
विषयप्रवेषः
साहित्यकार विनोद नेपाल बाहिरबाट हेर्दा अन्तर्मुखी स्वभावका व्यक्ति लाग्छन् । तर निकटबाट साक्षात्कार गर्दा सरल, मृदुभाषी र मुखरित हुन मन पराउने प्रकृतिका अनुभूत हुन्छन् । लामो समयसम्म बैंकिङ क्षेत्रमा संलग्न रहेका नेपाल विद्यार्थी कालदेखि नै सक्रिय रूपमा साहित्य क्षेत्रमा लागेका व्यक्ति हुन् । त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा अध्ययन गर्दादेखि नै यिनले साहित्यमा कलम चलाएको चर्चा पाइन्छ । २०४० सालपूर्व नै कविता, लघुकथा, निबन्ध आदि विधामा कलम चलाएको र २०४० सालदेखि राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकामा यिनका रचनाहरू प्रकाशित प्रसारित भएको पाइन्छ । कृति प्रकाशनको सिलसिला भने २०७६ सालमा आएर सुरु भएको पाइन्छ । यिनका देश र विदेश नियात्रासङ्ग्रह (२०७६), गोदान लघुकथासङ्ग्रह (२०७७), हल्लैहल्लाको देश कवितासङ्ग्रह (२०७८) कृतिहरू प्रकाशनमा आएका छन् । साइनो, छेस्का लगायतका विधामा संयुक्त सङ्ग्रह पनि प्रकाशित भएको पाइन्छ । राष्ट्रिय पत्रपत्रिकाहरूमा दर्जनौँ फुटकर लेखहरू पनि प्रकाशित भएको देख्न सकिन्छ । माथि उल्लेखित तीनवटा कृतिहरू फरक फरक विधामा केन्द्रित भई सिर्जना गरिएको पाइन्छ ।

godan
पछिल्लो समयमा पूर्णकालीन रूपमा नेपाली साहित्यको साधनामा लागेका नेपालको कलम उत्तरोत्तर सशक्त बन्दै गएको देख्न सकिन्छ । कविताको सूक्ष्म प्रयोग छेस्का कविताको प्रवर्तन गरी स्रष्टाहरूलाई यसको साधनामा गोल्याएर हिँडाउने कार्यमा पनि नेपालको अहं भूमिका रहेको पाइन्छ । साइनो, बाछिटा, मुक्तक लगायतका विधामा पनि यिनको कलम निरन्तर रूपमा चलेको छ । समकालीन विषयमा केन्द्रित रही विश्लेषणात्मक लेखहरू पनि लेख्ने गरेको पाइन्छ । प्रस्तुत लेखमा साहित्यकार विनोद नेपालको गोदान लघुकथासङ्ग्रहमाथि छोटो समीक्षात्मक टिप्पणी गर्ने काम गरिएको छ ।
गोदान परिचय र प्रवृत्तिः
अहिले साहित्यको बजारमा लघु आयामका रचनातर्फ पाठकको रुचि बढ्दै गएको पाइन्छ । छोटो संरचनामा निर्मित हुनु, विषयलाई तत्क्षण रूपमा उठाई सन्देशको झिल्का प्रवाहित गर्नु, छोटो समयमै पढेर आस्वादन गर्न पाइनुजस्ता कुराले यस्ता प्रकृतिका रचनाहरू पाठकका रोजाइमा परेको पाइन्छ । त्यसैले पनि पछिल्लो समयमा लामा प्रकृतिका रचनातर्फ भन्दा लघु आयामका रचनातर्फ स्रष्टाहरूको पनि मोह बढ्न गएको पाइन्छ । लघुकथा आयामका हिसाबले सामान्यतः तीन सय शब्दभित्रमा निर्मित हुनुपर्ने मान्यता रहेको छ । यसमा आउने कथानक, पात्र, परिवेशजस्ता कुराहरू पनि सोही आधारमा सघन अनि संक्षिप्त रूपमा आएका हुन्छन् । लघु रूपको विन्यास, वेगशाली प्रस्तुति, सूत्रात्मक शैली, आरम्भ, विकास र चरमोत्कर्षको तीव्रता, विद्युतीय झड्काको अनुभूति, भावकमा सन्देशको सञ्चार आदि जस्ता कुराहरू लघुकथाका लागि आवश्यक मानिन्छन् । खास विषयलाई तत्क्षणमै उठाई उत्कर्षमा पुगेर टुङ्गिने हुनाले तत्कालै पाठकका मस्तिष्कमा छाप छाड्न सक्ने क्षमता यसमा हुन्छ । यस्ता विशेषताले गर्दा नै लघुकथा आज लोकप्रिय बनेको कुरा स्वीकार्न सकिन्छ ।

टङ्कप्रसाद पन्थ
साहित्यकार विनोद नेपालको गोदान (२०७७) लाई नेपाली लघुकथाको शृङ्खलामा एउटा महत्त्वपूर्ण कडीका रूपमा देख्न सकिन्छ । कुल छपन्नवटा लघुकथाहरू यस सङ्ग्रहमा समेटिन आएका छन् । यस पुस्तकको भूमिका खण्डमा जम्मा उन्नाइस पृष्ठ खर्चिएको छ । यस सङ्ग्रहका कुल छपन्नवटा कथामध्ये बयालीसवटा कथाहरू एकएक पृष्ठमा र चौधवटा कथाहरू दुईदुई पृष्ठमा संरचित रहेको पाइन्छ । कथाको मूल भागले सत्तरी पृष्ठ ओगटेको पाइन्छ । पकेट साइजको आकारमा निर्मित पुस्तकमा एक पृष्ठमा निर्मित कथाको सङ्ख्या अधिक रहेकाले लघुकथाको संरचनागत आयामप्रति कथाकार सचेत रहेको पाइन्छ । कथाको अन्तिम क्रममा रहेको ‘गोदान’ शीर्षकको कथालाई छनोट गरी सिङ्गो कृतिको शीर्षक चयन गरिएको पाइन्छ ।
साहित्यकार विधान आचार्यको गहन भूमिका लेखनमा विषयको विभाजन र मुख्य पात्रको चरित्रलाई सूक्ष्म रूपमा केलाउने काम गरिएको छ । दीपक लोहनीको छोटो समीक्षात्मक लेखमा कथाकारसँगको सम्बन्ध, कथाहरूको रचना समय तथा प्रवृत्तिगत वैशिष्ट्यलाई झल्काउने काम गरिएको छ । आवरण पृष्ठको साजसज्जा अनि कागजको गुणस्तर आदि पक्ष पनि आकर्षक रहेको पाइन्छ । हाम्रै सेरोफेरोमा रहेका विषय, घटना, पात्र र तिनका मनोवृत्ति, परिवेश आदि कुरालाई कथागर्भका रूपमा चयन गरिएको छ । कुनै कुनै कथामा प्रस्तुतिको ज्यादा हतारो देखिन्छ भने कुनै कथामा आख्यान तत्त्व शिथिल भई निजात्मक धर्म प्रभावशाली बन्न गएको अवस्था पनि देख्न सकिन्छ । कृतिभित्रका समग्र कथाहरू पठनीय, मननीय र अनुकरणीय रहेको पाइन्छ ।
विषयगत विन्यासः
प्रस्तुत कथासङ्ग्रहमा विविध प्रकृतिका विषय तथा पात्र र तिनका प्रवृत्तिलाई प्रकाशमा ल्याउने काम गरिएको छ । रानजीतिक, सामाजिक, पारिवारिक तथा सांस्कृतिक क्षेत्रबाट विषयको चयन गरी तत्तत् क्षेत्रमा रहेका यथार्थ अवस्थालाई सतहमा ल्याउने काम यहाँ गरिएको छ । लेखकले आफू बाँचेको समाजलाई मिहिन रूपमा छामेको पाइन्छ । हाम्रा परम्परागत संस्कार, मूल्यमान्यता, धर्म, आचरण, विश्वास, अन्धविश्वास समय चेतना, स्वतन्त्रताको दुरुपयोग आदि कुरालाई विषयको रूपमा चयन गरिएको छ । हाम्रो राष्ट्रिय परिवेश, नेता र नेतृत्वको प्रवृत्ति, स्वार्थ प्रेरित चिन्तनका साथमा अकर्मण्य बन्दै गएको हाम्रो वर्तमान अवस्थालाई विषयका रूपमा समेटिएको देख्न सकिन्छ । पुस्तान्तरणले ल्याएको समस्या अनि मानिसका छुद्र व्यवहार र मान्यतालाई यहाँ झल्काइएको छ । गाउँ र सहरको भिन्नता, दम्पतीका बीचमा हुने ठाकठुक आदिलाई पनि विषयवस्तुका रूपमा चयन गरिएको छ ।
चरित्रचित्रणः
यस कथासङ्ग्रहमा विविध प्रकृतिका चरित्रलाई उपस्थित गराइएको छ । पात्रहरूको नामकरणलाई हेर्दा सामान्य रूपमा तोकिने ऊ, उनी, लोग्ने, स्वास्नी, छोरा, छोरी, नेता लगायतका नामधारी पात्रहरू उपस्थित भएको पाइन्छ । अधिक रूपमा ऊ पात्रलाई नै उपस्थित गराइएको देखिन्छ । पात्रहरूले प्रत्यक्ष रूपमा भूमिका निर्वाह गर्दा प्रथम पुरुषका रूपमा उपस्थित भएको देख्न सकिन्छ । राजनीतिक क्षेत्रमा रहेका नेता तथा तिनका कार्यकर्ताका बोली व्यवहार र चिन्तनलाई पनि यहाँ अवतरण गराइएको छ । पारिवारिक जीवनका समस्यामा केन्द्रित हुँदा श्रीमान्, श्रीमती, छोरा, छोरी, बुहारी आदिको उपस्थिति पनि पाउन सकिन्छ । पुस्तान्तरणको प्रभाव पात्रका बोली, व्यवहार, चालचलन, मनोवृत्ति आदिमा देख्न सकिन्छ । लोग्ने र स्वास्नीबीचको सम्बन्ध, विश्वासका साथै क्रमशः सिर्जना हुने समस्यालाई पनि कथामा चित्रण गरिएको छ । प्रायः दुई वा तीन पात्रको चयन गरी विचारलाई प्रवाहित गर्ने काम यहाँ भएको छ । पात्रका व्यवहार र मान्यताद्वारा लेखकीय उद्देश्यलाई अवतरण गराइएको पाइन्छ । यहाँ उपस्थित पात्रहरू आआफ्नो क्षेत्र र भूमिकामा जीवन्त रूपमा उपस्थित भएको पाइन्छ । पात्रका आफ्नै बोली र व्यवहारबाट उनीहरूको वास्तविकतालाई बाहिर ल्याउने काम गरिएको छ ।
परिवेश चयनः
लघुकथामा परिवेशको स्थूल चित्रण नभई सघन परिवेश चित्रणलाई अनुकूल मानिन्छ । यस कुरामा कथाकार विनोद नेपाल परिवेश चयनप्रति सचेत रहेको देखिन्छ । यहाँ घर, कोठा, टोल, छिमेक, बजार, भान्सा, बिस्तारा, विवाह, पूजा, स्वस्थानी व्रत, गाडी, बाटो, मन्दिर, चोक, अस्पताल, आँगन, सामाजिक सञ्जाल आदि स्थानहरू परिवेशगत झलकका रूपमा आएको देख्न सकिन्छ । मौसम तथा वातावरणीय प्रभावका साथमा प्रकृतिको चित्रण पनि आएको देख्न सकिन्छ । कुनै कथामा अमूर्त परिवेश चित्रणको अवस्था पनि भेट्न सकिन्छ । छोटो सीमाभित्र बाँधिनुपर्ने हुनाले पनि ठाउँ ठाउँमा परिवेश सूच्य रूपमा आएको अवस्था देखिन्छ ।
सामाजिक यथार्थको प्रस्तुतिः
कथाकार विनोद नेपालको यस कथासङ्ग्रहका कथाहरूमा वर्तमान नेपाली समाजको यथार्थ बिम्ब अङ्कित भएको पाइन्छ । समाजमा व्याप्त विभेद र गरिबीको अवस्थालाई धेरैजसो कथामा उठाएको छ । गरिब तथा लक्षितहरूका लागि तोकिएको सुविधा पनि टाठाबाठाहरूले खाइदिने प्रवृत्तिलाई यहाँ संवेदनशी रूपमा उठान गरिएको छ । मानिसको जीवनमा उमेरअनुसार आउने परिवर्तनलाई पनि सजीव रूपमा प्रकाश पारिएको छ । मानिसभित्रको ढोंगी आचरणलाई स्पष्ट रूपमा बाहिर ल्याउने काम पनि यहाँ गरिएको छ । साझा हित र जनताको सेवामा खटिनुको सट्टा व्यक्तिगत स्वार्थमा चुर्लुम्म डुबेको नेतृत्व वर्गको वास्तविक चरित्रलाई यहाँ उजागर गराइएको छ । शासकहरूमा देखिने रवैया पनि केही कथामा पाउन सकिन्छ । प्रस्तुत सङ्ग्रहका कथाहरूमा हाम्रो सामाजिक जीवनको शल्यक्रिया गर्ने काम गरिएको पाइन्छ । समयक्रममा आएको सामाजिक अनि सांस्कृतिक परिवर्तन अनि वैदेशिक रोजगारीले सिर्जना गरेको समस्यालाई सघन रूपमा चित्रण गरिएको छ । मानिसमा कथनी एउटा कुरा अनि करणी अर्कै कुरा हुनुको विडम्बनालाई पनि यहाँ दृष्टान्तसहित अवतरण गराइएको छ । सहरिया जीवनमा हुर्किएको अहङ्कार अनि अमानवीय प्रवृत्तिलाई यहाँ झल्काइएको छ । सहरमा घरहरू ठुला हुने तर ती ठुला घरभित्र बस्ने मानिसहरूमा मानवता र कल्याणको भावना नरहेको यथार्थलाई प्रकाश पारिएको छ । समानता र सहिष्णुताप्रतिको लेखकीय आग्रह यहाँ पनि यहाँ व्यक्त भएको पाइन्छ ।
मनोविश्लेषणः
विनोद नेपालका कथाहरूमा मानिसको मनलाई राम्ररी छाम्ने काम गरिएको पाइन्छ । मानिसका बोलीचाली, व्यवहार, चाहना, घातप्रतिघात र मान्यतालाई उद्घाटित गराउँदा पात्रहरूको मनोवृत्तिको विश्लेषण हुन पुगेको देखिन्छ । मानिस बाहिर आदर्शका कुरा गर्ने तर वास्तविक जीवनमा नीच र छुद्र प्रवृत्ति देखाउँछ भन्ने कुराको दृष्टान्त यी कथामा पाइन्छ । यहाँ उपस्थित भएका धेरैजसो पात्रहरू रूपमा एउटा तर भित्री व्यवहारमा भिन्नै रहेको सन्दर्भबाट उनीहरूको मनोवृत्ति र नियतलाई अवतरण गराउने काम गरिएको छ । कोही खानदानका आडमा, कोही नेतृत्वका आडमा, कोही धर्म र संस्कृतिका रुझानमा रूढ, आग्रही र परपीडक मनोग्रन्थिका पात्रहरू रहेको कुरा कथाहरू पढ्दै जाँदा साक्षात्कार गर्न सकिन्छ । परम्परा र संस्कृतिबाट ग्रसित मानसिकताको विश्लेषण पनि स्वाभाविक रूपमा गरिएको पाइन्छ । जो व्यक्तिले कुनै कुराको बढी मात्रामा निन्दोचर्चो गर्छ ऊ पछि त्यही क्षेत्रमा लिप्त भएर लाग्छ भन्ने कुरा पनि दृष्टान्तसहित प्रस्तुत गरिएको छ । पात्रको मानसिकताका आधारमा उसका व्यवहारलाई केलाउने काम गरिएकाले यहाँ मनोविश्लेषण पक्ष पनि प्रभावशाली रूपमा आएको पाइन्छ ।
परम्परा र संस्कृतिको प्रभावः
यस सङ्ग्रहका धेरैजसो कथामा मानिसमा परम्परा र संस्कृतिको गहिरो छाप पर्दछ भन्ने कुरालाई झल्काइएको छ । मानिस सैद्धान्तिक रूपमा क्रान्तिकारी र अग्रगामी देखिए पनि कालान्तरमा परम्पराबाट मुक्त हुन नसेको सन्दर्भलाई यहाँ राम्ररी विश्लेषण गरिएको छ । मानिसले अधिकार र आदर्शका कुरा गर्ने तर आफ्नो आचरणमा सुधार ल्याउन नसक्नुको कडीका रूपमा परम्परा र संस्कृतिको प्रभावलाई सङ्केत गरिएको छ । स्वस्थानी कथामा महिलाहरूको अपमान गरिएको छ, त्यस्ता पुस्तकहरू जलाउनुपर्छ भनेर मञ्चहरूमा भाषण गर्ने तर घरमा गएर स्वस्थानीको कथा सुन्ने सुनाउने प्रवृत्तिलाई यहाँ रोचक रूपमा प्रस्तुत गरिएको छ । हिँजो युवा अवस्थामा मन्दिर भत्काउनेहरू उमेर बढ्दै गएसँगै मन्दिर धाउने गरेको दृष्टान्तका साथमा मानिसको सक्कली रूपलाई प्रकाशमा ल्याउने काम गरिएको छ । हाम्रा आचरण र व्यवहारहरू संस्कृति सापेक्ष रहेको कुरा यहाँ प्रस्तुत गरिएको छ । पुरानो पुस्ताको मानसिकतामा सांस्कृतिक रुझान रहेको यथार्थ पनि कथाहरूमा भेट्न सकिन्छ ।
परिवर्तित समयले निम्त्याएको समस्याः
यस सङ्ग्रहका धेरैजसो कथामा परिवर्तित समयले लादेका अवशेषको चित्र उतारिएको पाइन्छ । समयको परिवर्तनसँगै मानिसका स्वभाव, चिन्तन र मान्यताहरू बदलिँदै गएको अवस्थालाई यहाँ झल्काइएको छ । वर्तमान नेपाली समाजमा टड्कारो समस्याका रूपमा रहेको वैदेशिक रोजगारीले थोपरेको परिणामलाई पनि कथामा झल्काइएको छ । पारिवारिक विघटनको स्थिति भोग्न विवश नेपाली समाजको पीडालाई मार्मिक रूपमा चित्रण गरिएको छ । बृद्ध बाबुआमालाई घरकुरुवाका रूपमा राखेर विदेशमै रमाउने सन्ततिको सक्कली नियतलाई यहाँ उतारिएको छ । नेपालको समग्र राष्ट्रिय जीवनमा समस्याका रूपमा रहेको वैदेशिक रोजगारीको पक्षलाई यहाँ उल्लेख गरिएको छ । गणतान्त्रिक नेपालमा भित्रिएका विकृति र विसङ्गतिलाई सूक्ष्म रूपमा केलाउने काम गरिएको छ । गणतान्त्रिक नेपालमा राष्ट्रको नाम र झन्डा फेर्नेसम्मका हर्कतहरू गरिएकोप्रति कथाकारको सशक्त विमति व्यक्त भएको छ । नेपाली चेलीमाथि हुने गरेका शोषण तथा छद्म रूपमा लुटेर गुजारा चलाउने प्रवृत्तिलाई पनि यहाँ झल्काइएको छ । संवेदना गुमाएर चितासँग सेल्फी लिनेसम्मका अमानवीय क्रियाकलापको प्रस्तुति पनि यहाँ पाइन्छ । गहिरो मानवीय संवेदनाको प्रस्तुतिका साथमा भोलिको हाम्रो अवस्थाप्रतिको चिन्ता कथामा व्यक्त भएको छ ।
व्यङ्ग्यात्मकताः
साहित्यकार विनोद नेपालका सिर्जनाको मूलभूत पाटो व्यङ्ग्यात्मकता हो । यिनका कविताहरूमा पनि व्यङ्ग्य पक्ष केन्द्र भागमा रहेको पाइन्छ । यस सङ्ग्रहका सबैजसो कथामा व्यङ्ग्यात्मक प्रवृत्ति चुलिन पुगेको देखिन्छ । व्यक्ति, परिवार, समाज तथा राष्ट्रिय जीवनमा मक्किएर रहेका विकृत प्रवृत्तिमाथिको शिष्ट प्रहार यिनका कथाको पहिचान नै मान्नुपर्दछ । यिनका कथामा ठाडो रूपमा प्रहार नगरी पात्रका प्रवृत्तिको उद्घाटनका साथमा व्यङ्ग्यको पर्रा हानिएको हुन्छ । मानिसको देखावटी आदर्शभित्र छिपेर रहेका कुकृत्य अनि आडम्बरहरूलाई सान्दर्भिक रूपमा बाहिर ल्याई धज्जी उडाउने हुनाले पनि यिनका कथाहरू रोचक र घोचक बन्न गएका छन् । मानवीय संवेदना गुमाएर जलिरको चितासँग सेल्फी खिच्न उद्यत हुने प्रवृत्तिलाई कथामा नाङ्गेझार पार्ने काम गरिएको छ । जिम्मेवारीमा रहेका मानिसहरू नै अकर्मण्य भैदिँदा सिङ्गो समाज र राष्ट्रलाई नै असर पर्न जाने कुराको चिन्ता कथामा पाइन्छ । हाम्रो सामाजिक अनि सांस्कृतिक क्षेत्रमा रहेका ढोंगी प्रवृत्तिहरूलाई शालीन रूपमा पर्दाफास गर्ने काम यी कथाहरूमा गरिएको छ । बाहिर देखालो रूपमा महिला अधिकार र सम्मानका कुरा गर्ने तर घरमा चाहिँ स्वस्थानीको व्रत बस्ने महिलाहरूको प्रवृत्ति होस् वा पाप कर्म गर्न उद्यत हुने अनि गोदान गरेर प्रायश्चित गर्ने प्रवृत्तिप्रति मर्ममै पुग्ने गरी प्रहार गरिएको छ । मानिसको बोली एउटा अनि व्यवहार अर्कै भएकाले नै खास समस्या नम्तिएको हो भन्ने निष्कर्ष कथाकारको रहेको छ । व्यङ्ग्य र कटाक्षका माध्यमबाट यस्ता चरित्रमा परिष्कारको अपेक्षा राखिएको छ । नैतिक सङ्कटप्रति खबरदारी गर्न गोदानभित्रका कथाहरू उपयुक्त रहेको अनुभव हुन्छ । मानिसमा खस्किँदै गएको चरित्रलाई जीवन्त रूपमा उतार्ने काम यहाँ गरिएको छ । सारमा भन्दा व्यङ्ग्य प्रस्तुत सङ्ग्रहको प्राणका रूपमा रहेको छ ।
निष्कर्षः
विनोद नेपालको कलम साहित्यका विविध विधामा चलेको देखिन्छ । तीसको दशकबाटै साहित्य सिर्जनामा लागेका नेपालका रचनाहरू २०४१,०४२ सालतिरै बीबीसी नेपाली सेवा र रेडियो नेपालबाट प्रसारित भएको पाइन्छ । त्यसै समयदेखि राष्ट्रिय र स्थानीय पत्रिकाहरूमा यिनका रचनाहरू प्रकाशित हुन थालेको पाइन्छ । यही क्रममा फुटकर रूपमा दर्जनौँ रचनाहरू प्रकाशित हुँदै आएको भए पनि कृतिका रूपमा २०७६ सालबाट प्रकाशित भएको पाइन्छ । यसपछि वार्षिक रूपमै यिनका कृतिहरू प्रकाशनमा आउनुलाई सुखद पक्ष मान्नुपर्दछ । अहिले नेपाल पूर्ण रूपमा साहित्य सिर्जनामा तल्लीन भएको देखिन्छ । साहित्यका नयाँ नयाँ प्रयोगतर्फको रुचि अनि राष्ट्रको अवस्थाप्रतिको चिन्तन यिनको लेखनमा पाइन्छ ।
यिनको गोदान (२०७७) लघुकथासङ्ग्रहमा समकालीन नेपाली समाजको प्रतिबिम्ब उतारिएको छ । यस सङ्ग्रहमा कुल छपन्नवटा कथाहरू समेटिएका छन् । यस सङ्ग्रहभित्रका कथाहरूमा विविध विषय र प्रवृत्तिलाई प्रस्तुत गरिएको पाइन्छ । मानिसमा रहेको कामचोर प्रवृत्ति अनि छोपिएर रहेको सक्कली अनुहारलाई बाहिर ल्याउने काम गरिएको छ । व्यक्तिका तहमा छिपेर रहेका कमजोरी र खराब प्रवृत्तिलाई प्रहार गरी सुसंस्कृत समाज निर्माणको अपेक्षा गरिएको छ । सामाजिक, सांस्कृतिक अनि पारिवारिक जीवनमा गाँजिएर रहेका आडम्बरप्रति हिर्काई मानिसका आम व्यवहारमा सुधार ल्याउनुपर्ने सन्देश प्रवाहित गरिएको छ । राष्ट्रिय तहमा खड्किएका विषय र बल्झिएका समस्याप्रतिको नागरिक चासो पनि यिनका कथामा पाइन्छ । प्रस्तुति शिष्ट र शालीन तर मर्ममा निन्दा र कटाक्ष भने गम्भीर रूपमा आएको पाइन्छ । कथाहरू पढ्दै जाँदा पाठकले पनि मानसिक रूपमा राहत र सन्तुष्टिको अनुभूति गर्दछ । नेपाली जनजीवनलाई छामेर सिर्जना गर्न सक्ने स्रष्टा विनोद नेपालको कलम निरन्तर रूपमा चलोस् हार्दिक शुभकामना ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

