सयौँको सङ्ख्या भए पनि अगाडि हिँड्ने त एउटै हो । इन्क्लाब भन्ने त भीडको त्यही नाइके हो । अरू उसको समर्थनमा जिन्दावाद भन्नेहरू हुन् । पश्चिम पहाडी जिल्ला, स्याङ्जाको क्याक्मीमा जन्मिएका स्रष्टा तथा समाजसेवी घनबहादुर थापा मलाई त्यस्तै भीडको नाइके लाग्छ । उनलाई म त्यसरी चिन्छु । उनले सम्पादन गरेको पुस्तक क्याक्मेली स्रष्टाबारेमा बोल्नु पर्दा, आरम्भमा उनको परिचयले पनि केही जानकारी दिने छ ।
विद्यमान समयमा सरकारी शैक्षिक संस्था अझ विशेष गरी गाउँका कति विद्यालयहरू बन्द प्रायः स्थितिमा पुगेका छन् । कति खारेज भइसकेका छन्, विद्यार्थीको अभावमा । त्यस स्थितिमा पुग्नुका अरू पनि कारण छन् । २०६५/६६ मा सरकारले प्रमाणपत्र तह (Proficiency Certificate Level) हटाएर (+2) शिक्षा लागू गर्ने भयो । त्यस अवस्थामा माध्यमिक विद्यालय कि त उच्च माध्यमिक बनाउनु पर्ने कि त निम्न माध्यमिकमा झर्नु पर्ने एक किसिमको अनिवार्यजस्तै नियम शिक्षा मन्त्रालयले घोषणा गर्यो ।
यस अवस्थितिमा घनबहादुरलाई आफूले विद्या आर्जन गरेको श्री पीताम्बर माध्यमिक विद्यालयबारे अत्यन्तै ठूलो चिन्ता हुन्छ । उनी बेलायतमा बस्दै आएका छन् । हमेसा आफ्नै गृहभूमिको भविष्य चिन्तनमा उनी हुन्छन् । क्याक्मेली स्रष्टामा उनले भनेका पनि छन्, “यस विद्यालयबाट प्राप्त शिक्षाको जग बोकेर हामी अगाडि बढ्यौँ र विभिन्न विद्यालयमा अध्ययन गरी उच्च शिक्षा हासिल गर्न सफल भयौँ । उच्च शिक्षासँगै हामीले आफ्ना कर्मलाई अगाडि बढायौँ र हाम्रो कर्मथलो परदेश बन्न पुग्यो । परदेशमा रहे तापनि आफ्नो जन्मभूमिलाई कहिल्यै भुल्न नसकिने रहेछ (पृ–२)” उनी साहित्यकार मात्र होइनन् । त्यो भन्दा बढी आफ्नो भूमिलाई प्रेम गर्ने प्रेमी हुन् ।
उनको हार्दिक सहायतामा, धरापमा परेको श्री पीताम्बर माध्यमिक विद्यालय उच्चमाध्यमिक बनेको छ । उनी र उनका भाइ डा. बालकृष्ण र दिलबहादुर थापाको पारिवारिक मद्दतले विद्यालयको भौतिक र शैक्षिक सुधारमा टेवा पुगेको देखिन्छ । त्यस स्कूलका शुभचिन्तक अरू पनि छन्, छन त ।
अहिले म बोल्न खोजेको विषय श्री पीताम्बर उच्चमाध्यमिक विद्यालय र क्याक्मी गाउँको पृष्ठभूमिमा, क्याक्मेली स्रष्टा रहेको छ । श्री पीताम्बर स्कूलसँगै मेरो मस्तिष्कमा घनबहादुरको एउटा तस्वीर कोरिन थाल्छ । त्यसो त उक्त शिक्षालयको श्रीवृद्धिमा अरू पनि धेरै महानुभावको हार्दिकता उतिकै देखिन्छ । किन्तु आर्थिक सहयोगको फेदमा भने उनै रहेका छन् ।
आफ्नो गाउँलाई उज्यालो बनाउन क्याक्मीको सुवास दूरतामा फैलाउने, घनबहादुरको प्रयास अगाध छ । विशेषतः उनी गीतकार हुन्, कवि हुन् । उनले सम्पादन गरेको पुस्तक क्याक्मेली स्रष्टासँगै यतिखेर मलाई स्याङ्जाको त्यही क्याक्मी पुगेको अनुभूति भएको छ ।
क्याक्मी वासीको लेख रचनाको संकलन हुँदा कृतिको नाम नै क्याक्मेली स्रष्टा राखिएको छ । सम्पूर्ण सर्जक क्याक्मेली भए पनि लेखनको पृष्ठभूमि अनेक रहेका छन् । धेरै स्रष्टाको धेरै मनोविज्ञानमा लेखन उद्देश्य र विशेषता पनि थरी थरीको छ । प्राज्ञिक, बौद्धिक व्यक्तित्व, शिक्षक विद्यार्थी तथा विभिन्न क्षेत्रमा कार्यरत स्रष्टाका कथा, कविता, निबन्ध, यात्रा, संस्मरण, गीत, गजलमा क्याक्मीकै सुवासना छ । ती स्रष्टा जहाँ पुगे पनि हृदयमा क्याक्मीकै धुन गुञ्जिएको छ । ती पाखा पखेरा, गुराँस फुल्ने जङ्गल पनि क्याक्मीकै छ । नदी किनाराको सुसेली, पक्षीको कलरब सम्पूर्ण त्यहीँकै छ । अझ भनौँ क्याक्मीको आदिमता ब्यूँझिएको छ । पौराणिक मिथक पुनः जागृत भएको छ ।
बहु भाषिक, बहु धार्मिक, बहु सांस्कृतिक परम्परामा सामाजिक सहसम्बन्ध उदाहरणीय छ—त्यो क्याक्मी गाउँको । क्याक्मेली स्रष्टा क्याक्मीकै प्रतिरूप हुन्, प्रतिध्वनि हुन् । प्रतिइतिहास हुन् । धेरैभन्दा धेरै स्रष्टालाई यस कृतिमा समावेश गरिएको छ । तीन भागमा विभाजित यस कृतिमा पहिलो खण्ड— कथा, निबन्ध, नियात्रा जस्ता गद्य विधा रहेका छन् । दोस्रोमा—गीत, गजल, कविता र मुक्तक छन् । तेस्रोमा अङ्ग्रेजी र मगर भाषाका दुई दुई वटा कविता रहेका छन् । प्रौढ पुस्ता त छँदैछ, नवपुस्ताका स्रष्टामा पनि त्यही क्याक्मीको अनन्त सम्झना छ, सौन्दर्य वर्णन छ । त्यस भूमिप्रतिको अतीव प्रेम छ । अनि गाउँछन् सँगै माया प्रीतिका गीतहरू । अनि उठेका छन् मानवीय संवेदनाका झिल्काहरू ।
घनबहादुरको संस्मरणात्मक लेख निभ्नै लागेको थियो शिक्षाको त्यो दियो ! बाट आरम्भ भएर अर्जुन यादवको मेरो चाहना (My Desire) कवितामा पुगेर अन्त्य भएको छ । विविध उमेर समूहका छयात्तर जना स्रष्टाहरूको आवाज आफैँमा अर्थपूर्ण छन् ।
श्री पीताम्बर उच्च माध्यमिक विद्यालयको प्राण भर्ने समृद्ध मनका घनबहादुर केही व्यक्तिका निजी स्वार्थले अवाक् हुँदा भन्छन्, “सकिन्छ राम्रो गरौँ, सकिँदैन बिगार नगरौँ ।” शिक्षाको लागि बलिदानी हुने उनी एक दीपक हुन् । आज क्याक्मी गाउँ अर्कै भएको छ ।
शुरुको खण्ड—गद्य लेख रचनामा प्रायः अतीतसँगै क्याक्मीको लामो इतिहास जोडिएको छ । त्यसैमा वर्तमान मिसिएको छ । अब गाउँमा विश्वासै गर्न नसिकिने परिर्वनहरू आएका छन् । औँसी पूर्णिमादेखि मेलापात समेत उत्सवै बराबरको हुने गाउँले जीवन एकाएक बदलिएको छ । रोधी घर बन्द भए, एकदशी बजार लाग्न छोड्यो । हावामा, ऋतुमा, गन्धमा, रङ्गमा ठूलो उत्साह बोकेर आउने चाडपर्वमा पनि घर गाउँ शून्य हुन थालेका छन् । बारी बाँझै छ । बसाइँ सराइले घर रित्तिएका छन् । सबै सबै विरानो हुन लागेको गाउँले जीवन र जीविका छ । कर्णेल तेजबहादुर अतीतको सम्झनामा भन्छन्—
साथी—भाइसँग रमाउँदै भुलेको
झल्को आउँछ गाउँघरमा डुलेको ।
गाउँको चिनो हरायो कि ? लेखमा उनले पहिलेका तिनै रमाइला दिनहरू स्मरण गरेका छन् । पछिल्लो समय गाउँको दृश्य यसरी फेरिएको छ कि, जुन विश्वासै गर्न नसकिने, उदेक लाग्दो भएको छ ।
अहिलेका प्रायः स्रष्टामा गाउँको त्यही दृश्य छ, चिन्ता छ । स्मृतिमा तिनै दिनहरू छन् । उता घर गाउँ रिक्त हुँदैछ । यता शहरमा कोचाकोच छ । प्राकृतिक बचाइबाट टाढिँदै गएको जीवन पद्धति कृत्रिमता उन्मुख छ ।
क्याक्मेली स्रष्टामा आले माइलाको एउटा बेग्लै रचना छ—सिङ्गापुरः देश परिचय । नेपाली पृष्ठभूमि र जीविकादेखि एकदमै अलग उक्त आलेखमा सिङ्गापुरको सम्बन्धमा धेरै रोचक जानकारी पाइन्छ । सिङ्गापुर इतिहासको राम्रो ज्ञान भएका मानिस रहेछन् उनी । त्यहाँको सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक, धार्मिक, व्यापारिक … जेहोस् उनी विज्ञ रहेछन् ।
अस्थिरता, अव्यवस्था, सीमित स्रोत साधन, बेरोजगारी यस्तै अनेक कठाइमा रहेको देश, विकराल अवस्थालाई सुधार्न १६ सेप्टेम्बर १९६३ मा स्वैच्छाले मलेसियामा गाभिन्छ । यद्यपि विविध असहमति र विरोधामा त्यो निर्णयले स्थायित्व लिन सक्दैन । सन् १९६५ अगस्टमा मलेसियाको केन्द्रीय संसद्ले सिङ्गापुरलाई निष्कासन गरिदिन्छ । पुनः सिङ्गापुर स्वतन्त्र त देश बन्यो । तर चुनौती उस्तै थियो । विषम परिस्थितिमा अल्मलिएको, चरम गरिबी, अभाव, अस्थिरता, अन्योलका बीच शून्य स्थितिबाट उठेको सिङ्गापुर अहिले एसियाकै व्यापारिक केन्द्र र गरिबी उन्मुलन राष्ट्र बन्नु एउटा दृष्टान्त हो । आचार संहिताको पालनाले नै आज सिङ्गापुर त्यो स्थानमा पुगेको देखिन्छ, “विपक्षी पार्टी होस् या जोसुकैले नारा जुलुसजस्ता सडक आन्दोलन गर्न मनाही छ । आन्दोलन वा विरोध गर्नका लागि सरकारले स्पिकर्स कर्नर (Speakers Corner) भन्ने एउटा विशेष खुल्ला मञ्चको ठाउँ तोकेको छ, जहाँ कार्यक्रम गर्नुअघि स्थानीय सरकारसँग अनुमति लिएर मात्र निश्चित समयका लागि भेला गर्न, आन्दोलन गर्न, भाषण गर्न या विरोध जनाउन सकिन्छ (पृ–१५) ।”
विषय उठान र सेरोफेरो क्याक्मीको भए पनि सन्दर्भ र चिन्ता समग्र देशको छ । गरिबी र अभावको छ । बेरोजगारीको छ । देशलाई काँधमा उठाउने युवा शक्ति अनियन्त्रित किसिमले मुग्लानिएको छ । व्यक्तिवादी राजनीति र अस्थिरता छ । एउटा निरङ्कुशता ढलेर सयौँ हजारौँ निरङ्कुश शासक जागृत भएका गुनासाहरू छन् । क्याक्मी र क्याक्मीको सेरोफेरोमा टीकाराम वाग्लेको भनाइ पनि ठीक यस्तै छ, “जल, जङ्गल र खानीहरूलगायत जनशक्तिले परिपूर्ण यो सुन्दर र धनी देश आज भ्रष्ट, अयोग्य र देश बेचुवा राजनेताहरूको विलास केन्द्रका रूपमा परिणत भइदिएको छ । कोल्टे फेरेर यदि विश्वलाई हेर्ने हो भने यस पृथ्वीमा नेपालभन्दा साना मुलुक, प्राकृतिक स्रोतसाधनमा समेत नेपालभन्दा गरीब मुलकुहरू आज धनी र सम्पन्न राष्ट्रका रूपमा स्थापित भएका छन् र हाम्रा देशका बेरोजगार युवालाई रोजगार दिने मुलुकमा पर्दछन् । किन ? कसरी ? (पृ—२५) ।”
पराई मुलुकमा होस् या स्वदेशमा रहेका नेपालीको चिन्ता र चासो एउटै छ, उही छ । देशको विपन्न अवस्था र अनियमितता, भ्रष्ट राजनीति, अदूरदर्शिता अनि परनिर्भरता ।
क्याक्मीको आफ्नै ऐतिहासिक परिचय छ । आज त्यसमा धेरै कुरा थपघट भएका छन् । बहु जाति बासोबास भएको अझ बढी मगर जातिको बाहुल्य भएको क्याक्मीले पहिलो, दोस्रो विश्वयुद्धदेखि लाहुरे संस्कृतिको परम्परा पनि थाम्दै आएको छ । भूमिपुत्रका रूपमा रहेका मगर जाति त्यस्तै अरू जाति लडाइँका लागि कहाँ कहाँ पुगे होलान् । त्यसैको निरन्तरतामा एउटा मनोविज्ञान निर्माण भयो— लाहुरे संस्कृतिको । सुन्दर मानन्धर आफ्नो प्रिय अतीतको स्मरणमा भन्छन्, “विद्यालयमा पढ्ने हरेक केटाहरूको सपना हुन्थ्यो—लाहुरे बन्ने । सायद विद्यालयमा पढ्ने हरेक केटीहरूको सपना हुन्थ्यो—लाहुरेसँग बिहे गर्ने ।” अझ अगाडि त्यो अतीतलाई थप्छन्, “कस्तो अचम्म ! नेपालमा जागिर खानेहरूको सङ्ख्या त चामलमा बियाँजस्तै नगन्य हुन्थ्यो । नेपालमा जागिर खानेहरूको कुनै इज्जत नै थिएन । नेपाल प्रहरी, तत्कालीन शाही नेपाली सेना र निजामतीतर्फको जागिरलाई त गाउँहरूले निकै ‘तल्लो स्तर’ को सम्झन्थे । गाउँमा नेपालीभन्दा भारतीय मुद्राको कारोबार बढी हुन्थ्यो (पृ–३३) ।”
एउटै स्रष्टाका दुई तीन वटा पुस्तक अध्ययन गर्नुभन्दा बहु स्रष्टाका, बहु रचनाको एउटा संकलन पढ्नुमा धेरै किसिमको लाभ लिन सकिन्छ । एउटै कृतिमा सर्जकका विविध मनोविज्ञान र समाजविज्ञान अध्ययन गर्न पाउनु पाठकको लागि ठूलो प्राप्ति हो । क्याक्मेली स्रष्टामा मैले यही अनुभूत गर्दैछु । पुरुषको अनुपातमा महिला स्रष्टा अघि बढ्न अझै केही समय लाग्ने छ । विषयगत गहनता र विश्लेषणका हिसाबले पनि पुरुष अग्रपङ्क्तिमा छन् । भोलिका दिनमा निश्चय महिला त्यही हारमा आउने छन् । समयले ल्याउने छ । त्यसो त यस संग्रहका महिला स्रष्टाको परिवेश सानो छ, दृश्य साँघुरो छ । उनीहरू आफैँमा सीमित छन् । जसले गर्दा लेखन विषय र दृष्टि पनि स्थानीय छ । पुरुष सरहको त्यो विषय व्यापकता र पृष्ठभूमि मिलेको दिन महिला थोरै पनि पछाडि पर्ने छैनन् । यस कुरामा म विश्वस्त छु ।
क्याक्मीभित्रका स्थाननामको परिचय त्यस्तै एउटा महत्त्वपूर्ण लेख हो । त्यस ठाउँको नामाकरण कसरी र किन रह्यो ? त्यस सन्दर्भका किंवदन्ती यसरी लिपिमा सुरक्षित रहेन भने भोलि यस्ता कुरा लोप भएर जाने छन् । क्याक्मेली स्रष्टा भविष्यमा खोजमूलक अध्ययनको एउटा सामग्री बन्न सक्छ, त्यस ठाउँको लागि ।
लेखक ऊ बाँचेको समय र समाजको एउटा हिस्सा हो । उसको कला साहित्य त्यस समाजको, चुनिएको आवाज हो । उसको लेखनमा समाजका राम्रा नराम्रा सबै दृश्य र ध्वनि अंकित भएका हुन्छन् । अझ खराब कुराले उसलाई बढी छोएको हुन्छ । आन्दोलित हुन्छ । एक किसिमले स्रष्टा समाजको, देशको अझ विश्वकै एउटा प्रतिपक्ष दल हो । उसले अहितकर, बेठिक, दुर्जनका सम्बन्धमा चुनौतीपूर्ण प्रश्न उठाउने गर्छ । त्यसो हुँदा उसको सिर्जनामा असन्तुष्टि र गुनासाहरू अलिक बढी नै हुन्छन्, आइरहन्छन् । यसको मतलब समाज सुधारको अपेक्षा राख्ने, सचेतना बढाउने त्यस ठाउँको ऊ एउटा रक्षक हो ।
व्यक्तिगत अनुभूतिभन्दा पनि माथि उठेर समय र परिवेशको अनुभूति गर्ने लेखक एक अर्थमा भविष्य द्रष्टा हो । उसले भोलिका सम्भावना आजै देख्ने गर्छ । हिजै देखिसकेको हुन्छ । घरमा जाँदा बुवाले भन्ने गरेको सुन्छु— कवि कलाकार राष्ट्रका मुख हुन् । वाक्यहीनको वाणी बोल्ने, दृष्टिविहीनको दृश्य देखाउने सर्जक जन्मिनु भनेको, सभ्य समाजको परिचय हो । गौरव हो । क्याक्मेली स्रष्टाबाट यो पनि थाहा हुन्छ कि, क्याक्मी धेरै सभ्य भइसकेको छ, किनकि उसले यसरी स्रष्टाहरू जन्माउँदैछ ।
देशमा एकदलीय क्रुर व्यवस्था ढल्यो, पञ्चायत गल्यो, राजतन्त्र उखेलियो । दीन दुःखी, असहाय, नागरिकले लडेर लोकतन्त्र ल्याए, गणतन्त्र भित्र्याए । संघीय व्यवस्था संस्थागत भयो । शासक परिवर्तन भए शासन पद्धति किञ्चित परिवर्तन भएन । दीपक रुचालले एउटा फरक कथामा देवकीको मुखबाट यही भनाएका छन् ।
गुणस्तरीय शिक्षाको अभावले पनि बसाइँ सारइ दर वृद्धि भएको देखिन्छ । अनि ग्रामीणवासी शहरोन्मुख देखिन्छन् त्यस कारणले । बसाइँ सराइले वर्तमान समयलाई एउटा चुनौती दिएको छ । त्यसको रोकथामको लागि सरकारी स्कूल सुदृढ हुनुपर्छ, चन्द्र भुजेल भन्छन्, “यदि हाम्रा शैक्षिक संस्थाहरू मजबुद भए भने गाउँमा प्राविधिक तथा व्यावसायिक शिक्षा उपलब्ध गराउन सकियो भने बसाइँसराइ दर घट्न गई विद्यार्थी भर्नादर कम हुने पहाडका बस्तीहरू उजाड हुने र परनिर्भरता बढ्दै जाने खतराबाट बच्न सकिन्छ (पृ–५२) ।”
वर्तमान समयमा प्रायः वहसको विषय बन्ने गरेको छ महिला हक, हित र अधिकारको कुरा । अनि महिला हिंसा विरुद्धका कुरा । महिला समानताका कुरा । महिला सबलीकरणका कुरा । किन्तु हाम्रो व्यवहार भने अझै बदलिन सकेको छैन । महिला सशक्तिकरणको खाँचो, समावेशी राज्य व्यवस्था र महिलाको प्रश्नमा ज्ञानु भुजेल र विष्णु पुरीले पनि यही कुरा, विशेष प्रभावका साथ बोलका छन् ।
त्यस्तै क्याक्मेली स्रष्टाको दोस्रो र तेस्रो खण्डका—कविता, गीत, गजल, मुक्तक मानवीय संवेदनाका नजिक रहेका छन् । सुख दुःख, प्राप्ति अप्राप्ति, सन्तुष्टि असन्तुष्टिहरू छन् । क्याक्मीको सौन्दर्य वर्णन आइरहन्छ । बौद्धिकता कम र हार्दिक पक्ष प्रबल रहेको छ । त्यसो त बौद्धिक लेखन जटिल हुन्छ नि ! त्यसको अपेक्षा धेरै राख्नु हुँदैन । क्याक्मेली स्रष्टामा साहित्यको रुचि अधिक भएका किन्तु साधना कम्ती भएका लेख रचनाको आधिक्य देखिन्छ । उता आरम्भको खण्डमा भने परिपक्व, परिष्कृत र बौद्धिक लेखन छ ।
घनबहादुर थापाका पिता गणेशबहादुरले चौरासी वर्ष पुगेको उपलक्ष्यमा, आफ्नै चौरासी पूजाको दिन, हिमालय टेलिभिजनको इन्द्रेनी कार्यक्रममा, उनी स्वयंले गाएको एउटा दुर्लभ लोकावार्ताको सामग्री पनि क्याक्मेली स्रष्टामा समावेश गरिएको छ—
सुनमाया हे चारैमा दिशा हे नजरै
लायो हा सुनमाया देखम्ला हे भनेर ।
हा सुनमाया हे फिट्टिमा फिट्टि मृगै
आयो हा सुनमाया हे यालीमुनी हे
हा डपियो … !
(सुनमाया)
नेताको खराब आचरण र गद्दार प्रवृतिले सर्वसाधारण नागरिकमा, राजनीतिप्रति वितृष्णा बढ्न थालेको निकै भयो । राजनीतिमा लाग्नु भनेको एककिसिमले गलत मार्गमा हिँड्नु हो भन्ने एउटा धारणा बन्न थालेको छ । धनु मानन्धर आफ्नो गजलमा छोरालाई असल बाटो हिँड्न आह्वान गर्दै भन्छन्—
धेरै कार्यकर्ता भए तिमी नागरिक बन छोरा
जिन्दगीको असल बाटो आफूले नै खन छोरा
माया, सद्भाव, ममता, मानवता अहिले यहाँ सम्पूर्णतः विनिमयमा चल्छ । त्यसको प्रतिरोधजस्तै एउटा स्वर छ चन्द्रा थापाको—
हरेक मान्छे चिन्छु नभन
छानेर माया दिन्छु नभन
एउटै हुन्छ मान्छेको मुटु
पैसाले मान्छे किन्छु नभन
प्रत्येक रचनामा एउटा भावना हुन्छ, एउटा उद्देश्य हुन्छ । त्यो कुन कारणले जन्मियो त्यसको पनि एउटा प्लट हुन्छ लेखकसित । जुन कुरा पाठकले सम्पूर्णतः थाहा पाउन सकेको हुँदैन । तर केही त निश्चय थाहा हुन्छ । त्यस्तै क्यामेली स्रष्टामा मैले जे जति थाहा पाएँ त्यो हाम्रै परिवेशको कुरा हो । समयको आवाज नै एक अर्थले कला साहित्य, संगीत हो । यस कृतिमा पनि त्यही समयको पदध्वनि सुनिन्छ । नवोदित लेखक स्रष्टालाई यस संग्रहले महत्त्वपूर्ण स्थान दिएको छ । क्याक्मीवासीको लेखन सिर्जना यसरी आइरहोस् । क्याक्मीको सुवास टाढा टाढा पुगोस् । पाठकको मर्यादामा रहेर मेरो यही कामना छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।