साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

बहावमय ‘फ्लाइट्स’मा गालिना चिन्तन

फिलिपले छाडिगएको छ एक गम्भीर प्रश्न । सम्पूर्ण मानवका लागि । हामी उत्सुकता र खोजका बादशाह कहलिएका छौँ यतिखेर । संसार हरदिन नजाने के के मात्र खोजिरहेछ । हाम्रो खोजको भोक डरलाग्दो छ । यदि कुनै दिन खोज्नु पर्ने सबै सकियो र भेटिएको नाङ्गो यथार्थले खोजकर्तालाई नै गिज्याउन थाल्यो भने, के होला मान्छेको हाल ?

Chovar Blues Mobile Size

विश्व साहित्यका पारखी माझ बेखबर रहेकी पोलिस लेखक ओल्गा टोकारजुकको चर्चा एकाएक चुलियो, सन् २०१८मा । कारण थियो उनको किताबले पाएको म्यान बुकर इन्टरन्यासनल प्राइज । उनको उपन्यास ‘फ्लाइट्स’ले रातारात चर्चाको शिखर छोयो । त्यसैताका मित्र, कवि सुमन घिमिरेको युरोप यात्रा मेरा लागि भने फलदायी सावित भयो । गाढा नीलो कभर भएको उपन्यास उपहारस्वरुप मेरो हात थमाइदिए । अकस्मातै असीम उत्साह भरियो । झट्पट पढ्न सुरु गरेँ । तर मार्तोलले ठोकेझैँ ठोक्न थाल्यो दिमाग । अजिब घटना र पात्रहरूको महासागर । बाफरे, छिचोल्न सक्छु र ? भन्दै अघि बढ्दै जादा बिस्तारै लय लियो पढाइले । बुकर बिजेता आना बन्र्सको ‘मिल्कम्यान’ले पनि लगभग अभर पारेको थियो सुरुमा । प्रयोगधर्मी उपन्यासहरू छिचोल्न पाठकले मन दरै पार्नुपर्छ । दिमाग गजमजाउने अनौठा पात्र र घटनाहरूले भरिपूर्ण हुनसक्छन् ती उपन्यास, जस्तो कि ओल्गाको ‘फ्लाइट्स’ ।

फिलिप उत्सुकता

सबै कुरा जान्नुको पीडा बेग्लै छ । भन्छन् नि नजान्दा नबुझ्दा मान्छे खुसी हुन्छ । जस्तो कि साना नानीहरु । कति खुसमय छ उनीहरुको संसार । तर हुर्कदै, संसार बुझ्दै जाँदा ती बाल्यकालीन सुख पाखा लाग्दै जान्छन् ।

धेरै कुरा बुझ्नुको, देख्नुको र भोग्नुको पीडाले चिथोरिएको छ आजकल सर्जन फिलिप भर्यन । उसले आफ्नै खुट्टाको भए जतिका मसिना तन्तुहरु अध्ययन गरी जीवन बितायो । र अन्तमा जब “एचिलिज टेन्डन” पत्ता लायो तब बुझ्न बाँकी केही रहेन । त्यसपछि ऊ एकाएक अथाह शून्यता र रित्तोपनले पुरियो । त्यत्ति जानिन्जेलमा उसको खुट्टा अनगिन्ति मसिना टुक्रामा विभाजिन भई टेबलभरि छरिइसकेको थियो । त्यसरी हजारौं टुक्रामा टुक्रिनुअघि खुट्टा सग्लो थियो । फिलिपको शरीरबाट छुट्टिएर (काटिएर) पनि मस्त तैरिरहेको थियो सिसनको ठूलो जारमा । ढल्पलिदै थियो ब्रान्डी र कालो मरिचको घोलमा । अनि ऊ भने मस्त मस्त थियो उही आफ्नो शरीरबाट अलग्गिएको खुट्टाको प्रेममा, सम्मोहनमा । दिनभर हेरिबस्थेँ त्यसैलाई एकैछिन् आँखा नबिसाई । कस्तो बौलट्ठीपना ! त्यस सर्जनको आफ्नै खुट्टाप्रतिको अस्वाभाविक अब्सेसन निकै अनौठो लाग्छ ।

किन गर्दो हो इन्फेक्सनले काटिएको खुट्टाको त्यत्ति बिध्न माया ? तन्तुहरु धरी केलाई कुलाई भ्याएका छन् उनले । सबै भ्याएपछि भने उनीमा फैलिएको छ बिसाल शून्यता । अब केही बाँकी नरहेको खालीपनले उनलाई बिमार पारेको छ । ( बिसन्चो त उनी खुट्टाको दुःखाइले पनि भएका हुन् । ) अन्तमा छाडिगएका छन् एउटा पत्र उही काटिएको खुट्टाको नाममा, “लेटर्स टु दि एम्पुटेटेड लेग” । त्यस चिट्ठीले भकाभक खुलासा गर्छ उनले भोगेको मनोपीडा । पत्रको अन्त गर्छन् एक प्रश्नसँगै, “मैले आफ्नै शरीर, काटिएको खुट्टाको यात्रा गरेर जीवन बिताएको छु । मैले प्रत्येक मांसपेशी, नसा, रक्तनली र तन्तुहरु गनेँ । म ढुक्कसाथ भन्न सक्छु, मैले सबैभन्दा सानो अंश पनि छुटाइन । यति खेर आफैसँग एउटा प्रश्न छ, म के कुराको खोजी गरिरहेको थिएँ ?”

sagarmani mobile size
कुमारी लामा

फिलिपले छाडिगएको छ एक गम्भीर प्रश्न । सम्पूर्ण मानवका लागि । हामी उत्सुकता र खोजका बादशाह कहलिएका छौँ यतिखेर । संसार हरदिन नजाने के के मात्र खोजिरहेछ । हाम्रो खोजको भोक डरलाग्दो छ । यदि कुनै दिन खोज्नु पर्ने सबै सकियो र भेटिएको नाङ्गो यथार्थले खोजकर्तालाई नै गिज्याउन थाल्यो भने, के होला मान्छेको हाल ?

मान्छेको अब्सेसन कतिखेर फ्रस्टेसन बनिसक्छ उसले भेउ नै नपाउने रहेछ । केही चीजप्रतिको अत्यधिक सम्मोहन खासमा निकै खतरनाक हुनसक्छ । कति धेरै मोह छन् हाम्रा । एउटा सकियो अर्कैले गाँजिजान्छ । सायद उत्सुकता । त्यस्तै उत्सुक मनको उपज अष्ट्रियाका सम्राट जोसेफ दोस्रोको सङ्ग्राहलय, “क्याबिनेट अब क्युरियोसिटीज” पनि ओल्गाको नजरमा छ । सम्राट संसारभरका सबै जीव जन्तुहरुको संकलन गर्छन् । जिउँदो हैन, मरेपछि जिउँदोझैं सिसाभित्र सजाइदिने सोख छ उनको । ती विशेष खजाना देखाउँदै रात्रिभोजमा पाहुनाहरुलाई मनोरञ्जन प्रदान गर्ने लहडीपना छ उनको । जोसेफकै उत्तराधिकारी फ्रान्सिस प्रथमले आफ्नो दरबारमा काम गर्ने एक काला जातिका मिलनसार मित्र एन्जेलो सोलिम्यानलाई मृत्यु पश्चात् पनि कैदी बनाइदिए । उनलाई मम्मी बनाएर क्याबिनेट अब क्युरियोसिटीजको अर्को सदस्यको रुपमा सजाइयो । बाँचिन्जेल उनीहरुकै बफादार नोकर थिए सोलिम्यान तर मरेपछि भने उनी केवल एक जंगली काला जातिको प्रतिनिधि भई सजिए सम्राटको सोकेसमा । उनको मृत देह एक लहर उत्सुक नजरका लागि सीमित पारियो । उनकी छोरीले बाबुको शरीर फिर्ता माग्दै बारम्बार याचनापूर्ण पात्रहरु पठाइरहिन् दरबारमा । तर सबै व्यर्थ भए । परिवारले कहिल्यै पाएनन् त्यस शरीर । आफ्नो संस्कारजन्य मृत्युसंस्कार पनि गर्न पाएनन् उनीहरुले । सोलिम्यानको अस्तित्व शासकीय अहंले बिलिन पारिदियो ।

तर संसारलाई आश्चार्यचकित पार्दै सोलिम्यानको मृत शरीर मुक्त भयो, एकदिन । त्यस विशेष अवसर थियो सन् १८४८ को अक्टोबर क्रान्ति । त्यही क्रान्तिमा जलाइयो म्युजियम र जले ती अनगिन्ति संरक्षित शरीरहरु । उत्सुकताको भोक वास्तवमा खतरनाक हुँदो रहेछ । सोलिम्यान इतिहास खुल्दै गर्दा कम्तिमा दुई प्रश्नले ढक्ढकाइरहेको छ दिमाग, किन गरिरहन्छन् मानिस बारम्बार अन्याय आफैंजस्तो अर्को मान्छेमाथि ? किन सबै कुरा बुझ्ने मानिस फेरि बुझ्दैन मान्छेकै पीडा र नुन चुक छरिरहन्छ उसैको घाउमा ?

अनुष्का बहाव

“मोबिलिटी इज रियालिटी” भन्छन् जानकार । गति छ र न जीवन छ । जीवन छ र यसका विविध आयामसँग जोडिएका सत्यहरु छन् । अर्थात् सापेक्षिक सत्यहरु छन् । सत्य विभिन्न पाराका देखा पर्छन् । अनुष्काको सत्य भन्नु यतिखेर दौडिनु हो, भाग्नु हो या बग्नु हो । सायद आफ्ना परिस्थितिहरुबाट । हातभरिको छोरा छ तर एकदम बिमार । लोग्ने निकै समयपछि घर फर्केको छ तर छ पूरा पूरा अजनवीझैँ, निर्जीवझैँ । न ऊ अनुष्कालाई छुन्छ न उसले छुदा केही प्रतिक्रिया देखाउँछ । क्या फसाद् । ओल्गाले “फ्लाइट्स” भरि अजिब अजिब पात्र उभ्याउँछिन् । अजिब तर जीवन्त । मस्को महानगर, कोलाहल, भीड र गन्जागोलले बढाएको उनको मानसिक तनाव प्रत्येक महानगवासीले बेहोरेकै छन् । तथापि तनावका कारण भने फरक घनत्वका हुन्छन् ।

सहर, देख्दा सुन्दर तर भोग्दा गाह्रो ठाउँ हो । यहाँ रुन र हाँस्न आफूले चाहँदा पाइन्न । आँसु झार्न ठाउँ खोज्नुपर्छ सहरवासीले । अनुष्का आफ्नो पीडा भरिएको मन लिएर दिनभर सहर भौतारिन्छिन् र रुनु पर्दा चर्चको एउटा कुना रोज्छिन् । रुँदै रिचुअल आँसु झार्छिन् र हलुका भई घर फिर्छिन् । क्या बिडम्बना जिन्दगी । रुन पाउनु त आफन्तको अंगालोमा तब न मीठो लाग्दो हो पीडा पनि । तर सहरमा आफन्त पाउनु कहाँ ? सहरमा छ त केवल झिलिमिली । दिनभर पनि पिलपिलाइरहन्छ मर्करी उज्यालो र देखाइबस्छ देखावटी अनुहार । बेफाकमा दिमाग चाट्छ भर्खर गाउँबाट छिरेको एक अजान मान्ठाको । देखाउँछ ठूलो सपना र डुबाइदिन्छ चुर्लुम्मै भ्रम पोखरीमा । खासमा पोखरी आफैं बग्न नपाउनुको पीडा बाँचेको हुन्छ । सहर त्यस्तै पोखरी हो । पीँधभरि लेऊ जमाएर सतहमा उज्यालो; लोभ्याउने प्रकाश छर्छ एक भ्राम‐पोखरी । अनुष्का सहर यात्रामा छिन् । उनलाई हेर्नु छ सहरको असली अनुहार । म पनि त घरीघरी सहरको नामुद ठाउँतिर बरालिदिन्छु, रातविरात । त्यसरी डुल्दा त हो हुने अनेक जीवनहरुसँग जम्काभेट । सबैकै आआफ्नै कथा व्यथा हुन्छन् । कथाको के कमी छ र संसारमा । आज अनुष्काले भेटेकी छिन् एक डुलन्ते बुढिया, गालिना । शरीरभरि पत्रै पत्र लुगा उनेकी उनले टाउको पनि उसैगरी पुरै छोपेकी छन् । बिन्दास छिन् बुढिया । उनी हरबखत मज्जाले सरापिरहेकी भेटिन्छन्, कसैलाई । कसलाई र किन बुझिन्न । सायद सहरलाई या समाजको बेथितिलाई जसले उसलाई एक माग्नेमा रुपान्तरित गरिदिएको छ । हेर्दै जाँदा भेटिन्छ प्रत्येक मानिसमा असन्तुष्टि । विसंगत परिस्थिति, वर्ग वर्गका पीडा र ज्युँदो भएर पनि अस्तित्वहीन भई भौतारिनुको सकस । आजकल धेरै नगरवासीले यस्तै महसुस गर्ने गर्छन् । सहर हरेक थोकको हिसाब माग्छ । खल्ती गरम त सबै नरम; खल्ती रित्तो त सबै रुखो । गालिनाको पीडा ज्यानभरि थुप्रिएका रङ्गिचङ्गी कपडाभन्दा भिन्न छ । उनी रङ्गिन कपडाभित्र अँध्यारो समय बाँचिरहेकी छिन् । उनी एक भिखारीसरहको बोझिल जीवन बाँच्दै छिन् ।

पहिलो जम्काभेटमा भागेकी थिइन् अनुष्का गालिनासँग । तर आज कसो कसो उनी आफैं नजिक भएकिछिन् । खासमा उनी त पछि नै लागिदिन्छिन् गालिनाको । भाग्ने मोहले होला । लाग्छ उनलाई भाग्नु छ आफैंबाट । लोग्नेको चिसोपन बिझेको छ । छोराको सधैँको बिरामीले उनी बिरक्तिएकी छिन् । सास फेर्न चाहन्छिन् आफ्नै इच्छाको । भाग्न मन छ उनलाई प्रत्येक सेकेन्डको निगरानीपूर्ण माहोलबाट ।

सबैथोक भएर पनि पुग्दैन मान्छेलाई । जसरी अनुष्कालाई अपुग भएको छ जीवन । सुविधासम्पन्न फ्ल्याट छ, छोरा, लोग्ने, उपचार गर्ने खर्च, सबै पुग्दा पनि उनी असन्तुष्ट छिन् । भाग्न चाहन्छिन् । सधैँलाई होइन । केही क्षण मन भुलाउन, बेस्सरी रुन, या बेपर्वाह डुल्न मस्कोका गल्ली, चोक सडक जताततै । समयको पावन्दीभन्दा परको स्वतन्त्रता हो उनको रुचि । विपर्यास छन् अनुष्का र गालिना । अनुष्का सबैथोक भएर पनि अलुनो छिन् । गालिना केही नभएर पनि सबै पुगे जस्तो, आनन्द । कम्तिमा उनी मनलाग्दी लुगा लाउन सक्छिन् । चाहेजति सराप्न सक्छिन् । स्वतन्त्र जहितही हिँडिदिन सक्छिन् । मान्छेले खोज्ने मुख्य कुरा हावा, भात पानी पछिको त स्वतन्त्रता नै रहेछ । मान्छे हरदम आफ्नो बहावमा वहन खोज्छ । चाहे त्यो विचारको बहाव होस् या जीवन बाँच्ने काइदाको । बगाइ छ र हामी छौँ । ओल्गाको भनाइ मीठो गरी छोई जान्छः “हामी सबै नदीजस्तै हौँ, अथवा हौँ एक धार, या पानी जो एक ठाउँबाट अर्को ठाउँ बहन्छ …” । हो यही बहाव जसले जीवन दिन्छ । यात्राको अर्थ थप्छ । अनुष्काको बगाइले दिएको छ जीवनप्रतिको नयाँ उत्साह र अन्ततः उनी फर्की पुगेकी छिन् छाडी हिँडेको उही अपार्टमेन्ट ।

यात्राको मीठास ती बिसौनीहरुमा भेटिन्छन् जहाँ एकछिन् सुस्ताउन सकियोस् र हुन सकियोस् केवल आफू । जीवन भारी भारी त छँदैछ । हामी घेरिएका त छौँ नै विसंगत समयको फन्दामा । तर फिकर किन ? समय बलियो छ भन्छन् । एक दिन उसैले खोजिछिचोल्छ बाटो । निकास समयले नै दिन्छ । सोलिम्यानको शरीरमाथिको त्यो शोषण आखिर समयले नै पार लगाइदियो । अनुष्काले खोजेको घरको बाटो या गालिनाको मस्त मौला चिन्तन सबै यात्राकै मिठासिला श्रृङ्खला न हुन् । केही रहन्छ र संसारमा स्थिर ?

सोलिम्यानको मृत शरीरलाई सिसामा टाँगेर मुस्कुराउने इतिहास आज आफैं गायब छ । समयको बहावले नै पारिदिन्छ कायापलट, इतिहासको । ओल्गाको ‘फ्लाइट्स’ छिचोलिसक्दा यस उपन्यास बहाव मन्थनको एक अब्बल कृति हो भन्ने पक्का भएको छ । बहनुको खास अर्थ छ यस जगतमा । लेट्स फ्लो…

प्रतिक्रिया
Loading...