नेपाली साहित्यको कविता परिवारमा एक सुन्दर सन्ततिको जन्म भएको छ, रम्बास कविता । भारतको सुदूर उत्तर-पूर्वी राज्य असमको भूमिमा जन्मिएका एक सक्रिय अभियन्ता मिलन बोहराबाट । उक्त अभियान २०२०/२१ को राक्षसी महामारी कोविद 19- को पिँजराबाट मुक्ति खोजेको अविस्मरणीय परिघटना मानेका छौँ । तर यसले छिटै नै भारत, नेपाल, सिक्किम,वर्मा लगायत सात समुद्रपारसम्म आफ्नो न्यानो किरण फैल्याइसकेको छ। अब यो रम्बास कविताविधाको हरियो हाँगामा चिल्लो पात भएको छ। अहिले यसका सर्जकहरू दुइसय माथिको सङ्ख्यामा सक्रिय छन् भने पुस्तकाकारमा पनि नौ वटा कृतिहरू प्रकाशित भइसकेका छन् ।

रम्बास कवितासङ्ग्रहको पहिलो कृति कवि मिलन बोहोराको” तानाबाना” हो। यस शैलीका संस्थापक असमका कवि मिलन बोहोरा हुनुहुन्छ भने अहिलेसम्म थाहा भए अनुसार पछिल्लो कृति “नियात्रा”-का कवि शिव के श्रेष्ठ नेपालका हुनुहुन्छ भने यसभन्दाअघि नेपालबाटै शेषमणि आचार्य,एलपी पराजुली,सिक्किमबाट गीताश्री शर्माका रम्बास कविता कृतिहरू प्रकाशित भएका छन् । रम्बास कवितासङ्ग्रहमा एक अन्तर्राष्ट्रिय कृति ‘वरपिपल’ प्रकाशित भएको छ। नेपालमा यसलाई भित्र्याउने श्रेय भने रेहित सैँजू,रवीन्द्र पोख्रेलहरूलाई जान्छ।

अहिलेसम्म पुस्तककारको रूपमा प्रकाशित रम्बास कवितासङ्ग्रह यसप्रकार छन् —

१) तानाबाना (सन् २०२१)/-मिलन बोहोरा-विश्वनाथ,असम,भारत

२) डाली (वि.सं. २०७८, फागुन) शेषमणि आचार्य,नेपाल

प्रकाशकद्वय : रमाकुमारी आचार्य नेपाल, इन्द्रप्रसाद नेपाल,

विधिवत विमोचन : सन् २०२२/०४/०२ विसं २०७८/११/१८

३) वरपिपल (सन् २०२२) सम्पादकद्वय : मिलन बोहोरा,देवीचरण सेढाईं

प्रकाशक : खडानन्द दुलाल ,पुरुषोत्तम दाहाल ।

४ ) तिलस्मी (सन् २०२२) गीताश्री शर्मा नेउपाने

प्रकाशक : जनपक्ष प्रकाशन, सिक्किम,भारत

६ ) सयपत्री (सन् २०२२) अर्जुन उप्रेती (अप्रतिम)

असम ,बाक्सा जिल्ला,भारत

७ ) कलनाद (सन् २०२२) डा.जगन्नाथ उपाध्याय

असम,भारत

८ ) काव्यसुधा (वि.सं. २०७९)- एलपी पराजुली, नेपाल

९ ) नियात्रा (विसं २०७९) शिव के श्रेष्ठ, नेपाल , बाहेक कतिपय कविहरूले रम्बास कविताविधासितै अन्य शैलीका कविताका कृति पनि प्रकाशन गरेका छन् । जसमा नेपालबाट डाक्टर कालु शर्मा र भारतबाट गीताश्रीका कृतिहरू प्रमुख हुन् ।

अहिले यहाँ म यी सबै कृतिहरूको विशद चर्चा गर्न बसेको होइन, केही प्राप्त जानकारीलाई मात्र यहाँ समेटेर मूल लेखको भूमिका बाँध्न खोजेको छु ।

यहाँ अहिले रम्बास कृतिको चर्चा गर्न लाग्दा सर्वप्रथम अर्जुनदृष्टि रम्बास कविता कवयित्री गीताश्री शर्माको कृति ‘तिलस्मी’ कविता सङ्ग्रहपट्टि मात्र एकोहोरिएको छ । यद्यपि यो पूर्ण दृष्टि भने होइन । अन्य रम्बास कृतिहरूलाई पनि समयमा उल्लेख गर्नेछु । एउटा भनाइ छ कविताबारे, ”कवि करोति काव्यानि रसन्जानाति पण्डित:”अर्थात्, यो भनाइको म यसरी मात्र अर्थ लगाउँछु,
“कविले कविता लेख्छन्,भाव खोज्छन् समीक्षक ।”

कहिलेकाहीँ यस्तो पनि हुन सक्छ,कवि जे सोचेर कविता लेख्छन्,पाठक अझ पर गई सोच्दछन्। यसकारण कविको गुरु वास्तवमा पाठक हुन् ।

कवयित्री गीताश्री शर्मा सिक्किमे नेपाली चेली पुर्ख्यौली शान लिएर नेपाली साहित्यमा देखापरेकी एक बहुप्रतिभाशाली कवि/लेखक हुन् । यी कवि,कथाकार,सम्पादक, पाठ्यपुस्तक लेखक, प्रकाशक साथै पछिल्लो समयमा चर्चित रम्बास कवि हुन्। यिनको चर्चित रम्बास कवितासङ्ग्रह ‘तिलस्मी’ सिक्किमको ख्यातिप्राप्त जनपक्ष प्रकाशनबाट प्रकाशित भई असमको जागुनमा गतः सन् २०२२ अप्रिलको २३/२४- को रम्बास कविता महाकुम्भमा अन्य पाँच रम्बास कृतिसँगै लोकार्पण गरिएको थियो । यो समय असमको जागुन एक नवबधूसरह सिँगारिएको थियो।

यहाँ महाकवि लक्ष्मीप्रसाद देवकोटाको एउटा पङ्क्तिको सम्झना भयो , “कुन मन्दिरमा जान्छौ यात्री,कुन मन्दिरमा जाने हो !… ” छुन्छ तिलस्मी करले उसले सेवकहरूको माथ !…” कवि गीता यस सङ्ग्रहमा १०८ तिलस्मी करले पाठकहरूका हात समातिरहेकी छन् । यहाँ उनले जीवनका जुन जुन पलमा दृष्टि दिन्छिन्, तिनमा एक जबर्जस्त प्रभावको टीका लगाएकी छन् । रम्बास कविता लेखनमा प्रथम अभियानकी यी सर्जक समाज,जीवन,अनुभूति ,सपना,दर्शन , मनोविज्ञान ,प्रेम, वातावरण,रतिराग हरेक क्षेत्रमा गहिरो प्रभाव पार्न सक्ने ल्याकत राख्दछिन्, रम्बासको सुन्दर आकृतिभित्र १९ हरफको १०० अक्षरमा,थप हल् वर्णहरूको सहमतिमा मानव समाजलाई सर्लक्कै नचाउने रम्बास किन्नरी बनेकी छिन् । सानो सुन्दर आकारमा गीताको कलम यसरी चलेको छ, जुन मेरो नेपालभन्दा सुन्दर छ,उनको सिक्किमभन्दा कमनीय छ । सिङ्गो भारत वर्षमा तिलस्मी जादुको राग घन्केको छ।

कविका कविताहरू अनेक स्वादका छन् र यी तिलस्मी शक्तिका पनि छन् । यिनमा मानवीय संवेदनाका बहुपक्ष छन् । प्रेम छ, सुषुप्त रतिराग छ, समाजको बेथितिप्रति तीखो तर भलाद्मी प्रहार छ, छद्म तर बुझिने भाषामा परिवर्तन, क्रान्तिको उद्घोष छ। पर्यावरणीय चेतना छ, आह्वान छ,वियोगको पीडाको रोदन छ, आफन्तको वियोग छ, आफ्ना अभिभावकको वियोगमा उत्पन्न करुण रसको निर्झर झरना प्रवाहित छ। मनोविज्ञान छ । यिनका कलमले टिस्टाको वेगलाई रोक्न खोज्ने क्षमता राख्दछन्, ब्रह्मपुत्रलाई सन्देश पठाउने ल्यागत राख्दछन् । कञ्चनजङ्घा पनि उनका कविता सुन्न मौन बस्छन् । महान् विभूति राहुल साँकृत्यायनले नेपाली साहित्यका महान् महाकवि लक्ष्मीप्रसाद देवकोटालाई भारतीय महान् कविहरू सुमित्रानन्दन पन्त, जयशंकर प्रसाद,लक्ष्मीकान्त निरालाका एकल अवतार भनेका थिए, यिनले पनि यसरी नै देवकोटाप्रति आदर दर्शाएर आफ्नो जातिको गर्व बखान गरेकी छिन्।

कवयित्री गीताश्री फूल जस्तै सुन्दर,हिमजस्तै कोमल मनकी कवि हुन् । यिनका रम्बास पढ्दा अनेक स्वादको अनुभूति हुन्छ, यी प्रेमकी कलाकार हुन्, मायाकी खानी हुन्,जीवनकी पूर्ण चन्द्र हुन् । यिनले आफ्नो परिवारका अग्रज पिता,दाजुहरूको वियोगमा जुन हरफहरू कोरेकी छन्, तिनलाई पढ्दा नेपाली साहित्यमा म. वी. वि. शाहको “उसैको लागि” र नेपाली राष्ट्रकवि माधव घिमिरेको “गौरी”को सूक्ष्म झझल्को मिल्दछ । यिनका प्रेमिल रम्बासहरूले संसारको जुनसुकै कुनाका प्रेमी-प्रेमिकालाई मिठो गरी चिमोटिदिन्छ। यिनी मानवीय सम्वेदनाले ओतप्रोत कवि हुन् । यिनले गरीबी देखेकी छन् यसैले गरिबीको विषयमा रम्बास लेखेकी छिन,जसले नेपाली साहित्यका कवि भीमनिधि तिवारीको “काम्यो लुग्लुग त्यो गरीब बिचरा त्यसमा दया गर्छ को ?” – को भाव झ-झल्किन्छ।

कवि १०८ कवितामा जीवनका १०८वटै कुनामा पुग्न सकेकी छन्, तथापि यी प्रेमिल भावनाकी कवि हुन् । मानवतालाई जति माया र आदर्श मान्छिन् त्यो भन्दा ज्यादा प्रकृतिसित रमाउँछिन् । यिनका आँखा चिलका छन्, यसैले यिनले देखेको संसार सिक्किमको मात्र छैन,भारतको मात्र पनि छैन, नेपालको मात्र पनि छैन, यी प्रेमको, पर्यावरणीय चेतनाको,सामाजिक बेथितिको, राजनीतिक भ्रष्टाचारको, समयको, युगको विश्वभाषा बोल्न पुग्दछिन् । बसुधैव कुटुम्बकम् भन्छिन् । वास्तवमा यिनको एउटा शीर्ष रम्बास “तिलस्मी”त छ तर यो १०८ तिलस्मी करले संसार नियाल्न खोज्दछिन्। मलाई डर लाग्छ यिनको यत्रो प्रशंसा म किन गरिरहेछु,यसो सम्झन्छु,एउटा हिन्दीको यो भनाइ, -“जहाँ न पहुँचे रवि वहाँ पहुँचे कवि !”

गीताको बढी गीत नगाऊँ भन्दाभन्दै पनि तिलस्मीभित्रका रम्बासले यो ठाउँमा जो कोहीलाई पुर्याउँछन्। गीताले जितिसकेकी छन्। भविष्यमा अरु उत्कृष्ट कवि कोही निस्कन सक्लान्, निस्किनु पनि पर्छ, अझ सुन्दर रचना कसैले लेख्ला, यसमा त सबैले खुसी मान्नुपर्छ तर अहिलेघरी केही कुरामा यिनलाई अग्र पंक्तिमा राख्नुपर्छ, यो समयको माग हो, युगको पुकार हो । गीताश्री पहिलो नारी रम्बास कवयित्री हुन्, तिलस्मी संसारकै पहिलो नारी सर्जकले रचना गरेको पहिलो रम्बास कविताकृति हो, जो कोहीले अब यो ठाउँ पाउन सक्दैनन् अब आउने त दोस्रो, तेस्रो…मात्र हुनेछ । यसकारण गीता रम्बास वंशकी भृकुटी पनि हुन्, यिनले विश्वमा अगिल्लो लहर ओगटेकी छन्। यी भए गीताका गीतहरू।

रम्बास कविताप्रति मानिसका अनेक प्रतिक्रिया छन् । सुरुमा यसलाई जुन नजरले हेरिएको थियो विस्तारै त्यो हेराइमा फरक र परिष्कृत हुँदै जाँदैछन् । मानिसका नजरीया या दृष्टिकोणहरू परिवर्तित हुँदैछन्, तैपनि रम्बासका आफ्नै समस्या छन् । जसबाट यो कृति पनि पन्सन सक्दैन, गीताश्रीलाई पनि सजिलै उम्कन मिल्दैन । यसबारे केही समस्याहरू छन्, जो यसको आफ्नै सीमाले हो । १०० अक्षर, १९ पङ्क्ति, तिनको पनि सीमा, हल्वर्णलाई छुट, स्वतन्त्र हरफ यसका सीमाहरू हुन् । मुख्य गरी यसको अक्षरसीमाले केही परम्परागत वैयाकरणको दृष्टि तानेको छ । सुरुमा वर्ण विन्यासको निम्ति अच् वर्णलाई पनि कताकति हल् (खुट्टा काट्ने) अभ्यास गरियो । रम्बास आदि सर्जकको नाताले मिलनको ‘तानाबाना’-लाई नै हेरियो,पछिका हामी कतिपय सर्जकमा यसको छाप छ तर क्रमश:तिनमा सुधार हुँदैछ, पछिका कृतिहरूमा शेषमणि, गीता, एल.पी.हरू केही सचेत छन् ।

तर यो विधाको एउटा जटिल समस्या अक्षर सीमा नै हो । कहिलेकाहीँ कवि प्रयास गर्दागर्दै पनि उपयुक्त शब्द पहिल्याउन सक्दैन अनि निर्मम तरिकाले अच् वर्णलाई बलि दिएर हल् बनाउन पुग्छ । गीताका केही रम्बासहरू पनि यसको अपवादमा परेका छैनन्।

केही साथीहरूको विचारमा नेपाली हिज्जे प्रणालीमा ‘काम,राम,श्याम,धन’ जस्ता अकारान्त शब्दहरू हल् वर्णमै गनिन्छन् र रम्बासमा यी पनि त्यसरी नै गणना गर्नुपर्छ,भन्ने झल्को पाइन्छ, तर यो मिल्दैन,रम्बासको नियमले । रम्बासमा अक्षर गणना दृष्टिगोचर हुनुपर्छ,अर्थात् खुट्टो काटेको हल् नै हो,नकाटेको अच् नै हो ,जो गणनीय हुन्छ।

यस्तै अर्को विषयमा पनि विद्वानहरूमा केही सङ्कोच भए जस्तो लाग्दछ, जस्तो : पदयोगी हिज्जेलाई वियोग गरी आकार मिलाउनु, रम्बासको अर्को हस्तक्षेप। यो सरसर्ती हेर्दा हो जस्तो लाग्छ । किनभने नेपाली वर्णविन्यास देवनागरी लिपिमा नै गरिन्छ,जुन हिन्दीमा पनि हो। तर हिन्दीमा विभक्ति वियोग हुन्छ, नेपालीमा विभक्ति, नामयोगीहरू पदयोग गरिन्छन्, यसमा रम्बास असहमत छैन, तर यसको आफ्नो वास्तुकला छ जसमा आकृति यसको उत्कृष्टता हो, पूर्वीय सौन्दर्य-शास्त्रमा एउटा मान्यता छ : “अपि मासं मसं कुर्यात् छन्दोभङ्गं नकारयेत्”–अर्थात् छन्द (लय) मिलाउन कुनै अक्षर वा मात्रालाई तोडमोड गर्नुपर्छ भने पनि गर्नुपर्छ,लय बिगार्नु हुँदैन।

त्यस्तै रम्बासको लय (आकृति )समायोजन गर्न एउटा डिकाभित्रको शब्दलाई त्यही पङ्क्तिमा छुट्टयाएर लेख्ने गरिन्छ। भोलि यसमा सुधार हुन सक्ला। अथवा हामीले पनि यसमा दक्षता हासिल गर्न सकिएला, आशा गरौँ गीताले हामी सबैलाई उछिन्नेछिन्,। अर्को यसको समस्या ‘स्वतन्त्र हरफ’ भन्ने छ, यसबारे कतै विशद चर्चा गरिएको पाइन्न। तथापि मेरो विचारमा रम्बासको एउटा पङ्क्तिमा कुनै अक्षर अटाएन भने त्यसलाई माथि धकेल्न वा तल घचेट्न भएन, कुनै क्रियापदले तल वा माथिको वाक्यलाई समेट्न भएन। कविता हो, यो सूक्ष्म भावको समृद्धि हो‌, यसकारण यसमा सङ्क्षिप्त शब्दले पनि अर्थ सङ्केत गर्न सक्छन् वा सक्नुपर्छ, त्यसैमा पाठक वा समीक्षकको क्षमता आकलन हुन्छ। यस्तै एउटा संयोजकले सोझै माथिको वा तलको हरफ वा शब्दलाई बलजफ्ती तान्न वा धकेल्न पाइन्न, यस्ता विषयमा सायद कवि गीता चुकेकी छैनन्,‌ जसले उनलाई अब्बल दर्जाको सर्जक भन्न सकिने छ।

मैले यहाँ उनका रम्बासहरूको उद्धरण गरिरहेको छैन, यस विषयमा पूर्ववर्ती समीक्षकहरूले गरिसक्नुभएको छ । ती रम्बासमाथि केही दृष्टिहरू राख्न खोजिरहेको छु । जस्तै –

१) अचानो :१- यसमा शोषित जनताको दर्द छ।

२) अचानो : २ – माथिको र यसको सङ्केत फरक छ,बिम्बको प्रयोगमा कुशलता छ।

३) आँसु : भावुकता छ,आँसु पनि शक्ति हो,भनिएको छ।

४)आह्वान : आधार, आत्मीयता,औँला- यी प्रेमिल मनोभावनामा रोमाञ्चक छन्।

५) आँगन : चेलीको संस्कार पूर्वीय आर्य मान्यताको मनोविज्ञानमा आधारित छ ।

६) आराम : जीवन दर्शन झल्कन्छ।

७) आवाज : विश्वबन्धुत्वको वैदिक सभ्यताको पारखी देखिन्छ।

८) अतिक्रमण : मानवीय क्रूरताप्रति प्रहार छ। दुर्गा बनेकी छन् कवि।

९) अधीर : मानवीय सङ्घर्षको झझल्को पाइन्छ । गाँस-बास-कपास।

१०) उपेक्षा : नारीवादी चेतना।

११) उपनाम : मान्छे कर्म अनुसारको नामको धनी, कामगर नाम पाइन्छ।

१२) उल्लू /उषा : कविको प्रकृतिप्रेम।

१३) उन्मुक्त : स्वतन्त्रताकी गायिका ,

१४ ) उमङ्ग : शीर्षक र उपसंहारमा तालमेल अलि छैन,‌

१५) उपर्ना : बेजोड बिम्ब विधान,आमाको मायाको प्रतीक ‘उपर्ना’ वाह!!

१६) कविता : साहित्यको मर्म।

१७) कलम : कलमको महान् शक्ति वर्णन, आशावादी।

१८) किनारा : प्रेमिल,रोमाञ्चक,ज्वाला(क्रान्तिप्रेमी),जुवारी,

१९) काली : रूप हैन गुण खोज‌।

२०) क्रान्ति : समयको आह्वान बोल्छ।

२१) खुकुरी : पुर्खाको शान नभुल्ने नेपाली छोरी।

२२) गुनासो : लुकेको विद्रोह, उकुसमुकुस।

२३) चोर,छल : प्रेमिल राग , काउकुती लाग्छ।

२४) चरित्र : मानवीय मनको चित्रण, गहिरो बिम्ब।

२५) चित्कार : शीर्षक र विचारमा अन्तर्विरोध,

२६) चिन्तन : तेस्रो हरफमा “र हाम्रो ‘मा ‘र’ले हरफलाई स्वतन्त्र हुन दिएको छैन,मिठो अभिव्यक्ति,अन्त्यको “लु”निपात
बेजोडको छ।

२७) चाह : शीर्षक हिन्दी प्रभावित,विचार अब्बल स्वाभिमानी।

२८) छायाँ : अनौठो बिम्बविधान, दार्शनिक चेतना।

२९) जुनकिरी : उत्कृष्ट भावना, दुर्गा परम्परा।

३०) जुका : समाजका सबै शोषकहरू ! मुर्दावाद।

३१) झाँकी : संसार अटेको ।

३२) झोपडी : लक्ष्मीप्रसाद देवकोटाको “गरीब’ कविताको प्रभाव ,सुन्दर।

३३) टोपी : नेपाली जातिको पहिचान।

३४) ठेस : सङ्घर्ष पूर्ण जीवनको परिभाषा।

३५) ढुङ्गो : जीवन पाषाणको व्यथा समान,जीवन दर्शन,दर्शन छ।

३६) तिलस्मी : सबैतिर जादुमय सौन्दर्य छ,यसको तात्पर्य।

३७) तिहार : मन छुने,करुणरसको सफल प्रवाह गर्न सफल छ।

३८) तृष्णा : प्रेमको भोक अमर छ।

३९) तारुण्य : युवा शक्तिको आह्वान।

४०) तानाबाना : जीवन दर्शन झल्कन्छ।

४१) देह : आध्यात्मिक चेतनाको झझल्को।

४२) द्रविभूत : करुणरस झल्कने,वियोगमा प्रेमिकाको छटपटी , रोमान्टिक।

४३) धर्ती : व्यापारिक सन्त्रास।

४४) ध्रुव : आफन्तको वियोगको करुणा,मन छुने।

४५) निन्द्रा : मानवीय स्वभावलाई देखाएको।

४६) निब : प्रतीक गहिरो छ, दु:खको साथी कलम ।

४७) निर्भय : नि:शब्द,पर्खाइ, प्रतीक्षा,प्रेमधुन, एउटी प्रेमिका कसैको पर्खाइमा छटपटिएको मनोविज्ञान देखिन्छ। प्रेमिल।

४८) नीर : जलको विन्दु,कविहरू नदीका उपासक हुन्छन्,कवि यस्तै छन् यहाँ।

४९) निर्वाचन : राजनीतिक विकृतिमाथि प्रहार, दक्षिण एसियाली समस्या ‌।

५०) नारी : आधुनिक नारीको चाहना । नारीवादको।

५१) प्रदर्शक : दार्शनिक चेतना । समय नै मार्गदर्शक हो।

५२) पुलकित : प्रेमिल, रोमाञ्चक।

५३) पीपल : जीवन दर्शन बोलेको छ,पीपल जस्तै।

५४) फलैँचा : भावुक मनोदशा ।

५५) फूल : सुन्दर प्रतीक,फूल र जीवनको तुलना ।

५६) बतास : स्वैर कल्पना ।

५७) बगर : जीवन दर्शन,बगरको जीवनसँग तुलना वा जीवनको बगरसँग सामञ्जस्य।

५८) बटुवा : परिवर्तनको बिम्ब।

५९) ब्रह्माण्ड,ब्वाँसा : पर्यावरणीय चेतना भएको,धर्तीको व्यथा।

६०) बलिदान : राष्ट्रप्रेम, देशभक्तिको भावना झल्कने।

६१) बलेनी : अनुपम बिम्बको प्रयोग,जीवनका दु:खका डोबहरू मेट्नु छ,ठूलो भेल बग्नुपर्छ,रणचण्डी कवि!

६२) बिराला : क्रान्तिको आह्वान,शोषण विरुद्धको आक्रोश,बेजोड छ‌‌।

६३) भिक्षु : दार्शनिक चेतना ।

६४) भय : मनोवैज्ञानिक।

६५) मोहनी : आदर्शको बखान । आशावादी।

६६) माघ : मानवतावादी सन्देश बोकेको। कवि भीमनिधि तिवारीको कविता ‘गरीब’ झझल्को दिने।

६७) मन : मानसिक अन्तरद्वन्द्वको सङ्केत गर्दछ।

६८) मुस्कान : आशावादी, उल्लास झल्काउने, सकारात्मक सन्देश बोकेको।

६९) मौनता : १-२- : मौनताभित्र पनि विद्रोह छ।

७०) मुहान : वेदनामूलक ।

७१) मदारी : विद्रोह, ढाँटको विरुद्ध ।

७२) यात्रा : १/२ : जीवनको मर्म ।

७३) रात : प्रकृति र जीवन समान ।

७४) रम्बास : रुद्राक्ष-रम्बास महिमा ।

७५) रङ्ग : मानवतावादी सन्देश।

७६) लक्ष्मी : महाकवि देवकोटामा शब्द सुमन।

७७) लालित्य : वातावरणीय चेतना झल्काउने ।

७८) बरपीपल,वृक्ष : जीवनको समीक्षा,दार्शनिक चेतना(७९) शान्ति : आडम्बरप्रतिको असहमति।

८०) शीत : जनताको विद्रोहको सङ्केत ।

८१) चोक : दार्शनिक चेतना भएको।

८२) सडक : जीवनवादी ।

८३) साइनो : विज्ञान प्रभावित हुन्छ ।

८४) सारथी : प्रकृतिको महिमा,जीवनको सन्देश ।

८५ ) स्मृति : भावनामा बगेको,स्वैर कल्पना।

८६) सिन्दूर ,संयोक : परम्पराको तस्विर।

८७) सौन्दर्य : राष्ट्र,जातिभन्दा माथिको कुरा । मानवतावादको सन्देश ।

८८) सहर : सहर र गाउँको विभेदको जबर्जस्त चित्रण।

८९) समय : सामजिक विभेदप्रतिको विद्रोह।

९०) हस्तरेखा : भाग्यवादी मनोविज्ञान।

९१) ज्ञान : जीवनको सिंहावलोकन ।

वास्तवमा कवि गीता ‘तिलस्मी’-को आँखीझ्यालबाट जीवनको सुन्दरताको स्वाद लिन सिपालु छन्, यी प्रेमकी अप्सरा हुन्, यिनको दृष्टि समाजका हरेक कुनामा छ। यिनले अझै निरन्तर निखार ल्याउन हरदम प्रयत्न गरून् ।

 

सन्दर्भ स्रोत :

१) वरपिपल : रम्बास कवितासङ्ग्रह, संयुक्त सङ्ग्रह । सम्पादक : देवीचरण सेढाईँ/मिलन बोहोरा प्रकाशक : पुरुषोत्तम दाहाल/खडानन्द दुलाल,असम ,भारत ।

२) मिलन बोहोरा तथा देवीचरण सेढाईँका लेख,भूमिकाहरू, तिलस्मी,काव्यसुधा आदि ।

३) डाली : भूमिका, एल पी पराजुली र अन्य।

४) तिलस्मीबारे : गुरुदत्त ज्ञवालीको समीक्षात्मक लेख ।

५) दीपक सुवेदीको रम्बासबारे : समीक्षा-कविता पोष्ट ।

६) रेहित सैँजू : काव्य सुधाको लेख ।

७ ) रम्बासबारे : शेषमणि आचार्यका विभिन्न आलेखहरू ।

८) डाक्टर धर्मराज अधिकारीको ‘नियात्रा’-को भूमिका-लेख ।

९) रम्बास घोषणापत्र ।