Chovar Blues Mobile Size

अनुभवले खारिएपछि समाजभित्रकै यथार्थ भावाभिव्यक्तिहरूलाई साहित्यकारहरू प्रतिविम्बित गर्दछन् । जे छ त्यही देख्ने अनि जे देखिन्छ त्यसलाई हेर्नु यथार्थ हो । हेर्नेहरूले नदेख्न पनि सक्लान् । अनि देख्नेहरूले नहेर्न पनि सक्लान् । प्रतिविम्बित तबमात्र हुन्छ जब देख्न छोडेर हेर्न थालिन्छ।

भाषाद्वारा भावाभिव्यक्ति गरिन्छ साहित्यमा । साहित्यको इतिहासले पनि कविता लेखन यात्रा नै पहिलो हो भन्ने किटान गर्दछ। कविताकै माध्यमद्वारा साहित्य सुरु भएको मानिन्छ । कवितामा वीरपूजा गर्ने प्रचलन, भक्ति-प्रार्थनासँगै प्रेम-श्रृङ्गार हुँदै आधुनिक समाजलाई हेर्ने, व्यङ्ग्य कस्ने प्रचलन बढ़ी देख्न पाइन्छ। जतिसक्दो कम्ति शब्दहरू चलाएर थुप्रै कुराहरू भन्ने चलनको विकास भइरहेको छ । हाइकु, मुक्तक, युग्मकहरूले कम्तिमा थुप्रै कुराहरू समाजलाई दिइरहेका छन् ।

कवि, साहित्यकारहरू मुक्त रुपमा वा स्वतन्त्र पक्षीजस्तै विचरण गरेर साहित्य निर्माण गर्छन्। आफूले भोगेको, देखेको, हेरेको वास्तविकतालाई साहित्यमा सजाउँछन्। साहित्यमा कल्पनातत्त्वको अधिपत्य रहे पनि हिजोआजका साहित्यले समाजको नाङ्गो चित्रण छर्लङ्गै देखाइदिन्छ। कवि, साहित्यकार बनावटी, ढोङ्ग, आडम्बरमा विश्वास राख्दैनन्। लेखिसकेपछि त्यो समाजको निम्ति भइदिन्छ । समाजलाई कामलाग्ने लेखियो भने त्यो साहित्यको महत्त्व रहन्छ । समाजइतर भइदिएको साहित्य असाहित्य हुन्छ ।

देवराज शर्मा (दार्जीलिङ)

साहित्य रचिन्छ मानवकै निम्ति । मान्छेलाई आफ्नो स्वरुप हेर्न ऐनाको खाँचो पर्दछ । समाजको प्रतिविम्ब देखाउनेहरू कम्ति नै हुन्छन् । साहित्यकारले रचेको साहित्य वास्तवमा ऐना हो जुन ऐनामा समाजको स्वरुप छर्लङ्ग देख्न पाइन्छ । समाजभित्रको राम्रो-नराम्रो सम्पूर्ण पक्ष पक्षपात नगरी साहित्यरुपी ऐनाले छर्लङ्ग प्रतिविम्बित गर्दछ । भनौँ समाजको यथार्थ कुराहरू साहित्यले प्रतिविम्बित पार्दछ ।

कमल सापकोटाको मुक्तक सङ्ग्रहमा मुक्तकमै परिभाषा,नियम, विषयवस्तु र विश्लेषण गर्ने प्रयास छ । नियम मुक्तक हेरौँ –

कोही भन्छन् शीर्षक लेखी मुक्तक लेखिन्छ

अधिकांश शीर्षकबिना मुक्तक भेटिन्छ

अर्थ भन्छन् मुक्तक यो बन्धनमुक्त हुन्छ

त्यसैले त स्वतन्त्र यो मुक्तक देखिन्छ।

अन्त्यानुप्रास अलङ्कारले लयात्मक बनाइदिएको छ। पढ्दा मज्जा लाग्ने मुक्तकहरूमा चाहनाको कुरा गर्दै लक्ष्यमा पुग्ने सम्भावना खोज्छन् मुक्तककार। मुक्तकमा समयको वास्तविकता बुझाउँदै मुक्तकार समय मुक्तकमा भन्छन्-

घडी साट्यो समयले चिनेनछ आफैँ

बुध्दिमता बाँध्ने डोरी छिनेनछ आफैँ

परिश्रम नगरी नै सुख मात्र खोज्यो

बुटी पाउँदा अजम्बरी चिनेनछ आफैँ

समयलाई घडीले लगाम लाइसक्यो, केही नगरी सुख खोज्नेहरूमाथि व्यङ्ग्य छ मुक्तकारको।

प्रकृति चित्रणमा कार्यक्रम निर्माण गर्छन्। सुन्दर चित्रण छ मुक्तकमा-

साँझ झर्दा कोही त्यहाँ आउँदो रै छ आफैँ

चन्द्रमाको चाँदनी पो छाउँदो रै छ आफैँ

म पनि त त्यहीँ थिए रमाइलो यो हेर्नलाई

मीठो गीत झ्याउँकिरीले गाउँदो रै छ आफैँ।

मुक्तकतिर कतै अधिकारको कुरा छ। माटो मेरो भन्नेले जातिको रानु चिन्नुपर्छ भन्ने विचार पाइन्छ भने हिजोआज चम्चागिरी गर्ने चाप्लुसी गरेर योग्यताबिना माथि पुग्ने विचारका धनीहरूमाथि कसिलो व्यङ्ग्य गरेको मुक्तक कु-नीति।

माया, पिरतीको कुरा गर्छन् मुक्तकार । मुक्तक पढ्दा गीतको अंश पढेझैं पाइन्छ । गीत पनि लेख्न सक्ने क्षमता देखिन्छ मुक्तककारमा । नियति मुक्तक हेरौँ-

उनले माया मारेदेखि भाग्य पनि मेटिएछ

एउटा फूलको तरेलीले अर्को फूल रेटिएछ

नदेखेकै वेश थियो वियोग हुनुभन्दा चाहिँ

नियतिको खेल होला किन यसै भेटिएछ ।

भोट आउनु, चुनावको प्रचार गर्नु, नेता बनिनु अनि नेता बनिएपछि बेइमान हुनु, पैसाकै पछि भागेर मैं हुँ भन्ने हुनु भन्ने कुराहरू पनि पाइन्छ मुक्तकतिर । त्यतिमात्रै कहाँ हो र नेता त नेता भइहाल्यो नेताको धुपौरे भएर नेताकै टट्टी खाला जस्तो गरेर उसकै अघि-पछि भइरहनुमा खुसी देखिन्छन् हिजआज पढ़ेका शिक्षित युवा मूर्खहरू । चुनावको मुखमा स्वार्थी नेताहरू गाउँ पस्छन्, चुनाउ जितेपछि गाउँ विकासमा आएको पैसा पचाएर सहरतिर रमाउँछन् भन्न चुक्दैनन् मुक्तककार। तीखो व्यङ्यग्यात्मक अभिव्यक्ति भेटिन्छ मुक्तकमा।

चुनाव चैं आउँदै पिच्छे तिमी उठ्ने भन्छौ

पेटभरि गाउँमा खाई सहरमा चुठ्ने भन्छौ

जनताको सेवा तिमी कति गर्छौ भनी सोधे

रुपियाँको बिटाले नै जनता पो कुट्ने भन्छौ।

(उमेद्वार)

संसारमा यदि भगवान छन् भने ती हुन् आमा-बाबा। जन्मिएर हुर्किएपछि बढ्दै-पढ्दै शिक्षित भएर तथाकथित सन्तानले आमा-बाबालाई तल्याएको देखिन्छ । हामीले त पितृ ऋण तिरिसक्यौँ भन्ने सन्तानको पनि अभाव छैन यस संसारमा । पितृ ऋण र मातृ ऋण त मरेर गएपछि पनि तिर्न सकिँदैन । माता-पिता जिउँदो हुञ्जेल नै उनीहरूको सेवा गर्नु धर्म हो । संसार देखाउने आमा-बाबा भगवानकै रुप हुन् त्यसमा दुइमत नहुनुपर्ने । वृद्धाश्रमको पीडाले वृद्ध आमा-बाबालाई सताउँछ नै। मुक्तकमा भेटिन्छन् यस्ता आशय।

आधुनिक समय वर्तमान समय हो अनि कलयुग भनेको भोलिको समय। यो समय भनेको हामीले आज जे गर्छौं भोलि त्यही भोग्नुपर्छ। मैले कसैको राम्रो गरे भने मेरो राम्रो हुन्छ नै, तर यदि मैले कसैको नराम्रो गरे भने मेरै नराम्रो हुन्छ त्यसमा शंका छैन। जे गरिन्छ त्यही भोगिन्छ । तर पनि हामी राम्रोभन्दा नराम्रो नै गर्नतिर लम्कन्छौँ अनि त्यसमै रमाउँछौँ पनि । विडम्बना हाम्रो ।

मुक्तकमा मुक्तकारको समदृष्टि छ । जहाँ बसे पनि हाम्रो जगत् त एउटै हो । भनौँ हामी पृथ्वीभित्रै अँटाएका छौँ सबैजना । पृथ्वीबाहिर हुनै सक्दैनौ हामी ।

हिजोआज चिन्ताले मानिसहरू शान्तिले सुत्न पनि सक्दैनन् अनि छिट्टै चाउरिन्छन् । संसारमा शान्ति पाउन क्रान्ति आउनुपर्छ भन्ने सोंच राख्छन् मुक्तककार कमल सापकोटा । पहिला-पहिलाको समयमा समय छिट्टो बितेझैं लाग्थ्यो । अझै समय पाए पनि हुन्थ्यो, के छिटो रात परेको भन्ने गुनासो सुनिन्थ्यो तर आजको समय एकदमै विपरीत छ । सबैलाई टाइम पास गर्नु छ। समय पास गर्ने विभिन्न तौर-तरिका खोज्छन् हिजआज मान्छेहरू। समयको मूल्य नबुझेर मानिसहरू हिजआज केही गर्न चाहँदैनन् । टाइम पास गर्नमै तल्लिन हुन्छन्।

जीवनलाई सकारात्मक विचारले विचार्ने सल्लाह पनि दिन्छन् मुक्तककार मुक्तकमा। सबैलाई आशावादी भएर बाँच्नु भन्छन्-

अलिकति बाँचे पनि खुसी छर्दै बाँच

जिन्दगीमा सधैंभरि आश धेरै साँच

मर्छु भनी अघिदेखि खुट्टा नतान है

गीत पनि गाऊ बरु मज्जा गर्दै नाच।

( आशावादी)

मुक्तकतिर अवसरवादी, मौकावादी, स्वार्थीहरूमाथि कसिलो व्यङ्ग्य भेटिन्छ। आफू बसेको नाम्चीको चारधामलाई स्वर्गसँग तुलना गर्छन् मुक्तककार कमल सापकोटा। देशप्रेमको कुरा गर्छन् कतै , फेरि कतै गरीब निर्मूलनमाथि तीखो व्यङ्ग्य कस्छन्।

आजको समय शिक्षाको समय हो। निरक्षर र अज्ञानीहरूले केही गर्न नसक्ने समय हो यो। भनौं पढ्नै पर्छ, शिक्षित हुनैपर्छ, ज्ञान बटुल्नैपर्छ, अनि मात्र उन्नति गर्न सकिन्छ । आज शिक्षा बिना एक पाइला पनि घिसार्न सकिँदैन । तर शिक्षित भएँ जान्ने भएँ अनि कुनै ठूलो पोस्टमा लम्पसार परेर बसेको छु भनेर घमण्ड गर्ने अनि घमण्डी हुनेले केही गर्न सक्दैन । आफूमा क्षमता हुनुपर्छ, क्षमताविहीन व्यक्तित्व लाचार हुन्छ, एउटा समय आएपछि । शिक्षित युवा जमातको खाँचो छ आज । रूढीवादी परम्परा पन्साएर, अन्धभक्ति छोडेर कुप्रथा त्याग्नुपर्छ भन्ने कुराहरू पशु अधिकार मुक्तकमा पाइन्छ । पशु हत्या-हिंसा छोड्नुपर्छ। तर वर्तमान राजनीतिमा लागेर पढेको-शिक्षित युवा मोराहरू नेताप्रति अन्धभक्तिमा लागेर आफ्नो सम्मान समेत गुमाइरहेको देख्न पाइन्छ आजको हाम्रो समाजमा । भीरमा जाने गोरूलाई राम-राम भन्न सकिन्छ काँध हाल्न सकिँदैन । यो उखान ती शिक्षित युवामाथि लागु हुन्छ ।

मुक्तकतिर आञ्चलिकताको प्रभाव छ, सिक्किमको प्रसिद्ध स्थल खेचीपेरी, छाङ्गु, नाम्ची, नदीहरू टिस्टा-रङ्गीत इत्यादि।रोमाञ्चक भावमा, रोमान्टिक पाराले मुक्तक सजाउँदा मीठो सुनिन्छ । मुक्तककारले आफ्नो मनको भाका पोखेका छन्-

प्रियसीले बोलिदिँदा स्वरै अर्को लाग्छ

अरु मिठो बोले पनि किन झर्को लाग्छ

फर्किएर बैंस फेरि आएछ कि कसो

नुनबिना पकाउँदा नि किन चर्को लाग्छ। (भिन्नता)

दुःख गरेपछि मात्र सफलता हात लाग्छ नै जसको निम्ति किताब पढ्नुपर्छ भन्ने स्पष्ट भनाइ छ मुक्तकतिर। प्रयास जारी राखेपछि शिखर पनि पुग्न सकिन्छ।

नयाँ पिँढीको आधुनिक फेशनप्रति व्यङ्ग्य कस्दै नयाँ पिँढी मुक्तकमा कमल सापकोटा भन्छन्-

बाबुले गाड़ी देख्न पाएन

छोराले राडी देख्न पाएन

आमाले स्कर्ट लगाइदिँदा

छोरीले साडी देख्न पाइन।

जीवन दुःख- सुखको जीवन चक्र मान्छन् भने रानी भए पनि सानी भएपनि यो संसार छोडेपछि खरानी त हुनैपर्छ भन्ने तीतो सत्य बताउँछन् मुक्तकतिर मुक्तककार कमल सापकोटा । कर्म गर्नेले कर्म गरिरहनुपर्छ। असल कर्म गर्नेलाई सधैं सम्झनामा राखिन्छ । कर्म मुक्तकमा मुक्तककार सापकोटा भन्छन्-

हात्ती हिँड्न रोकिँदैन कुकुर जति भुके पनि

असल मान्छे असल हुन्छ अरु जति फुके पनि

असल कर्म गर्नेलाई सबैले कहाँ बिर्सिन्छ र

सधैंभरि सम्झिदिन्छन् यहाँ जति लुके पनि।

आजको बिग्रँदो संस्कार-संस्कृतिप्रति समर्पित मुक्तक आशीर्वाद र आज्ञाकारी हो । बाबा-आमालाई जीवनभरि नबिर्सिनु भन्छन् मुक्तककार । बाबा-आमालाई कष्ट नदिनु उनैलाई भगवान् ठान्ने गर भन्छन् । मुक्तकांश-

माता पिता ईश्वर भनी सधैं जान्ने गर

उनको बोली सधैंभरि आशिष ठान्ने गर

उनको मन दुखाउँदै नरुवाऊ अब तिमी

उनी बस्ने घरलाई सधैं तीर्थ मान्ने गर

कुसंस्कारले समाज लथालिङ्गै पारेको छ, यसप्रति कटाक्ष छ मुक्तकारको । मुक्तकतिर सामाजिक संगति-विसंगतिहरूसँगै प्रकृतिप्रेम पनि देख्न पाइन्छ। यो संसार बँचाउनु हो भने वृक्ष रोपण अत्यन्त जरुरी छ। जङ्गल मास्नु होइन अझै बढ़ाउनु पर्छ। प्रदूषण फैलाउनाले मानव जातिनै सङ्कटमा पर्छ भन्ने प्रत्यक्ष सङ्केत पाइन्छ मुक्तकमा-

धर्तीलाई जोगाउन रुख रोप्नुपर्छ

प्रदूषण बढ्यो भने मुख छोप्नुपर्छ

सुन्दर यो पृथ्वीलाई फोहोर नपार है

नत्र हामी आफैंलाई दुःख थोप्नु पर्छ।

कतै स्वार्थी मान्छेको कुरा भेटिन्छ। कतै मानवताको कुरा छ भने कतै मानव दानव बनिएको कुरा छ अनि विश्वासघाती र छलीको पनि प्रसङ्ग छ मुक्तकतिर।

सिपाहीहरू शहीद भएर वीरगति पाउँछन् । घर आउने रहर भए पनि देशको निम्ति कसम आएका वीरहरू देशकै निम्ति शहीद हुन्छन् । परिवारमा दुःख छाउँछ, चितकार सुनिन्छ । यी यथार्थलाई मुक्तकतिर उतारेका छन् मुक्तककार कमल सापकोटाले।

पुस्तकको दोस्रो अन्तिम मुक्तक (533) मनसाय- मा आफ्नो मनको मनसाय व्यक्त गरेर सबैलाई आह्वान गर्दै मुक्तक कोर्छन्-

साहित्य र सृजनालाई माया गर्छौ भने

संसारमा सुख-शान्ति यदि छर्छौ भने

बचाइराख मानवता, सेवा अनि धर्म

समाजमा सभ्य भन्ने यदि पर्छौ भने ।

कमल सापकोटाको यथार्थका प्रतिविम्बहरू मुक्तक सङ्ग्रह-मा समाजका यथार्थ भावहरू प्रतिविम्बित भएका छन्। कृत्रिमताबाटा परै बस्ने, आडम्बर, स्वाङ र ढोङलाई महत्त्व नदिने कमल सापकोटा प्रकृति-समाजदेखि पर भागेका छैनन्। समाजको विसंगतिहरूप्रति कटु व्यङ्ग्य कसेका छन्।

मुक्तकहरू विविधतामा रमाएका छन्। सामाजिक संस्कार, संस्कृति, कुरिती-कुसंस्कारमाथि रचिएका मुक्तकहरू पठनीय छन्। एकाध मुक्तक छोडेर प्रायः मुक्तक अत्यन्त राम्रा छन्। जसले समाजलाई दिशा-निर्देश गर्दछ।

नेपाली साहित्यको मुक्तक विधामा थप उपलब्धि मान्न सकिन्छ यथार्थका प्रतिविम्बहरू मुक्तक सङ्ग्रहलाई। आधुनिक भाषा-शैली वा भनौँ बोलीचालीको भाषालाई पनि सजाइएको छ मुक्तकतिर। अङ्ग्रेजी शब्दको प्रयोग पाइन्छ, कतै ठेट नेपाली शब्दको प्रयोग देखिन्छ। अन्त्यानुप्रासको प्रयोगले लयात्मक छन् मुक्तकहरू। सरल र सहज भाषा प्रयोगमा रुचाउँछन् मुक्तककार। भाषा- कपल फोटो, लाइक, पासवर्ड, सेभ, युजर आइडी, गुगल, मेमोरी, इगो, हाई, बाई, माई इत्यादि।

आशीर्वाद, तुलना, गुनासो, अनुभव, परिवर्तन, आत्मियता अनि अरू थुप्रै मुक्तकहरूका शीर्षक दोहोरिएका छन्। शीर्षक एउटै देखिए पनि विचार भिन्ना भिन्नै राखिएको छ। एउटै विषयलाई पनि हेर्ने दृष्टिकोण अलग्गै छ।

कवि, लेखकहरूलाई आफ्नो ठाउँ र परिवेशले प्रभाव पार्छ नै। यसैलाई हामी आञ्चलिकताको स्वाद मान्छौँ। जीवनमा जति नै टाढा-टाढा गए पनि आफ्नै सामाजिक, आर्थिक र राजनीतिक परिवेशले घेरिरहेको हुन्छ।

अन्तमा भन्नुपर्दा यथार्थका प्रतिविम्बका मुक्तकहरू नेपाली समाजको ऐना भइदिएका छन्।