खिमानन्द आचार्य,ग्रेटर वासिंगटन मेट्रो क्षेत्रको अमेरिकी नेपाली समाजमा नेपाली संस्कृतिका सम्बाहका रुपमा चिनिन्छन् । नेपालको जेठो अखबार गोरखापत्रमा २६ वर्ष नेपाली भाषाको सेवा गरेका आचार्य डेढ दशक यता अमेरिका बासमा छन् सपरिवार ।
सांस्कृतिक महत्त्वका सार्वजनिक एकाध कार्यक्रमहरूमा र केही पारिवारिक भेटघाटमा जम्काभेट भएका आचार्यसँग यो पङ्तिकारको व्यक्तिगतरुपमा निकट सम्बन्ध भने छैन यद्यपि एक अग्रज संस्कृतिकर्मी भएका कारण सम्झनामा आउने नाम भने हो । केही वर्ष पहिले सम्झनाका लागि फोन गर्दा उनले भनेका थिए- लेखनाथजी अहिले म अस्पतालमा छु,पछि बात् मारम् है । मैले उनको जवाफ नपर्खी अलिक हडबड वा आतिँदै सोधेँ – लौ के समस्या पर्यो नि,आफूलाई नै कि अरु कसैलाई ?
त्यसपछि कोरोनाको विश्वव्यापी महामारीले दुई अढाई वर्षको कहाँको कता कमैले कमै एक अर्कोलाई सोध खोज गरियो भने प्रत्यक्ष भेटघाट पनि हुन सकेन । केही हप्ता पहिले सामाजिक सञ्जालबाट आचार्यकृत ४ वटा कृति एकै पटक सार्वजनिक भएको जानकारी प्राप्त भयो । यो जानकारी पाएको अर्को हप्ता फोन गरेर सोधें -आचार्यज्यू, कतै व्यस्त हुनुहुन्छ कि ? उनको उही जवाफ आयो – लेखनाथजी म त अहिले अस्पतालमा छु ।
पहिले पनि यही प्रश्नमा सवाल जवाफ त भैसकेको थियो तर तत्काल अस्पताल छु भनेपछि नमिठो चस्का मनमा पर्ने नै भयो । महामारी त अब सामान्य मान्न थालियो,अरु कुनै समस्या आफैंलाई हो कि अरु कसैलाई ? जिज्ञासा पुरानै दोहोर्याएँ । स्वास्थ्यको ख्याल गर्नुहोला,तपाईं आराम भएपछि बात मारम्ला नि है भन्दै फोन राख्न खोज्दा उनले रोक्दै भने- मलाई ठिकै छ । म यहाँ एकजना नवजात शिशुको न्वारन गर्न आएको छु । यही उतर पहिले नै पाएको भए पनि सम्झन नसकेकोमा भने मन खिन्न भयो ।
‘अस्पतालमा छु, डाक्टरलाई भेट्न आएको छु, अदालतमा आएको छु वा पुलिस अफिसमा छु’ भनेपछि सामान्यत: सबैको मनमा चिसो त पसी नै हाल्छ । त्यसमा पनि ‘अस्पतालमा छु’ भनेपछि नआतिने कमै हौला । तर खिमानन्द आचार्य अन्य नेपालीहरूले जस्तै खाइजीविकाको घनचक्कर काटेर स्थानीय नेपाली समाजमा सांस्कृतिक/धार्मिक विधिका लागि पनि सक्रिय छन् । यसैले उनी अमेरिकी नेपाली समाजका सांस्कृतिक सम्बाहक पनि हुन् । उनको साहित्यप्रतिको रुची भाषा सेवा र मानवीय रुची तथा आफ्ना अभिव्यक्ति बिसाउने थलो हो । उनका अभिव्यक्तिमा देश प्रेम,समुन्नत समाजको परिकल्पना र मानवीय भावनाजस्ता विषयहरुमा सकारात्मक सन्देश पाइन्छ ।
अझै पनि आचार्यलाई भेटेर नै दुईवटा प्रश्न सोध्नुछ,अमेरिकामा तपाईं नवजात शिशुहरूको न्वारान कहिले वा कतिदिनमा गर्नु हुन्छ ? सामान्य अवस्थामा त अमेरिकामा नवजात शिशु र आमालाई २-३ दिनभन्दा बढी अस्पतालमा राखेको पाइँदैन । तर यहाँ बच्चा जन्माउन अस्पताल भर्ना भएपछि बच्चा नजन्मदै वा जन्मनासाथ बच्चाको नाम अस्पतालले माग्ने गर्छ ? एउटा प्रश्न, बच्चा नजन्मदै हिन्दु परम्परागत विधीअनुसार न्वारन गर्न त नमिल्ला ? अर्को प्रश्न, विधिपूर्वक नै न्वारन गर्ने हो भने त सामान्य अवस्थामा ११ दिनसम्म त आमा र नवजात शिशुलाई अस्पतालमा नराख्नु पर्ने होइन र ? यो प्रश्न उतरका बारेमा अर्को कुनै सन्दर्भमा चर्चा गरौंला । यहाँ उनै सांस्कृतिक कर्मी आचार्य कृत ४ वटा कृतिका बारेमा यहाँ सामान्य जानकारी प्रस्तुत गर्न प्रयास गरिएको छ ।
१. आस्थाका बिम्बहरू
धर्तीका माकुरा,यो कवितासङ्ग्रह वि.सं. २०४३ मा नै प्रकाशित गरेका आचार्यले ३५ वर्षपछि प्रकाशित गरेका हुन् दोश्रो कविता सङ्ग्रह-आस्थाका विम्बहरू । उनको यो सङ्ग्रहका बारेमा साहित्यकार होमनाथ सुबेदीको भूमिकाले कृतिको करिब २० प्रतिशत स्थान ओगटेको छ । सङ्ग्रहका १६४ पेजमा सुबेदीले लेखेको ४८ पृष्ठ लामो भूमिकामा नामकरण,पृष्ठभूमि,भूमि उपशीर्षकका अतिरिक्त निम्न विषयमा चर्चा गरिएको छ –
‑ पर्यावरणीयतावादी चेतना,
– वैज्ञानिक शोध-खोज
– मानवीय अनुभव
– मानवीय आचरण
– भौतिक वातावरण
– सौन्दर्य शाश्त्रीय अध्ययन
– पर्यावरण मैत्री भाषा
२) आप्रवासीयतावादी चेतना
– हेतु
– गृहस्मृति (Nostalgia)
– जन्मभूमिको भौगोलिक परिदृश्यको यादले सताएको अवस्था
– द्रव्यमुखी प्रवृति
– डायस्पोरा पर्यावरणमा प्राकृतिक वर्णन
– अभिघात चेतना
– अन्-डकुमेन्टेड हुनुको अभिघात
– सीमान्तीयताको पीडा
– पराई हुनुको चिन्ता
– पहिचान र अस्तित्वको खोज
– एकताको सूत्रको खोजी
३) नारीवादी चेतना
– नारीमाथि दबाब
– नारीको सङ्घर्ष
– नारीको इतिहास र महिमा
४) सांस्कृतिक समालोचनाको चेतना
– समकालीन सांस्कृतिक अध्ययन
५) कला पक्ष
यस सन्दर्भमा यसभन्दा पहिले पनि पटक पटक धेरैले चर्चा गरिसकेको डायस्पोरा शब्दको प्रयोगका बारेमा यहाँ थप चर्चा गर्नु सान्दर्भिक हुन्छ । समिक्षाका क्रममा सुबेदीले आप्रवासीयतवादी चेतनाकाका सन्दर्भमा उल्लेख गरेको ‘डायस्पोरा’ शब्दको मूल/उत्पति र अर्थका बारेमा हामी नेपाली भाषी जो नेपाली भाषाकै मौलिक पहिचानको पक्षमा भोट गर्दछौँ, यस शब्दका बारेमा हाम्रो साझा वा बहुमत मत के हो ? यो यकिन छैन । अमेरिकी राजनीतिको प्रवेश विन्दुमा नेपाली समुदायको तर्फबाट पाइला टेक्दै गरेका ह्यारी भण्डारी र रोन सिटौलालाई पनि हामीले सोध्न पर्छ,आफ्नै नाममा अर्काको नक्कल गरेर पहिचान कहाँ खोज्ने होला ? सुबेदीले आचार्यलाई उद्दृत गर्दै लेखेका पङ्क्ति यी हुन् –
डायस्पोरा को हो ? त्यसको उत्तर कवि आचार्यले आँफै दिएका छन् –
खुला कारागारमा
कुन लक्ष्यको भेदको लागि
साटिरहेछ जिन्दगी ।
डलर,पाउण्ड र युरोमा ।
– समुद्रपारका बस्तीहरूमा
यो सन्दर्भ अर्थात् डायस्पोराको प्रयोग कति वस्तुगत, अर्थपूर्ण र आवश्यक छ वा यसको विकल्प हामीसङ्ग छ कि छैन ? यो हाम्रो लहडमा थाहै नपाइ वा नमुना/उदाहरण वा आफ्नो अभिलेखीकरणको विशेषताका लागि वा अन्य कुनै कारणले प्रयोग भैरहेको छ ? नेपालमा नै सुधारका नाममा भाषाको प्रयोगमा भएका नयाँ प्रयोगको औचित्य र अर्थबोधमाथि प्रश्न गर्न सकिन्छ । मूलुकी ऎनलाई मूलुकी संहिता गरिएको छ । नेपाली भाषाको मानक र प्रयोग तथा अर्थ प्रदान गर्नका लागि ऐन र संहिता, के एकै हुन र ? यो विषय ज्ञान पनि नभएको र नजाने गाउँको बाटो नसोध्नु भनेजस्तै भयो यो पङ्तिकारका लागि !
विश्वव्यापी नेपाली भाषाको मानकको लागि सङ्गठित ‘नेटवर्क’मा रहनुहुनेहरूको ध्यान जानु पर्दछ । नेटवर्क, नै किन ? सञ्जाल भने पनि फरक पर्दैन । नेपाली र अङ्ग्रेजी दुवै भाषाका विज्ञ डाक्टर गोविन्दराज भट्टराई र महेश पौडेलको पनि यस सन्दर्भमा ध्यानाकर्षण हुने विश्वास छ ।
अर्को एक सन्दर्भमा गृहस्मृति (Nostalgia) को चर्चा गर्दै समिक्षक सुबेदी थप लेख्छन्- आप्रबासीको आप्रबासनमा तन बसेको भए पनि उनको मन मन मस्तिष्क नेपालमा छ । मूलघरको बाल्यकालको पूर्वस्मृति-
आँगनको डिलमा उभिएर
मनभरि तिमीलाई सम्झँदा
अनि सँगै वनमा लुकामारी खेलेको
त्यो अनुभूतिले
वियोगको यो क्षणमा
अमृत बर्सिएछ ।
– वियोग
यस्ता कतिपय शब्दको प्रयोग,तिनको मूल/उत्पति र अर्थ वा प्रयोगका बारेमा लेखक र समीक्षकको पनि अलमल देखिन्छ यस सङ्कलनमा । अर्को सन्दर्भमा समीक्षक सुबेदीले ‘डायस्पोरा पर्यावरणमा प्राकृतिक वर्णन’ उप शीर्षकमा चर्चा गरेका छन् । यो अलमल किन भन्नेबारे माथि पनि प्रश्न छ र समाधान के भन्नेबारे सम्बन्धित सबै सरोकार पक्षको ध्यानाकर्षण हुनसके निष्कर्षमा पुग्न सकिन्छ । सामान्य जिज्ञासा के मात्र हो भने आप्रबासी र आप्रबासन,परदेश,मातृभूमि जस्ता अनेकौं शब्दको विकल्प डायस्पोरा नै हो त ?
भाषाविद् प्रोफेसर तारानाथ शर्माको मत छ- भाषाको विकाश/सम्बृद्ध हुनका लागि शब्द ग्रहणशिलताको क्षमता हुनुपर्छ अर्थात् आगन्तुक शब्दहरूको प्रयोग/ग्रहण पनि गर्नुपर्छ । तर त्यो आफ्नो भाषाको मौलिकता कायम राखेर विकल्पमा मात्र हुनुपर्छ । यहाँ उल्लेख प्रोफेसर शब्दलाई त्यसरी नै लिन सकिन्छ । सुबेदीले प्रयोग गर्नु भएको अर्को उपशीर्षक छ – अन्-डकुमेन्टेड हुनुको अभिघात । अन्-डकुमेन्टेड,यस्ता शब्दको ग्रहण र प्रयोग आवश्यक छ वा स्वाभाविक पनि हो । त्यस्ता कतिपय शब्दको मौलिकता वा प्रयोग हाम्रा सन्दर्भमा अनुवाद गरेर लिन वा बुझ्न कठिन हुन्छ । प्रोफेसरलाई सिधै प्राध्यापकभन्दा अर्थपूर्ण हुँदैन । अनेकौं उदाहरण थप्न सकिन्छ ।
सङ्ग्रहमा रहेका ८० वटै कविताहरूमा कविका जीवनका अनुभूतिहरू र सन्देशको मिश्रण छ । आफ्नो दोस्रो कविता सङ्ग्रहमा रहेका कविताका बारेमा कवि आचार्यको स्वीकारोक्ति पनि त्यही छ- मन भित्रका छालहरू कहिले कविता,कहिले गीत र कहिले कथाकारुपमा छचल्किए ।
२. मनका तरङ्गहरू
मनका तरङ्गहरू,माथि चर्चा गरिएका कवि आचार्यकै गीति सङ्ग्रहको नाम हो । यस सङ्ग्रहमा पनि आचार्यले आफ्ना अनुभूतिहरूलाई १०६ वटा गीत मार्फत् लयात्मक शैलीमा प्रस्तुत गरेका छन् । आचार्यका गीतहरूको बारेमा साहित्यकार/समालोचक डाक्टर तुलसी भट्टराईको मत छ- ‘आचार्यद्वारा गुनगुनाउँदा मनबाट तरंगित शब्द-वाक्यहरू समेटिएर यो कृति तयार भएको छ ।’
खिमानन्द आचार्यको गीतमा पीडाको आत्मा यात्रा,भएको समालोचक डाक्टर नेत्र एटमको स्वीकारोक्ति छ । मनका तरङ्गहरूका बारेमा एटम लेख्छन्- ‘देशबाट टाढा रहँदा गीतकारको चिन्तनमा आइरहने जन्मभूमिको स्मृतिलाई लोकलयमा सजाएर प्रकट गरिएको काव्यिक अभिव्यञ्जना हो ।’
सङ्ग्रहित गीतहरूको परख गरेर पुरुषोतम सुबेदीले लेखेका छन्- ‘मानिस आफ्नो जन्मथलो ….बाट जति टाढा हुन्छ त्यतिबेला उसको आत्मामा,मानसपटलमा त्योप्रतिको मायाको आत्मीय संवेदनाका नदीहरू प्रवाहित हुन्छन् । वेदनाका नदीहरू कसरी प्रवाहित हुन्छन् भन्ने कुरा पाठकसमक्ष उदाहरणको रुपमा यो कृति ‘मनका तरङ्गहरू’ मा गीतहरू मार्फत् प्रस्तुत भएका छन् ।’
मनको दु:ख मनैमा राख्नेले
नलाऊ माया छाडेर जानेले
अर्घा खिदिमले मन धेरै दुखायो
छोडी जानेले ।
तिमी छैनौ शून्य भो रनवन
लाएको माया ला छैन नभन ।
– वैरागीको मन
यही गीत सङ्ग्रहका बारेमा लेखक भन्छन् – ‘दु:ख सुखको संगम रहेछ जिन्दगी । केही प्रष्ट भएको केही गुमाएको दृश्यहरू आँखा अगाडि नाँच्न आइपुग्छन् । अलि भावुक हुने प्रवृतिले गर्दा आज यो गीति सङ्ग्रह तयार भएको छ । बाल्यकालको सम्झनाका तरङ्गहरू… आत्मीय संवेदनाहरुको अनुभूति … माटोप्रतिको ममता तथा जनजिब्रोमा व्याप्त भावनात्मक संवेगहरू गीतको रुपमा प्रकट भएका छन् … ।’
३. पश्चाताप
यो पनि माथि कवि तथा गीतकारकारुपमा चर्चा गरिएका आचार्य अर्थात् खिमानन्द आचार्यकै लघुकथा सङ्ग्रह हो । जीवन भोगाइको अनुभूतिहरूलाई कलात्मक शैलीमा कविता र गीत मार्फत् सार्वजनिक गरेका आचार्यले यस लघुकथामा पनि त्यही कुरालाई फरक शिल्पमा प्रस्तुत गरेका छन् । कथामा आचार्यले नीति वचनहरूमा आधारित सन्देश,पारिवारिक विचलन र विघटन,मानवीय नाता सम्बन्ध,छलकपट आदिलाई उद्घाटित गरेका छन् । कतिपय कथाको शीर्षकहरू र कथाको विषयको सङ्गतिसँग नमिलेको पो हो कि जस्तो लाग्छ यद्यपि बाटो जता जाने होस् त्यसमा सबै प्रकारका मानिस हिँड्न सक्छन्,तसर्थ यो पनि पाठकका लागि स्वीकार्य हुन्छ ।
‘तिमीले तिम्रो भगवानको कुरा बिर्स्यौ ? कर्म गर,फलको आश नगर भन्ने । राष्ट्र बलियो भयो भने मात्र तिम्रो मर्यादा बलियो हुन्छ । त्यागले मात्र देश बन्छ ।’
– भेरी नाइस,पेज ७२
आचार्यका ३७ वटा लघुकथा सङ्ग्रहका सम्बन्धमा लघुकथाकार तथा लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन लेख्छन्- समग्रमा लाघुकथाहरूले सत्मार्गलाई पछ्याएको छ । अनुशासित जीवनपद्धतिमा जोड दिएको छ । परिवार र समाजको आदर्शलाई कायम राख्नुपर्नेजस्ता सकारात्मक सन्देशका लघुकथाहरूले गर्दा ‘पश्चाताप’ लघुकथा सङ्ग्रह पठनीय बनेको छ ।
४. पागल साथी
साहित्यलाई आत्मा सन्तुष्टि गर्ने माध्यमका रुपमा परिभाषा दिने खिमानन्द आचार्यले आफ्नो मात्र आत्मा सन्तुष्टि गरेका छैनन् । पागल साथी, कथा सङ्ग्रह मार्फत् आचार्यले नेपाली साहित्यका पाठकहरूलाई पनि आत्मा सन्तुष्टि प्रदान गर्ने प्रयास गरेका छन् ।
‘साहित्यले अन्य व्यक्तिलाई निर्वृत र आनन्द प्रदान गर्दछ । ….आचार्यजीले उपर्युक्त हेतुपुर्तिका निम्ति पनि लेखेको कुरा केही कथाबाट व्यक्त हुन गएको पाइन्छ ।’ समालोचक तथा सहप्राध्यापक डाक्टर राजाराम सुबेदीले कथा सङ्ग्रहका २४ कथाको चर्चा गर्दै ‘चौबीसै थुँगा:एउटै झुप्पा’ शीर्षकको समीक्षामा उक्त कुरा उल्लेख गरेका छन् ।
प्राज्ञ डाक्टर टीकाराम पन्थीको ‘पागल साथीमाथि विहङ्गम दृष्टि’ यस्तो छ- ‘आचार्यका २४ वटै कथाहरू वर्तमान नेपालको तस्वीर खिच्न सफल छन्,समकालीन सामाजिक जीवन र नानाविध समस्याका दर्पण बनेका छन् । यथार्थवादी धरातलमा उभिएका प्रत्येक कथामा समस्या छ,सुधारको आशा र संकेत छ । यी कथाका पाठकहरू अवश्य लाभान्वित हुनेछन्,आफ्नो वैयक्तिक,पारिवारिक वा सामाजिक अवस्था-समस्या खोज्न भेटाउन समर्थ बन्नेछन्,सुधारको दिशामा अग्रसर हुनेछन् ।’
समग्रमा एकैपटक विभिन्न ४ वटा विधामा नेपाली साहित्यका पाठकहरूलाई पठनीय कोशेली दिन सक्ने यी सर्जकका लागि व्यवशायिक प्रकाशकहरूको पनि आँखा पर्न सके सुनमा सुगन्ध हुने थियो । यहाँ चर्चा गरिएका ४ वटै सङ्ग्रहको प्रकाशन डिभर्ना-काठमाडौं समाजको संस्थापक अध्यक्षकारूपमा लेकक स्वयम् खिमानन्द आचार्यले नै गरेका हुन् । लेखकले यसरी नै गाँस काटेर नेपाली साहित्यका पाठकहरूलाई स्वादू व्यञ्जन सँधै पस्किरहन कठिन छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।