कवि बसन्त चौधरी ‘मेघा’ कवितासङ्ग्रहका माध्यमबाट कविताका क्षेत्रमा विशेष पहिचान बनाएका स्रष्टा हुन् । उनको नयाँ कवितासङ्ग्रह ‘तिमीविनाको म’ (२०७८) काव्यात्मक संयोग र वियोगजन्य स्थितिका भावधारामा रचिएका छन् । कुनै कुनै कविताहरूमा संयोग र वियोगजन्य दुवै भावधाराको सम्मीश्रण गरिएको यस कृतिमा अरू पनि विविध विषयका पृष्ठभूमि रहेका छन् ।

८५ कवितात्मक फूलहरूको माला यस सङ्ग्रहका अधिकांश कविता मिलन र वियोगबाट प्रेरित छन् । यस सङ्ग्रहको कामना कवितामा तिमी नै तिमीले भरिएको मनमा तिमीसँगै रमाएर आल्हादित र रोमाञ्चित बनेको संयोगजन्य भाव रहेको छ । आशा कवितामा मेरा हारहरूमा उठ्न प्रेरित गर्ने, आँसुमा मुस्कुराउन सिकाउने आशालाई संयोगावस्थाकी प्रतीक मानिएको छ । आऊ मेघा कवितामा वाफिएको मन, शिशिरको उराठ र अँध्यारोलाई पानी, वसन्त र उज्यालो बनी आउन आह्वान गरिएको छ । अद्वितीय प्रेम कवितामा मेरी मायालुलाई प्रेमको आनन्द प्रदान गर्ने भनिएको छ । अन्योल समयको भीडबाट कवितामा पृथ्वीलाई बिरामी पार्ने, जीवनलाई रोगी बनाउने वर्तमानलाई स्वस्थ प्रकृति र सुन्दर जीवनको चाहना राख्नुपर्ने सन्देश दिइराको छ ।
हृदयको कामना कवितामा जीवन कवितामा जीवन सङ्गीतमय, गीतमय, छन्दमय, कवितामय बनोस् भन्ने कामना गरिएको छ । ममताको मोती कवितामा आमाप्रति सम्बोधन गरेर आमा र म को एकाकर भाव व्यक्त गरिएको छ । नव वर्षको शुभकामना कवितामा नयाँ वर्ष उत्सवमय, प्रेममय, सङगीतमय र वसन्तमय बनोस् भन्ने चाहना छ । प्रेम र नियति कवितामा सदाबहार वसन्त र आफूभित्रको खुसीको चर्चा गरिएको छ । अनादिक्रम कवितामा दुःखपछि प्राप्त हुने सुख र प्रकृतिको परिवर्तनरूपी चक्रलाई प्रस्तुत गरिएको छ ।

समयको दूरीमा कवितामा समयले ल्याएको फाटोलाई हृदयले सिउने, बाध्यता र विवशतालाई प्रेमले मेटाउने संयोगजन्य चाहनाको भाव व्यक्त गरिएको छ । तिम्रो साथले कवितामा तिमीसँगको साथ, संवाद र प्रेमलापले अलौकिक आनन्द प्राप्त हुने भाव व्यक्त भएको छ । आत्मविश्वास कवितामा आत्मविश्वासले जस्तोसुकै परिस्थितिमा पनि मनलाई जवान बनाइदिने विश्वास व्यक्त भएको छ । नदी किनारमा कवितामा एक्लै भए पनि प्रकृति साथ भएको भाव व्यक्त छ । आमा कवितामा आमाको महिमागान गर्दै आमाबाट धेरै थोक प्राप्त भएको विचार व्यक्त गरिएको छ ।

ज्ञाननिष्ठ ज्ञवाली

आऊ हामी आज कवितामा हामी एकआपसमा माया, सद्भाव साटेर एक बनौं भन्ने भाव व्यक्त गरिएको छ । यौटै हो हिमाल कवितामा जातपातभन्दा मनथि उठेर मानवीय भाव व्यक्त गर्दै अनेकतामा एकताको मूलमन्त्र जप्न आहृान गरिएको छ । प्रिय कवितामा प्रियलाई सम्बोधन गरी वसन्त ऋतुको आमन्त्रणका साथ मग्न बन्ने चाहना व्यक्त भएको छ । तिम्रो सम्झनामा कवितामा संस्मरणात्मक शैलीमा अतीतको मायालु समयको सम्झना गरिएको छ । जीवन कवितामा नयाँपनको आगमनसँगै जीवनको अपार आनन्दको वर्णन गरिएको छ ।

कविताको पूजा कवितामा कवितालाई बहारको सौन्दर्य, प्रकृतिको आश्चर्य, आराधना, मन्दिर, धर्म, फूल, सृष्टि, गङ्गाजलका रूपमा मानी आराधना गरिएको छ । तिमीविनाको मेरो असितत्व, जीवन कस्तो छ, कस्तो कस्तो लाग्छ, ओठले सुमसुम्याएका परेलाहरू,सपना बाँच्न खोज्छ लगायतका कवितामा संयोगजन्य भाव व्यक्त भएको छ । शान्ति कवितामा आफूभित्र रहेको आफू अर्थात ब्रहमवस्तुको प्राप्तिलाई आत्मसात गरिएको छ ।
यसरी यी माथि चर्चा गरिएका लगायतका कविताहरूमा संयोगावस्थाको स्थिति छ ।

आफैँविरूद्ध कवितामा तिम्रो सम्झनाको भेलले सताएको, वियोगको ढुङ्गामा ठोकिएर रक्ताम्य भएको, संसार तहसनहस भएका कारण अकफैविरूद्ध युद्ध गर्नुपरेको वियोगजन्य स्थितिको चर्चा गरिएको छ । आजको वर्तमान कवितामा प्रकृतिसँग खेलबाड गरेको, मानवीय सभ्यतामा सङ्कट प्रदा भएको चर्चा छ । अलमलिएको बिहान कवितामा खजमजिएको जीवन, चोइटिएको मन र निर्दयी समयको वर्णन गरिएको छ । नशा साइबरको कवितामा मान्छेको यान्त्रिक दुखदनयी जीवनको चर्चा गरिएको छ । छुट्नु भन्दा पहिले कवितामा सुखद मिलनपछि एक्लै एक्लै भएर बाँच्नुपर्ने वास्तविकता दर्शाइएको छ ।आहना कवितामा प्रत्यक्षमा नभए पनि कल्पनाका माध्यमबाट सुखानुभूतिको प्रयास मात्र गरिएकोछ । सङ्क्रमित युगको एकपल हुँ कवितामा अशान्ति, विकृति बाध्यता र द्वन्द्वग्रस्त समयको चित्रण गरिएको छ । सपनाको खोजीमा, अवशेषको तृष्णा, कसरी सोधौँ तिम्रो खबर,लाटो समय, एकान्तको चाह हाम्रो माया लगायतका कवितामा वियोगजन्य भावहरू रहेका छन् ।

यसरी हेर्दा कवितासङ्ग्रह गहन छ । भावगत आधारमा पनि कविताहरू सशक्त छन् । विविध स्वादयुक्त कविता भए पनि अधिकांश कविताहरू संयोग र वियोगजन्य स्थितिका रहेको तथ्य निकाल्न सकिन्छ । यी कविताहरू मूलतः प्रेम, प्रणय, प्रकृति, म तिमीभित्र समाहित भएका छन् । यौटा सिङ्गो जगत् छ । तिमीबिनाको मजस्तै एकल भावमा असंख्य कविता एक्लिएका छन्, हाँसेका छन् विश्वासमा छन्, भरोसामा छन् । पढुँ पढुँ लागिरहने यी कवितामा जीवनका अनेक रङ र आयामलाई काव्यात्मक शैलीमा समेटिएको छ । बिम्ब र प्रतीकले कविताहरू कविको प्रखर चेतना नविनता र कलात्मक बनाएका छन् । स्वच्छन्द र भावनापूर्ण अभिव्यक्ति पस्काइले कवि कवित्वमा सफल छन् । यस संग्रहका कविताहरूले कवि चौधरीलाई जीवन्त बनाएर राख्ने छन् । सारगर्भिक, मार्मिक, प्रेमिल, भावपूर्ण चौधरीका कवितालाई कविताका तत्त्वगत आधारमा व्यापक अध्ययन–अनुसन्धान गरी निष्कर्ष निकाल्ने पर्याप्त स्थान सुरक्षित छ ।

विभागीय प्रमुख
संस्कृत, पत्रकारिता र हिन्दी विभाग
त्रि.वि, पद्मकन्या बहुमुखी क्याम्पस