु कार्कीढोलीले आजसम्म ठोस, प्रमाणिक तथ्यपरक खोज कार्य नभएको विषयलाई धेरै थोकबाट विवाद मुक्त बनाएका छन् । सत्य अझै आउन बाँकी छ । यो नै अन्तिम कार्य भने होइन । किनकि यस्तो जटिल विषयलाई एउटै अनुसन्धानले मात्र पुग्दैन ।

सन्त ज्ञानदिल दास अध्ययन ग्रन्थले ज्ञानदिल दास सम्बन्धी मात्र नभई नेपाली साहित्यमा जोसमनी सन्त परम्परा र प्राथमिककालीन धार्मिक कविता काव्यको अध्ययन अनुसन्धानको लागि पनि मार्ग प्रशस्त गरेको छ । यो एउटा अत्यन्तै महत्त्वपूर्ण शोध र आगामी दिनको लागि अर्को शोध सामग्री बनेको छ ।

नेपाली भाषा साहित्यको चुलढुङ्गामा एउटा खुट्टा भारतीय नेपालीहरूले थामेका छन् । त्यसो त वर्तमान विश्वमा, नेपाली डायास्पोरिक भूमिका साहित्यकारहरू एकसाथ जुर्मुराएका छन् । यद्यपि त्यहाँ स्थिरता छैन । जति स्थिरता भारतीय नेपाली साहित्यमा देखिन्छ । आदिकवि भानुभक्तप्रतिको श्रद्धा र समर्पण, सन्त ज्ञानदिल दासको महत्त्व उहीँ बढी छ, नेपालमा त्यति छैन । आस्थाले ती उतै पुजिएका छन् । कार्कीढोलीको अनुसन्धान र सम्पादनमा सन्त ज्ञानदिल दास अध्ययन ग्रन्थ त्यसैको एउटा श्रेष्ठ नमूना हो ।

नेपाल, भारत—दार्जीलिङ र सिक्किमका विशिष्ट कवि, स्रष्टा, समालोचक, अनुसन्धाता र इतिहासकारका ५० वटा लेख रचना समावेश गरिएको प्रस्तुत ग्रन्थमा १२ वटा आलेखहरू स्वयं शोधकर्ताका छन् । जुन स्थलगत भ्रमणबाट प्राप्त सूचना, अन्तर्वार्ता, लोक संवाद, अन्तक्रियात्मक कार्यक्रमसँग सम्बन्धित रहेका छन् । तिनै सामग्री र इतिहासका कुरालाई तौलिएर लेखिएका विश्लेषणात्मक लेख छन् । ती वस्तुगत र सत्यको निकट छन् । आग्रह अनुग्रहदेखि टाढा छन् । ज्ञानदिल दासले भोग गरेका भूमिका प्रत्यक्ष श्रुतिस्मृतिहरू छन् । त्यस किसिमले ग्रन्थको अघिल्लो भाग विशेष उल्लेख्य छ ।

बाँकी ३८ वटा लेखमध्ये प्रायः जसो प्रभावपरक र अन्दाजमा लेखिएका छन् । आ–आफ्नै लेखकीय मत रहेका छन् । त्यही अनुसार ज्ञानदिल दासलाई अर्थ्याइएका छन् । तथ्यमा एकरूपता पाइँदैन । केही मतभेदहरू छन् । लिखित इतिहास नहुँदा श्रुतिस्मृतिमा थप्दै घटाउँदै लगिएका जानकारीहरू छन् । यद्यपि कुरा त्यति मात्रै होइन । तत्कालीन समाजको इतिहासबाट प्राप्त सत्य तथ्य पनि छन् । इतिहासकारले पुनः पुनः खोजिगरेका अनुमानहरू छन् ।

स्वयं ज्ञानदिल दासका रचनाहरू छन् । उनका बारेमा पछिका सन्तहरूले बताएका कुरा छन् । सन्त ज्ञानदिल दासको व्यक्तित्व र कृतित्वमा गरिएका विश्लेषणहरू छन् । तत्कालीन समयको सामाजिक, राजनैतिक अवस्थालाई केन्द्रमा राखेर शोध नायकका युग परिवर्तनकारी धारणाहरूको व्याख्या र मतमतान्तरहरू छन् । केही खोज अनुसन्धानका सार्थक टिप्पणीहरू छन् ।

अघि पनि ज्ञानदिल दास विषयमा केही काम त हुँदै आएका थिए । यद्यपि व्यापक थिएन । स्थलगत निरीक्षण कम्ती थियो । त्यस्तै अनेक अन्योलता थियो । त्यसो त सन्त ज्ञानदिल दास अध्ययन ग्रन्थ पनि अन्तिम खोज त होइन नै । अझै खोज अनुसन्धान हुन जरुरी छ । त्यतिखेर यो पुस्तक एउटा आधिकारिक स्रोत हुनेछ ।

सन्त जोसमनी सम्प्रदाय र ज्ञानदिल दास बारे बोल्ने आरम्भका अध्येता जनकलाल शर्माका अनुसार ज्ञानदिल दास इलाम जिल्लाको फिकल गाउँमा जन्मिएका भन्ने थियो । त्यसैलाई स्रोत बनाएर धेरैले फिकल नै हो भने । शोध पनि त्यही तथ्यमा गरियो । लामो समयदेखि ज्ञानदिल दासमाथि अध्ययन गरेका डा. स्वामी प्रपन्नाचार्यले इलामको आमचोक गाउँमा उनी जन्मिएको तथ्य खुलाएपछि सत्य बदलिएको छ ।

आमचोक निवासी, ब्राह्मण परिवारका श्री कृष्ण लामिछाने, आज हामीले चिनेका ज्ञानदिल दासका रूपमा प्रतिष्ठित छन् । त्यस्तै उनको जन्म मिति पनि एकरूपको छैन । पछिल्लो अध्ययनले बताए अनुसार १८७८ मा उनी जन्मिएका हुन् भन्ने ठहरिएको छ । जनकलाल शर्माको अध्ययनमा पनि यही मिति रहेको छ ।

ज्ञानदिल दासको व्यक्तित्व बारे प्रस्तावनामा धेरै कुरा आइसकेको छ—महात्मा पुरुषप्रति प्रकाशकीय र सम्पादकीयको त्यो समर्पित भाव नमनीय छ । स्तुत्य छ । नेपालमा बरु सन्त ज्ञानदिल दासको त्यति चासो र चिन्ता लिइएको छैन जति सिक्किमले लिएको छ । यस घरी म आश्चर्यभूत छु—भानुभक्तको वास्तविक कदर उतै (भारत भूमिका नेपाली भाषीबीच) भएको छ जति कदर यता हुनु पर्ने थियो । तर भएको छैन । फेरि सन्त ज्ञानदिल दास ईश्वर समान उतै पुजिएका रहेछन् । उनको स्मृतिमा वार्षिक होम, हवन उहीँ हुन्छ । धाम र मूर्ति उहीँ पुजिन्छ । सन्त ज्ञानदिल दास अध्ययन ग्रन्थ पनि त्यस्तै एउटा समर्पित कर्म हो । पुनित कर्म ।

म फेरि अन्यमनस्क अवस्थामा हुन्छु । भाषा, साहित्य, संस्कृति र सम्पदाको मूल्य बोध गर्ने त्यो भूमि (भारत) नै विशेष हो कि ? या भारतीय नेपालीको चेतना स्तर महान् हो ? प्रश्न अनुत्तरित छ । नेपालको इतिहासमा मात्र नभएर भारतीय नेपालीहरूको लोकप्रिय व्यक्तित्व सन्त ज्ञानदिल दासको पछिल्लो जीवन, यदि नेपालभूमि तरेर पारि पुग्थेन भने, उनी आज यति विशेष हुने थिएनन् । दार्जीलिङ र सिक्किममा उनले अर्को इतिहास रचेका छन् जुन इतिहासले उनलाई प्रातः स्मरणीय बनाएको छ ।

सन्त ज्ञानदिल दास यता जन्मिनुको थोरै गौरवबोध पनि हामीले गर्न सकेका छैनौँ । अदृश्य जगत् र दैविक शक्तिप्रति हामी विश्वस्त हुन सक्दैनौँ । भौतिकता नै हामी सम्पूर्ण ठान्छौँ । त्यसैमा केही खोजिरहेका हुन्छौँ । किनकि हामी माथि उठ्न धेरै बाँकी छ, धेरै पर छ । असाधारण विषय हाम्रो खोजीमा त्यसैले पर्ने गरेका छैनन् ।

भारतभूमिका नेपाली भाषीको मनोविज्ञान विचित्रको लाग्छ । भाषा साहित्य, साधु सन्तको उपासना गर्नेहरू सप्पै उतै जन्मिएछन् क्यार ! प्रक्रिया अन्तर्राष्ट्रिय स्वर्ण विशेषाङ्क—२०२१, त्यस्तै सन्त ज्ञानदिल दास अध्ययन ग्रन्थ पढेपछि म यही अनुभूतिको शिखरमा छु ।

दार्जीलिङवासी अझ सिक्किमवासीहरू ज्ञानदिल दासलाई पाएर, आफूहरूलाई बडो भाग्यमानी सोचेका छन् । उनको समाधि छेउमै हुँदा गौरवान्वित छन् । आफ्नो प्रकाशनमा सिद्ध योगी ज्ञानदिल दासलाई छपाउन पाउँदा जयकुमार राई सौभाग्यको अनुभूतिमा भन्छन्, “यस्तो महसूस गरिरहेको छु कि जुन कार्य मबाट गरिन पाउनु, मप्रति ती महात्मा सन्तमुनिहरूका एक आशीर्वाद नै थियो कि, हुन सक्छ ।”

त्यो निस्वार्थ कर्म देख्दा म अवाक् हुन्छु । आकर्षक हार्ड कभर, गुणस्तरीय पेपरमा यति ठूलो ग्रन्थ अशुल्क छपाउने उनी अझ भन्छन्—”यो मेरो सौभाग्य हो ।” कत्रो पवित्र हृदयले ती लागेका छन् । साँच्चै भारतभूमि नेपाली भाषा साहित्य, कला, संस्कृतिका लागि विशिष्ट छ । ती वाङ्मयसेवी र उनीहरूका कर्मसँग थोरै भए पनि परिचित हुन पाउँदा मलाई बडो हर्ष लागेको छ ।

भारतीय नेपाली र जातीय भाषासँग सन्त ज्ञानदिल दासको विशेष अस्तित्व रहेको छ । उनको दुर्लभ जन्म विषयलाई लिएर कार्कीढोली भन्छन्, “यो नाम विश्वको अनेकौँ ती महान् सन्त पुरुषहरूका तुलनात्मक नाममा नेपाली जातिले बडो गर्वका साथ लिन सकिने नाम हो (पृ—२१)।”

ऊ महामानव हो भनी बुझ्न पनि महामानवकै एकांश शक्तिको जरुरत पर्छ । सबैले कहाँ श्रीखण्डलाई खुट्याउन सक्छन् ? प्रायः खुर्पाकै बिँड देख्नेहरू हुन्छन् । श्रीखण्ड आफैँमा अप्राप्य हुन्छ, त्यसलाई पहिचान गर्न सक्षम पनि अप्राप्य नै हुन्छन् । सन्त ज्ञानदिल दास अध्ययन ग्रन्थ यही उक्तिको एक दृष्टान्त हो । सम्पादक कार्कीढोली त्यही कोटीका एक बौद्धिक अन्वेषक हुन् ।

वास्तवमा सन्त ज्ञानदिल दासको कवितालाई लिएर हामी सम्झिने गर्छौँ । उनको सम्झना गर्दा मात्रै पनि शक्ति मिल्ने त्यो अलौकिक व्यक्तित्वको पहिचान हुन सकेको छैन । सम्पादकीयमा ज्यादै गहन कुरा भएका छन्, “अद्भुत शक्तिशाली सन्त ! अतः सन्त ज्ञानदिल दास विषय खोज अनुसन्धान हुनु गरिनु त्यस्तो सहज विषय होइन, छैन । उनी बारे एकेक थोकको एकेक विषय खोजको अनिवार्य विषय छ । एकै स्थानमा भेटिने सहज सन्त होइनन् अनि एकै विषयमा देखिने पनि होइनन् (पृ—२२) ।”

यही अभिव्यक्तिबाट पत्तो लाग्छ ज्ञानदिल दास कति गम्भीर विषयका छन् ।

ब्राह्मण परिवारमा जन्मिएका ज्ञानदिल दासले ब्राह्मणवादकै निन्दा गरेका छन्—”यो भन्दा ठूलो महानता के हुन्छ ? आफ्नै कमजोरीको विरोध गर्ने महामानव यस धर्तीमा शायदै जन्मिने गर्छन् ।”

जातीय भेदभाव र अछुत प्रथाको उनले अन्त्य चाहेका छन् । जुन कुरा तत्कालीन समाजलाई सह्य थिएन, स्वाभाविक थिएन । उनको पक्षमा उनकै गोलखलक पनि भएनन्, थिएनन् । मूर्तिपूजा, बलिपूजा, रुढ बन्दै गएको हिन्दू परम्परा तथा जड प्रथाप्रति उनको जति विमति थियो त्यति उनका विपक्षीहरू असन्तुष्ट थिए । उनको बहिष्कार गर्न आवश्यक देख्थे । तर पनि ज्ञानदिल दास गलेनन् । रुढ पक्षधरसँग निरन्तर सामना गरिरहे ।

त्यो अद्भुत क्षमतालाई गाउँ समाजले नचिन्नु बडो दुःख लाग्दो कुरा छ । हाम्रोमा ज्ञानदिल दासजस्ता महन्तको जन्म हुनु नै एउटा अभिशाप भएको छ । कुनै अदृश्य दण्डबाट उन्मोचित हुन नेपाली समाजमा उनको जन्म भएको थियो, शायद । उनीमाथिको त्यो उपेक्षा र अपहेलनाको कुनै आकलन छैन ।

समाजले नचिनेकै कारण उनले कैंयन् हन्डर खानु परेको छ, पुनः पुनः परीक्षित हुनु परेको छ । सँगै उता सन्त कबीरको महिमा कति व्यापक छ, “सन्त कबीर विषय जति ग्रन्थहरू तयार भएका छन्, त्यसको एकै भाग पनि तयार भएको पाइएको छैन, सन्त ज्ञानदिल दास विषय त्यस्तो पुस्तक” अन्वेषक कार्कीढोली विरक्तिको भावमा भन्छन्, “कति नीरस, उनीबारे जति हुनु पर्थ्याे, गरिनु पर्थ्याे त्यसको कति अंश भयो त खै—को प्रश्न खडा छ ऐले हाम्रो अघि । लाग्छ, उफ् हाम्रो जाति हाम्रो भाषी (पृ—२६, २७) ।”

जति महान् छन्, जति प्रबुद्ध छन् सन्त कबीर उनको तुलनामा कम छैनन् हाम्रा ज्ञानदिल दास तर किन ओझेलमा परेका छन् ?

‘यो रत्न हो’ भन्ने बोध नहुँदा हामी दरिद्र भइरहेका छौँ । द्रव्यको अभावमा ऊ दारिद्र्य हुने होइन जति दारिद्र्य उसको चेतनाको कारणले हुने गर्छ । विश्वसामु हामी उठ्न, परिचित हुन नसक्नुको कारण यही हो । हामीले आफ्नो गौरवलाई सधैँ उपेक्षा गरिरह्यौँ । अझ उनीहरूको जन्मलाई नै व्यर्थ देख्ने गर्छौं । कार्कीढोलीको अभिमत यस्तै छ, “धेरै साधु सन्तहरूका जन्म भए यस संसारमा । तर सन्त ज्ञानदिल दास मात्र यस्ता सन्त जन्मिए जसको जीवन संघर्षै संघर्षमा परीक्षै परीक्षामा बित्यो । लाग्छ यस्तो कि ज्ञानदिल दासलाई हामीले मात्रै यातना दियौँ, दण्ड दियौँ ।

अनेकौँ संघर्षहरूमा भुमार्यौं । त्यो दृश्य, दृष्टान्त मात्र हेर्यौं । तर उनलाई कहिले कहिले एकै पल पनि माया गरेनौँ । उनलाई सम्झनु बुझ्नु पर्ने अनेकौँ भागहरूमध्ये एकै भाग पनि बुझ्न खोजेनौँ, चाहेनौँ । उनलाई उनको कुन्नै आपत्ति घडी वा संघर्षमा अहँ किञ्चित शायद सघाएनौँ, सहयोग, सहानुभूति भाव किञ्चित राखेनौँ । उनको जीवन संघर्षका दन्किँदो आगोमा बरु हुनसक्छ तेल खनायौँ र उनलाई यस्तरी अनेक थोकमा एक्लो पार्यौँ । उनी एक्लो साधु सन्त भए । आखिर उनी पनि त मान्छे नै हुन्, यसरी हामी नै हुनसक्छ हाम्रा सन्त ज्ञानदिल दासलाई पूर्ण जिउनै नदिई मारिपठायौँ (पृ–२७)।”

आफ्नै देशमा आफ्नै जाति र भाषीमाझ यौटा साधु सन्त ज्ञानदिल दासले जस्तो चुनौतीको सामना गर्नु पर्यो त्यति कुनै देशमा कुनै साधु सन्तले गर्नु परेको उदाहरण फेला पर्न सकेको छैन, अहिलेसम्म । दीर्घ अनुसन्धानबाट प्राप्त निचोड हो यो, गवेषक कार्कीढोलीको ।

विलक्षण क्षमताका ज्ञानदिल दास योग, तप र ज्ञानले सिद्ध एक समाज सुधारक हुन् । सन्त श्यामदिल दासबाट दीक्षित एक होनाहार चेला । आध्यात्मिक पुरुष, जोसमनी सम्प्रदायका धर्म प्रचारक । जसको लोकहित कर्मबाट जङ्गबहादुर सशंकित हुन्छन् कतै आफैँमाथिको षडयन्त्र त होइन ? यही सन्देहले ज्ञानदिललाई हेरेका थिए ।

६ महिनाको नजरबन्दमा राखिएका सन्तलाई बुझेर, जङ्बहादुर निसन्देह हुन्छन्—ज्ञानदिल एक तपस्वी हुन् । सिद्ध महात्मा हुन् । विशुद्ध धार्मिक व्यक्तित्व हुन् । समानताको हिमायती हुन् । यति कुरा जानेका राणा प्रधानमन्त्रीले उनको अभियानलाई स्वतन्त्र छोडिदिन्छन्—सेतो झण्डा र नगरा उपहार सहित फुक्का गरिदिन्छन् । उनका भाइभारदार, रणोद्दीप समेत ज्ञानदिलका शिष्य बन्छन् ।

त्यस्तैमा एकदिन फेरि ब्राह्मणवाद, जातिप्रथा, कर्मकाण्डीय प्रवृत्तिको विरोधमा इलामका बडा हाकिम गजराज थापाले उनलाई थुनामा राख्छन् । उनको अभियानलाई प्रतिबन्ध गरिन्छ । धर्म प्रचार तथा जातभात विरोधी गतिविधि नगर्ने शर्तमा उनलाई छुटाइन्छ । यसरी स्थानीय अधिकारी र आमचोकवासीले उनलाई बहिष्कार गर्छन् ।

इलामको आमचोकबाट आरम्भ भएको यात्रा त्यसपछि ओखलढुङ्गाको रुम्जाटार हुँदै दार्जीलिङ अन्त्यमा सिक्किम पुगेर टुङ्गिन्छ । ६२ वर्षको लामो समय र यही व्यापक परिवेशभित्र ज्ञानदिल दासको सग्लो जीवनलाई लिएर अनेक मतमतान्तर राखिएका छन् । असाधारण घटनाहरू घटिरहन्छन् । एक व्यक्तिमाथि लेखिएका अनेक आलेखमा धेरै प्रसङ्गहरू आवृत्ति भएका छन् ।

सन्त ज्ञानदिल दासको जीवन व्यतीत भएका ठाउँहरू आमचोक, दार्जीलिङको रङ्बुल धामदेखि सिक्किमको गेलिङ धामको पुनः पुनः स्थलगत अध्ययनमा कार्कीढोली विस्मित हुन्छन् “जति हेर्यो उति विविध देखिने, भेटिने पाइने सन्त हुन ज्ञानदिल दास । उनको जन्मदेखि मृत्युसम्मकै जीवनलीला अति विचित्रको पाउँछौँ जतै पनि कतै पनि (पृ–२९)।”

सिद्धि प्राप्त पुरुष ज्ञानदिल दासको लागि असम्भव भन्ने कही थिएन । तिर्खा लाग्दा उनी पानीको मूल उब्जाउन सक्थे रे, ग्रामवासी अहिले पनि त्यही भन्छन् । आमचोकमा उनले नुहाउने गरेका जोरधारा, उनले ध्यान बसेका गुफाका केही तस्बिरहरू शोध ग्रन्थमा राखिएका छन् । उनी योग, ध्यानमा बस्दा ती जोरधारा समेत बग्न छोडेका प्रसङ्गहरू, त्रिशुल जपेर भुइँमा गाड्दा लटरम्म सुन्तला फलेको वृक्ष पैदा भएको सन्दर्भ विश्वास गर्नै मुश्किल पर्ने छन् । यद्यपि त्यो यथार्थ भएको बताउँछन् आमचोकवासी लालबहादुर दर्नाल, “ज्ञानदिलले त्रिशुल जपेर भुइँमा गाड्दा सन्तोला फलेको बोट निकालेर खान दिँदा मेरो बाजे भीमसेनले पनि खाएका थिएछन् (पृ—३८)।”

मानिसको मनभित्र उब्जिएको कुरा थाहा पाउने उनी अन्तर्यामी थिए भनिन्छ । दूरद्रष्टा थिए, अब घट्दै गरेका घटना उनी पहिल्यै थाहा पाउँथे । आफूलाई पक्रिन आएका सिपाही सामु चिम्टाले आफ्नो खप्पर फोरेर दुई फ्याक पारेका, जिउँदै आगोमा जलेर भस्म भई फेरि पूर्व रूपमै रहेका यस्ता अनौठा अनौठा किंवदन्ती जस्ता श्रुतिस्मृति घटनाहरू बताउँछन्—दधिराम लामिछाने एक अन्तर्वार्तामा ।

तपोबलले, योगबलले यस्तो अविश्वसनीय कुरा सम्भव भएको हुनुपर्छ । हाम्रा पूर्वीय धर्म ग्रन्थमा पनि छन् नि यस्तै आश्चर्यचकित पार्ने घटनाहरू । द्रौपदी मन्त्रयज्ञबाटै जन्मिएकी थिइन् । सीतामाता हलाको सियोमा उत्पन्न भएकी भन्छन् । त्यतिखेर यज्ञयज्ञादिबाट ठूला ठूला कामहरू बनिन्थे ।

सन्त ज्ञानदिल दास ध्यान बसेको चित्रे गुफामा अन्वेषक कार्कीढोली पुग्दा, त्यहाँका ज्ञानदिल दास संरक्षण समितिका सन्त उजेलसिंह राई र हर्कध्वज राईसित लिएको अन्तर्वार्तामा उनीहरू भन्छन्—ज्ञानदिल दास स्वरूपमा मात्र मानिस तर साक्षात् अवतार भएझैँ लाग्छ ।

पटक पटक अनुसन्धान कर्ताको उपस्थितिमा बल्ल आमचोक निवासीलाई ज्ञानदिल दासको महत्त्व बोध भएको छ । साँच्चै उनी खोजिका विषय रहेछन् भन्ने विश्वास परेको छ ।

त्यस्तै दार्जीलिङको रङबुल र सिक्किमको गेलिङ धामका संरक्षक सञ्चालकसित लिएका अन्तर्वार्ताले पुष्टि गरेका छन्—उनीहरूको आस्था र विश्वास कति ठूलो छ । ती सन्त ज्ञानदिल दासको पुकारा गर्छन् । भजन गाउँछन् । रङबुल र गेलिङ धामलाई ईश्वरीय पीठ समान लिन्छन् ।

ज्ञानदिल दासबारे सुरुको कलम चलाउने जनकलाल शर्माको ‘जोसमनी सन्त परम्परा र ज्ञानदिल दास’को प्रभाव अन्य धेरै आलेखहरूमा परेका छन् । आमचोकवासीका लेख रचनालाई शोध ग्रन्थमा पहिलो प्राथमिकता दिइएको छ । बालकृष्ण लामिछानेको ज्ञानदिल दासको समग्र जीवन र योगदानको अध्ययनमा मलाई एक किसिमको तृप्तिबोध हुन्छ । धन्य हो, उनले आमचोकको इज्जत राख्न सकेका छन्, प्रभावकारी लेखन मार्फत ।

खोजको सिलसिलामा ज्ञानदिल दासलाई अनेक दृष्टिकोणबाट हेर्न सकिन्छ—धार्मिक, आध्यात्मिक, सामाजिक, अलौकिक व्यक्तित्वको रूपमा । उनलाई प्रायः साहित्यिक वृत्तमा राखेर मूल्याङ्कन गरिएको छ । समाज परिवर्तकका दृष्टिले विश्लेषण भएको छ । नेपाली भाषा साहित्यले उनको अलौकिक क्षमतालाई खासै चासो दिएको छैन । उदयलहरी, झ्याउरे र टुङ्ना भजनमा उनको परिचर्चा बढी भएको छ । लाग्छ ज्ञानदिल दासको साहित्यिक व्यक्तित्व हुन्थेन भने उनीमाथिको विचारविमर्श कम्ती हुँदै जाने थियो । उनको सिद्धि प्राप्त दिनचर्याको स्मरण सुस्तरी हराउँदै जाने थियो । एवंरितले उनी विलुप्त हुँदै जाने थिए । तर साहित्यले त्यसो हुन दिएको छैन ।

निर्गुण भक्ति धाराका प्रारम्भिक कविका रूपमा उनको पहिचान गरिन्छ । उता दार्जीलिङ, साक्किमले उनलाई महामानव, साक्षात् ईश्वर, एक साधु सन्त, त्यागी पुरुषको रूपमा बढी सम्झिने गर्छन् । एउटा विडम्बना नै भन्नु पर्छ । उनको छविलाई बुझ्ने जिम्मेवारी किन दार्जीलिङ र सिक्किमले मात्रै लिन्छ ? त्यस समयको एउटा साधु तथा झ्याउरे भजन स्रष्टाका रूपमा हामीले किन सीमित गर्दैछौँ उनलाई ? त्यो अप्राप्य जीवनको अनुसन्धान किन गर्दैनौँ ? ‘यी महापुरुष हुन्’ भनी खुट्याउने क्षमता नहुँदा शायद हामी उदासीन छौँ ।

ज्ञानदिल दासबारे इतिहास मौन हुँदा खोज अनुसन्धान निकै जटिल छ । पुस्तान्तरित अनुश्रुतिहरू, स्थलगत सर्वेक्षण र तत्कालीन समयको सामाजिक र राजनैतिक पुष्ठभूमिमा सत्य तथ्य खोजिएका छन् । त्यसो हुँदा उनका विषयमा मतान्तर धेरै छन् । सन्त ज्ञानदिल दास अध्ययन ग्रन्थले तत्कालका विवादित विषयलाई एउटा टुङ्गोमा पुर्याएको छ ।

वि.सं. २०३८ मा नेपाल सरकारले प्रचलनमा ल्याएको हुलाक टिकटमा ज्ञानदिल दासको जन्म १८७८ भएको उल्लेख छ । त्यसैलाई प्रमाणिक जन्ममिति मान्दै आएका छौँ, बालकृष्ण लामिछाने त्यही भन्छन् । आमचोक निवासीका अन्य आलेखहरू पनि रहेका छन्—कृष्णप्रसाद लामिछानेको सन्त ज्ञानदिल बाल्य अवस्था, सुरेन्द्रप्रसाद लामिछानेको ‘महाप्रभु ज्ञानदिल दास’ सङ्क्षिप्त परिचय, कुमार पुलामी मगरको श्रीकृष्ण भएर जन्मिए, आमचोकमा सन्त ज्ञानदिल दास भएर उदाए नेपाली जगत्मालगायतका रचनामा तिनै कुरा आएका छन् । त्यति धेरै गम्भीरता छैन ।

यसले के पुष्टि हुन्छ भने ज्ञानदिल दास जन्मिएको भूमिमा अझै मिर्मिरे बिहान खसेको छैन, ब्यूँझिएका छैनन् आमचोकवासीहरू । आमचोकले ज्ञानदिल दास विषय गम्भीर अध्येता जन्माउन बाँकी नै रहेको छ । सत्य र अहिंसाका पक्षपाती, समाजलाई सुमार्गमा लैजान, मानवतावादी धर्मको स्थापना गर्नु नै ज्ञानदिल दासको हेतु थियो ।

धर्मको उद्देश्य मानवकल्याणमा प्रवृत्त हुनु हो भन्ने मान्यतालाई त्यस समाजले स्वीकार्न सक्दैन, जान्दैन । उल्टै उनी उपेक्षित हुनु परेको छ । परित्यक्त एक ज्ञानी पुरुष थिए उनी, “यो नयाँ मान्यतालाई समाजले तत्काल सहजरूपमा स्वीकार गर्न सकेन । तल्ला जातका भनिनेहरूलाई समेत चेला बनाएर सबै मानिस समान हुन्छन् भन्नुलाई बहुलठ्ठीपनको संज्ञा दिइयो । चेला बनाएर जोसमनी मतको प्रचार गर्न थालेपछि ज्ञानदिल दासलाई पनि बिग्रिएको मानिसको रूपमा हेर्न थालियो (पृ–८०)।”

क्रान्तिकारी, मानवतावादी त्यो सोच समयभन्दा निकै अघिको थियो । ज्ञानदिल दासले देखेको नवयुग अझ पनि आइसकेको छैन । दुई शताब्दी अघिको, उनको मान्यता रुढ समाजमा एउटा पागल विचारदेखि अरू के हुन सक्थ्यो ?
‘जोसमनी सन्त परम्परा र ज्ञानदिल दास’—जनकलाल शर्माको खोजमूलक आलेख धेरै दृष्टिकोणबाट महत्त्वपूर्ण रहेको छ । अघि नै भनिएको छ—ज्ञानदिल दास विषयका उनी आरम्भका अध्येता हुन्, अनुसन्धाता हुन्, द्रष्टा लेखक हुन् । फेरि पनि सन्दर्भ यहाँ दोहोरिन गएको छ, त्यो के भने उनको लेखलाई अधिकांशले आधार स्रोत बनाएर आफू अनुसारको मत राखेका छन् । शर्माको खोजमा तत्कालीन इतिहास व्यापक रहेको छ, अन्य लेख रचनाको तुलनामा ।

एक सन्त कविको रूपमा ज्ञानदिल दासलाई हेर्दा, उनी बाँचेको समयको राजनैतिक अध्ययन सँगसँगै आउँछ । राजनीति तथा समाजको इतिहास बेगर उनको खोजी अन्वेषण अधुरै रहने छ । ज्ञानदिलको उद्देश्य परमार्थ साधनको निम्ति मात्र थिएन, समाजको निम्ति ज्यादा थियो । राजा र राजनीतिबाट निराश्रित समाजलाई एक आश्रय पनि दिनु थियो शर्मा भन्छन्, “राजनीतिज्ञहरू राजनैतिक मैदानमा द्वन्द्व मचाइरहेका थिए, पुरोहितहरू आफ्नो क्षेत्रमा । अपठित समाज शोषित, पीडित र निन्द्य अवस्थामा समाजमा आफ्नो कुनै हिस्सा नभए झैँ जीवन गुजारिरहेका थिए । समाजको वास्ता नभएको केवल स्वात्मासाधक सन्त भएको भए ज्ञानदिल दासप्रति त्यसको प्रभाव पर्ने थिएन । तर उनी सामाजिक प्रयोजन भएका सन्त थिए (पृ–१२२)।”

समयका माग थिए ज्ञानदिल दास । एक साहसिक, तार्किक, बौद्धिक थिए उनी । अन्याय अत्याचार व्याप्त युगको विस्थापन गरी, सत् धर्म स्थापनाको उनले आह्वान गरेका थिए । धर्मको नाउँमा भ्रष्टाचार आउन थालिसकेको थियो, शर्मा उनको मूल्यपूर्ण उपस्थितिलाई विशेष ध्यान दिँदै फेरि भन्छन्—जोसमनी सम्प्रदाय मठाधीश गुरुहरूको पैसा कमाउने साधन बनिसकेको थियो । त्यस अवस्थितिमा ज्ञानदिल जस्तो महात्मा पुरुषको त्यस समाजमा जरुरत अत्यन्तै थियो ।

निरङ्कुश शासक जङ्गबहादुर समेत अभीभूत भएका थिए ज्ञानदिल दासको योग तपमा । जङ्बहादुरले केही बिर्ता माग्न अनुरोध गर्दा त्यागी पुरुष दिलदास त्यस अनुरोधको अस्वीकारमा भन्छन्, “मजस्ता फकीरका लागि बिर्ताको कुनै आवश्यकता छैन, साधुका निम्ति सबै संसार नै बिर्ता हो (पृ–११३)।”

उसो भए तपाईं के सेवा गर्न सक्छु ? शासकको विनम्रतामा उनी भन्छन्, ‘म नेपाल राज्यभरि जोसमनी मतको विर्बिघ्न प्रचार गर्न पाऊँ ।’

डा. स्वामी प्रपन्नाचार्यको ‘मुनि सम्प्रदायबाट जोसमनी र सन्त ज्ञानदिल दास’ अनुसन्धानमूलक आलेख अन्य बुद्धिजीविको भन्दा केही तथ्य, केही मतले फरक रहेको छ । ज्ञानदिल दासको जन्म इलामको आमचोकमा भएको तथ्य उनैले पत्ता लगाएका थिए । जोसमनी सन्त परम्पराको फेददेखिकै इतिहास उनको आलेखमा प्रस्तुत गरिएको छ । उनी यसै सम्प्रदायको हुँदा उनका कुरा अझ बढी तथ्यपूर्ण लाग्छन्, ज्ञानदिल दास विषयमा उनको गहिरो अध्ययन छ ।

जोसमनी सम्प्रदाय कर्मकाण्डी विरोधी होइन प्रपन्नाचार्यको एउटा भिन्न मत रहेको छ, “धेरै जसोको भनाइ छ कि, जोसमनीहरू कर्मकाण्ड विरोधी हुन् । तर अध्ययन नगर्ने र उनीहरूसँग सङ्गत नगर्नेहरूको भनाइ हुन् यी । यदि जोसमनी सम्प्रदाय कर्मकाण्ड विरोधी हुन् भने; स्वयं कर्मकाण्ड किन गर्छन् त ? वस्तुस्थितिमा वैदिक हिन्दू धर्ममा हुने कर्मकाण्डहरूमा आएका अथवा विकृत रूपमा देखा परेका विसङ्गतीहरूका विरोधी थिए … (पृ–१२९)।”

भनेपछि ज्ञानदिल दास कर्मकाण्डको विसङ्गत बाढ रोक्न प्रयासरत थिए, यद्यपि विरोधी होइनन् । उनका चुनौतीहरू रुम्जाटारबाट रङ्बुल धाम सँगै गएका थिए । उनको समुन्नत समाज निर्माणको अभियान कायमै थियो, सक्रिय थियो । त्यस्तै दार्जीलिङमा अङ्ग्रेज शासक पनि यथावतै थियो । क्रिश्चियन धर्ममा ज्ञानदिलको उपस्थितिले बाधा गरेको हुनुपर्छ निश्चय । रङ्बुल धामबाट उनलाई धपाउन खोज्नुको आशय त्यही थियो ।

अघिका त्यस्तै पछिका प्रायः लेखहरूमा ज्ञानदिल दासले पादरी रेभरेन्ड ए. टर्नबुलसँग शास्त्रार्थ गरेर उसलाई हराएका प्रसङ्गमा डा. प्रपन्नाचार्यको मत मिल्दैन, “रङ्बुल धाममा पादरी टर्नबुलसँग शास्त्रार्थ गर्दाताका ज्ञानदिल बोल्न नसक्ने वृद्ध भइसकेका थिए । तर ज्ञानदिलका चेला महन्त रामदास राई बाडाछा चामलिङसँग शास्त्रार्थ हुँदा पादरी टर्नबुल हारे । जो हार्छ उसको धर्मग्रन्थ पोलिने छ भनेर प्रतिज्ञा गरे अनुसार त्यसै बेला योगशक्तिद्वारा बाइबलमा आगो लाग्यो (पृ–१३१)।”
बाइबल भस्म भएपछि, त्यो खरानी महमा मुछेर ज्ञानदिल दासले आफ्ना चेलाहरूलाई, त्यसको कण्ठी लगाइदिए । त्यही समयदेखि कण्ठी लगाउने खागी र नलगाउने त्यागी सम्प्रदायको रूपमा जोसमनी परम्परा विभक्त भएको कुरा उल्लेख गरिएको छ ।

त्यस्तै अर्को प्रसङ्ग–ज्ञानदिल दासको बिहे शीतलामाईसँग भएको तथ्य पनि डा. प्रपन्नाचार्यसँगे मेल खाँदैन—सावित्रीदेवीसँग दिलदासको बिहे भएको उनले बताएका छन् । त्यसो त यो नै अन्तिमको तथ्य नहुन सक्छ । त्यस्तै अरू तथ्य पनि निष्कर्षमा पुग्न बाँकी नै छ, खोज सकिएको छैन । विवाद रहित स्थितिको निचोड नै सत्य हुने विश्वासमा छौँ ।

तीन हजार वर्ष अघिदेखि अहिलेसम्म जोसमनी सम्प्रदाय निरन्तर चलिरहेको डा. स्वामी बताउँछन् । यसबाट कुन अनुमान लगाउन सकिन्छ भने–नेपाल, दार्जीलिङ, सिक्किमको इतिहासमा ज्ञानदिल दास एउटा माइलस्टोन हुन् जोसमनी सम्प्रदायको । धार्मिक, सामाजिक कुरीतिसँग मुकाबिला गर्दै आएको यस सम्प्रदायको योगदान अविस्मरणीय रहेको, डा. स्वामीको निष्कर्ष छ, “जोसमनीको प्रभाव परेको क्षेत्रमा १८ औँ शताब्दीको उत्तरार्धदेखि नै छुवाछुत तथा जाति प्रथा हट्दै गएको थियो । शिक्षामा पनि त्यसको प्रभाव परेको देखिन्छ । साक्षारताको आन्दोलन जोसमनी सन्त महन्तले नै चलाएका थिए ।”

डा. स्वामीको लेख धेरै थोकले विशेष रहेको छ । विषय व्यापकता छ । सन्त महात्माबाटै सभ्यता शुरुवात भएको भन्नेमा उनी विश्वस्त छन्—कुनै पनि राष्ट्रको इतिहास सन्त परम्पराबाट भएको देखिन्छ ।

जनकलाल शर्माको अनुसन्धानात्मक कार्यलाई ससम्मान स्वीकार्दै डा. प्रपन्नाचार्य त्यसमा केही आपत्ति देखाउँछन्, “जोसमनी सन्त परम्परा र साहित्य भन्ने ग्रन्थ जति महत्वपूर्ण छ उति नै भ्रमात्मक तथा संशोधनीय पनि देखिन्छ । उपर्युक्त ग्रन्थले सबैलाई तत्तत् सम्बन्धी विषयहरूमा ठूलो भ्रम पारेको देखिन्छ । ती मध्ये सिक्किमे र दार्जीलिङे लेखालीहरूलाई त अझ ठूलो भ्रममा पारेको देखिन्छ । यो भूल उपर्युक्त ग्रन्थकै आधारबाट भएको हो । कारण नेपालमा यस ग्रन्थको अध्ययन, चर्चा वा परिचर्चा गर्ने त्यति छैनन् । सिक्किमे र दार्जीलिङे लेखालीहरूले भने मनग्य प्रयोग गरेको देखिन्छ (पृ–१३३)।”

माथिको अभिव्यक्तिबाट फेरि स्पष्ट हुन्छ ज्ञानदिल दास र जोसमनी सन्त परम्पराको इतिहास बारे नेपाल कति उदासीन छ ।
सन्त ज्ञानदिल दास अध्ययन ग्रन्थको अचुक मूल्य रहेको छ । अनेक तरिकाबाट चिनिएका, जानिएका, बुझिएका ज्ञानदिल दासलाई एकै ठाउँमा समेट्दा उनीबारे अध्ययन गर्न अत्यन्तै सुलभ भएको छ ।

रङ्बुल धाममा छोरी महालक्ष्मीको असामयिक निधन पश्चात् ज्ञानदिल दासलाई निराशाको कालो बादलले ढाक्छ । ग्रहण लाग्नु जतिकै हुन्छ । ज्यादा विरक्तिले अधीर हुन्छन् । त्यसपछिको उनको गन्तव्य बन्छ–सिक्किमको गेलिङ धाम । उपहास र तिरस्कारले उनलाई कहीँ छोड्दैन । त्यसो त प्रतिष्ठाको शिखर पनि होचो थिएन । उनको चुनौती पनि त्यस्तो कहीँ छुट्दैन । यद्यपि उनी थाक्दैनन्

। नेपालका जङ्गबहादुर राणा, गजराज थापा, दार्जीलिङका टर्नबुलभन्दा पनि अरू कठोर भएर प्रस्तुत हुन्छन् सिक्किमका जेरुङ्ग देवान । उनको क्रूरता बौद्धधर्मसँग जोडिएको थियो । ज्ञानदिल दासले गर्दा बौद्धमार्गीहरू पलायन भएको आरोपमा, देवानको राँकोले गेलिङ धाम क्षणभरमा खरानी हुन्छ । तैपनि ज्ञानदिल दासमा प्रतिशोधको भाव उत्पन्न हुँदैन ।

उनको धार्मिक अभियानको उद्देश्य नै मानवतावादको आह्वान थियो । जातिवादको विरोधमा ब्राह्मण जातिले उनलाई जातिच्यूतको धम्की दिएका थिए, सिङला बजारमा दिउँसै उनले राँको बालेर जात खोज्नु परेको थियो । किन त्यसो गरिएको कारण सोद्धा उनी भन्छन्, “मेरो जात गयो रे, कता हराएछ खोज्दै हिँडेको ।”

जातीय विभेदको विरुद्ध गरिएको त्यो एउटा प्रतीकात्मक व्यङ्ग्य थियो ।

आमचोक, रुम्जाटार छोडेपछि नेपाल फर्किएर उनी आएनन् नै भनिएको छ । यसमा कसैको मत जुधेको पाइँदैन । वि.सं. १९४० मा त्यही गेलिङ् धाममा उनको चोला उठ्छ ।

शोध ग्रन्थमा एक दुई रचना पत्रपत्रिकाबाट लिएका छन् । निर्वाणदास राईको शिष्य कोइदासले ज्ञानदिल दासका बारेमा रचेको एउटा दुर्लभ सामाग्री रहेको छ–कविता । जुन मधुपर्क, वर्ष २८, अङ्क ८ पूर्णाङ्क ३१९ पुस २०५२) मा छापिएको थियो ।

मोहन प्रसाद भट्टराई ज्ञानदिल दासमाथि अध्ययन (२०५०-५१ मा) गरेका एक शोधार्थी हुन् । ‘मैले अध्ययनका क्रममा पाएका कविः ज्ञानदिल दास’मा उनले शोध नायकको जन्म १८८० भएको बताएका छन् । यो तथ्य पहिले नै गलत भइसकेको छ ।

ज्ञानदिल दास जोसमनी सम्प्रदायका अन्तिम प्रभावशाली आचार्य थिए भनिएको छ । प्रा. घटराज भट्टराईको जोसमनी सन्तपरम्परामा सन्त ज्ञानदिल दास, डा. नृसिह कुमार खत्रीको सन्त ज्ञानदिल दास इतिहासको पानालगायत लेखहरूमा शोध नायकको सामान्य चिनारी रहेको छ । उही कुरा आवृत्ति भएका छन् ।

शोध ग्रन्थका पछिल्ला आलेखहरू प्रायसः तथ्यहीन छन् । त्यसमा खोज अनुसन्धान होइन साहित्यिक, समाजिक र धार्मिक दृष्टिले ज्ञानदिल दासलाई हेरिएका, पूर्वाग्रहदेखि टाढिन नसकेका कुरा छन् ।

त्यस्तै ग्रन्थमा केही संयुक्त लेखन पनि छन् । प्रा. डा. नवलकिशोर राई र नेत्रमणि दुमी राईले तयार पारेको जोसमनी धर्म र गुरु ज्ञानदिल दासमा, शोध नायक खोटाङको छोर्पा र सुनसरीको फुस्रे कुटी गएको तथ्य छ जुन विषयमा अरू विद्वान्ले केही बोलेका छैनन् । जोसमनी सम्प्रदाय र ज्ञानदिल दास विषयमा खोज गर्दै आएका अन्वेषक द्वयले शोध नायकको विवाह गैरब्राह्मण जातिमा भएको थियो पनि भनेका छन्, “पूर्वी नेपालमा गुरु ज्ञानदिल दासले गुरुङ जातिमा अन्तर्जातीय विवाह गरेर जोसमनी धर्मको प्रचारप्रसार मात्र गरेनन् कि; सामाजिक कुरीति र कुप्रथाहरूको उन्मूलनमा कडा कदम पनि चालेको देहाय बमोजिम छ (पृ–१६०)।”

त्यस्तै फेरि अर्को संयुक्त लेखन रहेको छ–राजेन्द्र सुवेदी र होम सुवेदीको सन्त ज्ञानदिलः परिचय । यस आलेखमा पनि त्यस्तो उल्लेख्य विषय केही छैन । परिमार्जित नेपाली भाषाको प्रयोक्ता सन्त ज्ञानदिल दास पनि त्यस्तै एउटा संयुक्त लेखन हो–डा. दयाराम श्रेष्ठ र प्रा. मोहनराज शर्माको, जुन नेपाली साहित्यको सङ्क्षिप्त इतिहासबाट साभार गरिएको छ । यसमा पनि माथिका तिनै कुरा आएका छन्, नवीनता केही पाइँदैन ।

सुरुवातमै भनिएको कुरा हो, नेपालमा भन्दा भारतमा ज्ञानदिल दासलाई एउटा विशिष्ट विषय मानिन्छ । डा. प्रतापचन्द्र प्रधानको भारतीय नेपाली साहित्यका आदिकविलाई उतैको परिवेशमा चिनाइएको छ ।

त्यस्तै चूडामणि बन्धुको सन्त साहित्यका सशक्त स्रष्टा तथा कवि ज्ञानदिल दासः केही खोजी, विमलचन्द्र राईको सबैलाई ब्रह्मज्ञानतर्फ प्रवृत्त गराउने ज्ञानदिल दासको उद्देश्य थियो, डा. दिवाकर प्रधानको नेपाली साहित्यमा सन्तकविता र सन्तकवि ज्ञानदिल दास, डा. राजकुमार छेत्रीको सन्तकवि ज्ञानदिल दास र उनको अध्यात्मचेतनामूलक काव्यात्मकता जस्ता रचनामा ज्ञानदिल दास आध्यात्मिक जागरण र अभियानका एक सक्रिय कविका रूपमा हेरिएका छन् ।

“यो रुम्जाटारको कोदाको पिठो निर्गुनको दाउन

 धर्म र कर्म गुरुङले गरयो छक्क परयो बाहुन”

यस कवितालाई एकाधिक लेखकहरूले दृष्टान्तको रूपमा लिएका छन्—कवि ज्ञानदिल दासको कवित्व चेतलाई उद्बोध गराउन या त तत्कालीन समाजको चित्रण गर्न या जोसमनी सम्प्रदायको प्रभाव या त बाहुनवादलाई व्यङ्ग्य गर्न ।

ज्ञानदिल दासले कविता लेख्नकै लागि कविता लेखेका थिएनन् । उनको प्रमुख अभिप्राय धर्मका माध्यबाट समाजलाई सुधार्नु थियो । त्यस हेतु उनले कविता रचेका थिए । यदि साहित्यकै लागि साहित्य रच्थे भने उनले निकै उत्कृष्ट रचना गर्न सक्थे भन्ने अनुमान उदयलहरी, झ्याउरे र टुङ्ना भजनबाट गर्न सकिन्छ ।

ज्ञानदिल दासका कविता नितान्त मौलिक छन् । रामभक्ति, कृष्णभक्ति या भनौँ कुनै साम्प्रदायिक अवधारणाको अनुकरणमा उनले कविता रचेका छैनन् । समालोचकहरूको यही भनाइ छ । डा. केशवप्रसाद उपाध्यायले भानुभक्त र ज्ञानदिल दासबीच कवित्व चेतको, तुलनात्मक अध्ययन गरेका छन् । उनको त्यो विश्लेषण न्यायपूर्ण र प्रखर, एकदमै सार्थक लाग्छ, “भानुभक्त सनातन धर्मका अन्ध अनुयायी र कर्मकाण्डवादी थिए, ज्ञानदिल सनातन धर्मका आलोचक कर्मकाण्डका विरोधी थिए र यसरी धर्मसुधार—आन्दोलनका सूत्रधार थिए ।

आफूले स्वीकार गरेको मतको आग्रहवश जीवन र जगत् वा समाजलाई हेर्ने दृष्टिकोणमा एक जना पूर्व थिए भने अर्का पश्चिम । उसैले दुवैको कार्य र कार्यक्षेत्र पनि भिन्नभिन्न थिए । रुढि र परम्परालाई नबिराइकन पालन गर्ने भानुभक्त यथास्थितिवादी थिए र प्रकारान्तरले सामन्तवादका संरक्षक बने (पृ–१९६)।”

दुई कविबीच अरू प्रष्ट हुँदै डा. उपाध्याय निष्कर्षमा भन्छन्, “ज्ञानदिल नेपाली सन्तकाव्यका प्रतिनिधि कवि हुन्, भानुभक्त भक्तिकाव्यका महारथी । ज्ञानदिलमा इतिहासको पूर्ण प्रभाव छ—नेपालको पनि भारतको धार्मिक आन्दोलनको पनि । भानुभक्त इतिहासको आँधी–बेहरीदेखि निर्लिप्त छन् । उसैले ज्ञानदिल क्रान्तिकारी धार्मिक नेता र समाज सुधारक बन्न जान्छन्, भानुभक्त श्रेष्ठ हुनु स्वाभाविक हुन आउँछ तर यो पनि सत्य हो, ज्ञानदिलको महत्त्वलाई भानुभक्तको व्यक्तित्वले ढाक्न सक्तैन, न त्यसको क्षतिपूर्ति गर्न सक्छ । आलङ्कारिक भाषामा ज्ञानदिललाई तत्कालीन नेपालको मस्तिष्क भन्न सकिन्छ, भानुभक्तलाई हृदय (पृ–२०५)।”

असीत राईले नेपाली साहित्यको इतिहासमा ज्ञानदिल दासलाई अर्को भानुभक्त भनेका छन् । उता डा. लक्खीदेवी सुन्दास उदयलहरीलाई खण्डकाव्य होइन कोषकाव्य भन्नु समीचिन देखिन्छ भन्छिन् ।

कतिपय समालोचक तथा समीक्षकले ज्ञानदिल दासको नीतिगत व्यक्तित्वको विश्लेषण गरेका छन् । सामाजिक तथा ऐतिहासिक घटनालाई जोडेर उनको जीवनलाई व्याख्या गरेका छन् । कतिले कृतिको भावमा भाषिक स्वरूपलाई ध्यान दिएका छन् । कतिले लोक तथा सामाजिक भलाइको दृष्टिले हेरेका छन् । प्रायःले कृतिमा वैचारिकता खोजेका छन् । त्यस्तै डा. कृष्ण घतानीले लोक तात्त्विक दृष्टिमा ज्ञानदिलका कविता काव्यलाई पर्गेलेका छन् ।

हिन्दू धर्मको विकृत र संकुचित स्थितिलाई सल्ट्याउन ज्ञानदिलको उदय भएको बताउँछन्–डा. कुमार प्रधान । धर्मको साँचो अर्थ हराउँदा समाजमा बुद्ध, कबीर, नानक, दादू, ज्ञानदिल दासहरू जन्मिने कुरामा उनी विश्वस्त छन् । भारतीय नेपालीहरूबीच भाषा साहित्य र धर्म प्रचारकका दृष्टिले मात्रै ज्ञानदिल दास लोकप्रिय थिएनन् । उनले त्यहाँ पारेको मनोवैज्ञानिक प्रभाव ठूलो थियो । उनको अभिभावकत्वमा त्यहाँका नेपाली भाषीले सुरक्षा बोधको अनुभूति गरेका थिए ।

दार्जीलिङमा ज्ञानदिल दासको आगमन र सवाईहरूको उदयमा गुप्त प्रधानले त्यही मनोविज्ञानलाई इङ्गित गरेका छन्, “दार्जीलिङको विकास प्रक्रिया अङ्ग्रेज तथा क्रिश्चियन मिसनरीहरूबाट मात्र चलिरहेको त्यो समय जहाँ सर्वत्र नै अशिक्षितपनले व्याप्त जन–समुदाय थियो र हुकुमको गुलामीपनले कायम राखेको परिवेश थियो, जहाँ न ता आत्म–निर्णयको स्वतन्त्रता नै थियो न ता यसप्रतिको कुनै चेतना नै थियो, त्यस समयमा दार्जीलिङमा ती अङ्ग्रेजहरूको विरुद्धमा उठेर तिनीहरूलाई हाँक दिँदै धर्मको आधारमा एक शुद्ध नेपाली समाज निर्माण गर्ने चेतना आफ्नो समुदायलाई वितरण गर्ने पहिलो नेपाली हुन् ज्ञानदिल दास (पृ–२२९)।”

“ज्ञानदिल दास भारतीय नेपालीका पृथ्वीनारायण शाह हुन् ।” फेरि प्रधान थप्छन्, “ज्ञानदिल दासको दार्जीलिङ आगमनले यहाँको साहित्यिक धरातलको निर्माण कार्य सुरु गरिदियो । आफ्नो मोठ नेपाली हृदयको गठन गरेर अनि नेपाली जनसमूहलाई वर्गीकरण गरेर कमजोर बनाई राख्ने जातप्रथा र ब्राह्मणवादको विरुद्धको सङ्घर्ष नै यहाँका नेपालीहरूको लागि वरदान सावित भएको थियो (पृ–२२९) ।”

ज्ञानदिल दासलाई कविको रूपमा चिनाउने प्रमुख कृति नै उदयलहरी हो । झ्याउरे र टुङ्ना भजनको पनि प्रसङ्ग त आइरहन्छ नै । यद्यपि उदयलहरी नै ज्ञानदिल दास भएका छन् । एकको अनुपस्थितिमा अर्को सम्पूर्णतः अर्थिन सक्ने छैन ।
यहाँ उदयलहरीको विषयमा पनि केही विवाद नै देखिन्छ । सामान्यतयः १०९ श्लोकको सन्दर्भ आइरहेको छ । त्यति हुँदाहुँदै डा. कृष्णप्रसाद दाहलको ज्ञानदिल दास र उनको उदयलहरी सवाईको अध्ययनमा १२० श्लोकको उल्लेख गरिएको छ । उदयलहरीको मूल पाठ समेत उनले साभार गरेका छन् । गुप्त प्रधानले पनि मूल पाठलाई आफ्नो लेखमा समावेश गरेका छन्—१०९ श्लोकको ।

कवि ज्ञानदिल दास सन्त मात्र होइनन् । एक विद्रोही पनि हुन् । वैचारिक योद्धा । समरका क्रान्तिकारी योद्धा । परिवर्तित युगका संवाहक । महात्मा र योद्धा दुई विपरीत अर्थ हुन् । तथापि ज्ञानदिल दासको प्रसङ्गमा भने यी समानार्थी शब्द हुन् । उनको सन्त व्यक्तित्वले नै उनलाई विद्रोही बनाएको छ । समानताको चेतले नै उनको सम्पूर्ण जीवन उत्सर्जित भएको छ ।

क्रान्तिकारी विद्रोही विचारकः सन्त ज्ञानदिल दासमा जीवन लावरले अनि क्रान्तिकारी सन्त ज्ञानदिल दासः एक चिनारीमा डा. देवी क्षेत्री दुलालले शोध नायकलाई त्यही योद्धाको रूपमा हेरेका छन् ।

क्रान्तिकारी धार्मिक नेताको दृष्टिले अझ औचित्यपूर्ण लाग्छ ज्ञानदिल दासको मूल्याङ्कन । अधिकभन्दा अधिक समीक्षक समालोचक या भनौँ लेखकले उदयलहरी तथा झ्याउरे भजनलाई आफ्नो लेखनको विषय बनाएका छन् । कृष्णप्रसाद पौड्यालको सन्त ज्ञानदिल दास र उदयलहरी, डा. लक्ष्मणप्रसाद गौतमको ज्ञानदिल दास र उनको झ्याउरे भजन कविताको अन्तर्वस्तु, सुकराज दियालीको सन्त ज्ञानदिल र सन्त साहित्यको सन्दर्भमा उदयलहरी, ज्ञानु अधिकारीको ‘उदयलहरी’–मा प्रस्तुत विषयगत सन्दर्भ, सुकुम शर्माको सामाजिक सन्दर्भ र उदयलहरी जस्ता शीर्षकमा द्रष्टाहरूको आ–आफ्नै विश्लेषण रहेको छ–विषय उही भए पनि ।

ज्ञानदिल दास तथा उनको कृति अध्ययनका लागि डा. गोपालप्रसाद दाहालको सन्त साहित्य र सन्त ज्ञानदिलको गेलिङ रामगीता त्यस्तै एउटा महत्त्वपूर्ण सामग्री रहेको छ ।

सन्त ज्ञानदिल दास अध्ययन ग्रन्थमा नायकको मूल पाठ (कृति) लाई यसरी राखिदिँदा आगामी शोध कर्तालाई अत्यन्तै सहज भएको छ । उनको केही झ्याउरे भजन पनि यहाँ समाविष्ट छन् । शोधको अन्त्यमा चन्द्रकला बमजनको ज्ञानदिल दास अध्ययन गर्ने क्रममा एक अनुभूतिजन्य लेख रहेको छ । शोधकर्ता वीरभद्र कार्कीढोलीसँगै अध्ययन रिपोर्टमा हिँड्दाका केही टुक्राटाक्री अनुभवहरू यसमा छन् । ज्ञानदिललाई हेर्ने उनको दृष्टि खोज अनुसन्धान तथा समीक्षात्मक टिप्पणी नभई नितान्त वैयक्तिक ढङ्गको छ ।

कुशल सम्पादक, अन्वेषक कार्कीढोलीबाट अत्यन्तै अर्थपूर्ण कार्य सम्पन्न भएको छ । दुई शताब्दी पूर्वको नेपालको राजनैतिक सामाजिक इतिहास, जोसमनी सन्तपरम्परा र सन्त ज्ञानदिल दासको त्रिकोणात्मक अध्ययनमा, शोध कार्य एउटा निष्कर्षमा पुगेको छ । यो दुरूह कर्मबाट प्राप्त उपलब्धि कार्कीढोलीको मात्र होइन, हामी सबैको हो ।
यस अनुसन्धानात्मक कार्यले, हिजोको दिनमा अमूर्त लागेका, सन्त ज्ञानदिल दासलाई एउटा मूर्तता दिएको छ । किंवन्दती भएका उनलाई वास्तविकतामा उभ्याइएको छ ।

पठनमा खोज अनुसन्धानमूलक पुस्तक जति लाभदाक अरू पाठ्य सामग्री हुन सक्दैन । खोज अनुसन्धाताले लामो समय खटेर प्राप्त नतिजालाई हामी क्षणभरमा जान्न बुझ्न सक्छौँ ।

सन्त ज्ञानदिल दासको एउटा सिङ्गो बचाइ अनि त्यस बेलाको समयलाई दुई सय वर्षपछिको आज एउटा ग्रन्थमा पढ्न पाउनु सानो प्राप्ति होइन । अनुसन्धानात्मक सामाग्री म खोजी खोजी पढ्ने गर्छु जसरी सन्त ज्ञानदिल दास अध्ययन ग्रन्थ पढेँ ।

सम्पूर्ण जीवन खर्चेर प्राप्त शोध नायकको भोगाइ एकदमै अनौठो खालको छ । त्यसबाट पाठकले एउटा सकारात्मक सोच पाउँछ । न्याय र सत्यका लागि गरिएको सङ्घर्षबाट एक असल मार्ग पहिल्याउँछ । मानवतावादी भावनाले मान्छे ईश्वर समान हुन सक्छ, सन्त ज्ञानदिल दासको जीवनबाट मैले यस्तै ब्रम्ह तत्त्वकाे बोध गर्न सकेँ । आध्यात्मिक चेतनाले मानिसलाई ‘म को हुँ ?’ र ‘किन जन्मेँ ?’ अनि ‘कसले जन्मायो ?’ जस्ता प्रश्न गर्न लागउँछ ।

त्यतिखेर बल्ल उसले अदृश्य शक्तिप्रति विश्वास राख्न सक्छ । त्यही विश्वासको गहिराइमा श्रीकृष्ण लामिछाने एक साधारण मानिस पछि गएर अद्भुतको योगी बने, सन्त ज्ञानदिल दास । यस कुराले मलाई धेरै छोयो ।

सन्त ज्ञानदिल दासलाई पढेर अन्त्यमा पुग्दा, म पनि एक किसिमको योगी नै भएको थिएँ, उनको त्यो सन्त व्यक्तित्वको प्रभावले । त्यही बोधको लागि भए पनि एक पटक सन्त ज्ञानदिल दास अध्ययन ग्रन्थ पढ्न म सम्पूर्णमा निवेदन गर्छु । यसमा धेरै थोक छ, त्यसको लागि आफैँ अध्ययन गरेर जानकार हुनू, यही हितवचनका साथ म रोकिन चाहन्छु ।
अन्त्यमा, अन्वेषक तथा सम्पादक कार्कीढोलीलाई अशेष शुभकामना छ, यो कठिन कर्मबाट प्राप्त सफलताको लागि ।