साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

अन्य ५ खण्डसरहकै महत्त्व र सर्वोपयोगी कृति : इन्द्र सम्पूर्ण खण्ड – ६

मूलत: लीलालेखनको माध्यमबाट उत्तरआधुनिकतावाद बुझ्न चाहने हरकोहीलाई यहाँ संलग्न विचार, विमर्श र लेखनले एउटा नयाँ दिशा र दृष्टि दिनेछ। अर्थात उत्तरआधुनिकतावादको माध्यमबाट लीलालेखन बुझ्न पनि

Chovar Blues Mobile Size

आदरणीय डा. इन्द्रबहादुर राईबारे तीन पटक लेखिसकेको रहेछु । सन् १९९० मा लीलालेखनको पहिलोपटक आधिकारिक घोषणा गर्दै यता भारतमा दार्जीलिङको रेयूकाई भवनमा झन्डै ३ घन्टाको वार्ता सुनेपछि केही प्रश्नहरू लिएर पहिलोपटक लेखेँ । विद्यार्थीय उक्त लेखको महत्त्व मेरा निम्ति अलग्गै छ। त्यो लेख खर्साङबाट निस्कने चन्द्र शर्मा सम्पादित पत्रिकामा छापिएको छ । त्यसपछि विशेष प्रयोजनले नेपालबाट निस्कने पत्रिका ‘पाण्डुलिपि’ को इन्द्रबहादुर राईमाथिका लेखहरूलाई केन्द्र गरी प्रतिक्रियास्वरूप निकै लामो लेख लेखेको छु । यो लेख हिमालय दर्पणमा प्रकाशित भएपछि मैले साहित्य-समाजबाट अनि स्वयं डा. इन्द्रबहादुर राईबाट जुन प्रतिक्रिया पाएको छु त्यो मेरो समालोचना लेखन यात्राको महत्त्वपूर्ण उपलब्धि पनि मानेको छु । यसै गरी ‘साहित्य तृष्णा’ साहित्यिक पत्रिकाको पहिलो अङ्कमा एउटा लेख ‘मूल्याङ्कनको मूल्याङ्कन’माथि अधिमूल्याङ्कन (meta-criticism) को प्रयास गरेको छु। आज भने ठूलो दायित्वसित ‘इन्द्र सम्पूर्ण’को छैटौँ खण्डमाथि आफ्नो विचार राख्ने जमर्को गरेको छु। विचार केही शृङ्खलामा छन् केही र्यान्डम लेखनमा । यसमा यो छैटौँ खण्डले जन्माएका प्रभाव र प्रतिक्रिया नै मूलरूपले समाहित छन् ।

हामी सबैले माया र श्रद्धा गरेर सम्बोधन गरिने आईबी सरलाई स्मरण गर्दा मेरो पनि मानसपटलमा केही भेट र घटनाहरू छन् जसलाई दोहोर्याएर सम्झिरहँदा मन हर्ष र गर्वले छाती ढक्क फुल्ने गर्छ । आईबी सरले ‘साहित्य विषय हिउँदे कुराकानी’ लेख जो कृति ‘सम्पूरक’मा अन्तमा समाविष्टमा ‘विषय १: जगदीश घिमिरेको निधनको शोकलहर’ उपशीर्षकमा यस्ता लेखेका छन्: “नवपत्रकारिता पनि परेको उहाँ लिखित आख्यान सकस पढेपछि अति प्रभावित मैले फोनमा सकस पाँचप्रति मागिपठाएको, पाँचप्रति आएको, दार्जीलिङका प्रमुख उपन्यासकार र समालोचक कतिमा पुर्याएको थिएँ।” ‘समालोचक कति’ मा मेरो नाम पनि परेको रहेछ । सरले फोन गरेर निम्ताएपछि भाइ कमल रेग्मीसित लोचनगर पुगेका थियौँ । गफ्फिएका थियौँ । पछि पनि एक कार्यक्रममा नेपाल पुगेर फर्किँदा फेरि डा. सञ्जीव उप्रेतीको ‘सिद्धान्तका कुरा’ ल्याइदिएका थिए । ती कृतिहरू यसरी मसम्म कुन विश्वास र भरोसाले आइपुगे मलाई थाहा भएन तर मेरा निम्ति भने यी घटनाहरूबाट जीवनमा ठूलै पुरस्कार पाएको अनुभूत गरेको छु।

आईबी सरले आफ्नो जीवनकालमै यो बृहत् खण्ड (पाँच सयभन्दा अधिक पृष्ठको) तयारी गरिराखेका कुरा उनका हस्ताक्षरलाई दसीको रूपमा लिन सकिन्छ । छरिएका प्रकाशित रचनाहरू समावेश गरी तयार गरिएको यो खण्डमा पछि भेटाइएर दुईवटा महत्त्वपूर्ण सिर्जना ‘जुन अप्रकाशित थिए’लाई पनि समाविष्ट गरी यो महत् खण्ड तयार गरिएको छ । परिवारद्वारा अपेक्षित यो कार्यमा परिवारका सदस्यहरू छोरो देशपद राई, छोरीहरू वेदिका राई अनि केवलरत्न गुरूङको समर्पण र लगन यसको संयोजन र प्रकाशनमा देख्न सकिन्छ। हामीले मरणोपरान्त पनि सरका सिर्जनाहरू यसरी पाउनु हाम्रो निम्ति अहोभाग्य हो। नेपाली साहित्यप्रति समर्पित सन्तानले ठूलो गुण लगाएका छन् भने छोरा-छोरीले गर्ने पितृसंस्कारको श्राद्ध कर्म साँच्चै सार्थक र श्रद्धामय बनेको छ।

जय क्याक्टस (भारत)

‘इन्द्र सम्पूर्ण’का अघिल्ला पाँचवटा खण्डहरूले आईबी सरका अप्राप्य बनिसकेका कतिपय कृति र लेखहरू सर्वसुलभ र सहज पठनीय बनाएको सत्य सर्वविदितै छ । सम्भवत: यो अन्तिम खण्डले अब ‘इन्द्र-साहित्य’को अध्ययन, विश्लेषण र मूल्याङ्कनमा महत्त्वपूर्ण योगदान दिनेछ । यति मात्र होइन यसले इन्द्र-साहित्यको अध्ययन परिसीमाको नयाँ क्षितिज र सीमाहरू छिचोल्न समेत मदत गर्नेछ। आईबी सरका सिर्जना, विचार र लेखनले अब अलग्गै डिस्कोर्सको माग गर्दछ, जहाँ नेपाली साहित्यको एउटा ठूलो कालखण्ड यिनै इन्द्र सम्पूर्णका खण्डहरू भएर प्रवाहित भइसकेको छ । त्यसलाई छोएर बग्नसके मात्र पनि नेपाली साहित्यले गरिमा, श्रेष्ठता र उच्चताको अग्लो टेक्न पुग्नेछ। भारतीय नेपाली साहित्यले पनि त्यही सोपान चढ्नु अनिवार्य छ किनभने यता हाम्रा निम्ति आईबी सर अब व्यक्तिमा मात्र सीमित छैनन् । उनी संस्थान र प्रतिष्ठान बनिसकेका छन् । विमर्शका थोक बनिसकेका छन्।
इन्द्र सम्पूर्णको यो छैटौँ खण्डमा ६ वटा मूल भागहरू राखिएका छन् । जसबारे हामी संक्षेपमा परिचर्चा गर्नेछौँ:-

sagarmani mobile size

१. सम्पूरक
२. पछिल्ला चुनिएका लेखहरू
३. अप्रकाशित लेखहरू
४. असङ्कलित लेखहरू
५. असङ्कलित अन्तर्वार्ताहरू
६. विविध

१. सम्पूरकः

सन् २०१४ मा कालेबुङको उपमा प्रकाशनले प्रकाशित गरेको यो कृति धेरै महत्त्वको कृति हो। यसको प्रस्तावना आलेखदेखि नै हामी जिज्ञासु साहित्यिक पाठकलाई साहित्यका विविध बौद्धिक र वैचारिक खुराक पस्कने काम गरेको छ। आजको समयमा महाकाव्यिक लेखन अन्त्य भइसकेको अवगत गराउँदै लेखिएका महाकाव्यहरूलाई त्यसका व्यापकता अनि प्रभाव हेरी ‘मोठ महाकाव्य’ अर्थात Totality Epic भन्न सकिने, अरूको मूल्याङ्कन गर्दा आफ्नै पनि जाँच हुने, कुनै पनि समालोचना कृतिको सर्वान्तिम मूल्याङ्कन नहुने, आजको समयमा यथार्थको साटो सम्भाव्यता मात्र छ भन्ने, मानिसले सज्ञान बाँच्नुपर्छ भन्ने धेरै वैचारिकताको उदाहरणसहित यहाँ कृतिको प्रस्तावनामा राखिएको छ ।

कृति ‘सम्पूरक’का सबै आलेखहरूले केही न केही नयाँ साहित्यिक, दार्शनिक तथा वैचारिक खुराक त दिएकै छन्। समाविष्ट एघारवटा आलेखले चुनिएका केही विशेष साहित्यकार र उनीहरूका कृतिमाथि वस्तुपरक समालोचना गर्ने काम भएको छ । जस्तो पहिलो आलेख छ ‘भ्रमरमा स्वच्छन्दतावाद’ । यो यता भारतबाट सबैभन्दा पहिले प्रकाशनमा आएको औपन्यासिक कृति ‘भ्रमर’ (१९३६) लाई तात्कालीन साहित्यिक परिवेश, वैचारिकता तथा लेखन सौन्दर्य केलाउँदै स्वच्छन्दतावादको सापेक्षमा राखी मूल्याङ्कन गरिएको लेख हो । अघि दियालोमा सन् १९६२ मा लेखिएको अनि सन् १९८४ मा आफ्नो कृति ‘नेपाली उपन्यासका आधारहरू’मा लेखिएको भ्रमर अनि स्वच्छन्दतावादमाथिको समालोचनामाथि ‘सम्पूरक’ आलेख छ यो । यसले उपन्यासकार रूपनारायणसिंहको लेखन कलालाई थप मूल्याङ्कन गरेको मात्र होइन तर स्वच्छन्दतावाद र उपन्यास ‘भ्रमर’को गरिमालाई चिन्न समेत मदत गरेको छ।

‘कवितामा खड्गसिंह राई ‘काँढा’ – ६० कै दसकदेखि कविता लेखनमा उदाएका एक होनहार कविका कविताहरूमाथिको आधिकारिक अनि सार्विक मूल्याङ्कन गरिएको महत्त्वपूर्ण आलेख हो यो । यहाँ काँढाका कविताहरूलाई विभिन्न कोणबाट धेरै समालोचकीय औजारका सहयोगले केलाइएको छ । कविता के हो ? कसरी लेखिन्छ ? कविताको सौन्दर्यचेत केमा निहित हुन्छ ? विषयमा ? भाषिक शिल्पमा ? आदि प्रश्नहरूका उत्तर पाउन सकिने यस लेखले काँढाका कविताहरूका व्याख्या र विश्लेषण गर्ने क्रममा पूर्वीय र पश्चिमेली काव्यशास्त्रदेखि विज्ञान र गणितसम्मलाई आधार गरिएको छ । कविता विस्तारण कसरी हुन्छ भन्ने चिनाउन गणितको समानुपातिक नियम (Law of ratio and proportion) को बुनियादी ज्ञानलाई कविता विश्लेषणमा प्रयोग गरिएको नितान्त नयाँ प्रयोग छ यहाँ । कवि काँढाको काव्यिक श्रेष्ठता दर्शाउन अर्थात् हामी पाठकलाई कवि काँढाको काव्यिक कौशल चिनाउन यो समालोचना यथेष्ठ छ । यो लेखको पछिल्लो खण्ड भने ‘इन्द्र सम्पूर्ण’ खण्ड ४ को सम्पूरक पनि रहेको बुझिन्छ ।

व्यक्ति डा. लक्खीदेवी सुन्दास चिनाउन, उनका लेखनका विविध आयाम र साहित्यकर्म बुझाउन सक्षम अर्को आलेख छ-‘डा. लक्खीदेवी सुन्दास नेपाली साहित्यमा’। अघि ‘आहत अनुभूति’ (१९९८) कथासङ्ग्रह अनि ‘समय-समीक्षण’ (२००७) का भुमिका समेत सम्पूरकमा तयार गरी लेखिएको यो आलेखले डा. सुन्दासको सामाजिक जीवनदेखि कवि, कथाकार, समालोचक छविलाई सविस्तार छर्लङ्ग पारेको छ। यसै गरी अर्को लेख ‘कथामा सूर्यकुमार सुब्बा’ले प्रयोगधर्मी कथाकार सूर्यकुमार सुब्बाका कथाहरूका विषय र भाषिक चमत्कार (सौन्दर्य)लाई खुबै यत्नसाथ केलाइएको छ ।

वैरागी काइँलामा ‘निर्वासन’- यो आलेख आयामेली साहित्यसन्दर्भमा राखी कवि वैरागी काइँलाको काव्यिक कलामाथि गरिएको थप नयाँ अनुशीलन हो । आयामेली साहित्यको पृष्ठभूमि छुँदै यसलाई लागेको क्लिष्टता र दुर्बोध्यको आरोपमाथि स्पष्टीकरण दिँदै यहाँ भनिएको – ‘नयाँ प्रयोगका भाषा तथा कृति जटिल वा अबोध लाग्छन् जब ती हाम्रा आजतकका पठनबोधले बनेको अभ्यस्त बोधन ढाँचा (Schema) मा मिल्दैनन्।’ आज पनि नयाँ प्रयोगहरू बुझिँदैनन् भन्ने आम कथनमा प्रयुक्त छ । यसैले दायित्व लिएर आयामेली साहित्य र लीला लेखन बुझाउन आइबी सरले ‘आयामिक लेखनको आत्मकथा’, ‘लीलालेखन: एउटा सरल बोध’ जस्ता लेखहरू आवश्यकताले लेखिरहे। बुझाइरहे। यसमा पनि कवि काइँलाको काव्यिक विषयलाई हेरिन आयामेली भाषाको प्रयुक्ति, साभार दर्शन अनि ज्ञानका आधार लगायत समकालीन जगतलाई (वस्तुताको सपेक्षता)लाई केलाउँदै आयामेली लेखनको वकालती गरिएको छ।

‘सन्दर्भमा ईश्वर वल्लभका कविता’ कृतिको अन्तिम हरफमा छ – ‘अवतार साहित्यसमेतको हुँदैछ’। बोध यो अवतारको साहित्यलेखनमा आइबी सरमा स्पष्ट देख्न सकिन्छ ।‘आज रमिता छ’ र ‘विपना कतिपय’ कालमा उनलाई सामाजिक यथार्थवादी अवतारमा पाइयो। ‘कथास्था’मा आइपुग्दा आयामेली अवतारको आधुनिकतावादी लेखक पाइयो। ‘कठपुतलीको मन’सम्म आइपुग्दा उनी लीलालेखनको माध्यमले उत्तरआधुनिकतावादी चिनियो। उनको यो ‘निर्वासन’को वैचारिकता र सिर्जनालेखन हाराहारी हिँडिरहेको ताज्जुबलाग्दो छ। जानिसकेको अघिबाटै आफ्ना अवतार र लीला यसरी साहित्यिक कालखण्डमा क्रमैको ‘खेल’ वा क्रीडा कसैमा पाइन्न। ‘आयामेली वस्तुता’बाट नयाँ स्वरूपमा लीला लेखन आएको घोषणाबाट बुझिन्छ यसको अन्तर्सम्बन्ध र पार्थक्यका थुम्काहरू । लेख ‘सापेक्षता: आयामिक र लीलालेखनमा’ले हामीलाई थप धेरै तथ्यहरू पस्केको छ यसै सन्दर्भमा ।‘भोगलाई योगमा पुर्याएर लेखौँ’को आग्रहलाई हामीले पालना गरे हाम्रा नयाँ लेखनहरूले अभिव्यक्तिको अर्को पराकाष्ट पाउनेछ भन्ने मेरो पनि विश्वास बलियो छ ।

आईबी सरले लीलालेखनको माध्यमबाट साहित्यका उत्तरआधुनिकतावादी चिन्तन र लेखनको पृष्ठपोषण गरेको छ भन्ने सत्यलाई उनले कठपुतलीको मनबाटै स्पष्ट पारिसकेका छन् । विनिर्माण, पुनर्लेखन, विधाभञ्जन-मिश्रण, बहुलवाद, अन्तर्ज्ञानानुशासन, पराख्यानात्मकता आदि इत्यादि युक्ति र शैलीलाई पूर्वीय दर्शनको घडेरीमा उभ्याइ उत्तरसंरचनावादी वैचारिक सिर्जना र विचार दिएका छन् । विज्ञानको प्रमात्रा भौतिकी (Quantum physics) ले समेत व्याख्या गर्दै ल्याएको आजसम्मको यथार्थको स्थिति भनेको ‘अनिश्चितता वा अनिर्धार्य’ हो। (certainity of uncertainity) विज्ञानसम्मत यो अनिर्धार्यको चेत हाम्रो व्यवहारिकतामा देखिन्छ हाम्रा भ्रान्ति र भूलहरूमा। जसलाई आईबी सरले ‘माया सत्यहरू’ भनेर पूर्वीय दर्शनगत ‘लीलालेखनमा आएको देखिन्छ। आजका नयाँ कविताहरूमा त्यो अनिर्धार्य कसरी लेखिएको छ खोज्ने काम ‘कवितामा अनिर्धार्यता’मा भएको छ।

प्रयोगधर्मी कथाकार प्रवीण राई ‘जुमेली’को प्रयोगपरक कथाकृति छ ‘ऋतुखेल’ (२००९)। प्रत्येक कथाको समालोचना समेत गाभिएको उक्त कथाकृतिको एउटा कथा छ ‘खेलिबस्छु खेल कति’। आईबीसरले त्यस कथामाथि उत्तरआधुनिकतावादका विचार र शैलीसम्मत विश्लेषण र मूल्याङ्कन गर्ने काम गरेका छन् भ्रान्ति र लीला केलाउँदै । संयोग के रह्यो भने कृतिमा उक्त कथामाथि मेरो समालोचना समाहित छ । पठन फरक भए पनि हामी दुवैको सारांश एकै छ- प्रवीण ‘जुमेली’ विचार र जार्गनहरूलाई कथामा खिप्नसक्ने बेजोड कथाकार हुन् । कथा समीक्षा गर्दै कथालेखनको कारण र कारकहरू भेट्टाउन पारम्परिक कथापठन यथेष्ठ नहुने बुझाउँदै कथाकार जुमेलीले हिँडेको नवीनपथको सराहना गरेका छन् । आज आख्यानकार जुमेलीको यस्तै प्रयोगपरक उपन्यास ‘सन्नेरेटा’ (२०२२) को धुमधाम चर्चा छ जसले यस्तै उत्तरआधुनिक पठनको अपेक्षा राखेको छ ।

नेपालका एक एक चर्चित कवि शारदा शर्माका काव्यलेखनको इतिवृत्त, काव्यिककौशल र सिर्जनाको विश्लेषणात्मक मूल्याङ्कन गरिएको आलेख ‘शारदा शर्माका कवितालेखनमा’ अर्को पठनीय रचना छ । पूर्वीय काव्यशास्त्र र दर्शनलाई आधार गरेर कविताहरूका उच्चता र गरिमा केलाउने उद्यम व्यापक छ । यसैगरी ‘सेतो ख्याकको आख्यान: बनोट र बुनोट’ शीर्षकले नै बताउँछ यो कृतिपरक अनि वस्तुनिष्ठ समालोचना हो । भाषिक संरचना केलाउँदै कृतिको विषय र विचारलाई केलाउने आईबी सरको विशिष्ट शैली यहाँ पनि देख्न पाइन्छ । चिनाइदिएको – १. आख्यान मिथकीय चिन्तनात्मक अभिव्यक्ति छ । २. यसको वैचारिक आधार माण्डूक्य उपनिषद् छ । ३. यसमा तन्त्रविज्ञान र योगसाधनासमेतको मानसिक चिन्तना छ लाई केन्द्र गरी जगदीश शमशेर राणा लिखित ‘सेतो ख्याक’को बनोट र बुनोट केलाइएको छ । अनेकसङ्केती र बहुसुरात्मकता रहेको यो कृति पनि कति अर्थले उत्तरआधुनिकतावाद आधारित जनाउँछन् आईबी सर।

‘साहित्य विषय हिउँदे कुराकानी’ मूलत: सालबारी/मेथीबारीमा हिउँदको दार्जीलिङको जाडो छेल्न बसेको बेला बोलेका, टिपेका केही साहित्य विषयक चर्चालाई लेखरूप दिएको हो । जसमा जगदीश घिमिरेको मृत्यशोक र उनको चर्चित कृति ‘सकस’को चर्चा, डा. गोविन्दराज भट्टराईको उपन्यास ‘सुकरातको डायरी’, राजन मकारूङको चर्चित उपन्यास ‘दमिनी भिर’, रोशन थापा ‘नीरव’कृत ‘स्वप्नसहर’माथि निरूपणीय टिप्पणी पाइन्छ । यसबाहेक ‘नारीवादी साहित्य लेखन’, समालोचना, लीलालेखन,(प्रकाश र रङहरूको उपस्थिति सापेक्ष), कसरी लेखिन्छ आफू ? जस्ता टिपोटहरू जो सदैव उपयोगी हामीलाई प्राप्त छ कृति ‘सम्पूरक’मा।

२. पछिल्ला चुनिएका लेखहरू

यो कृति नै सम्भवत: आईबी सरको अन्तिम प्रकाशित कृति हो आफ्नो जीवनकालको । विभिन्न पत्र-पत्रिकातिर छरिएका वार्ता तथा लेखहरूको सङ्गालो हो यो। साहित्य र साहित्यइतर मिसिएका विषयहरू छन् यहाँ तर हामी पाठकलाई चाहिँदा र उपयोगी । सन् २०१७ मा प्रकाशनमा आएको यो कृति तर काल र स्थितिले शृङ्खलित छैन । अघि छुटेका कति र केही वैयक्तिक विषयहरू पनि समावेश रहेकोले यो कृति निकै महत्त्वपूर्ण लाग्छ । जस्तो कि इतिहासकार तथा साहित्यकार डा. कुमार प्रधानको इतिहासलेखनलाई केन्द्रमा राखी तयार गरिएको आलेख दार्जीलिङ र नेपाली जातित्व। यसमा हाम्रो जातिको इतिहाससँगै डा. प्रधानको इतिहास लेख्ने दृष्टिकोण र शैलीलाई कृति ‘पहिलो पहर’ (१९८२)को आधारमा परख्ने र विश्लेषण गर्ने काम भएको छ । अर्को रचना छ ‘इन्द्रबहादुर राईसँग जीवनवार्ता’ जसमा पत्रिका ‘भृकुटी’का सम्पादक टोली क्रमैले पद्म देवकोटा, लिखित पाण्डे, राजन काफ्ले, जगदीश घिमिरे, सुन्दर बस्नेत र रत्नमणि नेपालसित आईबी सरको व्यक्तिगत जीवन र साहित्यविषयक गफलाई टिपेर भृकुटीको स्तम्भानुरूप तयार गरिएको ‘जीवनवार्ता’ हो यो । यसलाई अन्तर्वार्ता खण्डमा राख्दा पनि हुने हो तर यसमा आईबी सरको जन्मदेखि त्यत्तिञ्जेलसम्म जीवनकथा, लेखन, विचार र पाश्चात्य दर्शन-लेखन, सिद्धान्त र जार्गनहरूबारे व्यापक छलफल गरिएको छ।

‘नाटकको विमुक्ति’ नाटक लेखन र मञ्चनमाथि विमर्श गरिएको विशद पाठ छ । ‘विमुक्ति’ भनेर नाटकको सार्थकता हेरिएको छ चार तहमा-१. नाटक र नाट्यको तहमा, २. कलाहरूको तहमा, ३. विषयहरूको तहमा अनि ४. नाटकीय तत्त्वहरूको तहमा । नाटक लेखन, अध्ययन र विश्लेषणकर्ता सबैलाई उपयोगी यो लेखले नाटकको गहनता र गरिमा अक्षुण्ण राख्न गरिने उद्यमलाई केलाएको छ । अर्को आलेख ‘साहित्यलाई धर्मको आधार’ ‘स्वामी प्रबुद्धानन्द’को सालिग प्रतिष्ठापन अङ्कको निम्ति तयार लेख साहित्य र धर्मको अन्तर्सम्बन्धबारे गहिरो अध्ययनको प्रतिफल देखिन्छ। सस्युरको ‘भिन्नताको अवधारण’ डेरिडाको ‘स्थगन’ (Difference) अवधारणामा समेत धार्मिक आधार केलाउने आईबी सरले प्राचीन ग्रीक र हाम्रा पौराणिक ग्रन्थहरूबाटै साहित्य धार्मिक आधारबाट हुर्केको बुझाउँदै उत्तरआधुनिक आख्यान र नाट्यसिर्जन धार्मिक आधारसित जोडिएको चिनाएका छन् ।

अल्पायुमा बितेकी कमला ‘आँसु’लाई सम्झेर लेखिनैपर्ने ठानेर ‘एउटा कथाको समालोचना जस्तो’ तयार भएको देखिन्छ। ‘मिमांसा’ कथाकृतिबाट अन्तिम कथा छानेर ‘प्रवल आस्था’माथि समालोचना जस्तो, बातचिते समीक्षा भनेर पनि तर स्व. कमला ‘आँसु’को कथा लेखनलाई निकै गहनतासित पर्गेलेको पाइन्छ। ‘साहित्यको अपहरण’ लेखिसकेपछि आईबी सर र बद्रीनारायण प्रधानमा लिखित तर्क-वितर्क परेको सुनेको अनि पढेको हामीलाई ती दुई नेपाली साहित्यका धरोहरबीच सैद्धान्तिक मतभेदसितै व्यक्तिगत कटुता र सम्बन्धमा तिक्तता थियो होला लागिरहन्छ। तर यहाँ संलग्न चार चिट्ठीहरूका प्रत्युत्तर पढ्दा दुईमा कति आत्मीयता थिएछ हामी स्पष्ट बन्छौँ । आईबी सरले बद्री सरलाई – “तपाईँ एक सक्रिय राजनैतिक कार्यकर्ता, एक अध्ययनशील व्यक्ति, एक गम्भीर साहित्यिक लेखक, एक अति इमान्दार पुरूष चिनेको छु।” (पत्र एक) लेख्नु अनि बद्री सरले आईबी सरलाई –“ र तपाईँको चिट्ठी पनि मैले मन लाएर नै पढेँ, तपाईँ जस्तो वरिष्ठ साहित्यकारको लेखनी कल्लाई मन नपर्ने हो । मेरो खुसीयालीपूर्ण आनन्दी मनोभावना छ।”(पत्र चार) लेख्नुभित्र कति सम्मान र श्रद्धा एकार्कामा । पत्रमा उठेका विमर्श हामीजस्ता साहित्यका विद्यार्थीका निम्ति, जाति चिन्तन गर्ने अगुवा जमातको निम्ति साह्रै उपयोगी छ ।
आयामेली साहित्यमाथि जिज्ञासा राख्ने सबैका निम्ति सरलतासित लेखिएको अर्को आलेख ‘आयामिक लेखनको आत्मकथा’ले आयामेली साहित्यको आवश्यकता, यसको प्रादुर्भाव, प्रवृत्ति (विषय), प्रविधि (शिल्प) लगायत यसका अन्य आयाम र प्रक्षेपलाई अन्य दुई सहमार्गी वैरागी काईँला र ईश्वर वल्लभका विचार र दृष्टिसहित खुलाइएको छ। आयामेली साहित्य के हो ? भन्दा कसरी हो ? भन्ने बुझ्न यसले मदत गर्छ। यसै गरी अर्को आलेख ‘लीलालेखन: एउटा सरल बोध’ले पनि साहित्यको नवीन वैचारिक अवतार लीलालेखनमा कसरी छ ? बुझाएको छ। ‘चन्द्रगढी लीला टिप्पणी’ आलेखमा भने आयामिक र लीलालेखनलाई लिएर बोलिएका टिपोटहरू छन्। वस्तुता, सम्पूर्णता, कालबोध, यथार्थ र भ्रान्तिमाथि स्पष्ट विचारहरू राखिएका छन्। ‘सापेक्षता: आयामिक र लीलालेखनमा ‘ यो दोहोरिएको लेख छ। केही थपिएर सम्पूरकमा गाभिएको हो। यसलाई यहाँ नराख्दा पनि हुने थियो। ‘विराटनगर सम्बोधन’ले ‘लीलालेखन: एउटा सरल बोध’कै धेरै कुरा पुनरावृत्त गरेको छ। विषय त्यही भएर यस्तो भएको हो। लीलालेखनमाथि आईबी सरको यस्ता व्याख्या ‘लीलाबोधी लेखन: गेजिङ प्रस्तुति’ले पनि सविस्तार निर्वाह गरेको छ।

नेपाली भाषामा विशेष यता भारतमा धेरै वितर्कमा रहेको विषय छ हिज्जेगत ह्ड र ह्ढ को प्रयोग। थुप्रै उदाहरण दिएर सरले दुवै ह्ड, हढ् र ड, ढ चलाउँदा हानि नहुने देखिन्छ भनेका छन्। आज प्रयोगमा तर ह्ड, ह्ढ हट्दै गइरहेको भान हुन्छ। उच्चारणमा ध्यान दिइए समस्या नहुने स्पष्ट देखिन्छ । सरले तर भाषालाई सरलतातिर लानु हो भने ह्ड, ह्ढ लाई राख्नु उपयुक्त हुन्छ भनेर सुझाव दिएका छन् ।(पृ. ३२०)। भाषा र व्याकरण अध्ययनमा मार्गदर्शक यो लेख ह्ड ह्ढ पन्थीलाई ठूलो सर्टिफिकेट बनेको छ ।

गुरूमाको मृत्युसित जोडिएको संस्मरणात्मक छोटो लेख ‘दु:खमय बन्यो त्यस शुक्रबार’ले गुरूमाका अन्तिम क्षणहरूका याद, घाटयात्रा अनि सरको एकान्तिकतालाई भावुकताले लेखिएको छ । कवितामय अन्तिम अभिव्यक्ति गुरूमाप्रति हार्दिक श्रद्धाञ्जली बनेको छ। दिल्लीको संसद्भवन परिसरमा गोर्खे शहीद दुर्गा मल्लको सालिक स्थापनासित अभिभूत हृदयले पोखिएका अभिव्यक्ति हो ‘भारतको संसद् परिसरमा गोर्खा शहीद दुर्गा मल्लको सालिक’।

३. अप्रकाशित लेखहरू

क. निष्काम

यो लेख्दालेख्दै अधुरो छाडिएको उपन्यासको अंश हो ‘निष्काम’। सम्भवत: पहिलो भाग मात्र छ यसमा । छोरा-बुहारी नयाँ डेरा घरमा सरेपछि मूलघरमा छाडिएका आमा-बुबाको अवस्था, मनस्थिति र चिन्तनाहरू खुबै सुन्दर ढङ्गमा दर्शाइएको छ । आफ्ना सन्तानलाई हुर्काउँदा, पढाउँदा, जिम्मेवार व्यक्ति बनाउँदा आमा-बुबाले कति धेरै सङ्घर्ष गरेका हुन्छन् त्यो बोध गर्ने समय र चेत सबै सन्तानमा नहुनसक्छ। यस उपन्यासका पिता दिवाकर र माता इन्दुमतीले छोरो भास्कर र बुहारी शशीकलाले घर छाडेपछि छोरोसितैको अनेक स्मृतिले बाँच्ने बहानाहरू खोज्छन्। जस्तै गरे पनि आमा-बुबाले छोरा-छोरीको अहित चिताउँदैन। चिताउन सक्दैन। यति मात्र जनाएर उपन्यास छाडिएको छ।

उपन्यासको भाषा र विचार हेर्दा यसले आयामिकलेखनलाई नै केन्द्रित गरेको लाग्छ। “गएर भाँडामा उघाएर, पानीमा हात चोबले, औँलाहरू चिसा दुखे, चिसोले नाडीसम्म कसिलो समात्यो, औँलाहरू अझ दुखे।हात झिक्दा थोपाहरू, धाराहरू, पानीमा बजे, हावा चिसोमा हात नै जम्मै दुख्यो।”

“सारो रोइरहेको रहेछ मन । खोला कराएको रहेछ मन । बगिरहेको शून्य आवाज एक्लै कराइरह्यो दुखेर। आदि । यसलाई उपन्यासको अंश नमानेर लामो कथा मान्दा पनि हुने नै देखिन्छ।

ख. हाम्रा जात, जाति र मागहरू

अर्को अप्रकाशित यो लेख धेरै महत्त्वको लाग्छ। सन् १९५२ मा गोर्खा लीगले अनुसूचित जनजातिको दर्जा मागेको कुरादेखि, कहिले ओबीसी, कहिले नेपाली भाषाको मान्यता, कहिले गोर्खाल्यान्ड, कहिले विकास परिषद्, कहिले जातगत बोर्ड आदि मागहरूले हाम्रो जातिको वास्तविकता सँधै विरोधाभासपूर्ण रहेको देखाउँछ । हाम्रो ऐतिहासिक स्थिरता नदेखिएर कहिले अघि बढेजस्तो कहिले पछि सरेजस्तो भइरहन्छ । यसका कारणहरू केलाउनुपर्ने र आफ्नो स्थिर मागलाई अघि लानुपर्ने आईबी सरको सुझाव देखिन्छ । यसको निम्ति गोर्खाल्यान्डको विकल्प नरेको जनाउँदै गोर्खाल्यान्ड भइहाले अरू झिना-मसिना माग र समस्याहरू स्वत: समाधान भएर जाने सरको किटान यहाँ देखिन्छ। यसबाहेक कि त जातिको वर्ग उच्चालिनुपर्यो या त जातिले व्यापार सिक्नुपर्यो।

४. असङ्कलित लेखहरू

१४ वटा ससाना टुक्रे लेखहरू समाविष्ट गरिएको यो खण्डमा पनि केही महत्त्वपूर्ण तथ्यहरू भेट्न सकिन्छ। कालेबुङबाट २००७ मा सुरू भएको विचलन लेखनमाथि सुझावपरक मन्तव्य रहेको ‘ईक्षण’मा रहेको छ भने राष्ट्रिय कलाश्री पुरस्कार ग्रहण गर्दा दिएको मन्तव्य ‘पहाड काम, वीर काम’ मदन पुरस्कार ग्रहण गर्दा राखिएको मन्तव्य ‘मदन पुरस्कार दार्जीलिङमा’ जसमा भाषा अनि ‘सही शब्द’माथि महत्त्वपूर्ण तथ्यहरू राखिएका छन्।‘लीलालेखनमाथि लीलालेखन विशेष’ले लीलालेखनले नयाँ पुरानो दुवै हेर्ने कुरोलाई जोड् दिएको छ भने ‘लेखकको मृत्य’ले यसको खास अर्थ र उदाहरण प्रस्तुत गरेको छ। ‘सादर सम्झना’ले हिमालयका बाघ भनेर चिनिने रतनलाल ब्राह्मण अर्थात् माइला बाजेसितको संसर्ग र स्मृतिलाई आलो गर्दै उनका योगदानहरूका चर्चा गरिएको छ। पार्टी हावी भए व्यक्तिको स्वतन्त्रता हनन् हुन्छ र यसलाई नियन्त्रण गर्न स्वतन्र प्रतिनिधिको आवश्यक हुन्छ भने सोदाहरण ‘स्वतन्त्र प्रतिनिधि’मा देखाइदिएका छन्। घरेलु कार्य, सामाजिक कार्य वा राष्ट्रहितका काम गर्दा आफ्नै इच्छाले गर्दा त्यो दासले गरेको जस्तो हुन्न त्यो स्वतन्त्रबोध यसरी मानसिकसापेक्ष हुने कुरा दर्शाउन कथा र इतिवृत्त मिसिएको रोचक लेख हो ‘स्वातन्त्र्यतिर’।

स्व. डा कमला सांकृत्यायनको मरणोपरान्त प्रकाशित उपन्यास ‘दिव्यमणि’माथि निकै विस्तृत समालोचना गरिएको आलेख ‘अघिको कालेबुङ र दिव्यमणि’ले कालेबुङ भारत-तिब्बत व्यापारकेन्द्र रहेको समय अनि पछिको आधुनिकतातिर लम्केको समयमबीचको काल समेटेको जनाउँदै वास्तविक ‘चिन्तामणि’लाई औपन्यासिक पात्र ‘दिव्यमणि’मा रूपान्तरण गरिएर उनकै इतिवृत्तमा उपन्यास हुर्केको चिनाएका छन् । डा. कमला सांकृत्यायनको नारीकेन्द्रित यो उपन्यास निकै पठनीय रहेको छ। सुवास घिसिङले थालेको गोर्खालीकरणको अभियानमा आफ्नो नाम पनि मुछिएकोमा विद्वान् शिवराज शर्मालाई आफू ‘भारतेली नेपाली’कै पक्षधर रहेको बताउन प्रत्युत्तर दिएको छोटो लेख छ ‘इन्द्रबहादुर राईको स्पष्टीकरण’ यसैगरी नेपालका विद्वान् डा. गोविन्दराज भट्टराईलाई जवाब दिँदै निकै आक्रमकतासित जवाब दिइएको डा. भट्टराईका भूल बुझाइलाई सही गरिदिएको लेख ‘टिप्पणी’ पनि पठनीय छ। आफ्नो लेखनयात्रामा देखिएका पहिलो रचना, पहिलो कथा आदिबारे टिपोटहरू राखिएको ‘प्रारम्भिक लेखन’ सूचनाप्रद छ। चर्चित लोक गायक भूपेन हजारिकालाई सश्रद्धा स्मरण गर्दै लेखिएको लेख ‘भूपेन हजारिका: सानो सम्झना’ले हजारिकासित सम्बन्धित मसिना घटनाहरूको स्मरण गरेको छ। ‘समयका सम्मिलित स्वरहरू’ बाह्र कविका एउटै विषयमाथिका बाह्र कविता समेटेर सङ्कलित गरिएको नवयोजनाको कृतिमाथि निरूपणात्मक टिप्पणी हो जसलाई साकार रूप दिएका छन् कवि हिरा आकाशले।

५. असङ्कलित अन्तर्वार्ताहरू

विभिन्न पत्र-पत्रिका तथा विशेष प्रयोजनका लागि डा. इन्द्रबहादुर राईसित लिइएका १० वटा अन्तर्वार्ताहरू यहाँ समाविष्ट छन्। हामीलाई व्यक्ति आईबीसर र सर्जक, चिन्तक र अध्येता इन्द्रबहादुर राई चिन्न यी अन्तर्वार्ताहरू सदा उपयोगी रहनेछन्। हाम्रा जातीय समस्या, भाषा-साहित्य, कला-संस्कृति विषयक प्रश्नहरूका उत्तरले हामी जिज्ञासु पाठकलाई यथेष्ठ सहयोग दिएको छ। लेखादि लेख्दा आईबी सर जति क्लिष्ट भाषा प्रयोग गर्छन् ठीक विपरीत वार्ता र अन्तर्वार्तामा सरल र सुबोध भाषा प्रयोग गर्छन्। यसैले उनका लेखहरूका तहमा पुग्न यी अन्तरवार्ताहरू अनि वार्ताहरू पढिरहनपर्छ।अन्तर्वार्ता लिन पाउनेहरू भाग्यमानी साँच्वैका।

६. विविध

रहल यस भागमा ‘बाघ’ कथाको अनुवादको संशोधन, दार्जीलिङ हिमालयन रेल्वेसित सम्बन्धित मसिना टिपोटहरू अनि जन्ती कथा लेखेर प्रुफ हेर्दै गर्दाको बेला देखेको मदेशको ‘जन्ती’लाई व्यङ्गरूप पाएर केरेको खेस्रा लेखक आईबी सरकै हस्ताक्षरमा राखिएको छ। यसको सार्विक उपयोगिता भने उस्तो धेर नहोला तर सम्बन्धित जिज्ञासुलाई भने यसले केही मदत अवश्य गर्नेछ।

सारांशमा

‘इन्द्र सम्पूर्ण – खण्ड ६’ अन्य ५ खण्डहरूसरह धेरै महत्त्व र सर्वोपयोगी कृति छ । मूलत: लीलालेखनको माध्यमबाट उत्तरआधुनिकतावाद बुझ्न चाहने हरकोहीलाई यहाँ संलग्न विचार, विमर्श र लेखनले एउटा नयाँ दिशा र दृष्टि दिनेछ। अर्थात उत्तरआधुनिकतावादको माध्यमबाट लीलालेखन बुझ्न पनि। त्यहाँदेखि अझ उता बुझ्नलाई पनि केही गलछेँडीहरू सङ्केत गरिराखेका पाउछौँ। अहिले हामी उत्तरलीलालेखनतिर पनि अग्रसर भइसकेका छौँ।आईबी सरले जीवनको अन्तिम क्षणमा साहित्यमा क्वान्टम मेकानिक्सकै अर्को प्रारूप ज्योफरी चिउको बुट स्ट्राप थ्योरीमार्फत वस्तु र जगतको अवस्थिति लेखिनसक्ने अवधारणा प्रस्तुत गर्दै थिए।यस सिद्धान्त अनुरूप कुनै पनि परमाणुको अस्तित्व क्वार्कको अवस्थानमा पुग्दा त्यो एकार्कामा सम्बन्धित कण र उर्जामा रूपान्तरित हुन्छ जसले पदार्थको अस्तित्व एकाङ्की नभएर समावेशी हुनसक्छ जो जुत्ताको लेस जस्तै क्रमश: कसिदैँ जाने गर्छ भन्ने परिकल्पनालाई मूर्तता दिने प्रयास गर्छ। यसबारे नयाँ विमर्श र सङ्कथन शुरू गर्न सकिन्छ भन्ने उनको विश्वास रहेको बुझिन्छ। वास्तवमा यो उनको उत्तरलीला चिन्तन हुनुपर्छ। जसको उल्लेख यो खण्ड ६ मा हुनुपर्ने हो भन्ने लाग्छ।तर जे सुकै होस् हामीले ‘इन्द्रसाहित्य’ वाङ्मयको घडेरीमा भारतीय नेपाली काव्यशास्त्र, नव्यकथाको संसार र समालोचन क्षितिज परिभ्रमण गर्नुपर्ने आवश्यकता बोध गरिरहेका छौँ। त्यसको निम्ति इन्द्र सम्पूर्णका ठेलीहरू पहिलो सन्दर्भग्रन्थ बनिनेछन्।साहित्यमा इन्द्रबहादुर राईका समग्र विचारका अनुयायीहरू जो छैनन् तिनीहरूले पनि तर यी विचारहरूका जरा केलाउनैपर्ने हुन्छ। बिमति राखेर जे लेखिए र लेखिन्छन् ती पनि अन्तिम होइनन् र हुँदैनन्। यसैले आग्रह राख्छ अनिर्धार्यको अर्थात बहुलतावादको जो उत्तरआधुनिकतावदी चिन्तनाको पहिलो सर्त हो।

खण्ड-६ मा देखिएका प्रुफ रिडिङको कमी खट्कँदो छ। हतारको काम जस्तै भएको देखिएको छ। अर्को संस्करणमा त्यो सुधार अवश्य होला ।

शेष शुभ ।

 

प्रतिक्रिया
Loading...