पृष्ठभूमि :
ज्ञान र विज्ञानको चामत्कारिक उन्नयनको प्रतिफल हो आजको भूमण्डलीकृत विश्वग्राम । अणुको अहम्, अस्तित्वको अहम्, अस्त्रको अहम्, आस्थाको अहम् – जस्ता अहम् र दम्भले विश्वलाई शिकार बनाएका छन् । विश्वमा सन्त्रास फैलाउन विश्वव्यापीकरणले सहायक भूमिका खेलेको छ । विश्वव्यापीकरणलाई प्रोफेसर ब्राउनले “सीमानाबिनाको विश्व” भनेका छन् । प्रथम विश्वयुद्धपछि राष्ट्रसंघको स्थापना र दोस्रो महासमरपछि संयुक्त राष्ट्रसंघको स्थापना भई विश्वबन्धुत्वका प्रयासहरू एकातिर भइरहेका छन् भने अर्कातिर सामाजिक विज्ञानका हरेक आयाममा विश्वव्यापीकरणको धेरथोर प्रभाव परिरहेको छ । कला र साहित्यमा पनि त्यसको प्रभाव पर्नु स्वभाविक देखिन्छ । आजको मानिसलाई भू-राजनीतिक सीमानाले बाँध्न सक्दैन । ऊ बादलपारिको सपना देख्छ र व्योमचारीझैं पखेटा फिँजारेर नील सागरमाथि रमण गर्छ । सपनालाई पछ्याउँदै संसारको कुनै पनि कुनामा पुग्छ अनि नूतन सपना देख्छ । आजको अर्थतन्त्रले विश्वलाई एउटा बजार मानेको छ । माग र पूर्तिको नियममा विश्वबजार टिकेको छ । विश्वव्यापीकरणको फाइदा विकसित मुलुकहरूले बढी उठाइरहेका छन् । ती मुलुकहरूले विकासोन्मुख राष्ट्रहरूमाथि आफ्नो हेजेमोनी थुपारिरहेका छन् । उत्कृष्ट मानव संसाधन आफूतिर खिचिरहेका छन् । अन्तर्राष्ट्रिय शिक्षार्थी, शोधार्थी, विज्ञजन, प्राविधिक, श्रमिक आदि आफ्नो मुलुकमा तान्ने उनीहरूसँग अनेक रणनीति तथा योजना छन् । यस्तो परिप्रेक्ष्यमा विकासोन्मुख मुलुकका केही नागरिकहरू आप्रवासीका रुपमा विकसित भनिने मुलुकहरूमा एक प्रकारको कष्टकर जीवन बिताउन बाध्य छन् । यस्तै नेपाली डायस्पोराको एक थान सपना हो, प्रतिगन्ध ।
विषय प्रवेश :
नेपाली साहित्यका विराट प्रतिभा हुन् सरुभक्त । साहित्यका हरेक विधामा उत्तिकै दखल राख्ने यिनै उपन्यासकारद्वारा उनकै शब्दमा “लगभग बाह्र वर्ष औपन्यासिक वनवासपछि” लिखित, वि.सं. २०७६ मा बुक हिलद्वारा प्रकाशित औपन्यासिक कृति हो “प्रतिगन्ध” । ४७९ पृष्ठमा फैलिएको (कूल पृष्ठ संख्या ४८७) कथाले वर्तमान विश्वपरिवेशलाई उजागर गरेको छ । एउटा ग्रान्ड सेटिङमा समकालीन विश्वका सरोकारहरू र तिनले मानव जीवनमा पारेका असरहरूलाई घटनामा उनेर चारित्रिक वैविध्यमार्फत पाठकसामु प्रस्तुत गरिएको छ । समकालीन विश्वसाहित्यमा के कस्ता ट्रेन्डहरू प्रचलित छन् ? विश्वका मूलधारका मानक साहित्य कसरी लेखिँदै छन् ? कस्ता शैली र थिमका साहित्य बढ्ता रुचाइएका छन् ? यी प्रश्नको साङ्गोपाङ्गो उत्तर हो “प्रतिगन्ध” ।
नेपालका पोखरा, बागलुङ, म्याग्दी, पाल्पा, धरानजस्ता स्थानबाट नेपाली सपना बोकेर अमेरिका पुगेका पात्रपात्राको उक्त सपना “दी ग्रेट अमेरिकन ड्रीम”मा विलय हुन्छ। सपनाको पछि लाग्दालाग्दै तिनीहरु अभिघात बोकेर बाँच्न बाध्य हुन्छन् । तिनीहरुको पारिवारिक जीवन ध्वस्त हुन्छ । तिनीहरू आतंककारीको हमलाको शिकार हुन्छन् । अमरको कथा, महेशको कथा, युवराजको कथा, रवि जोन्सनको कथा र अपर्णाको कथाका अलगअलग थुङ्गाले उनिएको मालामा फेरि अमरको कथाले अर्को थुङ्गा थपेको छ । ती पात्रपात्राका कथाहरू भलै अलगअलग लाग्छन् तर सबैको अन्तरसम्बन्ध मूलकथासँग रहेको छ । महेश, युवराज र रवि जोन्सन अमरका मित्रहरू हुन् । अपर्णाले अमरको विशीर्ण जीवनमा बहिनी बनेर ढाडस दिन्छे । अमरलाई मूल पात्र भन्ने आधार यही हो कि जीवनमा उसले सबैभन्दा बढ्ता गुमाउँछ । उपन्यासकारले अरु पात्रपात्राका लागि एकेक अध्याय राखेका छन् तर अमरका लागि दुई अध्याय छुट्याएका छन् । यहाँ नायक कोही पनि छैन । सबै अनायक हुन् ।
अमर प्रधान – बाबा अमिरमान, आमा जुनी – प्रथम आम निर्वाचन हुँदाको वर्ष जन्मेको । उसका तीन दाजुहरू – अभय, असित र अमन । पोखराको एक चाउचाउ कम्पनीमा जागिर खाँदा इमान्दार भएकै कारण जागिरबाट हात धुनुपर्ने अवस्था आउँछ । त्यसपछि ऊ मामा ललितरत्नको सहयोगमा नेपाल बैङ्क, बागलुङमा जागिर गर्न थाल्छ । जागिरे रहँदै घरपट्टि घनविक्रमकी छोरी आरतीसँग अमरले भागी विवाह गर्छ । केही पछि उसले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको एउटा प्रोजेक्टमा जागिर सुरु गर्छ । नेपालमा बसेर आफ्नो सपना साकार नहुने ठानेर थोमस भ्याल्विक र क्याथरिनको सहयोगमा ऊ अमेरिका छिर्छ । पछि उसले श्रीमतीसहित परिवार नै उतै लिएर जान्छ । ऊ न्यूयोर्कमा सपनालाई पछ्याउँदै सङ्घर्षपूर्ण जीवन बाँच्छ । उसका दुई छोरा आरम्भ र सिद्धार्थ अनि एक छोरी अदिति हुन्छन् । उसले सपनालाई नभेट्दै ९ /११ को ट्विन टावरमा भएको आतंककारीको हमलामा जेठो छोरा आरम्भ गुमाउँछ । उसले नेपालमा जागिर गर्दाताका थोर्थोरै गरी बचत गर्दछ । त्यही पैसाले श्रीमतीलाई सर्प्राइज दिन पोखरामा एउटा घर किन्छ । तर उसकी श्रीमतीले उसको सर्प्राइजलाई विश्वासघात ठान्छे । यसैकारण दुईबिच सम्बन्ध बिस्तारै बिग्रन्छ ।
र, एकदिन आरतीले उसलाई छाडेर जान्छे । त्यसपछि उसले बाँकी जीवन श्रीमतीको प्रेम र ऊ फर्केर आउने आशामा बिताउँछ । ऊ मानसिक रुपमा विचलित पनि हुन्छ । एक पल्ट उसले रेलमा पेनिक सिर्जना गर्छ र प्रहरीको फन्दामा पुग्छ । ऊ निर्दोष रहेको साबित हुन्छ । प्रहरीले उसलाई छाडिदिन्छ । आरतीले छोरा सिद्धार्थलाई पछि आफैसँग लैजान्छे । अदिति ठुली भएपछि एउटा गोरेसित लिभिङ टुगेदर गर्न थाल्छे । छोरा सिद्धार्थ अपार्टमेन्टमा फर्केर आउँछ । ऊ जेसिकालाई प्रेम गर्छ । तर अचानक जेसिकाले उसलाई छाड्छे । एक दिन सिद्धार्थले सेराफिनालाई अपार्टमेन्टमा लिएर आउँछ । एक साँझ जान्ड्रालाई ल्याउँछ । अमरलाई छोराको यो चाला मन पर्दैन । उसले सम्झाउने कोसिस गर्छ । तर सिद्धार्थ उल्टै बाबालाई आफ्नो निजी मामिलामा दखल नदिन चेतावनी दिन्छ । निराशाको झोला बोकेर एक दिन अमर अपार्टमेन्ट छोड्छ र सडक, पार्कतिर भौँतारिन्छ । उसलाई अपर्णा र डाक्टर विवेकले भेट्छन् र उसको अनिच्छाका वाबजूद उसलाई आफ्नो घरमा लगेर सम्मानपूर्वक आतिथ्य गर्छन् । अर्पणाले उसलाई दादा भन्छे र सोही अनुरुपको व्यवहार गर्छे । केही दिनपछि अमर त्यहाँबाट नयाँ यात्रामा निस्कन्छ । अन्त्यमा, मृत पुत्र आरम्भसित उसको सम्वाद हुन्छ ।
समानान्तर पात्रपात्राको कथा पनि समानान्तरखालको छ ।
महेश थापा – जन्म म्याग्दीको शिखाघारा, बाजे मेजर गुन्जमान थापा, बुवा क्याप्टेन तारामान थापा, आमा बिमला – पृथ्वीनारायण क्याम्पस, पोखरामा अध्ययन गर्दा विद्यार्थी राजनीतिमा संलग्न भई निरङ्कुश पन्चायती व्यवस्थाको विरोध गरेको हुन्छ । ऊ एक भारतीय नागरिक जोगिन्दर सिंहको ग्रोसरीमा काम गर्छ । उसैले अमरलाई न्युयोर्कमा जागिर खोज्न सहयोग गर्छ । एक दिन उसलाई केही गुन्डाले पैसा लुटेपछि गोली हान्छन् । उसको त्यहीँ मृत्यु हुन्छ ।
अर्पणा – बाबा प्रचण्डमान, आमा शारदा – धरानका प्रतिष्ठित व्यापारी परिवारमा जन्मेकी । धरानमै प्रमाणपत्र तह उत्तीर्ण गरी अध्ययनार्थ काठमाडौं जान्छे । उसको सपना अङ्ग्रेजी साहित्यमा डिग्री गर्ने हुन्छ । उसले “केयर” नामक संस्थामा जागिर खान्छे । आमाको क्यान्सरले मृत्यु हुन्छ । बाबाले कान्छीआमा ल्याउँछन् । जागिरकै सिलसिलामा “केयर” को प्रशासक जेम्स फिसरसँग प्रेम हुन्छ । ऊ समयावधिको समाप्तिपछि अमेरिका फर्कन्छ । छ महिनापछि अर्पणा पनि अमेरिका पुग्छे । जेम्सले उसलाई मायाले स्वागत गर्छ । अपर्णाले आफ्नो सपनाअनुसार न्युयोर्क युनिभर्सिटीमा पढ्न थाल्छे । एक दिन उसले आफू गर्भवती भएको कुरा जेम्सलाई सुनाउँछे । तर जेम्सले बच्चा चाहन्न । र गर्भपतन गराउन बाध्य पार्छ । यी सब कुराको मूल्यमा पनि प्रेमलाई बचाउन उसले सम्झौता गर्छे । तर उसको जेम्ससँग प्रणय दीर्घ हुन सक्दैन । पारपाचुके हुन्छ । र पछि डाक्टर विवेक लामासित विवाह हुन्छ । उसले न्युयोर्क युनिभर्सिटीबाट अङ्ग्रेजी साहित्यमा विद्यावारिधि गर्छे ।
युवराज गिरी – बाबा गणपति गिरी, आमा प्रभादेवी – सुप्रसिद्ध उद्योगपतिको छोरा, जसका बाबा पाल्पादेखि काठमाडौं आउँछन् र व्यवसायको साम्राज्य फैलाउँछन् । उसको जन्म इन्द्रचोकको सानो घरमा हुन्छ । ऊ बालुवाटारको विशाल “गणपति भवन” मा हुर्कन्छ । ऊ स्कुल पढ्दा अलिक बदमास हुन्छ । ऊ त्रिचन्द्र कलेजमा मानविकी पढ्छ । उसलाई राजनीतिमा रुचि हुँदैन । अभिनयमा रुचि हुन्छ । “मुकुन्द-इन्दिरा” नाटकमा सफलतापूर्वक अभिनय गर्छ । उसले स्नातकोत्तरमा पढाइ छोड्छ । उसले चलचित्रमा पनि अभनय गर्छ तर सफल नायक हुन सक्दैन । उसले अभिनेत्री मालालाई प्रेम गर्छ जससँग चलचित्र “भाग्यरेखा” मा अभिनय गरेको हुन्छ । तर उसले एक दिन मालालाई एउटा निर्माताको काखमा देख्छ । ऊ प्रेमदेखि निरास हुन्छ र अमेरिका जान्छ । अमेरिकामा धेरै ठाउँमा काम बदल्छ । ऊ झन्झन् निरास बन्दै जान्छ । एक रात मारिया फरनान्डाको यौनाक्रमणबाट आफूलाई बचाउँछ । तर उसले बिस्तारै वेश्यागमनतिर लत लगाउँछ । ऊ वेश्या लुसीको सरणमा जान्छ । उसको लक्ष्य हुन्छ खुसी । खुसीकै लागि ऊ न्युड क्लबमा आबद्ध हुन्छ । उसलाई न्युड फिलोसोफी मन पर्छ । न्युड गुरु सान्टयानाको नग्नताको प्रवचनले ऊ प्रभावित हुन्छ । युवराज खुसी प्राप्तिका निम्ति कुनै पनि हदसम्म पुग्छ । वुद्धको मध्यमार्गभन्दा एक हद पर गएर ऊ वेश्यागमन र नग्नतामा चुर्लुम्म डुब्छ । केही समय मिस एन्जेलासित न्युड क्लबमा बिताउँछ । ऊ धनैश्वर्यका लागि अमेरिका गएको हुँदैन । उसको लक्ष्य हो निरासाबाट मुक्ति, जीवनमा खुसी । तर उसले कतै पनि खुसी पाउँदैन । एक दिन ऊ टर्नेडो चेसिङ गर्न जान्छ र टर्नेडोमा हराउँछ ।
रवि जोन्सन – बाबा नकुल विश्वकर्मा, जन्म लमजुङको कुन्छामा, बाल्यकालमा पहिरोमा बाआमा, घर सबै गुमाएको – मामा गगने र माइजू सुन्मयेकहाँ बस्छ । उसलाई पिटर जोन्सनले धर्मपुत्र बनाएर अमेरिका लैजान्छ र अमेरिकामै उसको लालनपालन गर्छ । पिटर जोन्सनका मातापिताको एउटा कार दुर्घटनामा परी मृत्यु भएको हुन्छ । त्यसैले ऊ वैराग्गिएर स्वयंसेवक बन्छ । ऊ कङ्गोपछि नेपाल आएको हुन्छ । पिटरको हृदयघातले मृत्यु हुन्छ । रवि जोन्सनकी श्रीमती चार्लोट जोन्सन अलिक खरो स्वभावकी हुन्छे । उसले रविलाई नोकरजस्तो बनाएर राख्छे । यिनीहरूको न्युयोर्क विश्वविद्यालयमा भेट भएर प्रेम बसेको हुन्छ । र त्यो प्रेम विवाहमा परिणत हुन्छ । रविले श्रीमती चार्लोट, छोरा मोन्टी र छोरी एलिजालाई औधी प्रेम गर्छ । ऊ किचनको सारा काम आफैं गर्छ । श्रीमतीले भनेको मान्छ । रवि जोन्सन पितृपूजा गर्नका लागि दुई साताको लागि श्रीमतीसित अनुमति लिएर नेपाल आउँछ । पूजा सकाएर अमेरिका फर्कँदा छोराछोरी र श्रीमतीलाई नेपाली कलासंस्कृति र सौन्दर्य झल्कने खालका उपहार लगिदिन्छ जुन कुरा चार्लोटलाई मन पर्दैन । छोराछोरीलाई नेपाल र नेपालीसँग सम्बन्धित कुनै पनि कुराको जानकारी दिएको उसलाई मन पर्दैन । बिस्तारै यिनीहरूको सम्बन्ध बिग्रन्छ । चारलोटले रेमन्डसित सम्बन्ध राख्छे । तर रविले खरो रुपले प्रतिवाद गर्न सक्दैन । ऊ श्रीमतीको थप्पड खाँदा पनि सहन्छ । ऊ भित्रभित्रै तड्पिन्छ । र एक रात उसले चारलोटको घाँटी अँठ्याएर हत्या गर्ने निधो गर्छ ।
विवेचना : प्रेम-घृणा, मिलन-बिछोड, बिहे-पारपाचुके, रोजगारी-बेरोजगारी, यौन, डिप्रेसन आदि त कमन थिम नै हुन् । यी विषयका अतिरिक्त केही यस्ता विषयवस्तु छन् जसले उपन्यासलाई अन्तर्राष्ट्रिय स्तरमा खडा गर्दछन् । उपन्यासमा समकालीन विश्वका सरोकारका विषयको उठानमात्र गरिएको छैन, तिनका कारणसमेत खोतलिएको छ र समाधानका बाटाहरू पनि ।
क) आतंकवाद :
९/११ को आतंककारी आक्रमणले न्युयोर्कमात्र हैन पूरै अमेरिका काँप्यो । उक्त निन्दनीय आक्रमणबाट अमेकिकाबासीमा संत्रास फैलायो । कुन बेला कहाँ के हुन्छ कोही जान्दैनथ्यो । भयावह स्थितिका बीच दैनिक जीवन सामान्य भएन । ट्विन टावर ध्वस्त हुन सक्छ भने विश्वको कुन स्थान सुरक्षित रह्यो र ! अमरले उक्त हमलामा जेठो छोरो गुमाउँछ । अमेरिकाको शक्तिको अहम् उक्त आक्रमणको कारण हुन सक्छ । हेजेमोनीको विरुद्धमा लन्च गरिएको “न्यु फम अफ वार” हुन पनि सक्छ आतङ्की आक्रमण । धार्मिक आस्था पनि कतै न कतै जोडिन्छ ।
ख) आप्रवासी समस्या :
आप्रवासी संसारभरि फैलेर बसेका छन् । तिनका राजनीतिक, सामाजिक, सांस्कृतिक, नागरिक र अन्य समस्याहरू तत्काल हल गर्न जरुरी देखिन्छ । अहिले विश्वनागरिकको अवधारणा चर्चामा छ तापनि आप्रवासीहरूलाई संगठित हुन र आन्दोलन गर्न ज्यादै कठिन छ । उपन्यासमा अमर एक नेपाली संगठनमा आबद्ध भई बेलाबेलामा कार्यक्रमहरू गर्दछ । त्यसको लागि उसले धेरै पापड बेल्नुपर्छ । उपन्यासका पात्रपात्रा डायस्पोरा हुन् होइनन् यो विषय सिद्धान्तको भट्टीमा पगालेर जाँच्नु पर्ने हुन्छ ।
ग) द्वन्द्व र द्वन्द्व व्यवस्थापन :
अमेरिकाले विश्वबाटै आतंकवाद निमिट्यान्न पार्छु भनेर ओसामा बिन लादेनलाई खोजीखोजी मार्यो । तर त्यसले आतंकवाद जरैदेखि उखेलिएन । आज पनि तालिवान, बोको हरामजस्ता आतंककारी सक्रिय छन् । द्वन्द्व व्यवस्थापनको पश्चिमी मोडेल असफल छ । उपन्यासमा पात्रपात्रा विभिन्न प्रकारका द्वन्द्वमा फसेका छन् । धेरैले द्वन्द्व व्यवस्थापन गर्न सक्दैनन् । अमरले आरती र छोरा सिद्धार्थसँगको द्वन्द्व समाधान गर्न सक्दैन र अन्ततोगत्वा घर छोडेर हिँड्छ । रवि जोन्सनले चारलोटसँको द्वन्द्व पनि समाधान गर्न सक्दैन । अन्त्यमा श्रीमतीको हत्या गर्ने निर्णय गर्छ । अर्पणा र जेम्स फिसरको द्वन्द्वले पारपाचुकेको परिणति निम्त्यायो ।
घ) वैश्विक उष्णता :
जलवायु परिवर्तनका कारण ऋतु व्यवस्थामा उथलपुथल हुँदै छ । अतिवृष्टि, अनावृष्टि, बेमौसमी हिमपात, हिमस्खलन आदि भई पारस्थितिक प्रणाली नै असन्तुलित हुँदैछ । उपन्यासमा वैश्विक उष्णताका कारण मौसममा गडबडी भएका प्रसङ्गहरू पनि छन् । “अक्टुबर लाग्यो । अकस्मात् हिमपात भयो । न्युयोर्कबासीहरूले यो आकस्मिक र असमय मौसम परिवर्तनको दोष वैश्विक उष्णतालाई थुपारे ।” (पृ. ११०)
ङ) भोगवाद :
मानिस आफ्नो क्षमतानुसार सांसारिक वस्तुको भोग गर्दछ । भौतिक भोगवादले मानिसलाई स्वार्थमा लिप्त बनाउँदछ । यसले सुषुप्त अहम् जगाउँछ । पात्र युवराज भोगवादमा चुर्लुम्म डुब्छ । ऊ भन्छ “आखिर जीवन भनेको के रहेछ र ? भोगै त रहेछ । कोही जीवनमा शरीरले भोग्छन् , कोही मनले भोग्छन् कोही आत्माले भोग्छन् । जुन दिन भोग समाप्त हुन्छ, जीवन पनि समाप्त हुन्छ । अभागी बुद्धहरू झूटा हुन् ।” (पृ. २७७)
च) परिवेश :
उपन्यासमा अमेरिकाको परिवेश छ । अधिकांश घटनाहरू अमेरिकाको मुटु अनि संसारको अघोषित राजधानी न्युयोर्कमा घट्छन् । उपन्यासको कस्मिक सेटिङ र विभिन्न स्थानहरूको विवरणले विश्वपाठकको ध्यानाकर्षण गर्दछ । जहाँ विश्वको ध्यान छ, जुन ठाउँ विश्वका मानिसहरूको सपनाको महानगर हो, त्यही सेटिङमा लेखिएको कथा विश्वपाठकलाई सुरुचिकर हुनेछ ।
च) शैलीशिल्पी :
पात्रगत अध्याय विन्यास गरिएको छ । जम्मा ६ अध्यायमा कथा सकिन्छ । कथावाचनमा फ्लासब्याक र वर्तमानबीच शिफ्टिङ गरिएको छ । कताकति फ्यान्टासी पनि प्रयोग गरिएको छ । अमर आफ्नो मृत छोरासित संवाद गर्छ । “छोरा आरम्भ, हामीले परदेशमा धेरै लामो समय बितायौँ । अब आफ्नै देश फर्कौं । मलाई विश्वास छ, हामी देश फर्केपछि तिम्री आमा, बहिनी र भाइ पनि फर्कनेछन् ।” (पृ. ४७९) अमर मार्टिन लुथर किङसँग पनि संवाद गर्छ । किङले भन्छ “तपाईंलाई मेरो बारे धेरै जानकारी रहेछ, धन्यवाद ! म उही मार्टिन लुथर किङ, जुनियर हुँ, जो जनवरी १५, १९२९ मा एटलान्टा, जोर्जियामा जन्मेका थिए अनि जसको अप्रिल ४, १९६८ मा मेम्फिस, टेनेसीमा हत्या भएको थियो ।” (पृ. ७९) ऊ अमेरिकाका स्वर्गीय भूतपूर्व राष्ट्रपतिहरूसित पनि संवाद गर्छ । उनीहरूसित बहस पनि गर्छ ।
अनुत्तरित प्रश्न, निरुत्तर पाठक:
उपन्यासभित्र कतिपय प्रश्नको उत्तर भेटिँदैन । उत्तर खोज्ने जिम्मेवारी पाठकलाई नै जान्छ । कतिपय प्रसङ्गमा कथावाचकले पाठकको रुचिप्रति उदासीन बनेर अरूचिकर कुराको बढ्ता डिटेलिङ दिन्छ । अमर चडेको विमानभित्रका शुक्ष्मातिशुक्ष्म विवरण दिने कथावाचकले विमानमा सवार यात्री कति थिए गन्न वा परिचारिकासित सोध्न अल्छी गर्छ । “२+३+२ सिट संरचनाको फुच्चे जेट विमानको जनसङ्ख्या डेढ-दुई सयभन्दा बढी नै थियो, एउटा सानो बस्तीको जनसङ्ख्याजति नै ।” (पृ. ३) फोर्ड जीप चढेर टोर्नेडो चेसिङना गएको युवराज हराउँछ । ऊ मर्यो कि बाँच्यो ? यो प्रश्न पनि पाठकलाई नै । रवि जोन्सनले श्रीमतीको हत्या गर्यो कि गरेन ? यो प्रश्नको उत्तर चाहिँ यहाँ पाइन्छ “चारलोटको घाँटी थिच्न शक्ति सञ्चित भएका उसका हातका नसाहरू बरफ जमेझैं कक्रक्क परे । उसका काँतर र दुःखी आँखाहरू रसाए ।” (पृ. ३६०) अमर त्यत्तिका वर्ष अमेरिकामा बस्ता पनि एउटा कार किन किन्दैन ? ऊ सधैं सब-वे स्टेसन धाउँछ । अर्को प्रश्न, के आरतीले अमरको सर्प्राइज गिफ्टबाट मात्रै रिसाएर त्यसरी सम्बन्ध तोडेकी हो ? वा अर्को पनि कारण छ जुन कथावाचकले भन्न नचाहेको हो । आरतीले छोडेर गएपछि अमरले प्रतीक्षामात्र गरिरहन्छ । इमेल पर्खन्छ । एक दिन फर्केर आउँछे भन्छ । जुन कुरा त्यति व्यवहारिक हुँदैन । ऊ कहाँ गई ? कोसँग सम्बन्ध जोडी ? कहाँ बस्छे ? किन उसले आरतीको बारेमा खोजीनिती गर्दैन ? कथान्तमा अमर कहाँ जान्छ ? के ऊ नेपाल फर्कन्छ ? यी प्रश्नको उत्तर पाठकलाई ।
दुर्बलता :
आख्यान लेखनमा भनिन्छ “डन्ट टेल, शो” । टेलिङलाई शोइङमा लाँदा न्यारेसन लम्बिन्छ । कुनै पात्र फुत्त निस्कियो भने पाठकको उत्सुकता अब त्यो कहाँ जान्छ भन्नेमा हुन्छ न कि कहाँबाट आयो । त्यसैले “के भयो” भन्दा पनि “अब के हुन्छ” ज्यादा उत्सुकताको विषय हुन्छ । फ्लासब्याकका लम्बाचौडा विवरणहरू अरूचिकर लाग्छन् । पात्रको विगतको सुराकी त्यति आवश्यक नहुन सक्छ । उपन्यासमा पात्रपात्राका बाबाजेका बाल्यकालका चकचक, रुखासुखा जवानी, प्रेमकहानीका विवरणहरू पट्यारलाग्दा छन् । उपन्यासलाई कम पृष्ठमा सघन बनाउन सकिन्थ्यो । सबै पात्रको कथा एउटै शैली (फ्लासब्याक ) मा लेखिएको छ । शैलीमा कुनै चमत्कार छैन । विषयवस्तुमा पनि नवीनता छैन । जेनेटिक इन्जिनियरिङ्ग, आर्टिफिसियल इन्टेलिजेन्स, स्पेस ट्राभलिङ, टेलिपोर्टेशनजस्ता विषयलाई प्रासंगिकरुपले प्रविष्ट गराएर कथावाचनमा फ्यान्टासीलाई नयाँ आयाम दिन सकिन्थ्यो ।
केही टङ्कण / प्रुफसम्बन्धित त्रुटिहरू चाहिँ भेटिन्छन् जुन यस प्रकार छन् –
पृष्ठ ६, पङ्क्ति २३, प्रयुक्त शब्द = साजसब्जी, हुनुपर्ने शब्द = सागसब्जी
पृष्ठ ११, पङ्क्ति १६, प्रयुक्त शब्द = हाँसिदिएको, हुनुपर्ने शब्द = हाँसिदिएकी
पृष्ठ १६, पङ्क्ति ४, प्रयुक्त शब्द = छोरोअमन, हुनुपर्ने शब्द = छोरो अमन
पृष्ठ ४१, पङ्क्ति १३, प्रयुक्त शब्द = आरतीको, हुनुपर्ने शब्द = आरतीले
पृष्ठ १००, पङ्क्ति १४, प्रयुक्त शब्द = ह्युमिलियडिङ, हुनुपर्ने शब्द = ह्युमिलियटिङ
पृष्ठ ११५, पङ्क्ति ५, प्रयुक्त शब्द = चिन्तिन, हुनुपर्ने शब्द = चिन्तित
पृष्ठ १२५, पङ्क्ति ११, प्रयुक्त शब्द = तिनीहरू, हुनुपर्ने शब्द = तिमीहरू
पृष्ठ १५५, पङ्क्ति २३, प्रयुक्त शब्द = लगिन्, हुनुपर्ने शब्द = लागिन्
पृष्ठ १५५, पङ्क्ति २८, प्रयुक्त शब्द = भनिन, हुनुपर्ने शब्द = भनिनन्
पृष्ठ ४७८, पङ्क्ति २, प्रयुक्त शब्द = अलगबगल, हुनुपर्ने शब्द = अगलबगल
निष्कर्ष :
‘सरुभक्त मार्का’मा उच्च बौद्धिकता, वैचारिक बहस, दार्शनिक धरातल, शैलीको नवीनता, प्रयोगवाद, तार्किक प्रखरता, नूतन भाषिक यादृच्छिकता, कलाकौशल र अभिव्यक्तिको जादुयी क्लिष्टता अपेक्षित हुन्छन् । मन र मस्तिष्कको समुद्र मन्थन गरी अमृतपान गर्न चाहन्छन् ‘पागल बस्ती” र “समय त्रासदी” का पाठकहरू । पागल बस्तीका फ्यानहरूलाई यो कृति सापेक्षित रुपमा निराशाजनक लाग्न सक्छ । उनीहरूलाई एउटा व्यवसायिक उपन्यासकारले लेखेको बजारमुखी उपन्यासजस्तो लाग्न सक्छ “प्रतिगन्ध” । यद्यपि ‘प्रतिगन्ध’ समकालीन विश्वसाहित्यमा एउटा दर्बिलो उपस्तिथि हो । यो एउटा कस्मिक नोभेल हो । यसले विश्वको कुनै पनि कुनामा लेखिएका उपन्याससँग प्रतिस्पर्धा गर्नसक्छ । यसको अङ्ग्रेजी भर्सन प्रकाशित गरेर विश्वबजारमा लैजान सके आशालाग्दो उपलब्धि हासिल गर्न सकिन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।