जीवन अकस्मात भेट्टिने र छुट्टिने एउटा संयोग नै हो। कुनै पनि कुरा संयोग मात्र हुँदैन। विशेषतः कथाहरू रचिन्छन्, बुनिन्छन् जसमा एउटा संयोग नै हुन्छ। कथाकार समाजको यथार्थदेखि पर भागेर बस्न सक्दैनन्। समाजभित्रको यथार्थतालाई एउटा संयोगकै रुपमा पस्किन्छन् कथातिर । वास्तवमा कथाहरू कहिल्यै पुराना हुँदैनन्। निश्चित रुपमा कथाहरू नयाँ आयाम, नयाँ विचार लिएर जन्मिन्छन्, तर ती कथाहरूले एउटा छाप छोडिराखेका हुन्छन्।
स्वतन्त्र विचारले कथा जन्मिएपछि समाजभित्रको संकिर्ण विचारलाई पनि कथामा राखिन्छ। विभिन्न भाषामा कथा लेखिन्छन्, ती भाषाले आफ्नो जातिको विविध पक्ष पस्किएको हुन्छ। समाजलाई आँखा देखाउने, सही बाटोमा हिँडाउने कार्य गर्छन् साहित्यकारहरू। थुप्रैले लेख्दा-लेख्दै बाटो बीचमै छोड़िदिन्छन्, कोही लेखेरै जिन्दगी बिताउँछन् । भारतेली नेपाली साहित्यमा अथक, परिश्रमी साहित्यकारहरू अझै पनि छन्। आफ्नो उमेरलाई पनि चुनौती दिँदै नयाँ-नयाँ रचनाहरू सिर्जनामा लागिरहने हाम्रा अभिभाभवक साहित्यकारहरूको योगदानको सराहना गर्नुपर्छ। यस्तै एकजना साहित्यकार हुन् प्रेम थुलुङ। नाम्ची (सिक्किम) निवासी प्रेम थुलुङ असी वर्ष पार गरेर पनि निरन्तर साहित्य सेवामा लागिरहेका छन्। उनले नेपाली साहित्यको विविध विधामा कलम चलाइरहेका थुलुङले कविता, गीत, संस्मरण, उपन्यास, यात्रा-संस्मरण इत्यादि पुस्तकहरू प्रकाशमा ल्याइसकेका छन्। उनका प्रकाशित पुस्तकहरू- हाम्रो राष्ट्रियता (कवितासङ्ग्रह), प्रेम थुलुङका कविताहरू (कवितासङ्ग्रह), पृष्टभूमिः प्रेम थुलुङका कविताहरू (कविता यात्रा-संस्मरण), प्रेम थुलुङका गीतहरू(गीतसङ्ग्रह), राब्देञ्चीका पहाड़हरूमा (कथासङ्ग्रह), संयोग मात्र होइन (कथासङ्ग्रह), त्याग-पत्र (उपन्यास), प्रतिबद्धताको परिधिभित्र (संस्मरण) इत्यादि हुन्। यस्ता बहुमूल्य पुस्तकहरूले भारतेली नेपाली साहित्यलाई धनी बनाउने कार्य गरेका छन्। कतिपय पुस्तकहरूको प्रथम र दोस्रो संस्करण पनि छापिसकेको छ। समयमै साहित्यकार प्रेम थुलुङको मूल्याङ्कन हुन अत्यन्त आवश्यक छ। राष्ट्रियतावादी विचारधारा, जातियतावादी विचारधाराले ओतप्रोत साहित्यकार थुलुङको विविधतामा रचिएका विभिन्न रचनाहरू मध्ये संयोग मात्र होइन कथासङ्ग्रहको विषयमा कृतिपरक चर्चा गर्ने प्रयास छ।
कथा सम्बन्धमा प्रेम थुलुङ पुस्तकको प्राक्कथनमा भन्छन् – “कथा लेखन सम्प्रेषणात्मक शिल्पकारिता हुनाले यसमा युगानुकूल प्रयोगहरू हुँदै आएका छन् तर त्यसो हो भन्दैमा अघि-अघि लेखिएका पुराना हाम्रा कथाहरू अब महत्त्वपूर्ण रहेनन् भनिहाल्न सम्भवतः गाह्रो हुनेछ। कथा स्वयं स्वतन्त्र हुने हुनाले आधारभूत सिद्धान्त र त्यस सम्बन्धित तत्त्वहरू अन्तर्गत यसलाई परिसीमित गर्न असम्भव प्रायः हुन्छ। त्यसो त यसै पनि समीक्षकहरूका निम्ति खोट लाउन सक्ने बुँदाहरू त्यहाँ प्रशस्त हुन्छन् – कुनै पात्र आफ्नै प्रकृति र स्वाभाविकता विरुद्ध कथाकारको आफ्नै भूत चढ़ेको तिनीहरू देख्छन् भने कुनै पात्र गतिशील बन्दा-बन्दै हठात् कुपोषित भएको पनि खुट्टयाउँछन् तथापि कथाकारको अभिव्यक्ति सिर्जनाशीलता अघिल्तिर यस्ता निर्देशन तथा अन्य समस्याहरूले कथा लेखनमा अवरोध तेर्स्याउला भन्न नसकिएला किनभने सचेतनता र कार्यकुशलता विषयमा स्वाभाविकता र औचित्य नै महत्त्वपूर्ण कुरा हुन्।”
‘संयोग मात्र होइन’ कथा सङ्ग्रहभित्र मोठ बाह्रवटा कथाहरू सजिएका छन्। प्रथममा राखिएको कथा मैते- मा आफ्नो देश छोड़ेर परदेशमा धन कमाउनु आउन परेको मैतेको व्यथा-कथा छ। परदेशीको जीवनमा दुःख किन ? भन्ने प्रश्न छ उसको। लेखकको घरमा ऊ बसेर काम गरेकोले पढ्न पनि केही सिक्छ। महाकवि देवकोटाको प्रचलित खण्डकाव्य मुनामदन उसले पढेर त्यसबाट असन्तुष्टि व्यक्त गर्दछ। ऊ भन्छ- “ देशमा काम,दाम, मामको व्यवस्था नभएपछि हिँड्नै त पऱ्यो। ” उसको ढुङ्गा मन पनि पग्लिएको कुरा छ कथामा। आफ्नो घर फर्केर आमा भेट्न जाने कुरा गर्छ मैते। कथावस्तु साधारण भए पनि कथाकारले यो एउटा यस्तो समस्याको उजागार पारेका छन् जो आज पनि आफ्नो मातृभूमि नेपाल देश छोड़ेर दार्जीलिङ, कालेबुङ, सिक्किमतिर भरिया, लेबर, मिस्त्री काम गरेर जीविका चलाउन बाध्य छन् । आफ्नो गाउँ-ठाउँ परिवारको माया त लाग्छ नै सामाजिक यथार्थवादी कथा हो मैते। मैतेको मन छामेका छन् कथाकारले। आमालाई एक्लै पारेर मैतेकी स्वास्नी अर्कोसँग पोइला गएकोले स्वास्नीलाई विश्वासघात गर्ने मान्दै सबै स्त्रीहरूलाई उसले त्यस्तै दृष्टिले हेर्छ । मनोवैज्ञानिक कथाको रुपमा पनि राख्न सकिन्छ यसलाई । रोजगारको निम्ति विदेशिनु परेको युवा समाजको मर्म छ कथा छ ।
कथा नीतिको आँगनको कथावस्तुअनुसार विद्यालयका शिक्षक प्रणय र शिक्षिका पूर्णिमा विरुद्ध पञ्चायत बसेको छ जहाँ गाउँलेद्वारा उनीहरूको नराम्रो चालचलनले विद्यालयको वातावरण दूषित पारेको आरोप छ। शिक्षक प्रणयले आफ्नो स्पष्टिकरण दिन्छन्। गुरुबा-गुरुआमा बिग्रिँदा नानीहरू पनि बिग्रिन्छन् भनेर विचार पोख्छन् गाउँलेहरूले। उनीहरूलाई हटाइयोस् भन्नेहरूको जमात छ। शिक्षक विजयले यस विषयमा शिक्षकहरूकै पक्षमा स्पष्टिकरण दिन्छन्। त्यत्रो आरोप-प्रत्यारोप, वाद-विवादले पनि झिनो प्रभाव नपरेको पूर्णिमा गुरुआमालाई पञ्चायत सभापति केही भन्न लगाउँछन्। पूर्णिमाले गाउँले एकता, सद्भावना, शान्ति, सुरक्षा, परम्परा, इतिहास, संस्कृतिको कुरा गर्छिन्। चिट्ठीको कुरा उठाइन् अनि प्रणय हिरो र म हिरोइनभन्दा सबै छक्क परे, तर त्यो पाठशालाको आगामी स्थापना दिवसको नाटकको दृश्य मात्र हो भन्छिन् पूर्णिमा। नाटकको पुस्तक पूर्णिमाले सभापतिलाई दिन्छिन्। सबै हाँस्छन् । थाहै नदिई सबै गाउँलेले नाटकमा भाग लिए । यसरी यो कथामा अशिक्षित गाउँलेहरूमाथि कसिलो व्यङ्ग्य छ। शिक्षित व्यक्तिकोमा बुझ्ने क्षमता अशिक्षित व्यक्तिकोमा धेरै हुन्छ भन्ने कुरा छ भने गाउँले समाजमा हुने सत्यता उजागार गरिएको छ कथामा। विद्यालय समाजभित्रकै एउटा मूल खाँबो हो, यस कथाले सामाजिक ग्रामिण विषयलाई अँगालेको छ। गाउँलेको मन छामिएको यो मनोवैज्ञानिक कथामा शिक्षक-शिक्षिका चरित्रवान हुन्छन् अनि हुनुपर्छ भन्ने शिक्षा पाइन्छ ।
कथा लेख्न सकिनँ भन्दै कथाकार विवश अनिताको कथा सुनाउँछन्। गाउँले पाठशालामा पढ़ाउने अनिता गाउँलेहरूको संकिर्ण विचार बीच बस्न नसकेर सरुवाको निम्ति लेखकलाई सहायता माग्छिन्। अनितासँग बिहे गर्ने कसम खाएको विमल श्रीलङ्कामा शहीद भएको कुरा अनिताले विश्वास नगरेकी हुनुपर्छ भन्ने विचार व्यक्त गर्छन् कथाकार। सामाजिक, आञ्चलिकतामा कथा रमेको छ।
कथा औड़ाहा गाउँले वातावरणमा हुर्किएको छ। सामाजिक यथार्थवादी कथा लेखनमा खप्पिस प्रेम थुलुङले हर्के र रत्नेको कथा लेखेका छन्। कथाको सुरुवातमै लेखिएको छ – “ हर्के र रत्नेको घर कराँसो जोडिएको थियो ।” रत्नेलाई हर्केले कुटेपछि दुइ परिवारको सम्बन्ध बिग्रियो । कुनै दोष बिना कुट्नेलाई छोड्दिन भनेर रत्ने हर्केप्रति जाइलाग्दा हर्केकी स्वास्नी सानीले दाउरा टिपेर हिर्काइ, रत्ने त्यहीँ घुप्लुक्कै लड़्यो। मान्छे माऱ्यो भनेर गाउँ-घरमा हल्ला भयो आफ्नो लोग्नेलाई हिर्काएकोमा रत्नेकी स्वास्नीले हर्केको परिवारलाई कोट-कचहरी घिस्याउने धम्की दिइन् । पञ्चायतले पनि झगडा मिलाउन सकेन । दुवै चिन्तामा छन् । आँखा लाउने हर्के अहिले पश्चतापमा छ । कथाकार भन्छन्- “ वास्तवमा सानी पहाडको छातीबाट निस्केको निर्मल जलजस्तै स्वच्छ र पवित्र थिई । हर्के भने आफ्नै आँसुले नुहाएर पापमुक्त हुन खोजिरहेको थियो ? ” अन्तमा हर्केले रत्नेसँग माफ मागेपछि सबैकुरा मिल्यो । मनोभाव, मनको चित्रण छ कथामा । सामाजिक यथार्थवादी यस कथामा मनोवैज्ञानिक छाप परेको छ भने यस कथाले समाजका प्राणीहरूलाई पनि सचेत गराएको छ ।
कथा कानको सुन-मा आफैले पालेको कृष्णेले कानको सुन लामो हात पारेर आफ्नो बाकसमा राखेको अनि सोद्धा पनि ठिकसँग नभनेको घटना प्रस्तुत छ । यही कुराले कृष्णे घर छोड़ेर हिँड्यो, पछि थाहा भयो उसले केटी फकाउन त्यो सुन देखाउन चोरेको रहेछ। फौजमा भर्ना भएर गइसकेछ । कथाले सामाजिक विषयवस्तु अँगालेको छ । कृष्णे फर्केर नआउनुले कथालाई अर्कै पाराले सोच्न बाध्य बनाउँछ । घर-परिवारको वास्तविक मनस्थितिको असल चित्रण पाइन्छ कथामा ।
शीर्षक कथा ‘संयोग मात्र होइन’ले ती तल्लो वर्गको परिवारको मनस्थितिको चित्रण गरेको छ, जसले धेरै पैसा खर्च गरेर उपचार गर्न सक्दैनन् अनि नकरात्मक सोच पालेर आफूलाई सास्ती दिन्छन् । जमिन बेचेर भए पनि धनमाया आफ्नो रोगी लोग्ने वीरेको उपचार गर्न चाहन्छिन्, तर जमिनको मायाले वीरे जमिन बेचेर उपचार गर्ने पक्षमा छैन । फलस्वरुप आफ्नो दुःख- परिवारको चिन्ता हटाउन वीरेले आत्महत्या गर्छ । धनमायाले दुःख गरेर छोरा-छोरी पढाइन् । आफ्नो ठाउँ छोड़ेर टाड़ो गएर दुःख गरिन् । दुःखपछि सुख आउँछ, यो मात्र संयोग होइन भन्ने स्पष्ट कुरा छ कथामा । धनमायाको अघिल्लो जीवन र पछिल्लो जीवनमा आकाश पातालको फरक छ । गाउँ छोड़ेर गएकी धनमाया गाउँ फर्किएपछि छोरी शिक्षिका र छोरा क्याप्टन हुन्छन् अनि सुख आउँछ जीवनमा। देशको परिवर्तनको क्रान्तिमा धनमाया सक्रिय भएर भाग लिइन्, पुरानो तन्त्रले घुँडा टेक्यो । धनमायालाई सक्षम आत्माभिमानी नारीको रुपमा चिनियो । गाउँमा परिवर्तनको लहर आयो । उन्नति भयो।
सहरसित घृणा गर्ने विशाल मानसिक रोगी छ । चेतन, अर्धचेतन मनको विश्लेषण पाइन्छ। आगतमा हुने संकेत छ कथामा। कुकुरले खेदाएको सपना देख्छ विशाल। साहित्यमा रुची राख्ने विशाललाई बाटोमा कुकुरले घाइते बनाएको अनि सरस्वतीको मायामा आफू डुबेको घटना कथाकारले रहस्यपूर्ण ढङ्गमा प्रस्तुत गरेका छन्। सहरलाई मन नपराउने विशाल सरकारी नोकरी गर्छ। उसलाई लाग्छ – आज असाध्य रमाइलो घाम लागिरहेछ सहरतिर।
कथा यी फूलहरू- एउटा सामाजिक यथार्थवादी कथा हो, जसमा अजय र सरिताको पारिवारिक कथा छ । स्त्रीलाई फूलको रुपमा हेरिएको छ कथामा । साधारण घटनाले मनमुटाउ भएको सरिताले घर छोडेर माइत गएको अनि बुढ़ी आमा र अजय एक्लो भएको दृश्यभित्र रमेको छ कथा । भूल सरिताको मान्न सकिन्न । अन्त्यमा आमा बिरामी भएपछि अनि आमाको ढिप्पी अघि हार खाएर छोरा अजय सरितालाई लिन जान्छ अनि लिएर आएपछि संयोग र सुखान्तमा कथा सकिएको छ।
कथापछिको अर्को कथा तपाईं- हाम्रो जीवन कथामा रमेको छ। मान्छेको जीवन विसंगति- विश्रृङ्खलित हुँदाहुँदै पनि कता-कता परिस्थितिले मिलाएकै देखिन्छ । मान्छेको वास्तविक जीवन छामेको छ कथाले।
त्यो चाहनाः यो विवशता कथाले एउटा शिक्षकको अवस्था-परिस्थिति उदाङ्गो पारिदिएको छ । शिक्षकको कम्ति वेतन र अपुग-अभावहरूको कथा छ । बिनासिताको जिन्दगी प्रायः असम्भव, गाँस-वास जुटाउनमै सीमित छ भन्ने कुरा गर्छे शेखरकी पत्नी। शिक्षक शेखर निराश छ । नैराश्यमय जीवनलाई आत्मसात् गरिसकेको शिक्षक जीवनको वास्तविक परिभाषा दिँदै सहयोग, सहुलियतहरूबाट पनि वञ्चित हुनुपरेको शैक्षिक-राजनैतिक कुराहरू आफ्नी श्रीमतीसित साट्छन् । रोगी शेखरको मनोविश्लेषण, मनोद्वन्द्व देख्न पाइन्छ कथामा।
सामाजिक कथा दुलही भित्र्याउँदा-ले हाम्रो समाजमा प्रायः हुने घटनालाई प्रतिनिधित्व गरेको छ। कथा अनुसार दीपकले चन्द्रा(धोजमान सरदारकी छोरी)-लाई भगाएर घरमा ल्याउँछ। आमा पूर्णप्रभादेवी छक्क पर्छिन्। चन्द्राको दाजुहरू बहिनी लिन घरमै आउँछन्, वाद-विवाद हुन्छ। दीपकको बाबाको पहिचान माग्छन्। आमालाई धोका दिने बाबाको सम्पूर्ण कुरा बताएपछि आमा मूर्छा पर्छिन्। चन्द्राको दाजुहरू विवश छन्। आफ्नो खुशीले आएको बहिनीलाई जबर्जस्ती लान्छन् भन्ने कथाले भान गराए पनि अन्तमा आमा होशमा आउँछिन् भन्ने पर्खाइमा कथान्त हुन्छ। कथा आशा प्रतीक्षा-मा कथाकारले निम्न मध्यम वर्गीय परिवारको यथार्थ पस्किएका छन्। सामाजिक यथार्थवादी कथाकै रुपमा उभ्याउन मिल्ने आशा प्रतीक्षा एउटा अफिसमा काम गर्ने चन्द्रमानको जीवन वर्णन छ। चन्द्रमानले जति कमाउँछ त्यसले घर धान्न हम्मे-हम्मे परेको छ। घर धान्न हम्मे हम्मे परेपनि उसलाई दिनहुँ रक्सी खाएर मात्नु पुगिरहेकै छ। हाम्रो समाजको दुर्दशासँगै सत्य घटना प्रस्तुत गरिएको छ कथामा। छोरा-छोरी कलेज पढ्दैछन्, तर चन्द्रमान राती मातेरै घर पुग्छ र स्वास्नीलाई दिक्क लाउँछ। नैराश्यभावले ग्रसित चन्द्रमानले कति दिन रक्सि खान छोड़े जस्तो गरेपनि अन्ततः फेरि मातेरै घर आउन थाल्छ। अफिसमा बाबू काम गर्नेहरू यस्तै हुन्छन् भनेर छोरी सानु घृणा गर्छिन् , फलस्वरुप राम्रै परिवारको केटालाई पनि बाबु काम गर्ने भनेर बिहे नगर्ने विचार राख्छिन्। छोरा कृष्णलाई पनि भट्टि पसलमा देख्दा चन्द्रमान अब जीवनको अन्त गर्नलाई आत्महत्या गर्ने विचार गर्छ । भाग्यवश सुवेदारनीले सम्झाउँदा मात्र चन्द्रमानको मनमा सकरात्मक विचार उब्जिन्छ। सुवेदारनी र चन्द्रमान कलेज पढ़दा सँगै बाँच्ने कसम खाए पनि सुवेदारनीको विहे सुवेदारसित भयो। सुवेदार शहीद भएपछि सुवेदारनी विधवी भई तरै पनि हरेस नखाई जीवनलाई सकरात्मक रुपमा लिएँ भन्छिन्, सुवेदारनी ।
यसरी संयोग मात्र होइन कथासङ्ग्रहमा परेका बाह्रवटा कथाहरू एकार्कादेखि भिन्न भए पनि एकार्काका सामिप्य छन्। सम्पूर्ण कथाहरू सामाजिक यथार्थका धरातलमा उभिएर रचिएका छन्। कथातिर मनोविश्लेषण पाइए तापनि कथाहरू मनोविश्लेषणमै रमेका छन् भन्न सकिँदैन । कथाहरू हाम्रै समाजकै वरिपरि घुमेका छन् । सामाजिक जव्वनभित्रका संगति- विसंगति पाइन्छन् कथातिर। आर्थिक विपन्नतामा पिसिएका परिवारको कथा पनि भेटिन्छ सङ्ग्रहमा। जीवनको वास्तविकता छाम्दै कथाहरू दुःख-सुखको धरातलमा उभिएको छ । यथार्थपरक कथाहरू मान्न सकिन्छ संयोग मात्र होइन कथासङ्ग्रहका अधिकांश कथाहरूलाई।
कथाकार प्रेम थुलुङ समाजभित्रकै एकजना विशिष्ट व्यक्तित्व हुन् । उनले जे देख्छन् त्यही लेख्छन् । अनुभवी साहित्यकार प्रेम थुलुङले कथातिर संघर्षमय जीवनलाई स्पर्श गरेका छन्। कथाका पात्र-पात्रसँग न्याय गरेका छन्। पात्र-पात्रालाई जताभावी, आकाङ्क्षाविहिन घिस्याएका छैनन् । कथा सङ्ग्रहभित्रका अधिकांश कथाका कथावस्तु संतोषजनक पाइन्छ।
कथा सङ्ग्रह मीठो भाषा-शैलीले सजिएको छ। सरल र सहज भाषा शैलीले आफ्नो कथाहरू सजाउन रुचाउने कथाकार प्रेम थुलुङ कथातिर प्रसङ्गवश उखान-तुक्काको प्रयोग गर्न खप्पिस छन् । उदाहरणार्थः-
म ताक्छु मूढ़ो वञ्चरो ताक्छ घुँड़ो।
किन चाउरिस मरीच, आफ्नै रागले।
दाम्ला मक्किन्छ तर मामला मक्किँदैन।
अध्ययनबिना लेखिएको साहित्य फ्यातुलो हुन्छ। दुइटा किताब पढेर चारवटा किताब निकाल्न सकिँदैन । फ्यातुलो र निम्नस्तरको साहित्यले आफ्नो भाषा-साहित्यको इज्जत राख्न सक्दैन। थुप्रै पढ़ेर कम्ति लेख्नसक्नु पर्छ। दूध पनि थुप्रै तताएपछि त्यसबाट निस्किएको अलिअलि तर (क्रिम) जम्मा गरेर घिऊ बनिन्छ। वरिष्ठ र अनुभवी साहित्यकार प्रेम थुलुङ पनि अध्ययनमा विश्वास राख्छन्।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।