अनामिकाका कवितामा स्त्री-पहिचानको खोजी
स्त्री स्वयं एउटा शक्ति हो , कयौँ महिलाहरू आफूमाथि हुने हिंसा र दमनलाई आफ्नो शक्तिमा परिणत गर्न पछि परेका छैनन् । त्यसैले महिलाको सामर्थ्य एक अर्थमा पुरुषसत्ताका निम्ति डर पनि हो । महिलामाथिका हिंसाले पुरुषको कमजोर चरित्रलाई उजागर गर्छ ।

समकालिन हिन्दी साहित्यकारहरुको श्रेणीमा अनामिकाको नाम अब्बल दर्जामा राखिने नाम हो । कवि , कथाकार ,समालोचक तथा अनुवादकका रुपमा उनको पहिचान छ । १७ अगस्ट १९६१ मा बिहारको मुजफ्फरपुरमा जन्मेकी अनामिका विशेष गरी हिन्दी कविताको क्षेत्रमा एउटा सशक्त हस्ताक्षर हो । “साहित्य अकादमी” पुरस्कारबाट सम्मानित हुने उनी पहिलो भारतीय महिला साहित्यकार पनि हुन् । उनका प्रमुख कवितासङ्ग्रह ‘गलत पते की चिठ्ठी’ , ‘अनुष्टुप ‘, ‘बीजाक्षर’ , ‘समय के शहर में’ , ‘टोकरी में दिगंतः थेरीगाथा’ आदि हुन् । हिन्दी साहित्यमा यथार्थवादी कविताहरुले आफ्नो बर्चस्व बनाइरहेका छन् । समाजभित्र लुकेका , देखिएका र कुनै वर्ग विशेषले भोग्दै आएका गलत सामाजिक व्यवहारहरुलाई ती कविताले उठान मात्र गर्देनन्, बरु प्रश्नहरु समेत जन्माएर पाठकलाई उत्तर खोज्न बाध्य बनाइरहेका हुन्छन् । जस्तै अनुज लुगुनका कविताहरुले जनजाति भावना तथा उत्पीडनहरुको प्रतिनिधित्व गर्छ भने अनामिकाका कविताहरुले लैंगिक विभेदलाई सरल तर बुलन्द रुपले उठाइरहेका छन् ।
उनका कविताले मुख्यरुपमा सामाजिक विसङ्गतिहरुमा तिखो र चोटिलो प्रहार गर्दछन् । स्त्रीमाथि गरिने हिंसा पुरातन समयदेखि वर्तमान समयसम्म भइरहेको दृष्टान्त हो । यस्ता परिवेशलाई सरल रुपमा काव्यिक अभिव्यक्ति प्रदान गर्न उनका शब्दहरु निरन्तर तैरिरहन्छन् । स्त्री कमजोर हुँदैन् । पुरुषले आफ्नो पुरुषत्वको राजनीतिलाई कायम राख्न अनेकन तवरले महिलालाई दबाउन खोज्दछ । पुरुषविना महिलाको जीवनको अस्तित्व नै हुँदैन भन्ने कुराको प्रमाण पेश गर्न सबैभन्दा सरल वैधानिक माध्यम धर्मशास्त्रहरुलाई छानियो । र पितृसत्ता अनुरुप धर्मलाई व्याख्या गर्न थालियो । यसको एउटा उदाहरण महिलामाथि गरिने हिंसा हो । अनामिकाको “दरवाजा” कविताको केही अंशले उक्त कुराको पुष्टि गर्दछ ।
म एउटा ढोका थिएँ
मलाई जति पिटियो
म त्यति नै खुल्दै गएँ ।
भित्र आउनेहरुले देखे −
चलिरहेको छ एउटा बृहत्चक्र−
चक्का राकिन्छ अनि चरखा चल्छ
चरखा रोकिन्छ त कैंची र सुई चल्छन्
तर चलिरहन्छ लगातार
केही न केही !
स्त्री स्वयं एउटा शक्ति हो , कयौँ महिलाहरू आफूमाथि हुने हिंसा र दमनलाई आफ्नो शक्तिमा परिणत गर्न पछि परेका छैनन् । त्यसैले महिलाको सामर्थ्य एक अर्थमा पुरुषसत्ताका निम्ति डर पनि हो । महिलामाथिका हिंसाले पुरुषको कमजोर चरित्रलाई उजागर गर्छ ।


पढ्दापढ्दै मनमा ज्वाराभाट पैदा गर्नसक्ने र क्षणमै शान्त पार्नसक्ने शक्ति उनका शब्दहरुमा अनुभव गर्न सकिन्छ । ती ज्वाराभाटाहरुले विभेदपूर्ण सामाजिक संरचनाहरुलाई भत्काउने तागत पनि राख्दछ । उनका कलमको जादु नै मान्नुपर्छ कि महिलाका भोगिरहेका कथाव्यथा केही पङ्क्तिहरुमै पोखिन्छन् ।
कविता पनि त स्त्री नै हो
कोही उसलाई सुन्दैन !
सुने पनि बुझ्दैन
सबै उसका प्रेमी तर साथी कोही छैन
कति एक्लै छे !
अनामिकाका कविताले परम्परागतरुपमा खरो उभ्याइएका मानकहरुका विरुद्ध प्रतिक्रियात्मक अभिव्यक्ति दिएका हुन्छन् । परम्परागत मान्यताको जरामा सोचमग्न बनाउने गरी धावा बोल्दछन् । विगतका पारिवारिक संरचना , गलत संस्कार , खाँदिएर रहेको महिला पुरुषबीचको विभेदलाई चिर्दै लेखेकी छन् । तर प्रस्तुतिमा चतुर्याइ गर्न सफल रहन्छिन् । वास्तविकताको धरातलमा शब्दहरुको धाराप्रवाह अभिव्यक्तिले भावनाको उतारचढावलाई न्याय गरिरहेका भेटिन्छन् । महिलाप्रति राख्ने पुरातन तर कुप्रथालाई मलजल गर्ने दृष्टिकोणमाथि लगातार प्रहार गरिरहन्छन् उनका कविता । शास्त्रलाई सन्दर्भ बनाएर महिलालाई होच्याउने भाष्य समाजमा प्रयोगमा रहेका छन् , तिनका विरुद्ध पनि बोलिरहन्छन् अनामिकाका कविता । जस्तै उनको “बेजगह” कविताको पङ्क्तिहरुले यस कुरालाई प्रष्ट पार्दछः
“आफ्ना स्थानबाट निस्केपछि
कतैका रहँदैनन्
केश, आईमाई र नङहरु”
व्याख्या गर्नुहुन्थ्यो कुनै श्लोकमा
यसरी हामीलाई संस्कृत पढाउने गुरु
त्यस्तै, केही अगाडिका पङ्क्तिहरु
राम पाठशाला जाऊ !
राधा खाना पकाऊ !
राम आऊ मिठाई खाऊ !
राधा आऊ झाडु लगाऊ !
भाइको सुत्ने बेला भयो
गएर ओच्छ्यान लगा !
अहा ! नयाँ घर
राम हेर यो तिम्रो कोठा हो
अनि मेरो ?
“ए लाटी
छोरी त हावा, घाम, माटो हो
उसको कुनै घर हुँदैन् ।”
जसको कुनै घर हुँदैन
कसरी उसको कुनै ठाउँ होस्
कुन ठाउँ हुन्छ यस्तो
जो छोडिएपछि आइमाइ बन्ने गर्छ ।
काटिएका नङहरु र
काँइयोमा अल्झिएर उखेलिएका केशजस्तै
बढारेर मिल्काइदिने खाले ?
आफ्नो पहिचान र स्थानका निम्ति स्त्रीमा लालसा हुन्छ । हिन्दु सामाजिक संरचनामा आमा बुवाका लागि छोरी अर्काको घरमा जाने “जात” हो र श्रीमानका घरका सदस्यका लागि ऊ अर्काकी छोरी हो भन्ने सोच हराएको छैन । स्वंयको अस्तित्वका निम्ति स्त्रीले खाज्ने सदैव यो महत्त्वपूर्ण प्रश्न पनि हो । वर्तमानमा यो प्रश्नको दायरा बढ्दै गएको छ र उत्तर हरेक दृष्टिकोणबाट खोजिन थालिएको छ । अथवा भनौँ महिलाले आफ्ना स्थानका लागि खोजी गर्ने क्रम जारी छ । महिलामा पनि उडानको उत्कर्ष चाहना हुन्छ । तर महिलालाई प्रदान गरिने जिम्मेवारीहरुले महिलालाई पखेटा फिँजाउन दिँदैनन् । क्रमशः उसलाई शिथिल हुन बाध्य पारिन्छ, मानौँ उसको जन्म परिवारका अन्य सदस्यहरुको बोझ उठाउन नै भएको हो ।
स्त्रीको हैसियत उसका चाहना इच्छाहरुले परिवार र समाजमा स्थान पाउँदैनन् । उसको दुखसुख सबै तदर्थ हुन्छन् । पितृसत्ताको संस्कार तथा संस्कृतिसँग उसको निजत्वलाई जाडिन्छ । अर्थात् उसको दुखलाई स्थान दिइँदैन । न उसको कुनै आफ्नो पहिचान हुन्छ न चाहनाहरुलाई महत्त्व नै दिइन्छ ।
भोगियो हामीलाई
धेरै टाढाको कुनै नातेदारको
दुखजस्तै
एक दिन हामीले भन्यौँ
हामी पनि मानिस हौँ
हामीलाई तरिकाले पढ एक एक अक्षर
जसरी पढिएको होस् बिएपछि
जागीरका लागि पहिलो विज्ञापन
(“स्त्रीयाँ” कविताको केही अंश )
इतिहास र वर्तमानबीच ओहोरदोहोर गर्न सक्षम उनका कविता प्रत्येक पिँढीलाई मुखरित बनाउन प्रयत्नशील छन् । त्यसैले अस्तित्वमा रहेका मान्यताहरुलाई चुनौती दिएर हिँडिरहन्छन् । हिन्दु समाजमा घर बन्न भौतिक संरचनाले मात्र काम गरेको हुँदैन । त्यो संरचनाको कुनाकुनामा पितृसत्ताको रङ्गरोगन पनि सँगसँगै गरिन्छ । अनि मात्रै समग्रमा त्यो घर ‘घर’ बन्दछ । यस्ता कुनाकाप्चामा बसेका विकृतिहरुलाई अनामिकाका कविताले शूक्ष्म तवरले खोतलखातल गरिरहेका हुन्छन् । समाजिक संरचनाले थिलथिलो बनाएकी कुनै पनि महिला यस्तो भन्न किन बाध्य नहोस्ः
ईसा मसीह
महिला थिएनन्
नत्र एघार बर्षको उमेरदेखि नै
मासिक धर्म उभ्याएर राख्थ्यो
उनलाई देवालय बाहिर !
बेथहेलम र यरुशलमको बीचको
कठिन यात्रामा
कयौं पटक उनको बलात्कार हुन्थ्यो
र उनका दुधखाने बच्चाहरु
चालिस दिन र चालिस रात
जब बिताउँथे सडकमा
भोकले छट्पटिँदै मर्थे
एकएक गर्दै ,
इशालाई फुर्सद हुँदैनथ्यो होला
सूलीमा चढ्ने ।
(कविताः मरने की फुर्सत )
शब्द चयनमा उनी सरल र सहज छिन् , लोकोक्तिको प्रयोग मार्फत् पनि स्त्रीका गुणहरु “ स्त्रीशक्ति’ हुन भन्ने विश्वास दिलाउन उनका कविताहरु सक्षम छन् । महिलाको जन्मलाई अझै पनि नरुचाउने समाजमा महिलाचेतको वैचारिक बहसका लागि बलियो आधारस्तम्भ अनामिकाका कविताले खडा गरिरहेका छन् । जसले स्त्री अस्मिता र अस्तित्वको उत्तर खोज्न बाध्य पारेको छ र समाजलाई सोचमग्न पारेको छ ।