
इन्द्रिय सम्पन्न हुनेहरू बोलेर आफ्नो मनको भाव प्रकट गर्छन् भने इन्द्रिय विपन्नहरू इशाराको भाषा, हेराइको भाषा, लिखित भाषाद्वारा आफ्नो भाव व्यक्त गर्छन्। इन्द्रिय सम्पन्नहरूले गर्न नसकेको काम इन्द्रिय विपन्नहरूले गरेको उदाहरण छ। हामी इन्द्रिय वञ्चित हेलेन केलरको नाम लिन सक्छौँ । हेलेन केलर अन्धी, बहिरी र लाटी थिइन् । तरै पनि हेलेन केलरको शिक्षिका एनी सालीभानले ब्रेल लिपीमा स्पर्शेन्द्रियद्वारा ज्ञान बाड़िन्, फलस्वरुप हेलेन केलरले ब्रेल लिपीमै मेरो जीवन कहानी लेखेर विश्व प्रसिद्ध भइन् । उनी इन्द्रिय वञ्चितहरूको निम्ति प्रेरणाको स्रोत भइन्। त्यस्तै नेपाल देशकी झमक घिमिरे दिव्याङ्ग, उनी शारीरिक असक्षम भएर पनि खुट्टाले आफ्नो पीड़ादायी जीवन कथा जीवन काँड़ा कि फूल लेखेर प्रसिद्धी कमाइन्। झमक घिमिरे ती शारीरिक सक्षमतामा घमण्ड गर्नेहरूको निम्ति एउटा चुनौती पनि हुन् जसले मानव जीवन पाएर पनि केही गर्न सक्दैनन्।
हेलेन केलर, झमक घिमिरे सत्य हुन् भने सुनयना पात्रा हाम्रो समाजभित्रका प्रतिनिधि हुन्। अशोक रोकाको सुनयना मूक, वधिर छिन्। भनौ मनको भाव बोलेर भाषाद्वारा प्रकट गर्न सक्दिनन्। कानले सुन्न पनि सक्दिनन् तर उसको इशाराको भाषा छ। आँखाको भाषा छ। शारीरिक भाषा छ। भाषा बोलीमा मात्र कहाँ हुन्छ र!
सौन्दर्यशक्ति अनुपम छ सुनयनामा । समाजभित्रकै सुनयनालाई कथाकारले एउटा माथिल्लो स्थानमा राखेका छन् । एउटा सम्मान र इज्जत पाएकी छ सुनयनाले। लाटा-लाटीलाई हीन र घिन भावनाले हेर्नुहुँदैन भन्ने स्पष्ट चित्रण छ कथामा । सौन्दर्यकी प्रतीक सुनयना। इन्द्रिय वञ्चितहरूलाई पर-पर गर्नु हुँदैन। माया गर्नुपर्छ, माया दिनुपर्छ। सुन्न नसक्ने , बोल्न नसक्ने सुनयनाको कथामा सुन्दर, स्वच्छ, चोखो प्रेम पाइन्छ। सद्दे, ज्ञानी, राम्रे भनाउँदाहरूले लाटा-लाटीहरूलाई पर-पर गर्छन्। माया देखाउँछन् मात्र। देखावटी मै टर्छ। ती मूक जीवन प्रकृतिको देन हो। प्रकृति आफैं सुन्दर हुन्छ। प्रकृतिलाई रोगन गरिरहनु पर्दैन। लिपपोत गरेर प्रकृतिलाई दूषित तुल्याउनेहरू हुन्छन् नै। दूषित तुल्याउनेहरूको जीवन आफै दूषित हुन्छ।
मान्छेको आ-आफ्नै सोंच हुन्छ। सबैले राम्रै-राम्रो सोच्छन् भन्ने होइन। यस्तो हुनु असम्भव नै हो। किनभने मान्छे, मान्छे नै हो देवता होइन्। नराम्रो सोच्नेकै भीडमा हराउन रुचाउने मान्छेमा संगतिभन्दा धेर विसंगति पाइन्छ। आजको युगको मान्छे रिस-आरिस, लोभ-लालच, हतार, होडबाजी जिन्दगी हो भन्ठान्छन्। यस्तोमा सर्वगुणले सम्पन्न म नै हुन इरहुँ भन्नेहरूको कमी छैन यस युगमा। यस संसारमा मान्छे भएर जन्मेपछि कोही पनि शत-प्रतिशत गुणै-गुणको धनी हुँदैन। उसमा केही अवगुण-अपुग र अभावहरू पनि हुन्छ। मान्छेले मान्छेलाई माया गर्न सक्नुपर्छ। सहानुभूति राख्न सक्नुपर्छ। आफूभन्दा अरुलाई श्रेष्ठ देख्नु त साह्रै कुरा हो तर पनि मान्छेलाई मान्छे मानेर एकार्काको सहयोग गरियो भने त्यो वास्तवमा मान्छे हुन्छ। मान्छे भएर पशुजस्तो जीवन बिताउनु हुँदैन। मान्छेमा केही न केही त कमी हुन्छ नै !
कथाकार अशोक रोकाको सुनयना कथासङ्ग्रहभित्रका अधिकांश कथाहरू सामाजिक सौन्दर्यमा रमाएका छन्। शीर्षक कथा सुनयना मनकै विज्ञानमा हुर्किएको कथा हो। लाटी र बहिरी सुनयना अत्यन्त सुन्दर छे उसको सुन्दरताले उसको बोल्न नसक्ने र सुन्न नसक्ने क्षमतालाई ओझेलमा पारिदिएको छ। अवचेतन मनले चेतन मनसँगको सामिप्य पाएको यो कथा मनोवैज्ञानिक कथा हो। कथाकार नै मूल पात्र रहेको यस कथामा कथाकार अति संवेदनशील व्यक्तित्व भइदिएका छन्। विभिन्न विद्यालयमा स्थानान्तरण हुँदै प्रधानअध्यापक भएर एउटा गाउँको विद्यालयमा प्रवेशपछि त्यहाँ एउटी लाटीको क्रियाकलापलाई सकारात्मक सोचेर प्रेम गर्नुमा हेड सरजस्तो व्यक्तित्वले समाजमा परिवर्तनको स्वाद चखाउन खोजेका छन्। दिव्याङ्गहरूलाई हेला होइन प्रेम गर्नुपर्छ। विद्यालय नपढ्ने ठूली भइसकेकी लाटी दिनहुँ विद्यालय आएर कोठा-कोठा चिहाउन पुग्छे। लाटी सौन्दर्यकी खानी छे त्यसैले हेडसरले उसलाई सुनयना नाम दिन्छन्। सुन्दरी लाटीको पहिरनमा आधुनिकता छ।
सूक्ष्म अवलोकन गरेर कथा सजाउन सक्ने अशोक रोका सुनयनाको बारेमा भन्छन् – जड हिमाल हाँसेको देख्न सकिन्छ भने – फूल हाँसेको मनन गर्न सकिन्छ भने अरु प्राकृतिक सौन्दर्य मोहित हुँदै रम्न सकिन्छ भने कुनै पनि वस्तुलाई कुनै पनि सुन्दरताको परिभाषाले बाँध्न सकिन्न भने ऊ त चेतनशील प्राणी हो।

देवराज शर्मा (दार्जीलिङ)
इन्द्रियजनित कमी कमजोरीले ग्रस्त सुनयना आधुनिक सभ्यतासँगै उठ् बस गर्न जान्दछे । मात्र एउटा मुस्कानले संसार जितिन्छ, भने जस्तै सुनयनाको मुस्कानले लेखकको दिन रमाइलो हुन्थ्यो। रिस-आरिस गर्ने कुरा काट्नेहरू हुन्छन् नै। सुनयनासँग डाह गर्ने मिसहरू थिए। गाउँको मुखियाकी छोरी भएर विद्यालयमा कुनै रोकटोक बिना ढुक्कै आउँथी, बस्थी अनि घर जान्थी। लेखक र सुनयना बीचको प्रेम सम्बन्ध हल्ला भएपछि सुनयनालाई घरकाहरूले थुनेर राख्न थाले। राखी पूर्णिमाको मौका छोपेर सुनयना राखी र मिठाई बोकेर स्कुल गई अनि हेडसरलाई सबैको सामु राखी बाँधीदिएर सबैको मुखमा बुचो लगाइदिई। कथान्त हुन्छ।
सुनयनाको खोजीमा भाग दुई भनेर कथाले निरन्तरता लिएको छ। उपन्यास पढ्दैछु कि भन्ने भान भए पनि कथातत्व भेटिन्छ। औपन्यासिक तत्वको अभावमा हुर्किए पनि सुनयनामा उपन्यास हुने गुण छ। सूक्ष्मभन्दा सूक्ष्म वर्णन र विवरण गर्नमा सिपालु छन् कथाकार रोका। कति कुरा नभनेर नै व्यक्त गर्न चाहन्छन् सुनयनाले झैं।
कथाको दोस्रो भागअनुसार बाँधिदिएको राखी केही दिनपछि सुनयनाले हेडसरको कोठामै गएर च्यातेर कुल्चेर फ्याँकिदिनु राखीप्रति अपमान देखिएको छ, तर सुनयना र हेडसरको प्रेम प्रस्टिएको छ। बाध्यताले लाइदिएको भए पनि यो एउटा हिन्दु संस्कार, परम्पराको अपमान भएको देखिन्छ। प्रेमालाप सुरु हुन्छ लाटी सुनयना र हेडसरको। अचानक बाबा बिरामी भएर हेडसर घर गएपछि सुनयना पनि बेपत्ता भई। हेडसर स्कूल आए, सुनयनाको दाजु-भाइ र बाबा आएर सुनयनालाई निकाल भन्दै धम्काए । बाबाको अवस्था चिन्ताजनक भएकोले छुट्टीमा घर आए हेडसर। तर निखोज छे सुनयना। अन्तमा सुनयनालाई आफैं खोजेर भेटेपछि घर भित्र्याए हेडसरले। यी बुहारी लिएर आएँ भनेर बाबालाई भन्छन्। कथान्त भए पनि अब उता के हुन्छ भन्ने एउटा जिज्ञासा छोड़िदिन्छन् पाठकवर्गमा । निर्बोध सुनयना सबल नभए पनि मानवीय स्थान दिएर घृणा होइन माया दिनु सक्नुपर्छ भन्ने उत्कृष्ट मानव विचारलाई सकार्नु मन लाग्छ।
मनकै अन्तर द्वन्द्वमै सृजित कथा हो मनको साइनो । प्रिन्सिपल मिस सुजता राणा र नयाँ शिक्षक प्रमोदको पहिलो दिन नै दुवै बिच खुलेर वार्तालाप हुन्छ भने कठोर स्वभावकी प्रधानाचार्य मिस सुजताले विद्यालयको प्रगतिलाई धेरै माथिसम्म पुराएकी छिन्। समय बित्दै जान्छ, प्रमोदप्रति अविवाहित प्रिन्सिपल सुजता राणा आकर्षित हुन्छे। अरु शिक्षक-शिक्षिका आरिसले भुतुक्क। प्रमोदलाई नै प्रिन्सिपलले सबैकुरामा महत्त्व दिन्छे।
सुजताको घरमा प्रमोदलाई धेरैपल्ट खाना खान निम्ताइन्छ। म्याडम होइन सुजता मात्रै। तपाईंको प्रिन्सिपल होइन केवल तपाईंकी सुजता -भन्ने सुजता भाव-विभोरमा द्रवित भएको कुरा प्रमोदले अनुभव गर्छ। शितकालीन विदामा सुजता र प्रमोद आ-आफ्नो घर जान्छन् । विद्यालय खोलिन्छ तर प्रमोद फर्केर विद्यालय आउँदैन। रहस्य छोड़िएको छ कथामा। सुजताको असफल प्रेम, वियोग छ कथामा। मनको अन्तरद्वन्द्व त छँदैछ, यौन मनोविज्ञानले पनि स्पर्श गरेको छ कथामा। सुजताले आफ्नो इच्छाहरू दबाएर राख्नु परेको छ। मनोविश्लेषण यस कथामा अव्यक्त प्रेम छ। मनको साइनो मनमै सिमित रह्यो। प्रमोद हराउनुमा एउटा ठूलो रहस्य छोड़ेको छ कथाले। वियोगमै सकिएको छ कथा।
जिन्दगीका पाटाहरू कथामा कथाकारले पात्र-पात्रालाई आफ्नो मनखुसी नचाएका छन् । समिर-शालिनी, दिनेश-उषा यी पात्र-पात्रा लोग्ने स्वास्नी हुन्, तर दुवै परिवारमा एक-एक जनाको कमी-कमजोरीले गर्दा नानी हुँदैन। परिस्थितिवश कथाका लोग्ने-स्वास्नी विपरीत आकर्षणमा पर्छन् । समिर-उषा अनि दिनेश-शालिनीमाझ शारीरिक सम्बन्ध हुन्छ। शारीरिक सम्बन्धको चरमोत्कर्ष छ कथामा। समिरबाट उषाले नानी जन्माउँछे। शालिनीलाई लाग्छ दिनेश सक्षम छ, तर त्यसो हुँदैन। उषाको मृत्यु, समिरको रोग, दिनेश-शालिनी र नानी। फेरि दिनेशको मृत्यु, समिरको मृत्यु। यसरी वियोग भन्ने कि जिन्दगीको संयोग भन्ने, घटनाहरू छिटो-छिटो घट्छन् ।
एक्कासी घटेको घटनाले पाठक मनमा समेत आघात पुग्छ। यौन मनोविज्ञान कथाको श्रेणीमा राख्न मिल्छ।
कथा नियुक्ति पत्रमा काम गर्ने मेसिन र मोहनराजमा केही भिन्नता छैन। काम लागुञ्जेल मेसिन प्यारो हुन्छ, बिग्रिएपछि फ्याँक्नेसम्म स्थिति आउँछ। मोहनराज मानव मेसिन हो, ऊ आफ्नो स्वास्थ्यको पनि ध्यान नराखी परिवारको निम्ति रात-दिन खट्छ, तर परिवारले मोहनराजलाई पैसा कमाएर मेसिन ठानेका छन्। बिचरा मोहनबाबु भन्न कर लाग्छ पाठकलाई। कुकुर प्यारो छ श्रीमतीको लागि तर आफ्नो केही महत्त्व छैन लाग्छ मोहनलाई। टमीसँग आरिस छ मोहनराजको। रोगको घर भइसकेको मोहनराजको शरीरले पोषक तत्त्व पाउँदैन। घरकाहरूले पनि आफूसँगभन्दा कमाएर ल्याएको पैसाको मतलब राख्दा मोहनको मन दुख्छ।
वर्तमान शिक्षित जमातमा सरकारी नोकरीको एउटा छुट्टै महत्त्व छ, तर सरकारी नोकरी पाउनु भनेको हिजआज आकाशको तारा झारे जस्तै हो भन्ने भनाइलाई जितेर मोहनराज आफ्नो छोरा मनदीपले एकदिन सरकारी नोकरी नै पाउँछ भनेर नै एकदिन मोहनराज रुखमा पासो लागेर झुण्डिएर मरे। ऊ मरेपछि छोराले डाई इन हारनेस केशमा सरकारी नोकरी पायो। मरेपछि मात्रै मान्छेको मूल्याङ्कन र महत्त्व दर्शिएको छ। जिउँदोमा मोहनराजको मन कहिल्यै खुसी भएन। सामाजिक यथार्थवादी कथा हो नियुक्ति पत्र। एउटा गरीब बाबाले आफ्नो बोझ, परिवारको बोझ, पृथ्वीको बोझ थाम्न नसकेर आत्महत्या गरेको छ।
त्यसरी नै बाघवीर कथा सुन्दा बाघ मारेर विजयी भएको बुझिए पनि बाघवीर गरीबी र जीवनसँग हारेको छ। भटाभट स्वास्नी, एउटै भएको छोरा मरेपछि रक्सी सहारा भइदिन्छ। एक्लो जिन्दगी एक्लै सुटुक्क भनेझैं तन थाकेर मन पाकेर बाघसँग लाप्पा खेल्ने बाघवीर दिसा गर्न जाँदा एउटा कान्लाबाट लडेर मऱ्यो । कथा वियोगान्त छ।
हाम्रा कथाहरू-ले आजको वास्तविकता बोकेको छ । वर्तमान अवस्थालाई ध्यानमा राखेर आजको कथा लेख्नमा खप्पिस रोकाले मर्मस्पर्शी कथा लेखेका छन्। बाबा र आमाले कति दुःख गरेर छोरा-छोरी हुर्काए पढ़ाए तर पढ़ेर ठूलो भएपछि आफू नै भयङ्कर जान्ने भएर ठूल्ठूला कुरा गरेर छोराछोरीले बाबा-आमालाई लत्याउछन्। जीवन छोरा-छोरीको चिन्तामा बिताउँछन् आमा-बाबा। तर छोरा-छोरी पढ़ेर बढ़ेर आ-आफ्नो पाराले जीवन बिताउने हुँदा जन्मदिने आमा-बाबाले तिरष्कारपूर्ण जीवन बिताउन बाध्य बन्छन्। बुढेसकालमा छोरा-बुहारीले आमा-बाबालाई नहेरेकोमा कथाकारभित्र असन्तुष्टि देख्न पाइन्छ। धेरै कमाउने छोरा-बुहारी भएर पनि आमाले उपचार नपाउनु अनि मृत्युलाई अँगाल्नु पीड़ादायी देखिन्छ कथामा। तीनजना छोरा-बुहारी, नाता-नातिनीका धनी बाबा दीर्घमान लिम्बु आफ्नो स्वास्नी मरेपछि एक्लो परे।
कथा हेड सर-मा सिक्किमको इतिहास झल्किन्छ। सिक्किममा राजतन्त्रको निरंकुशताको विरोधको सङ्क्रमणकाल एउटा अप्ठ्यारो र साह्रो काल मानिन्थ्यो। विशेषतः विद्यालयका शिक्षकहरूको निम्ति गाह्रो थियो। सिक्किममा राजतन्त्र मासियो, प्रजतन्त्र बहाली भएपछि विद्यालयले सरकारी मान्यता पायो। प्रतापसिंह हेड सर नै भएर बस्न रुचाए। हेडसरको पनि पारिवारिक जीवन छ, नोक-झोंक छ। विद्यालयको त्यो समय पढ़न नसक्ने विद्यार्थी तीनपल्टसम्म फेल भएर एउटै क्लासमा बस्ने अनि पछि स्कूल छोड़थे। तर समयको परिवर्तनसँगै नयाँ शिक्षा नीतिले पास-फेल पद्धति हट्यो, निःशुल्क शिक्षा, दिवाभोजन इत्यादि सुरु भयो। मिड-डे मिलमा चामल बेसी आउँदा चिन्ता छ। इमान्दार हेड सरको सोच राम्रो छ। तर हिजआज कतिपय स्कूलमा मिड-डे मिल घोटाला सुनिन्छ, दाउ परे बेसी आएको चामल बेचेर गोजी भर्न पछि पर्दैनन् कतिजना , तर चामल चोरीको प्रकरण छ कथामा। विद्यालयमा राजनीति पनि निर्धक्क भित्रिन्छ, जसले गर्दा स्कूलको परिवेश बिग्रिन्छ। हेडसर इमान्दार छन् त्यसैले उनको स्थानान्तरण हुन्छ।
व्यङ्ग्यात्मक कथा पण्डितको बिहेमा आफ्नै बाउको बिहेको निम्तो बाँड्दै हिँड्छ छोरा। जात-पात, रुढ़िवादी, अन्धविश्वासलाई पर सार्दै सानो जात-ठूलो जात बिहे गरेको घटना छ भने पण्डितनी बज्यै मरेपछि पण्डितले घर भित्र्याए ढकालकी छोरीलाई। छोरा-छोरी जन्मेपछि बिहेको कर्मकाण्ड, पण्डितनी हुनुको प्रत्याभूति इत्यादि सोच्दा अचम्म लाग्ने। बिहेमा हुने खर्च मन्दिरतिर दान गर्नु वृद्धाश्रमलाई चन्दा दिनु भन्ने सुविचार पाइन्छ कथामा। पण्डितको बिहे रद्द भएकै ठीक देखिन्छ कथामा। नचाहिँदो ढर्रा गर्नु हुँदैन भन्ने शिक्षा पनि पाइन्छ कथामा।
फौजीहरू छुट्टी आउँदा गाउँमा देखाउने धाकमा सजिएको कथा हवल्दार ए.डी.लिम्बू। अङ्ग्रेजीका अल्फाबेटिकल नामबाट बोलेको सबैलाई मनपर्थ्यो । जस्तै मिस्टर एम.बी., मिस्टर बी.डी., मिस पी.एम., मीस एस.के. इत्यादि। यो चलनको श्रेय हवल्दार ए.डी. लिम्बूलाई जान्थ्यो। रात्री पाठशालाको चलन थियो। प्रजातन्त्र बामे सर्न थालेपछि रात्री प्रौढ़ शिक्षा अनिवार्य भयो । शिक्षकहरूले दोहोरो ड्युटी गर्नुपर्थ्यो। एकदमै गाउँले भाषाको प्रयोग, गाउँले परिवेशको चित्रण, गाउँभित्रकै पात्र-पात्राको चरित्र-चित्रण इत्यादिले कथा सजिएको छ। पल्टनेहरू आफ्नो भाषामा टुटे-फुटे अङ्ग्रेजी शब्दहरू थुप्रै चलाउँथे, त्यसको प्रमाण छ कथामा। बूढ़ो त कस्तो थीन भएछ। त्यो टेममा हेयर फुलेको थिएन ऊ योंग लेडी थियो।
हवल्दारकी स्वास्नी हवल्दारनी घर छोडेर हिँडेपछि सिङ्गल भइयो एउटा ग्यास नल्याइ भएन भन्दै कथा सकिन्छ। खुल्ला ह्रदयका हुन्छन् फौजी भन्ने देखाइएको छ कथामा।
चियाकमान विगत र वर्तमानको चित्रण छ। अङ्ग्रेजको शोषण त्यसपछि मालिकवर्गको शोषण झेल्ने चियाकमानेहरूले सुख कहिल्यै भोगेनन् विगतमा। अहिलेको स्थिति चियाकमान बन्द हुने चलनले पिरेको छ। कथाकार चिया कमानको साइरन फेरि बज्ला ? भनेर प्रश्न तेर्साउँछन्। डीकबहादुर-को कथा छ यसमा। चिया कमानेहरूले खप्नु परेको दुःख-पीड़ा नै कथाको मूलवस्तु हो। नेपाली-आदिवासी मिलेर बस्ने चिया कमानको नराम्रो अवस्थाले सबैलाई हुनसम्मको पीर परेको छ। अहिले आएर चिया कमान नै बन्द भइदिँदा भोकमरी र कुपोषणले ग्रस्त छन् चियाकमानेहरू। कमान खोल्ने आशामा जीवन जसोतसो घस्रिँदैछ।
सुनयना कथासङ्ग्रहमा राखेको अन्तिम कथा सङ्ग्रह ऊ गाउँ फर्कियो – मा चन्द्रमान गुरुङ आफ्नो जागिरे जीवनबाट अवकाश भएपछि परिवारले नै सिलगढ़ीमा फ्ल्याट किनेर गाउँ छोड़ेर सहरमा बस्ने निर्णय लिए। सिलगढ़ी बस्न थालेपछि जति पनि आफन्त, चिनेको -जानेको रोग जँचाउन सिलगढ़ी नै आउनुपर्ने अनि सबैको बसोबासोको ठेगाना हुनथाल्यो चन्द्रमान गुरुङको फ्ल्याट। सिलगढ़ीमा सबै कुराको दलालीले बर्बाद पारेको छ भन्दै चन्द्रमान गाउँ नै फर्किएको असल हुनेछ भनेर आफ्नो स्वास्नीलाई भन्छ, तर स्वास्नी र छोरा-छोरी सहरको फोस्रो र बनावटी सुविधामा डुबेकाले उनीहरू गाउँ नफर्किने भए । कथान्तमा चन्द्रमान एक्लै गाउँ फर्किन्छ। उतै जसोतसो आफ्नो बारी स्यारेर बस्ने विचार सुनाउँछ।
यसरी कथामा नारीहरू अत्यन्त सुविधाभोगी हुन्छन् जसले सबै सुविधा पाउन थालेपछि, पैसामा रमाउन र मात्तिन थालेपछि लोग्नेहरूलाई पनि पत्तै दिँदैनन्। मिलेर बस्दा परिवार बनिन्छ भने अमिल्दा विचारहरूले परिवार बिच तगारो तेर्सिन्छ।
सुनयनाका अधिकांश कथाहरू सहरीकरणबाट बाँचेका छन्। सहरीकरणले परिवारको सम्बन्धमा विष घोलेको छ। प्रायः कथाहरू पारिवारिक चिन्ता-पीड़ामा हुर्केका छन्। समाजभित्रको तीतो तर सत्य कुरा ओकलेका छन् कथाकारले। कतै पुत्र वियोगमा तड़पेर मर्छिन् आमा त बाबाको पीड़ा कसले सुनिदिने ? ठूलो प्रश्न तेर्सिन्छ नै। संवेदनशील विचारधारामा पलाएका कथाहरूमा संगतिभन्दा धेरै विसंगति पाइन्छ अनि यथार्थ चित्रण गर्नमा खप्पिस छन् कथाकार अशोक रोका। डुवर्सकै माटोमा हुर्किएर, चिया कमानकै बाटो भएर जीवनमा प्रगति गर्ने अशोक रोकाका कथाहरूमा ग्रामीण जीवनको चित्रण अत्यन्त सुन्दर ढङ्गमा देख्न पाइन्छ।
कथा पढ्दा लाग्छ, कथाकारले साँचो कथा सुनाउँदैछन् । विरोधाभास र मिथ्याभासको समिश्रण देख्न पाइन्छ भने सामाजिक यथार्थवाद र मनोविश्लेषण पनि छ कथातिर । वर्णनात्मक र विवरणात्मक शैलीमा कथाहरू सजिएका छन्। कथा पढ्दा दिक्क लाग्दैन तर कौतुहलता बढ्छ। कथाकार भन्छन्- चाहनु र भनेजस्तो नहुनु जीवनका पाटाहरूमा धेरै जीवनहरू अल्झिरहन्छ।
कथातिर प्रेम छ, सौन्दर्य छ, आत्मियता छ। सबैभन्दा ठूलो कुरा कथातिर ग्राम्य परिवेश र त्यहाँको बोली-विचार छ।
कथाकारको चाख लाग्दो भाषा-शैली-
तातो मोमो डल्ले खोर्सानीको अचारमा चोबेर मुखमा हालेको प्रमोदको पसिना छुट्छ।
कथातिर निर्धक्क अन्य भाषाको प्रयोग देख्न पाइन्छ। बङ्गला भाषाको दामी प्रयोग छ-
नोङरा जले आमी चान करते पारबो ना, कि भीषण गन्ध……!
ऐइ शैतानी करबी ना ! चुप करे थाको। यिनी आमार बाबा-मा। तोमादेर ठाकुरदा, ठाकुरमा –
चालेर टीका काने गाछ, तोमादेर पूजा एई रकम होय ना कि ?
अङ्ग्रेजी भाषाको प्रयोग-
यु आर क्वाइट इनोसेण्ट एबाउट दिज म्याटर। लेट्स ह्याव डीनर,
वाई दिस टाइम आइ एम वायोलजीकल्ली फीट,
माई वाइफ इज् माई लाइफ। माइ लाइफ इज माई वाइफ,
के गर्नु र यार….. डब्लु.आई.सी. किचनमा कुकिङ गरौं भनेको त नो फायर वूड, यसो हेंरे यो ओल्ड ओरेंजको ट्री ड्राई भइसकेछ र यी मेन्टिनेन्स पो गर्दैछु।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

