पछिल्लो समयमा नेपाली साहित्यको फाँटमा नेपाली लघुकथा लेखनले निरन्तर रूपमा प्रगति र लोकप्रियता हासिल गरेको छ । लघुकथा कथाको लघु रूप मात्र हैन, यो पूर्ण रचना, चातुर्यपूर्ण समापन र अर्थपूर्ण भाव गरी त्रि-आयामिक संरचनामा रहेको हुन्छ, जसमा व्यक्ति र समाजबिचको द्वन्द्वको अभिव्यक्ति रहेको पाइन्छ । सामाजिक विसङ्गतिलाई उजागर गर्ने लघुकथाको मुख्य विशेषता सूक्ष्म र अर्थपूर्ण हुन् । लघुकथाका पात्रहरूको बनावट कथा वा उपन्यासका पात्रहरूको बनावटभन्दा एकदमै भिन्न हुन्छ । लघु कथामा गहिरो भावना व्यक्त गर्ने क्षमता हुन्छ । अधिकांश लघुकथा लेखकहरूले आम मानिसको जीवनको भावहरू व्यक्त गरेका छन् ।

लघुकथाको जन्म विसङ्गतिको गर्भबाट हुन्छ । हरेक घटना र हरेक समाचारले लघुकथाको रुपलिन सक्दैन । जब लेखकले आफ्नो सृजनशीलता र कल्पना शक्तिको सहायताले सूक्ष्म र अर्थपूर्ण तरिकाले घटना र परिस्थितिलाई लेख्छन् तब लघुकथाको खाका तयार हुन्छ । यस्तै लघुकथाको खाका सङ्ग्रहको रूप लिएर हेटौंडाका कवि लघुकथाकार देखापरेका छन् ,किशन पौडेलद्वारा लिखित भर्खरै विमोचन भएको लघुकथा सङ्ग्रह ‘खुसी’ मेरो अगाडि छ । नीलो-हरियो आवरणमा अमित घिमिरेको अमूर्त कला रहेको ८० पेजको पुस्तकले ४८ लघुकथाका खुराक पस्किएको छ । उनको यस सङ्ग्रह लघुकथा खुसीबाट सुरु भएर तथास्तुमा अन्त्य भएको छ । ती मध्ये केही लघुकथाहरूको समीक्षात्मक टिप्पणी गर्ने जमर्को गरेको छु ।

खुसी:

सद्गुरुले भन्नुभए झैँ खुसी एउटा भ्रामक लक्ष्य हो । नयाँ जिम्मेवारी थपिदा खुसी भन्दा तनाव नै झन् बढ्छ भन्ने सन्देशका साथ क्षणिक खुसीको खोजमा भौँतारिने प्रवृत्तिलाई लघुकथामा सटिक तरिकाले उतार्न सफल भएका छन् किशन लघुकथा ‘खुसी’मा ।

आयु:

सौन्दर्यको नभई गुणको महत्त्व हुन्छ । रूप रङको आयु क्षणिक हुन्छ । रूप रङ त उमेरसँगै नष्ट हुन्छ । बिम्बको सफल प्रयोग र प्रतीकको उत्कृष्ट लघुकथाको उदाहरण छ लघुकथा आयु ।

सुख:

प्रत्येकलाई आ-आफ्नै रोइलो र पिरलो छ । कोही कतै सुखी छैनन् आत्मसन्तुष्टि छैन । यस्तै मानवीय कथा व्यथामा उनिएको मन छुने लघुकथा ।

एलियनः

दोस्रो ग्रहबाट आएका एलियनलाई मुख्य पात्र राखी बुनिएको घत लाग्दो लघुकथा । मानवीय समवेदना, धर्मप्रति कटाक्ष, आधुनिक विकृतिमाथि माथि झटारो । कथा केही लामो भए पनि यस धर्तीमा भइरहेको गिर्दो मानवीय मूल्यमाथि व्यङ्ग्यात्मक प्रहार गरिएको छ ।

कित्ताः

हाम्रो समाजमा राजनीतिले विभेद फैलाएको छ । राजनीतिज्ञहरूले आफ्नो स्वार्थका लागि यसलाई जोगाउन र कायम राख्न चाहन्छन् ।

मनीषकुमार शर्मा

औकात:

गरिबी र अभावको भुमरीमा, चाहना हुँदाहुँदै पनि रहरलाई बाध्यताले मार्नु पर्छ । आर्थिक औकात नभएको आम मानिसको बाध्यता अनि विवशता ओकल्ने कथा ।

विकल्पः

अर्मूत नारामा सीमित घोषणा र योजनाप्रति व्यङ्ग्यात्मक टिप्पणी । पूर्वाधारको संरचना नभई कुनै पनि कार्य सुरुवात गर्न अघि बढ्ने आलोकाँचो निर्णयप्रति कथा मार्फत मिठो दनक दिएको पाइन्छ ।

सहानुभूतिः

व्यवहारमा नउत्रिने शब्द र भावना खोक्रो साबित हुन्छन् । मृत्यु परान्तपछिको खोक्रो समवेदना पोख्ने समाजप्रति लक्षित गरी लेखिएको भावनात्मक लघुकथा ।

इन्द्रीय सुखः

आजको समयलाई सही ठाउँमा लगानी गर्नुपर्दछ । आज समय, शक्ति र सामर्थ्य छ तर त्यो भोलि हुँदैन । भोलि न समय हुनेछ, न जवानी, न सामर्थ्य ।

परिवर्तनः

जुन जोगी आए पनि कानै चिरेको, जुन सत्ता आए पनि बिल्ला भिरेको । सत्तामा पुगेपछि इन्द्रियहरू नियन्त्रणभन्दा बाहिर पुगेर कानुनी शासनको उपहास गर्ने सत्ता सुखको लिप्सामा निर्लिप्त हुने, समसामयिक घटनालाई उजागर गर्न सफल लघुकथा ।

आस्थाः

मृत देहमाथि दलहरूको नङ्ग्रा । लासलाई पार्टीको झन्डा ओढाएर त्यसमाथि दाबी ठोक्न होडबाजी गर्ने प्रति व्यङ्ग्यात्मक प्रहार ।

साइतः

साथ जुटेको तर साइत नजुरेको । उमङ्गका साथ अगाडि बढेको पाइलामा समय र परिस्थितिले गर्ने अवरोधको कलात्मक राम्रो प्रस्तुति ।

मानवताः

सामाजिक सञ्जालमा अनावश्यक स्ट्याटस पोस्ट गरी बजारीकरण गरेर आत्मरतिमा रमाउन, चर्चा बटुल्न खोज्ने समाजमा रहेको केही वर्गप्रति तिखो प्रहार ।

भोलिः

नेपाली समाजमा भोलिवाद मलजलका साथ जरो गाडेर फस्टाउँदै छ र बढ्दै छ गएको छ । सामाजिक क्षेत्रमा होस् या शिक्षा क्षेत्रमा होस्, राजनीतिक क्षेत्रमा होस् या प्रशासनिक क्षेत्रमा, जुनसुकै क्षेत्रमा गए पनि भोलिवादको विकास भएको पाइन्छ | किशनको यस लघुकथाले निबन्धकार भैरव अर्यालको जय भोलिलाई सम्झना गराउँछ ।

पीडाः

जीविकोपार्जन र अस्तित्वका लागि सङ्घर्षरत साहित्यकारको पीडा । नेपाली समाजमा साहित्यकारहरूले लेखेर बाँच्ने कल्पना गर्नु फलामको चिउरा चपाउनु सरह हुन्छ भन्ने सन्देश बोकेको लघुकथा ।

बलिदानः

जो होचो उसैको मुखमा घोचो । निर्धो र निम्छरोलाई हुनुको सबैभन्दा बढी पिरलो त्यति बेला हुन्छ जब आफूभन्दा पनि कमजोर प्राणीले पनि लखेट्छ ।

सङ्कीर्णताः

जातभात, छुवाछुत र उचनीचको सङ्कीर्ण मानसिकता बोकेकोलाई निचो जातिद्वारा गरिएको सेवा, यो लघुकथाले महाकवि देवकोटाको ‘मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन’ भनाइ मस्तिष्कमा ताजा गराउँछ ।

सङ्ग्रहमा समावृत्त अन्य लघुकथाहरूमा आदर्श, संस्कार, आदेश, मृत्युको भय, आमा, नतमस्तक, पश्चात्ताप, हीनताबोध, भविष्यवाणी, एहसास, न्याय दिवस, सङ्कल्प, स्वतन्त्रता, निरुत्तर, फैसला, भाग्य, आकर्षण, योगदान आदि छन् । यी सबै लघुकथाहरूमा गरिब जनता, डर, शून्यता, आम जनता र उनीहरूको बाध्यता लघुकथाको केन्द्रबिन्दुमा छन् । राजनीतिक व्यङ्ग्य, सामाजिक, राजनीतिक, आर्थिक, नैतिक, धार्मिक विषयप्रति गहिरो चासो उनको लघुकथाको मुख्य स्वर हो । मानवीय अवमूल्यनप्रति ध्यानाकर्षण गर्दै मूल्यमान्यताप्रति आफ्नो सकारात्मक दृष्टिकोण प्रस्तुत गर्न सफल छन् लघुकथाहरू ।

सम्पादन पक्ष अलि कमजोर भयो कि भन्न सकिने ठाउँ देखिन्छ । वर्ण विन्यासमा र शुद्धाशुद्धिमा आएको अवरोधले खज्मजिएको भेटिन्छ । पाठकीय दृष्टिकोणबाट केही स्थानहरूमा सुधारको आवश्यकता महसुस गरेको छु । लघुकथा लेख्नु अलि कठिन नै हुन्छ । लेखकसँग धेरै शब्दहरू खर्च गर्न स्वतन्त्रता हुँदैन, फेरि अर्थपूर्ण र सन्देशमूलक हुनुपर्ने बाध्यता । यो मामिलामा कथाकार किशन पौडेल खरो उत्रिएका देखिन्छन् । उनको लेखनले आफूले अनुभव गरेको यथार्थतालाई चित्रण गरेको छ । सकारात्मक सोच र संवेदनशीलता उनको लघुकथाको मुख्य आधार रहेको छ । वस्तुपरक लघुकथाहरू यस सङ्ग्रहको सबैभन्दा ठुलो उपलब्धि हुन् । विषयवस्तुको विविधता र शिल्पको चेतनाले यो सङ्ग्रहको लघुकथाहरूले पक्कै पनि पाठकको मनमा छाप छोड्न सक्षम हुनेछन् । पाठकहरूले लामो समयसम्म भुल्न सक्ने छैनन् । खुसीमा सङ्कलित रचनाहरू नेपाली लघुकथाहरूका लागि बलियो मेरुदण्डको रूपमा रहेन विश्वास लिएको छु । र लघुकथाकार किशन पौडेललाई हार्दिक बधाई एवम् कृतिगत सफलताको शुभकामना व्यक्त गर्दछु ।