ऐतिहासिक नगरी गोरखाको माटोमा जन्मिएर शिक्षा तथा रोजगारीका सिलसिलामा देश विदेशको विचरण समेत गर्न पुगेका गोरखाली दीपक अर्याल यतिखेर नेपाली साहित्यिक जगत्मा भर्खरै पाउलाएका सर्जक हुन् । अध्ययन र पेसाले प्राविधिक धारतर्फको इन्जिनियरिङलाई अपनाएर पनि नेपाली साहित्य र भाषाप्रति ठूलो लगाव राखी आफ्नो लेखनीलाई तीव्र पारेका अर्यालको प्रथम नियात्राकृति पाइलाका चुम्बन प्रकाशित भएको छ । जुन शीर्षकमा मैले चुम्बकीय शक्ति देखेँ र मजस्ता अन्य पाठकलाई पनि यसले सजिलै आफूतिर खिच्न सक्छ भन्ने अनुभूति गरेँ ।

ओरियन्टल पब्लिकेसन हाउस प्रा.लि.द्वारा प्रकाशित पाइलाका चुम्बन (२०७८) १३४ पृष्ठमा संरचित छ । बाहिरी आवरणमा दुई पैतालाका डोबको आकृति रहेको यस कृतिको मुखपृष्ठमा लेखकले आफ्ना परम पूजनीय बुबाआमाप्रति सम्मान एवम् पाठकहरुप्रति समर्पणको भाव दर्शाएका छन् । कृतिमा समाविष्ट विषयसूचीलाई ८ वटा विदेश खण्डका शीर्षक र ७ वटा स्वदेश खण्डका शीर्षक गरी दुई खण्डमा विभक्त गरिएको यस पुस्तकमा समाविष्ट हरेक खण्ड उत्तिकै रोचक र सान्दर्भिक छन् ।

पाइलाका र चुम्बन दुई पदको योगबाट निर्मित कृतिको शीर्षकलाई शाब्दिक रुपमा केलाउँदा पैतालाको छाप,चिनो,डोबलाई स्नेह वा प्रेमपूर्वक स्पर्श गर्नु वा चुम्नु भन्ने अर्थ बुझिन्छ । यही शीर्षकीय अर्थानुसार जुनजुन स्थानमा लेखक अर्यालका पाइला अवतरित भए त्यहीँको सविस्तार वर्णन नै कृतिको मुख्य विषय हो । उनले नियात्राको विषयलाई व्यक्तिगत आत्मानुभूतिका साथ एक कालिगढले जसरी चिटिक्क र रसिलो पारी प्रस्तुत गरेका छन् । कृतिभित्रका हरेक शीर्षकमा लेखकीय इमानदारीता, जवाफदेहिता र सूक्ष्म अवलोकनलाई गायत्री मन्त्र जसरी आत्मसात गरेको देखिन्छ । यात्रा अनुभूतिलाई वास्तविक जीवन भोगाइसँग साक्षात्कार गर्दै लेखनमा खरो उत्रिएका सर्जक अर्याल कतै कल्पनाको जलपसँगै सिर्जनाको कसीमा घोटिएर तिखारिएका छन् भने कतै भावनाको बहकाउमा लहसिएर तरङ्गित बनेका छन् । जे होस् कतै रोचक प्रसङ्गलाई ठाउँ दिँदै पाठकलाई पेट मिची मिची हँसाउनु त कतै कारुणिक प्रसङ्गलाई जोड्दै पलभरमै भावविह्वल बनाउनु लेखकीय वैशिष्ट्यता हो ।

लेखनका क्रममा ठाउँठाउँमा पाठकभित्र जिज्ञासा र कौतूहल जन्माउने खुबी प्रबल देखिएको पाइलाका चुम्बनमा अनुभूति, आवेग र संवेदनाको सन्तुलित प्रयोगमा पनि नियात्राकार अर्याल सजग नै देखिन्छन् । विगतको सम्यक् वर्णन गर्दै समसामयिक परिवेशमा मिल्दो विषयवस्तु चयन गरिएको यस नियात्राले पाठकलाई पनि आफूसँगै हिँडाएर यात्रानुभूतिको साधारणीकरण गरेको छ । विशेषतः स्वदेशको विकास र विदेशको विकासलाई तुलनात्मक रुपमा विश्लेषण गरिएको यस कृतिमा युवाशक्तिलाई विदेश पलायन हुनबाट रोक्न सरोकारवालालाई झक्झकाएको देखिन्छ । त्यसै गरी विदेशी मुलुकले दिन दुई गुना र रात चौगुनाको दरले विकासको फड्को मार्दै गर्दा आफ्नो मुलुक चाहिँ झन् गरिबी, विकृति र व्यथितिको दलदलमा भासिएको अवस्थाले पाठकीय संवेदना थप जागृत बनाउने पक्का छ । स्रष्टा आफ्नो लेखनीमा भावुक बनी आफू जन्मिएको देश, आफू खाई, खेली, हुर्किएको माटोप्रति सहानुभूति बर्साउन पुग्छन् । उनमा सलबलाएको निस्वार्थ देशप्रेमले सम्पूर्ण पाठकको मन–मनमा जननी जन्मभूमिश्च स्वर्गादपि गरियसीको भाव विजारोपण गर्ने निश्चित छ ।

नियात्रामा केही विवरणात्मक शैली पछ्याइएको त धेरैजसो आत्मपरक शैलीलाई अँगालिएको छ जसमा शब्दको जालमात्रै नबुनेर ज्ञानको सागरमा पाठकले चुर्लुम्म डुबुल्की लगाऊन् भन्ने लेखकीय अभीष्ट रहेको देखिन्छ । खासगरी यस कृतिमा मौलिकता, सिर्जनात्मकता, स्वदेशी तथा विदेशी भूमिका इतिहास, कला, साहित्य, संस्कृति आदि पक्षहरुको सन्तुलित संयेजन रहेको कुरामा द्विमत नहोला ।

कल्पना तिमल्सिना ‘अर्याल’

पाइलाका चुम्बन नियात्राको विदेश खण्डको पहिलो शीर्षकको नियात्रा पाइलाका चुम्बनमा दक्षिण कोरियाको यात्रा गर्दाका क्षणमा भोगेका तीतामीठा अनुभवलाई समेटिएको छ । कोरियन दूतावासमा भिसा पाउनका लागि गरिएको दौडधुपको तीतो अनुभव सँगालेका लेखक स्वाधीन देशका पराधीन जनता हामीले आफ्नो परिचय भाग्ने र लुक्नेका रुपमा बनाएका रहेछौँ, वीर गोर्खाली, इमानदार नेपालीको परिचयलाई ओझेल पार्दै क्रमशः लुक्ने, ठग्ने र भाग्नेको नयाँ परिचय बनाउँदै रहेछौँ भन्दै निकै भावुक बन्न पुगेका छन् । त्यस्तै लेखक क्षणभरमै नेपाल र कोरियाको विकासको तुलना गर्न पुग्छन् । आफ्नो देशमा लोडसेडिङको समस्याले पिरोलेको बेला कोरियाको झिलिमिलीले आँखा तिरमिराएको प्रसङ्ग, कोरियाका चाक्लो र राम्रो सडक, पैदलयात्रीका लागि हिँड्ने बाटाको व्यवस्थापन लगायतका समग्र कोरियाको विकास निर्माणले लेखकको मन तानिएको छ । यसै बीचमा सडकका दुबैतर्फ मानिसहरु हिँड्ने बाटोमा स्याउका बुटाहरु र लटरम्म स्याउ फलेका दृश्यले अचम्मित बनाएको, त्यहाँको सुव्यवस्थित शासन प्रणाली, अनुशासित र नियमबद्ध जनताकै कारण देशविकासको मनोरथ पूर्ण भएको लेखकीय अड्कल छ । यसबाट देशविकासका लागि सिस्टमको खाँचो छ भन्ने आशय प्रस्तुत गर्दै नेपालका प्रशासनिक एवम् राजनैतिक क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई दरो झापड दिइएको छ । विद्यार्थी उमेरदेखि नै सहयोग, परोपकारमा लाग्न प्रेरित गर्ने कोरियाको शैक्षिक पद्धतिको प्रशंसा गर्न पनि नचुकेका लेखक फेवातालमा चुन्जुको नौका विहारको प्रतिरुप देख्छन् ।

त्यस्तै चितौडगढको यात्रा शीर्षकअन्तर्गत लेखकले चितौडगढको ऐतिहासिक घटनालाई जोडेर नेपालको इतिहासमा नेतृत्वदायी भूमिका निभाएकी राजेन्द्र लक्ष्मी तथा चितौडगढको इतिहासमा वीराङ्गना कहलिएकी रानी पद्मिनीका बीच समतुल्यता स्थापित गरेका छन् । रानी पद्मिनीको नामसम्म नसुनेका मजस्ता पाठकका लागि चितौडगढकी रानी पद्मिनीको इतिहास चुस्त र दुरुस्त अध्ययन गर्न पाउँदा गौरवको महसुस पक्कै हुन्छ । इतिहासको कालखण्डमा सत्ता, शक्ति र अधिकार केवल राजा महाराजाको मात्र नभएर रानी महारानी पनि राज्य निर्माणको एक महत्त्वपूर्ण अङ्ग बनेको र बुद्धिमतापूर्ण कुटनीतिमा अगाडि रहेको यथार्थलाई नियात्राकार अर्यालले उद्घाटन गरेका छन् र लैङ्गिक समानताको वकालत गर्दै महिला सशक्तीकरण र जागरण आजको आवश्यकता रहेकोतर्फ दृष्टि दिएका छन् । यससँगै सर्जक अर्याल ऐतिहासिक नगरी गोरखालाई पनि पर्यटकीय दृष्टिले उत्कृष्ट स्थल बन्दै गरेको चितौडगढजस्तै नमुना पर्यटकीय स्थलका रुपमा विकास गर्ने कल्पनामा मस्त झुल्न पुगेका छन् ।

स्पाले तानेको मन शीर्षकको नियात्रामा लेखक अर्याल दक्षिण कोरियाको तेस्रो भ्रमणमा सहभागी हुँदाका बखत सँगालिएका अनुभवका पोकाहरु फुकाउनमा व्यस्त छन् । असरल्लै, बग्रेल्ती, मठिमल्लै जस्ता ठेट नेपाली भाषाले प्रश्रय पाएको यस शीर्षकमा विभिन्न चरणमा युद्धले छियाछिया भएको कोरियाले छोटो समयमा नै विकासको फड्को मारेकोमा विस्मित बन्दै सर्जक अर्याल देशमा असल नेता जन्मिएमा छोटै अवधिमा पनि राज्य रुपान्तरण हुन सक्ने कुराको गतिलो उदाहरण दक्षिण कोरिया बनेको ठहर गर्दछन् । कोरियाको सामाजिक, सांस्कृतिक, ऐतिहासिक, राजनैतिक, धार्मिक, आर्थिक विविध पाटाको विवरणात्मक सूचना सम्प्रेषण गर्दै त्यसप्रतिको दृष्टिकोणलाई विचारोत्तेजक तर्कको ओजले थप आकर्षक बनाउनमा पनि उनी निपूर्ण देखिएका छन् । त्यस्तै शीर्षकलाई सार्थक पार्न जोडिएको अर्को रोचक प्रसङ्ग सौनास्थलको वातावरणले लेखकमा केही डर केही संकोच त केही रोमाञ्चकता प्रदान गरेको छ । नेपाली हिन्दु संस्कृति र संस्कारमा जन्मेहुर्केका लेखक अर्याललाई त्यो वातावरण अनौठो र असहज लाग्नु स्वाभाविक नै थियो तर जब सौनाबारे उनी जानकार भए त्यसपछिको उनको अनुभूति भने बिल्कुलै फरक बनेको छ ।

प्रवासको मायामा रात्रीबसको यात्रा, काठमाडौँदेखि नारायणगढ, हेटौँडा, ढल्केबर, इलाम, पशुपतिनगर हुँदै दार्जिलिङको टाइगर हिल, टिस्टा–सिक्किम, राङ्पो, गान्तोकसम्मको यात्रा गर्दाका रोमाञ्चकारी वर्णन र तत्क्षण उद्वेलित भएका भावहरु छरपस्ट छन् । यसमा एकातिर नेपालको प्राकृतिक छटाहरुमध्ये पनि कन्यामको चियाबगानको मुक्तकण्ठले प्रशंसा गरिएको छ भने अर्कातिर मुग्लिन–नारायणगढ सडकखण्डको दुर्दशाप्रति दिग्दारी प्रस्तुत गरिएको छ । त्यस्तै टिस्टाको तीरैतीर गाडी गुड्दा पूर्वका टिस्टासम्मका भूभाग सुगौली सन्धिमा गुमाउनुपर्दाको पीडाले विचलित बनेका लेखक अर्यालले पाठकलाई समेत भावविह्वल बनाएका छन् भने गान्तोकमा पाएको नेपालीहरुको मायाप्रेम, सद्भाव र नेपालीपनले उनी पग्लिएका छन् ।

कङ्गारुमा लोभिएको आँखाले नेपाली चेली सरितामार्फत् शिक्षित युवापुस्ताका लागि आफ्नो देशले कुनै भूमिका खेल्न नसकेकोमा स्वदेशप्रति वितृष्णा जागेको र भविष्य निर्माणका लागि काम गरी खान विदेश नै हानिनुपरेको तीतो सत्यलाई सम्प्रेषण गरेको छ । यसैक्रममा लेखक अर्यालले नेपाल सरकारमा अधिकृत जागिरे दुई जोईपोइको घरायसी कामकाजमा हुने विघ्न विभेदलाई स्मरण गर्दै लैङ्गिक मानसिकताको चिरफार गरेका छन् भने नेपाली छोरीचेलीहरुको असुरक्षा, बढ्दो घुसखोरी, भ्रष्टाचारले ग्रसित नेपाली भूमि साँच्चै अष्ट्रेलियाजस्तै सभ्य, सुसंस्कृत र विकसित भइदिए आमाको लाडप्यार पाई काखमा लुटुपुटु गर्ने उमेरका नेपाली लालाबालाले पढाइलेखाइ र काममामका लागि विदेशिनु नपर्ने निष्कर्ष निकालेका छन् ।

ट्राइसाइकलले तानेको मन शीर्षकको नियात्रामा चीनको गन्जाबो हुँदै फिलिपिन्सको मनिला भ्रमणमा निस्किएका नियात्राकार अर्याललाई मनिलाको चौडा सडकमा बिन्दास गुडेको सबैभन्दा भरपर्दो र सुरक्षित मानिएको ट्राइसाइकलले मन तानेको छ । नेपालमा दिनदहाडै हुने बलात्कार, हत्या, हिंसा र ट्रिपर आतङ्कित बनेका उनी ट्राइसाइकलले मानिसलाई दिने सुरक्षाबारे प्रश्न गर्न पुगेका छन् । फिलिपिन्सको ऐतिहासिक अवस्थाको सङ्क्षिप्त वर्णन गर्दै पाठकलाई फिलिपिनो चामलको केकको स्वाद चखाउन आतुर भएका सर्जक अर्याल वैदेशिक रोजगारीतर्फको आकर्षण फिलिपिन्समा पनि उस्तै रहेकोप्रति अचम्मित बनेका छन् ।

दक्षिण कोरियाको विकासबाट प्रभावित भएका नियात्राकार अर्यालको अर्को नियात्रा गन्जाबोको घनचक्करमा पनि दक्षिण कोरियाको विकास, राज्यद्वारा जारी नियम कानुनको पालना, कोरियनहरुको लगनशीलता, सिप, प्रविधि र दक्षता एवम् कोरिया र नेपालका सांस्कृतिक तथा मौलिक परम्परा आदिको सङ्क्षिप्त विवरण रहेको पाइन्छ भने युवाशक्तिलाई विदेशिनबाट रोक्न देशभित्रै युवारोजगारको व्यवस्था हुनुपर्नेतर्फ सङ्केत गरिएको छ । तर यति विकसित राष्ट्रको दर्जामा पुगेर पनि अष्ट्रेलिया बेरोजगार युवाको दरमा बृद्धि हुनु, मृत्यु हुनेमा आत्महत्या नै प्रमुख रहनु, देहव्यापारको समस्या दिनानुदिन बढ्नु जस्ता समस्याले गाँजिएको देखाइएको छ । यसैक्रममा लेखकले वैदेशिक यात्रामा जहाज छुटेर आफू बिलखबन्दमा परेको अनुभव पाठकका सामु राख्दै चाइनिजहरुको स्वभावबारे आफ्नो अनुभव जेजस्तो रह्यो त्यसको वृतान्त बताउँदै बाँकी मूल्याङ्कनको जिम्मा पाठक स्वयम्लाई नै दिएका छन् । सेसे, आनेङ्ग हासेयो शब्दको प्रयोग तथा बिफ खाने कोरियनहरुको प्रचलनले आफू धर्मसंकटमा परेको प्रसङ्गले लेखलाई थप रोचकता प्रदान गरेका अर्याल प्राविधिक टोलीसहित मेलम्ची पुग्दा राज्यनिर्माणका लागि मानवस्रोतको सर्वत्र महत्त्वपूर्ण भूमिका रहने अनुभव बटुलेर फर्किएका छन् ।

वर्तमान समयमा अधिक प्रयोगमा आएको विभिन्न सामाजिक सञ्जालहरुमध्ये म्यासेन्जरले निम्त्याएको समस्यालाई मूल विषयका रुपमा समावेश गरिएको अर्को नियात्रा सामसिङको यात्रा र म्यासेन्जरले निम्त्याएको वित्यासमा नियात्राकार अर्याल नेपालको धरानजस्तै देखिने दार्जिलिङको सिमानामा अवस्थित जलपाइगुडी जिल्लाको बोर्डर सामसिङमा फिल्ड भिजिटका सिलसिलामा ओभरसियर भई जाँदाको अनुभूति जोड्न पुगेका छन् । जहाँ अर्नी शब्दको अर्थ नबुझ्दा निम्तिएको धर्मसंकट र त्यसबाट सिर्जित रोचक प्रसङ्गले मलाई पेट मिची–मिची हँसायो । मिजासिला स्वभावका सामसिङबासीमध्येका प्रधाननी दिदीसँगको म्यासेन्जर मार्फतको वार्तालाप र कुराकानीले लेखक अर्यालको पारिवारिक सम्बन्धमा खटपट नै पो आउने हो कि भन्ने समस्याले म पो पिरोलिन पुगेँ । वास्तवमै सामाजिक सञ्जालको सही सदुपयोग हुन नसकेकोमा यसैमार्फत लेखकले समस्त सञ्जालप्रेमीहरुलाई सचेत गराएका छन् ।

विषयसूचीको स्वदेश खण्डअन्तर्गतको पहिलो नियात्रा काठमाडौँको पहिलो यात्रामा नियात्राकार अर्यालभित्रको जन्मभूमिको माया र मातृस्नेह एकैचोटि पोखिएको छ । उच्च शिक्षाका लागि पहिलोपटकको घर छोडाइ अनि काठमाडौँको बसाइ उनका लागि बिल्कुलै नौलो थियो । यसैबीचमा उनले त्यतिबेलाको काठमाडौँ र अहिलेको काठमाडौँ, जीवनशैली, बाटोघाटो, शैक्षिक प्रणाली तुलना गर्दै शिक्षामा व्यापारीकरण बढेको, निजी र सामुदायिक विद्यालयका कारण शैक्षिक प्रणालीमा ठूलो दरार आएको, सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर शून्य बन्दै गएकोप्रति दुखेसो प्रकट गरेका छन् ।

तालिम सञ्चालनका क्रममा सुर्खेत गुँरासेको प्राकृतिक छटालाई नियालेका नियात्राकार अर्यालको जङ्गलका राजासँगको भेट शीर्षकको नियात्रामा पहाडी कच्ची सडक, घुम्ती, भीरपहराको बाटोमा गाडी हाँक्ने ड्राइभर (वसन्त) लाई हिरोका रुपमा चित्रण गर्दै तिनका कथाव्यथा समेटिएको मीठो संवाद प्रस्तुत गरिएको छ भने राउटे जातिलाई जङ्गलका राजाका रुपमा प्रतिस्थापित गरेका सर्जक सुर्खेतमा राउटेसँगको भेटपश्चात् फोटो खिच्न लालायित बनेका छन् तर विडम्बना पैसा छोए पाप लाग्छ भन्ने जनमानसको भनाइ विपरीत राउटे समुदायमा पैसा माग्ने मगन्ते प्रवृत्ति बढ्दै गएको र मादक पदार्थ सेवन गरी विकृति मच्चाउने गरेको यथार्थप्रति नियात्राकारले नमीठो अनुभव गरेका छन् ।

वि.सं.२०७२ वैशाख १२ को विनाशकारी महाभूकम्प र त्यसले निम्त्याएको विपत्तिलाई पनि नियात्राकार अर्यालले महाविपत्तिभित्रको मानवीय विपत्ति शीर्षक राखी पाइलाका चुम्बनमा स्थान दिएका छन् । आपतको साथी नै धैर्य हो, सेवा नै मानवको परम धर्म हो भन्ने मूलमन्त्रलाई आत्मसात गरेका नेपाली मनहरुमा जागेको सहयोगी भावलाई निकै सरस ढंगले वर्णन गरिएको यस नियात्राभित्र लेखकले तत्कालीन समयमा आफू र आफ्ना सहयोगी मित्रहरुको साथले गोरखाका ताप्ले, बुङ्कोट, ताकुकोट तथा सिन्धुपाल्चोकको ठोकर्पा, दोलखाको पवर्टी लगायतका विभिन्न ठाउँहरुमा भूकम्पपीडितलाई घर बनाइदिएको र यसैक्रममा काम गर्दै गर्दा धेरै असहजताहरु आफूले झेल्नुपरेको भए पनि पीडितहरुको चहराइरहेको घाउमा पवित्र मनले मलम पट्टी गर्न पाउँदा छाती चौडा भएको अनुभव पाठकसामु निश्चल मनले पस्किएका छन् ।

सामान्य विषयवस्तुलाई पनि निकै रोचक ढंगले प्रस्तुत गर्ने कलाले खारिएका सर्जक अर्यालले भगवान् शिवजीले तानेका पाइलामा रसुवा जिल्लामा अवस्थित गोसाईँकुण्डको यात्रा र अनुभूतिलाई समेटेका छन् । पाठकलाई पनि सँगसँगै तीर्थाटन गराइएको यस नियात्रामा समुन्द्री सतहदेखि निकै उचाइमा रहेको गोसाइकुण्डसम्मको यात्रा भौगोलिक विकटताका दृष्टिले जोखिमपूर्ण, कठिन र केही असहज महसुस भए तापनि गन्तव्यमा पुगेपछि भने साक्षात् कैलाशका अधिपति शिव र पार्वतीको दर्शनभेटले तीर्थालुको मन मयुरले झैँ प्वाँख फिँजाएर नाचेको छ । बीचबीचमा हाँसीमजाक र ठट्टालाई ठाउँ दिई पाठकको मन एकीकृत गर्न यात्रासँगै लेखकले समुद्र मन्थनको प्रसङ्ग जोडी भगवान् शिव र गोसाइकुण्डको तादात्म्य सम्बन्ध पहिल्याइदिएर पाठकको मन उजिल्याएका छन् ।

गाडी चालक र सहचालकले मनोमानी ढङ्गले भाडा असुल्ने प्रवृत्तिप्रति तिखो व्यङ्ग्य प्रहार भएको राजमार्ग र उपत्यकामा यात्रा गर्दाको जोखिम शीर्षकको नियात्राभित्र अर्यालले दशैँको बेला उपत्यकादेखि जन्मथलो गोरखासम्मको यात्राका क्रममा आएका बाधा उल्झनको मार्मिक अनुभव प्रस्तुत गरेका छन् । नेपाली सडकमा गुड्ने मोटरको दुर्दशा, चालक र सहचालकको बोलीवचन र व्यवहारको रबैयाप्रति असन्तुष्ट भएका लेखक सडक दुर्घटनालाई मानिसको अहंकार, घमण्ड र अविवेकीपनको उपज मान्दछन् । माइक्रो बसमा मानिस कोचिएका, काल आए जसरी मोटर कुदाएका वा बसमा काम गर्ने सहयोगीले बोलेका अश्लील शब्दका बारेमा हेर्ने, देख्ने र कारवाही गर्ने कसले होला कुन्नि ? उनी जिज्ञासा र कौतूहल प्रकट गर्दछन् सँगसँगै यस्ता अराजकतालाई अन्त्य गर्न मौन समर्थनले नभएर प्रतिवादमै उत्रनुपर्ने सुझाव पेस गर्दछन् ।

पहाडकी रानीको बदलिएको रुप लेखकको पहिलोपटक जागिर खाँदाको अनुभव, चारआली हुँदै इलामसम्मको यात्रामा होटेलको भातलाई बिरालाको नाकजस्तो चिसो भात भन्ने बोलीले भोकै पेट बस्नुपर्दाको पीडा, रातको अनिदो र त्यसैमाथि कठ्याङ्ग्रिने जाडो यी सबै उनका लागि अविस्मरणीय बनेका छन् । इलामको मौसम, केटी र तोङ्वाप्रति सजग रहनुपर्ने वास्तविकतालाई नजिकैबाट नियालेका लेखकलाई यहाँ पनि ह्याप्स, डिम्बा जस्ता स्थानीय भाषाका शब्दले अलमल्याएको छ । विगत र वर्तमानको इलाम यात्रालाई तुलना गर्दै इलामको सुन्दर र कुरुप पक्षको चित्रणमा पनि ध्यान पुर्याएका अर्याल विगतका तीता मीठा अनुभवले वर्तमानमा घोत्लिन पुगेका छन् ।

स्वदेश खण्डअन्तर्गतको अन्तिम नियात्रा लिगलिग कोटमा प्रफुल्ल भएको तन र मन अन्तर्गत लेखक जुन उत्साह र उमङ्ग लिएर मामाघर पुगेका हुन्छन् तर त्यहाँ उनले बिल्कुलै सुनसान र निर्जन महसुस गरेका छन् । यहाँ उनी पनि शिशिर ऋतुले उजाडिएको प्रकृति जस्तै, परदेशिएको छोरोको पर्खाइमा रुग्ण र जीर्ण शरीर लिएर बसेकी सेतै फुलेकी बुढी आमाजस्तै देखिएका भूकम्पले छियाछिया बनाएको गाउँघर, बस्ती, बाटाघाटा एकएक नियाल्दै मनभरि स्नेहका गुच्छा सँगाल्दै लिगलिगकोटबाट देखिने धौलागिरी र मनास्लु हिमालको सौन्दर्यको स्वाद आफूले पनि आस्वादन गरेका छन् भने पाठकलाई पनि मायालु हातले चखाएका छन् । यसैक्रममा पालुङटारको पुरानो हवाइग्राउण्डमा पुगेका उनी तरङ्गित हुँदै गोङ्गबु नयाँ बसपार्क छिर्ने मुखैमा भएको आकाशे पुलमाथिको दृश्य आँखाअघि नचाउन पुग्छन् ।

सुरुमा त उनी ती नौजवान युवाहरु बरालिएर आकाशे पुलमाथिबाट सडकको रमिता हेरेकोमा असन्तुष्टि जाहेर गर्छन् र तिनलाई पालुङटारको हवाइग्राउण्डमा ल्याई सामूहिक खेती गराउने कल्पनामा हराउँछन् तर जब आकाशेपुलमा भेटिएको होटलको ग्राहक खोज्ने दलाली बनेको भाइसँग संवाद गर्छन् तब एकाएक उनीसँगै म पनि भावविह्वल बन्न पुगेँ । आकाशेपुलमाथि बसेका युवायुवतीको ती दर्दनाक पीडाले साँच्चै कुन पाठकको मन नछोला र ! त्यस्तै प्रसङ्ग छ जाँतो र सिलौटो बनाउने सिप भएका रामजी र पिङ्गीको । यसबाट बसपार्कको पुलमाथि बसेर मोटर गनिरहेका ती युवाहरुलाई पनि रामजी र पिङ्गीको जस्तै सिप सिकाउन पाए आफ्ना खेतबारी बेचेर दलाललाई पैसा बुझाउन तँछाडमछाड गर्नेहरुले देशको मुहार फेर्थे होलान् कि भन्ने सोचाइमा मग्न हुन पाठकलाई बाध्य तुल्याइएको छ र नियात्रालाई बिट मारिएको छ ।

समग्रमा भारत, दक्षिण कोरिया, चीन, फिलिपिन्स, अष्ट्रेलियाजस्ता विदेशी स्थानका साथै सुर्खेत, इलाम, गोसाइकुण्ड, लिगलिगकोटजस्ता स्वदेशी स्थानका भ्रमणबाट प्राप्त ज्ञान तथा अनुभवलाई मौलिकताको कसीमा घोटेर आस्वादनीय पारिएको पाइलाका चुम्बन नियात्रा नेपाली साहित्यको एक महत्त्वपूर्ण उपलब्धि हो । भ्रमणका क्रममा कतिपय स्थानको उन्नति, प्रगतिका बारेमा चासो राख्नु, आर्थिक उन्नतिको कारण पहिल्याउनु र ती सबै नेपालमा कसरी सम्भव होला भन्नेप्रति चिन्ता र चासो प्रकट गर्नु, नियात्रामा भेटिएका नवीन तथ्यहरुको जानकारी, घतलाग्दा प्रसङ्गका साथमा नेपालसँग बारम्बार जोडिनु नियात्राका सबल पक्ष हुन् ।

यति हुँदाहुँदै पनि कहीँ कतै नियात्राको विषयवस्तु र शीर्षकका बीच तालमेल नमिलेको आभास हुनु, (लिगलिगकोटमा प्रफुल्ल भएको तन र मन शीर्षकको नियात्रामा प्रफुल्ल हुनुभन्दा बढी उदासी र खिन्न बनेको देखिनु) यात्रा वर्णनका क्रममा कोरियाको उन्नति, प्रगति, विकास, सभ्यता र नेपालस्थित इलामको सुन्दरताको वर्णन पटक–पटक दोहोरिनु, यदाकदा एउटै कुरामा स्थिर नरही चञ्चलता देखाउँदा सारा अनुभवहरु विशृङ्खलित भई छरपस्ट हुनेगरी पोखिनु जस्ता कुरामा नियात्राकारले त्यति ध्यान पुर्याउन नसकेका हुन् कि भन्ने आभास हुन्छ । हुन त नियात्राकारका प्रायः सबै यात्रा व्यवस्थित नै देखिन्छन् । जुन सामान्य यात्रीले गर्ने वास्तविक भोगाइको महसुस उनले गरेका छैनन्, यद्यपि संयोगवश कहीँकतै बाधा उल्झन भने नव्यहोरेका होइनन् । जे होस् यो नियात्राकृतिले नियात्राकार अर्यालको व्यक्तित्वलाई थप उचाइमा पुर्याएको देखिन्छ ।

पुस्तक लेखिएला भनेर कल्पनासम्म नगरेका प्राविधिक क्षेत्रमा आबद्ध व्यक्तिले पहिलो प्रयासमै सिङ्गो कृति लिएर विशाल मैदानमा प्रतिस्पर्धामा उत्रनु गौरवको विषय हो । यसरी नै मनमा दृढ इच्छाशक्ति र उच्च मनोबल रहिरहे नियात्राकार अर्यालको आगामी साहित्यिक यात्रा थप उर्वर र हराभरा बन्नेमा पूर्ण विश्वास छ । भावी दिनमा अझै रसिला, रोचक, सान्दर्भिक र पाठकको मन जित्न सक्ने जीवनोपयोगी नियात्रा जन्माई एक अब्बल साहित्यकार बन्न लेखकलाई प्रेरणा र अवसर मिलोस्, हार्दिक शुभकामना ।

कृतिः पाइलाका चुम्बन
विधाः नियात्रा
लेखकः श्री दीपक अर्याल
प्रकाशकः ओरियन्टल पब्लिकेसन हाउस