maya garnuko artha

जस्तो, अनायसै ओठमा बास खोज्दै आउँछन् । तिनलाई अतिथि बनेर कुनै साँझ भई आउनुपर्दैन । समयको साथ भए उत्तम । मौसमले माहोल बनाए झनै खूब । हृदयमा केही उठोस् र ओठमा गुनगुन गर्दै शब्दहरु नाच्न थाल्छन् भने त्यो गीत हो । गीत हुनका लागि यी अनिवार्य छन् । होइन भने ती चिज अर्थोक नै होलान् तर गीत चाहिँ होइन ।

गीतको कुरा गर्नुअघि संगीतको कुरा अनिवार्य मान्छ शास्त्रले । संगीतको उत्पत्ति भाषाभन्दा पनि पुरानो मानिन्छ । भाषा बुझ्न दोभाषे चाहिन्छ । भाषा पनि विभिन्न हुन्छन् । संगीत पनि विभिन्न हुन्छन् । तर संगीत बुझ्नलाई कुनै अनुवादक चाहिँदैन । वेद स्वयम् संगीतले सम्पृक्त छ । संगीतलाई कदर नगरेको सायदै कुनै सभ्यता होला । सभ्यताले आफू उज्यालिएको घोषणा पनि संगीतकै माध्यमबाट गरेको हुन्छ । इतिहासमा पनि कमै त्यस्ता शासक भए होलान् जो संगीतका पारखी बनेनन् । राजा प्रताप मल्लले त आफूँलाई संगीतार्णवपारग भनेका थिए अनि नृत्यनाथको स्थापनाको अवसरमा राजा हुनुको अहंतालाई त्यागेर सारा प्रजासामू नृत्य समेत गरेका थिए । उनी यतिमै सन्तुष्ट भएनन् एउटा हातमा वीणा लिएर बजाइरहेको आफ्नै शालिक बना ई हनुमान ढोकामा स्थापितै गरिदिए ।

हाम्रो सभ्यताको सारा लय नै संगीतबाट चलेको छ । हाम्रो चाडपर्व, जात्रा, मांगलिक कार्य र रहन-सहन समेत संगीतमा आबद्ध छ । बाजा, गीत र नाचको संयोजनले संगीत बन्दछ । गीतलाई परख गर्न संगीतको आलोकमा हेर्नुपर्छ । अब्बल कोटीका गीतमा शब्दहरु सरिता बनेर बगेका हुन्छन् । गीत रचना पनि शब्दकै साधना हो । शब्दका पङ्क्ति सुर, ताल र लयमा जति जम्न सक्दछन् त्यति नै मात्रामा गीतसंगीतले रञ्जकता पैदा गर्न सक्दछ । रञ्जकता पैदा गर्न नसक्ने गीतसंगीत व्यर्थ हो । त्यसैले संगीत संरचनाको मामिलामा गीतको रचना संवेदनशील पाटो हो । संवेदना छैन, मनोहरता छैन भने त्यस्तो गीत शब्दको चाङ मात्रै हो । र त्यो गीतकारको शाब्दिक स्वाङ मात्र हो ।

गीतसंगीतको रचना अविरल छ । यो अविरल रहन्छ नै । तर गहन, मूल्यवान् र दीर्घजीवी रचनाहरु भने दुर्लभ हुन्छन् । संगीतमा गीत बीज स्वरुपमा रहेको हुन्छ । बीज भनेको मन्त्र स्वरुप हो । त्यही भएर एउटा अब्बल गीतले मनलाई त्राण दिने क्षमता राख्दछ । बीज असल भयो भने संगीतको फसल पनि उत्तम हुन्छ । शब्दलाई छोडेर गायकीलाई मात्रै महत्त्व दिने कामले बलिया गीतहरुको रचनालाई प्रेरणा मिल्दैन । स्तरीय संगीतको लागि साधनाले खारिएको शब्द संचयनको आवश्यकता पर्दछ । साहित्यका अरु विधाजस्तै गीत लेखन पनि एउटा साधना हो भन्ने मर्म बोकेका साधकहरु सीमित छन् । तीमध्येका एक हुन् शिव पलाँस ।

पलाँसको गीतकारिता एउटा सौम्य बहाव भएको नदीजस्तो छ । न त सफलता वा लोकप्रियताको क्षणमा यी उरालिँदै हिँडेका छन् न त अप्रचारको समयमा यिनले आफूँलाई खुम्च्याउँदै बसेका छन् । उनमा तत्काल चर्चामा आइहालुँ भन्ने भावना कत्ति पनि छैन । बरु एउटा राम्रो गीत रचनाको लागि जुगै खर्चिन समेत तयार भई बसेका वृक्ष हुन् उनी । शान्त सगरजस्तो निरन्तर गीतकाव्यमा साधनारत साधकको नाम हो शिव पलाँस ।

कुनै पनि पेशा वा कर्म आफैँमा महान् वा सम्मानयोग्य हुँदैन । कर्म गर्नेले नै त्यसलाई उचाइ दिने हो । आफूले गरेको कामलाई कर्मीले जति महत्त्व र सम्मान दिन्छ त्यसबाट त्यति नै गरीमा मिल्ने हो । पलाँस हाल अमेरिकामा छन् । नेपालमा मैले पनि उनीसँग संगत गर्न पाएँ । गीतकाव्यप्रति उनको गुरुत्वपूर्ण अनुराग देख्दा उनी वास्तवमै एक संवेदनशील गीतकार एवं साधक हुन् भन्ने छनक मैले पाएको हूँ । लाग्दथ्यो उनी सधैं एक कालजयी गीत रचनाका लागि साधनारत छन् । सदैव त्यसको खोजीमा छन् ।

अहिले धेरै किसिमका गीत रचनाहरु बजारमा आइरहेका छन् । गीत रचना हल्काफुल्का काम होइन । यो पनि एउटा शब्द साधनाकै अङ्ग हो । आफ्नो उमेरमा ‘माया गर्नुको अर्थ’ ‘सुनको जलप लगाएको’ ‘आगो भन्ने जान्दाजान्दै’ लगायतका विशिष्ट गीतहरुको रचना पलाँसले गरे । पुस्तक संचयनको अभावमा आफूले रचना गरेका काव्यहरु नहराए पनि कताकता हराएजस्तो लाग्ने रहेछ । नजान्नेहरुले झन् आफ्नो गीतलाई अर्काकै रचना भनेर कुप्रचार समेत गर्ने रहेछन् । यसै मेलोमा शिव पलाँसले आफ्ना गीतहरुको सञ्चय पुस्तक ‘माया गर्नुको अर्थ’ शीर्षकमा बजारमा ल्याएका छन् । यसले अरु गीतकारहरुलाई पनि पक्का प्रेरणा दिनेछ ।

‘माया गर्नुको अर्थ’ उनको बलियो गीती हस्ताक्षर हो । बीबी अनुरागीको संगीत अनि शिशिर योगीको आवाजमा यो गीत धेरै स्रोताहरुले सुनेका छन् तर यसका रचनाकार शिव पलाँस हुन् भनेर धेरै कमलाई मात्र थाहा छ । माया र विवाह फरक कुरा हुन् भन्ने दर्शन बोकेको यो गीत समकालको एक कालजयी रचना हो भन्नुमा अत्युक्ति हुँदैन ।
गीत मानवीय भावनाको अभिव्यक्ति त हुँदै हो तर गीतकारले त्यसको कोरा व्याख्या गर्ने मात्र होइन बरु एउटा गीतमा एउटा सिंगो दर्शन अटाउन सक्नुपर्छ भन्ने मान्यतामा छन् गीतकार पलाँस । उनको यही सुविचारित साधनाले नै उनका गीतलाई अमर बनाएको छ । उनका सबैजसो गीतमा त्यसको छनक पाइन्छ ।

‘कोर्रा हान्यौ कयौँचोटी नदुखेझैँ गरेँ
नदुखेझैँ गरे पनि दुखाइले मरेँ ।’

अनुभूतिको गहिराइमा स्वाद वा स्पर्शमात्र हुन्छ । शब्दको बिलकुल अभाव हुन्छ । शब्द त्यति सस्तो हुने भए हरकोही गीतकार हुन्थ्यो होला । शब्दको सर्वथा अभावमा पनि भावयुक्त शब्दको सन्धान गर्न सक्ने क्षमता एउटा सिपालु गीतकारमा मात्रै हुन्छ । गीतकार पलाँस मानवीय संवेदनालाई शब्दशिल्पमार्फत प्रकट गर्न सिपालु छन् । पलाँसको गीतको अर्को खासियत भनेको गीतमा अनावश्यक शब्दहरुको प्रयोग नहुनु हो । उनका गीतमा शब्दहरुको जबर्जस्ती घुसपैठ छैन । गीत बनाउनकै लागि गीतमा जबर्जस्त शब्दहरु भर्नुपर्छ भन्ने मान्यताबाट पलाँस कोशौँ टाढा छन् । गीतका सन्दर्भमा कस्तो शब्दको प्रयोग गर्ने भन्दा पनि कस्तो शब्दको प्रयोग गर्नु हुँदैन भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । यस्तो महत्त्वलाई गीतकार पलाँसले कुशलतापूर्वक अंगिकार गरेको देखिन्छ । साथै, सबै गीतहरु उत्कृष्ट हुन्छन् भन्ने हुँदैन तर गीतका लागि रचनाकारले कस्ता शब्दको प्रयोग गर्नु हुँदैन भन्ने ख्याल अवश्यै गर्नुपर्दछ । गीतकार पलाँस यस मानेमा चनाखो देखिन्छन् ।

‘मान्छेसँग ठोकिएर मान्छे लडेको छ
एउटालाई कुल्ची अर्को अघि बढेको छ’

सामाजिक परिवेशलाई बोध गर्ने र उत्तिकै गहनताका साथ गीतकाव्यमा उतार्ने कुशलता पलाँसमा रहेको देखिन्छ । गीतकार भनेको केवल मनका भावनालाई शब्दरूप दिने कलाकार मात्र होइन । उसले समाज, सामाजिक सन्दर्भ र परिवेशलाई नजिकबाट नियालेको हुनुपर्छ । सामाजिक आयामलाई ठीकठीकसँग दृष्टि दिने क्षमता पनि कुशल गीतकारका लक्षण हुन् । गीतकार पलाँस आफ्नो समयको समाज एवं सामाजिक सम्बन्धप्रति सचेत देखिन्छन् ।

पुस्तक सञ्चयनमा पलाँसका ६ दर्जनभन्दा बढी गीतहरु अटाएका छन् । माया-प्रेम, मिलन बिछोड, देशभक्ति, उत्प्रेरणा, जीवन दर्शन, नारीव्यथा, समाज संस्कृति आदि अनेक सन्दर्भ र आयाममा उनका गीतहरु फैलिएका छन् । समग्रमा शिव पलाँसका गीतका शब्दहरु कालजयी छन् र समकालमा तिनले मानवीय मूल्यको अर्थ खोजिरहेको भेटिन्छ । एउटा राम्रो गीतबाट गायन करियर सुरु गरौँ भन्ने भावना भएकाहरुका लागि शिव पलाँसका गीतहरु उपयुक्त छनौट बन्न सक्छ । धेरै गीत गाइयो तर सुगम संगीतको दुनियाँमा एउटा असल गीतमा स्वर भरौँ भन्ने गायकका लागि पनि पलाँसका सञ्चयनमा समेटिएका यी गीतहरु उचित रोजाइ हुन सक्छ । हुन त हिरा चिन्ने खुबी जो कोहीसँग हुँदैन । तर अरुले चिनेनन् भन्दैमा हिराले आफ्नो गुण पनि त्याग्दैन । समकालीन गीत लेखनमा हिराझैँ चम्किला रत्न मित्र एवं गीतकार शिव पलाँसलाई आगामी दिनमा गीत लेखनमा थप प्रेरणा मिलोस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु ।