बाबा जीवन यात्राका अभिभावक। जसका औँला समाती सन्तानहरू जीवनको यात्रापथमा अघि बढ्छन् । बाबा साथमा भए यात्राका कठिनाइ पनि पन्छिँदै जाने, कठिन यात्रा पनि सहज हुने, प्रयोजनहरू पूर्ण हुँदै जाने, यात्रामा चाहिँदो ज्ञान पाउँदै जाने। बाबाको छत्रछायामा सन्तानहरू हुर्किन्छन्, सन्तानहरू मान्छे बन्छन् । बाबाले आफ्नो कष्ट भुल्दै सन्तानको मुहारमा हाँसो ल्याउने प्रयत्न गरिरहेका हुन्छन् । सन्तानको सुखमा बाबा रमाउने गर्छन् । सन्तानको सफलतामा बाबा हर्षित हुन्छन् । बाबाले सन्तानप्रति गरेको माया निस्वार्थ हुन्छ । बाबा श्रद्धा, आस्था र आशीर्वादका धरोहर हुन् । बाबामा मानसिक बोध हुन्छ । अनुभव नै अनुभव हुन्छ । ती अनुभवहरूबाट हामीले धेरै कुराहरू सिक्न सक्तछौँ । ती अनुभवहरूले जीवन यात्रामा धेरै सहयोग गर्छन् ।

बाबाले गरेको कष्टप्रति हामीले के दिने हो भने भन्दा हामी असल मान्छे बन्नुपर्छ। तब हामीले बाबालाई केही उपहार दिएको हुनसक्ला। हामीले श्रवण कुमारका कथा पनि पढेका छौँ । हामीले दु:शासन, दुर्योधनका कथा पनि पढेका छौँ । हामीले रामको कथा पनि पढेका छौँ । प्रत्येक कथामा बाबाप्रति सन्तानको कर्तव्य छ, बाबाको आशीर्वाद छ, बाबाको मनोकष्ट छ । हामी आदर्शवान सन्तानको उदाहरणको रूपमा श्रवण कुमार, रामकै प्रसङ्गलाई ल्याउने गर्छौ । दशरथ र धृतराष्ट्रका कथाहरू हामी सन्तानले बाबालाई दिएको मनोकष्टका रूपमा ल्याउने गर्छौँ । बुबा सन्दर्भमा जर्ज हर्बटले भनेका छन्, ‘एउटा बाबु सय शिक्षक भन्दा बढी हुन्छन्।’ त्यसैले भनिन्छ ‘पितृ देवो: भव:।’ अर्थात् बुबा भगवान् हुन् । वेन रुनीले बाबा सन्दर्भमा यसरी अनमोल वचन भनेका छन् –‘बाबु बन्नु भनेको आफ्नो सन्तानका लागि रोल मोडल बन्नु हो।’

कृष्णनील कार्की

यहाँ चर्चामा ल्याइएको ‘बाबा’ एउटा कविता कृति हो। कवयित्री तारा लोहार लेप्चा। खरसाङ निवासी र खरसाङ महाविद्यालयकी नेपाली विभागप्रमुखका रूपमा जागिरे जीवनमा कर्मरत । यसअघि उनका चारवटा कृति प्रकाश भइसकेका छन्। यो पाँचौँ कृति। कालेबुङको अप्फिया प्रकाशनबाट सन् २०२२ मा प्रकाशित यस कृतिको मोल १५० रुपियाँ रहेको छ। कृति ८० पृष्ठको छ। कृतिको भूमिकाकारका रूपमा सुरेन्द्र थीङ रहेका छन् । हार्ड कभरमा सुन्दर रूपले आवरण पृष्ठमा सजिएको पुस्तकको आवरणमा रातो, कालो र सेतो रङ व्यवहार गरिएको छ भने एउटा ढोका खुलेको देखाइएको छ । कभरको पछिलो पृष्ठमा बाबाको तस्बिर रहेको छ । साथै सुरेन्द्र थीङ र उमेश उपमाले कृतिमाथि लेखिएका रचनाबाटै केही हरफहरू राखिएका छन् ।

यस कृतिको विशेषता के छ भने यस कृतिभित्र रहेका २२ वटै कविता बाबामाथि लेखिएका छन् । कवयित्रीका बाबा डी.एस. लोहारप्रति उत्सर्गित छन् सबै कविताहरू । यसरी एउटै कृतिभित्र मुक्त छन्दमा आफ्नै बाबालाई लिएर लेखिएका कविताहरूलाई लिएर निस्किएको शृङ्खला कविता कृति भारतबाटै सायद पहिलो होला, मैले जान्दा । सायद बाबाप्रतिको असीम माया, श्रद्धा सहितै बिर्सने नसकिने स्मृति होला।

कविहरूबाट आमा शीर्षकमाथि धेरै कविता लेखिएको होलान् । तर, बाबा शीर्षकमाथि ? लेखिए, तर आमाको तुलनामा कम्ती लेखिए। सन्तानका लागि बुबाआमा बराबर हुन् । सन्तानका लागि बुबाआमा दुवैले सङ्घर्ष गरेका हुन्छन् । सन्तानलाई माया पनि दुवैले गरेका हुन्छन् । सन्तानका लागि आफ्ना खुसीहरू गुमाएका हुन्छन् । सन्तानको खुसीमा उनीहरू रमाउँछन् । तर, किन आमाका तुलनामा बुबाबारेका रचनाहरू कम्ती लेखिन्छन् । सायद यो अनुसन्धानको विषय नै होला। तर, यसैबिच तारा लोहार लेप्चाबाट लेखिएको सिङ्गो काव्य कृतिले छोरीको बुबाप्रतिको माया, सम्मान, श्रद्धालाई समाजसामु आदर्शका रूपमा प्रस्तुत गरिदिएको छ । अब लागौँ त…कृतिको सर्वेक्षणतिर । अब म प्रस्तुत कृतिभित्र बाबाका रूपहरू खोज्ने छु । कवयित्रीले, भनौँ छोरीले बाबालाई यस कृतिभित्र कुन कुन रूपमा उभ्याएकी छन् त्यसको सर्वेक्षण गर्ने प्रयास हुनेछ। सङ्गीत, कला, साहित्य, फोटोग्राफी, शिक्षा, नेतृत्व, अवकाश जीवन, सत्कर्म आदि क्षेत्रमा रहेको बाबाको रूपलाई सर्वेक्षणको ऐनामा उतार्नु नै यस लेखको गूढ अभिप्राय रहने छ।

सङ्गीतप्रेमीका रूपमा बाबा : 

सङ्गीतले जीवनमा अमिट छाप छोडेको हुन्छ । सङ्गीत मन नपराउने मान्छे सायदै कोही होला । मान्छेले त मन पराउँछन् नै जीव-जन्तुले पनि सङ्गीत मन पराएको देखिन् छ। गाई, भैँसीलाई सङ्गीत सुनाउँदा अधिक दुध दुहुन सकिँदो रहेछ । गुजराततिर त्यस्तै गर्छन् । सर्कसमा जीव-जन्तुलाई नचाउन सङ्गीतको व्यवहार गरिन्छ । मान्छेको त कुरै आएन । बिहे, पूजा, कुनै उत्सव, प्रीतिभोज, न्वारान, अधिवेशन, पुराण जे भए तापनि सङ्गीत चाहिन्छ नै । सङ्गीतकै भरमा सिनेमा चलेका छन् । क्यासेटहरू बिकेका छन्। भनेपछि जता पनि सङ्गीत नै चाहिएको छ।

मान्छेले अधिक मन पराउने विधा सङ्गीत भएको छ। सङ्गीत मन नपराउने मान्छे त कप्टी हुन्छ भन्छन्। कवयित्रीका बाबाले पनि सङ्गीत मन पराएको प्रसङ्ग कविताका हरफहरूमा पाइन्छ। बिहानै चराचुरङ्गीको सङ्गीतमय स्वरमा ब्युँझिएर घरका वरिपरिको प्राकृतिक सौन्दर्यलाई नियाल्दै पूर्वतिरबाट झुल्किएको घामको उज्यालोमा बाबाले सानो भायलियनमा राष्ट्रिय सङ्गीतको मिठो धुन बजाएर बिहानको समय सङ्गीतमय, भक्तिमय बनाउँदै देशप्रेमको भाव छोराछोरीमा जाग्रत बनाएको, सङ्गीतप्रति सानैदेखि मोह जन्मिएको प्रसङ्ग कवितामा कवयित्रीले यसरी उल्लेख गरेकी छन् –

‘बिहानै पूर्व दिशामा

सूर्यको आगमन हुँदा

घरका बाबु

गोठको गाई दुहेर

आफ्नो हात-मुख धोइकन

सिनिक्क पोतेको बरान्डमा

सानो भाइलियन

जन-गन-मन-अधिनायक जय है

भारत भाग्य विधाता

मिठो धुन बजाउने….।’ (अतीतका झझल्कोहरू, पृ-१९-२०)

कलाप्रेमीका रूपमा बाबा :

हर व्यक्तिमै कुनै न कुनै कला लुकेको हुन्छ। चाहिन्छ केवल मञ्च। मञ्च र कलालाई प्रोत्साहन दिने व्यक्ति हुनु हो भने प्रत्येक व्यक्तिले नै केही न केही कला प्रदर्शन गर्छ नै। आजभोलि त झन् सजिलो भएको छ। प्रविधिको युगमा मोबाइल, कम्प्युटरबाटै धेरै कुरा सिक्न सकिन्छ। गुरुबाट पाएको झैँ ज्ञान लिन सकिन्छ। चाहियो लगनशीलता। अनि कुनै गाउँ अथवा भेकमा कुनै कलाप्रति उत्सर्गित अथवा पारखी व्यक्ति छ भने त्यसले त्यो अञ्चलमै विशेष छाप छोडेको हुन्छ। कवयित्रीका बाबा पनि कला मन पराउने व्यक्ति। नाटक गर्ने कलाकार। अरूलाई पनि नाटक गर्न उत्प्रेरित गराउने व्यक्ति। अनि यस्तै व्यक्तिहरू मृत्युपछि पनि अमर बन्छन्। मान्छेको मनमा उनीहरूको प्रतिच्छवि आइरहन्छ। कवयित्रीले बाबाको कलाकारितालाई कवितामा उतारेकी छन् –

‘बङ्गला नाटक बिसर्जनमा

बाबाले देखाउनु पर्ने

हात काटेको दृश्य

बोजु धुरुधुरु रोएकी कुराहरू

आज पनि कहीँ कतै कन्दराहरूमा

कुलैनबारी र फ्याक्ट्रीका अन्तरकुन्तरमा

ती नाटकका संवादहरू

हावामा सुसेलिँदै गरेको

हरेक समय महसुस गर्दछु।‘’ (कलाकार बाबा, पृ-२६)

साहित्यप्रेमीका रूपमा बाबा :

जीवन र जगतसँग सम्बन्धित मानवीय संवेदनाको तीव्र अनुभूति नै साहित्य हो। एउटा जातिको चिनारी हो साहित्य। भावनाको सुन्दर र कलात्मक अभिव्यक्ति नै साहित्य हो। समाजको ऐना हो साहित्य, जीवनको कसी हो साहित्य, सिर्जनाको संसार हो साहित्य। साहित्य अध्ययनबाट निजी अनुभव र अभिज्ञता विस्तार हुन्छ। त्यसैले साहित्य सम्बन्धित पुस्तकहरू अध्ययन गर्नुपर्छ। कवयित्रीका बाबा पनि साहित्यिक पुस्तकहरू पढ्ने, पुस्तक किन्ने र सन्तानलाई पढ्न अनुप्राणित गर्ने व्यक्ति हुन्। आफ्ना बाबाले साहित्यिक सामग्री जुटाइदिएको प्रसङ्ग कविल कवितामा यसरी ल्याएकी छन् –

‘हिन्दी, अङ्ग्रेजी, नेपाली पत्रिकाहरू

हरेक महिना हाम्रा निम्ति

जसरी भए पनि ल्याइदिने बाबाले।’ (पत्रिकाहरू, पृ-३१)

फोटोग्राफरका रूपमा बाबा :

फोटो खिच्ने मन सबैको हुन्छ। आफ्नो तस्बिर क्यामेराको लेन्समा हेर्ने, फोटो धोएर फोटो फ्रेममा राख्ने इच्छाहरू प्राय:जसो मान्छेकै हुन्छ। अहिले त जस्तो मन लाग्यो त्यस्तै, जतिखेर मन लाग्यो त्यतिखेरै फोटो खिच्न सकिने प्रविधिको विकास भएको छ। तर, जतिखेर मोबाइल थिएन अनि क्यामेरामा मात्रै फोटो खिचिन्थ्यो त्यतिखेर समय अर्कै थियो। बिहे अथवा कुनै अनुष्ठान, कार्यक्रममा फोटो खिच्ने मान्छेको पनि अलग्गै भाउ हुन्थ्यो। फोटो पनि खिच्नेबित्तिकै नपाउने, धुन स्टुडिओ पठाउनु पर्ने। क्यामेराको रिल पनि हिसाबको। त्यो समयमा कवयित्रीका बाबाको क्यामेरा थियो र थियो बाबाको फोटोग्राफीको रुचि। फोटो खिच्न बोलाएका सबैमा ठाउँमा जाने। फोटो खिच्न र प्रिन्ट निकाल्न पनि बाबाले सिकेका। त्यो समयमा काला-सेता फोटाहरू नै खिचिन्थे। बाबा फोटाग्राफर हुँदाको स्मृति कवयित्रीको मनमा आलै छ, त्यसैले कविताका हरफहरू सजाउँछिन् –

‘दास स्टुडियोबाट ल्याएको

फोटो धुने क्यामिकलहरू

फोटो लिन आउनेहरू

बाबाको त्यो प्रिय क्यामेरा

रोली फ्ल्याक्स मेड इन जर्मन

मानौँ तस्बिरसितकै गाढसम्बन्ध बाबाको।’(फोटोग्राफार, पृ-३६)

शिक्षाप्रेमीका रूपमा बाबा :

मानिसलाई बाटो देखाउने मार्ग हो शिक्षा। कुनै विषयमा ज्ञान अर्जन गर्नु अथवा ज्ञान दिनुलाई पनि शिक्षा नै भन्ने गरिन्छ। सभ्य र सुन्दर जीवनयापनका निम्ति शिक्षाको महत्त्व छ। शिक्षाबिनाको जीवन अन्धकार हुन्छ। एउटा असल व्यक्ति निर्माण पनि शिक्षाकै माध्यमबाट सम्भव हुन्छ। कवयित्रीका बुबाको पनि शिक्षाप्रति रुचि भएको कुरा कवितामा उल्लेख पाइन्छ। भलपैह्रोले अस्तव्यस्त पारेको मुङ्पुर धुरा गाउँ र गाउँबासीहरूलाई बाबाकै अगुवाइमा रेसेप धुराको फेदको जङ्गलमा पुनर बसाएर अनि गाउँको नाम पनि चालीस धुरा राखेको कुरा कवयित्रीको मानसपटलमा अझै ताजा छ। त्यस गाउँका नानीहरूका लागि प्राथमिक पाठशाला निर्माणमा पनि बाबा नै नाइके थिए। आज त्यो विद्यालयबाट शिक्षा ग्रहण गरेका धेरै विद्यार्थी असल मानिस बन्न पुगेका छन्। शिक्षाप्रति कवयित्रीका बाबाको देन धेरै रहेको कुरा कविताका हरफहरूमा पाइन्छन् –

‘आज ५० वर्षवादमा

त्यही प्राइमेरी पाठशालामा

शिक्षा हासिल गरेर

धेरै-धेरै विद्यार्थीहरू

असल नागरिक बनेका छन्

धन्य हुन् बाबा

अनि बाबाको शिक्षाप्रतिको

अटुट लगाव।’ (शिक्षा प्रेमी, पृ-४८)

नेताका रूपमा बाबा :

नेताले समस्याहरूको समाधान खोज्नुपर्छ। समस्याहरू सही ठाउँमा पुर्‍याउन सक्नुपर्छ। जनताको आवाज बन्न सक्नुपर्छ। कवयित्रीका बाबा फ्याक्ट्री युनियनका नेता थिए। मजदुरको हक र अधिकारका निम्ति हरहमेसा लागिरहने। साँचो कुरा बोल्न पछि नसर्ने। नेता हुँदा धेरै कामहरू गरेको अझै पनि कवयित्रीलाई थाहा छ। मङ्पूको अस्पतालमा सुधार गर्ने, बसको माग गर्ने, कुलैन कारखानालाई मोडर्नाइजको माग गर्ने, कन्या पाठशालाका लागि आवाज उठाउने, मजदुरको दैनिक मजदुरी वृद्धिको माग गर्ने आदि मागहरू विभागीय पक्ष अथवा सरकारसमक्ष सशक्त आवाजमा उठाउने कवयित्रीका बाबा थिए। आफ्नो सिद्धान्तमा अडिग थिए। हक, अधिकारको मामलामा कम्प्रोमाइज गर्ने सबाल नै आउँदैन्थ्यो। त्यसैले आज पनि बाबाको नेताकै झैँ मान छ, सम्मान छ। सबैले सम्मानसहित स्मरण गर्ने गर्छन् भन्ने स्मृति कवयित्रीको कवितामा झल्किन्छ-

‘मजदुरको नेता भएर नै

आफ्नो कामबाट

अवकाशप्राप्त भइञ्जेल

आफ्नो कार्यमा अघि बढे

चौडा छाती फुकाएर

रवीन्द्रनाथको दुइ लाइन कविता

गुन्गुनाउँदै

जदि तुमार डाक सुने कैउ न आसे

एक ला चलोरे।’ (ट्रेड युनियन र बाबा, पृ-५४)

पेन्सनरका रूपमा बाबा :

व्यस्ततापूर्ण जागिरे जीवनपछि पेन्सनरको जीवन आरम्भ हुन्छ। पेन्सनरहरूका समस्या अलग्गै छन्। समयमा पेन्सन नहुने, फाइल लिएर पेन्सन अफिस धाउने। कवयित्रीका बाबामा अवकाशप्राप्त गरेपछि जोस बढेर गयो भन्ने प्रसङ्ग कवितामा आएको छ। बाबाको कोठा नै पेन्सन अफिस हुन गयो। निर्देशकसँग कुराकानी गरेर पेन्सन अफिस बनाउने प्रयास बाबाको हुन थाल्यो। धेरै कुदाकुद गरेपछि अन्तिममा पेन्सन अफिस मङ्पूको निर्मल चोक छेउमा बन्यो। दार्जीलिङ जाने झमेला सकियो। विधवाहरूको पेन्सन बाबाले खोजी खोजी निकालिदिए। धेरै मानिस उपकृत भए। त्यो पेन्सन अफिस जिल्लाभरिकै ठुलो पेन्सन अफिस बन्यो। पेन्सन, पेन्सनर र पेन्सन अफिस बारे कवयित्रीको स्मृति यसरी कविताका हरफहरूमा उल्लेख पाइन्छ-

‘वाह रे ६० वर्षको तन्नेरी

बाबा तपाईंले

धेरै-धेरै परिवारको

चुला जलाइदिनुभयो।‘’ (पेन्सन अफिस, पृ-५७)

कर्मयोगीका रूपमा बाबा :

कर्म नै धर्म हो । कर्म छाडेर धर्म गर्ने होइन । कर्मबाट नै उन्नति हुने हो । विकास र उन्नतिका मार्गहरू खोल्ने उपाय पनि कर्म नै हो । सफलता हासिल गर्ने मार्ग पनि कर्म हो । सत्कर्म गर्ने सधैँ सफल बन्छ । कवयित्रीका बाबा पनि सत्कर्ममा विश्वास गर्ने व्यक्ति हुन् । पहिरनमा होइन कर्ममा विश्वास गर्ने, कर्मलाई बढी ध्यान दिने व्यक्ति। गरिब-दु:खीहरूको दु:खमा सहभागी बन्दै उनीहरूलाई सहयोग गर्ने व्यक्ति। आडम्बरदेखि टाढा बस्ने र यथार्थ कुराहरूमा सधैँ जोडिरहने व्यक्ति। भगवान् भजन भन्दा निमुखाको सेवा गर भन्ने व्यक्ति। यस्ता व्यक्तिकी छोरी कवयित्री तारा लोहार लेप्चाका मनमा अतीतका कुराहरू खेलाइरहनु स्वाभाविक हो। त्यसैले यिनै कुराहरू कवितामार्फत् सार्वजनिक गर्दछिन् –

‘हजारौँको महल मात्र होइन

समाज सुधारक कार्यहरूमा

सधैँ अग्रसर भई हिस्सा लिने

साँच्चै कर्मयोगी बाबा।’ (कर्मयोगी बाबा, पृ-६७)

यस कविता कृतिमा कवयित्रीले सानैदेखि मृत्युसम्म देखेका, भेटेका, बाबासँगै स्वर्णिम दिनहरू व्यतीत गरेका, बाबाबाट सिकेका हर कुरा, बाबाको दिनचर्या, सामाजिक, सांस्कृतिक कार्यहरू जम्मैलाई कवितामा पस्किने प्रयास गरेकी छन्। प्रत्येक कवितामा कवयित्रीका बाबाकै सत्कर्महरूलाई कविताको रूप दिइएको छ। कवितामाहरूमा भाषा-साहित्य चेतना छ। संस्कृति-संस्कार चेत छ। बुबाआमाप्रतिको श्रद्धा छ। केही विद्रोह छ। साधारण मानिसको दिनचर्या छ। नैतिक शिक्षाको भरमार छ। नीतिगत धारणा छ। अनुशासन छ। निमुखाहरूको स्वर छ, पीडा छ। आफन्तहरूबिचको आत्मीयता छ। माया-प्रेम छ, वियोग छ। मानवीय संवेदना र मूल्यमान्यता छ।

जम्मै कविताको अध्ययनपछि कवयित्रीको घर-परिवार, रुचि, दैनिक कर्म आदि सबै नै थाहा लाग्दछ। कविताहरूमा सहज, सरल भाषाको प्रयोग गरिएको छ । सबै तहका पाठकहरूले सहजै बुझ्न सकिने। कविताहरू कथात्मक र वर्णनात्मक शैलीका छन्। बुबाप्रति छोरीको भावनाले कविताको आकार लिएका कविताहरूको भावपक्ष भने सबल छ तर कलापक्षमा कमी देखिन्छ। केही कविताहरूमा उखानको प्रयोग गरिएको छ। केही कविताहरूमा कविगुरु रवीन्द्रनाथ टेगोरका बङ्गला कविताका हरफहरूलाई सन्निविष्ट गरिएको छ। तारा लोहार लेप्चाका कविताहरूमा मानवतावादी, आशावादी र जीवनवादी स्वरका अभिव्यञ्जना प्रमुख काव्यप्रवृत्तिका रूपमा देखापरेका छन्। ‘बाबा’ केवल एउटा काव्य कृति नभएर बाबाप्रति छोरीले देखाएको आदर्श बनेको छ। साँच्चै यस आदर्शलाई सलाम छ।