१.प्रवेश:                                               

प्रा. योगेश खाती (दार्जीलिङ)

भारतीय नेपाली साहित्य हाम्रो निम्ति केवल साहित्य सेवा मात्र नभएर, भारत जस्तो बहुभाषिक विशाल देशभित्र हामीलाई प्राप्त आत्म-प्रकाशनको एउटा ठूलो अवसर अनि प्रयास पनि हो । देशका विभिन्न समस्याहरू जस्तै हाम्रो समुदायका पनि विविध आफ्नै समस्याहरू छन् । यसका सामना गर्दै अनि चुनौती स्वीकार गर्दै अघि बढ्न पर्ने वस्तुस्थितिहरू नै यहाँका यथेष्ट यथार्थ हुन् । वर्तमान स्थिति भारतीय नेपाली साहित्य र समाजको निम्ति एउटा संवेदनशील स्थिति छ । यस्तो परिदृश्यमा हाम्रा सामाजिक अन्तर्क्रिया, भेटघाट अनि विचारको विनिमय, अभिव्यक्तिको आधार निर्माण जस्ता कुरा साहित्यले नै मुख्य रूपले उठाउन सक्तछ । भारतीय नेपाली समाजले यसलाई एउटा सकारात्मक अवस्थाका रूपमा मान्नुपर्ने हुन्छ ।

यस्तै महत्वपूर्ण स्थितिहरूबाट साहित्य सृजनशीलता कायम छ । भारतबाट एक समय, नेपाली साहित्य लेखिनु अनि अध्ययन गरिनु हाम्रो निम्ति एउटा रमाहट र हर्षोल्लासको विषय  थियो । आजको समय अनि परिस्थितिमा भारतीय नेपाली साहित्य लेखिनु अनि यसका अध्ययन हुनु आफैआफमा एउटा अवस्था हो, अनिवार्यता हो अनि एउटा सन्दर्भ हो । यस्तै सन्दर्भलाई सन्दर्भिका बनाएर राख्न सफल यस पुस्तकका सङ्कलक/ लेखक नवीन पौड्याल सर्वभारतीय स्तरमै साहित्य सिर्जन कार्यमा तल्लीन एकजना माझिएका समालोचक हुन् । उनका यस स्तरीय कृति सिर्जनालाई यहाँ चर्चा गरिन्छ ।

२.लेखक नवीन पौड्याल:

अनवरत परिश्रम, जन-सम्पर्क, अध्ययन र केही गरूँ भन्ने औडाहा लिएर नेपाली साहित्य सिर्जनामा लागेका नवीन पौड्याल स्व.रविचन्द्र पौड्याल र श्रीमती जानुकादेवी पौड्यालका कोखबाट जन्मिएका एक आत्मीय भद्र मानिस एवम् सकारात्मक उर्जा हुन् । आफ्नो जन्मथलो कालेबुङमै प्राथमिकदेखि महाविद्यालयसम्म अध्ययन गर्दै उनले उत्तर बङ्गाल विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेपछि सन् २००६ देखि यता दार्जिलिङ सरकारी महाविद्यालयमा नेपाली स्नातकोत्तर विभागका उप-प्राध्यापक रूपमा कार्यरत थिए । हाल कालेबुङ जिल्लाअन्तर्गत पदोङमा नव स्थापित पेदोङ सरकारी महाविद्यालयका भारप्राप्त अधिकारी एवम् संस्थापक कार्यवाहक प्राचार्यका रूपमा उनी कार्यरत छन्।

यसभन्दा अघिल्ला उनका कृतिहरू नेपाली कथा समीक्षा (सहलेखन, सन् २००५), आख्यान अनुशीलन (सन् २०११), साहित्य अनुशीलन (सन् २०१४),र  उनका सम्पादनमा दुईवटा समालोचनात्मक पुस्तक कविता विमर्श (सन् २०१४) र कविता आलोकन (सन् २०१५), कृति सन्धान (सन् २०१८),  देखा परेका छन् । उनी अनुसन्धानात्मक पत्र-पत्रिका जस्तै- सन्धान -को सम्पादन कार्यमा सङ्लग्न छन् । विभिन्न महाविद्यालय साथै विश्वविद्यालयका आयोजनमा हुने गरेका राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरका विभिन्न सङ्गोष्ठी एवम् कार्यशालाहरूमा भाग लिँदै अनेकौँ लेखहरू प्रकाशित गरिसकेका छन् ।  आफुभन्दा अग्रजलाई सदैव श्रद्धा अनि आफ्ना बन्धु एवम् अनुजहरूलाई धेरै चोखो मनले प्रोत्साहन गर्न सक्ने उनी ‘रियल’  व्यक्तित्व हुन् । उनका संसर्गमा ठुला, साना सबै खुशी रहन्छन् । अत: साहित्य सिर्जना र सामाजिक सम्बन्धमा सबैसँग एक रहन सक्ने चुम्बकीय व्यक्तित्वका धनी नवीन पौड्याल भारतीय नेपाली स्तरीय साहित्य सिर्जनका दृष्टिले एकजना गम्भीर अनि अध्ययनशील समालोचक हुन् । उनका साथै सकारात्मक अवसरका संयोजक पनि हुन् ।

उनी अनुसन्धानपरक, विश्लेषणात्मक, प्राज्ञिक, कृतिपरक समालोचनामा रूचि राख्ने अध्येता हुन् । उनका प्राय: समलोचानाहरू आख्यान, कविता, लोकसाहित्य, नाटक, गीत-गजल आदिमा आधार रहेका भेटिन्छन् । साथै पारम्पारिक समालोचाना परिपाटीलाई छोड़ेर केही गहन, वस्तुनिष्ठ समालोचनामा अग्रसर पनि देखिन्छन् । समग्रमा, विषयनिष्ठता, निष्पक्ष मूल्याङ्कनात्मकता, निर्भिकता, कृति केन्द्रितता, विश्लेषणात्मकता, वस्तु तथ्यात्मकता, सुचनात्मकता, सर्वेक्षणात्मकता आदि उनका समालोचानागत  वैशिष्ट्य हुन् भन्न सकिन्छ।

नवीन पाैड्याल (दार्जीलिङ)

३. ‘भारतीय नेपाली समालोचक सन्दर्भिका’ भित्रका सन्दर्भहरू    

भारतीय नेपाली समालोचक सन्दर्भिका एउटा विवरण मात्र होइन । यसभित्र समालोचना विषयक धेरै चर्चा पनि भेटिन्छ । पुस्तकभित्र समावेश गरिएका २७० भन्दा बेसी समालोचकहरूका विवरण पाइन्छ । पुस्तक २१९ पृष्ठको छ । १ देखि ३९ पृष्ठसम्म पुस्तक सम्बन्धित विभिन्न विचारहरू पाइन्छन् । लेखकलगायत केही आधिकारिक साहित्यिक मन्तव्य पनि यस पुस्तकका पूर्वधारका रूपमा देख्न सकिन्छ । पुस्तकका पृष्ठ ४० देखि मात्र भारतीय नेपाली सन्दर्भिका प्रारम्भ हुन्छ । भारतीय नेपाली साहित्यका कोशे ढुङ्गा जातीय कवि अगमसिंह गिरीका नामबाट प्रारम्भ हुँदै अक्षर अनुक्रमणिकाअनुसार जम्मा २७० जति भारतीय नेपाली समालोचकहरूका लामा छोटा विवरण पाइन्छ ।

यसभित्र विगत अनि वर्तमानका सक्रिय, उमेरले केही ठुला अनि केही साना, समयले जीवित अनि मृत आदि जस्ता भारतीय नेपाली समालोचकहरूलाई आदरसाथ लेखकले राखेका छन् । नेपाली अध्ययन समिति कालेबुङबाट प्रकाशित भएको यो कृति एउटा अनुसन्धानात्मक कृति हो । २१९ भन्दा ज्यादा पृष्ठमा सजिएको यस पुस्तक ग्राफिक्स प्रिन्टर्स, दुर्गागढ़ी, सिलगढ़ीबाट मुद्रण गरिएको छ । सुन्दर आवरण बसन्तराज ‘अज्ञात’ ले तयार गरेका छन् भने यसको बिक्री मूल्य केवल ३०० रूपियाँ भारू अनि ४०० नेरू राखिएको छ । यो कृति, कुनै कृति वा व्यक्तिको मूल्याङ्कन र आलोचनाभन्दा सर्वेक्षणात्मक अनुसन्धान ज्यादा भएको कृतिका रूपमा पाइन्छ ।

साहित्यका विभिन्न विधामा समयअनुसार साहित्य सृजना हुने गरेका अनि ती अवस्थाभित्र समालोचकहरू पनि आइरहेका कुरा यस कृतिभित्र उल्लिखित समालोचकहरूका सूचीले पुष्टि गर्दछ । आजको सन्दर्भमा भारतीय नेपाली साहित्य नै एउटा चुनौती हो । हामीले सोच्ने, अन्तर्क्रिया गर्ने, लेख्ने, पढ्ने अनि अध्ययन गर्ने क्रिया नै हाम्रा सामाजिक स्वभावका कुरा हुन् । यस कुराले हाम्रो परिचय, चिनारी, भावना, अभिव्यक्ति, व्यवहार आदि पक्षहरूलाई समेटेको हुनपर्छ । यस्तो अवस्थामा हामीसँग फर्मामा हालेर तयार भएका वा हामीले छानी छानी देखाउन सक्ने समालोचक न छन्, न त कोही यसरी बनाइएकै छन् । जे छन् जति छन् ती सबै मिलाएर पनि यस्ता कुरालाई सम्बोधन गर्न पर्याप्त सामर्थ्य छैन । यो नै यथार्थ हो । यसका पछि धेरै कारण छन् । आजका बढ्दो युगमा भारत जस्तो विशाल गणतन्त्रभित्र वैज्ञानिक शक्ति, बजारी संस्कृति अनि कर्पोरेट गतिशिलताभित्र कुरा घुमाएर त्यहिँ कुरालाई बारम्बार भन्न खोज्ने कार्य अनि त्यसो भन्न चाहने व्यक्ति मात्र आजका समालोचना अनि समालोचक होइनन् ।

आजको समय नै चुनौतीपूर्ण छ । स्रष्टा हुनसक्ने वा हुन नसक्ने चुनौती, स्रष्टाद्वारा पाठकलाई छुन सक्ने कृति सिर्जना गर्न सक्ने वा नसक्ने उत्पादकत्वको चुनौती, पाठक बनाउन सकिने वा नसकिने चुनौती अनि ती सिर्जनामाथि पाठकभित्रबाट सही मूल्याङ्कन हुनसक्ने वा नसक्ने चुनौती वास्तवमा आजका यथार्थ हुन् । यस्ता चुनौतीलाई छिचोलेर उम्रिएका प्रयासलाई नगन्य ठान्ने चश्मावादी पीडक विचारहरू झन् अर्का चुनौती हुन् । हामीले साहित्यका सन्दर्भमा सामना गरिरहेका चुनौतीमाथि उनीहरूले खोजिरहेका कुरा आफ्ना चश्माका पावरले देख्न सक्दैनन् कारण समय धेरै द्रुतगतिमा बढिरहेको छ । दुखद् तथ्य, चश्मावादी पीडक विचारहरू आफै रनभुल्लमा छन् । नवीन पौड्याल जस्ता व्यक्तिले उनीहरूलाई नै पुनः आविष्कार गरेका छन् । त्यो नै आजको सुखद् उपलब्धि हो । हाम्रा अग्रजहरूकै पदचिन्ह पहिल्याएर अघि बढ्ने एउटा प्रयासमा हामी सबैको छ ।

यसै सन्दर्भमा भारतीय नेपाली साहित्यका वरिष्ठ समालोचक डा. घनश्याम नेपालका कुरा यहाँ राख्न उपयुक्त हुन्छ । उनले समालोचनालाई यसरी बताएका छन्- ‘.. समालोचनालाई स्वायत्त साहित्य विधाका रूपमा भन्दा ऐजेरुझैँ परजीवी सङ्कथनका रूपमा हेर्नु उपयोगी हुन्छ । यसले साहित्यका विभिन्न विधाहरूका आङमा उम्रेर तिनैबाट जीवन प्राप्त गर्दछ ।’ यस अर्थमा समालोचकहरू अनवरत रूपमा समय अनि परिस्थिति सँगै साहित्यका विभिन्न विधाहरूका आङमा उम्रिएर आइरहेकै हुन्छन् । समालोचना, साहित्यिक कृतिहरूसँगै अघि आएका हुन्छन् कुनै पनि निर्दिष्ट समय अनि विचारसँग होइन । तिनै विभिन्न समयमा आएका कृतिमाथि निर्भर रहने सङ्कथन नै समालोचना हो । ती सङ्कथन तयार पार्ने समालोचकहरूलाई नै सन्दर्भ बनाउने कार्य नवीन पौड्यालले गरेका छन् । यो कृति भारतीय नेपाली साहित्य लेखन परम्परामा एउटा थप उपलब्धिका रूपमा मान्नुपर्ने हुन्छ । यसभित्र समाविष्ट लेखकहरूका विवरण सरसर्ती हेर्दा धेरै कुराहरू सामु आएका पाइन्छ । पाइएका विवरणहरूभित्र व्यक्ति प्रसंसा, व्यक्ति विवरण र व्यक्ति केन्द्रित जस्ता विचार छैनन् ।

यी लेखहरूमा पुराना र नयाँ गरेर समालोचना विधामा लागिपरेका अध्येताहरूका उल्लेख भेटिन्छन् । लेखकका अध्ययन र मूल्याङ्कनअनुसार वर्तमानमा देख्न सकिएका यतिका समालोचकहरू भारतीय नेपाली साहित्यको वर्तमान र भविष्य स्थितिको निम्ति शुभ सङ्केत हो । आजको अवस्थामा भारतीय नेपाली साहित्यको औचित्य महत्वपूर्ण छ । नवीन पौड्यालका कार्य यस औचित्यलाई सम्बोधन गर्न सफल छन् । यद्यपि धेरै विवरणमा उनी उदार पनि देखिन्छन् । कतिपय समालोचकहरूका लेखका शीर्षकलाई उल्लेख गरेर राखिएका छन् भने कतिपय लेखकहरूका पुस्तकका नाम मात्र पनि राखिएका छन् । शुरूदेखि अन्त्यसम्म समालोचकहरूका विवरणमा एकरूपता अर्को संस्करणमा पालन गर्न सकिनेछ भन्ने विचार राख्न सकिन्छ । केही छोडिएका नामहरूका पालो आउने संस्करणमा राख्न सकिने छ अर्थात् केही नामहरू समालोचक सन्दर्भिकाभित्र ती छोडिएका सँगै राख्दा पनि हुने भन्ने भावना कतै उत्पन्न हुन्छ । तर नवीन पौड्यालका यस कार्यले यस्ता ससाना वैयक्तिक विचारहरूलाई सामुदायिक अनि सामुहिक प्रतीतिका लागि एउटा बृहत् थालनी मान्न सकिन्छ ।

५.निष्कर्ष:

सिङ्गो नेपाली साहित्यमै स्थापित भइसकेका श्री नवीन पौड्यालका आजसम्म प्रकाशित भइसकेका कृतिहरूलाई आधार बनाएर हेर्दा उनमा समालोचकीय इमान्दारिता देख्न सकिन्छ । कुनै विषयको व्यापकता र महत्त्वकाङ्क्षी उडानबाट अनियन्त्रित बनेर पाठ र पाठकको सम्मिलन असम्भव बनाउने स्रष्टा हुनदेखि उनी टाडा देखिन्छन् । उनका यस पुस्तकभित्र रहेका कार्यले वैयक्तिक, सामुदायिक अनि फराकिलो दृष्टिकोणको परिधिभित्र पाठकलाई राख्न रुचाएका छन् । वर्तमान समय प्रोपोगान्डा र मुद्दाको समय छ जहाँ साहित्य सिर्जना एउटा उर्वर शौकको रूपमा रहेको छ । आफ्ना कर्मद्वारा नवीन पौड्यालले साहित्यभित्र आफैलाई स्थापित बनाउँदै केही जन्मजात् आलोचकहरूका मुख बन्द पनि गरिदिएका छन् । हाल उनी अनवरत् रूपमा साहित्यको मलजल गर्न उद्यमी भई, उद्देश्य सफा लिई, नेपाली साहित्य संसारमा सक्रिय देखिन्छन् ।

उनका समालोचना अध्ययनशील, शिक्षाप्रद, सहयोगी र प्रेरणादायक छन् । उनी विचार, प्रस्तुति र अभिव्यक्तिका नयाँपनमा उत्ताउलोपन देखाउने महत्त्वकाङ्क्षी विचारले मातिएका छैनन् । यस कृतिले भारतीय नेपाली साहित्य विषयक शोध गर्न चाहने धेरै साहित्यानुरागीहरूको अभावलाई पूर्ण गर्न सक्नेछ भन्ने कुरामा विश्वस्त रहन सकिन्छ । वर्तमान विश्व मानचित्रमा नेपाली भाषी समुदायभित्र ‘हामी हुनु’ र ‘हाम्रो उपस्थिति’-को एउटा बृहत् प्रकटीकरणको तयारीमा यसले आव्हान गरेको छ । यस प्रकटीकरणको अध्ययन र मूल्याङ्कनलाई समालोचक पौड्यालले भरपूर उपयोग र प्रस्तुति दिएका छन् ।   उनले समग्र नेपाली साहित्यभित्र भारतीय नेपाली साहित्यको छुट्टै पहिचान र आवश्यकतालाई महसुस गरेर समालोचकीय धर्म निभाएका छन् । अहिलेलाई धेरै बधाई अनि शुभकामना दिँदछु ।