कथाकार देव भण्डारी कालिम्पोङ क्षेत्रका गतिला लेखकमा गनिन्छन् । उनका उपन्यास, कथासंग्रह र कवितासंग्रहहरु प्रकाशित छन् । सन २०१७ मा प्रकाशित भएको ’धरोहर’ नामक कथासंग्रह उनको सबैभन्दा कान्छो कृतिको रुपमा रहेको छ ।
कथा क्षेत्रमै कलम चलाउन मन पराउने कथाकारको सन् १९७६ मा सबैभन्दा पहिलो कृति प्रकाशित भएको थियो । यथार्थपरक कथाहरुको रचना गरेर घटनाक्रमहरुलाई फनक्कै घुमाउँदै एउटा दह्रो फैसला सुनाउन सफल छन् कथाकार । कालेबुङकै वरिपरिका घटनाहरुलाइ टपक्कै टिप्न खप्पिस कथाकारका कथाहरुमा स्थानीयताको सुगन्ध मगमगाइरहेको पाइन्छ । उनका कथाहरुमा कालेबुङको छेउबाट कंचनजङ्गा मुस्कुराइरहेको देखिन्छ, कालेबुङकै पुरानो सडकमा फ्याक्रे बेचिरहेकी गुरुङशेनीको फरिया टल्किन्छ, मैनाचरीले टिष्टा तरेर सिक्किमतिर हानिएको दृश्य देखिन्छ अनि अंग्रेज शासनकालको पीडाले भतभति पोलिरहेको भावनाले पाठकको मुटु गाँठो पार्छ ।
‘धरोहर’ सन् २०१७ मा बजारमा आएको एउटा कथासंग्रह हो । यसमा जम्मा १७ ओटा कथाहरु समाविष्ट छन् । सुनको चेन, खोलावारि खोलापारि, दाइँ, बाँध, शीतको सपना, किन रुन्छ माइलो, फेरि हतार, कंचनजङ्गा र त्यो मान्छे, धरोहर, गरीबको भाग्य,युवती हराएको सूचना, मिसकल, बुवा, हजार रुपियाँको पिज्जा, यथार्थ, लकाइँ डाँडा, गिटारको धुन, उही कुइरी केटी, साम्यजस्ता कथाहरु शीर्षकमा अटाएका छन् । एउटी आँटिली केटी प्रमुख पात्र छे प्रमुख कथा धरोहरमा । एउटा अदम्य उत्साह, त्याग र समर्पणको भावना बोकेकी केटीलाई नै एउटा धरोहर बनाएका छन् कथाकारले ।
’गिटारको धुन’ कथा संग्रहको चाखलाग्दो कथा हो । कथामा कलकत्ताको ग्रेट ईष्टर्न होटेलको नामुद गिटारिष्ट कालेबुङका कान्लाहरुमा घाँस दाउरा गर्ने व्यक्तिमा परिणत भएको घटनाहरु जोडेर कथाकार एउटा डरलाग्दो जीवनको मोड देखाउन सफल छन् । पाठकलाई मानिसको जीवनका अपत्यारिला मोडहरुमा पुर्याएर जीउ जिरिङ्गपार्दै फेरि मुल सडकमा गुडाउन मनपराउने कथाकारले कथा लेख्दा निकै मिहिनेत गरेको कुरा बुझ्न गाह्रो हुन्न ।
’उही कुइरी केटी’ नामको कथामा कथाकारले चाडपर्वहरु तीज, दशैँ, तिहारको मौलिक नेपालीपनको राम्रो ब्याख्या गर्न भ्याएका छन् । नेपाली विवहा पद्धतिलाई विदेशीले खुसी भएर स्वीकारेका कुराले फूलबुट्टा भेटेको अनुभव हुन्छ ।
कालिम्पोङ र त्यहाँबाट देखिने पहाड, हिमाल र मौलिक नेपाली परिवेशले तानेर अष्ट्रेलिया निवासी काइल चेष्टरटन भिक्टोरियालाई ’काँइली’उपनाम दिएर धेरै वर्ष टाँसेर राख्न सक्षम भएको छ । ’गरीबको भाग्य’ नामक कथाले यथार्थता बोलेको छ । सिमाहीन गरीबीको पीडामा परेको परिवारकी एउटी सानी नानीका अनेकौँ अनुत्तरित प्रश्नहरुले पाठकहरुलाई नमज्जाले दुखाउँछ । ’युवती हराएको सूचना’मा कथाकारले पुरानो कालेबुङ बजारको मज्जाले ब्याख्या गर्न भ्याएका छन् । ’साम्य’ नामक कथामा कथाकारले एकजना तरकारी बेच्न बेलाबेला देखापर्ने केटीलाई बाइस वर्षअघि मरिसकेकी कोकिलासँग हुबहु तुलना गरेर पुनर्जन्मको आभास गराउन पुगेका छन् ।
कथाकारले कथामार्फत “जन्मने अवश्य मर्छ, मर्नेको जन्म नित्य छ“ गीता दर्शनको रुपमा लेख्दै पुनर्जन्म सिद्धान्तलाई पुष्टि गर्न खोजेकाछन् ।
उनका कथामा जागिरेले विभिन्न स्थान घुम्दै जाँदा डेरा खोज्ने अप्ठेरोसँग जुधेको देखिन्छ । आधुनिक युवायुवतीले सामाजिक संजालको दुरुपयोग गरेको भेटिन्छ । कालिम्पोङ र दार्जिलिङका बिग्रेका केटाहरु र फटाहाहरुले दिनेगरेका दुख कष्ट छरपष्ट देखिन्छन् ।
घटनाक्रमहरुलाई बुनेर दर्शन चिन्तनको धारणालाई कलात्मक पाराले प्रस्तुत गर्न कथाकार खप्पीस भएको देखिन्छ । कालेबुङ, जोरथान, सिलगढी, रिनाक बजार, रङ्ली बजारकै सेरोफेरोले प्राथमिकता पाएको कथासंग्रहले क्षेत्रीय र आञ्चलिक घेरा तोड्न नसकेको आभास पाइन्छ ।
शताब्दी प्रकाशन कालिम्पोङले प्रकाशन गरेको कथासंग्रह १२४ पृष्ठको छ । नेपाली भाषाको दार्जिलिङ्गे बोलचालका शब्दहरुले प्राथमिकता पाएका छन् ।खातिर गर्नु, खिलाउनु, किरायाको घर, ज्यू, हजुर आदि बोलीचालीका शब्दहरु टपक्कै टिपिएका छन् । स्थानलाई जग्गा, फोटोलाई नक्साजस्ता बढी प्रयोग हुने स्थानीय जनजीवनका नेपाली शब्दहरुको बचाउ गर्न भ्याएका छन कथाकारले ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।