Chovar Blues Mobile Size

पुस्तक लेखन

गत सप्ताह चितवनका दुई युवा लेखकहरूको दुई कृति विमोचित भए । सिमरन छेत्रीको महिला समस्यालाई केन्द्र बनाएर लेखिएको उपन्यास ‘झुमर’ र निर्दोष जीवनको आत्मकथामा आधारित ‘नोस्टाल्जिया” । दुवैको गुनासो थियो आख्यान लेख्न सजिलो लाग्यो तर प्रकाशन गाह्रो रहेछ । कार्यक्रमपछि यस विषयमा अनौपचारिक टिप्पणी पनि भए । के पुस्तक लेख्न साँच्चीकै सजिलो छ र प्रकाशन गाह्रो ?

पुस्तक लेख्न सजिलो छैन । धेरै गाह्रो छ । प्रकाशन पनि गाह्रो छ तर लेख्नभन्दा गाह्रो छैन । प्रकाशनका धेरै उपाय छन् । आफ्नो खल्तीबाट पैसा खर्चे र प्रकाशन गराए हुन्छ । विदेशमा बस्ने धेरैले त्यसै गर्छन् भन्ने सुनिन्छ । अर्थात् प्रकाशनका उपाय छन् तर लेखनको कुनै उपाय छैन । लेख्नै पर्छ । पुस्तक लेख्नमा रुची छ भने पुस्तक लेख्नै पर्छ । नलेखी लेखिँदैन । कतिले सोच्छन् कविता लेख्न सजिलो छ । म त भन्छु चार पङ्क्तिको कविता लेख्न पनि सहज हुँदैन । एउटा सिङ्गो उपन्यास लेख्नु त फलामको चिउरा चबाउनु हो । लेखनका प्रायः दुई हिस्सा हुन्छन् – लेख्नु र बनाउनु । सायद लेख्न सजिलो होला तर बनाउन धेरै गारो हुन्छ । जस्तै कविताका चार पङ्क्ति लेख्न सजिलो होला तर तिनै चार पङ्क्तिलाई कविता बनाउन धेरै गारो हुन्छ । उस्तै कथा लेख्न सजिलो होला तर कथालाई कथा बनाउन धेरै गारो हुन्छ । उपन्यासको कुरा गर्दा उपन्यासलाई उपन्यास बनाउनु पछिको कुरा हो, उपन्यास लेख्नै गारो हुन्छ । कथामा मात्र एउटा कथा हुन्छ र यसले जीवनको एउटा मुद्दामाथि केन्द्रित भएर लेखिन्छ । त्यसकारणले छोटो हुन्छ, लघु हुन्छ र कथा बनाउन त्यति असहज न होला तर उपन्यास त मानव जीवनको पूर्ण प्रस्तावित बहस हो । एउटा उपन्यासमा धेरै कथा समायोजित हुन्छन् र सबैको तारतम्य जोड्दै उपन्यास बनाउन धेरै गारो हुन्छ ।

समालोचकीय धारणा भएका पाठकले बुझ्नु पर्ने कुरा के भने पुस्तक लेखिन्छन् अनिमात्र प्रकाशनमा आउँछन् । प्रकाशनमा आउनु भनेको बजारमा आउनु हो । बजारमा आउन सफल पुस्तक पढिन्छन् । पढिएका मध्ये पाठकले राम्रो नराम्रो छुट्याउँछन् । पाठकले राम्रो नराम्रो छुट्याउने क्रमसँगै समीक्षकले वा समालोचकले उत्कृष्ट, राम्रो, ठीकठीकै वा कमसल छुट्याँउछन् । म यो किन भनिरहेछु भने – एउटा पुस्तक, पुस्तक बन्न कति अप्ठ्यारो रहेछ ? एउटा पुस्तक बजारमा आउन कतिवटा अग्नि परीक्षाबाट गुज्रनु पर्छ ? औंलामा गनिने केही लेखकहरूका पुस्तक प्रकाशकले छाप्छन् होला तर युवा लेखकहरूले व्यक्त गरेको पीडादायी गुनासो मार्मिक छ- दुख गरेर लेखिन्छ एउटा पुस्तक तर प्रकाशक पाउँदैनन् लेखकले । एउटा लेखक आफ्नो पान्डुलिपि लिएर एकबाट अर्को प्रकाशकको ढोका ढकढकाउँदै हिँड्छ । कसैले ढोका खोल्दैनन् । बजारमा प्रकाशक नभएका होइनन् । बजारमा प्रशस्तमात्रामा कमाऊ र बिकाऊ प्रकाशक छन् तर तर यी युवा लेखकका लागि उपलब्ध छैनन् । यो युवा पुस्ताका लेखकहरूको संवेदनशील गुनासो हो । कसलाई गुहार्ने ?

फाइनप्रिन्ट फिभर घुम्ती साहित्य महोत्सव २०७९८ फागुन २८, २९ गते उन्नत कल्चर भिलेज हर्कपुर(चौधरीग्राम) मा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा मलाई स्वागत मन्तव्य बोल्ने अवसर प्राप्त हुँदा मेरो दस-बाह्र मिनेटको स्वागत मन्तव्यको थिम थियो – “प्रकाशकहरू कहिलेसम्म दुईचार जना कोटेरी लेखकहरूको घेरामा बसिरहने ? गाउँगाउँमा पसेर नवप्रतिभाको खोजी गर्दै उनीहरूलाई मौका दिनु ठुला-ठुला प्रकाशन गृहहरूको कर्तव्य होइन र ?”

एलबी छेत्री

साथै लेखन र प्रकाशन संसारको एउटा अर्को संवेदनशील विचारणीय पक्ष छ । भर्खर पठन संसारमा प्रवेश गरेका पाठकहरूलाई छिटोभन्दा छिटो लेखन संसारमा प्रवेश गर्न हतार हुन्छ । कसैलाई पनि एउटा पुस्तक लेख्नु अघि ठूलो अनुभव बटुल्नु आवश्यक हुन्छ । पाठकबाट लेखकमा पुग्न धैर्यता हुनु पर्छ । तर, युवा पुस्ताका पाठकहरूमा छिट्टो भन्दा छिट्टो एउटा पुस्तक लिएर बजारमा आउने सोख पलाएको देखिन्छ । तिनीहरूमा अनुभवको महत्त्व र प्रतिभाको कदर न्युन हुँदै गएको हो कि ?

‘नोस्टाल्जिया’

निर्दोष जीवन आफ्नो उपन्यास ‘नोस्टाल्जिया’को पृष्ठ ८ मा लेख्छन्, “सङ्घर्षबिना मानिसले जीवनमा सफलता प्राप्त गर्न सक्दैन ।” यो युनिभर्सल सत्य हो । तर सङ्घर्ष किन ? हामी सङ्घर्ष किन चाहन्छौँ ? उत्तर धेरै होलान् र एउटा हो – मान्छे समाजमा स्थापित भएर बाँच्न चाहन्छ । मध्यम वर्षका नागरिकलाई समाजमा स्थापित हुन् सङ्घर्ष आवश्यक यन्त्र हो । यसका विभिन्न कारण पनि छन् र एउटा हो – मान्छे पशुभन्दा विकशिल हुन्छ किनकि उसमा सौन्दर्य चेत हुन्छ । मान्छे स्थापित भएर बाँचेकाहरूमा कला र साहित्यप्रतिको चेतनशीलता हुन्छ । स्थापित जीवन बाँच थालेपछि मान्छे आफ्नो लागि एउटा छुटै जीवनको सौन्दर्य उद्घाटन गर्न सक्षम हुन्छ र त्यसलाई ऊ अर्थात् मान्छे सङ्घर्ष गर्छ र नयाँनयाँ आविष्कार गर्छ । यसरी निर्दोष जीवनको “नोस्टाल्जिया” एउटा नयाँ आविष्कार हो जसमा उनले आफ्नो सङ्घर्ष, प्रेमको कथा र विवाह, उनकी माइली दिदी, र आज उनी जे छन् बारे लेखेका छन् ।

समीक्षकहरूले यस पुस्तकको चीर-फार (समीक्षा) गर्दा कृति धेरै रोगले ग्रस्त भएको महसुस गर्लान् तर यो पुस्तक एउटा सङ्घर्षशील युवा संयोग (वास्तविक नाउँ ) को आफ्नो कथा हो । यस पुस्तकमा उनले निःसंकोच कतिपय सत्य लेखेका छन् जो सबैले आँट गर्न सक्दैनन् । म निर्दोष जीवनलाई सानैदेखि चिन्दछु । उनले यस पुस्तकमा कविडाँडामा आएर बसेको पनि लेखेका छन् । तर मलाई यसभित्र लेखिएका धेरै प्रसङ्ग थाहा थिएन । हामी बीच धेरैले घातक सत्यबारे बोल्दैनन् । तर उनले आफ्नो दिदी वेश्यालय पुगेको र यचआईवीबाट सङ्क्रमित भएको समेत लेखेका छन् । यो आँट र साहसलाई सलाम गर्नुपर्छ ।

सङ्घर्षबारे त विनोद चौधरीले पनि आफ्नो आत्मकथा ‘विनोद चौधरी’मा आफूले सङ्घर्ष गरेको लेखेका छन् । त्यो त धेरै ठूलो मान्छेको सङ्घर्षको कथा हो निर्दोष जीवनको सङ्घर्षको कथा हामीहरूबीचको आम मान्छेको कथा हो । कसरी उनले नितान्त आर्थिक आभावका बावजूद एसएलसी उत्तीर्ण गर्न सफल भए, कसरी उसको प्लस टु पढ्ने सपना धरासाही हुन् पुग्यो ? कसरी ऊ जीविकोपार्जनका निमित्त तरकारी र फलफूल बेच्न थाले । कसरी ऊ बारम्बार प्रेममा परे र असफलतालाई स्वीकार्दै गए ? धेरै पछि उनले एउटा सफल प्रेम फेला पारे । तर, उनको अघि एउटा चुनौती थियो – धर्म परिवर्तन । आशा क्रिश्चियन धर्मकी थिइन् र आफ्नो प्रेम प्राप्तिका लागि निर्दोष जीवनले आफ्नो धर्म परिवर्तन समेत गरे । उनी प्रेममाव सफल हुन चाहन्थे र सफल भए । धर्म परिर्तन कुनै बाधा बनेर उभिएँन । यो पुस्तक सबैले पढ्नु पर्छ र तुलना गर्नुपर्छ आफ्नो जीवनका उतार चढावहरूलाई । संयोगले के कति र कस्ता सङ्घर्ष गरेर मात्र निर्दोष जीवन बनेका रहेछन् । प्रत्येक पाठकले संयोगको सङ्घर्षको कथा पढेर मेरो सङ्घर्ष कस्तो छ ? आफूलाई प्रश्न गर्दा हुन्छ ।

के आज निर्दोष सफल छ त ? सफलता र असफलताको पनि आफ्नै परिभाषा र मापदण्ड हुन्छ । आज ऊ गीत लेख्छ, आख्यान लेख्छ, गीत र गजलमा सङ्गीत दिन्छ । एउटा छोरा र छोरी छन् । ऊ सन्तुष्ट छ र आफूलाई सफल मान्छ ।

अलिकति पुस्तकको संरचनाबारे भन्न मन लाग्यो । यसलाई उपन्यास भनिएको छ । यो आत्मकथा हो कि ? संस्मरणात्मक आत्माकथा हो कि ? खुलाइएको छैन । यसमा संयोग भन्ने म पात्रले कथा भनेको छ । संयोग को हो ? लेखक स्वयं वा लेखकद्वारा सिर्जित कुनै तेस्रो पात्र ? यसमा रहेका सबै पात्र काल्पनिक हुन् वा ओरिजिनल ? उपन्यास लेखनको आफ्नो संरचना हुन्छ । उपन्यास लेखन कला हो । यसमा निर्दोष जीवनले अझै मिहनेत गर्नु पर्ने देखिन्छ । निर्दोषको भाषा शैली राम्रो छ र अझै राम्रो बन्न सक्छ । पृष्ठ १३ मा रहेको सुन्दर वर्णनात्मक अनुभूतिले पाठकको मन छुन्छ ।

“असारको साँझ । आकाश बादलिएर धुम्म । निस्पट अँध्यारो । टाढा स्याल रोइरेहेको आवाज आउँथ्यो । बादल गर्जेर दर्लाग्य्दो, त्यसमाथि चट्याँङ्को भयानक आवाजले कुनै अनिष्टको सङ्केत गरिरेको थियो । एकैछिनमा मुस्लाधारे पानी पर्न थाल्यो । गाग्री घोप्ट्याए जस्तो गरी पानी पर्यो । रात नछिप्पिँदै खोला-नदी बढे । पानीले सीमा नाघ्यो । हेर्दाहेर्दै नदीमा बडेमानका रूख बगेर आउन लागे । पहाडको रातो माटो बगाएर ल्याएको नदी चट्याँङ्को उज्ज्यालोमा हेर्दा रगतको नदीजस्तो देखिन्थ्यो । अन्ततः बाढी मोडिएर बस्तीतिर आइपुग्यो ।

“यो हृदय विदारक दृश्यले सबैको मन छुन्छ । निर्दोष जीवनहरू बेघर भए र पृष्ठ १८ को अन्तिमा उनी लेख्छन्, “हामी निसासिएका थियौं । आफ्नै झुपडीमा । आफ्नै आफन्तसँग । आफ्नै परिवारसँग ।”

यी र यस्ता धेरै मार्मिक पङ्क्तिहरू पढ्दा लाग्छ निर्दोष जीवन लेखन क्षेत्रमा धेरै सम्भावना बोकेका लेखक हुन् । आउने दिनमा उनका अझै सुन्दर कृतिहरुले पाठकहरु बीच पुग्न तछाड र मछाड गर्ने छन् । अस्तु !