नेपाली संस्कृतिका मानक व्यक्तित्वहरूमध्ये एक हुन् – बैरागी काइँला । आफ्ना भावनाहरूको अभिव्यक्तिको लागि साहित्यिक अभियानमा होमिएका काइँला जातीय पहिचान,सामाजिक मुद्दा र राजनीतिक यात्राहरूमा पनि जोडिएको नाम हो । थोरै कविता लेखेर पनि ठूलो कविको परिचय बनाएका तर अन्य सांस्कृतिक मुद्दाहरूमा धेरै लेखेर पनि कवि व्यक्तित्वको पहिचानबाट नहराएका वैरागी काइँलाको लेखन लीलाको बारेमा प्रकाशित बृहत् ग्रन्थको नाम हो – वैरागी काइँला अस्तित्वको दाबी र वर्तमान । सम्पादक/प्रकाशकहरूका तर्फबाट मुल्याङ्कन ग्रन्थ नै उल्लेख भए पनि यद्यपि यो मूल्याङ्कन ग्रन्थ नभएर व्यक्तित्व-कृतित्वको परिचय र सम्मान ग्रन्थ हो ।
मातेको मान्छेको भाषण मध्यरातको सडकसित,पञ्चायत कालको उतरार्धतिर हाइस्कुलको विद्यार्थीका लागि यस्ता स्वच्छन्द कविताको पठन स्वाभाविक पनि हुँदैन थियो र सहच पहुँच हुने कुरा पनि कम थियो । यसमा परेका यी ३ वटा शब्दहरू अझै पनि सम्झनामा छन् – मातेको मान्छे र भाषण । मात्नुका अनेक बिम्ब र अर्थ हुन्छन् तर सडकमा रक्सी खाएर मातेको मान्छेले ढल र नल नचिनेर फोहोरमा लतपतिएको घिनलाग्दो दृष्य एकातिर अनि अर्कातिर पञ्चायत व्यवस्थाको भाषण गर्दै हिँडेका बहुदलवादी नेताहरूमाथि हुने गरेको सरकारी दमन अर्थात् जेल सजायका समाचारहरू । कोही किन जेलमा पर्छन् त भनेर सुनेको/बुझेको नै राजनीतिक कारणले र त्यो पनि भाषण गर्दा भन्ने थियो । केन्द्रको कुरा गर्दा, बीपी कोइराला प्रधानमन्त्री त थिए नि तर त्यही भाषणले जेल परे भनेर सुनाइएको थियो । जिल्लाको कुरा गर्दा गोपाल कोइराला,सिके प्रसाईं र पूर्णानन्द शर्मा त भाषण गर्दै हाम्रै घर गाउँको स्कुलसम्म आइपुगेका थिए । यसै भिडमा मिसिने अर्का निर्भिक स्थानीय युवा थिए – रामप्रसाद राजवंशी । कोरोवारी गाउँ पञ्चायतका प्रधानपञ्चमा निर्वाचित रामप्रसाद राजनीतिमा किन अपेक्षित अगाडि बढ्न सकेनन्, यो प्रश्नले अहिले पनि चिमोटिरहन्छ ।
बीपी कोइरालाको कथा, पत्रिकामा प्रकाशित गरेकै कारण त्यसको सम्पादक भएका कारणले वि.सं २०२८-२९ सालतिर आफ्नै काका तेजनाथ भण्डारी पनि केही समय जेल पर्नु भएको रहेछ । धरानस्थित पिण्डेश्वर संस्कृत पाठशालाका विद्यार्थीहरूको तर्फबाट प्रकाशित ‘ओदान’ समसामयिक पत्रिका हुनुपर्छ,त्यसमा बीपी कोइरालाको कुनै चर्चित कथा प्रकाशित गरेको/भएकै कारण काका जेल पर्नु भएको थियो । यसै समयमा जिल्लाका केही कम्युनिष्ट नेताहरू पनि जेलमा त थिए तर तिनका बारेमा मानिसहरू खुलेर मुख खोल्दैन थिए ।
यस्तै परिवेशमा वैरागी काइँलाका कविताहरू हात पर्यो । यस्तो लाग्थ्यो,यो कृतिको नाम कुनै अर्को भएको भए पनि त हुन्थ्यो नि ! त्यस्तो लाग्नुको कारण थियो, कुनै अर्को आकर्षक वा शक्तिशाली शब्द पनि थाहा पाइन्थ्यो कि ! उनका कविताको पहिलो लाइन पढेर त्यतिकै लामा अमूर्त भावनाहरू लेखिएका स्कुल जीवनका ‘नोट बुक’हरू अझै पनि भेटिन्छन् कि भन्ने आश छ । यो आशले पनि सम्भावित नेपाल यात्राको लागि आकर्षण त थपिरहेको छ तर कोरोनाको विश्वव्यापी महामारीपछिको दैनिकीमा अझै सहज भएर घुमफिरको योजना बनाउन जाँगर भने पलाइसकेको छैन । यस सम्बन्धमा अर्को कुनै सन्दर्भमा छुट्टै चर्चा चलाउनु पर्ला । यो चर्चा केन्द्रित गरौँ-धरोहरमाथि धरोहर अर्थात् वैरागी काइँला अस्तित्वको दाबी र वर्तमान, माथिको केही प्राविधिक जानकारी तथा केही व्यक्तिगत अनुभूतिहरूका बारेमा ।
मेरो माया मफ़लर भए बाँधिहिँड्थेँ गलामा
कैलेकाहीँ त मन नहुँदा टाँगिदिँन्थेँ किलामा ।
सम्भवतः काइँलाको कविताकृतिको पहिलो कुनै पेजतिर यी २ लाइन पनि थिए तर हाइस्कुले विद्यार्थीको अनुशासनभित्र यस्ता माया प्रेमका कविता खुलमखुल्ला लेख्न गाउन पनि नसकिने समय ! एकातिर सामाजिक प्रतिबन्धमा परेका जाँड-रक्सी,एकातिर माया प्रेम र अर्कातिर राजनीतिक अंकुशमा परेका भाषणबाजीजस्ता शब्द । काइँलाका कविता लुकी लुकी पढेर र तिनलाई नक्कल गरेर धेरै लामा मनलाग्दी कविता पनि लेखिसकेपछि उनका नयाँ कविता पढ्न पाए हुन्थ्यो भन्ने हुटहुटी चल्न थाल्यो । तर पाए पो ! झापाबाट प्रकाशित हुने स्थानीय भानु र जुही वा राजधानीको मधुपर्कजस्ता साहित्यिक पत्रिका गाउँमा पुग्थे । कविता त तिनमा पनि हुन्थे तर वैरागी काइँलाका कविता नहुने ।
काइँलाकै कविताको नक्कल गरेर कविता लेखे पनि आफ्नै नाममा कविता लेख्ने, सुनाउने र सार्वजनिक गर्ने आँट आएन लामो समयसम्म । एकदिन मैले आफैंले कविता लेखेर अखबारहरूमा पठाउन थालेँ – सुकुम्बासी बैरागी माइलाका नाममा । धेरै वा दर्जनौँ लेख-रचना,कविता र समाचार प्रकाशित भएका छन् यो नाममा र समीप दूर दर्शन बेहोसीका नाममा पनि । अब यिनलाई पनि सोध्नु खोज्नु छ, कतै घर दलिन र बुइँगलमा अलपत्र पो परिरहेका छन् कि ?
काइँलाका कविता पढ्ने हुटहुटी बोकेर वि.सं. २०४२-४३ सालको हिउँदको कुनै एक रात घर सोध्दै म धुलाबारीस्थित वैरागी काइँलाको घरमा पुगेको छु । घरमा साँझको बत्ती बालिसकेपछि आएको पाउना फर्काउनु हुँदैन भनेर परिवारकै कर गरेपछि म काइँलाकै घरमा बास बसेँ । तर त्यो संस्कार/सत्कारको ‘अफर’ नहुँदो हो त अहिले पनि लाग्छ, मैले धुलाबारीमा अर्को बास पाउने कुनै ठाउँ थिएन । यी सबै व्यवस्थाको म कुनै योजना बनाएर त्यहाँ पुगेको थिइनँ । कविताको आकर्षणले तान्दै लगेको थियो । तर घरमा बास दिएका काइँलाको नयाँ कविता मैले पढ्न/सुन्न भने पाइनँ ।
बाँकी प्रसङ्ग माथि प्रस्तावित ग्रन्थतर्फ नै केन्द्रित गरौँ- काइँलाका कविताहरू आजका पाठक वा कविका लागि पनि अभिव्यक्तिको अनौठो शैली लाग्न सक्छन् । ग्रन्थमा धेरै चर्चा पाएको कविताले नै छ । उनका छन्द कविताका बारेमा प्राज्ञ देवी नेपालले ओझेलमा परेका प्रखर छन्द कविको चर्चाले काइँलाका कवित्व गुणको परिचय दिन्छ । यसमा जोडिएर आएका अन्य समान सन्दर्भ हुन्- इन्द्र बहादुर राई, ईश्वर बल्लभ र तेस्रो आयाम । करिब ९ सय ५० पेजको यो ग्रन्थ ठूलै कृति हो तर प्राविधिक मात्र होइन । लिम्बू संस्कृतिसँग जोडिएका उनका एक दर्जन कृतिहरू र तिनको मूल्याङ्कन/विश्लेषण यस ग्रन्थमा अपेक्षित संकलन हुन नसकेको सन्दर्भ प्रधानसम्पादक कृष्ण धरावासीको छ । लाग्छ,यस्तो किन भयो तर नभएको भए जाती हुनेथियो ।
म आधारातपछि रक्सी दोकानबाट निस्किएको छु
प्रत्येक खोंगी र खोरभित्रबाट विद्रोहको पखेटा फट्फटाउँदै
कुखुराको भाले मेरो स्वागत गर्छन् ।
आज मेरो विशालता यो पृथ्वीमाथि अटाउँदैन
यो सडकभरिको देशमाथि सास थुन्छ ।
इन्जिनियरले सुनुन्,
नेता,प्राध्यापक र कविहरूले सुनुन्
इतिहासको प्रत्येक आन्दोलनले सुनोस् यसर्थ,
पोष्टअफिसको पेटीबाट म वक्तव्य प्रसारित गर्दछु-
ए सडक हो !
एउटा मानिस तिमीमाथि हिँड्दैछ ।
म अटाइनँ तिम्रो फैलावटमा
यसर्थ म हुकुम गर्दछु-
अझै तिमीहरू फाटिदेऊ
अझै तिमीहरू च्यातिदेऊ फैलावटमा ।
सयौं बुटले प्रतिक्षण किच्चिएर
मोटरको चक्काले प्रतिक्षण पिल्सिएर
लम्पसार र उत्तानो परिसकेका ए जिन्दगीहरु !
आँखाले भ्याउञ्जेलसम्म हामी हाम्रो चारैतिर
विजयका निम्ति औ –
जिन्दगीको निम्ति उज्यालै उज्यालो मात्र देख्दछौँ ।
मोहन कोइरालहरूका फर्सीका जराहरूजस्ता कविता पनि नपढेका,एकाध साहित्यिक कार्यक्रमहरूमा आफ्ना नेपाली भाषाका गुरूहरुले सुनाएका नैतिक शिक्षा प्रदान गर्ने छन्द कविता र केही माधव घिमिरे वा लेखनाथ पौडेलका कविता पढेकाहरूका लागि काइँलाका सडकमाथिका यी कठोर अभिव्यक्ति बुझ्ने कसरी ? सिद्धिचरण श्रेष्ठ, भूपी शेरचनका कविताहरू पनि कहाँ सहज थिए र ? यस ग्रन्थमा आधा शताब्दी पुराना काइँलाका कविताको परख प्राध्यापक अभि सुवेदीले गर्नु भएको छ । सुवेदी लेख्नुहुन्छ-‘हाम्रो समालोचना सिद्धान्तमा पनि ‘न्यू क्रिटिसिज्म’ को अध्ययन र प्रभाव हुनुपर्छ। आफ्नो मौलिकता चिन्न पनि अमौलिक ज्ञान चाहिन्छ भन्ने पनि सत्य हो ।’ व्यक्तिगत स्वतन्त्रता,गरिबी,भोक,शरणार्थी जीवन,युद्ध-हिँसा,प्रेम,प्रकृतिजस्ता विषयमा उनका थोरै कवितामा धेरै अभिव्यक्ति समेटिएको स्वीकारिएको छ यस ग्रन्थमा ।
नेपाली भाषाका परिचित साहित्यिक स्रष्टाहरू दुबसु क्षेत्री,कृष्ण बराल,रत्नमणि नेपाल,नारायण चालिसे,धर्मेन्द्रविक्रम नेम्बाङ्ग र कृसु क्षेत्रीले यस ग्रन्थको सम्पादनमा साथ दिएका छन् – प्रधान सम्पादक धरावासीलाई । सम्पादकीय र आमुख स्पष्टिकरणका करिब ३० पेजमा प्रधान सम्पादकले काइँला र तेस्रो आयामको पृष्ठभूमि केलाएका छन् । काइँलाका व्यक्तित्व-कृतित्व,समालोचना,संस्मरण,अन्तरवार्ता र केही प्रतिनिधि कविता यस ग्रन्थका फैलावटभित्र समेटिएको छ-करिब ७० जना लेखकहरू मार्फत् ।
अन्त्यमा, यो हप्ता नेपाली राजनीति/संस्कृतिका वरिष्ठ साधक समाजवादी चिन्तक प्रदीप गिरीले यस धराबाट हामीलाई छोडेर गए । हामी यसमा दुखी छौँ र गिरीले यस धाराबाट विदा लिँदा हामीलाई(नेपाली समाजलाई) अपुरणीय क्षति भएको दस्ताबेजीकरण गरिरहेका छौँ । सबैलाई थाहा छ,यो धरा सबैले छोडेर जानुको विकल्प छैन । प्रधानसम्पादक धरावासीको नेतृत्वले यस ग्रन्थमा काइँला दाइले यो धारा छोडेर गएपछि हुने अपुरणीय क्षतिलाई केही थुनछेक गरेर यसै धरामा राखिदिएका छन् । यो अरूका लागि पनि उदाहरणीय प्रेरणाको अभिलेखीकरण हो-हुनुपर्छ,आँखा र चेतना हुनेहरुका लागि । यो ग्रन्थ किन र कसरी ? प्रधान सम्पादक कृष्ण धरावासी नेपाली साहित्यका वर्तमान पुस्ताका आफैं धरोधर हुन् । यी धरोहरले अर्को धरोहरलाई किन टेवा दिए यसरी ? लेख्छन् – ‘अनि सोचेँ , हामीले कसैको बारेमा केही राम्रै काम गर्ने हो भने ऊ बाँचेकै बेलामा उसले पनि थाहा पाउने गरी नै गरेको राम्रो । उसले जीवनमा गरेका कामहरूको मूल्याङ्कन उसको जानकारी हुने गरी नै गरेको उचित । यो विचार बढ्दै गयो र मेरो आँखामा वैरागी दाइको अनुहार नाच्यो । हो ! अब काँल्दाइ हुँदा हुँदै उहाँमाथि पनि यस्तै ग्रन्थ निकाल्नुपर्छ र उहाँको अनुहारको प्रतिकृया हेर्नुपर्छ
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।