“मीठो लाग्छ मलाई ता प्रियकथा प्राचीन संसारको
हाम्रो भारतवर्षको उदयको हैम प्रभा सारको”
लक्ष्मीप्रसाद देवकोटाले शाकुन्तला महाकाव्यमा उल्लेख गरेका हाम्रो भारतवर्ष साँध सिमानाले घेरिएको भौगोलिक भारत देश नभएर हिमालय पर्वतदेखि श्रीलङ्कासम्म अनि गान्धारदेशदेखि वर्मा आदिसम्म फैलिएको आध्यात्मिक र सांस्कृतिक भारतको विशाल स्वरूप हो जसलाई हामी पूर्वीय सभ्यताको मूल थलो मान्छौँ सलील ज्ञवालीद्वारा लिखित अङ्ग्रेजी पुस्तक “द ग्रेट माइन्ड अन इन्डिया” (२००९) ले हामीलाई प्राच्य वाङ्मयको गरिमा,गौरव र महत्तालाई बुझाउँदछ । यस पुस्तकलाई डा.गोविन्दराज भट्टराईले “पूर्वीय सभ्यता– विश्वविख्यात विद्वानहरूका दृष्टिमा” शीर्षकमा सन् २०१३ मा नेपालीमा अनुवाद गरेका छन् अनि यसको दोस्रो संस्करण सन् २०२२ मा प्रकाशित भएको हो । उनी भन्छन्-‘ पूर्वीय परम्पराको ज्ञान नै प्रथम पाठशाला हो’। यो पुस्तक आजसम्म १४ वटा भाषामा अनुवाद भइसकेको छ
यस कृतिमा सर्जकले सलील ज्ञवालीले पूर्व र पश्चिमका ८५ जना विश्वप्रसिद्ध चिन्तक, विचारक, दार्शनिक, वैज्ञानिक, राजनीतिज्ञ, साहित्य र कलाप्रेमी विद्वान् विदुषीहरूले भारतवर्ष तथा हाम्रा पूर्वजका यश कीर्ति र कर्मका सम्बन्धमा, विभिन्न समयमा उल्लेख गरेका अभिव्यक्तिहरूलाई सङ्गृहीत गरेका छन् । प्राचीन भारतको साहित्य अत्यन्त विपुल र विविधा सम्पन्न थियो । धर्म , दर्शन, भाषा, गणित, ज्योतिष, विज्ञान आदिमा पश्चिम भन्दा पूर्व कयौँ वर्ष अघि नै विकसित थियो | वैदिककाल र उपनिषद्काल भारतीय ज्ञान परम्पराको उर्वर काल थियो । प्राचीन भारतीय ज्ञान परम्परा अति नै समृद्ध थियो; यसले सम्पूर्ण विश्वलाई नै प्रभावित पारेको थियो ।
यस पुस्तकमा वेद, भगवद्गीता, उपनिषद्, पुराण, रामायण, महाभारत, खगोलशास्त्र, ज्योतिषशास्त्र, व्याकरणशास्त्र, गणित, आध्यात्मविधा, संस्कृत साहित्य आदि विषयमा पूर्व र पश्चिमका विभिन्न क्षेत्रका विद्वानहरूका उद्धरण राखिएका छन् । उनीहरू पूर्वीय ज्ञान र विज्ञानबाट अत्यन्तै प्रभावित भएका थिए, यसैले आफ्ना विचार, मन्तव्य प्रकट गरेका छन् । हाम्रा ऋषिमुनीहरूले दिएका ज्ञान गरिमाका कुराहरू, हाम्रो साहित्य संस्कृति,उनीहरूका जीवनमूल्य, जीवनपद्धति, चिन्तन, मनन आदिबाट विश्व नै प्रभावित थियो; त्यो हाम्रो स्वर्णकाल थियो तर आज हामी आफ्नो विगत भुलेर पश्चिमतर्फ हेर्छौं, पश्चिमलाई आफ्नो आदर्श मान्छौँ । डा. भट्टराईअनुसार ‘पूर्वीय धर्म, दर्शन र साहित्य हाम्रो अतीत हो । साँघुरो कर्मकाण्ड , संस्कृतिविरोधी भाव, भौतिकवादी जडता आदिले हाम्रो प्राचीन ज्ञान र विद्वत्ताको यो विपुल राशिलाई दूषित गर्ने र मेट्ने काम गरेको छ ।’
यस पुस्तकमा सङ्कलित विद्वानरूका केही मन्तव्य, विचारहरूबारे चर्चा गरौँ- संस्कृत भाषा संसारको प्राचीनतम भाषा हो | यो पूर्णत: वैज्ञानिक भाषा हो | संस्कृत भाषा र साहित्यसँग पाश्चात्य विद्वानहरू अत्यन्त प्रभावित भएका थिए | जर्मन दार्शनिक र भाषाशास्त्री फ्रेड्रिक भोन स्लेगल(१७७२-१८२९) ले संस्कृत भाषाको महिमा गाउँदै भनेका छन्- ‘यो विश्वमा संस्कृत भाषाको जस्तो नियमनिष्ठता र दार्शनिक सुस्पष्टताले युक्त अन्य कुनै भाषा छैन; ग्रिसेली पनि छैन ।’
विलियम जोन्स (१७४६-१७९४) ले कलकत्तामा एसियाटिक सोसाइटी (१७८४) को स्थापना गरेपछि संस्कृत भाषालाई लिएर नयाँ नयाँ अध्ययन र अनुसन्धान गरेका थिए। यसैक्रममा भागवद्गीता, हितोपदेश,शाकुन्तलम्, मनुस्मृति जस्ता ग्रन्थहरू अङ्ग्रेजी, जर्मन भाषामा अनुवाद भए । शाकुन्तलम् बाट प्रभावित जर्मन दार्शनिक, कवि जोहन गटफ्रिड हर्डर (१७४४ -१८०३) लेख्छन्-“मैले मानव मस्तिष्कका उपजहरूमा शकुन्तलम् भन्दा बढी आनन्दकर कुनै कृति पाउन सकिँन”। फ़्रेडिक शिलर (१७५९-१८०५)ले पनि “ग्रिसेली पुराकालदेखि आजसम्म शकुन्तलम् जस्तो प्रेमको काव्यात्मक प्रस्तुति भएको कृति रचिएको छैन” भनेका छन् ।
श्रीमद्भागवतगीताले आत्मा र परमात्माको स्वरुपलाई व्यक्त गर्दछ । यसमा आध्यात्मिक चिन्तनका साथै लोक- व्यवहारको निर्देश अनि चरित्र निर्माणप्रति आग्रह पाइन्छ । अस्ट्रियन लेखक र आध्यात्मिक चिन्तक रूडोल्फ स्टेइनर (१८६१-१९२५) गीताको महत्त्व यसरी दर्शाउँछन् –“भागवद् गीता जस्तो लोकोत्तर/ उदात्त सिर्जनालाई राम्ररी बुझेर त्यसमा प्रवेश गर्न हामीले आफ्नो आत्मालाई पनि त्यसैमा समर्पण गर्नु जरुरी छ” ।
स्विस कवि, उपन्यासकार हर्मन हेस्से (१८७७-१९६२) अनुसार “ गीताको आश्चर्य भन्नु नै यसको यथार्थ जीवनविषयक ज्ञानको सुन्दरी रहस्योद्घाटन हो जसले गर्दा दर्शनलाई धर्मका रूपमा पुष्पित हुन सहयोग पुर्याउँछ ।” जर्मन दार्शनिक एवम् संस्कृत भाषाशास्त्रका विद्वान्,अनुवादक म्याक्स म्युलर (१८२३-१९००) अनुसार ‘प्रचीनतम उपनिषद्हरू मानव मस्तिष्का निमित्त सर्वाधिक आश्चर्यजनक उपाहारका वस्तु हुन् | यिनले विश्वको दार्शनिक साहित्यमा आफ्नो स्थान सुरक्षित राख्नेछन् ।’
पाँचौँ शताब्दीतिरै आर्यभट्ट, ब्रह्मगुप्त जस्ता प्रसिद्ध खगोलशास्त्री र गणितज्ञहरू भारतमा जन्मिसकेका थिए । उनीहरूको अध्ययन चिन्तनले विश्वलाई प्रभाव पारेको थियो । फ्रान्सेली गणितज्ञ पियरे साइमन डी ल्यापलेस(१७४९-१८२७) भन्छन्-“सम्पूर्ण सङ्ख्यालाई दशको सङ्केतले गणना गर्न मिल्ने विलक्षण पद्धति (ज्ञान) हामीलाई दिने भूमि भारतवर्ष नै हो ।”
अमेरिकी लेखक / प्राध्यापक मार्क ट्वाइन ( १८३५-१९१०) ले मानव इतिहासमा उपलब्ध सर्वाधिक मूल्यवान् साथै सर्वाधिक ज्ञानवर्द्धक सामाग्री भारतवर्षमै सुरक्षित छन् भनेका छन् भने अलबर्ट आइन्स्टाइन (१८७९-१९५५) अनुसार “ ऋषि महर्षिहरूले नै हामीलाई गणित सिकाए, त्यसका अभावमा कुनै पनि सार्थक प्रकृतिको वैज्ञानिक आविष्कार गर्न सकिने थिएन ।”
पूर्वीय जीवनमा आत्मचिन्तनलाई महत्त्वपूर्ण मानिन्छ । आत्मचिन्तनद्वारा नै आत्मज्ञ बन्ने क्षमता उत्पन्न हुँदछ । यसैले उपनिषद् मा ‘आत्मानं विद्धि’ वा ‘आफ्नो आत्मालाई चिन’ भनिएको छ । जर्मनेली विद्वान् र प्राच्यविद पौल डुसन (१८४५-१९१९) अनुसार “ वैज्ञानिक मस्तिष्कको आविष्कार जेसुकै होस्, तर उपनिषद्ले प्रतिपादन गरेको अन्त सत्यमाथि कसैले विवाद गर्न सक्तैन| डेनिस भौतिकशास्त्री निल्स बोर(१८८५-१९६२० यसो भन्छन् –“म आफ्ना जिज्ञासा प्रकट गर्नका निमित्त उपनिषद् मा प्रवेश गर्दछु ।”
जर्मन दार्शनिक आर्थर सोपेन्हावर (१७८८-१८१६) भन्छन्- “समस्त विश्वमा उपनिषद् बराबरीको कल्याणकारी अनि त्यति उत्थापक कुनै अध्ययन वा ज्ञान कहीँ कतै छैन । यो मेरो जीवनको उपशमन (सान्त्वना) हो र यो मेरो मृत्युको पनि उपशमन हुनेछ । उपनिषद्हरू उच्च ज्ञानका निष्पादन हुन् |”
यसबाहेक लेखकले स्वामी विवेकानन्द, महात्मा गान्धी, श्री अरविन्दो, सर्वपल्ली राधाकृष्णन, जवाहरलाल नेहरू, डा. ए .पि. जे अब्दुल कलाम जस्ता भारतका दार्शनिक, चिन्तक, विचारक, शिक्षाविद् , राजनीतिज्ञ आदिका विचारहरू पनि पुस्तकमा समेटेका छन् ।
प्राचीन कालदेखि नै भारतवर्षमा ज्ञान र विज्ञानको विशेष महत्व रहेको देखिन्छ । भारतीय सभ्यता र संस्कृतिले आफ्नो आध्यात्मिक स्वरूपलाई अक्षुण्ण राखेर देशलाई गौरवान्वित गरेको इतिहास रहेको छ । वर्तमान समाज र समयलाई हेर्दा ग्लानी बोध हुन्छ | पूर्वको गरिमा र गौरवलाई हामीले सुरक्षित राख्न सकेनौँ । सर्वधर्मको पाठ सिकाउने पूर्व अशान्ति र असहिष्णुताको अखडा बनेको छ । राष्ट्रिय सांस्कृतिक चेतना ह्रासोन्मुख भएको छ | जात, जाति र धर्मको नाममा मानिसहरू बाँडिएका छन् । यस अधोगतिबाट बाँच्नका निम्ति देवकोटाले भनेका“यात्री आज बनूँ अतीत युगका सम्झूँ त त्यो भारत” (शाकुन्तला महाकाव्य) कुरा सान्दर्भिक लाग्दछ ।
स्कुलको पाठ्यक्रममा “पूर्वीय सभ्यता” जस्ता पुस्तकहरू राखिनु आवश्यक हुँदछ जसले भावि पीढिलाई पूर्वीय सभ्यता र संस्कृतिको ज्ञान र गरिमासँग परिचित गराउनेछ । यसै सन्दर्भमा अमेरिकी वैज्ञानिक चार्ल्स एच.टाउन्ज (भौतिकशास्त्रमा नोबेल पुरस्कार विजेता १९६४) को विचार यसप्रकारको छ – “भारतवर्षका विद्यार्थीहरूले आफ्नो प्राचीन संस्कृतिको मूल्य बुझ्नुपर्छ किनभने जीवनको र मूल्यहरूको अर्थ यसैमा अन्तर्निहित छ । विज्ञान र भारतीय संस्कृतिलाई अलग ठान्दाको परिणाम अत्यन्तै हानिकर हुनेछ । मलाई वैज्ञानिक र आध्यात्मिक संस्कृतिलाई अलग राखेर हेर्नु व्यावहारिक हुन्छ जस्तो लाग्दैन ”।
प्रस्तुत कृति मझौला आकारको भए पनि यसको आयाम विस्तृत छ अनि यो महत् उद्देश्यका निम्ति लेखिएको हो । लेखक सलील ज्ञवालीको श्रमसाध्य कार्यलाई सराहना नगरी सकिँदैन । यसमा ८५ जना विद्वानहरूका तस्विरसहित उनीहरूको जन्म र मृत्युकालका साथै छोटकरीमा परिचय पनि पुस्तकमा दिइएको छ । यसबाहेक विद्वानहरूले प्रस्तुत गरेका मन्तव्य, उद्गारहरूको स्रोत पनि दिएका छन्; जसबाट यस विषयका अध्येताहरूले आफ्नो अध्ययनलाई विश्वसनीय बनाउन सक्नेछन् ।
यसबाहेक पुस्तकमा भएका डा. गोविन्दराज भट्टराईको ‘नेपाली जीवनमा पठन, चिन्तन र सिर्जनाको धरातल’ शीर्षक विद्वत्तापूर्ण लेख, प्रा. घनश्याम कँडेलको गम्भीर भूमिका, लेखक सलील ज्ञवालीको ‘पूर्वीय सभ्यताको अनन्ततालाई बुझ्दा’ जस्ता लेखहरूले पाठकलाई पूर्वीय सभ्यता र प्राच्य वाङ्गमयको असीमित विस्तृतिभित्र पुराउँदछ ।
अनुवादक डा. गोविन्दराज भट्टराईले ‘पूर्वीय सभ्यता’ मा प्रयोग गरेका सुललित र उत्कृष्ट भाषाशैली, तत्सम शब्दको माधुर्य, पारिभाषिक शब्द, आलङ्करिक पदयोजना, आदिले कृतिमा सुनमा सुगन्घ थपेको कुरालाई नकार्न सकिँदैन । उनले अङ्ग्रेजी भाषामा लेखिएको यस्तो उपयोगी पुस्तक नेपाली भाषामा अनुवाद गरेर नेपाली पाठकमाझ पुराउने महत् कार्य गरेका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।