फेरिएको माया उपन्यासः समीक्षात्मक अध्ययन

शोभा न्यौपाने,

१. विषयप्रवेशः

फेरिएको माया उपन्यास सुविन खरेलको पहिलो औपन्यासिक कृति हो । सुविन खरेल युवापुस्ताका साहित्यकार हुन् । स्थानीय पत्र–पत्रिका, अनलाइन मिडियामा खरेलका दर्जनौँ लेख रचनाहरू प्रकाशित छन् । फेरिएको माया उपन्यास उनले प्रवासमै रहेर तयार गरेको उपन्यास हो । उपन्यासले वर्तमान युवापुस्ताको प्रतिनिधित्व गरेको छ । सरसर्ती हेर्दा माया-प्रेमका प्रसङ्गलाई देखाए तापनि यसभित्र समसामयिक सामजिक सन्दर्भलाई पनि देखाएको छ । उपन्यासमा युवापुस्ताका किशोर किशोरीहरूमा देखिने प्रेम आकर्षण, मानसिक चञ्चलता, देखासिकी, सोच-विचार, इच्छा-चाहनाहरू समय र परिस्थितिअनुसार परिवर्तन हुँदै जान्छ भन्ने कुरालाई स्पष्ट पारेको छ ।

ग्रामीण तथा सहरी परिवेशमा देखिने भिन्नता, आर्थिक अभावमा आफन्तले गर्ने व्यवहार, कुनै कार्य गर्दा भनसुन गर्नुपर्ने अवस्थाको चित्रण पनि उपन्यासमा पाइन्छ । उपन्यासले युवाहरूमा देखिएको विदेश मोह, स्वदेशमा अवसरको कमी, पारिवारिक जिम्मेवारी दायित्व यावत् पक्षलाई उजिल्याउन खोजेको छ । समग्रमा युवाअवस्थाको यथार्थ चित्रण गर्नुका साथै माया, प्रेम, सद्भाव, साहनुभूति, गरिबी, बेरोजगार, विदेश मोह, देखासिकी, आदि पक्षलाई उपन्यासले स्पष्ट पारेको छ ।

शोभा न्यौपाने

२. फेरिएको माया उपन्यासमा आख्यानवृत्तः

सामाजिक परिवेश तथा युवायुवतीको प्रतिनिधित्वको हुने गरी लेखिएको छ “फेरिएको माया”  । उपन्यास सामाजिक यथार्थतामा आधारित छ । चितवनको ग्रामीण बस्तीदेखि लिएर काठमाडौंका विभिन्न स्थानहरूको चर्चा उपन्यासमा गरिएको छ । संस्मराणात्मक शैलीमा लेखिएको उपन्यासमा लेखकले आफ्ना विगतका प्रेमकहानी, साथीसामु सुन्ने-सुनाउने गर्दैमा कृतिले पूर्णता पाएको छ । उपन्यासका मुख्य पात्र अरुण हुन् । उनले विद्यालय जीवनदेखि काठमाडौँ कलेज पढ्दा आफूसँग जोडिएका केटीसाथीहरू तथा प्रेमप्रसङ्गको चर्चा गरेका छन् । उपन्यासको सुरुवातमा कलेजका सात आठ जना मिल्ने साथीहरू नगरकोटमा एक रात बस्ने गरी गएका छन् ।

साथीभाइबिच रमाइलो गर्ने क्रममा सबैले आआफ्ना प्रेम कहानीहरू सुन्ने र सुनाउने चर्चा चल्दछ । यसै क्रममा सबैले आआफ्नो प्रेम कहानी सुनाउँछन् । म पात्र अर्थात अरुणले आफ्नो विद्यालयदेखि नै मिल्ने साथी सरिता जो अरुणकी प्रथम केटी साथी अर्थात प्रेमिकाको रूपमा स्वीकारेको थियो । त्यस्तै गरी काठमाडौंमा कलेज पढ्दा भेटिएकी अर्की प्रेमिका सुस्मिता जसले अरुणलाई जीवनसाथी बन्न आग्रह गरेकी थिइन्। यिनै दुई प्रेमिकाको चर्चाले उपन्यासमा रोचकता प्राप्त गरेको छ । भित्री हृदयले सरितालाई स्थान दिए तापनि बाह्य रूपमा अरुणले सुस्मिताको प्रेम प्रस्तावलाई स्वीकार गर्दछ । नगरकोटको एकरात बसाइमा यिनै कुराले सबै साथीहरूको रात काट्ने मेलो बनेको छ । सबैजना रमाइलो गर्नमै व्यस्त रहेका छन् । जाडोको लागि आगो ताप्ने, सोमरस सेवन, ध्रूमपान गर्ने, नाचगान लगायत आआफ्ना प्रेम कहानीको चर्चामा नै सिङ्गो रात बितेको छ ।

अरुणले विद्यालयदेखिका आफ्ना प्रेम अनुभव सुनाउँदैमा उपन्यास तयार भएको छ । उसले विद्यालयदेखिकी मिल्ने साथी सरितालाई आफ्नो प्रथम प्रेमिकाको रूपमा स्वीकार गरेको छ । स्कुल जीवनबाट छुट्टिएर टाढा भएपछि अरुण र सरिता भौतिक रूपमा दूर रहे पनि अरुणले एकोहोरो रूपमा सरिताप्रतिको प्रेमभाव सञ्चित गरिरहेको छ । कलेज जीवनमा अरुणसँग अर्कै केटी साथी सुस्मितासँग भेट हुन्छ । सहरिया हाउभाउ देखासिकीले अरुणलाई पनि छोएको छ । उसले आफूलाई सहरिया बनाउनको लागि बोलीचाली, हाउभाउ,पोशाकमा देखावटी परिवर्तन गर्न थालेको थियो ।

सुस्मिताले एकदिन क्याफेमा बसेर अरुणलाई प्रेम प्रस्ताव अर्थात जीवन साथी बन्न आग्रह गरेकी छ । यस क्रममा म पात्र अरुणमा अन्तरद्वन्द्व सुरु हुन्छ । आन्तरिक रूपमा रुचाइएकी सरिता जुन पहिलो प्रेमिका रहेकी छिन् । सरिताले अरुणलाई प्रेमप्रस्ताव राखेकी छैनन्, त्यसो त अरुणले पनि भित्रभित्रै सरितालाई मन पराए पनि बाहिरी रूपमा खुलेर नै प्रेमप्रस्ताव रोखेको छैन । तर कलेज जीवनमा गाँसिएकी सुस्मिताले भने खुलेर नै अरुणलाई प्रेमप्रस्ताव राखेकी छिन् । दोधारमा रहेको अरुण बाध्यताले सुस्मिताको प्रेमप्रस्तावलाई स्वीकार गर्छ । अरुण र सुस्मिता एक आपसमा नजिकिँदै जान्छन् । सुस्मिताले अरुणबिना आफू एकछिन पनि बाच्न नसक्ने कुरा बताउँछे । समय बित्दै जाँदा उच्च शिक्षा अध्ययनको लागि सुस्मिता जर्मन जाने निर्णय हुन्छ । उनीहरू एक आपसमा टाढिँदै जान्छन् ।

सुस्मिताले सँगै जान अनुरोध नगरेकी पनि होइन तर घरको एक्लो छोराे, परिवारको जिम्मेवारी र कर्तव्यबोधले सुस्मिताको अनुरोधलाई नकार्न पुग्छ अरुण । घरको जिम्मेवारी वहन गर्ने प्रतिनिधि पात्रको रूपमा अरुणलाई उपन्यासमा उभ्याइएको छ । उनी स्वदेशकै माटोमा आफ्नो कर्म खोज्ने योद्धा हुन् । जुन हरेक विषम परिस्थितिमा पनि आफूलाई सहज बनाउने कोसिस गरिरहेको देखिन्छ ।

उपन्यासमा ग्रामीण र सहरी जीवनको यथार्थ चित्रण पाइन्छ । ग्रामीण समाजको सरलता, सद्भाव र सहयोग सहरमा भेटिँदैन । सहरमा गरिने अमानवीय व्यवहार आत्मीयताको अभावको चित्रण उपन्यासमा गरिएको छ । वर्तमान समयमा युवादेखि बृद्धबद्धाले भोग्नुपर्ने यथार्थ भोगाइ, स्वदेशमा अवसरको कमी, गाउँ शून्य अवस्था, एक्लो जीन्दगी, मानिसमा देखिएको स्वार्थीपना, युवावर्गमा देखिएको विकृति विसङ्गतिलाई उपन्यासले आख्यानात्मक विषयवस्तु बनाएको छ ।

३. फेरिएको माया उपन्यासका औपन्यासिक तस्बिरहरूः

फेरिएको माया उपन्यास पछिल्लो समयका युवापुस्ताको जीवनचर्या र दैनिकीसँग गाँसिएको कृति हो । उपन्यासकार जन्मभूमिबाट टाढा रहेर पनि नेपाली साहित्यलाई माया गर्ने युवा साहित्यकार हुन् । उनी प्रवासमा नै बसेर यो उपन्यास तयार गर्न सफल भए । उपन्यासकारले आत्मसंस्मरणात्मक रूपमा आफ्नो विगत र प्रेम प्रसङ्गलाई सुनाउँदा सुनाउँदै समग्र उपन्यास तयार भएको छ । माया प्रेमलाई मुख्य प्रसङ्ग बनाए पनि मानिसका जीवन भोगाइ यसमा पोखिएको छ । आलाकाँचो बेलाका युवाहरू केही कुरामा ठोस निर्णय लिनसक्ने हुँदैनन् । माया प्रेमका कुरामा बढी बहकिने खालका पनि हुन्छन् । सधैँ उही र उस्तै विचार पनि रहँदैन । माया र प्रेममा केही अन्तरभाव हो कि भन्ने कुरा पनि उपन्यासकारले कृतिमा समेटेका छन् ।

घरको जिम्मेवारी बोध गर्नेले अनेक अवसर आउँदा पनि परिवारको दायित्व नै ठुलो सम्झन्छ । मातापिताको खुसीका लागि सधैँ समर्पित रहन्छ र रहनु पर्दछ भन्ने सन्देश उपन्यासले दिएको छ । यौवनावस्था चञ्चलावस्था पनि हो । कोही कसैसँग बोलचाल हुँदैमा उसैलाई प्रेम गर्दछु, जीवन बिताउँछु भन्ने दिवास्वप्न बोकेका युवावर्गहरू सानोतिनो खटपटले नै बिछोड हुने गरेका यथार्थ पक्ष उपन्यासले समेटेको छ ।

मानिसमा स्वार्थीपना हुनु स्वभाविक हो तर बिरामी पर्दा कुनै अप्ठ्यारो परिस्थितिमा जसले जसलाई पनि सहयोग गर्नुपर्ने हुन्छ तर यसको विपरीत अप्ठेरोमा आफन्तले समेत वास्ता नगरी टाढिन खोज्ने मानवीय स्वभावलाई लेखकले देखाउन खोजेका छन् । स्वार्थी र निर्दयीपना गाउँमा भन्दा सहरमा बढी देखिने रहेछ । कोही मानिस मर्न लाग्दा पनि देखेर नदेखे झैँ गर्ने सहरीयाप्रति लेखकको तीव्र असन्तुष्टि रहेको छ ।

बाटामा दुर्घटनामा परी लडिरहेकी महिलालाई अस्पतालसम्म पुर्याएर लेखक सम्झन्छन्, “मैले गाउँ सम्झेँ, गाउँले सम्झेँ, अनि सबैलाई सम्झेँ । उसलाई उठाएर नजिकैको मेडिकलसम्म लगिदिए अनि म कलेजतिर लागेँ (खरेलः पृष्ट ४०) ।” यिनै भनाइले मानवीय निर्दयताको धज्जी उडाएको छ । घरमा बिरामी आमाको उपचारको लागि दशजनासँग गुहार माग्दा पनि कसैले वास्ता नगर्नु, आफन्त भनाउँदाहरू झन टाडिन खोज्नुले मानवीयतामाथि नै प्रश्नचिन्ह उठ्दछ । सर्वसाधारण जनताले जुनसुकै ठाँउमा सास्ती व्यहोर्नु परेको तितो यथार्थता, गाउँघर, खेती-किसान, दैनिक जीवनचर्या, समाजको राजनीतिक अवस्था, यौवनावस्थाका लहडीपना, देखासिकी, मिलन बिछोड आदि पक्षलाई उपन्यासमा प्रष्ट्याइएको छ ।

४ फेरिएको माया उपन्यासमा प्रेम पक्षः

फेरिएको माया उपन्यासले माया प्रेमको प्रसङ्गलाई मूल विषय बनाएको छ । उपन्यासको सुरुवात सात आठ जना कलेजका साथीहरू एक रात नगरकोट बसेर मनोरञ्जन गर्ने मनसाय बोकी हिँडेका छन् । एक रातको नगरकोट बसाइलाई सकेसम्म मनोरञ्जनपूर्ण रूपमा बितोस् भन्ने सबैको चाहना छ । यौवनावस्था, उडन्ते र दिपास्वप्नामा डुब्ने किशोरहरू आ–आफ्नो प्रेमप्रसङ्ग कोट्याउन थाल्दछन् । सबैले आफ्ना प्रेमप्रसङ्गहरू सुन्ने सुनाउने गर्दैमा रात बितेको पत्तै भएको छैन । त्यसमा पनि सोमरस, ध्रुम्रपान, आगोको तातो, सेकुवा आदि आदिका साथमा प्रेम कहानीको प्रसङ्ग अझ रोचक बनेको छ । सबैले आआफ्नो प्रेम कहानी सुनाउँदै गए ।

म पात्र अरुणले आफ्नो विगतको कहानी सुनाउँदै जाँदा विद्यालयदेखि कलेजसम्मको दौरानमा फरक फरक मायाको प्रसङ्ग कोट्याएका छन् । उनकै प्रेम कहानीले समग्र उपन्यास समेटेको छ । विद्यालय पढ्दादेखि नै सरिता र अरुण मिल्ने साथी मात्र नभई अब्बल विद्यार्थी पनि हुन् । सरिताले अरुणसँग पढाइका विषयमा सिक्ने क्रममा धेरै नजिक भएकी छन् । पढाइको निरन्तरतासँगै अरुण सरिताप्रति निकै आकर्षित देखिन्छन् । जब प्रवेशिका परीक्षा उत्तीर्ण भएपछि भने ती दुवैजना फरक फरक स्थानमा पढाइको गन्तव्य तयार हुन्छ । एक आपसमा पनि टाढिँदै पनि गएका हुन्छन् । भौतिक रूपमा टाढा भए पनि अरुणले सरितालाई पटक पटक सम्झिरहन्छ ।

अरुणलाई बिस्तारै कलेजको हावापानीले छुँदै जान्छ । कलेजमा अन्य साथीको लहलहैमा लागेर आफ्नो पहिरन, वेषभुषा परिवर्तन गर्न थाल्दछ । कलेजकै साथी सुस्मितासँग उसको भेट हुन्छ क्रमिक रूपमा नजिकिन पनि थाल्दछन् । सुस्मिताले एक दिन क्याफेमा बोलाएर प्रेमप्रस्ताव राखेकी हुन्छिन् । अरुणले भित्रैदेखि मन पराएकी सरिता मनले स्वीकारे पनि बाहिरी रूपमा सुस्मिताको प्रेमप्रस्तावलाई स्वीकार्छ । विशेषतः प्रेमप्रस्ताव राख्ने क्रममा केटाहरू नै अग्रसर हुन्छन् । अक्सर गरेर केटाले नै प्रेम प्रस्ताव राखेका हुन्छन् तर यस उपन्यासमा उपन्यासकारले केटीकाे  सक्रीयता पनलाई देखाइएको छ । सुस्मिताले नै अरुणलाई प्रेम प्रस्ताव राखेकी छिन् ।

सुस्मिता सहरिया केटी सम्पन्न परिवारकी केटी हुन्, उसले नै प्रेम प्रस्ताव राखी जीवन साथी बन्छौ ? भनी प्रश्न गर्दा अरुणले ज्यादै अकमकाएर स्वीकार गरेको छ । उसको मनमा अन्तरद्वन्द्व चल्दछ । पहिलो केटी साथी सरितालाई सम्झन्छ । आत्मादेखि नै उसैलाई जीवनसाथी बनाउन चाहन्छ र मनमनै सम्झन्छ, “सुस्मितासँगै हुँदा पनि उनको झझल्को आइरहेछ । कतै म उनीलाई माया त गर्दिनँ, हुन त माया भन्ने चिज मैले आजसम्म बुझ्न सकिरहेको थिइनँ (खरेल पृ.७४) ।”

सहरमा केटाकेटीबिचको प्रेमसम्बन्धमा स्थितरता र अडिग नभएको प्रसङ्ग कोट्याउँदै लेखक भन्छन्, “सहरिया परिवेशमा माया भनेको त परिवर्ननशील हुँदो रहेछ, आज कोहीसँग लागिरहेको छ भने भोलि फेरि अर्कै कोहीसँग हुनुपर्ने, टिकाउ नहुने हो कि आजभोलि खोजिने माया फरक हो थाहा पाउन नै गाह्रो (खरेल पृ.७४) ।” यसरी म पात्र अरुण अन्तरमनले एउटालाई चाहन्छ भने बाहिरी रूपमा सुस्मितालाई स्वीकार गर्न तयार छ । मायाको परिवर्तित स्वरूपलाई सरिता र सुस्मिताबिच गरिएको प्रेम अन्तरलाई उपन्यासले देखाउन खोजेको छ । माया जसले जसलाई पनि गर्न सक्छ । मायाका स्वरूप पनि विभिन्न हुन्छन् । माया गर्दैमा सम्पूर्ण शरीर सुम्पनु पर्छ भन्ने पनि हुँदैन । यौवनावस्थाका फूलहरूमा भँमराहरू डुल्छन् । मौसमअनुसार फुलपातले रङ्ग फेरिएजस्तै मायाप्रेमको स्वरूप पनि परिवर्तन हुने रहेछ भनी लेखकले माया फेरिने कुरा व्यक्त गरेका छन् ।

उपन्यासले प्रेमालापका कुरालाई प्रत्यक्ष त देखाएका छन् । त्यसभित्र पनि अन्य समसामयिक सामाजिक सन्दर्भसमेत गाँसिएका छन् । अस्थिर र परिवर्तित भई मायाको स्वरूप फेरिने रहेछ । बाल्यावस्थाको मायाप्रेम, यौवनास्थाको मायाप्रेम त्यसपछिका चरणमा हुने मायाको स्वरूपमा पनि विभिन्नता देखिने कुरा उपन्यासकारले बताएका छन् । समग्रमा सम्पूर्ण उपन्यास प्रेमप्रसङ्गमा केन्द्रित भएकोले प्रेम पक्ष अब्बल देखिन्छ ।

५ मूल्याङ्कन तथा निष्कर्षः

“फेरिएको माया” उपन्यास युवापुस्ताको प्रतिनिधित्व गर्ने यथार्थवादी उपन्यास हो । उपन्यासका पात्रहरू समाजकै प्रतिबिम्बनका रूपमा रहेका छन् । ग्रामीण परिवेश र सहरी परिवेशमा देखिएको भिन्नतालाई उपन्यासले देखाएका छन्। ग्रामीण समाजमा जुन आत्मीयता, सहयोग र सद्भाव रहन्छ त्यो सहरी परिवेशमा नपाइने हुँदा निर्दयता र निष्ठुरता सहरको परिचय हो । गाउँबाट सहर पसेपछि अरुको देखासिकी र नक्कल गर्दै आफूलाई पनि अरुजस्तै बनाउन वेषभुषा, बोलीचाली, पहिरन आदि बदल्ने आजका युवापुस्ताको यथार्थतालाई उपन्यासले खरो रूपमा देखाएको छ । उपन्यासले केवल प्रेमलाई मात्र देखाएको छैन । यसभित्र समाज छ, गरिबी छ, गाउँ र सहरको जीवनचर्या छ, आफन्तको व्यवहार छ । अरुण उपन्यासको कर्तव्य परायण पात्र हो । घरको जिम्मेवारी आमा बुवाको हेरचाहका लागि ऊ विदेश नजाने सोचमा बस्दछ । एक्लो छोरा परिवारको जिम्मेवारीलाई उसले धानेको छ । विदेशमासँगै जाउँ, खर्चको व्यवस्था पनि बुवालाई भनेर मिलाउँछु भनेकी सुस्मिताको प्रस्तावलाई अरुणले अस्वीकार गरेको छ । किनकि एक्लो छोरो, पारिवारिक दायित्व, रोगी आमा तथा बुवालाई छाडेर बाहिर जान उचित ठानेन ।

आमा बिरामी परी उपचार गर्न पैसाको अभाव हुँदा झेल्नु परेको कठिनाइले जीवन संघर्षमय बनेको र सम्पत्तिमा सबैको हाइहाई विपत्तिमा कोही छैन दाजुभाइ भन्ने उखान उसको जीवनमा चरितार्थ बनेको छ । उच्चशिक्षा अध्ययनका लागि विदेश जाने लहर, देशमा अवसरको कमी जस्ता विषयलाई उपन्यासले समेटेको छ । विदेशको मोह रहर तथा कहर दुवै बनेका छन् । साथीभाइ सबै विदेशतिर गएको देखेर लहडी पारामा विदेश जाने युवाको पनि कमी छैन भने धेरैजसो युवाहरू घरको आर्थिक अवस्थाले गर्दा बाध्यताबस विदेश होमिनुपर्ने यथार्थता रहेको छ । आजको सम–सामयिक परिवेश प्रेम, गरिबी, भ्रष्ट्राचार वैदेशिक रोजगारजस्ता विषयलाई सरल भाषामा उतार्न उपन्यासकार सफल देखिन्छन् । उपन्यासमा परिच्छेद खण्ड केही पनि उल्लेख गरिएको छैन । संस्मरणात्मक रूपमा लेखिएको जस्तो देखिन्छ । वाक्य गठनमा अमिल्दा ढाँचा, पात्रमा ठोस चिन्तन देखाउन नसकिए तापनि युवापुस्ताको चञ्चलता दोधारेपन, लहडीजस्ता अल्लारेपारालाई उपन्यासले खरो रूपमा देखाएको छ ।

समग्रमा उपन्यासकार युवापुस्ताको जल्दाबल्दा साहित्यिक साधक हुन् । पछिल्लो समय साहित्य लेखन तथा प्रकाशनमा युवाहरूको रुचि घट्दै गएको परिवेशमा विदेशी भूमिमा रही नेपाली साहित्यप्रति मायाभाव देखाउनु लेखकको सराहनीय पक्ष हो । उपन्यासमा सर्ग, परिच्छेद छुट्टाइएको छैन । वाक्य गठन तथा भाषाशैलीमा थप निखारताको खाँचो देखिन्छ । सुगठित रूपमा कथा वस्तुलाई कस्न थप प्रयास गर्नु नै पर्दछ । यति हुँदाहुँदै पनि पहिलो पटक नै औपन्यासिक कृतिलाई जन्मदिन सक्नु खरेलको सवल पक्ष मानिन्छ ।

सन्दर्भग्रन्थ सूची

खरेल, सुबिन फेरिएको माया (उपन्यास), प्रकाशक, अल्केमी पब्लिकेशन,२०७९ ।