
२०७६ सालको तिहारले बिदा मागेर निस्केपछि मैले अनायोजित पढ्न थालेँ । शरदको अन्त्य त्यस अद्भुत शान्तिमा यसलाई छिचोल्न धेरै समय लागेन । किनभने कतिपल्ट त म बिहानका राति ब्यूँझन्छु, मध्यरातपछि कुनै समय । त्यसबेला माथि सडकको ल्याम्प पोष्टमुनि केही भोका कुकुर सुतेका हुन्छन, तिर्खाइरहेको म ठीक त्यसैबेला घरको सिरानतलामा चढ्छु । सधैँ यति काम सकौँ भन्ने चिन्ता र उत्साहले उचालिएको मन सधैँ थामिनसक्नु हुन्छ । सायद त्यसैले मलाई ब्युँझाइदिन्छ ।
मध्यरातमा पुस्तकालय चढेर आफ्नो बक्सा टेबुलमुनि गोडा तेर्स्याएँ अनि झल्झलाका कान्तिपुरको दिव्यरूपतिर दृष्टि लगाएँ । स्वर्गझैँ बलिरहेको छ अनेक रङ्गमा । अनि कुलमान घिसिङ नामक यो देशका एक सपूतलाई सम्झेर यो शीर निहुराएँ । श्री विश्वनाथ बरालका यी शब्दहरू शिशिर योगीको मोहक स्वरमा नाच्न थाले— सारा शहर तिहारको रङ्ग र प्रकाशमा नाचे जसरीः
छाडेर काम सारा एक काम रोजी रहेछु
यो देशमा म यौटा मानिस खोजी रहेछु ।
भेटे कहीँ बताइदे हे राष्ट्रका बटोही
रक्षार्थ जन्मिएका छन् कि सपूत कोही ।।

डा. गोविन्दराज भट्टराई
‘ती एक मानिस’ तिनै कुलमान हुन् । वर्षौँ भोगिएको अन्धकार चिर्ने एक महान् सपूत । यसरी मन निख्रिएको बेला, एकान्तिक आनन्दले रित्तिएको बेला, नीरवतामा एक्लै बसेर लेख्न कम्ती आनन्द आउँदैन । त्यसो त म भूमिका जस्तो केही लेख्न बसेको हुँ तर यस्तो समय कीर्तिपुरको शीर उमामहेश्वर मन्दिरको गजुर झलमल भएको बेलामा, बाघ भैरवमा घण्ट बज्नुभन्दा धेरै पहिलेको अमूल्य समयमा, म भूमिका जस्तो केही लेखेर समय समाप्त गर्न चाहन्नँ । लेखेँ भने पनि त्यो एक निबन्ध हुनेछ, एक लेख वा एक प्रबन्ध हुनेछ । जसरी मेरा अधिकांश भूमिका निजात्मक निबन्ध हुन् । आत्मसंस्मरण हुन् । साहित्यिक निबन्ध अर्थात् मनोवाद हुन् ।
आज अनितालाई सम्झँदै बसेको छु । उनी यो मनमा आएको निकै वर्ष भयो । एक साहित्यानुरागी, विद्यार्थी, पठनप्रेमी, लमजुङकी युवती यो अलकापुरीमा बसेर साहित्य साधना गर्दैछिन् । भाइ हरि गौतम र मैले उनको परीक्षार्थ एउटा उत्तरदायित्व सुम्पियौँ; नभन्दै उनले एक उत्तम ग्रन्थ (नगेन्द्र शर्माको जीवनी र कृतित्व २०७५) तयार पारेर देखाइन् । हामीले विश्वास गर्यौं ।
उनी क्रमशः पढ्दै लेख्तै गइन् । शुरुको अपरिपक्वता विस्थापित हुँदै गयो । उनको पठन क्षेत्र बढ्दै गयो; सिर्जना क्षेत्र पनि । राम्रा निबन्ध लेख्ने शैली शिल्प र तत्कालै कथा बुन्न सक्ने क्षमता लोभ लाग्दो देखियो । प्रकाशित पनि हुन थाले— पातलो गरी । यसको लागि सम्पादक द्वय श्री खिमानन्द (हिमाली गुराँस) र श्री रोचक घिमिरे (रचना) को प्रेरणा ठूलो छ । त्यसो त ४० वर्ष अघि मेरो प्रथम लेख पनि यही रचनामा छापिदिएर मलाई समालोचना जगततिर प्रवेश गराउने श्रेय उनै आदरणीय अग्रज रोचक घिमिरेज्यूलाई जान्छ ।
एक दिन अनिताले एउटा राम्रो कथा सुनाइन् । मलाई त्यसको विम्बले छोयो । शिशिफसको जस्तै अभिशापबाट मुक्तिको लागि एक पात्र कठोर परिश्रममा बाँधिएको छ । त्यसो त यो विश्वविम्ब नै हो । प्रत्येक मानवको जीवन एक शिशिफसकै हो । कुनै तृष्णा तृप्तिको कामनाले आशाको दाम्लामा बाँधिएर कहीँ पनि नपुगिने यात्रामा छ, ऊ पहरामा ढुङ्गा ठेलिरहेको छ ।
अनिताको सिर्जनात्मक तत्परता र उत्साह देखेर मैले भनेँ— यसलाई अलिक बढाएर एक उपन्यासिका बनाउन सके राम्रो हुन्थ्यो होला बैनी । तब उनी लागिन् । निरन्तर समर्पण भावले एक निष्ठामा, एक महिना जतिमा तयार भयो होला । म छक्क परेँ, मनमा हर्ष पनि थियो तर पढ्ने समय थिएन ।
यस पाली तिहारको एकान्तमा पसेर पढिसकेपछि मलाई निश्चय भयो— एक उपन्यासिका ठानेको, सिङ्गो उपन्यास भएछ । अनि आफ्नै प्रथम उपन्यासका दिन सम्झेँ— काठमाडौँको दुःख सागरमा २१ वर्षे उमेरमा यो मन बहुलाएर उठेको थियो र सातदिन सातरातमा भीमसेनथानको डेरामा एक्लै घोप्टिएँ । त्यसरी आएको थियो मेरो मुगलान । आज धेरै दिन व्यतीत भए ।
जीवन जगत्ले उत्पन्न गरेको आश्चर्य, हर्ष, प्रेम, पीडा, आनन्द र एकान्तिकता बोकेर हिँडिरहेकी अनिताले एक चौतारीमा बिसाएर लेखेको यस कृतिलाई मैले एक अत्यन्तै सफल उपन्यासको रूपमा दर्ता गरेको छु ।
कृति पढेका बेला मन आनन्दले उत्तेजित भएको समय थियो । गतवर्षकी नोबेल विजयी ओल्गा तोकार्जुकका उपन्यासको अद्भुत शक्तिले छोएको समय थियो । ती विश्वप्रतिभाबारे आविष्कारक शैली र निर्भीक लेखन शक्तिले उनलाई नोबेल दिलायो शीर्षकमा एक लेख तयार पारी मधुपर्क पठाएको थिएँ । त्यसपछि पूर्वी भारतको (असमीया भाषाको) एक महानतम् कृति (अनुवाद) पढेर त्यसबारे लेखिसकेको थिएँ । छत्रमान सुब्बाद्वारा अनूदित विख्यात स्रष्टा/वैज्ञानिक लक्ष्मीनन्दन बराको कायकल्प उपन्यासको लागि लेखिएको उक्त भूमिकाको अन्त्यमा एक वाक्य लेखेको सम्झिन्छु — छत्रले एक उत्तम कार्य गरेका छन् भन्ने सम्झेर मनमा सान्त्वना बोकी शयनकक्षतिर झर्दैछु । राति सोचेँ— मैले पनि त्यस्ता उपन्यास रच्नु पर्थ्यो, नसके पनि त्यस्ता कृतिको अनुवाद गर्नुपर्थ्यो ।
त्यसपछि काबुलको भीरमा कतै हातहतियारले लेश भएर हिँडिरहेका कमाण्डर भाइ केदार संकेतको डरलाग्दो ‘उपन्यास’ (युद्धको गर्जन) पढिसकेर बसेको बेला, मेरो रक्तसञ्चारमा केवल उपन्यासको प्रकृति दौडिरहेको थियो । अरू सबै भूलेको थिएँ ।
हजारौँ लाखौँ शिक्षितहरू वरिपरि छन् । तर लक्ष्मी नन्दन बराको कायकल्पजस्तो कृति (उपन्यास) किन जन्मिँदैन ? हजारौँ लाखौँ शिक्षित बौद्धिक छन् तर ओल्गा तोकार्जुकको फ्लाइटजस्तो विश्व चकित पार्ने कृति (उपन्यास) किन जन्मिँदैन ? हजारौँ लाखौँ स्रष्टा लेखकहरू छन् वरिपरि तर स्वेतलानाको भोइसेज फ्रम चेर्नोविलजस्तो कृति किन आउँदैनन् कतैबाट ? अबको गफप्रेमी र सतही नेपाली स्रष्टा पृथ्वी हल्लाउने प्रण गरेर सिर्जना जगत्मा उदाउँदैन कि कसो ?
त्यसो भनेर एकपल्ट पुनः उपन्यासको कोशीय परिभाषा पढेँ । त्यसले भन्छः पुस्तकाकारको एउटा त्यस्तो काल्पनिक गद्याख्यान; जसले यथार्थताको केही अंश प्रस्तुत गर्दै विशेष प्रकृतिका पात्र र कर्मको प्रतिनिधित्व गर्दछ ।
बस, यसमा दुई विशेषता मुख्य छन्— काल्पनिक सिर्जना तर यथार्थको प्रतिनिधित्वसँगको ।
प्रस्तुत आख्यान यस परिभाषासँग राम्ररी मिल्छ । सोही अनुकूल लेखक अनिताको कल्पना शक्ति पनि अति उच्च छ । उनले एक जोडी तरुणावस्थाका प्रेमी कल्पिन्, तिनका आशा उमङ्गका सपना देखाइन्, प्रेमालाप देखाइन्, तिनको वियोग गराइन् र वियोगमै अन्त्य पनि । यसलाई खण्डित–प्रेम उपन्यास भनिन्छ । ती पात्र उनका आफ्नै समवयी छन् । एक युवतीको लागि यो कल्पना धेरै औचित्यपूर्ण छ । यसको घटनास्थल (locla) मा गाउँ, स्कूल, काठमाडौँ सहर छन् । स्कूल कलेज जोडिन्छन् । प्रेम गर्ने र गरिने खेल शरीरबाट पसेर यो सञ्जीवनी आत्मातिर पस्तैछ ।
यो विचार र तर्कले बुनिएको कृति हो । घटना त्यस्तो ठूलो छैन कतिको लागि अविश्वासनीय पनि हुन जान्छ तर आंशिक रूपको यो आख्यानलाई उताबाट पनि पढ्नु पर्छ । तर यो विन्दुमै आख्यानले आँट देखाएको छ । यन्त्रसँग मानव जुधेको छ, यन्त्रको मानविकीकरण भएको छ । पृथ्वी संहारक यन्त्रहरू विनाशका प्रतीक छन् । यन्त्र–मानवको विजय र प्रकृति मानवको पराजय छ । ससानो ग्राम्य परिवेशमा पनि त्यो देखाइएको छ । यन्त्र विमुख भएरै आफ्नो लक्ष्य प्राप्तिमा समर्पित युवा नायकले पहिले यौवन चढायो; पछि सम्पूर्ण जीवनै ।
त्यो प्रतीक अर्थपूर्ण छ । यसको मूल पात्र प्रयास त्यसको विरुद्ध छ, आफूलाई दण्डित औँ निर्वासित ठाने तापनि प्रेमको प्राप्ति आशामा प्रेयसीसँगको मिलन तृष्णाले प्रतीक्षामा एक कर्म गर्दागर्दै जीवनै अन्त्य गर्दछ । यहाँ लेखकले उता ग्रीसेली शिशिफस र यता पूर्वीय मिथकका भीष्मपितामहको त्याग र बलिदानको दृष्टान्त दिँदै नायकले त्यस्तै मूल्यप्राप्ति हेतु जीवन उत्सर्ग गरेको देखाएकी छन् ।
व्यापक कल्पना छ, यथार्थ त्यसैगरी बुनिएको । काल्पनिक वृत्तमा घुम्दा फेरि यथार्थै पनि लाग्छ । यौवनको ऊर्जा र विषमलिङ्गी प्रेमको भौतिक एवम् भावनात्मक मिलन–तृष्णाले बलेका हृदय छन् ! त्यो भन्दा अझ पुरुष पात्रको चिन्ता, कल्पना, समर्पण र त्याग भयङ्कर छ । शब्दान्तरमा यसैभित्र स्रष्टाको पनि जीवन वृत्तसँग केही समता होलान् । टाढैबाट भीरको एक्लो सल्लो त्यहीँ सुसाइरहेको सुनिन्छ ।
अनिताको पठन उच्च छ— भाषाकेन्द्री, शैलीकेन्द्र भएर उनले वीपी पढिन्, पारिजात,.. द्रौपदी यस्ता चुनिएका कृति पढेको, तिनको समीक्षा लेखेको, तिनीप्रति आकर्षित भएको निकै भयो । त्यसले पनि उनलाई खार्दैछ किनभने पठनविनाको सिर्जना व्यर्थ छ । त्यो एक शुष्क सामान्य र मूल्यहीन प्रयत्नको पुनरावृत्ति मात्र हुन्छ ।
प्रस्तुत आख्यानमा दुईवटा नयाँ टेक्निक प्रयोग गरेकी छन् अनिताले । स्वप्न, भ्रान्ति, निद्रा जस्ता तत्त्वले कथा गतिलाई विदिशा लगेर फेरि फर्काउने ‘म्याजिकल रियालिजम्’ अर्थात् मायिक यथार्थता । मलाई साह्रै मन पर्ने । कम्प्युटर साइन्समा पसेर हाइपररियालिजम् उत्पन्न गरेजस्तै हो यो आख्यानमा स्थापित कला तर यहाँ तिनीहरूको प्रयोग त्यति सघन छैन । अलिकति धु्रवचन्द्र गौतमको अलिकति डाइमन शमशेरको सम्झना गराउँछ । मेरो सुकरातको पाइलामा भने त्यो प्रशस्त छ । अर्को टेक्निक छ स्वैरकल्पना । यसको प्रयोगले यन्त्रहरू जागेर उठ्छन् र मानव विरुद्ध आक्रामक हुन्छन् । एउटाले बोल्छ र नायक दण्ड भोग्न विवश हुन्छ । यसको पनि प्रयोग अवधि छोटो छ ।
अनिताको आख्यानमा दर्शनको पनि गहिरो प्रभाव छ— एकातिर अस्तित्ववाद छ अर्को पूर्वीय चेतना छ— आत्माको, जीवनको, पुनर्जन्म, जन्म जन्मान्तरको । त्यति गहिरो ता होइन तर तिनै तत्त्वमा टेकेर यसको विश्वास बनिएको छ ।
यसको भाषा उच्च परिष्कृत साहित्योचित औपचारिक, तत्सम शब्दले गर्दा गम्भीर पनि लाग्छ । उनले अनेक पठनबाट ग्रहण गर्दै आफ्नो साधनामा पनि ती ज्ञानलाई अन्तर्भूत गराइन् ।
उपन्यास अत्यन्तै राम्रो, पठनीय हृदय तान्ने छ । पहिलो पल्टै यस्तो उच्चता छुने कर्ममा लगाउने उनको कल्पना र कलमको जगतले प्रशंसा गर्नेछ । किनभने यस्ता बौद्धिक विचार यस्तो परिष्कृत भाषामा, अमूर्त लाग्ने प्रेम दर्शनको अडेसा लगाएर आख्यान निर्माण गर्न कठिन छ । यसको विषय ता यौवन र प्रेम हो जसको अप्राप्तिमा अनि अतृप्तिमा जीवन समाप्त भएको देख्ता कथामा अत्यन्तै गहिरो दुखान्तको राँको उठ्दछ ।
नाभाकोभको आख्यानमा लोलिताको शरीरमा कामोद्दीपक नग्नता देखेर पुरुष पात्रको सम्पूर्ण सन्तुलन समाप्त भयो । यस अनायोजित उपन्यासमा पनि त्यस्तै केही रत्यात्मक दृश्य आउलाजस्तो हुन्छ । एकदिन बाँसघारीको निर्मम एकान्तमा युवतीको शरीरको भार प्रयासमाथि पर्यो । हाम्रो पात्रलाई नाभाकोभको पात्रलाई जस्तै भयो । त्यही स्मृतिले जीवनभरि उसलाई पछ्याइरह्यो । पाठकले कल्पना गर्छ कुनै कामकलाको दृश्य पो देखिन्छ कि तर केवल ध्वनि छ । कलात्मक शैलीकी धनी युवती स्रष्टाले टाढाका त्यस्ता केही झल्का देखाउँछिन् फेरि पाठकले ठम्याउन नसक्दै तर्केर कथा अघि बढ्छ ।
परिपक्व र आकर्षक शैलीले तानिरहन्छ जसरी अतृप्त कामनाले जन्मेको अतृप्त वासनाले तानिएको युवकले समाप्त हुइन्जेल बल गर्दा पनि बरु आफैँ बूढो हुन्छ तर बाधा पार गर्न नसकी आफैँ समाप्त हुन्छ ।
कस्तो रमाइलो, कस्तो मीठो, कस्तो पढिरहुँ लाग्ने ? मैले सयौँ नेपाली उपन्यास पढेँ हुँला । प्रथम सिर्जनामा यत्रो शिल्प, कला र शक्ति भरिएको कृति आजसम्म पढेको थिइनँ । अनिता एक जबर्जस्त लेखक हुन् । उनीभित्रको अतोषणीय र अतृप्य पाठक र निरन्तर सिर्जना गरिबस्ने, समीक्षा गरिबस्ने अथक स्रष्टा, देख्ता मनमा माया लाग्छ, लोभ पनि लाग्छ एक विरुवा हुर्कनै लागेको छ, कुनै हुरीबतासले यसका हाँगा नमर्काओस्, पात नझरोस्, पुष्पलाई भमराले नदेखोस्, कोपिला दाना फूल निरन्तर रहून् भन्ने भाव उत्पन्न हुन्छ ।
यस्तो समर्पित साधनामा लीन भए पनि अनिताको भाषा भूल र भाषा भिन्नता व्याप्त छ । कतिपय गाउँ ठाउँका भाषाका बोली छन् । तिनलाई प्रसङ्गले बुझौँला जस्तो- देखल, यस्तै अरू धेरै शब्द छन् । कतिपय पद सन्निधान त्रुटिपूर्ण छन् जस्तै कामनाकै वशीभूत । कति ठाउँमा शब्दाधिक्य दोष छ जस्तै आफ्नै वैयक्तिक, अथवा नयन द्वय; कति ठाउँमा हिज्जे भत्केको छ जस्तै धैर्यता, बाहना, दुलाह, कतिपय हिन्दीमूलका शब्द छन्— बावजूद, उल्झन, मुर्गा, दृष्यित, बन्धी, बुल्जर आदि । कति ठाउँमा शब्दार्थको अनुशासन भत्केको छ जस्तै दुरस्थ पुर्याउँछ, केही वाक्यात्मक त्रुटी पनि भेटिए । ती सबैमा मैले पढेर मसी दलेँ । सुधारको उमेर छ, सुधारको आवश्यकता र सम्भावना पनि । सुधारको पक्षमा राम्रोको लागि भाषा माझ्ने हेतुले अझै धेरै गर्नु छ ।
ठाउँठाउँमा अश्लील पर्दा पनि खुल्छ कि जस्तो कुतुहल विन्दुमा पुग्छ कुरा । तर कस्तो कलाले गर्दा छोपिदिन्छ, उध्रेको ठाउँबाट चिहाउने पाठकीय रहर अधूरै रहन्छ, “ उन्नतिले मलाई सम्पूर्णतः आफ्नो भार थमाउन दिएकी थिइन् । जतिबेला यस्तो अनुभूति हुँदै थियो, जसलाई शब्दमा मूर्तरूप दिन त म सक्दिनँ । उनको भाषामा भन्ने हो भने शब्दमा प्रकट गर्दा सतही होला भन्ने त्रास पनि छ, यो मनमा । यसर्थ मौन हुन चाहेँ । मैले उनलाई तीव्र वेगमा प्रेम गरिरहेको थिएँ । हाम्रो दुई मुटुको धड्कन एक भएर कम्पित हुँदै थियो । त्यतिबेला उनको एकादेशको अभिव्यक्तिलाई मैले स्मरण गर्न भ्याइनँ । अन्तिम पल अँगालोबाट शिर उठाएर अधरामृतको मीठो स्वादसँगै हामी पूर्व स्थितिमा फर्कियौँ ।”
बाँकी दिनका लागि दुई उपदेश आवश्यक छन्—
राम्रा कृति चयन गरी निरन्तर पढ्ने र नबिसाइ सिर्जना कर्म गरिरहने । आफ्नो भाषाको त्रुटि निर्मूल, स्तरीय र सङ्लो रूपको सपना मनमा राख्नु पर्दछ; कल्पना भन्ने तत्त्व चाहिँ आशीर्वादले मात्र प्राप्त हुन्छ । म लेख्छु भन्ने साहस र त्याग मिलेपछि लेख्न सकिने नसकिने थाहा हुँदै जान्छ । हुटहुटी र प्रेरणाले लेखाउँछ । धेरैले चाहेर पनि लेखक बन्न सक्दैनन् ।
अभ्यास गर्दैमा सफलता प्राप्त हुन्छ भन्न सकिँदैन तर एक समर्पित साहित्यकारलाई कुनै बाधाव्यवधानले अवरोध पुर्याउन सक्दैन, मृत्युले बाहेक । केही गर्न पाइएछ, सकिएछ भने मृत्यु नै आए पनि उसले अमरता प्राप्त गरिसकेको हुनेछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

