नेपालको राजधानी काठमाडौँ नजिकै भएर पनि मूलधारबाट बाहिर पर्ने हेटौँडा बजारमा बसेर नेपाली कविताको मूल धारमा कविता लेखिरहेका समकालीन युवापुस्ताका हस्तक्षेपकारी कवि सुवास खनाल (२०४३) मूलतः दार्शनिक विषयवस्तु र अंशतः राजनीतिका विकृतिका कविता लेखनमा रमाएका स्रष्टा हुन् । उनले नेपाली साहित्यका पाठकलाई समसामयिक विषयका विविध भावलाई समेटेर सामान्यदेखि उच्च स्तरका पाठकले समेत पढ्नयोग्य दुईवटा सशक्त कविताकृति दिइसकेका छन् ।
प्रिय कवि सुवास खनाल,
धेरै धेरै सम्झना र यो दाजुको माया ।
मैले तपाईंको पहिलो कविता कृति ‘विचारको उल्टो नदी’ (२०७१) विमोचनका दिनमै हेटौँडामा किनेर चितवन ल्याएको थिएँ । त्यतिबेलै पूरा कृति पढिसकेर फुर्सदमा समीक्षा लेखूँला भन्दाभन्दै आज आठ वर्ष बितिसक्दा पनि लेख्न भ्याएनछु । विगतलाई हेर्दा म बेफुर्सदी हुँ कि बेपर्वाह ? आफैँले उत्तर भेटेको छैन । केही समय अगाडिको कविडाँडा साहित्य समाजको कार्यक्रममा भेटेर मलाई ‘सपनाका अवयव’ (२०७७) उपहार दिएको पनि निकै दिन भइसकेछ । बल्ल आज यो समीक्षात्मक टिप्पणी लेख्ने जमर्को गरेको छु ।
मैले ‘सपनाका अवयव’ कवितासङ्ग्रहको प्रकाशक शाब्दिक बुक्स, काठमाडौँ रहेको देखेँ । यसमा जम्मा १०० पृष्ठको आयाममा कविताहरू फैलिएका रहेछन् । यो कृतिमा समसामयिक विषयवस्तुका कूल ३३ थान फुटकर कविता समेटिएका रहेछन् । यसभित्रका कविता घटीमा दुई पृष्ठदेखि बढीमा चार पृष्ठको आयामसम्म फैलिएका रहेछन् । यस कृतिमा समेटिएका अधिकांश कविता दुई पृष्ठको आयाम बोकेका पाएँ । शीर्षकले इङ्गित गरेजस्तै यसभित्रका अधिकांश कविता सपनाका वरिवरि घुमेको भए पनि यिनमा समकालीन जीवनका विविधतालाई पस्किएको पाएँ । समग्रमा यी कविता सरल, सरस र युगबोधी खालका छन् भन्ने मेरो ठहर छ ।
कवितालाई विभिन्न तरिकाले समीक्षा गर्न सकिन्छ । त्यसो त कविता बन्नका लागि विभिन्न अवयव चाहिन्छ । तीमध्ये कविताको लागि विषयवस्तु वा भाव प्रमुख अवयव हो । यही कुरालाई हिजोआजका नेपाली कविताले पनि बोकेको पाइन्छ । त्यस्तै यहाँको‘सपनाका अवयव’ कवितासङ्ग्रह पनि विविध भाव समटेर तयार पारिएको कविता कृति हो भन्ने निष्कर्ष छ मेरो । यस कृतिमा भेटिएका कविताका मूलभावहरुको सर्वेक्षण गरी भेटिएका साक्ष्यका आधारमा निम्नानुसार समीक्षा गरेको छुः
यहाँले भौतिक विज्ञानमा स्नातकोत्तर अध्ययन पूरा गर्नु भएकाले यहाँका कवितामा भौतिक विज्ञानका मात्र नभएर जीवविज्ञानका कुरा पनि अटाएको पाएको छु । तपाईंले धमिरालाई बिम्ब बनाएर त्यो धमिरा जैविक रूपमा जति खतरनाक छ, त्योभन्दा विचारमा देखा परेमा कैयौँ गुणा खतरनाक हुन्छ भन्ने विचारलाई यसरी अभिव्यक्त गर्नुभएको छः
अन्तिम जानकारी–
जैविक रूपमा बरू उति हानिकारक छैनौँ हामी
जति हानिकारक छ– तपाईंको माष्तिष्कमा हाम्रो उत्पत्ति ।
(धमिरा डट कम, पृ. २२)
त्यसो त तपाईं दर्शनका विषयवस्तुमा रमाउने कवि पनि हो भन्ने लाग्छ मलाई । तपाईं आफ्ना कवितामा कतै त कतै दर्शनका कुरा गरेरै छाड्नुहुन्छ । यदि चिन्तनमा पिनास पर्यो भने आउने समय नै बर्बाद हुन्छ भन्ने दार्शनिक विचारलाई आफ्नो कवितामा यसरी चित्रण गर्नुभएको छः
चिन्तनको पिनास सिर्फ रोग होइन
अभिघात जन्माउने भ्रूण हो समयको ।
(चिन्तनको पिनास, पृ. १२)
तपाईंले आफ्नो कवितामा तर्कैतर्कको लाममा बसेर आफ्नो बाँकी जीवनलाई कसरी बाँच्ने भन्ने कुरा सोचिरहेको कुरालाई पनि सुन्दर तरिकाले चित्रण गर्नुभएको छ । तपाईंले चिन्तनमा पूरा जीवन गुजारिरहेको कुरालाई यसरी अभिव्यक्त गर्नुभएको छः
सोच्ने गर्छु
तर्कैतर्कको लामहरूबीच
उभिएर एकनासले
तर्कहरूकै कारण मैले बाँच्नु छ ।
(तर्कहरू, पृ. ३६)
सबैलाई थाहा छ, अहिलेको विश्वमा आतङ्कवाद जताततै फैलँदो छ । यसका कारण वर्षेनी हजारौँको सङ्ख्यामा मानिसहरूले ज्यान पनि गुमाइरहेका छन् । तर पनि स्वयम् आतङ्कवादीहरू आफूलाई आतङ्कवादी मान्न तयार छैनन् । त्यसैले तपाईंले आफ्नो कवितामा आतङ्वाद के हो ? भन्दै यसका बारेमा जान्न चाहेको कुरालाई यसरी काव्यात्मक चित्रण गर्नुभएको छः
यो समय म बुझ्न सकिरहेको छैन आतङ्कवाद
म जान्न चाहन्छु
आतङ्कवादको परिभाषा ।
(आतङ्कवाद, पृ. ९)
हामी सबैलाई थाहा भएकै कुरा हो, संसारमा वनमारा झारले दुःख दिइरहेको पाइन्छ । त्यो वनमारा झारभन्दा घरमारा अझ खतरनाक हुन्छ भन्ने तपाईंको ठम्याइ छ । तपाईंले घरमारालाई झारका रूपमा मात्र नभई समाजमा व्याप्त विविध खालका अवस्थामा देख्नुभएको छ । सामान्यजस्तो लाग्ने यस्तो निजी विचारलाई तपाईंले राज्यसत्तासँग दाँजेर व्यङ्ग्यात्मक तरिकाले यसरी प्रतिबिम्बित गर्नुभएको छः
मैले त घरमारा घरमा मात्र देखिनँ
देश चलाउने सिंहदरबार
बालुवाटार
संसद् भवन
वा, अदालत
यता पनि छन् कि घरमारा ।
(घरमारा, पृ. २९)
हो, यतिबेलाका मान्छेमा घोर निराशा व्याप्त छ । मान्छेले जताततै असफलता नै असफलता भेट्ने गरेको छ । अभावै अभावको सामना गर्नुपरेको छ । यसले पनि मान्छेमा थप निराशाको सिर्जना गरेको छ । तर तपाईं यस्तो निराशाका बीचमा आशाको यसरी किरण खोज्नुहुन्छः
जबसम्म फक्रिनेछन् रहरका गुराँस
जबसम्म फुल्नेछन् सद्भावका सयपत्री
उचालेर साहसको पाइताला
हिँड्नु छ, हिँडिरहनु छ ।
(दुर्घटनापछि, पृ. ४७)
हामी देख्छौँ, हिजोआज जताततै निषेधै निषेधको कुरा देख्न, सुन्न र पढ्न पाइन्छ । यस्तो लाग्छ, सिङ्गो देश मात्र नभएर विश्व नै निषेधले चलेको छ । यस्तो परिवेशमा पनि तपाईं निषेधबाट होइन, सबैसँग मिलेर जानुपर्छ भन्ने कुरा ‘रङ’लाई बिम्ब बनाएर यसरी काव्यात्मक तरिकाले अभिव्यक्त गर्नुहुन्छः
जब बाँच्ने छन् आकर्षणमा रङहरू
हामी इन्द्रेणी अस्तित्वमा सुन्दर देखिनेछौँ
म रङहरूको अस्तित्व स्वीकार गर्छु ।
(रङ, पृ. १४)
कविका रूपमा तपाईंलाई देश सङ्कटमा परेकोमा चिन्ता छ । यस्तो सङ्कटको घडीमा पनि मौन बसेको नाटक गरी चुपचाप चुपचाप खिचडी पकाउने राजनीतिक विचौलियाप्रति तपाईं आक्रोश पोख्नुहुन्छ । तपाईंको आक्रोश नाराका रूपमा होइन, काव्यात्मक व्यङ्ग्य बनेर यसरी मुखरित हुन पुगेको छः
देश सङ्कटको घडीमा छ
हामी सबै सङ्कटमा छौँ
मौन रहनुहोस्
कम बोल्नुहोस्
चुपचाप बिजनेस चलाउनुहोस् ।
(चुपचाप बिजनेस, पृ. २६)
प्रकृतिका चक्रका रूपमा समय समयमा देशमा विभिन्न खालका प्राकृतिक विपत्तिहरू आइलाग्छन् । त्यसपछि गाउँमा राहतको पोको लिएर सरकारी गाडी आउँछन् । हेलिकप्टर आउँछ । त्यसरी आएको राहत बाठाटाठाले मात्र कुम्ल्याउँछन्, सोझा जनताले केही पाउँदैनन् भन्ने कुरालाई तपाईंले यसरी कवितामा व्यङ्ग्य गर्नुभएको छः
पाडो मर्ने मधु बस्नेत
खेत पुरिने हरि चम्लागाइँ
गोठ लड्ने शेरबहादुर बिकलाई
भाग पुग्यो हेलिकप्टर उड्दाको हावा ।
(राहत, पृ. ३४)
हाम्रो देशमा सोझा र श्रमजीवी जनता सधैँ मारमा परिरहेका छन् । उनीहरू सधैँ आर्थिक समस्यामा पिल्सिरहेका हुन्छन् । त्यसप्रति सरकारको ध्यान कहिल्यै जाँदैन । यसरी जनता मरिरहेकोमा बेवास्ता गर्ने सरकारलाई तपाईं यसरी प्रश्न गर्नुहुन्छः
सोच्छु–
मजस्तै लालबहादुरहरूलाई मारेर
यो देशले कसलाई नागरिक बनाउँछ ?
(लालबहादुरको किड्नी बिक्रीमा छ, पृ. ३९)
हामी देख्छौँ, यतिबेला सहर सुविधासम्पन्न सहर होइन, कङ्क्रिटको जङ्गल बन्दै गइरहेको छ । यो रोग सहरबाट गाउँतिर पनि सर्न थालेको छ । खेतीयोग्य जमिन प्लटिङमा अनुवाद भइरहेको छ । काँक्रो चिरेजस्तै जमिन चिराचिरा पार्दै लगिएको छ । यस्तो देख्दा तपाईंको कवि मन रोएको छ भन्ने कुरा तलको साक्ष्यले पुष्टि गरेको छः
गाउँ सहरको सिकोमा छ
प्लटिङमा अनुवाद भइरहेको
उसको अनुहार
सहरझैँ देखिँदै गइरहेछ ।
(सहरले ढुङ्गा खान्छ, पृ. १९)
कवि भएकाले तपाईंलाई गाउँको असाध्यै माया लाग्छ । तपाईं गाउँ छाडेर सहर बसेकाहरूमा श्रम मर्दै गएको र उता गाउँ भने श्रमका अभावमा बाँझो बन्दै गएको वर्तमानको नियतिप्रति निकै चिन्तित देखिनु हुन्छ । यस खालको भावलाई तपाईं कवितामा यसरी शब्द भर्नुहुन्छः
ऊ बाँझो हुनुको नियतिमा छ
ऊसँग उर्वरा छ श्रम छैन
म यता छटपटीजस्तो जिन्दगी बाँच्छु
मसँग श्रम छ, उर्वरा छैन ।
(बाँझो जमिन, पृ. ६८)
तपाईं दार्शनिक चिन्तन, मौलिक विचार, जीवन दर्शन, देशका कुरा मात्र होइन, कतै कतै प्रेमका कुरा पनि गर्नुहुन्छ । तपाईं एउटी पत्नीले आफ्नो मृतपतिलाई सम्झेको प्रेममय अभिव्यक्तिमा पनि देशकै कुरा यसरी सम्झन पुग्नुहुन्छः
सम्झेर उनको अनुहार
आज मेरी छोरीको बाको अनुहारमा पनि
म भयको नजर खसाल्दोरहेछु
हजारौँ बाहरू जब देख्छु–
आत्तिँदो रहेछु मनमनै ।
(श्यामश्वेत सपनामा देश, पृ. ९२)
मेरो विचारमा तपाईंको नवीनतम कविताकृति ‘सपनाका अवयव’ विविध भाव समेटिएको कविता कृति हो । यसमा समेटिएका कविताले नेपाली कविताका पाठकलाई उनीहरुको काव्यात्मक भोक मेटाउन सक्षम बनेको छ भन्ने कुरामा पनि मेरो पूर्ण सहमति छ । यसको पुष्टि माथि साभार गरिएका साक्ष्यहरूले गरेका छन् भन्ने मेरो जिकिर छ ।
र, अन्त्यमा मार्क्सवादी चिन्तनबाट प्रशिक्षित तपाईंका कवितामा दार्शनिक चेत बढी मात्रामा पाएँ । यति भएर पनि तपाईंका कवितामा भावगत विविधता भने पक्कै छ । तपाईंका केही कविताले जनताका अभाव र पीडाको चित्रण गरेका छन् । केही कवितामा राज्यसत्ताका कारण जनताले पाएको दुःखलाई चित्रण गरेका हुनाले तपाईं विद्रोही चेतका कवि पनि हो भन्ने ठान्छु म । तपाईंका कवितामा सूक्ष्म तरिकाले व्यङ्ग्य गरिएको पाइने हुनाले तपाईं व्यङ्ग्यचेतको कवि पनि हो । फरक फरक कविता फरक फरक खालका भाव उतार्ने हुनाले तपाईं विविधतामा रमाउने कवि हो भन्ने मेरो निष्कर्ष छ । तपाईंको काव्यात्मक बान्की अझ सशक्त बन्दै जाओस् भन्ने शुभेच्छाका साथमा तपाईंको काव्यिक उन्नयनको कामना गर्दै यो लेखनीलाई विश्राम दिन्छु ।
उही तपाईंलाई मन पराउने पाठक
रमेश प्रभात, चितवन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।