‘शिष्टाचार अभियान नेपाल’का अध्यक्ष कवि सुमन दाहाल समाजबाट हराउँदै गएको मूल्य मान्यता र व्यक्तिमा खस्किँदै गएको नैतिकता र सदाचारलाई पुनर्स्थापना गर्नका लागि एक दशकभन्दा बढी समयदेखि सक्रिय छन् । यसै प्रयासमा उनको शिष्टाचार नामक पुस्तक प्रकाशित भइसकेको छ । उनी विभिन्न शैक्षिक संस्था एवं सामाजिक संस्था मार्फत शिष्टाचार अभियानको प्रवर्धनमा सक्रिय रुपले लागि रहेका छन् ।
साहित्यपोष्टले हालसालै प्रकाशनमा ल्याएको उनको यो कृति “अन्तिम हुन सक्छ ” यसै प्रयासको अर्को निरन्तरता हो । उनी भन्छन्, ‘मैले सृजना गरेका भावनाहरु कविता बने – बनेनन् तर मैले लिपिबद्ध गरेका भावनाहरु मेरा आग्रह हुन्, सिर्जना हुन्, आवाज हुन्, सर्वसत्तावादी विरुद्धका जवाफ हुन् ।’ यति सशक्त रुपमा प्रस्तुत भएका उनी सिङ्गो समाज बदल्ने हौसला राख्दछन् र निष्ठाका साथ त्यसतर्फ लागेका छन् ।
जसै पढ्दै गए कवि दाहालको यो कृति उनी एक स्पष्टतावादी, हृदयमा माया भएका, समाज र राष्ट्रको उथ्थानको लागि निश्वार्थ भावले लागेका, देशका एक सचेत नागरिक जो आफ्नो कर्तव्य र भूमिका पालन गर्नमा तल्लिन छन् भन्ने उनको छवि मेरो आँखा अगाडि उघ्रदै आयो ।
यस सङ्ग्रहभित्रका केही कविताहरुले मायालु जगत उर्ताछन्, केहीमा उनका आफ्नै सोचाइहरु रमाइलो ढङ्गले व्यक्त भएका छन्, बाँकी सबैजसोमा समाजमा देखिएका अस्तव्यस्तता, देशको राजनीतिक इतिहास र वर्तमान अवस्था, देशका शासकहरुको मनपर्दो शैली र यसबाट अरुमा पर्न गएको मार जस्ताको त्यस्तै उतारेका छन् । एक दुईवटा कविताहरुमा उनले कोरोना महामारीले त्रस्त र त्राहिमाम बनाएको मानव जगत्को सम्झना गराएका छन् र यसलाई इतिहासकै शालीन युद्ध भनेका छन् ।
“मिठी पापा लिएर आउछु”, “आफ्नै प्रिय संसार”, “आमाका घाटमुनि” र “आमा आउने बाटो” कविताहरुमा यो संसार मायाकै जाल हो, जीवन मायामै अडेको छ र मायाकै सहाराले बाँच्दछ र चल्दछ् भन्ने प्रस्ट पार्दछन् । जीवनले मायामै असिमीत दुःख गर्छ, अनि आफ्नो मायालाई केही हुँदा मुटु चुँडालेर रुवाउँछ भन्ने जीवनका यथार्थ विभिन्न परिस्थितिमा भोगिएका सत्य घटनाहरुका आधारमा वर्णन गरिएका छन् ।
यता पनि छटपटी नभएको होइन
दिन–रात सम्झनामा त्यहि हुन्छु
सञ्चै छु भनेर आँसु चुहाएको छु
सुस्त–सुस्त स्वास फेर्दै गर है सानी
म पनि यस फालबाट बचेछु भने
मिठी पापा लिएर आउँछु ।
(मिठी पापा लिएर आउँछु)
माया जीवन जिउनको लागि अपरिहार्य छ । “आमा आउने बाटो” कवितामा बिहानै हाट गर्न गएकी आमा निकै अबेरसम्म नआएपछि सानो छोराले पोखरीकी जलेश्वरी देवीलाई मनमनै ढोगेर भन्छ, परमेश्वरी , नरोकीदेऊ है आमा आउने बाटो । “आामाको खाटमुनि”मा छोराछोरीका लागि भनेर राखेको सामानहरुमा आमाको सम्भालिनसक्नु माया भएको यथार्थको वर्णन छ । अपार मायाको यो संसारमा मायाबिनाको जिन्दगी सोच्दा पनि उजाड लाग्दछ । एउटा परिवारमा बाबुआमा र छोराछोरी हुन्छन्, त्यो एउटा मायालु संसार हुन्छ, । त्यसैले त सबै कुरा छोडेर जस्तै कठिन परिस्थितिमा पनि लम्किन्छन् पाइलाहरु आफ्नै प्रिय संसारतिर, आफ्नै परिवारतिर भन्ने कुरा “आफ्नै प्रिय संसार” कविताले दर्शाएको छ । ओहो, कस्तो जीवन्त वर्णन छ यी कविताहरुमा मायाले बाँधिएको हाम्रो संसारको, हाम्रो संस्कारको, हाम्रो गाउँले परिवेशको र हाम्रो समाजको रहनसहनको ।
कविको सोचाइ नपुग्ने ठाउँ कही हुँदैन । भनिन्छ जहाँ सूर्य पुग्दैनन् त्यहाँ पनि कवि पुग्न सक्छन् । कविको मनमा आएका सोचाइहरु कुन रुपमा व्यक्त हुन्छन्, त्यो कविको मौलिक लेखनमा भर पर्दछ । “सुन्दर नर्कको निर्माण गरौँ ”, “विषयगत जीवन परिभाषा”, “मभित्रको म”, “कविका प्रकार” र “खत्तम छ अमेरिका” भन्ने कविताहरुमा उनका आफ्नै सोचाइहरु रमाइलो ढङ्गमा व्यक्त भएका छन् ।
मभित्रको म ले मलाई प्रश्न गर्यो
तँ को होस् ?
मैले मेरो नाम भनें
म भित्रको मले अट्टहास हाँसो हाँसेर भन्यो
ल अब सुन् तँ को होस्
तँ धूलो होस् टक्टक्याइरहनु पर्ने
तँ उजाड माटो होस् मलजल गरिरहनु पर्ने
अँहँ मैले एकरत्ति प्रतिकार गरिनँ
सुनिरहें, केवल सुनिरहेँ र सही रहें
किनभने ऊ अर्को व्यक्ति थिएन
म भित्रको एक असल मित्र म नै थिएँ ।
(म भित्रको म)
वास्तवमा मान्छेको असल मित्र ऊ नै हो । उसको मनले जति उसलाई कसैले बुझ्दैन । उसको सामथ्र्य वा उसको खुबी र कमजोरी उसैले बुझ्दछ । व्यक्तिले आफ्नो मनले सही र गलत पहिचान गरेर मनले भनेको मान्ने हो भने उसले कहिल्यै गलत गर्दैन । कसैले झूठो बोल्दैछ भने पनि ऊभित्रको मले त उसलाई यो ठीक होइन भनिरहेकै हुन्छ ।
मान्छे देखिएर मात्र कोही मान्छे हुँदैन । मान्छे हुनका लागि मान्छेमा हुने गुण हुनु पर्छ । मान्छेमा नैतिकता हुनु पर्छ, दया हुनु पर्छ, मान्छेभित्र मान्छेको हृदय हुनुपर्छ, नत्र मान्छे देखिएर मात्र कोही मान्छे हुँदैन । मान्छेमा हुनुपर्ने गुणहरु यदि छैनन् भने ज्ञानी र जान्ने बुझ्ने पनि मान्छे हुँदैन भन्ने यो कविता एकदमै घतलाग्दो छ ।
थारै मान्छे मान्छे हुन्छन्
देखिएका सबै मान्छे हुँदैनन्
क्रूर हुन्छन्, हिंस्रक हुन्छन्
मान्छेजस्तै हुन्छन्, मान्छे हुँदैनन्
प्रेम गर्नेहरु सबै मान्छे हुँदैनन्
हात समाउनेहरु सबै मान्छे हुँदैनन्
सत्मार्गमा सतही आवरणमा सजिएर
मान्छेको स्वरुपमा हुन्छन्, मान्छे हुँदैनन् ।
(सबै मान्छे मान्छे हुँदैनन्)
त्यसैगरी “खै को बाँचे” र “अन्तिम हुन सक्छ” कविताहरुले शाश्वत् सत्यसँग जोडिएको जीवनको पक्षलाई उजागर गर्दछन् ।
न त भगवानका दूत हू भन्ने बाँचे
न त संसारका सम्राटहरु बाँचे
भगवानका दूतको रुपमा
मै हूँ सम्राट भन्ने अहंकारमा
मरेको केवल एक निमेषपछि खै को बाँचे ?
(खै को बाँचे)
समाजका अस्तव्यस्तता र राजनीतिक बेथितिहरु कविताहरुमा जताततै पोखिएका छन् । राजनीतिक र सामाजिक परिवृत्तमा रहेर लेखिएका यी कविताहरु यति सत्य लाग्दछन् कि हृदयलाई स्फटिकझैं पारदर्शी बनाएर यी सरसर्ती भित्र छिर्दछन् र मस्तिष्कमा गएर ठोक्किन्छन् । आफूले देखेका र भोगेका यथार्थहरुका परिदृश्यहरु मस्तिष्कमा बन्दछन् र त्यस्ता क्रियाकलापप्रति वितृष्णा जगाउँदछन् । यही त हो नि लेखक वा कविको खुबी, चेतना जगाएर जागरुक गराउने पाठकलाई ।
हाकिम रिसाउनुहुन्छ
बेलैमा किन नआएको भनेर
आज नेपाल बन्द हो कि खुल्ला निश्चित छैन
सडकमा आधा जिन्दावाद आधा मुर्दावाद छ
कार्यालय जाउँ कि नजाउँ दोधारमा छु
त्यसैले म आज खुसी छैन ।
(छोरी आज म खुसी छैन)
देशको राजनीतिमा कस्ता तत्त्वहरु हावी भएका छन् ? राजनीतिक चहलपहलको असर परेको समाज कतातिर उन्मुख भइरहेको छ ? समाजका जवानहरु जो राजनीतिक गतिविधिमा लागेका छन्, ती कस्ता छन् ? यी सबै कुरा उल्लेख गर्दै लेखिएको यो कविताले समाजको एकथरि युवाहरुको चित्रण गरेको छ ।
उसले राजनीतिशास्त्र पढेको छ
उसले पढेको राजनीतिमा
आगो हुन्छ
ढुङ्गा हुन्छ
क्रोध हुन्छ
उद्ण्डता हुन्छ
हुँदैन निष्ठा र सदाचार
हुँदैन जवाफदेही
मतदाताजस्तो
सधैं मासुभात खान्छ
म्दिराले सधैँ लठ्ठ हुन्छ
र समाजका लागि
उद्दण्डताको उदाहरण बन्छ
घरका लागि आजीवन आयस्रोत बन्छ ।
(उद्दण्ड मान्छे
हाम्रो देशको परिपेक्ष्यमा हेर्दा कस्तो देखिन्छ भने बेरोजगारी बढी भएको देशमा युवाहरु राजनीतिमा लाग्छन् । नेतालाई कार्यकर्ता चाहिने, बेरोजगारलाई काम चाहिने । यही संजोगले समाजमा फस्टाएको राजनीतिक तामझाम उदेकलाग्दो छ ।
जुलुस गरेरै खान पुगेको छ
जिन्दावाद भनेरै मस्ती पुगेको छ
षड्यन्त्र मन परोस् या नपरोस्
राजनीतिले गुजारा चलेकै छ हजुर ।
(निर्धक्क जिवीका चलेकै छ हजुर)
हाम्रो देशको राजनीतिमा एक पार्टीले अर्को पार्टीलाई होच्याउने, दमन गर्ने प्रथा चलेको देखिन्छ । यस्तो अवस्था भएको देशमा समाजमा राजनीति पसेपछि विकृति फस्टाउँछ नै । एउटा पार्टीको छाताभित्र रहेकाहरुले सही होस् या गलत, आफ्नै पार्टीका क्रियाकलापहरुलाई समर्थन गर्छन् । हाम्रो मान्छे र उसको मान्छे भन्ने भावना प्रबल हुन्छ, राम्रो मान्छेसँग मतलब हुँदैन । अनि बल, जोर जबरजस्तीले भए पनि आफ्नैको जीत गराउने होडबाजी चल्छ ।
खै मानिसहरु किन विभाजित छन् यहाँ
सबै दलदलको विभाजनमा लिप्त भेट्छु
कोही कसैको मान्छे हुँ भन्छन् कोही कसैको
किन मान्छे स्वयं आफ्नै हुन नसकेको ।
(किन मान्छे स्वयं आफ्नै हुन नसकेको)
यस सङ्ग्रहमा यस्ता थुप्रै कविताहरु छन् जसले देशमा विद्यमान राजनीतिक परिपाटीमा व्यङ्ग्य गर्दछन् । मान्छेमा नैतिकता, हराउँदै गएको बोध गराउँछन् ।
विकृति बिक्रीमा छ
लानुहोस् पदसँग साटेर
लानुहोस् प्रतिष्ठासँग मोलमोलाई गरेर
र लानुहोस् केवल
नोटसँग खरिद गरेर ।
(राजनीतिक बजारभाउ)
पटकपटक मन्त्री बदलिने क्रममा पाएको पद पनि कति दिन टिक्ने हो, ठेकान हुँदैन । पदमा टिक्ने कुरा कसको मान्छे हो, सम्बन्धितलाई रिझाउन सक्यो कि सकेन, आफू टिकिरहने तारतम्य मिलाउन सक्यो कि सकेन भन्नेमा निर्भर छ । यहाँ मन्त्री जनताका होइनन्, नेताका हुन्छन् ।
तराबाजी लै लै
मन्त्री आए डोली
रुँदै जान्छन् भोलि
आजै भर झोली ।
(ताराबाजी लै लै)
हामीले देख्दा वि. सं. २०४६ को जनआन्दोलनले पञ्चायत व्यवस्थालाई हटाउन बाध्य बनायो र तत्कालीन राजा विरेन्द्रले आफू संवैधानिक राजाका रुपमा रहेर बहुदलीय जनवाद दिए । त्यसपछि फेरि वि.सं. २०६३ मा गणतन्त्र आयो । यो देशमा व्यवस्था पटपटक बदलियो तर सुशासन कायम हुन सकेन । यसको कारण उनी भन्छन्
हामीले विचार फेरेनौँ
व्यवस्था त पटकपटक फेर्यौ
जीवनको लय फेर्दै फेरेनौँ ।
(फेर्दै फेरेनौ )
अहिले भर्खरैको स्थानीय चुनावको नतिजापछि राजनीतिमा देखिएका केही नयाँ अनुहारहरुबाट देशबासीले धेरै आशा गरेका छन् । देशमा अब निष्ठापूर्ण राजनीतिको सुरुवात भएको छ भन्ने सबैले सोचेका छन् । भविष्यले के देखाउने हो ? त्यो त हेर्न बाँकी नै छ । आशाका यी किरणहरु मधुरा हुँदै बिलिन भएर नजाउन् भन्ने कामना छ ।
अन्याय र अत्याचार देखेका उनी कविताहरुमा विष्फोट भएका छन् । यो देशमा चलिरहेको अन्याय र अत्याचारहरुलाई दर्शाउँदै लेखिएका उनका क्रान्तिकारी कविताहरुले रगत उमाल्छन् । यस्ता खाले उनका जुनसुकै कविता पढे पनि यो देशको राजनीति छर्लङ्ग हुन्छ । “अझै भनौ जिन्दावाद”, “रातो क्रान्ति जिन्दावाद”, “जनताका शासकहरु” र “अनुमोदित महामहिमहरु” कविताहरुमा देशका शासकहरुको असली रुप, उनीहरुद्वारा पीडित भएकाको व्यथा, उनीहरुलाई सत्तामा पुर्याउन लागेकैहरुको गम्भीर अवस्था, सबै जस्ताको तस्तै झल्किएका छन् । देश र व्यवस्थाको सही चित्र सबैका अगाडि ल्याइदिएर अन्याय र अत्याचार विरुद्धको बिगुल फुक्न उनी सफल भएका छन् ।
तिमीले मलाई झण्डा बोकायौ
जुलुशमा हिँडायौ
लाठी र मुड्ग्री चखायौ
रगतपिच्छे हुँदा नि भन्न लगायौ जिन्दावाद ।
तिमीले नै मेरो परिवारका
होनहार सदस्यहरुलाई
शहीद बनायौ
र दश लाखमा भन्न लगायौ जिन्दावाद ।
तिमीले बिटाका बिटा नगद लिएर
सयौंलाई राजदूत बनायौ, नियुक्ति बाँड्यौ
म चुपचाप कालो चिया र फुक्का च्युरामा
स्वाभिमान बेच्दै भन्दै गए जिन्दावाद ।
(अझै भनौ जिन्दावाद)
विदेशका सुविधा भोग्न पाएता पनि उनका ह्रदयमा आफ्नै देशको अवस्था, परिरस्थिति र रहनसहन, यहीको प्रकृति, दृश्य, हिमाल, भीर, पाखा, पहरा, खोला र ढुड्गा झलझली छ । देश र देशवासीको माया छ ।
त्यसैले त आफ्नो देशमा समाजबाट हराउँदै गएको नैतिकता, सद्भाव, सहिष्णुता, शिष्टाचारजस्ता मूल्य र मान्यताहरुलाई जोगाउन लागेका छन् “शिष्टाचार अभियान नेपाल”मा उनी । कसले कसलाई टेर्ने ? कसलाई भनेको मानेर कसैले आफूलाई सुधार्ने ? यी ठूला समस्याहरुका बीच कसैलाई नराम्रो नपर्ने गरी सभ्य र भद्र तरिकाले सबैलाई त्यसप्रति सोच्न बाध्य गराउन भावनात्मक शैलीमा यसरी प्रस्तुत भएका छन् उनी ।
आजकै योजना अन्तिम हुन सक्छ
दिऊँदिऊँ लागेको मन अन्तिम हुन सक्छ
प्रकट हुन बाँकी सद्भाव र शालीनता
ब्युझाउँदै गर्नुहोला
अचानक अन्तिम हुन सक्छ ।
(अन्तिम हुन सक्छ )
अन्त्यमा उनको साहित्यिक यात्रा र समाज बदल्ने प्रयास सँगसँगै चलिरहोस् भन्न चाहन्छु । समाज परिवर्तनका सम्वाहक उनी सधैं आफ्नो सङ्कल्प र कर्तव्यमा दृढ रहन सकुन् । देशवासीले उनलाई चिनुन्, उनका भावना बुझुन् र साथ दिऊन् । शुभकामना छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।