नेपाली साहित्यमा विशेष गरी अब्बल कविता सिर्जना गर्ने मध्येकी कवि हुन् रञ्जना निरौला । कवि मनकी धनी उनै रञ्जनाले जीवनको अनुभव र अनुभूतिलाई निबन्धमार्फत अवतरण गराएकी छन् अनुभूतिको अवतरण शीर्षकको निबन्धसङ्ग्रहमा । अनुभव, अनुभूति, भावना र संस्मरणलाई शब्द, शैली र सुन्दर भावपूर्ण अभिव्यक्तिबाट माध्यमबाट व्यक्त गरिएको उनको अनुभूतिहरूले यौटा सुन्दर मैदान निर्माण गरेको छ । जुन मैदान आफैमा सुन्दर, मनोरम र हराभरा छ । त्यस मैदानमा भावनाका पुष्पगुच्छाहरू सर्वत्र अवतरित भएका छन् । ती पुष्पगुच्छालाई नियाल्दा साँच्चै नै रञ्जनाले जीवनलाई सुक्ष्म तरिकाबाट नियालेकी छन्, स्पर्श गरेकी छन् र अभिव्यक्तिको माध्यमबाट आफू स्वयम्लाई पनि अवतरित गराएकी छन् । निबन्धको लेखनकला, प्रस्तुतीकरण र अभिव्यक्ति शैली सरल र सुन्दर छन् । सायद यिनै विशेषताको कारण उनका निबन्धहरूमा जीवन छ, दर्शन छ, समयको चित्रण छ र सबैभन्दा महत्त्वपूर्ण कुरा उनले अनुभूतिलाई हृदयको उद्गारको रूपमा प्रस्तुत गरेकी छन् ।
मान्छेका आँखाहरूले खोज्ने त सौन्दर्य नै हो, वीभत्स होइन । (पृ.१३)
वसन्तलाई फूल र इन्द्रेणीलाई रङ उपहार दिइरहनुको के अर्थ ? (पृ.३१)
समयले हेर्दा हेर्दै यो संसारलाई अझ सुन्दर बनाउन फोटोले मात्र होइन आत्मभाव सुन्दर हुनुपर्छ । सुन्दर भावले सौन्दर्य जगाउँछ र चम्काउँछ । (पृ.३३)
आफ्नै आँगन बिरानो छ र आफै खुम्चिएर यौटा परिधिभित्र बाँधिएको छ समय । (पृ.३७)
सुन्दरता आनन्द दिने बस्तुहरू हुन् । सुन्दरता एक्लै रहनु, अरूबाट अलग रहनुको के मजा ? । (पृ.४८)
कति कुरुप छ हाम्रो संस्कार ? कति निर्दयी पनि ? दुखिरहेकालाई अझ चिमोट्ने । (पृ.५५)
बलात्कार र हत्याजस्तो अपराधका लागि पनि सजायका निम्ति हामीले कसैको आज्ञा पर्खिरहनु पर्छ र ? (पृ.६७)
जीवनका कति कुरा बदलिन्छन् । कति कुराहरू यथावत रहन्छन् । तर धेरै कुराहरूको भोगाइ भएका हामीलाई माया चाहिँ सदा नयाँ नै भएर आउँदो रहेछन् । (पृ.७७)
मृत्यु स्वाभाविक हो है भनेर माने पनि मृत्यु हुने घटना स्वाभाविक लाग्दैनन् । (पृ.८४)
सौन्दर्यको आँखामा कताकृतिको गाजल लगाएर मुस्कुराइरहेको मेरो देशको ओंठबाट शान्तिकै मुस्कान मात्र पोखिन्छ । (पृ.९१)
मातृत्व ममताको अनुभूति हो, नारीत्वको । (पृ.१००)
छोरी, जीवन मीठो र समय सुन्दर छ । त्यो हुनका लागि शान्ति, समृद्धि र अमनचैन हुनुपर्छ । (पृ.१०५)
जीवन बाँचुन्जेल त हो नि । हरतरहले रमाइलो गर्नुपर्छ । (पृ.१३७)
प्रत्येक जीवनका सपनाहरू हुन्छन् । सपना र पूर्वस्मृतिबिनाको जीवन उजाड मरुभूमि हो । (पृ.१४८)
छिँडीभरिको संसारमा बाँधिएर पनि आशावादी छन् मेरा स्वसम्बोधनहरू । क्रन्दनको आह्वानले सोध्छन् न्यायको परिभाषा गर्दै आर्तनाद । यात्रामा अल्झिएर रोमाञ्चित बनेका छन् पाउहरू । प्रेमको विशालतालाई स्वीकारेर टुसाएका अनुरागका अङ्कुर । वियोगमा दुखेर पनि आनन्दको प्रत्युत्तर बनेर मुस्काएका छन् सपनाहरू । अभिन्न प्रकृतिलाई साथीकरण गरेर बगेका सन् भोगाइका महासागर । शाश्वत सत्यको प्रत्यक्षीकरण नस्वीकारेर पनि स्वीकार्न बाध्य छन् विवशताहरू । (पृ.१६८)
माथि उल्लिखित उद्गारहरू सबैसबै अनुभूतिको अवतरणको आकाशमा जून–ताराझैं चम्किरहेका रञ्जनाका दार्शनिक भाव र अनुभूतिहरू हुन् । जीवनको आरोह र अवरोहका खुट्किलाहरूमा टेक्दा, हिँड्दा र कहिलेकाहीँ ठेस लाग्दाको अवस्थाबाट उत्पन्न पीडा र सुखद क्षणमा निस्केका सुस्केराहरू हुन् । जसलाई रञ्जनाले शब्दले, भावले, शैलीले र अभिव्यक्तीय कौशलाताले पूर्णता दिएकी छन् । उनको लेखन क्षमता अब्बल र सशक्त छ भन्ने प्रमाण र साक्षी दुवैका रूपमा अवतरित छ उनको नविनतम निबन्धसङ्ग्रह अनुभूतिको अवतरण । सुन्दर लेखन तथा सम्पादन र अझ सुन्दर आवरण भएको यस कृतिले नेपाली निबन्धको क्षेत्रमा अवश्य पनि अब्बल सावित हुनेमा विश्वस्त छु । कवि एवम् निबन्धकार रञ्जना निरौलाको आगामी लेखनले अझ उन्नतिको शिखर चुम्दैजाओस् भन्ने शुभकामनासहित हार्दिक बधाई ज्ञापन गर्दछु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।