
केही दिनदेखि मेरो हातमा छ – एउटा कथासङ्ग्रह । म यसभित्रका कथाहरूमा तानिएको छु । म बजारमा आएका धेरै किताबहरू पढ्दिनँ । पढ्ने सम्भावना पनि हुन्न । नितान्त थोरै किताब मात्रै पढ्छु । जो सुन्तला,मेवा र अम्बाजस्ता मीठो फ़ल खाएको अनुभूत गर्न सकियोस् ।
– पुस्तक करकाप र लहडमा पढ्न मन पर्दैन । कतिपय पुस्तकहरू काँचो हलुवाबेदजस्ता लाग्छन् । जति खायो उति टर्रो हुँदै जान्छन् । त्यस्ता पुस्तक कसरी पढ्न सकिन्छ । हलुवाबेद पनि निश्चित समय राख्यो भने मात्रै गुलियो र मीठो हुन्छ । हतारमा खाँदा तीतो र टर्रो !
– कथाभित्रका पात्रहरूसँग मौन संवाद गरिरहेको छु । उनिहरूको आनीबानी/ शीलस्वभाव /चरित्र / चेतना नियाली रहेको छु । सचेत पाठकले कथा मात्रै पढ्नुपर्छ भन्ने लाग्दैन । उसले तीनै पात्रहरूसँग अनेकौं सम्बन्धहरू बिस्तार गर्न सक्छ । कथाको विस्तार र विनिर्माण गर्नसक्छ । जो मभित्रको पाठक घनिभूत भएर लागिरहेको छ । कथाका पात्रहरूसँगको प्रेम / सद्भाव / सम्बन्ध / हार्दिकता / आरोप / आग्रह अनूभूत गर्न्न कत्तिको सम्भावना हुन्छ ! मानिसहरू निर्जीव र काल्पनिक पात्रहरूको नियतिलाई किन आँसुमा अनुवाद गरिरहेका हुन्छन् ?
– पाठक जब कथामा मग्न हुन्छ । उसले कथाका पात्रहरूसँग सम्बन्ध बढाउँछ । मनभित्र पात्रहरूको प्रयोग गरेर विभिन्न उप-कथाहरू निर्माण गर्छ । नयाँ- नयाँ परिवेश सिर्जना गर्छ । घटनाहरू घटाउँछ । कथाभित्र मलाई कथाका पात्रहरूको मनोदशाले मनोरन्जन मात्रै दिएका छैनन् , भावुक र गम्भीर पनि बनाएका छन् । कथाकारले त एउटा सुन्दर कथालाई चाहिने परिवेश र पात्रहरूको मात्रै परिकल्पना गर्छ । उसको अपेक्षा कथाको उत्कर्ष र गतिशीलतामा हुन्छ । कथाकारहरूको पनि स्वार्थ हुन्छन् । कथाकारले कथाका पात्र निर्माण गर्छ, ती पात्रलाई कथाको निश्चित भूगोलमा अनुबन्धित गर्छ र कथासँगै सम्पूर्ण पात्रहरूको आयु सकिदिन्छ ।
– यस हिसाबले हेर्दा मलाई लेखक ‘निर्मम’ लाग्छ । तपाईंलाई लाग्यो होला – ‘लेखक निर्मम हुनसक्दैन ।’ म यो जान्दछु कि, दर्शक, पाठक रुवाउने फिल्म, नाटक, उपन्यास र कथाका सर्जक आफूहरू भने पात्रको नियतिमा कहिल्यै रुँदैनन् ! उनिहरूलाई ज्ञात हुन्छ । यी अस्थायी र काल्पनिक हुन् । लेखक र दर्शकमा त्यही फरक छ । यसर्थ लेखक ‘निर्मम’ हुन्छ भन्ने लाग्छ । लेखकलाई ‘निर्मम’ शब्द मैले निक्कै दु:खका साथ प्रयोगमा ल्याएको हुँ । लेखक अनेकौं घटनाहरूको परिकल्पनाकार हो । यसर्थ ऊ मानिसको चेतनामा खेल्ने सृष्टिकर्ता पनि हो । ऊ अनेकौं प्रयत्न गरेर पाठक/ दर्शकको मस्तिष्कमा खेल्छ । आफू रुँदैन – पाठक / दर्शकहरूलाई रुवाउँछ । गम्भीर प्रभावको घनचक्करमा घुमाउँछ ।

श्रीबाबु कार्की उदास
– फिल्ममा होस् या नाटक हेर्दा नै किन नहोस्, दर्शक आँखामा टिलपिल आँसु चुहाउँदै हलबाट बाहिर निस्किन्छन् । एउटा दर्शकको सामान्य जीवनमा प्रभावोत्पन्न गर्ने पात्र तीनघन्टाको आयुमा मात्रै किन सिमित हुन्छ ? के ती पात्र दर्शकको मस्तिष्कमा अविचल बाच्न सक्दैन ? मलाई कथा पढ्दा पनि त्यस्तै लाग्छ । कथाका पात्रहरू पाठकका मस्तिष्कमा वर्षौं बाँचिरहन पनि त सक्छन् ।
कथाकार विश्वेश्वरप्रसाद कोइरालाको मदेशतिर कथाकी पात्र ‘विधवा’ र हरिश कल्पितको ग्याब्रियले कथाभित्रकी पात्र ‘मिका’लाई म सम्झिरहेको छु । कोइरालाको ‘विधवा’पात्रमा घरजम र प्रेमकी अनन्त भोकी पात्र हुन् भने कल्पितको ‘मिका’ घरजम भत्काएर, प्रेमले अघाएकी फुक्काफाल पात्र हुन् । सायद यी दुबै पात्र मेरो मस्तिष्कमा अनेकौं कथा-उपकथा बनाए बसिरहने प्रतिनिधि पात्र हुन् । यस्ता पात्रहरू मसँग धेरै छन् ।
– मेरो मनमा सधैं एउटा प्रश्नले हिर्काइरहन्छ – के कथासँगै कथाका पात्रहरूको पनि आयु सकिन्छ त ? पाठक भएर सोच्दा त्यो सम्भावना छैन । हरेक पाठकका मस्तिष्कमा आफूले पढेका कैयौं पात्रहरू जीवित छन् / हुन्छन् ।
अहिले मैले पढिरहेको कथासङ्ग्रहको नाम हो – ग्याब्रियले ।
– हामी छोटो समयमै आत्मीय भयौँ । यो सम्बन्धको पोयो भनेको साहित्य नै हो । हामी प्रज्ञा-प्रतिष्ठानमा केही वर्षअघि भेटिएका थियौँ ।
– पहिलो भेट कवि छविरमण सिलवाल र कथाकार सुमन सौरभ र प्रखर समीक्षक राजकुमार बानियाँमार्फत परिचय भएको थियो । हरिश कल्पितका केही कथाहरू पढेको थिएँ तर उहाँसँग भौतिक रूपमा परिचय थिएन ।
अहिले प्रायः फोन-फान चल्छ ।
कहिले उहाँको कुरा लामो हुन्छ – म सुन्छु ।
कहिले मेरो कुरा लम्बिन्छ – उहाँ सुन्नुहुन्छ ।
– एउटा शान्त,शालीन र मृदुभाषी कथाकार लाग्छ – हरिश कल्पित । कुनै आत्माश्ला नभएको, छलकपट नसिकेको, स्वार्थको माकुरे जालभन्दामाथि हुनुहुन्छ भन्ने अनुभूति गरेको छु उहाँलाई ।
– हरेक पटक साहित्यकै कुराकानी हुन्छ । हामीले लिने साहित्यको चिन्ता र चासोले नेपाली साहित्यको उन्नयनका लागि खास अर्थ नराख्ला तर हामीलाई भने राम्रै लाभ हुनेदेख्छु । हामी भौतिक रूपमा एकदुई पटक मात्रै भेटिएका छौँ । हाम्रो मित्रता भर्चुअल नै हो । उहाँ अलिक टाढा हुनुहुन्छ – एसियाको शान्त र समृद्ध मुलुक जापानमा । म मन्दिरै मन्दिरको सहर काठमाडौंमा । हेर्दा हामी भौतिक रूपमा निक्कै टाढा छौँ तर आत्मीयताका दृष्टिकोणबाट हामी नजिक छौँ । लेखकीय पोयोमा बलियोसँग बाटिएका ।
मैले उहाँको पछिल्लो कथासङ्ग्रह ‘ग्याब्रियले’ पढेँ । निक्कै सुन्दर कथासङ्ग्रह लाग्यो मलाई । कथाका पात्रहरू जीवन्त छन् । लेखनको शैली मीठो छ । उहाँका केही फुटकर कथाहरू पढेको थिएँ । ती कथाहरूले मेरो मस्तिष्कमा निक्कै प्रभाव जमाएर बसेका थिए । सङ्ग्रहका रूपमा भने ‘ग्याब्रियले’ नै हो । उहाँको कथा लेखन शैली अब्बल लाग्यो । हरेक कथाहरूभित्रको संसार सुन्दर लाग्छन् । परिवेशको जीवन्त चित्रण छ । पात्रहरूको प्रस्तुति यथार्थ छन् । कथाको बुनोट निक्कै कसिलो र परिपक्व छन् ! हरेक कथाको भाव निक्कै पोटिलो र खँदिला छन् ।
– तेह्र कथाहरूको अनुक्रम रहेको ग्याब्रियले कथासङ्ग्रह भित्रको पहिलो कथा हो – मोहभङ्ग । समाजको मनोविज्ञान र सामाजिक चित्र प्रष्ट देखिने यो कथामा एउटा शान्त र सभ्य परिवारमा एउटा खराब पात्रको उपस्तिथिले परिवारको सभ्यता कसरी खलबलिन पुग्छ भन्ने कुरा सुन्दर ढंगले देखाइएको छ । यो हामीले भोगिरहेको समाजको एउटा पेचिलो प्रतिबिम्ब हो ।
– धेरैलाई पाठकहरूलाई यो कथासङ्ग्रहको शीर्षकले आकर्षित गर्छ । साँच्चिकै अनौठो छ सिङ्गो कथासङ्ग्रहको शीर्षक ।
– म पुस्तक पाउने साथ शीर्षक कथामा पुग्छु । यो कथा मनोवाद शैलीबाट प्रारम्भ भएको रहेछ । खासमा यो कथा वियोगान्त कथा हो । सुन्दर देश जापानकी केटीसँग (थोमस) एउटा आप्रवासी युवाको वियोगान्त प्रेमलाई बढो मर्मस्पर्शी ढंगले देखाइएको छ । तीनै जोडीबाट जन्मिएकी छोरीको नाम हो – ग्याब्रियले । जो युरोपेली नाम हो । ग्याब्रियलेको अर्थ हुन्छ – ‘ईश्वर नै मेरो शक्ति हो ।’ यो नामले पुस्तकलाई निक्कै कुतूहलपूर्ण सम्मोहन गराउँदछ ।
– सङ्ग्रहका हरेक कथाहरूमा पृथक स्वाद छ । शैली छ र सौन्दर्य छ । कल्पितका कथामा कतै दर्शनको सुवास छन् अनुभूत गर्नुपर्ने । कतै विचारका सिँडीहरू छन् उक्लनु पर्ने । कतै कल्पनाको उडान छन् – उड्नु पर्ने । कतै संस्कृतिका सौन्दर्य छन् – हेरिदिनुपर्ने त कतै परदेशीको पीडा छन् – बुझिदिनुपर्ने ।
– नेपाली कथा भण्डारमा ग्याब्रियलेको उपस्थित सङ्ख्यात्मक मात्रै नभएर गुणात्मक उपस्तिथि पनि हो । यो पुस्तक समकालीन कथा लेखनमा बेग्लै स्वादको छ । यसको सौन्दर्य हेरिएभन्दा पृथक्, सोचिएभन्दा बृहत् र तुलनात्मक रूपले बौद्धिक छ भन्ने मेरो बुझाइ छ ।
– हरिश कल्पित जति शान्त छन् – उनका कथाहरू पनि शान्त छन् । शालीन छन् र कोमल छन् । उनका कथाहरू कहीँ कतै अप्रिय लाग्दैनन् । हरेक कथाको बुनोट बहुआयामिक छन् । कति कथा प्रतिकात्मक र मनोवैज्ञानिक छन् । पात्रहरू शालीन छन् । कुनै पनि पात्रको उपस्थितिमा अतिशयोत्ति, अराजक र अस्वभाविक देखिँदैन । धेरै कथाहरूमा आधुनिक परिवेशको चित्रण छ । प्रविधिमैत्री छन कथाको भावभूमि । उनका पात्रहरू कैतै फोनमा झुल्किन्छ्न् । कतै म्यासेन्जरमा संवाद गर्छन् त कतै कफि हाउस र रेस्टुरेन्टमा कथाको परिदृश्य निर्माण गर्न पुग्छन् । कथाकार जीवनयापनका क्रममा प्रवास रहेकोले कतिपय कथाहरूमा प्रवासीय सौन्दर्य मगमगाएको पाइन्छ । त्यस्ता कथाहरूमा पात्रको मनोविज्ञानमा पनि विविधता छ ।
र अन्त्यमा…
ग्याब्रियले सरल र सुन्दर छ । म शतश: हार्दिक बधाई भन्छु । प्रिय कथाकार हरिश कल्पितलाई । अझै मीठा-मीठा कथाको सादर अपेक्षा गर्छु । आजलाई केवल यिनै पाठकीय शब्दोपहार मार्फत बिदा माग्छु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

