विषय परिचयः

नियात्राकार दामोदर पुडासैनी ‘किशोर’ नेपाली नियात्रा फाँटमा अलग पहिचान बनाएर हिँडेका अविश्रान्त यात्री हुन् । उनले नेपाली साहित्यमा दर्शन, कविता र नियात्रा विधाका सत्रओटा कृतिमार्फत् महत्त्वपूर्ण योगदान दिएका छन् तापनि उनको साहित्यिक विशिष्ट ख्यातिको पाटो भने नियात्रा रहेको छ । भ्रमण वृत्तान्तलाई कलात्मकरुपमा प्रस्तुत गर्ने किशोरका यति धेरै रचनाहरु सङ्ख्यात्मक रुपले मात्र चर्चा योग्य छैनन् गुणात्मक रुपले पनि प्रशंसा योग्य छन् । विषय सन्दर्भअनुसार आफ्ना बौद्धिक, दार्शनिक, भावात्मक अभिव्यक्तिले उनका नियात्राहरु प्रतिभाशाली प्राञ्जल ऋषिका आप्त वचनजस्ता मननीय बनेका छन् । जीवनदर्शन, जगत्विचरण, प्राणीसँगको सहचरण, समाजसँगको अनुघुलन, मानवपीडा र दुखको अनुगमन, विकृति र विसङ्गतिको तिरस्करण, धार्मिक अन्धताको खण्डन, सर्वसाधारणको सरल व्यवहारको महिमा मण्डन आदि उनका नियात्रारुपी क्षीर समुद्रको मन्थनबाट प्राप्त हुने अमृत तत्त्व हुन् । यात्रा गर्नु फगत कुनै ठाउँ घुम्नु, साथीभाइसँग रमाइलो गर्नु, दैनन्दिन एकोहोरो कामको थकाइ मेट्नु, पुनर्ताजगी भएर पुन कामका फर्किने सामान्य अवसर ठान्नु जस्ता सतही बुझाइका आँखाले मात्र पुडासैनीका नियात्राको मूल्याङ्कन हुन सक्तैन । न त विश्वविद्यालयका पाठ्यक्रमले निर्धारण गरेका यान्त्रिक रुपले विश्लेषण गर्ने सिद्धान्तका तत्त्व र उपकरणका सङ्कुचित मापनका कसीले उनका नियात्राको मूल्याङ्कन गर्न सकिन्छ । उनका नियात्रा लयात्मक भाषा, आख्यानात्मक वर्णन र संवादात्मक प्रस्तुतिले कथा, कविता र नाटकको त्रिवेणी जस्ता बनेका छन् ।

पुडासैनीले आफ्ना नियात्रालाई ज्ञान, विज्ञान, दर्शन, कला, धर्मसंस्कृति, राजनीति, अर्थनीति, मानवशास्त्र आदि ज्ञानका विविध शाखासँग सम्बन्ध गाँसेर प्रस्तुत गरेका छन् । उनी आपूmले घुमेका, देखेका र अनुभव गरेका स्थान, घटना र परिवेशको वर्णनमा मात्र सीमित नभएर त्यसको कारण र त्यसले पार्ने प्रभावको अन्वेषणमा बढी केन्द्रित देखिन्छन् । यिनै विशेषताका परिपाकमा ग्रीष्मको नीलो बतास नियात्राको जन्म भएको हो । उनको परिपक्व लेखनीको परिपक्व निर्मितिका रुपमा ग्रीष्मको नीलो बतासलाई लिन सकिन्छ । “मान्छे भेट्नु र संसारको नवीन रंगहरुमा यात्रा गर्न पाउनु, यो जति खुसी अरु केही भएन, जीवनमा ।”(पुडासैनी, २०७८ःग) प्रस्तुत लेखकको विचार उनका नियात्रा रचनाहरुको अवलोकन गर्दा प्रस्तुत भनाइ सार्थक भएको देखिन्छ । दुर्गम स्थलको विकट यात्रामा पनि उमङ्गका पाइलाहरु नरोकिनु, बाटामा भेटिएका हरेक मान्छेबाट जीवनको अर्थ र मर्म खोतल्नु उनका रुचिका विषय हुन् । यात्राको रुचि र मान्छे चिन्ने अभिरुचिले पुडासैनीका जीवनमा खुसी ल्याएझैँ भ्रमणबाट उत्पादित उनका नियात्राले पनि नेपाली नियात्रा साहित्य क्षेत्रमा अझ धेरै खुसियाली ल्याएको छ ।

सुदूर पश्चिम प्रदेशको खप्तड क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गरिएको यात्राको इतिवृत्त हो ग्रीष्मको नीलो बतास । यसमा काठमाडौंदेखि प्रारम्भ भएको रात्रि बसको यात्रा विवरण र महाकाली नदीपारि नैनीतालसम्मको यात्रा वर्णन केन्द्रबिन्दु नभएर परिधिमा आएका सन्दर्भमात्र हुन् । सुदूर पश्चिम प्रदेशका प्राकृतिक सम्पन्नता र सुन्दरता, धार्मिक र सांस्कृतिक उच्चता, भाषा र भेषभुषाको पृथकता, भौगोलिक विकटता र जीवन भोगाइको दुरुहता, हिमशृङ्खलाको उचाइ र मानव विभेदको गहिराइ, पुरुषहरुको राजसी ठाँट र महिलाहरुको बिल्लीबाठ आदि नियात्राकारलाई आकर्षित गर्ने कथ्य विषय हुन् । सुदूर पश्चिम भौगोलिक रुपमामात्र होइन मानवीय मूल्य परिसूचकका दृष्टिले पनि सुदूर छ भन्ने कथ्य यसमा वर्णन गरिएका मानवका दशा र अवस्थाको चित्रणले स्थापित भएको छ । समाजको सत्यतथ्य उजागर गर्ने प्रस्तुत कृति आफ्नो गुरुत्व र महत्त्वका आधारमा मदन पुरस्कार प्राप्तिका लागि सिफारिसको तहसम्म पुग्नु उपयुक्त र स्वाभाविक देखिन्छ ।

ग्रीष्मको नीलो बतास नियात्रामा मानवमूल्यको खोजीः

ग्रीष्मको नीलो बतास (२०७८) नियात्रा मानवमूल्यको अन्वेषणको गहिराइमा पुगेको कृति हो । मान्छेभन्दा पर मान्छेलाई नियन्त्रण गर्ने तत्त्वको अस्तित्व स्वीकार नगर्नु यस नियात्राको प्राप्ति हो । मान्छेलाई लत्याएर माथि उठ्न खोज्ने मान्छेका आचरणलाई प्रत्यक्ष र परोक्षरुपमा रुपमा दुत्कार्दै मानवीय मूल्य स्थापनामा प्रस्तुत नियात्रा केन्द्रित बनेको छ । यसमा मानव र मानवीय मूल्यका कोणबाट लेखकीय जीवनदर्शन प्रकट भएको छ ।
प्रस्तुत नियात्रामा गरिबीले ग्रस्त मानिसका कष्टकर अवस्थाको वर्णन सुदूर पश्चिम प्रदेशलाई हियाउने र लज्जाबोध गराउने मनसायले आएको छुद्र मानसिकताको उपज नभएर उच्च मानवमूल्य स्थापनाका लागि तत्स्थानका हर्ताकर्तालाई जागरुक बनाउने उद्देश्यले आएको छ । गाउँबस्ती, सार्वजनिक स्थल, भोजनालय र व्यक्तिगत सरसफाइको अज्ञानता र बेवास्ताले छिःछिः र दुर्दुरको अवस्था सृजना हुनु भ्रमणप्रिय अभियन्ताका लागि मानवमूल्य बोधका कोणबाट शुभ सङ्केत होइन । नियात्राकारले भ्रमणक्रममा देखेका भोजनालयहरुमा झिँगाको ताण्डव, लजमा उडुसको साम्राज्य, गोठाला र भरियाका जिउमा जुम्राको प्रभुत्व मानवमूल्य मापनका उपकरण बनेका छन् ।

खप्तड र पाटनको सौन्दर्य अवलोकन गर्न आउने सयौँ मानिसका सम्पर्कले पनि परिवर्तन हुन नसकेको त्यस ठाउँको मानसिकता र व्यवहारका माध्यमबाट मानवमूल्यको मापन गरिएको छ । “यतातिर त पकाएका भाँडा माझ्ने चलन नै छैन ।” (पुडासैनी,२०७८ः७३) महिनौँसम्म पकाएका भाँडा नमाझ्ने, शरीरमा जुम्रा परुन्जेल नुवाइधुवाइ नगर्ने, आफ्नै शरीरका जुम्रा टोक्दै हिँड्ने मान्छेको जीवनस्तरबाट मानवमूल्यको निर्धारण कसरी सम्भव छ भन्ने धारणा अभिव्यक्त भएको छ । वर्तमान समयमा पनि चेतनाशून्य बनी पशुवत् जीवन यापन गर्नुले त्यस क्षेत्रका मानिसमा शिक्षा र चेतना नभएको र उनीहरुलाई मानव बन्न उत्प्रेरित गर्ने परिवेश निर्माण गर्न चासो नदिनु पनि मानवमूल्यको तिरस्कार गर्नु बराबर हो । “तिलका गेडा कुटुकुटु चपाएझैँ मीन भाइ त आफ्नै जीउका जुम्रा टिप्तै कुचुकुचु चपाउन पो थाले ।” (पुडासैनी,२०७८:१४८) प्रस्तुत कथनले चित्रण गरेको परिदृश्य घिन लाग्दो भए पनि नियात्राकारले त्यसलाई अत्यन्त स्वाभाविक रुपमा उल्लेख गरेका छन् । आफ्नै आँखा अगाडि त्यस प्रकारको जुगुप्सामय दृश्य देखेर पनि लेखकले मीन भाइप्रति घृणाको नजरले हेरेका छैनन् । उनलाई सरसफाइका बारेमा राम्ररी सम्झाएका छन् र त्यस वर्गका समुदायप्रति सहानुभूति प्रकट गरेका छन् । चेतना र सम्पन्नताका अभावमा त्यस प्रकारको असभ्य जीवन बाँच्न विवश मानिसको चित्रण गरेर समाजका अँध्यारा पक्षमाथि प्रकाश पार्दै लक्षित वर्गमा चेतनाको दियो बाल्नु पर्ने आवश्यकता औल्याएका छन् ।

गरिबीका चपेटामा परी भरिया जीवन बाँच्न बाध्य मानिसका पीडाको उत्खनन गरेर उनीहरुको मर्म केलाउने काम यस नियात्रामा गरिएको छ । “दिनहुँ भारी फेरिन्छन्, दिनहुँ भारी बोकाउने फेरिन्छन्, तर भारी बोक्ने मेरो पिठ्युँ भने सधैँ एउटै छ ।” (पुडासैनी,२०७८:१६५) भरिया दाइको जीवनप्रतिको नैराश्यले समाजमा विद्यमान् आर्थिक असमानता र निरन्तरको परिश्रमले पनि परिस्थिति परिवर्तन हुन नसकेको तितो सत्य उद्घाटन गरेको छ । भारी र भारी बोकाउने व्यक्ति फरक फरक भए पनि भारी बोक्ने पिठ्युँ परिवर्तन हुन नसक्नु नेपाली समाजको यथार्थ हो । समाज राजनीतिक रुपले परिवर्तन भए पनि आर्थिक र सामाजिक रुपमा अझै अनुदार रहेको छवि प्रस्तुत भएको छ । उपर्युक्त परिस्थितिको अन्त्य गरी समुन्नत समाजको परिकल्पना गर्न असन्तुलित सामाजिक र आर्थिक अवस्थाको उन्मूलन आवश्यक छ । नागरिकलाई गाँस, बास, कपास, शिक्षा र रोजगारको उपयुक्त प्रबन्ध गर्न नसक्नुको पीडा सामाजिक र आर्थिक रुपले तल्ला तहमा रहेका जनताले भोग्नु परेको मार्मिक पीडको प्रस्तुति नियात्राले गरेको छ । एकातिर महात्मा खप्तडको उच्च बौद्धिकताको प्रकाश अर्कातिर सर्वसाधारण जनताको अज्ञानता र अन्धताको रास अत्यन्त विपरीत र अमिल्दो अवस्थाको चित्रणले सुदूर पश्चिम प्रदेशमा रहेको मानवबिचको असमानतालाई छर्लङ्ग पारेको छ ।

प्रस्तुत नियात्राले लैङ्गिक विभेदलाई पनि कथ्य बनाएको छ । नारी र पुरुषबिचको सामाजिक र आर्थिक असमानताको चरमरुप यसमा देख्न सकिन्छ । सामाजिक रुपमा पुरुष उपल्लो तहको प्रतिष्ठित व्यक्तित्व र नारी तल्लो तहको घरायसी काममा खटिने कृतदासीका रुपमा चित्रित भएका छन् । नारीपुरुषका बिचको यो पार्थक्य उन्नत र सभ्य समाजका लागि लज्जाको विषय हो भन्ने आशय नियात्राले प्रकट गरेको छ । त्यस भेगका ग्रामीण महिलाले गरेका घरायसी काम, निर्वाह गरेका पारिवारिक दायित्व र पुरुषबाट प्राप्त उपेक्षाभावले उनीहरुको दुर्दशाको चित्र स्पष्ट देखाएको छ । “बघलेक गाउँका पुरुषहरु झुन्डझुन्ड बसेर तास र लुँडो खेलिरहेका देखियो । महिलाहरु ढिकीमा कोदो फल्ने, धान कुट्ने, मल बोकेर बारीमा लैजाने, मकै गोड्ने कामहरुमा व्यस्त देखिन्थे ।” (पुडासैनी,२०७८:१९०) प्रस्तुत वर्णित दृश्य बघगाउँको भए पनि यसले नियात्राले समेटेका भागभूमिको समग्र प्रतिनिधित्व गरेको छ । पुरुषले घरायसी र खेतखलियानका काम गर्नु हुँदैन भन्ने मानसिकता निर्माण गर्ने समाजिक व्यवस्थाको निर्मम सिकार त्यस क्षेत्रका महिला भएका छन् । महिलाहरु घरखेत सम्हालेर पनि नोकरको जिन्दगी बाँच्ने पुरुषहरु सामाजिक अहं पालेर तास र लुँडोमा समय बर्बाद गर्ने कुचलनको परिणाम सिङ्गो समाजले प्रगति गर्न सकेको छैन । महिलामाथिको विभेद र पुरुषको अकर्मण्यता नै त्यस समाजको अविकास र अधोगतिको मूल कारक हो भन्ने निष्कर्ष नियात्राले निकालेको छ ।

पारिवारिक आर्थिक दायित्वको मूली भएर पनि आर्थिक स्रोत निर्माणमा उदासीन र तास जुवाको व्यसनले खर्चालु पुरुषका कारण महिलाहरुले समाजमा टाउको उठाएर बाँच्ने अवसर पाएका छैनन् । नारीले परपुरुषलाई टाउको उठाएर हेर्नसम्म नदिने समाजमा पुरुष भने अरुका श्रीमती र छोरीचेली सङ्ग्रह गर्नमा गौरवबोध गर्दछन् । नारीको दयनीय र निरीह अवस्थाको मार्मिक स्थितिलाई तलको प्रसङ्गले अझ स्पष्ट पारेको छ । “आँगन, पिँढी र पर्खालतिर गोबर र गुहुँमा जताततै झिँगा भन्किरहेछन् । आँगनमा ओखलमा धान कुट्तै छिन् एउटी महिला । नजिकै रुँदै दिसा गर्दै छ एउटा पिलन्धरे बालक । गोबर र भैँसीको मुत बगिरहेछ आँगनभरि । त्यसैमाथि टुक्रुक्क बसेर सिल्बरे थालमा खाना खानु हुँदै छ एउटी बूढी आमा ।” (पुडासैनी,२०७८ः२२६) प्रस्तुत परिवेशको वर्णनले सृजना गरेको परिदृश्य साहित्यिक रुपले विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने उच्च बौद्धिक क्षमता भएका नियात्राकारको समाजभित्रको उनकै समकालीन परिवेश हो भन्ने झल्को दिँदैन । गहुँत, गोबर र गुहुँको सम्मिश्रणले आँगनको जस्तो अवस्था देखिन्छ, त्यस परिवेशमा वर्णित पात्रको जीवनको अवस्था पनि त्योभन्दा फरक देखिँदैन । रुँदै आँगनमा दिसा गरिरहेको पिलन्धरे बालक, एक्लै ओखलमा धान कुटिरहेकी महिला र घिन लाग्दो परिवेशमा पनि सिल्बरे थालमा खाना खाइरहेकी वृद्ध आमाको त्यस प्रकारको दुर्दशाको निर्माता पुरुष र पुरुषप्रधान समाज हो । खान र खुवाउन रातदिन खट्नु पर्ने महिलाले सरसफाइमा ध्यान दिने समय र चेतना दुवै पाएका छैनन् । महिलाको जीवनलाई नरकमय बनाउने पुरुषप्रति न समाजले खबरदारी गरेको छ, न त स्वयं पुरुषले आत्मग्लानि महसुस गरी पश्चात्ताप गरेको छ । आधुनिक सभ्य समाजका अगाडि हाम्रो अवस्थाको तस्विर देखाएर नियात्राले परिवर्तनको अपेक्षा राखेको छ ।

प्रस्तुत विवेच्य नियात्राले पुरुषप्रधान समाजको ज्यादतिका सिकार भएका महिलाका कोणबाट मानव मूल्यको अन्वेषण गर्ने काम गरेको छ । कामको खोजीका लागि विदेश गएका पुरुषसँगै आएको यौन रोग एड्सका महामारीका कारण निर्दोष महिलाको जीवन रौरव बनेको छ । गरिबीले पिल्सिएर थला परेका महिलालाई काम र दामको प्रलोभनमा पारी भारतीय कोठीमा बेच्ने र बेचिने समस्याभन्दा जटिल परिस्थिति त्यस्तो कर्म गर्ने व्यक्तिलाई कुनै सामाजिक सजाय र कानुनी दण्ड नहुनु रहेको छ । “मामा भान्जी त नेपालमा मात्र हो, विदेश पसेपछि जे पनि चल्छ ।” (पुडासैनी, २०७८:पृ.११८) गाउँमा जीवन निर्वाह गर्न कठिन भएर कामको खोजीमा मामा पर्ने अभिभावकका साथ लागेर दिल्ली पुगेकी भान्जीलाई मोटो रकम लिई कोठी सञ्चालन गर्ने आइमाईका जिम्मा लगाएर आफैँ निशुल्क पहिलो ग्राहक बन्ने मामाको चरित्रका माध्यमबाट महिला हिंसाको जिउँदो स्वरुप देखाइएको छ । एउटा आफन्त पुरुषको यस प्रकारको आपराधिक मनोवृत्ति गर्ने आँट र हिम्मत उसको मात्र नभएर त्यस समाजले निर्माण गरिदिएको हो भन्ने चिन्तन नियात्राले प्रवाह गरेको छ । महिलालाई भोग्य वस्तु र कृतदासी मात्र ठान्ने समाजमनोविज्ञानबाट माथि उठ्न नसकेको समाजको चित्रण गरेर यस्तो कुत्सित कर्म र मानसिकताप्रति घृणा व्यक्त गरेको छ ।

छाउपडी प्रथाका कारण छियाछिया भएको नारीको मनोबल माथि उठ्न सकेको छैन, त्यसमाथि घरखेतको दोहोरो जिम्मेवारी र पुरुषको उपेक्षा सहेर जीवनहीन जीवन बाँच्न विवश महिलाको मानवमूल्यको निर्धारण कसरी गर्न सकिन्छ ? नारीले समाजमा प्रतिष्ठित मानव भएर बाँच्नका लागि नारीप्रतिको सामाजिक धारणामा परिवर्तन ल्याई उनीहरुमाथि हुँदै आएको अन्याय र अपमानको अन्त्य हुनु पर्छ भन्ने धारणा लेखकले नारीप्रति देखाएको सहानुभूतिबाट प्रकट भएको छ ।

ग्रीष्मको नीलो बतास नियात्राले छुवाछुतलाई सामाजिक समस्याका रुपमा लिएर त्यस प्रथाका कारण अन्यायमा परेका मानिसका माध्यमबाट मानव मूल्यको खोजी गरेको छ । भौगोलिक विकटता, आर्थिक असमानता, लैङ्गिक विभेदजस्ता कुराले जर्जर भएको समाज छुवाछुत प्रथाले थला परेको छ । कथित उपल्लो जात र तल्लो जातको अहं पालेर मख्ख परेको समाज मानवमूल्यका दृष्टिले दिन प्रतिदिन अधोगतितिर गइरहेको छ । समाजमा अन्तर्जातीय विवाहका कारण कुटाइ खाने, घरखेत छोड्नु पर्ने र देशै छोडेर विदेसिनु पर्ने समस्याले सामाजिक सद्भाव नराम्ररी बिग्रिएको छ । बरु समाजको चौघेराबाट पर पाटनमा पौरख पोख्ने कर्मवीर गोठालाहरुमा जातिगत सङ्कुचित भावना हट्तै गएको छ । उनीहरुमा यस प्रकारको अमानवीय प्रथाका विरुद्धमा विद्रोहको भावना जागृत हुन थालेको सङ्केत नियात्रामा देखिएको छ । “बल हुनेले बल नहुनेलाई हेप्न र थिच्न बनाएका हुन् बित्थामा यो जातको चलन । मान्छे जन्मे पछि मान्छे भइहाल्यो नि उसको जात । कामका आधारमा जात बाँडेको रे । काम पनि जात हुन्छ, पेसा पो हुन्छ ।” (पुडासैनी,२०७८:पृ १२३) पाटनका गोठहरुमा केवल मान्छेमात्र भएर बसेका गोठालाहरुको जातका बारेको आत्मज्ञान समाजका अगुवाहरुलाई झस्काउने खालको छ । पाटनमा बस्दा सामाजिक अहंबाट मुक्त हुने र मानवीय कोणबाट मात्र सोच्ने भएकाले उनीहरुमा जातपात र छुवाछुतको भेदभाव रहँदैन । निर्धालाई कज्याउन बलशालीले निर्माण गरेको जातपातको चक्रव्युह गोठालाले भत्काउन खोजे पनि अगुवाहरु चक्रव्युह पुनर्निर्माणमा लागिरहेको छ । उखेल्नु पर्ने प्रथालाई संरक्षण गर्ने व्यक्तिप्रति खबरदारी गर्दै यस प्रकारको कुप्रथाप्रति विद्रोहको स्वर सुनिन थालेको सन्देश नियात्राले दिएको छ ।

माथि चर्चामा आएका मानवमूल्यका हीनतर अवस्थाको चित्रणले मान्छेप्रति मान्छेको धारणा कस्तो छ भन्ने छर्लङ्ग पारेको छ । समाजका डरले एउटा मान्छे अर्को मान्छेप्रति यति साह्रो कठोर कसरी बन्न सक्छ । आफू सम्पन्न भएपछि पनि अरुलाई माथि उठाउन किन मानिसले सहायताको हात अगाडि बढाउन सक्तैन । परिवारको गरिबीलाई उखेलेर फाल्न कर्मशील श्रीमतीसँगसँगै हातेमालो गरेर जीवनस्तर उठाउन पुरुषले किन लज्जाबोध गर्छ । तास र लुँडोमा समय बर्बाद गरेर अझ कङ्गाल बन्नुभन्दा आफ्नो पुरुषत्वलाई खेतबारीमा पोखेको भए जीवन साथीको स्वास्थ्य र पारिवारिक स्थिति दुवै राम्रा हुन्थे भन्ने कुरा पुरुषले किन नबुझेको होला । समाजले निर्माण गरिदिएको खोक्रो अहङ्कार बोकेर गुहुँ, गोबर र गहुँतको आहालमा डुब्नु प्रतिष्ठाको विषय कसरी बन्न सक्छ ,यस नियात्राले खोजी गर्न बाध्य पारेको छ । जीवन निर्वाह गर्न कामको खोजीमा भारत गएका असचेत नागरिकहरुका असावधानीले गाउँ नै एड्सको चपेटामा पर्नु र छिमेकी र आफन्तबाटै महिला वेश्यालयमा बेचिनुको दाहोरो समस्याबाट सर्वसाधारण पीडित भएका छन् । जातको उच्चता र निचताले निर्माण गरेको विभेदको खाडललाई पुर्न ढिला भएको आशय आदि प्रस्तुत नियात्राले अभिव्यक्त गरेको छ ।

निष्कर्षः

यस लेखमा ग्रीष्मको नीलो बतास नियात्राले समेटेका विषयवस्तुका समग्र परिधिभित्रको साङ्गोपाङ्ग अध्ययन, विश्लेषण र मूल्याङ्कन भन्दा मानवमूल्यको अवस्थिति के कस्तो छ भन्ने एकाङ्गी क्षेत्रलाई मात्र अवलोकन गर्ने प्रयास गसिएको छ । प्रविधि र अर्थतन्त्रका हैसियतमा विश्वसँग प्रतिस्पर्धा गर्न नसक्नु सामान्य विषय होला तर मानवीय मूल्यका आधारमा नारी र पुरुषका बिचको असमानता, जातजातिका नाममा मान्छेलाई मान्छे नठान्ने नेपाली समाजको मानसिकता, जनताको जीवनस्तर उठाउन शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न चासो नदिनु जस्ता मानव विरोधी गतिविधि गर्ने हामीलाई सभ्य समाजका आँखाबाट हेर्दा बरबर कविला युगका वनमानुष जस्ता देखिने यथार्थ उजागर भएको छ । नियात्राकारले कुनै पनि घटना र परिदृश्यलाई अतिरञ्जित नगरी सामान्य रुपमा वर्णन गरेका छन् । कुनै पनि घटना र सन्दर्भबाट उद्वेलित, उत्तेजित र प्रभावित नभई गम्भीर विषयलाई सरल र सहजरुपमा प्रस्तुत गर्नु लेखकको विशिष्टता हो । यसमा वर्णन गरिएका विषयसन्दर्भप्रति लेखकले आफ्नो टिप्पणी र प्रतिक्रियाको बोझ पाठकलाई बोकाएर विषयलाई अतिरञ्जित गर्ने धृष्टता नगरेकै कारण निबन्ध उत्कृष्ट साहित्यिक कृति बनेको छ ।

कलात्मक प्रस्तुति, कवितात्मक शैली, सरल वाक्य गठन, सूक्तिमय कथन आदि उच्च काव्यिक विशेषताले प्रस्तुत कृति पठनीय बनेको छ । विचारको सघन उपस्थिति भए पनि भाषिक कलाले त्यसलाई कोमल बनाएर प्रस्तुत गरेको छ । विचार, चिन्तन र दर्शनका कठमेरतालाई कान्तकमनीय भाषिक रुपमा पाठक समक्ष पस्कन सक्ने पुडासैनीको सबल पक्ष प्रस्तुत नियात्रामा स्पष्ट देख्न सकिन्छ । शब्द श्रुतं अर्थो नज्ञात भनेझैँ लेखकको कमनीय भाषिक लालित्यको प्रवाहमय बगाइमा पाठकले कतिपय सन्दर्भमा विचारको गहनतालाई मनन गर्न बिर्सिन सक्छ । पाटनका गोठाला, बाटामा भेटिएका महिला, होटल अगाडिका जँड्याहा, भारीमाथि बच्चा बोकेर घरखेत गर्ने गृहिणी, तिस वर्ष नपुगी वृद्धजस्ता बनेका युवती, एड्सले बालविधवा बनेका बनिता र वेश्यालयमा बेचिन बाध्य भान्जीहरुका जीवनका झलकबाट प्रस्तुत गर्न खोजिएका जीवन दर्शनका गह्रुङ्गा भारी पनि प्रस्तुतिको कलात्मक शैलीले सहज र बोधगम्य बनेका छन् ।

मान्छेभित्रको मान्छेपन खोज्न अग्रसर प्रस्तुत कृति मानवमूल्यलाई प्रथमिकता दिने उत्कृष्ट रचना हो । समाजका सङ्कुचित सोचका अँध्यारा गर्तभित्र शक्तिशाली सीमित वर्गले गरेको मानवमूल्यको तिरस्करणलाई विषय बनाएर मान्छे र मान्छेपन बाँच्नु पर्छ भन्ने चिन्तन अभिव्यक्त गर्नु यस नियात्राको उद्देश्य हो । यसकार्यमा नियात्रा सफल भएको छ । समग्रमा विषयवस्तुको गहिराइ,विचार र चिन्तनको उचाइ र भाषिक कलात्मक बगाइले ग्रीष्मको लीलो बतास नेपाली नियात्रा साहित्य क्षेत्रको दुर्लभ प्राप्ति बनेको छ ।