ग्रीष्म कालीन काठमाडौँ यसपाली निकै तात्यो । पानी आउँदा पनि सेलाउन सकेन । तर आज मौसम ठण्डा छ । शीतलतामा सुखद अनुभूति भयो । अब दशैँ नजिकिँदै छ । श्रोह्रश्राद्ध लागिसक्यो भन्छन् । यो मन उडेर उतै घर गाउँको शरदीय पर्यावरणको स्वागत गर्न हतारिन्छ । यस्तो चञ्चलताले अस्थिर भएको बेला नियात्रा पढ्दैछु बेलायती परिवेशको ।

डा. गोविन्दराज भट्टराईको सन्दर्भमा बोल्नुपर्दा ममा बडो जटिलता उत्पन्न हुन्छ । उनको व्यक्तित्वको सम्बन्धमा जति बुझेकी छु त्यो गहिराइदेखि धेरै टाढा छ, अर्थात् उनका दिशा विदिशाका (चौतर्फी) अनेक कर्मलाई मूल्याङ्कन गर्न म समर्थ छैन । उनका विषयमा कहाँबाट शुरु गरेर कसरी अन्त्य गर्ने ? म जान्दिनँ ।

यतिखेर म कुन भट्टराईका कुरा गरूँ ? लेखक, समालोचक, अनुवादक, सम्पादक, सिद्धान्तकार । उनका उपन्यासका बारेमा बोल्ने हो कि, निबन्धका बारे । समालोचना या त अनुवाद, कविता, नियात्रा । उनका केही कथा पनि छन् । बरु नाटकका बारेमा बोलूँ कि ? यस प्रसङ्गमा बोल्न केही कठिन छैन । किनकि उनी नाटककार होइनन् । अरू सबै थोक हुन् ।

नेपाली भाषा साहित्यमा उनको उपस्थिति अत्यन्तै महत्वपूर्ण छ । विशेषतः साहित्य समालोचना र सिद्धान्तमा उनी एउटा

अनिता पन्थी

माइलस्टोन हुन् । एक प्रयोगवादी उपन्यासकार हुन् । वैचारिक स्रष्टा हुन् । समालोचना क्षेत्रमा एक क्रान्तिकारी द्रष्टा हुन् । नेपाली समालोचना वृत्तमा उनले वैश्विक चेतनाको ज्वार उठाएका छन् । नवीनता भित्राएका छन् । तब केन्द्र भञ्जनको आवाज उठ्न थाले । विचलनहरू आए । उपकेन्द्र निर्माण हुन थाले । किनारीकृत स्वर उठ्न थाले । स्थापित साहित्यिक वाद र समालोचनाका अवधारणामा अनन्त सन्देह उत्पन्न हुन थाले । निर्माणमा विनिर्माण आरम्भ हुन थाल्यो । मिथकीय पात्रहरू (सीता, द्रौपदी) ले विद्रोह गर्न थाले । पुरुषको एकाधिकारमाथि प्रश्न उठ्न थाल्यो । राम, लक्ष्मण, कृष्णहरू डगमगाउन शुरु भए । आदिम युगदेखिका नारीहरूले न्याय माग्न थाले । नारीवादी समालोचना उनीहरूकै न्यायका लागि बनिएको एउटा वाद हो ।

त्यस्तै मानवेतर जगतकाे हक, हित र मर्यादाको लागि बोल्नेहरू आउन थाले । पर्यावरणीय साहित्य समालोचना सिद्धान्त त्यसैको एउटा न्याय प्रणाली हो । उता डायास्पोराले विश्व समुदाय नै अस्थिर भएको छ । अस्तित्व र स्वपहिचान खतरामा परेको छ । बसोबास अस्थिर भएको छ । अझ डरलाग्दो कुरा छ, साइबर क्रान्तिको । यथार्थ जस्तो लाग्ने भ्रान्तिमा हाम्रो दैनिकी चल्न थालेको छ ।

परम्परित विश्वासमा अभ्यस्त हुँदै आएका हाम्रा वाद उपवाद र सिद्धान्तहरू अदलबदल भएका छन् । ती निर्माण, नवनिर्माण, अझ विर्निमाण भएका छन् । स्थायित्वको अन्त्य भएको अवगत गराउने समालोचना सिद्धान्त नै उत्तरआधुनिक वाद हो, डा. भट्टराई यही भन्छन् ।

नूतनत्वको पक्षमा बोल्ने डा. भट्टराई केही समयदेखि यिनै यस्तै विषयमा साहित्य समालोचना गर्दै आएका छन् । युगानुकूल साहित्यलाई विश्लेषण गर्ने, उनी हाम्रो परिवेशका एक युग चेतक हुन्, स्रष्टा हुन् । उत्तरआधुनिकवादका प्रर्वतक हुन् । संवर्द्धक हुन् ।

डा. भट्टराईको साहित्यिक व्यक्तित्वको चर्चा म यहाँ गर्न चाहन्नँ । केही थोक भन्न लाग्दा अरू थोक ओझेलमा पर्नेछ । उनका विषयमा बौद्धिक व्यक्तित्वहरू नै बोलून् । उनीहरूले नै बोल्ने छन् ।

उनको स्रष्टा र द्रष्टा व्यक्तित्व दुवै समानान्तर रूपमा सक्रिय देखिन्छ । यद्यपि उनलाई प्रायः वरिष्ठ समालोचक डा. गोविन्दराज भट्टराई भनेको नै ज्यादा सुनिन्छ । समालोचना क्षेत्रमा उनको पकड ठूलो हुँदा, नवीन हुँदा, प्रभावक हुँदा, गतिशील हुँदा आम पाठकले त्यसरी चिन्दै आएका छन् । उनको साहित्यिक व्यक्तित्वलाई समालोचनाले यसरी दोस्रो स्थानमा राख्दै आएको छ । त्यसो त एक्कैचोटि दुइटा मार्गमा हिँड्न नमिले जस्तै पाठकले पनि एकसाथ दुई विशेषणलाई स्वीकार्न नसकेको मात्रै हो । तर उसलाई थाहा छ डा. भट्टराई प्रखर साहित्यकार हुन् भन्ने कुरा ।

यतिखेर म उनको नियात्रा निबन्ध सङ्ग्रह ‘मेरो दोस्रो बेलायत यात्रा’मा छु । यहाँ के ख्याल गर्नु पर्छ भने, दोस्रो भन्ने बित्तिक्कै त्यसअघि र त्यसपछि पनि केही छ भन्ने अर्थ लाग्छ । अर्थात् उनले पहिले पनि बेलायत यात्रा गरिसकेका रहेछन्, अनि त्यसपछि गरे नगरेको निश्चित अर्थ भने यहाँ लाग्दैन । किनकि दोस्रो नै अन्तिम हुन पनि त सक्छ । तर होइन उनले तेस्रो यात्रा पनि गरिसकेका छन् । ‘मेरो तेस्रो बेलायत यात्रा’ प्रकाशनको तयारी अवस्थामा रहेको छ । पहिलो यात्रा भने केही वर्ष अघि नै आइसकेको छ ।

त्यही पहिलोको सिलसिला जस्तो लाग्ने दोस्रो बेलायत यात्रा विशुद्ध साहित्यिक भ्रमणको अभिलेख हो । लेखकलाई बाह्य अझ भौतिक आनन्दमा भुल्ने अलिकति पनि मन छैन, भनौँ कि फुर्सद छैन । प्रथम बेलायत यात्रामा त्यहाँको समृद्धि र चहकमकहक देख्दा उनका आँखा तिरमिराएका थिए । हर्ष, उमङ्ग, आश्चर्यमा उनी अवाक् थिए । ती अद्भूत दृश्य उनलाई कहाँ सुनाऊँ, कसलाई कतिखेर सुनाऊँ भएको थियो । एक किसिमको छटपटी नै भनौँ न । भौतिकताले यन्त्रिकरण गरेको, गोराको देशमा भय, त्रास, दकस, अज्ञानता, कुतूहलता, उत्साह अनेक संवेग थिए उनीसँग । ती भोगाइहरू दोस्रो यात्रामा परिपक्व भएका छन् । घरीघरी अन्योलताले भय उत्पन्न गर्न खोज्छ । तर पहिलेको जस्तो होइन । अलिकति परिचित धेरै अपरिचित लाग्ने त्यस भूमिमा अब उनी एक्लै पनि यात्रा गर्न समर्थ भएका छन् ।

लेखक भट्टराईको ‘मेरो दोस्रो बेलायत यात्रा’, यात्राकै लागि यात्रा गरिएको कृति होइन । यसलाई भ्रमण साहित्य भन्दा अलिक कम अर्थिने छ । बरु साहित्यिक भ्रमण भन्नु उचित होला । वाङ्मय सेवाको लागि गरिएको यात्रा हुँदा, यसको अभिप्राय र लेखकको साहित्यिक मनको एकीकृत रूपमै पुस्तकको सार्थकता बोध हुन्छ ।

नियात्राजस्तै यसलाई यात्रा डायरी पनि भन्न सकिन्छ । अझ दैनिकी नै भनौँ । एक महिनाको अविच्छिन्न दैनन्दिन २८६ पृष्ठमा अन्त्य भएको छ । यात्रामा प्रत्येक दिन विशेष छन् । प्रत्येक दिन नवीन छन् । प्रत्येक दिन साहित्यिक लयमा व्यतीत भएको छ । प्रत्येक दिनको अलगअलग शीर्षक रहेको छ ।

लेखकको यो ‘दोस्रो बेलायत यात्रा’मा बोल्न बस्दा म अलिकति अप्ठ्यारोमा पर्छु । लेखन अभिप्राय, यात्राको उद्देश्य र स्रष्टा भट्टराईको मनस्थिति एउटै पाउँछु । भन्न खोजेको तात्पर्य के भने यी सबै कुराको अन्तिम गन्तव्यमा भाषा, साहित्य, संस्कृतिको चिन्ता छ ।

वैयक्तिक सुख र आनन्ददेखि माथि उठेर वैश्विक चेत, जाति प्रेम, भाषा प्रेम, संस्कृति प्रेम, साहित्य प्रेमले यात्रा वैचारिक, बौद्धिक विमर्शमा केन्द्रित रहेको छ । आफ्नो जातीय चिनारीको लागि गरिएको भट्टराईको यात्रा उत्तरदायी र जिम्मेवारीले थिचिएको छ । राष्ट्रिय प्रतिनिधिको रूपमा उनी त्यहाँ पुगेका छन्— अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको अतिथि वक्ता, कार्यपत्र प्रस्तोताको रूपमा उनी आमन्त्रित छन् ।

कृतिको आन्तरिकता गहिरो छ । विश्वमा फैलिँदै गएको डायास्पोरिक समुदायको यो एउटा दृष्टान्त हो । त्यस्तै नेपाल बाहिरका नेपालीको मनोविज्ञान र समाजविज्ञानको मिश्रित रूप हो । त्यसको अध्ययन हो । वर्तमान विश्व परिवेशको अवस्थिति हो । डायास्पोरिक भूमिमा भाषा, साहित्य, संस्कृतिको संरक्षणार्थ हाम्रा दाजु भाइ, दिदी बहिनीको सङ्घर्षको कथा हो ।

जब म डायास्पोरिक साहित्यको अध्ययनमा हुन्छु त्यतिखेर म आफूलाई बेकम्मा देख्छु । मूल्यहीन भएर बाँचेको बोध गर्छु । यति धेरै फुर्सदिलो समय पाउँदा पनि केही गर्न नसकेको हीनभावले म क्लान्त हुन्छु । हेर्नु न उता प्रवासमा व्यस्तताका बीच पनि समय बचाएर स्वअस्तित्वको निर्माणमा कसरी खटिएका छन्— भाषा साहित्य संगीतमा तपोनिष्ठ छन् ।
यात्रामा बेलायती नेपाली स्रष्टाबीच भट्टराईले एउटा अभिभावकत्व निर्वाह गरेका छन् । भाषा साहित्य, संस्कृतिका माध्यमबाट पहिचानको लागि लड्न निर्देश गरेका छन् । साहित्यिक, सांस्कृतिक उद्देश्यले गरिएको उनको यात्रा अत्यन्तै सफल र लाभदायक देखिन्छ ।

नेपाली साहित्यमा डायास्पोरिक साहित्यको एउटा अलग्गै स्थान रहेको छ । त्यो कुरा डा. भट्टराईले आफ्नो कृतिमा उल्लेख गरेका छन् । त्यसमा डायास्पोरिक युगको, एउटा मानचित्र अङ्कित छ । आफ्नो भाषा साहित्य संस्कृतिमा समर्पित भएर लाग्ने बेलायती नेपालीको संख्या दोब्बर भएको लेखक बताउँछन् ।

डा. भट्टराईले बेलायत पुग्नुअघि आकाश मार्गमा लैनसिंह बाङ्देलको मुलुक बाहिर म अध्ययन गरी उनको रुचि, बाँच्नुको अभिप्राय र जीवन दृष्टिकोणलाई कति थोरै भनाइमा स्पष्ट गरेका छन् । आजभन्दा छ दशक अघि उनले देखेको फ्रान्स पढेर लेखकले वर्तमान फ्रान्स हेर्ने इच्छा राखेका छन् । बाङ्देल एक ठाउँमा भन्छन्, “जीवनमा केवल हातमुख जोर्ने मात्र साधन आफूसित भए आफ्नो सारा जीवन, सारा जीवनका ती अमूल्य घडीहरू, पलहरू केबल साहित्य-साधनामा अनि कला साधनामा मात्र खर्च गर्ने थिएँ हुँला । यो आनन्दभन्दा अरू ठूलो आनन्द मलाई केही हुनेछैन (पृ-१७)।”

माथिको अभिव्यक्तिमा कला साहित्यप्रति उनको महान् आस्था कति थियो, बुझ्न सकिन्छ । केही वर्ष यता चिने जानेका डा. भट्टराईमा म यस्तै भनाइ पाउँछु । हरेक निमेष उनी साहित्य साधनामा समर्पित हुन चाहन्छन् । यद्यपि यदाकदा परिस्थितिले रुचिलाई अलग गराउँदा उनी भुट्भुटिन्छन् ।

सुन्नू न यति हुँदाहुँदै पनि उनी बेलाबेला आफ्नो साहित्यिक कर्मप्रति विश्वस्त हुन सक्दैनन्, “खास गरी यो साहित्यिक उन्नतिको लागि मैले जसरी जीवनै अर्पेको छु त्यसलाई समयले बुझ्ने हो कि होइन भन्ने चिन्ता हुन्छ । अहिले पनि मेरा प्रयत्नलाई व्यर्थ सावित गर्नेहरू छन्, पछि यसलाई अझ धूमिल पार्दै लाने हुन् कि त्यसको पनि चिन्ता लाग्छ । तर फेरि अर्को मनले भन्छ—अवश्य त्यस्तो हुने छैन । लैनसिंह बाङ्देल बितेका धेरै वर्षपछि उनको जीवनी पढेर यसरी म भावविभोर हुँदैछु, अरूलाई पनि मेरा कर्मले अवश्य छुनेछ (पृ-१६)।”

अब विश्वका विभिन्न मुलुकमा अनेसासको शाखा विस्तार हुन थालेका छन् । नेपाली भाषी प्रयुक्त भूमिमा, भाषा साहित्यको सेमिनार र संगोष्ठीले नेपाली जाति व्यापक हुँदै गएको कुरा डा. भट्टराई बताउँछन् । राष्ट्रिय अन्तर्राष्ट्रि पुस्तकको अध्ययन र त्यसको चर्चामा ‘मेरो दोस्रो बेलायत यात्रा’लाई समालोचकीय दृष्टिले समेत हेर्न सकिन्छ ।

त्यस्तै बेलायतमा रहेका नेपाली भाषी स्रष्टाको चिनारी र उनीहरूको साहित्यिक कर्म उल्लेख गरिएको हुँदा, यसले बेलायती डायास्पोरिक नेपाली साहित्यको अध्ययन गर्नु जतिकै महत्व राखेको छ । यही कृतिमार्फत् मैले धेरै स्रष्टाबारे थाहा पाएँ । कति स्रष्टाका कथा, कविता, निबन्ध, नियात्रा त पढिसकेकी पनि छु ।

पछिल्लो समय ऊ जहाँ पुगे पनि ऊ हुर्किएको समाज र सामाजिक संरचना उसले आफूसँगै लिएर गएको हुन्छ । डायास्पोरिक अध्ययनको प्रमुख विशेषता नै यही रहेको छ, बेलायत यात्रामा पनि यही कुरा छ । त्यहाँका नेपाली भाषीको जातित्व प्रेम देख्दा म यसरी अभिभूत भएँ, धन्य हो । नेपाली हुनुको अपनत्व थाम्ने दिन अब उनीहरूकै हातमा छ । राष्ट्रभन्दा पनि राष्ट्रियता प्रथम र गम्भीर कुरा हो । त्यो अगाध भाषा प्रेम, संस्कृति प्रेम आश्चर्य लाग्नेछ । आफ्नो जातीय अस्तित्वको लागि उनीहरू कति धेरै भिड्दै छन् । बेलायत यात्रामा यस्तै राष्ट्रिता ब्युँझाउने कुरा छ ।

भाषा, साहित्य संस्कृतिको लागि त्यहाँ (नेपाली भाषाका) पत्रपत्रिका तथा अनलाइन पोर्टलहरू चलाइएका छन् । टेलिभिजनमा आफ्नै भाषा प्रसारण भएको छ । रेडियोमा उस्तै छ । त्यो देख्दा सुन्दा डा. भट्टराई बडो हर्षित हुन्छन् । देशभन्दा देश बाहिरकाहरू अझ सच्चा नेपाली भएका छन् । डायास्पोरिक समयले यसरी राष्ट्रियता बोध गराउँदैछ ।

समृद्ध, सभ्य मुलुकबाट हामीले नसिकी नहुने धेरै कुरा छन् । समय सचेतता त्यस्तै एउटा कुरा हो । समयको महत्व नबुझेकै कारण हामी बर्बाद भएका छौँ । अझ सरकारी कार्यलय र कामकाजमा आबद्ध कर्मचारीहरूले समयको यति बेवास्ता गर्छन् कि, दिक्क लागेर आउँछ । सप्रिने र बिग्रिने जिम्मा त्यही समयले लिएकोछ भन्ने अझै पनि हामीले चाल पाएका छैनौँ । एकचोटि बेलायत यात्रा पढ्नोस् अनि थाहा हुन्छ ।

सर्जक भट्टराईको नियात्रा मलाई त्यसकारण अरू पठनीय लाग्छ, उनको लेखनमा दैनिकी वृत्तान्तभन्दा महत्वपूर्ण कुरा अर्कै छ । साधारण विषयवस्तुलाई पनि चाखलाग्दो बनाउने उनीसँग एउटा शिल्पी छ । यात्रामा उनी बडो उत्सुक छन्, चनाखो छन्, नवीनता केही छुटिहाल्छ कि ? त्यसरी उनी ध्यानी छन् । उनलाई त्यहाँ महान् स्रष्टा, कलाकारको म्युजियम हेर्ने पहिलो इच्छा हुन्छ । प्राथमिकतामा तिनै पर्छन्, जतिखेर उनलाई तिर्थ जानु जतिकै तृप्ति मिल्छ । कीट्स म्युजियम हाउसदेखि वर्डस्वर्थ, डोभ कटेजसम्म उनले सबै अवलोकन गरेका छन् । एमिली बोन्टे, लर्ड बाइरन, टेनिसन, विलियम ब्लेक शेली, चाल्स डिकेन्स जस्ता प्रातः स्मरणीय व्यक्तित्वलाई उनी प्रसङ्गमा सम्झिरहन्छन् । तिनका अमूल्य कृति पुनः स्मृतिमा उघाउँछन् ।

लेखक जति पनि सङ्ग्रहालयको भ्रमणमा हुन्छन् त्यतिखेर उनलाई प्रसन्नता र खिन्नता दुवै हुन्छ । हाम्रोमा त्यस्तो कुनै सोच छैन, गौरवले भरिएका व्यक्तित्वलाई सङ्ग्रहालयमा बचाइराख्ने । विरक्त स्वरमा त्यहाँ उनी भन्छन्, “जहिले पनि जहाँ पनि मेरो रुचिको प्राथमिकता चाहिँ म्युजियम र ग्यालरी नै हुन्छ । एक जना स्रष्टाको म्युजियम नभएका देशको नागरिक म यहाँ टोलैपिच्छे महान् स्रष्टा चिन्तक, आविष्कारक सजाइएको मुलुकमा पाइला राखेको छु (पृ-३३)।”

पर्यावरणप्रति फेरि कति सचेत छन्, लण्डनवासी । प्रविधि सम्पन्न मुलुकको त्यो प्रकृति प्रेम कति प्रशंसनीय छ । गरीब राष्ट्रमा त्यस्तो सोच आउन भौतिकताको शिखर पुग्नु पर्छ । अहिले हामी जसोतसो दैनिकी चलाउन र जीवनलाई स्तरीय बनाउनमै अभ्यस्त छौँ अनि कसरी पर्यावरणको चिन्ता गर्न भ्याउँछौँ ? हाम्रा सम्पूर्ण स्राेत साधन प्रकृति विनाशमै उद्दत छन् । प्रकृति ध्वंस गर्नुलाई विकासको रूपमा हेर्ने अवधारणा झन् डरलाग्दो छ । अझै डरलाग्दो छ भोकको बिमार । लण्डनभित्र गाडी हुल्दा ‘टोल चार्ज’ तिर्नुपर्छ त्यो उत्सर्जन एमिशन कम गर्न । स्वच्छता कायम राख्न महानगरीमा गाडी कुदाएको चार्ज तिराएर व्यवस्थापन गर्दो रहेछ त्यहाँको सरकारले ।

अनेसासको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनको नारामा भनिएको छ—

भाषा हाम्रो प्राण हो, देश हाम्रो ज्यान

जहाँ रहे नि चिनाउने संस्कृति हो शान ।

उफ ! यता हामीलाई आफ्नो धर्म, संस्कृति, भाषा, साहित्य कति अर्थहीन लाग्दैछ । आफूलाई आत्मसात गर्न सकेका छैनौँ । विदेशीजस्तै भएर आफूलाई सभ्य बनाउन अभ्यासरत छौँ । आधुनिक बन्ने प्रतिस्पर्धामा छौँ । पाठकको मर्यादामा रहेर एउटा अनुरोध छ—एकचोटि ‘मेरो दोस्रो बेलायत यात्रा’ अध्ययन गरेर आफू हुनुको अन्तर्बोध गर्नू होला । त्यस किसिमले पनि यो पुस्तक ग्रहणीय छ ।

वास्तवमा कोही पनि ऊ एउटा व्यक्ति होइन । ऊ भनेको त्यस ठाउँको एउटा समाज हो, देश हो, राष्ट्रियता हो । भाषा, धर्म, संस्कृति हो । कला, साहित्य, गीत, संगीत हो । अरू पनि धेरैधेरै थोक हो । ती यावत कुरालाई भुलेर ऊ एउटा व्यक्ति सिङ्गो हुन सक्दैन, नागरिक हुन सक्दैन । सामाजिक संरचनाको हिस्सा हुन सक्दैन । डायास्पोरिकहरूले त्यसै भाषा, धर्म, संस्कृतिको लागि मरिमेटेका होइनन् । जब ती कुरा उनीहरूले गुमाउँछन्, हो त्यस बखत उनीहरू स्वयं पलायन हुनेछन् । त्यही नहोस् भनेर उनीहरू चिन्तित छन् ।

त्यस कार्यक्रममा देश बाहिरका नेपालीलाई सम्बोधन गर्दै डायास्पोराको सम्बन्धमा लेखक भन्छन्, “सर्व प्रथम त डायास्पोरा भनेको एक अल्पसंख्यक, किनारिएको समुदाय हो । अन्य भूमिले, अन्य देशले पनि आज प्रत्येक डायास्पोरिक समुदायलाई अल्पसंख्यक एवं किनारिकृत जाति ठान्दछ र त्यसलाई बिस्तारै राजनैतिक, सामाजिक, धार्मिक, भाषिक मूलधारमा स्वातग गरेर त्यसलाई स्वायत्तता एवं संरक्षण दिन लागेको छ । तर डायास्पोरिक समदाय सधैँ निर्माणाधीन अवस्थामा हुन्छ । यो कहिल्यै पूरा हुँदैन (पृ-४३)।”

नेपालबाहिर आफ्नो भाषा संरक्षण र उत्थानमा नेपाली मातृभाषी भन्दा विमातृभाषी नै बढी तत्परताका साथ लागेको अर्को ठाउँमा लेखक बताउँछन् ।

मैत्रीपूर्ण सम्बन्ध कायम राख्दै ‘मेरो दोस्रो बेलायत यात्रा’मा लेखकले त्यहाँका नेपालीलाई एउटै सूत्रमा आबद्ध हुन अनुरोध गरेका छन् । भाषा साहित्यमा लाग्न अभिप्रेरित गर्दै हौसला र प्रेरणा दिएका छन् । भन्छन्, यसरी अन्य भूमिमा आफूलाई परिचित गराउन अन्यसँग बौद्धिक र प्राज्ञिक रूपले रसाउन हामीले कला र साहित्यलाई नै अघि लगाउनु पर्छ ।

उफ ! क्यालाबाना स्ट्रीट फेस्टिवलको जीवन्त दृश्य । अब प्रत्यक्षतः हेर्नु पर्दैन होला । त्यो उत्तेजित र मादक उत्सव पुस्तकमा टाँसिएको आभास हुन्छ । भनौँ न अक्षरमै ती दृश्यहरू नाचेका छन्, उफ्रिएका छन् । उत्तेजित छन् । मानव सागर उर्लिएको छ । कसरी त्यो प्रत्यक्षता उतारिएको होला ? म अवाक् हुन्छु । कला, साधना र धैर्यले मात्रै त्यस्तो सचित्र वणर्न गर्न सकिन्छ । भौतिकतामा त्यो नोटिङ हिल कार्निभल (मेला/उत्सव) अब हेर्न बाँकी नै के छ र ?

जब उसलाई परिचयको अभाव खड्किन्छ, त्यतिखेर उसको सहारा भनेकै भाषा, धर्म, संस्कृति हो । डायास्पोरिक समुदायले त्यसैका लागि सङ्घर्ष गरेका हुन्छन् । डा. भट्टराईको ‘मेरो दोस्रो बेलायत यात्रा’ ग्लोबल डायास्पोराकै अर्को रूप हो, जसमा नेपालबाहिरका नेपालीको आवाज प्रतिध्वनित छ । भाषा साहित्यको लागि गरिएको सम्पूर्ण स्तुत्य छ । आगामी पुस्तामा भाषा र संस्कृति कसरी पुस्तान्तरण गराउने एउटा ठूलो चुनौती छ, चिन्ता छ । आफू हनुको अस्तित्व लोप हुने हो कि सन्देह पनि छ । दुई पुस्ताबीचको अन्तर ठूलो छ ।

यात्रामा सम्पूर्ण संवाद, वैचारिक भेटघाट, गोष्ठी, समारोह, टेबुल गफ हरेक गतिविधिमा अस्तित्वको सन्दर्भ आइरहन्छ । नेपाली मनोविज्ञान र डायास्पोरिक मनोविज्ञान मिश्रित हुँदा तेस्रो मनोविज्ञान निर्माण भएको छ । तेस्रो संस्कृति बनिएको छ । यताको जस्तो तर सम्पूर्ण रूप होइन, उताको जस्तो त्यो पनि दुरुस्त होइन । आफूलाई भुल्न पनि सक्दैनन् । आफूजस्तै हुन पनि कठिन छ । यस्तो सन्दिग्ध अवस्थामा भय, त्रास, अन्योलका बीच उनीहरू मध्यमार्गी हुन्छन् । उनीहरूको साहित्यलाई त्यही मार्गले निर्देशन गरेको हुन्छ । भट्टराईको बेलायत यात्रा कृति नेपाली डायास्पोरिक समुदायको वस्तुस्थिति तथा मनस्थिति बारे बोलिएको प्रारम्भिक इतिहास जस्तो लाग्छ ।

उनको लेखनमा अहं भाव म कहीँ पाउँदिनँ । उनी स्पष्ट भएर बोलेका छन् । प्रविधि सम्पन्न अङ्ग्रेजको देशमा आफ्नो अज्ञानता उनले स्वीकारेका छन् । प्रविधि तथा यन्त्रसँग घुलमिल हुन नजानेको यथार्थतालाई व्यक्त गर्न उनले हिच्किचाएका छैनन् । मनभित्रका भय, सङ्कोच, ग्लानि आशा, प्रत्याशा सबै सबै उनले खुलस्त भनेका छन् ।

स्रष्टा भट्टराई नारी र पुरुष समान हुनुपर्छ भनी आह्वान गर्ने, सचेत गराउने, नारी हितको पक्षमा बोल्ने लेखक हुन् । नारीको संवेदनालाई हेक्का राख्ने उदार प्रवृत्तिका छन् । तर व्यवहारमा त्यो समानता भने उनले देखाउन सकेका छैनन्, अर्थात् परम्परित दैनिकीमै उनी अभ्यस्त छन् ।

नेपाली साहित्यमा डायास्पोरिक सिर्जनाले महत्वपूर्ण स्थान लिएको छ । सक्रियता बढ्दैछ । गतिशिलताले परिष्कारको बाटो लिँदैछ, लिँदै जाने पनि छ । यसरी डायास्पोरिक साहित्यको लहर उठ्नु भनेको ‘म पनि केही विशेष हुँ’ भनी आफूलाई अर्थपूणर् भएको दावी गर्नु हो । भट्टराईको बेलायत यात्रामा त्यो कुरा उद्बोध भएको छ । यस कृतिमा यात्राभन्दा बढी दैनिकी, त्योभन्दा पनि बढी भाषा साहित्यको विमर्श छ । वैचारिक चिन्तनको वहस छ ।

नेपालबाहिरका नेपालीको जनजीवन अध्ययन गर्न यस्ता कृतिले केही सहायता गर्नेछ । डायास्पोराको सैद्धान्तिक परिभाषाले भन्दा त्यहाँको दैनिक जीवनबाट धेरै कुरा प्रष्ट हुन्छ । सर्जक भट्टराईले बेलायती नेपालीको जनजीवनलाई नजिकबाट हेरेका छन् अर्थात् घुलमिल भएका छन्, भलै छोटो अवधि किन नहोस् ।

वेल्सको स्वान्जी शहर पुगेको रात, त्यो व्यस्ततालाई निकटबाट देखेका लेखक भन्छन्, “जीवनलाई नाघ्दै जाने अनेकौँ धराप छन्, दैनिकीका, पार्थिव रहरका, अन्य झिनामसिना त्यान्द्रा र लहरा, तीबाट उम्केर साहित्य सोच्नु यहाँ कति कठीन छ (पृ-६९)” तर पनि उनीहरू साहित्य संगीतमा मरेर लागेका छन् ।

त्यस ऊर्जालाई अझ बलशाली बनाउन अभिप्रेरणा दिँदै, लेखक झनै अगाडि आह्वान गर्छन्, जीवन निर्वाह मात्र ठूलो कुरा होइन । सांस्कृतिक पहिचान नगुमाई त्यो गर्नु ठूलो कुरा हो । उनको दोस्रो बेलायत यात्रा, नेपाली जाति स्वपहिचानका लागि लड्दै भिड्दै फैलिनुको एउटा सुखद दृष्टान्त हो ।

स्वान्जीमा अवस्थित स्कन्दभेल मन्दिरमा गोराहरूले भजन कीर्तन (हिन्दू धर्मका) गरेको एउटा अनौठो दृश्य छ । मिश्रित संस्कृति यसरी विस्तार हुँदैछ । ग्लोबलता भनेकै यही हो, स्थानीयता माथि अतिक्रमण । अङ्ग्रेजी टोनमा हाम्रा शिव, पार्वती, राधा, कृष्णको आरती हुनु हामी आफैँ विस्तृत हुनु हो । भारतवर्ष विस्तारित हुनु हो ।

यता हाम्रोमा उनीहरूले क्रिश्चियन धर्मको कत्रो व्यापार गरेका छन् । आफ्नो भाषा धर्म, संस्कृतिका माध्यबाट उनीहरूले हामीलाई आफूजस्तै बनाउन चाहन्छन् । आफ्नो प्रभुत्व कायम गर्ने प्रमुख तŒव यिनै तीन कुरा हुन् । हो, त्यसैको लागि डायास्पोरिकहरू आफूलाई समर्पित गर्दै आएका छन् । डा. भट्टराईको यात्रामा मैले यो कुरा स्पष्ट बुझ्न सकेँ ।

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले एउटा साहित्यिक टोलीलाई बेलायतको दक्षिणी कुनामा अवस्थित डोभर क्याशल घुमाउन लगेको छ । हो त्यसै दिन बेलुका बेलायती नेपाली चण्डीराज बडो गम्भीर भएर भन्छन्, “नेपाली भाषाको बीजलाई नयाँ पुस्ताका नानीहरूमा पुर्‍याउन सके मात्रै यो निरन्तर हुनसक्छ । उनीहरू नेपाल पनि चिन्न सक्छन्, त्यहाँको सेवा गर्न सक्छन् । नत्र भाषाले अलग पारेको नयाँ पुस्ता आफ्नो मूल समाजबाट काटिनेछन् । यो संकटबाट हामीले हाम्रो नयाँ पुस्तालाई जोगाउनु पर्छ । आज नेपालमै साक्षर र शिक्षित पुस्ता यहाँ साहित्य गर्दै छन् । भोलि तिनीहरूको पालो सिद्धिएपछि यहाँको नयाँ पुस्ता (नेपाली भाषामा) निरक्षर हुनेछन् (पृ—९५)।”

यही चिन्ताले उनीहरू आफ्नो संस्कृतिलाई हुर्काउन, बढाउन, नेपाली भाषाको पठन पाठनको तयारीमा छन् । पाठ्यक्रम निर्माणमा छन् ।

गोराहरू अतीत प्रेमप्रति कति सचेत छन् । यता हामी आफ्नो सभ्यता, सम्पदा, ऐतिहासिकताप्रति कति उदासीन छौँ । भौतिकता र वैभवको टुप्पोमा पुग्दा पनि उनीहरूले वितगलाई भुलेका छैनन् । बरु संरक्षण र प्रवर्धनमा लागेका उनीहरू, अतीत नै आफ्नो चिनारी हो भन्छन् । डोभर क्याशल, लीडस क्याशलको अवलोकनमा लेखक फेरि खिन्न हुन्छन् ।
केही दिनको बेलायत भ्रमणपछि डा. भट्टराई फ्रान्सको यात्रामा निस्कन्छन् । इतिहासको आरम्भदेखि नै कला साहित्यको लागि प्रख्यात भूमि पुग्दा, उनको अमोघ कामना पूरा भएको छ । दर्शनीय स्थलहरू उनी एक्लै एक्लै घुम्छन्, हेर्छन् । फ्रान्स उनको प्रथम यात्रा थियो । अपरिचित ठाउँमा क्याटलगको सहारा लिएर घुम्दा बल्ल उनले पर्यटकको अनुभूति गरेका छन् ।

केही अन्योल, सन्देह अनि यन्त्रसँग अभ्यस्त हुने प्रयाससँगै उनी विश्वप्रसिद्ध लुभ्र दरबार, भर्साइ दरबार, आइफेल टावर, पम्पिडु म्युजियम, रोदाँ सङ्ग्रहालय अवलोकन गर्छन् । अब उनलाई एक्लै पनि घुम्न सक्ने आँट आएको छ । महान् कवि, कलाकार, स्रष्टाका म्युजियम अध्ययन गर्नु नै उनको रुचि रहेको छ ।

फ्रान्सको ‘मो’ गाउँमा हरिहर अर्यालको परिवासँगै लेखकले तीज त्यहीँ मनाएका छन्, भान्छामा नेपाली खानाका परिकार पकाइएको छ । नेपाली बस्तीका नामले त्यहाँका सडक मार्ग तथा गाउँको नामाकरण गर्नु, कत्रो हर्षको कुरा छ, जस्तै पनौती मार्ग, रिउ द गोर्खा (गोर्खा मार्ग) ।

‘मेरो दोस्रो बेलायत यात्रा’मा एउटा जिज्ञासु पाठकले अहिलेको विश्वस्थिति बोध गर्न सक्छ । अझ बढी त डायास्पोरिक समुदायको मनोजगत् बुझ्न सक्छ । भूमण्डलीकरणको प्रभावबारे केही जान्न सक्छ । तर ती कुरा बोध गर्नुभन्दा पहिले पाठकलाई त्यस विषयको सामान्य जानकारी चाहिँ निश्चय हुनुपर्छ । नत्र उसले त्यस कृतिमा एउटा दैनिकीदेखि अरू फेला पार्न सक्ने छैन । वैचारिक तहमा पुग्ने छैन ।

लेखकले अवलोकन गरेका ती सङ्ग्रहालयबाट हामीहरूको चेतना स्तर कति रहेछ त्यो पनि ज्ञान हुन्छ । सभ्य, समुन्नत समाजमा कवि कलाकारको जुन महत्व हुन्छ, दारिद्रय समाजमा त्यसको थोरै पनि महŒव बोध हुँदैन । त्यसैले हाम्रोमा एउटै स्रष्टा कलाकारको म्युजियम नबनिनु कुनै आश्चर्यको कुरा होइन ।

त्यस दिन डा. भट्टराई इम्प्रेशनिष्ट कलाकार मोनेलाई भेट्न गएका छन् । उनको जीवनमा आएको त्यो उचारचढाब कति अस्थिर छ । कष्टकर छ । उनलाई त्यही कुराले महान् कलाकार बनाएको छ ।

फ्रान्सबाट जर्मनी जाने, लेखकको योजना रद्द भएपछि उनी पुनः बेलायत फर्किएका छन् । त्यसपछि चाल्स डिकेन्सलाई भेट्ने उनको उत्कट इच्छा हुन्छ । सभ्यता र संस्कृतिको त्यो अपार सम्पदाको निरीक्षण गरेका उनलाई एक किसिमको रिक्तताले, विरक्त बनाउँछ, “हे गोरा जातिहरू, यो संसारको, संस्कृति, धर्म सभ्यताको सुरक्षार्थ तिमीहरूको काँधमा कत्रो कष्ट आइलागेको होला नि ! हामीले पनि तिम्रा केही कुरा र कला सिक्नुपर्ने, अरूको नसके पनि आफ्ना देशभित्रको अतीत सुरक्षित गर्न सक्ने चक्षु देऊ । हाम्रामा त भएका मूर्ति फुटाउने, भत्काउने, भञ्जकहरू बढेर गएका छन् । मूर्ति चोहरूको अन्तर्राष्ट्रिय बजार पनि नेपालमै मान्दछन् । यहाँ इसापूर्वका राजा महाराजाका मूर्तिहरू यथावत सुरक्षित राखिएका रहेछन् । तिमीहरूबाट मानव सभ्यताले सिक्ने धेरै कुरा रहेछन् (पृ—१६४)।”

भट्टराईको लेखनमा सम्मोहित गर्ने एउटा बेग्लै कला छ । शिल्प छ । उनका आफ्नै मौलिक शब्द प्रयोग छन् । नगण्य घटनालाई पनि पठनीय बनाउने कलाकारिता विशेष लाग्छ । हेर्नु न उनको शब्द छनोट कस्तो छ—बाटाभरि मौसमले वस्त्र फेर्न लागेको समय छ । हावाले फुक्दैछ, एउटा सिरक ओड्ने जाडो छ, बतासले फुकेर सौरका पात उडाउँदै छ ।

‘मेरो दोस्रो बेलायत यात्रा’मा पाठकलाई सिर्जनात्मक बनाउने आन्तरिक प्रेरणा छ । उसलाई पनि यस्तै केही लेख्न सकूँ जस्तो एउटा विचार उत्पन्न गराउनेछ ।

डायास्पोराको सम्बन्धमा जति बोले पनि कहिल्यै अन्त्यमा पुगिँदैन । डायास्पोरिक भूमिमा कला, साहित्य र आविष्कार भन्दा पनि पहिलो प्राथमिकता भाषालाई दिनुपर्छ लेखकले यही कुरालाई जोड दिएका छन् । भाषाबाट विच्छेद भएपछि उसको अतीत कहीँ बाँकी रहँदैन । राष्ट्रियता, धर्म, संस्कृति, साहित्य, कला, संगीत ऊ कतै पनि जोडिन सक्दैन । भाषाले नै ती कुरा आफ्नो हुनुको बोध गराउने हो । जाति, संस्कृति र इतिहासलाई अड्याउने तŒव पनि भाषा नै हो, जसमा उसको परिचय निहित हुन्छ ।

‘मेरो दोस्रो बेलायत यात्रा’ भाषा, साहित्य, संस्कृतिको मूल्य बोध गराउने एउटा उपयोगी कृति बनेको छ ।
युरोप अमेरिकाजस्तो देशमा एउटा स्रष्टाले रचेको पात्र पनि कति अमर हुने गर्छ । कोनान डायलले सिर्जना गरेका—शर्लक होम्स संसारमा आज पनि जीवितै छ । त्यो सुन्दा उदेक लागेर आउँछ । गरीब मुलुकमा स्रष्टा कलाकार हुनु नै एउटा अभिशप्त चरित्र जस्तो लाग्छ । अनेक सङ्ग्रहालयको निरीक्षणमा लेखक त्यसै उदेकिएका होइनन् ।

यात्राको अन्त्यमा अझ पनि स्रष्टा भट्टराई भर्जिनिया उल्फलाई भेट्नु थियो भन्दैछन् । त्यो अतीत गौरवले भरिएको स्मारक भूमिमा आर्ट ग्यालरी र सङ्ग्रहालय हेर्नमै उनको बाँकी समय व्यतीत भएको छ ।

७ भाद्र २०६८ बाट शुरु भएको लेखकको यात्रा असोजको ५ मा टुङ्गिएको छ । त्यसपछि उता परिशिष्ट खण्ड रहेको छ— यात्राको सिलसिलामा नयाँ सन्देश पत्रिकाको लागि नरेश काङमाङले लेखकसँग लिएका एक अन्तर्वार्ता, त्यस्तै डा. रूपक श्रेष्ठले उनीसँग लिएको अर्को अन्तर्वार्ता, नेपाली साहित्यले उत्पन्न गरेको एक विश्व तरङ्ग नजिक उभिएर (स्वयं लेखकको निबन्ध), विषय सन्दर्भ र सूची अनि अनेसास द्वितीय महासम्मलनले पारित गरेको घोषणा पत्र रहेका छन् ।

लेखकको बेलायत यात्रामा—वर्तमान परिप्रेक्ष्यमा नेपाली साहित्यलाई दिशाबोध गर्नु र बेलायती नेपालीलाई अभिभावकत्व प्रदान गर्नु जस्ता उल्लेखनीय उपलब्धिहरू भएका छन् । नेपाली डायास्पोरिक भाषा साहित्यको अध्ययन त्यस्तै महत्वपूर्ण देखिन्छ । डायास्पोरिक समुदायको मनस्थिति बुझ्न एकचोटि पढ्नै पर्ने कृतिको रूपमा, मैले यसलाई लिएकी छु । यसमा कला, साहित्य, भाषा चिन्तन पहिलो प्राथमिकतामा रहेका छन् । तिनै कुराको उत्थानमा बेलायत यात्रा रचिएको छ ।

त्यस्तै बेलायती तथा फ्रान्सेली नेपालीको समवेत स्वर पनि गुञ्जिएको छ— भाषा, धर्म, संस्कृति र साहित्यको संरक्षण र गतिशीलताको अभियानमा एक भएर जुटौँ ।