एउटा समय थियो बिराटनगर बसिन्थ्यो डिग्री पढ्न । उनबेलाकै भु.पू. मेयर रमेश चन्द्र पौडेलको टहरामा बस्थ्यौँ । पढ्न त त्यो बेला पनि अल्छी नगर्ने मान्छे हुँ म । बिराटनगरको सत्यनारायण मन्दिरमा धार्मिक पुस्तकहरु पाइन्थ्यो गीता प्रेस गोरखपुरद्वारा प्रकाशित त्यो पनि चारआना आठआनामा । खूब पढियो । मेरो ध्यान गीतामा नै केन्द्रित थियो । गीता सम्बन्धी लेखिएका टीका, गीता जे जे भेटियो सबै पढ्न भ्याएँ । कति बुझेँ , कति बुझिन मलाई त्यति यकिन छैन । गीताका श्लोकका अंग्रेजीमा गरिएका व्याख्याहरु धेरै पढेँ । पछि आएर एकजना रिजाल थरका लेखकले नेपालीमा गरेको उल्था तथा व्याख्या थियो सायद त्यो पनि पढेँ ।
हामी स्कुल पढ्दा कक्षा ७ सम्म संस्कृत पढ्न पायौँ । संस्कृतमा पूर्णाङ्क ल्याउने हाम्रो समूहको म पनि एउटा सदस्य थिएँ ऊबेला । कक्षा ८ मा पुग्दा संस्कृत हटाइयो । पछि अलि बुझ्न थाल्दा लाग्यो अंग्रेजी भाषा र संस्कृत भाषाको राम्रो ज्ञान भएका मान्छे प्राविधिक जस्तै हुने रहेछन् अध्ययन अनुसन्धानका लागि काम लाग्ने ।
संस्कृतको ज्ञानको अभाव, यसप्रतिको अनिच्छा आदि कारणले संस्कृतमा लेखिएका ग्रन्थहरु सायद हाम्रो नजरमा पर्दै परेनन् या हामीलाई त्यसले आकर्षित गर्नै सकेन । त्यसमाथि अंग्रेजी भाषाको मोह यति भयो कि संस्कृत पढ्नु पर्छ भन्ने चेत नै भएन पनि । अझ हाम्रा पूर्वीय ग्रन्थहरुको व्याख्या एवम् टिप्पणी साह्रै कर्मकाण्डी भयो होला जस्तो लाग्छ व्यक्तिगत हिसाबमा । हाम्रा ग्रन्थहरुको वैज्ञानिकता या वैज्ञानिक व्याख्या गर्ने हिम्मत धेरैले गरेनन् भन्ने ठहर छ जसलाई संस्कृतको ज्ञान थियो । विद्वान् त्यसै विद्वान्, भित्रभित्रै विद्वान् । आफूले जानेको ज्ञान अरुमा सार्न वा हस्तान्तरण गर्न वा अझ भनौँ पुस्तान्तरण गर्न नचाहने मूर्ख विद्वान् । गीताको वैज्ञानिक, युगसापेक्ष तथा सबैले बुझ्ने गरी मान्छेहरू भएको भए यो पढ्न रुची राख्ने समूह बन्ने थियो होला | गीतालाई नयाँ सीराबाट पनि हेर्नुपर्छ भन्ने बुद्धि पनि आउथ्यो होला ।
प्रा. डा. अजय रिसालको यो पुस्तकको नाम सुन्ने बित्तिकै यो पढ्ने तीव्र इच्छा भो । त्यो पनि बाल तथा युवा मानसिक स्वास्थ्य सम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनमा नेपालका ख्यातिप्राप्त मनोचिकित्सक, मनोविदहरुको भिडमा धेरैलाई नजिकबाट हेर्ने र वहाँहरुले गरेका कुराहरु सुन्न पाएँ । यो बेलासम्ममा प्रा. डा. अजय रिसालका लेख रचनाहरु धेरै पढिसकेको थिएँ । मैले वहाँलाई व्यक्तिगतरुपमा नचिने पनि । यहीबीचमा मैले फेसबुकमा डा. साबलाई साथी बनाउन भ्याइसकेको थिएँ । कहाँ पाइन्छ भन्ने कुरा थाहा पाएर किन्न पुगेँ । यही बेलामा केही अनलाइन तालिमहरु लिइरहेकाले सिध्याउन महाभारत भो मेरा लागि । बल्ल सिध्याइयो आज । लाग्दैछ सिध्याइयो कि बल्ल सुरु भो । मलाई लाग्छ अझ यसलाई बुझ्न दोहोर्याएर पढ्नु जरुरी छ ।
पढेलेखेका मान्छेहरुबाट गीताको सान्दर्भिक, वैज्ञानिक, बहुआयामिक तथा वैकल्पिक व्याख्या हुनु जरुरी छ । दुनियाँका ठुलाठुला विश्वविद्यालयहरुले संस्कृतलाई दिएको आश्रय, प्रश्रय अनि समावेशीकरणले यसको महत्त्वलाई पुष्टि गर्छ शायद । मेरो बुझाइमा प्रा.डा. अजय रिसालको यो पुस्तक गीताको वैकल्पिक तथा वैज्ञानिक व्याख्या हो । अलग धारबाट या विभिन्न धारबाट गीतालाई हेर्ने, पर्गेल्ने तथा व्याख्या विश्लेषण गर्ने काम हुनु अत्यन्तै प्रशंसनीय कार्य हो भन्ने लाग्छ ।
पढ्ने क्रममा निरस लाग्छ बारम्बार किनकि हाम्रो यस्तो आदत नै छैन धैर्य गरेर पढ्ने । सकेसम्म एक एक लाइन ध्यान दिएर, चिनो लगाउँदै पढेको छु मैले यो किताब । गीतालाई मनोपरामर्शको त्यो गहिराइबाट हेर्ने धृष्टता भारतको हकमा केही मात्रामा भएपछि हाम्रा देशका हकमा नौलो कदम हो भन्न सकिन्छ । घरिघरि त लाग्छ कहाँको आधुनिक मनोचिकित्सक, कहाँको पूर्वीय ग्रन्थ गीता । जे पायो त्यही गर्न लागेछन् डाक्टरले जस्तो । तर जब हरेक सान्दर्भिक श्लोकको मनोसामाजिक दृष्टिले सान्दर्भिक व्याख्या र विश्लेषण पढिन्छ नि तब लाग्छ वा डाक्टर गीतामा छिरेर हेर्यौ तिमीले भन्ने लाग्छ ।
आफू मनोसामाजिक परामर्शदाता भएकै कारण पनि मेरो यो पुस्तकप्रतिको रुचि झनै बढेको हो । गीतालाई हेर्ने आआफ्ना आँखा होलान् । यसै गरी हेरिनु पर्छ भन्ने कुरा पनि छैन । जुन दृष्टिकोणबाट हेर्न प्रयत्न गरिन्छ, त्यसमा तर्क हुनु जरुरी छ, विज्ञान हुनु जरुरी छ, दम हुनु जरुरी छ | तुलनात्मक अध्ययन गरिने पुस्तकको सुक्ष्म अध्ययन अपरिहार्य छ , जुन कुरा लेखक रिसालले खुलेर गर्न सक्नु भएको छ । पुस्तकलाई सधैं सीधा अर्थमा मात्र बुझ्न खोजियो भने गलत हुन् सक्छ | कृतिलाई अविधा तथा व्यञ्जनाका हिसाबले सुक्ष्म अध्धयन गर्नु झनै आवश्यक छ । जब सीधा अर्थमा मात्र नहेरेर अविधा तथा व्यञ्जना मा पनि सोचिन्छ, अनि मात्रै कृति बुझिन्छ , यसले भन्न खोजेको कुरा सही अर्थमा खुल्न सक्छ |
जताततै विषादले भरिपूर्ण भएका मान्छे र विषादयुक्त विचारको बाहुल्यता हुँदै गएको समाजको वर्तमान अवस्थामा त झनै गीतालाई आत्मसात गर्नु जरुरी छ । गीतालाई बहुआयामिक दृष्टिकोणले हेर्ने दिन झन आएको छ अब । जीवनमा हरेक मान्छेले भोग्नु पर्ने संघर्षका कथाभित्र हरेक मान्छे कहीँ न कहीँ, कहिले न कहिले निरस बन्छ, उदास बन्छ, जीवनदेखि हार खान्छ, पछारिन्छ, बहुलठ्ठी बन्छ, दिमाग शून्यतामा पुग्छ, निर्णयहीनतामा पुग्छ, अनि कसैको सहायता माग्छ, परामर्श माग्छ अनि सुन्यताबाट माथि उठ्छ-मृत्युको नजिकबाट जीवनको उज्यालोतिर जान प्रयत्न गर्छ । आफूभित्र भएको अथाह सत्य र शक्तिलाई बिर्सन्छ, अनि अज्ञानको भुमरीमा रुमलिन्छ । मनोपरामर्शमा सल्लाह सुझाव दिने भन्दा पनि समस्यामा परेकाहरूलाई उनीहरू भित्र रहेको अजश्र सम्भावना, क्षमता तथा ज्ञानको स्व पहिचान गर्न मद्दत गरिन्छ । उनीहरूले बिराएको बाटोबाट सही बाटोमा फर्किन उनीहरूलाई नै उनीहरूकै प्रयोग गरेर सही बाटो पहिल्याउन सहयोग गरिन्छ ।
गीतामा अर्जुनको अवस्था आजको तमाम मान्छेको जस्तै हो । कतै हराएको । के सही, के गलत भन्ने कुरा पनि तत्कालीन अवस्थामा हेक्का नभएको आर्जुनलाई आज मनोविमर्शकर्ताले जगाए जस्तै कृष्णले जगाउनु भएको अर्जुनभित्रको वास्तविक अर्जुनलाई । भनिन्छ नि चिने श्रीखण्ड, नाचिने खुर्पाको बींड । समग्रमा पुस्तकले गीतालाई वास्तविक जीवनसँग जोडेर, जीवनका विभिन्न आयामसित जोडेर हेर्ने सराहनीय प्रयत्न गरेको छ, जुन अत्यन्तै प्रसंशनीय छ । जीवन बुझ्न पनि, जीवनका आरोह अवरोहमा हामीभित्रै जन्मिने अपरिपक्व, असन्तुलित विचारहरू माथिको विजयका निम्ति पनि यो पुस्तकको अध्ययन गर्दा हामीलाई नोक्सान हुन्न, बरु जीवनलाई गहिराइमा हेर्ने जीवन दृष्टि मिल्न सक्छ । जति लेखे पनि कम नै हुन्छ ।
एकपटक अध्धयन गरौँ गीताको हाम्रो जीवनसँगको सान्दर्भिकता पनि बुझ्ने कोसिस गरौँ |
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।