राति मगमग बास्ना आउने एक फूलको जात हो रजनीगन्धा। यसलाई अँध्यारोको रानी QUEEN OF NIGHT पनि भनिन्छ। PURITY, PEACE AND INNOCENCE वा पवित्र, साम्य, निर्दोषता वा सरलता यसको गुण हो।
वास्तु शास्त्रअनुसार रजनीगन्धा घरको निम्ति अत्यन्त राम्रो मानिन्छ, यसद्वारा खुसी अनि समृद्धि आउँछ घरमा। रजनीगन्धा हेर्नुमा सुन्दर देखिन्छ, त्यसोहुँदा मानिसहरू यसलाई टिपेर घरमा सजाउन चाहन्छन् ।
मगमग वासना आएर परिवेश नै सुगन्धित पार्ने अनि सबैले महत्त्व दिने फूल हो रजनीगन्धा । स्त्री जातिलाई फूलसँग तुलना गरिन्छ। सृष्टिको अनुपम उपहार स्त्री जाति बिना यो सृष्टि ढुक्कले चल्न सक्दैन। स्त्री बिना यो संसार नै सम्भव छैन। फूलमा भ्रमराहरूको आगमन प्रकृतिको नियम हो। स्त्रीप्रति पुरूष आकर्षित हुनु अनि पुरूषप्रति स्त्री आकृष्ट हुनु सृष्टिकै परिकल्पना हो। फूलको रस चुस्न भ्रमराहरू घुमिरहन्छन् निरन्तर। फूल बनिन्छ कोपिलाबाट। कोपिला नै टिपेर मारियो भने त्यो फूल बन्न सक्दैन। फूलको पनि आफ्नो जीवन हुन्छ। बोटमा फूलेको फूलको सौन्दर्यता साँच्चै सुन्दर हुन्छ, तर भूइँमा झरेको फूलको अस्तित्व रहँदैन। ढकमक्क फक्रेको फूललाई चुड़ाएर लगेपछि त्यो फूलको आफू हुनुको अस्तित्व मरेर जान्छ। यस्तै फूलरुपी स्त्रीहरूको जीवनको सङ्घर्षमय कथारुपी माला उनेर कथाकार ध्रुव लोहागणले रजनीगन्धा कथा सजाएका छन्।
रजनीगन्धा नेपाली साहित्य संसारमा आजभन्दा एक्काइस वर्षअघि नै देखापरिसकेको कथासङ्ग्रह हो।
सन् 2005- को डा. शोभाकान्ति थेगिम स्मृति पुरस्कारले पुरस्कृत रजनीगन्धा कथासङ्ग्रह-का कथाहरू आज पनि नौला छन्। पुनः दोस्रो संस्करण निस्किएको यसमा चौधवटा कथाहरू सङ्ग्रहित छन् ।
रजनीगन्धाको मगमग वासनाजस्तै छन् अधिकांश कथा । शीर्षक कथा रजनीगन्धा-मा जल्दो-बल्दो समस्या चेलीबेटी बेचबिखनको प्रसङ्ग उठाइएको छ । एउटा फूललाई उसकै हिसाबले फुल्न र फक्रिन दियो भने त्यसको अस्तित्व रहन्छ। रजनी फक्रिँदो फूलरुपी युवती हो । सुन्दरी छे, कलेज पढ़दै गरेको शिक्षित नै हो, तर पनि चेली-बेटी बेचबिखनको जालमा फँसेर कलकत्ता पुग्छे । नेपालबाट सिलगढ़ी पढ़न आएकी रजनीलाई बेचिन्छ वेश्यालयमा, त्यहाँबाट निस्किए पनि केही दलालबीच फसेर देहव्यापारमा लागेकी छे । रजनीसँग रोसनको भेट हुन्छ। रजनीको कथा-व्यथा सुनेर रोसनलाई दुःख लाग्छ, तर कल गर्ल भइसकेकी एड्सजस्तो रोग लागेर मरे पनि मर्छु भनेर नडराउने रजनी यसै काममा सन्तुष्ट छु अनि अरूलाई पनि सन्तुष्टि दिन्छु भन्दै रोसनदेखि टाड़िन्छे। कथान्त हुन्छ। जीवनको सत्यतथ्य माथि ठूलो प्रश्न चिन्ह तेर्सिन्छ। यथार्थ धरातलमै रजनीगन्धाको सुगन्ध बेचिएको छ अनि त्यो सुगन्धहीन भइदिएको छ ।
रजनीगन्धा कथासङ्ग्रहको प्रथम कथालाई यात्रा कथाको रुपमा राख्न सकिन्छ। एउटा मिलन सपनाजस्तो कथामा यथार्थ चित्रण र कताकता मनोविज्ञान पनि पाइन्छ। राजधानी दिल्लीदेखि एनजेपीसम्मको यात्रा छ।
एउटा युवक-युवतीसँग आकर्षण हुनु सायद सृष्टिकै नियम हो। लेखक आफू बिहे गरेको भएर पनि त्यस युवती(सृजना)-सँग मक्खै हुनु कथाको नकरात्मक पक्ष भए पनि लेखकले आफ्नो परिवार बिर्सिँदैनन्। निश्चय नारी पुरुष जातिको मनोरञ्जनको विषयवस्तु होइन । मनोरञ्जन मात्र सोच्नेहरूले आफ्नै आमालाई पनि श्रद्धा गर्दैनन्। अर्को कथा हाम्रो कान्छामा मनको विज्ञान छ। स्वार्थी संसारको कुरा छ ।
कथा सानी मैयाँले वर्तमान समयको स्थिति-परिस्थितिलाई छर्लङ्ग उतारेको छ। बेकारी समस्याले ग्रस्त आजका युवा पिढ़ी हतारमा विहे गरेर फुर्सदमा पश्चताप गर्छन्। आफ्नो खुट्टाको भर नपरी वा भनौ स्वावलम्बी नभई बिहे गरेर नानी भइसक्दा पनि हरबिरजोक खपिरहनु परेको कृष्णको सामाजिक यथार्थ कथा हो सानी मैयाँ । आफ्नो गाउँ-ठाउँ छोड़ेर अर्को ठाउँमा कामको खोजी गरेर त्यहाँ ढाँटेर काम गर्दा फेरि अर्को बिहे गर्नु परेको अनि उतै भासिनु बाध्य भएको वास्तविक चित्रण दर्शाइएको कथा हो सानी मैयाँ । पैसा र केटीसँगको मस्तीमा भुलिएपछि आफ्नै श्रीमती र छोरालाई पनि बिर्सिनु पर्ने परिस्थितिमा अल्झिएको यो कथामा व्यङ्ग्य भेटिन्छ । कथामा बिहे भइसेकको धर्मेको बाउ कामको खोजीमा नेपाल पुग्छ अनि सानी मैयासँग आकर्षित हुन्छ । उसले अघिपछि केही सोच्दैन, सानी मैयाँ र उसको परिवारको रिमोटमा चल्ने रोबोट भइदिएको छ ऊ ।
मनोविश्लेषणात्मक कथा हो धन्य साहब ! विचरा मेमसाहब ! , उक्त कथामा नरेश ड्युटी इज गड भन्ने उक्तिलाई महत्त्व दिएर काम गर्छ। तर ऊ पनि मान्छे हो । प्रमोसन चाहिन्छ । साहब- मेमसाहबलाई पट्याउने भरमग्दुर कोसिस बीच उसको ट्रान्सफर हुन्छ मंगनमा। नरेशसँगै एकै ठाउँमा शारदा बाबुनीको पनि ट्रान्सफर हुन्छ। एक सेट ओड्ने ओछ्याउने भए दुइजनालाई भइहाल्छ नि – भन्ने शारदाको भनाइले नरेशले आत्मसन्तुष्टि अनुभव गर्छ अनि अन्तमा ऊ भन्छ- प्रमोसनभन्दा पनि ट्रान्सफर नै इन्टरेस्टिङ्ग भएको रहेछ ।
यौन मनोविश्लेषणात्मक कथाको प्रथम खुड़किलोमा राख्न मिल्छ यस कथालाई।
आँखा झिम्काउँदै कथामा बिहे गरेको बीस वर्षपछि मण्डल र मण्डलनी छोराको बाबा-आमा हुन पुगे । यसरी ढिलो जन्मिएको छोरा महेश अन्धा जन्मियो, तर उसको आँखाको अपरेसनपछि उसले संसार हेर्न पायो । मान्छे आफू राम्रो हुनु खोज्छ नै, किनभने राम्रीहरूले हेरोस् है भन्ने इच्छा कुना-काप्चामा सबैको हुन्छ । राम्रीहरू पनि राम्रेको प्रतीक्षामा बस्छन् नै । महेश पनि मान्छे हो । चिम्से आँखा ठूलो पार्ने अपरेसनको चक्करमा आँखा झिम्किरहन्छ उसको । बिहे हुनु साह्रो पर्छ, कालो चश्मा लाउन थालेपछि अन्ततः बिहे हुन्छ उसको । तर अरू राम्री युवतीले उसलाई मनपराइदेओस् भनेर राम्रीहरूलाई हेर्न छोड़दैन आँखा झिम्काउँदै । आधुनिक युवा-युवतीको मनोविज्ञान देख्न पाइन्छ कथामा।
वियोगान्त कथा हो तर त्यो बिहानी आएन । समीर र अर्चना पति-पत्नी हुन् । असाध्यै माया गर्छन् एकार्कालाई। गीत-संगीतप्रति मोह छ समीरलाई। त्यसो हुँदा अर्चनालाई समय धेरै दिन नसक्दा दुवै बिच तगारो तेर्सिन्छ । बोलचाल बन्द हुन्छ। अन्तमा संगीत कार्यक्रमको अघिल्लो दिन भोलि बिहानै दुवै प्राणी एकार्कासँग बोल्ने वाचा गर्दै विपरीत दिशामा फर्केर सुत्छन् । तर बिडम्बना अर्चना उठ्छे, समीरलाई उठाउँछे, समीर उठ्दैन । वियोग छ कथामा । मूर्छा परेर अर्चना समीरको छात्तीमा लड़छे।
यौन मनोविज्ञान कथाकै भीड़मा उभ्याउन सकिन्छ तुष्टि कथालाई । व्यवसायी मन्दिप सिंहको व्यवसायिक सल्लाहकार प्रशान्त एक विश्वासी पात्र, परिवारभित्रकै अङ्ग । मीनाक्षी मन्दिप सिंहको पत्नी । प्रशान्त र मीनाक्षी सपिङ गर्न जान्छन् । मीनाक्षीप्रतिको एकप्रकारको आकर्षण छ ।
प्रशान्तसँग घरमै बसेर बियर पिउने मानसिकता, मीनाक्षीको उत्तेजित पहिरन इत्यादिले प्रशान्तले आँट पाउँछ, फलस्वरुप आफ्नो तुष्टि मेटाउन खोज्छ, तर मीनाक्षीले थप्पड़ लगाएपछि प्रशान्त बाहिरिन्छ । नारीकै एड्भान्टेजले केही पनि हुनसक्ने कुरा स्पष्ट छ कथामा ।
कथा वैशाख पन्ध्र गते-मा गाउँमा हुने बिहेमा माथिल्लो वर्ग, तल्लो वर्ग वा भनौ धनी-गरिब इत्यादिलाई भिन्न-भिन्न प्रकारले श्रेणी विभाजन गरी बस्ने-खाने व्यवस्था गरिएको कुरा निर्धक्क राख्दै उनी भन्छन्- के गर्नु पैसा नै त हो आजको युगको सर्वमहान् शक्ति । पैसा छैन भने यो दुनियाँमा केही छैन, कोही छैन । लेखक व्यङ्ग्य गर्दै भन्छन् – सिटिङ्ग एरेञ्जमेण्ट चाहिँ मलाई ठीकै लागेको थियो । तर इटिङ्ग एरेञ्जमेण्ट चाहिँ मेरो घतमा गएन।
अर्को कोसेली कथाले आधुनिकतालाई झ्वाम्मै अँगालेको छ । विद्यार्थी जीवनमा पनि प्रेमको प्रसङ्ग बोकेको छ, अनि पढ़ाउने शिक्षकहरूलाई रक्सी कोसेली लगिदिनु सान्दर्भिक देखिएन कथामा । आमा आफ्नो छोरालाई टाड़ाको स्कूल पढ़न पठाउँदै भन्छिन् – अँ यो एउटा वरण्डी प्राइवेट पढ़ाउने सरलाई अर्को हेडसरलाई र अर्को चाहिँ खोराकीमा बसेकी घरको आन्टीलाई सिक्किमको कोसेली ल्याइदिएको छु भनेर दिनु ।
कथाभित्र राजनीतिको चित्रण गरिएको कथा हो हल्लो ! म मन्त्री बोल्दैछु। सपनाभित्र सपना छ कथामा । नेता भएपछि त्यसै कसैले कुर्सी छोड़दैन, मन्त्री हुनुको र यसको उपभोग गर्नुमा आनन्द छ । लेखक भन्छन् – नरम चौकीमा बसेपछि केही गरम र स्वर्गिक आनन्दको अनुभूति हुन्छ, म गजक्क पर्छु । चाप्लुसी लाउने अधिकारी ओरेटरी पावरको कुरा इत्यादिमाथि कसिलो व्यङ्ग्य छ कथामा । सपनामै सपना पो देखिरहेको रहेछु भनेर कथान्त हुन्छ।
सङ्ग्रहभित्रको यो कथा एकदमै भिन्न छ । यो कथामा रोमान्स छैन, प्रेम छैन । व्यङ्ग्य छ ।
देशको सिमाना रक्षार्थ हाम्रा गोर्खे सिपाहीहरू सहिद हुन्छन्, सहिदको परिवारले त्यो वियोग, कष्ट, भोग्नुपर्छ । यस्तै कारगील युद्धमा सहिद भएको विशालको बाबा-आमा पहलमान र यशोधरा दशैंको टीका-को दिन आफ्नो छोरा सम्झेर धुरुधुरु रुन्छन् दशैंको टीका कथामा । मार्मिक कथाको श्रेणीमा पर्छ दशैंको टीका । कथामा भनिएको छ- मेरो छोरा कर्मभूमिमा जाँदैछ, मेरो छोरा देशको सिमाना कुर्न जाँदैछ । हाम्रो देशको रक्षा गर्न जाँदैछ । यथार्थ भाव छ कथामा।
कथा अमर प्रेम-मा बेकारी जीवनमा प्रेम गर्नु पनि पाप भइदिएको छ कृष्णलाई । कृष्ण र राधाको जोड़ी पैसाको अभावले जोड़िन सकेन, तर आफ्नै साथी राधेश्यामले धोका दियो कृष्णलाई । अमर प्रेम सिनेमासँगै हेर्ने कृष्ण -राधाको सपना चकनाचुर भए पनि राधाले राधेश्यामसित अमर प्रेम हेरेर आफ्नो प्रेम अमर बनाइन् । कथान्तमा कृष्णको मनले भन्छ- त्यो रात राधाले राधेश्यामसँग अमर प्रेम हेरिछ।
रजनीगन्धा कथा सङ्ग्रहको अन्तिम कथा मुक्ति कथाले एउटा गहकिलो कथावस्तु बोकेको छ । एउटी नारीको सङ्घर्षशील जीवनको वास्तविक चित्रण छ कथामा । लाउँला, खाउँला भन्ने उमेरमै विधवी भएपछि आफ्नी छोरीको भविष्य सुन्दर पार्नमा लागि पर्छिन् अमृता । छोरी नम्रतालाई राम्रोसितले पढ़ाउछिन् । धुमधामले बिहे गरिदिन्छिन्, तर ज्वाँइको ड्रग्स खाने, वेश्या केटीहरूसँग आफ्नै होटलमा मौज गर्ने कु-व्यवहारले छोरी नम्रताको जीवन नर्कतुल्य हुन्छ। आफ्नै होटलमा तीनजना साथी र ज्वाँइले बलात्कार गर्ने कोसिस गर्दा बोतल फुटाएर आफ्नै पतिको हत्या गर्नु परेको छ नम्रताले कता-कता सिनेमा हेर्दैछु जस्तो लाग्ने यो मुक्ति कथामा नारीलाई एउटा मनोरञ्जनको साधनको रुपमा हेर्नेहरूप्रति कटाक्ष छ भने आजको समयमा नारी वीर र बहादुर हुनुपर्छ भन्ने विचार छ कथाकारको।
कथान्ततिर अमृता भन्छिन् – नम्रतालाई कुनै कलंक लागेको छैन । उसले त कुनै नारीले गर्न नसकेको बहादुरी काम गरेर देखाएकी छ । एक्काइसौं शताब्दीमा शोषित नारीले गर्नपर्ने कर्तव्यको सन्देश फैलाएकी छ, मलाई कुनै चिन्ता छैन। जेलमा ऊ बन्दी होइन तर मुक्त बनेकी छ । म गर्व गर्छु मेरो कोखको, मैले एउटा बहादुर छोरी जन्माएछु ।
नारी उत्पीड़न अनि भ्रष्ट समाजको चरित्र उदाङ्गो छ कथामा । चलचित्रको ढाँचामा सजिएको छ कथा ।
रजनीगन्धा कथासङ्ग्रहलाई झ्वाम्मै हेर्दा कतिपय विचारहरू उब्जिन्छ नै ! स्त्री-युवती-नारीप्रति नै केन्द्रित देखिन्छन् अधिकांश कथा। नारीलाई फूलको स्वरुप दिइएको छ । कतै फूलले इज्जत, सम्मान पाएको छ भने कतै फूलको अपमान भइदिएको छ । कसैले फूललाई श्रद्धापूर्वक हेरेर माथिल्लो स्थानमा राख्न खोजेका छन् त कसैले त्यही फूललाई चुड़ेर, कुल्चेर मार्न खोजेका छन् । फूल त फुलिदिन्छ नै ! नभए त सृष्टि टक्क अड़िन्छ होला।
रजनीगन्धा-को फूलबारीमा हामी विभिन्न किसिमका फूल देख्न पाउँछौ । विभिन्न किमिमका भ्रमराको आगमन पनि देख्छौ । कति फूल अत्यन्त सुगन्धित हुन्छन् त कति फूलको वासना धमिलो हुन्छ । जसरी सबै नारीहरूलाई एउटै लहरमा राखेर दोष्याउन मिल्दैन त्यसरी नै सबै पुरुषहरूलाई पनि एकजस्तो सोंच्नु सरासर भूल हुनेछ ।
कौतुहल, मनोरञ्जनात्मक कथातिर सरल, सहज र जनजीब्रोको भाषा-शैली देख्न पाइन्छ । नेपाली भाषी हामी । हामी आफ्नो भाषा नेपाली बोल्दा एउटा शब्द नेपाली र दुइवटा शब्द अङ्ग्रेजी मिसाएर बोल्दा धाक फुकाउँछौ । कथातिर पनि यस्ता प्रयोग भेटिन्छन् ।
कथामा प्रयोग भएका केही अङ्ग्रेजी शब्दहरू – डुप्लिकेट छोरा, सस्पेण्डेड लभर, डोमिनेटेड श्रीमान, व्याक बाइटिङ्ग, फास्टिङ्ग, उही फिप्टी वन त हो, उनको लाइटली प्रत्युत्तरमा मैले डिपली यसो भने, सिटिङ्ग एरेञ्जमेण्ट, गुड मर्निङ्ग सर, डाइबिटीज पेसेण्ट, रनिङ हटवाटर, ब्रेकफास्ट, नेक्स्ट चान्स, अनडाइजेसटेड इत्यादि।
भाषा-शैली सुन्दर पार्न उखानको प्रयोग देखिन्छ कथातिर, जसले प्रसङ्गअनुसार भाषालाई रोचक बनाइदिएको छ । जस्तैः –
अर्काको बाछा चाटी मुखभरी रौं।
काग कराउँदै गर्छ, पीना सुक्दै गर्छ।
अचानोको पीर खुकुरीले जान्दैन।
भाषामा अलङ्कारको प्रयोगमा पनि खप्पिस देखिन्छन् कथाकार ध्रुव लोहागण । जस्तैः- मखनलालले मलाई मखन दलेर मख्ख पार्ने मतलबी मन्तव्य.. । अनुप्रास अलङ्कारको सुन्दर प्रयोग छ यहाँ।
सामाजिक यथार्थभाव र मनोविज्ञान, आञ्चलिक परिवेशलाई खुबै रोचक पाराले कथातिर सजाइएको छ । वा भनौँ कथातिर आञ्चलिकताको स्वाद पनि चाख्न पाइन्छ । ध्रुव लोहागणको रजनीगन्धाको मगमग वासना निश्चित रूपमा हामीलाई राम्रो लाग्नेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।