गएको असारको अन्तिम सातातिर कसैले फेसबुक भित्तामा इलाम कारागारको फाटक र भवनको अग्रभागको फोटोमाथि “जेल जीवनका स्मृतिहरू” लेखिएको कृतिको मुखपृष्ठ राख्यो।त्यो देख्नासाथ म झल्यास्स भएँ र भीमजीसँगको कुराकानीको स्मरणमा पुगेँ। केही वर्षअगाडि भीम महतले इलाम क्याम्पसको विद्यार्थी जीवनको विगत कोट्याउने क्रममा च्वास्स सुनाउनुभएको थियो: ‘इच्छाराम कट्टेल किताब निकाल्दै हुनुहुन्छ रे’। मैले उहाँलाई भनेथेँ: भाषाचाहिँ अलिक सम्पादन गरेर निकाल्न भनौँ है बरू परे सहयोग गरौँला।बीचमा सन्दर्भ त्यत्तिकै हराएर गएको थियो।
तत्कालीन नेकपा मालेले पञ्चायत उपयोगको नीति अख्त्यार गरेपछि भएको गाउँ/नगर पञ्चायतको निर्वाचनमा नामसालिङ गाउँ पञ्चायतमा मालेको समर्थनमा विद्यार्थीबाटै निर्वाचित प्रधान पञ्च – इच्छाराम कट्टेल।२०४४ देखि २०४६ सम्म राजनीतिक बन्दीका रूपमा जेलजीवन भोगेका कट्टेलको जेलजीवनकै सम्झनामा यति वर्षपछि निस्केको कृति कस्तो होला? कुतूहल तीब्र भयो तर कृति पाइहाल्ने अवस्था नहुँदा कताकता मन खिन्न भयो किनभने कृति त इलाममा निस्केको।त्यही फेसबुकमा टिप्पणी गरेँ पढ्न पाउने पो कसरी होला?
भोलिपल्ट बिहान माधव खतिवडाले फोन गर्नुभो।उहाँले मेरो टिप्पणी हेरेर फोन गर्नुभएको रहेछ र भन्नुभो: “एउटा किताब छाडिदिएको छ रे मलाई! तीर्थ खतिवडासँग छ लिएर सर्र पढेर मलाई पछि दिए हुन्छ नि!” पढ्ने उत्सुकता उत्कर्षमा भएका बेलाको यस्तो प्रस्ताव मेरालाई के खोज्छस् काना आँखो! भनेजस्तै भो। तीर्थजीलाई फोन गरेँ र दिउँसो किताब हात पर्ने कुरा पक्का भयो। किताब लिएर बासमा फर्केँ। घर बस्ने लुगै नफेरीकन किताबका केही पानाहरू पल्टाऊँ भन्ने भैगयो। एकै बसाइमा छिचोल्न सकिने थिएन पुस्तक। केही पाठ पढेँ, पुस्तक कस्तो खालको छ भन्ने हल्का छनकसम्म मिल्यो। केही दिन लगाएर एक दुई गर्दै एकाउन्नसम्म आइपुग्दा पुस्तक टुङ्गियो।
एउटा कालखण्डको पार्श्वचित्र
सुधारिएको पञ्चायत व्यवस्थाको दोस्रो चरण थियो विक्रम संवत् २०४३ देखि २०४६ सालसम्मको परिवेश । त्यही परिवेशमा जनपक्षीय प्रधान पञ्च भएपछि बेहोरेको गिरफ्तारी, थुनछेक र काराबासका भोगाइको चित्रण हो कट्टेलको यो कृति।कृति नामसालिङको तत्कालीन जनमानसको विश्वासको विभाजन, राजनीतिक ध्रुवीकरण र राजनीतिक खुर्ची खोज्न र जनपक्षीयलाई सताउन बुनिने झेली तुनाबुनाका पेचिला प्रसङ्गबाट सुरु भएको छ कट्टेलको लेखनी।नामसालिङका रैथाने उरन्ठेउला मण्डले राजनीतिले कट्टेललाई क्रमश: पक्राउ गराउँछ, हिरासतमा रखाउँछ, अञ्चल अदालतमा बयान गराउँछ, अदालतले आपराधिक कृत्यको आरोपमा ‘ख’ श्रेणीको सिदा खान पाउने गरी इलाम कारागारमा पठाउँछ।उनी पक्राउपछि हिरासत हुँदै कारागार कसरी पसे र कारागारमा बन्दी जीवनका भोगाइ कति कष्टसाथ गुजारे? २०४६ सालको जनआन्दोलनको सफलतासँगै ती सबै पीडाहरूलाई स्मृतिमा कैद गर्दै उल्लासका साथ कारागारबाट बाहिरिएसम्मको एउटा यथार्थ कालखण्डलाई लेखकले छायाचित्रका रूपमा पस्केको कृति हो – जेल जीवनका स्मृतिहरू।
कारागारको जीवन: अहिले नि त्यस्तैत्यस्तै
शीर्षक ‘अठ्ठाइस’को अन्तिम खण्डबाट मात्रै सुरु हुन्छ खासमा जेल जीवनको प्रसङ्ग र दौडेको छ शीर्षक ‘पचास’सम्मन।”मूल गेटबाट सहानुभूति प्रकट गर्दै तिख्खर आवाज बाहिरियो: ‘एss! टीका भाइ पनि? भाइ त अस्ति नै छुटे होलान् भनेको त? फेरि पनि पोss! बिचरा!’ … “पानी तताओ! पानी तताओ!! खसी आइपुग्यो!!!” कारागारमा थुन्न ल्याइने नयाँ मानिसलाई भित्रका बन्दीले स्वागत् गर्ने कथन नै यस्तै हुन्छ।साँचै भयको अवस्था सिर्जना गर्छ त्यसले – त्यही प्रसङ्गबाट अगाडि बढेका छन् कारागारको स्मृति लेखकले।
गुणस्तरहीन चामलको आपूर्तिविरुद्ध बन्दीहरूको सामूहिक नाराबाजी, काँचा दाउराले खाना बनाइँदा कुँडुलिने धुवाँले बन्दीका आँखा पोल्दाका काँचा सम्झना; कारागारमा रहेका अपराध गरेको आरोपमा थुनिएका अनेक बन्दीका स्वास्थ्य र अन्य अनेक समस्या; प्रशासन, प्रहरी र नाइके चौकीदारले अन्य बन्दीमाथि गर्ने दुर्व्यवहार र निर्दयी चालामालाको सजीव चित्रण गर्दागर्दै लेखकले आफ्नो राजनीतिक चेतना र मुलुकको पञ्चायत र पञ्चायतविरोधी राजनीतिक प्रमुख राजनीतिक घटनावलीलाई संस्मरणमा मजाले उनेका छन् – यथार्थ र विचारका रङ्गीचङ्गी फूलको मालाजस्तै बनाएर।
अहिले कारागारमा राजनीतिक कारणले मात्र मानिस थुनिँदैनन् अर्थात् कोही थुनिएका भए अपवाद! अहिले कारागारभित्र औपचारिक रूपमा नेल हतकडी लगाइँदैनन् तर अनौपचारिक रूपमा बन्देजका साधन प्रयोग गरेर निर्धा बन्दीलाई सुरक्षा र नाइकेचौकीदारले सताउने क्रम यथावतै छ।मानवअधिकारको विरुद्ध हुने चौकीदारीप्रथा नै यथावत् छ। पछिल्ला समयमा ४० भन्दा बढी कारागार पर्यवेक्षण गरेर बन्दी जीवनको यथार्थ हेरेको यो समालोचकको अनुभवले भन्छ: अहिले पानी तताओ भन्न छाडिएको छ; कारागारभित्र औपचारिक रूपमा नेल हतकडी लगाइन्न ठिँगुरा ठोकिँदैन तथापि अन्य परिवेश तपाईँले भोगेजस्तै छ अधिकांश कारागारको इच्छारामजी! अर्थात् इच्छारामका स्मृतिहरू अहिले पनि धेरै कारागारमा सजीब क्रियाशील छन्। त्यसअर्थमा वर्तमानकै यथार्थ चित्र हो – कट्टेलको कृति।
यातना र झुटा मुद्दा
कट्टेलको जेलको अनुभव र स्मृतिमा झूटा मुद्दामा धेरै मानिस फसेका, एउटा ज्यान मुद्दामा परेका ‘बाङा’ले हिरासतमा चरम यातना पाएको र यातनाका कारण उनको मानसिक स्वास्थ्य नै खल्बलाएको प्रसङ्ग छ। विक्षिप्तिमा पुर्याउने यातना पाएका बाङालाई अरू बन्दीले जिस्क्याएर उडाउने र सताउने अनि आफूहरूले मनोरञ्जन लिएको प्रसङ्ग छ (पृष्ठ११३-११४)।हिरासतमा दिइने यातनाको मात्रा घटेकोले त्यो स्मृतिले हिजोकै दृश्य दर्साउँछ त पनि त्यो दृश्यका प्रतिनिधि घटना अद्यापि यथावत् नै चलेका होलान् मुद्दामामिलाका सन्दर्भमा। प्रजातन्त्र आएपछि यातना (बिजुलीको करेन्ट लगाउने) दिइने त्रासमा पारेर आत्महत्या गरेर मरेकी पत्नीलाई मैले मारेर झुण्ड्याएको हुँ भन्ने बयान गराई मुद्दा चलाएर जन्मकैदको सजाय बेहोरिरहेका नरसिङ राई कट्टेल बसेकै इलाम कारागारमा आफ्ना जीवनको घाँडो कालकटनी गरिरहेकै छन्।कट्टेलको स्मृति तीन दशकभन्दा अगाडिको हो तर त्यसका अस्तित्वशेष नेपालका धेरै कारागारमा बग्रेल्ती नै हुनन्।
कट्टेलको कृति: एक अब्बल लेखनीको रूपमा
कारागारभित्र रहँदाको अवधिका कारागारबाहिरका खास गरी आफू सम्बद्ध रहेको भूमिगत राजनीतिक दलको जिल्लाभर भएका विरोध र विद्रोहका प्रसङ्ग, दलका भूमिगत र सतहमा काम गर्ने नेता/कार्यकर्तामाथि भएका ज्यादती र कारबाईका कतिपय फेयरिस्त कट्टेलले पस्केका छन् । अनि, तत्कालीन सत्ताको उन्मादी हर्कतहरूमाथि कट्टेलले कटु शब्दहरू खर्चेका छन्। पेसा, व्यवसाय र कामकाज जे गरे पनि तत्कालीन शिक्षक, कर्मचारी, प्रहरी र प्रशासन आबद्ध अधिकारी तथा व्यक्तिहरूको मण्डले चरित्रको भण्डाफोर गर्ने कुरालाई लेखकले आफ्नो अभिव्यक्ति शैलीको रूपमा प्रस्तुत गरेका छन्। स्मृतिका पाठहरू पढ्दै जाँदा पञ्चायत सत्ताप्रतिको उनको रोष यसै खुलेर जान्छ र न्यायपालिका पनि ज्यादतीलाई अनुमोदन गर्ने निकाय मात्रै हो भन्ने उनको ठम्याइ रहेको यसै अनुभव गर्न सकिन्छ। न्यायाधीशले नै तपाईँको केही भन्नु छ भने भन्नोस् भनेपछि अन्याय भयो भन्ने कुरा राख्दा न्यायाधीशले “व्यवस्थाविरोधी गतिविधि गर्दै हिँड्ने अनि आफै अन्यायमा परियो भन्ने?” (पृष्ठ ९२) भनेर प्रतिप्रश्न गरेर न्यायप्रतिको विश्वास टुटाइदिएको सम्झना अभिव्यक्त गरेका छन् ।
‘जेल जीवनका स्मृतिहरू’ हो चाहिँ के – संस्मरण, उपन्यास वा अन्य केही? कृतिको रूपरेखा र बाहिरी प्रस्तुतिबाट खुल्दैन। घटनाका तथ्यहरू छन्।घटनावलीको तिथिमिति कम्तीमा साल र महिनामा खुलेका छन् केहीमा त ठ्याक्कै समय पनि खुलेको छ- २०४५ साल भदौ ५ गतेको भूकम्पको भोगाइ। नाम स्मृति दिइएको र घटनावली यथार्थपरक बनाउन खोजिएकोले यो कृति विशुद्ध संस्मरणात्मक लेखन हो भन्नुजस्तो छ । फेरि, भित्र पढ्दै गयो भने आफ्ना विचार, निष्ठा, सामाजिक परिवेश, राजनीतिक घटनावलीहरू र तिनमा आफ्नो वैचारिक रूझानका अनेकन प्रस्तुति भेटिन्छन् र लाग्छ यो संस्मरण नभएर एउटा राजनीतिक चेतबाहक उपन्यास हो। जेहोस् – कृतिमा यथार्थलाई चित्रमय बनाएर प्रस्तुत गर्ने एउटा सशक्त भाषिक कला प्रस्तुत भएको छ। यसैले यसलाई संस्मरणलेखको साँघुरो साहित्यिक सिर्जना भन्नचाहिँ मिल्दैन।यो प्रतिभाद्वारा नि:सृत, अपरिस्कृत व्युत्पत्ति र अभ्यासको न्यूनताबाट निस्किएको औपन्यासिक कृति नै हो जो यथार्थलाई आफ्नो धरातल बनाएर उभिएको छ।हो आख्यानसरह पात्र, परिवेश, कथानक, विषयवस्तुको आरम्भ, यत्न, प्राप्त्याशा, नियप्राप्ति र फलागमको क्रम यसमा भेटिन्न तथापि कृति पढ्दा पाइनुपर्ने आख्यानात्मक रसास्वादन यसले मिठै गराउँछ। त्यो स्वाद लिनलाई कृतिको मौलिक पठन नै गर्नुपर्छ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।