
निकथासङ्ग्रह नाम दिइएको, विक्रमभक्त जोशीद्वारा रचित कृति चोभार ब्लुजलाई आफूले अपेक्षा गरेभन्दा माथिल्लो स्तरको उम्दा कृतिका रूपमा पाउँदा मलाई सुखद आश्चर्यको अनुभूति भएको छ । नेपाली साहित्यको गम्भीर पाठक–समालोचक र लेखकका रूपमा म यस प्रकारको अद्भूत सरप्राइज दिने लेखकलाई नेपाली साहित्य– संसारमा हर्षबढाईका साथ हार्दिक स्वागत गर्दछु । नेपाली भाषामा भाँती मिलाएर लेखिएका गद्यकृतिहरूको खडेरी नै छ भन्दा पनि अत्युक्ति नहुने आजको स्थितिमा विक्रमभक्त जोशीको, सबै परिपाक मिलेको सुस्वादु पठन–सामग्री प्रस्तुत गर्ने यो निबन्ध–कृति नेपाली साहित्यको टाक्सिँदै गएको निबन्ध÷प्रबन्ध विधाका सन्दर्भमा उखर्माउलो गर्मीको मध्यान्हमा बगेको ताजा चिसो हावाको झोक्काजसरी आएको छ ।
यस पुस्तकका बारेमा पहिलो पटक सुन्दा मेरो मनमा लेखक र पुस्तक दुवैप्रति उत्साह कम सन्देहात्मक जिज्ञाशा ज्यादा उठेको थियो । लेखक जोशी पेशाले इन्जिनियर हुनुहुन्छ भन्ने कुरा थाहा भएपछि रातोदिन ज्यामिति र अंकगणितका सूत्र–संख्याहरूमा अल्झिनुपर्ने प्रविधिकले सिर्जनात्मक लेखनको क्षेत्रमा उल्लेख्य हुने गतिलो कुरो के लेख्नु भयो होला र ? भन्ने पनि लागेको थियो मलाई । इन्जिनियर साहेबले सिर्जनात्मक लेखनले माग्ने समाज–विज्ञानको गहन अध्ययन, कठोर लेखकीय अभ्यास, भाषामाथिको अधिकार कायम गर्न आवश्यक अध्ययन–अनुसन्धान र अभिव्यक्तिको निजी भङ्गिमा एवं शैलीको आविष्कार गर्ने क्षमताको विकास आदि जस्ता राम्रो लेखनका लागि आवश्यक पर्ने आधारभूत तयारी गर्न भ्याउँनु भयो होला र ? भन्ने जायज आशंका पनि मेरो मनमा उठेको थियो ।
खुसीको कुरो, विक्रमभक्त जोशी रचित निकथासङ्ग्रह चोभार ब्लुजले मेरो मनमा उठेका ती तमाम सन्देह र आशंकाहरूलाई जगैदेखि खारेज गरिदिएको छ । ब्लुजका प्रत्येक निबन्धमा लेखक जोशीले विषय–वस्तु, कथ्य, परिवेश, चरित्रहरू एवं तिनको सामाजिक र सांस्कृतिक व्यक्तित्व आदिको सजीव चित्र उतारेर पाठकलाई लट्ठै पार्ने चुम्बकीय आकर्षण भरिदिनु भएको छ । मेरो विचारमा चोभार ब्लुजले नेपाली निबन्ध÷प्रबन्धको संसारमा आफ्ना लागि एउटा बेग्लै स्तरको निर्माण गरेको छ । नेपाली भाषामा आफ्नो पहिलो कृति लिएर देखापरेको कुनै पनि नवोदित लेखकले लेखेको कुनै पनि कृतिको तुलनामा यो निकथासङ्ग्रह अब्बल छ, त्यसैले, यो पुस्तकका माध्यमबाट विक्रमभक्त जोशीले नेपाली साहित्यमा एउटा नयाँ इतिहासको रचना गर्नु भएको छ भन्दा अत्युक्ति हुने छैन ।
पुस्तकको नामलाई भने मैले खासै मन पराउँन सकिँन । केही वर्षअघि प्रकाशित युवा कवि बुद्धिसागरको बहुचर्चित उपन्यास कर्नाली ब्लुजको अनुकरणमा राखिएको जस्तो लाग्ने यो नामले एकथरी युवा पाठकहरूलाई आकर्षित गरे पनि यसले पुस्तकमा सङ्ग्रहित मार्मिक आख्यानात्मक निबन्धहरूले प्रस्तुत गर्ने तृणमूल तहका दीन–हीन अकिञ्चन मानिसहरूको व्यथा–कथाको भार बहन गर्न सक्दैन । त्यसै पनि नामका रूपमा ब्लुज हाम्रो आफ्नो जस्तो लाग्दैन । त्यसले बोक्ने अर्थ पनि हाम्रो देशीय सन्दर्भमा आमपाठक वर्गलाई सजिलै बुझाउँन सकिँदैन । संयुक्त राज्य अमेरिकाको दक्षिणी भू–भागका दास–किसानहरूको बेहाल जिन्दगीको गाथामा आधारित लोकसङ्गीत ‘ब्लुज’ को पश्चिमी, खासगरी अमेरिकी सांस्कृतिक जगतमा महत्त्वपूर्ण स्थान भए पनि हाम्रा लागि त यो फगत फेसनको विषय मात्र हो । चोभार ब्लुज भन्ने नामले जुन नाटकीयता बोकेको छ त्यो, कतिपय निबन्धमा पुग्दा अतिनाटकीय समेत बनेको छ । यसलाई लेखक जोशीको कमजोरीका रूपमा लिएको छु मैले । पुस्तकको शीर्षकका लागि रोजिएको निबन्ध चोभार ब्लुज नै अतिनाटकीयताको शिकार भएर कमजोर बन्न पुगेको छ । यस पुस्तकमा बारम्बार प्रयोग भएको ब्लुज शब्दले कृतिको गुणलाई बढाउँन बिलकुलै सघाउ पुर्याएको छैन भन्ने मेरो ठहर छ ।
ब्लुजमाथिको एउटा अन्तरक्रियामा मन्तव्य राखिदिन समेत अनुरोध गर्दै लेखक जोशीले पुस्तक उपलब्ध गराउँनु भएको साँझ नै मैले त्यसलाई पढिसिध्याएको थिएँ । ब्लुजको पठन अनुभव मेरालागि अत्यन्त सुखद रहेको कुरा सबैसँग सेयर गर्न चाहन्छु । भाँती मिलाएर लेखिएको नेपाली गद्यकृति पढ्न नपाएर छटपटिएको मभित्रको कदाचित असन्तुष्ट पाठकलाई साहित्यको क्षेत्रका नवप्रवेशी इन्जिनियर साहेबले सन्तुष्ट पारेको कुरा म हृदयदेखि नै कबूल गर्दछु । एक जिम्मेवार समीक्षकका हैसियतले म केही महिनाअघि प्रकाशित चन्द्र गुरुङको कवितासङ्ग्रह “जब एउटा मान्छे हराउँछ“ र विक्रमभक्त जोशीको “चोभार ब्लुज“ लाई समसामयिक नेपाली साहित्य संसारका महत्त्वपूर्ण प्राप्तिका रूपमा आएका कृतिद्वय मान्दछु । यी दुवै कृतिको नेपाली साहित्यका गम्भीर विद्यार्थीहरू, समीक्षकहरू र आमपाठकहरू सबैले समान रूपले स्वागत गर्नेछन् भन्ने मेरो विश्वासलाई पनि यी पङ्क्तिमार्फत सबैका सामु दोहोर्याउँन चाहन्छु ।
नवोदित लेखकको सशक्त कृतिका रूपमा आएको चोभार ब्लुजमा १९ थान आख्यानात्मक निबन्धहरू छन् जसलाई लेखक जोशीले निकथा (नियात्रा+कथा) भन्ने अस्पष्ट नाम दिनु भएको छ । संकथक (न्यारेटर) अथवा लेखक यात्रामा निस्केका बेलामा उसले देखेका भोगेका कुराहरू समेटी तिनमा आख्यानका तत्वहरू भरेर तयार गरिएका यी निबन्ध÷ प्रबन्धहरूको सङ्ग्रहलाई नाम जे दिए पनि त्यसले खासै फरक पार्छ जस्तो लाग्दैन । यी आख्यानात्मक निबन्धहरूले नेपाली माटोको सुगन्ध बोकेका छन् । यी निबन्ध÷प्रबन्धहरूका पंक्तिमा जीवन्त भएका मानिसहरू आम नेपालीका निकट आफन्त जस्ता लाग्दछन् । यी रचनाहरूमा नेपाली आकाश, नेपाली झुपडी, नेपाली आँगन, छहरा–पहरा–लहरा जीवन्त भएर टाँगिएका छन् । यी निबन्ध÷प्रबन्धहरूमा नेपाली समाज पानीरङ्गको सुन्दर तर अमूर्त शैलीमा तयार गरिएको आकर्षक चित्रकारीझैँ आएको छ ।
विक्रमभक्त जोशीको मर्मस्पर्शी गद्यकारिताको झलक दिने केही पङ्क्तिः
“सुस्त सुस्त पाइला चालेर जाँदै गरेकी ‘बाख्री बज्यै’लाई हेर्दै गर्दा मलाई त्यो फूलको याद आयो, जुन फूलले अरूको फूलदानीमा सजिन, अरूको जीवन सुवासित गर्न आफ्नो जीवन उत्सर्ग गर्छ । अनि जब तिनको काम सकिन्छ, विनाहिच्किचाहट मिल्काइन्छ । तर रछ्यानमा मिल्काइँदा पनि त्यो फूलले गुनासो गर्दैन । बरू फेरि त्यसै कतै रछ्यानमाथिको भित्ते पाखोमा जेनतेन पलाउँछ । अरू फूलको झुन्डबाट एक्लिएको त्यो फूल हावाको झोक्कासँगै बत्तिँदै मुस्कुराई रहन्छ ।”
उत्सर्गबाट
“जुन बेला एउटा लास मिजारेखोलाको धमिलो पानीमा डुब्दै उत्रँदै सिउघाटबाट घोर्लेटारतिर बग्दै थियो, त्यत्ति नै खेर घाटछेउको सुरिलो रूखको टोड्कामा एक जोडी डाङ्ग्रे रूपीले एउटा बचेरो कोरल्यो । झरीमा रूझ्दै रूझ्दै त्यो डाङ्ग्रेको बच्चो एक महिनामा हुक्र्यो, अनि लगत्तै कलिला पङ्ख फिँजाएर उत्तरतिर उडान भ¥यो– मिजारेखोलाको तीरैतीर । एउटा घर अघिल्तिर पुगेर पखेटा फड्फडाउँदै जुठेल्नुमाथि थपक्क बस्यो । पहेँलो थुतुनो फिरिरिरी हल्लायो । कट्कट् च्यूँच्यूँ गर्दै कराउन थाल्यो । भुरूरू उडेर आँगनको डिलमा बस्यो । फेरि फुरूक्क उडेर झ्यालको देब्रे फग्ल्याँटोमा बस्यो, अनि निहुरी निहुरी कोठाभित्र चियायो । भित्र दुई आमा–छोरा गुँडुल्किएका थिए । केही छिन एकोहोरो हे¥यो । टाउको एकातिर ढल्काएर मधुरो आवाजमा कुट्कुट् ग¥यो र फेरि भुरूरू उडेर दक्षिणतिर बेपत्ता भयो ।”
सुनको पोकोबाट
“कहिँलेकाहीँ सोच्छु–मान्छेका जिन्दगीमा दुईखाले जात्रा हुने रहेछ । एउटा त्यो जात्रा जसमा सबै रमाउँछन्, खुसियाली मनाउँछन् । बाजा बज्छ, नाचगान हुन्छ । सबैतिर हर्ष नै हर्ष । र, अर्कोतिर यो जात्रा जसमा जिन्दगी नरक बन्छ, दुःख र दुर्दशाका अनगिन्ती पहाडहरू बाटोभरि लमतन्न परेर पसारिन्छन् । एउटा दुःस्वप्नझैँ यो जिन्दगीको जात्रा अन्त्यहीन लाग्छ । तर एक दिन यसको अन्त्य हुने विश्वास बोकेर मानिसहरू हिँडिरहन्छन्, पहाडहरू छिचोलिरहन्छन् । हिम्मतिलाहरू छिचोली भ्याउँछन् । कमजोरहरू बीचैमा हतास बनी प्रयास गर्न छोड्छन् । ती कोही गलत बाटो रोज्न पुग्छन् । कोही संसारै छोड्न पुग्छन् ।”
‘यो जात्रा, अनि त्यो जात्रा’बाट



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

