मान्छे बाँधिएको छ साँध, नियम वा आचार हद मर्यादाले। कुनै परिस्थिति वा प्रतिक्रिया स्वरुप हुने ठूलो आघात सँहदै, मानसिक ठक्कर खाँदै मान्छे बाँच्दैछ जीवन। सिमाना तोक्ने, बनाउने, भत्काउने मान्छे। डल्लै पृथ्वीको सिमाना बनिबनाऊ कहाँ हो र ! पृथ्वीको भाग लाग्यो बिस्तारै, र कोरियो सिमाना। देश-देश बनियो, आ-आफ्ना सिमाना कोरिए। भारत देशमा अन्य देशभन्दा भिन्न धेरै आवश्यक-अनावश्यक सीमा तोकियो। देशको सिमाना, गाउँको सिमाना कोरियो। त्यतिमात्र कहाँ हो र ! जाति-धर्म, गरीब-धनी, राजनीति र आरक्षण-को सिमाना तोकियो। ठूलो र सानो छुट्याइयो। सीमा सङ्घातकै कारण आज मान्छेलाई पाइला-पाइलामा बाँच्न गाह्रो छ।

सिमानाले संसार छुट्टिए पनि प्रकृतिलाई सिमानाले छेक्दैन। चरालाई, आकाशलाई, नदीलाई, घामलाई, जूनलाई सिमानाले छेक्दैन। तर हामी सिमानाको निम्ति झगड़ा गरेर, बाझेर, कुटाकुट-हानाहान, मारामार गरेर प्राण समेत गुमाउँछौ। घर-झगड़ा, गल्ली-गल्लीमा झगड़ा,राज्यमा-देशमा झगड़ाको मुख्य गुँड़ नै सिमाना हो। अझ गाउँ-घरको छिमेकी माझ, छिमेकी देश माझ जहिल्यै पनि सिमानाको निम्ति झगड़ा भइ नै रहेको हुन्छ। सिमाना मिच्यो ? यस प्रश्नले बाँचुञ्जेल छोड़दैन सिमाना राख्नेहरूलाई। मान्छे नै हो सिमाना सिमाना भनेर मरेर जाने। मरेर केही लाने पनि होइन। जीवनको परिधि पनि जन्मिएर मर्ने समयसम्मको सीमाभित्र बाँधिएको छ ।

यस्तै मानव जीवनको सीमा सङ्घातलाई विभिन्न प्रकारले अनि सामाजिक दृष्टिकोणले हेरेर सजाइएको कथासङ्ग्रह हो सीमा सङ्घात। कथाकार रमेश थापाले आफ्नै गाउँ-समाज, कमान-बस्ती-सहरको यथार्थ चित्रण उतारेका छन् कथातिर।

शीर्षक कथा सीमा सङ्घातमा बीरबहादुर सिमानालाई ठूलो कुरा मान्छ। तर मनमायाको विचार फरक छ। बीरबहादुर आफ्नी स्वास्नी मनमायालाई सिमानाको महत्त्व बुझाउँदै भन्छ- “ सिमाना कोर्नु आइडेन्टिटीको छापा लाग्नु हो। ”

मनमायाको विचार छ बग्ने टिस्टा, उड्ने चरी, बारी-कान्लाको डिलडिलमा रोपेको सयपत्री फूललाई सिमानाले बाँध्न सकेको छैन। कथाकार रमेश थापाले कथाकार गुरुप्रसाद मैनालीको चर्चित कथा परालको आगो-बाट सिमानाको कुरा बुझाउन एकांश उद्धृत गरेका छन्। चामेको भैंसी कोकलेको बारीमा पस्दाको घटना उल्लेख छ कथामा। यही मौका छोपेर मनमाया भन्छे- “ देख्यौ….. ! सिमानाले विभेद ल्याएको ? झगड़ा मच्चाएको ? यसले हानाहान पार्छ। छर छिमेकमा बाझाबाझ र कुटाकुट गराउँछ। मारामार पनि हुन्छ कोहीबेला। युध्दको कारण, नर संहारको कारण सिमाना हो।”
बीर बहादुरले सोंचेको सिमानासँग मनमायाको सोंचाईंको सिमाना मिल्दैन। सारा संसार एउटा परिवार र संसार एउटा गाउँ होस् भन्ने विचार राख्ने मनमाया भन्छे – मनको सङ्कुचित सिमाना हामीले तोड्नसके सिमानाको जरुरत हामीलाई पर्दैन।

बारीमा काम गर्दागर्दै सिमानाको कुरा लिएर बुढ़ा-बुढ़ीको गन्थनमै सकिएको छ कथा।

देश सेवामा जाने पल्टने परिवारको जीवनको वास्तविकता पाइन्छ भोलि कथामा। मेनुकाको जीवनमा आनन्दको भोलि, खुसीको भोलि हुनै सकेन। देशको सिमाना रक्षा गर्दागर्दै मोहन सहिद हुन्छ। कथान्तमा भनिएको छ – तेरो बाबुको डेड बडी भोलि ल्याइन्दैछ छोरी…! भोलि …। गोर्खा सिपाहीको वास्तविकता छर्लङ्गिएको छ कथामा।

देवराज शर्मा (दार्जीलिङ)

सहर र गाउँको जीवन्त चित्रण आँखा अघि झल्झती आउने कथा धारा-ले कालेबुङको पानीको तीतो तर सत्य समस्यालाई उदाङ्गो पारिदिएको छ। पानी थाप्दाको हानाथाप, झगड़ा आँखा अघि चित्र दर्शिन्छ। अनेपालीहरूले कालेबुङ ढाकिसकेको अनि नेपालीहरू अल्पसङ्ख्यक हुन बेर छैन भन्ने कटाक्ष छ कथामा। कालेबुङमा बस्ती-बस्तीमा नेपालीहरू नै देखिन्छन्, तर बजारमा फाटाक-फुटुक मात्र छन् नेपाली भनाउँदाहरू। सबै अरूकै । पानीको निम्ति रातदिन लड़ाई । शिक्षाको होड़बाजी, शिक्षाको व्यापारप्रति तीब्र व्यङ्ग्य छ कथामा। जे सुकै होस् त्यसले त सकी-नसकी त्यत्रो पैसा तिरेर सहरको दामी भयङ्कर स्कूल पढ़ाइरहेको छ त, हामी कमाउने भएर पनि किन त्यहाँ नपढ़ाउने भन्ने विचारले ती भयङ्कर स्कूलहरूलाई शिक्षाको व्यापारी बनाइदिएको छ। जहाँ महङ्गो त्यही दामी ! सोच हिजआजको। देखासिकी, आडम्बर, स्वाङ, घमण्ड यस्तैहरूले आफ्ना छोरा-छोरीलाई भविष्यमा बिगार्दैनन् भन्ने के ग्यारण्टी छ। तरै पनि हाम्राहरू सहर-बजारमै रमाउँछु भन्ने भ्रममा नराम्रो दुःख पाइरहेको कुरा आँखाले देखिएको छ। बस्तीमा जन्मिएर बस्तीमै हुर्किएर बस्तीकै स्कूल पढ़ेर केही राम्रो काम पाउन साथ बस्तीलाई थुक्ने, घृणाको दृष्टिले हेर्नेहरूको लहर पनि कम्ति छैन पहाड़मा। पानी बरू किनेरै चलाउँछु, राती पनि त बजार घुम्न सकिन्छ। यस्ता विचारले मानसिकता छर्लङ्ग पार्छ ।

सहरको खुल्ला र राम्रो जग्गाहरूमा ठूल्ठूला बिल्डिङ अनि दोकान खोलेर अरूले नै राज गरिरहेका छन् भने हाम्राहरू छेल लागेको अँध्यारो बिल्डिङमा रातदिन अँध्यारै मुख लाएर जीवन काट्न बाध्य छन् । हिज-आज घर कहाँ बनाउँछन् र मान्छेहरू! एक्ला-एक्लै फ्ल्याटमा आधुनिकताको ढोङ रचेर जबर्जस्ती रमाउन खोज्छन्।
संयुक्त परिवार भगवानको देन हो। मिलेर बस्न सके दुःख-सुख सजिलै काट्न सकिन्छ। छुट्टा-छुट्टै बसे उन्नति हुन्छ अरे, भन्ने फोस्रो आडम्बरमा आफ्नै घर-परिवार, बाबा-आमालाई लत्याएर खुसी भएर बाँच्छन् हिजआजका सन्तानहरू। यस्ता सबै कुरा बुझेका शोभा सहरमा निस्सासिन्छे।

पल्टनेकी स्वास्नी शोभा छोरालाई सहरको राम्रो स्कूलमा पढ़ाउन कालेबुङमा भाड़ामा घर लिएर बस्छे। शोभा मार्फत कथाकार रमेश थापाले समस्यै-समस्याको कालेबुङको वास्तविक चित्रण उदाङ्गो पारेका छन्। गाउँको आफ्नोपन, परिवारसँगको रमाइलो जीवन, गाउँकाहरूको मायाले जीवन सजिलो हुन्छ, शोभा सोच्छे। शिक्षाले सहर-बजार र गाउँ-बस्ती छुट्टाउँदैन। राम्रो शिक्षा त गाउँमा पनि पाइन्छ, यस्तै कुरा सोच्दै शोभा भन्छे- “ गाउँको पढ़ाइभन्दा धेर फरक छैन सहरको शिक्षा। मनन गरी शोभाले। चिन्तन गरी। विद्या होइन, व्यवसायदेखि उसले स्कुलमा।”

राजनीतिको सिमाना मडारिएको कालो बादल कथामा दुःख-दरिद्र कमानेको जीवन छ । नेपाली-आदिवासीको सम्बन्ध छ । नेपालीहरूको ठूलो, फराकिलो मन, दयालुपन देखाइएको छ भने अरूको उक्साइमा उक्सिने गरीब कमाने व्यथासँगै गोर्खाल्याण्डको आन्दोलनको कुरा छ। गोर्खाल्याण्ड भयो भने आदिवासी र अरु जातिको अवस्था के हुन्छ भन्ने उक्साइमा लागेको आदिवासी मङ्गले रक्सी खाएर मातेर आएर आफूप्रति लगाएको गुण बिर्सिएर सुकवीर नेपाली दम्पत्तीसँगको सम्बन्ध बिगारेको छ। चियाकमान बन्द हुन्छ। फेरि खोल्नुको निम्ति राजनीति हुन्छ। कमानेको शोषण गरिन्छ। अर्काको होहोरीमा लागेर अर्काको पैसामा मात्नु पाएपछि आफ्नो छिमेकीसँगको वर्षौदेखिको गहिरो सम्बन्ध पनि चक्नाचूर भइदिएको छ । राजनीतिले सबैभन्दा बेसी प्रभाव पार्ने र बिगार्ने भनेको गरीब-दुःखीलाई हो । मतलबको निम्ति यूज एण्ड थ्रो गरिन्छ। जसरी आदिवासी मङ्गलेलाई गरियो। यूज एण्ड थ्रो हुनेहरूलाई पनि खै किन हो मज्जा नै आइरहेको हुन्छ। डुवर्सको आञ्चलिकताको स्वाद चाख्न पाइन्छ कथावस्तुमा।

कमान बन्द गर्नु राजनीति अनि खोल्नु पनि राजनीति। कमान बचाऊ कमिटी बनाएर कमान खोल्नेभयो। कथामा गोकुल नेवार मार्फत भनिएको छ –

“युग युगदेखि मिलेर बसेको आदिवासी-नेपालीहरूको नङ-मासुको मात्र होइन दुधको सम्बन्ध छ। मेलामा काम गर्दा क्रेच होममा छँदा हामीले को आदिवासी को नेपाली सराबरी दुध चुसेका छौ। बिहेबारी गरेका छौ आपस्तमा । यसैले नेपाली आदिवासी शत्रु होइन भाइ-भाइ हो ।”

युवत्व सम्प्रीतिको कथा पढ़दा कथातत्वको अभाव खटकिन्छ, यसलाई अकथाको भीडमा राख्न सकिन्छ। सहपीडा कथामा कालीझोड़ा विद्युत परियोजनाको काममा धेरैजसो बाहिरबाट अनेपालीहरू आएर काम गर्छन्। देशभरिका विभिन्न जातिका मानिसहरू भेला हुन्छन्। बङ्गला भाषा, हिन्दी भाषा, अङ्ग्रेजी भाषाका वाक्यहरूले कथा सजिएको छ । राजवंशी र गोर्खाको अस्तित्वको चर्चा पाइन्छ कथामा । आधारभूत आवश्यकताहरू – शिक्षा, स्वास्थ्य, पिउने पानी, रोजगार आदिमा वञ्चित भइरहेको गोर्खा- राजवंशी जातिको उन्नति हुन नसकेको कुराको चर्चा छ कथामा। जातिको अस्तित्व, अधिकारको कुराहरू पनि उठेको छ ।

पार्थक्य कथामा गरीब-निमुखाहरूबाट घुस खाने वीरविक्रमलाई “ किरा परेर मर्छ हेर न ….” पीड़ितहरू सराप्छन्। आजको समय अर्कालाई नराम्रो गऱ्यो भने आफ्नै नराम्रो हुनेछ भन्ने कुरा स्पष्ट छ। वीरविक्रमको स्वास्नी कल्कलाउँदो उमेरमै मरी। छोरा कुलतमा फँस्यो। कागतीको बोटले समयमै उपचार पाएर मर्न लागेको बोट पनि सप्रियो । छोरा ड्रग्स सेवनको केसमा विद्यालयबाट निकालियो। आजको समाजको चित्रण छ कथामा । वीरविक्रम अन्तमा सोचिरहन्छ – “ कागतीको विरुवा मेरो छोरो किन भएन। ” कथा साधारण भए पनि सरकारी व्यवस्था अनि घुसखोरीप्रति कसिलो व्यङ्ग्य छ।

ऐना कथाले पहाडमा अलि-अलि पढेकी नक्कली चमेली, सब्जी बेच्ने भैयाहरूको वास्तविकता उदाङ्गो पार्नुको साथसाथै कथा पढ्दै जाँदा कथाकार रुपनारायण सिंहको धनमतीको सिनेमा स्वप्न कथा झल्झल्ती आउँछ, कतै त्यस्तै त हुँदैन भन्ने विचारहरू लामेताँत आए पनि कथाकार रमेशले कथान्त अत्यन्त विचार पुराएर गरेका छन्। धनमतीको सिनेमा स्वप्न दाजुको किताबबाट पढ़ेकी चमेलीको चेत समयमै खुल्छ। भैयाहरूले सोझी चमेलीजस्ता नक्कल-झक्कलमा रमाउनेहरूको मनोविज्ञान बुझेर नानाथरि सामान ल्याइदिएर कसरी लट्याउन खोज्छन् भन्ने कुरा देख्न पाइन्छ कथामा।

वरको रुखको रुपमा सिमानामा उभिएको वीरबहादुरको कथा हो इतिहास पीडा । वीरबहादुरले हाम्रो इतिहास बोकेको छ। इतिहासमा अङ्ग्रेज आए, गए। वीरबहादुरले केही मागेन । इमान्दारपूर्वक चुपचाप सिमानाको सुरक्षा गरिरह्यो। यूज एण्ड थ्रो हुलुपऱ्यो वीरबहादुरहरू। लोभ-लालचमा नफस्ने वीरबहादुर युग-युगदेखि सेन्ट्रीमै रमाइरहेको छ। देशप्रति गद्दारी गर्न नसक्ने वीरबहादुर युद्धमा होमियो। वीरबहादुरले देशको निम्ति आफ्नो ज्यान गुमायो। तर ऊ शहीदको सूचीमा परेन। हाम्रो विवशता, वास्तविकता र हाम्रो रगतको आलो इतिहास छर्लङ्ग छ कथामा।

अर्को बाटो कथाले आजको जल्दोबल्दो समस्या बेरोजगराको कुरा निर्धक्क उठाएको छ। शिक्षित शरदले अन्तर्वार्ता दिँदा-दिँदा पनि सफलता हात लाग्दैन। कथामा रजर्भेसनले गर्दा राम्रो पढेको योग्यहरूले काम पाउन नसकिरहेको कुराहरू स्पष्ट छ। छिरिङ र निमकितले रिजर्भेसनको स्वाद चाखे तर शरद भने लिखित परीक्षा पास गरेर अन्तर्वार्तामा पनि अब्बल हुँदा तीन लाख घुस मागिन्छ। वर्तमान व्यवस्थाप्रति कटाक्ष छ कथामा। “ जेनरल भएर जन्मिनु अभिशाप भयो- ऊ सोच्छ कोही बेला ।”

कथामा पहाडबाट पढ्न अनि काम गर्न भनी आएका केटीहरूको चरित्र र चर्तिकलादेखि निमकितले। उच्छृङ्खल लुगाफाटा लगाएर हिँडेका केटीहरूदेखि परजातिका अल्लरेहरूले जिस्काएका, सिटी मारेका निमकितले आफ्नै आँखाले देखी। परजातका पुरुष साथीहरूसँग मोटर साइकल चढेर सुकुनाको जङ्गल, बङ्गाल सफारी, टिस्टा ब्यारेज, फूलबारी, सुबुकको जङ्गलतिर घुम्ने गरेका पनि उसले देखेकी छ- सुनेकी छ। यत्ति मात्र कहाँ हो र। अझ सुनेकी छ उसले होटेलतिर बदनाम भएको पनि । यस्तो हुँदाहुँदै कतिजना नराम्रो धन्धामा लाग्ने गर्छन् र जिन्दगी बर्वाद बनाउँछन्। सर्वस्व लुटिएपछि कतिजना गाउँ फर्किन्छन्। कथामा शरद सम्पदालाई माया गर्छ। सम्पदा शरदसँग बिहे गर्न चाहन्छिन्, तर शरद बेरोजगारीपनको हीनताबोधले ग्रस्त छ। कथान्त हेरौँ –“ … जन्मायो, हुर्कायो,पढायो, बढायो। बुढ़ेसकालमा सुख दिन्छ कि भन्यो छैन। सामरद भइसक्यो। एक पैसाको कमाइ छैन। लाज सरम पनि छैन। बाउको हुटेलमा खायो। आधा दिनसम्म सुत्यो। …. उठ् ….साला…।
गनगनिँदै बाबुले सिरक तानिदिँदा मात्र शरदको निद्रा भङ्ग भयो। ”

अन्तमा शरदले सम्पदाको बिहेको निमन्त्रणा पाएपछि कथा सकिन्छ। कथामा आजको यथार्थ चित्रण पाइन्छ। घुस दिने नराम्रो व्यवस्था, रिजर्भेसन सिस्टम, बेरोजगारले ग्रस्त आजको शिक्षित युवापिँढीको वास्तविकता राखिएको छ, तर शिक्षित शरदलाई स्व-निर्भर बन्न सक्नुपर्छ भन्ने ज्ञान शून्य छ कथामा।

सासडोरी कथामा जीवनको परिभाषा गाँठै-गाँठो परेको डोरीमार्फत दिइएको छ। कथाअनुसार टिकारामको आफ्नै टेन्ट हाउस छ, एउटा महोत्सवको निम्ति अर्डर पाएको छ। सबैजना मिले धुरी बाँध्न डोरीको गाँठो फुकाउन खोज्छन्। आयोजक मण्डलीका एकजनाले यो डोरी काटेर टुक्रै-टुक्रा पारेर फ्याँकिदिनुपर्ने कुरा राख्छन्। तर टिकाराम यस डोरीलाई आफ्नो अस्तित्व मान्दै भन्छन्- “ यो निर्जीव डोरी मात्र कहाँ हो र भाइ! टिकारामले अब नबोली भएन – यो त जीवनको डोरी हो। हामी सबैको अस्तित्व टिकेको छ यसमा, भविष्य पनि। आज नभए भोलि तिमी हामीले यो गाँठो खोल्नै पर्छ। नत्र यति ठूलो उत्सव कसरी सम्पन्न गर्ने। ” कथावस्तुको अभाव देखिन्छ कथामा।

भोक कथामा पनि सरकारी काम पाउन नसकेको गुनासो छ, तर शरणलाई स्वनिर्भर बनाइएको छ। पढेको शरणलाई धोका दिएर नोकरी गर्नेलाई हेर्नु भन्ने साथीहरूको सल्लाहमा आएर रेशमाले माध्यमिक पढेर पल्टन गाको पदमसित बिहे गरी। सबै राम्रै चल्दै थियो, तर पदमको सङ्कुचित विचारसँग दिक्क हुनथाली रेशमा। एउटा छोरा छ उनीहरूको। शरण फराकिलो ह्रदयको मान्छे, याद आउँथ्यो रेशमालाई। भौतिक परिपूर्णताभित्र उसले आत्मिक र बौद्धिक सन्तुष्टि पाउन सकिन । ऊ भन्थी – “ धनदौलत र नोकरीचाकरी तलमाथि भए पनि पति-पत्नीमा वैचारिक र मानसिक समानता हुन जरुरी छ। ” कथान्तमा छुटानाम पत्र छ रेशमाको हातमा ।

यौन मनोविश्लेषणको श्रेणीमा राख्न सकिने कथा हो तृष्णा। दाग कथामा नारीवादी विचार त पाइन्छ नै तर सुखमय दाम्पत्य जीवन बिग्रनमा नारी र पुरुष दुवै उत्तरदायी हुन्छन्। यौन सन्तुष्टिको निम्ति परपुरुष र परस्त्रीसँग सम्बन्ध राख्नाले पुरुषको जीवनमा त केही फरक परेन तर गौरीलाई आफ्नो पतिले माइत पुराएर अर्को बिहे गऱ्यो।
मातृत्व प्रेमको उत्कट चाहनामा जन्मेको कथा हो मोती। मोती बिरालोको नाम। आफ्नो पति जयबहादुरले समय दिनै सक्दैन कुसुमलाई। नानीहरू छैनन्। मोती बिरालोलाई नानी मान्छे कुसुम, त्यो सँगै समय बिताउँछिन्। मनोवैज्ञानिक कथा हो यो।

कथा सङ्ग्रह सीमा सङ्घात सामाजिक-आर्थिक-राजनीतिक सीमाभित्र बाँधिएको छ। कथाहरू साधारण भाषा शैलीमा रचिए पनि कथातिर अनावश्यक अङ्ग्रेजी शब्दको प्रयोग जसलाई नेपालीमै लेख्दा पनि मिल्ने- मोर्डन क्वालिफाइड गल्स (आधुनिक शिक्षित युवतीहरू), मोइनोरिटी (अल्पसङ्ख्यक), सिस्टम (व्यवस्था), लेडिज बिमार (स्त्री रोग) इत्यादि। कथित भाषाको प्रयोग त देखिन्छ नै कथातिर जसलाई स्वीकार्न सकिन्छ। कता-कता व्याकरणगत त्रुटि पनि पाइन्छ। विभिन्न भाषा ज्ञानका धनी कथाकार रमेश आदिवासी, बङ्गला, हिन्दी, अङ्ग्रेजी भाषा निर्धक्क सजाउँछन् कथातिर।

आदिवासी कुरा-

“ माँ कैसन आहे ?
ठिक आहे
ई हामिन्कार माटी हेके
तुहिन्के गोरखाल्याण्ड लागी ?
तोहरेमन पहाड जा। ”

त्यसरी नै बङ्गला कुरा – “हेलमेट लगाये नेउ। सरिया उपरे राखबेना। सरियार हेलमेट कि दरकार। उपरेव काज चोलते छे। किछु जिनिस तुमार माथाये उपरे पोडले कि तुमार माथा भाङ्बे ना! ताइ जन्नो हेलमेट सब समय पोडे राखो।”

हिन्दी भनाइ – “सुरक्षित ढङ्ग से काम किजिए। गरिब आदमीका पसिना खाकर क्या लाभ होगा ?”

कथातिर पहाडमा व्यापार गर्ने हिन्दी भाषी भैयाहरूले नेपाली-हिन्दी भाषाको तालमेल राख्दै बोलेको हेरौँ –
“मेरो साथ घुम्न सिलिगुढ़ी जाने चमेली ? उसको पुष्ट छात्तीमा नजर गाडेर बोल्छ वाइचुरी भैय्या – बहुत मस्ती हुन्छ। हुटेल में खाना खिलाउँछु, बिक बजार घुमाउँछ, टोटो में चढ़ाउँछ ।”

कथाकार रमेश थापा गाउँ-बस्तीमै जन्मिएर हुर्किए पनि कर्म क्षेत्रले गर्दा बजारमा बस्नु परेको अनि त्यही वातावरणले जन्मिएको विचारमा सृजित छ कथा सीमा सङ्घात। गाउँको अनुभव, कमाने जीवनको सत्यता पनि दर्शाउने प्रचेष्टा छ कथातिर । आफू बसेको गाउँ-ठाउँ र परिवेशमा रमाएर आञ्चलिक पात्रलाई टपक्क टिपेर कथा सजाउनमा खप्पिस छन् कथाकार रमेश थापा । आञ्चलिक यथार्थवादी कथाकारको रूपमा पनि हेर्न सकिन्छ कथाकार रमेशलाई । पुरानै परिपाटिमा आधुनिकताको रोगन छर्दै कथा रच्न रमाउँछन् कथाकार रमेश ।