विषयप्रवेशः

आख्यानकार शालिकराम पाण्डेको जन्म पाल्पाको निस्दी गाउँपालिका वडा नं. १ मा भएको हो । ‘शिला’ उपनामबाट समेत परिचित यिनी मूलतः आख्यानका क्षेत्रमा क्रियाशील स्रष्टा हुन् । कथा र नियात्रा लेखनमा रुचि भएका पाण्डेले समाजका यथार्थलाई मनोवैज्ञानिक कलेवर दिई सतहमा ल्याउँछन् । २०६२ सालमा सडक, जीवन र साँझहरू कथासङ्ग्रह प्रकाशनमा ल्याएका पाण्डेको दोस्रो कथासङ्ग्रहका रूपमा खुसीको खोजी (२०७८) प्रकाशनमा आएको छ । सामाजिक सेवामा खटिँदै गर्दा साहित्य साधनामा पनि क्रियाशील रहनुलाई पाण्डेको साहित्यप्रतिको रुझान बुझ्न सकिन्छ । पात्रहरूका मानसिक दशालाई विश्लेषण गरी कथामा उतार्ने पाण्डेका कथामा मनोविज्ञानको सघन प्रभाव पाउन सकिन्छ । समाजिक जीवनका यथार्थलाई विषयवस्तुका रूपमा छनोट गरी विभिन्न मानसिक अवस्थाका पात्रहरूको आन्तरिक यथार्थलाई प्रकाश पार्ने हुनाले पनि यिनका कथाहरू रोचक बन्न पुगेका छन् । हाम्रै सेरोफेरोमा बाँचेका पात्रहरूलाई प्रतिनिधिका रूपमा चयन गरी वर्तमान समयमा भोगिएका यथार्थको शल्यक्रिया गर्ने यिनका कथाहरू रोचक र मार्मिक रहेका छन् । कोरोना समयमा भोगिएको पीडा र सनसनीलाई समेटी सय दिनको डायरीसमेत तयार रहेको सन्दर्भले यिनको साधनालाई डायरी लेखनका रूपमा पनि अध्ययन गर्न सकिन्छ । यस लेखमा खुसीको खोजी कथासङ्ग्रहभित्र प्रस्तुत मुख्य सन्दर्भहरूलाई प्रकाश पारिएको छ ।

खुसीको खोजी संरचना र ढाँचाः

आकर्षक आवरण पृष्ठको संयोजन भएको यस कृतिमा व्यक्तिको बिम्ब र उसले देखेको उज्यालो संसारको झलक यहाँ देख्न सकिन्छ । आवरणको पश्च भागमा लेखकको परिचय र विशेषता खुल्ने छोटो प्रकाशकीय टिप्पणी रहेको छ । कुल एक सय बीस पृष्ठमा संरचित यस कृतिको भूमिका खण्डमा जम्मा छ पृष्ठ रहेको र सातौँ पृष्ठदेखि एक सय बीस पृष्ठसम्म उन्नाइसवटा कथाहरू समेटिएको देख्न सकिन्छ । सङ्ग्रहको सबैभन्दा छोटो कथा ‘मृगतृष्णा’ शीर्षकको कथा तीन पृष्ठमा र सबैभन्दा लामो कथा ‘क्यानभासको कालो धर्सो’ नौ पृष्ठमा संरचित रहेको छ । आयामगत हिसाबले तीनदेखि नौ पृष्ठमा कथाहरू निर्माण भएको देखिन्छ । धेरैजसो कथाहरू पाँच÷छ पृष्ठमै रचना गरिनुले कथाको आयामगत विस्तारतर्फ कथाकार सचेत रहेको पाइन्छ ।

खुसीको खोजीका कथाभित्रको कथ्यः

कुल उन्नाइसवटा कथाहरू रहेको यस सङ्ग्रहको पहिलो कथा ‘सुब्बा र सपना’ रहेको छ । यस कथाको प्रमुख पात्र सुब्बा हो । उसको स्वभाव अनि मानसिक दशाको सूक्ष्म विश्लेषण कथामा पाइन्छ । सुब्बाको कमाइ र प्रतिष्ठा देखेर नै टोल छिमेकका मानिसहरू दसैँ खर्च, चन्दा वा सहयोग माग्न आउने गरेको पाइन्छ । हिँजो पञ्चायत कालमा केही अतिरिक्त आम्दानी हुने गरेको तर पछिल्लो समयमा मानिसहरूमा चेतना आएकाले अतिरिक्त कमाइ सुक्दै गएको ठम्याइ उसको छ । कसैले राजीखुसीले केही पैसा दिने गरेको र कसैले हातपात समेत गरेको सन्दर्भलाई यहाँ जोडिएको छ । एउटी सुन्दरी युवती पासपोर्ट बनाउन आएको बखत ऊप्रतिको सुब्बाको यौन प्रेरित धारणा र साथमा उत्पन्न भएको भयग्रस्त मनोविज्ञानलाई जीवन्त रूपमा उतारिएको छ । सपनामा जन्ड केटो र त्यही युवती उपस्थित भएको सन्दर्भका साथमा सरकारी कर्मचारीको मानसिकताको सूक्ष्म विश्लेषण गरिएको छ ।

टङ्कप्रसाद पन्थ

‘नेपथ्य’ शीर्षको दोस्रो कथाकी प्रमुख पात्र सानी रहेकी छ । सैनिक युवकसँग विवाह भएको र माओवादी प्रभावित क्षेत्रमा सर्च अभियानमा जाँदा उसको मृत्यु भएको सन्दर्भबाट कथा अगाडि बढेको छ । सानीको मानसिक दशाको मिहिन चित्रण यहाँ गरिएको छ । अबोध छोरीको प्रश्नले उसको पीडालाई बल्झाइदिन्छ । द्वन्द्वको समयमा सरकार र विद्रोही पक्षबाट दोहोरो मारमा परेका नेपालीको अवस्थालाई पनि यहाँ झल्काइएको छ । सानीको कोठाको भित्तामा तीन वर्षदेखि कम्ब्याट ड्रेस झुण्डिएको र त्यसै पीडाले उसलाई सताएको कुरा यहाँ प्रकाश पारिएको छ । मानसिक बेचैनी र पीडाग्रस्त मनोविज्ञानको प्रयोग यहाँ भएको छ ।

‘मोफसल’ शीर्षकको तेस्रो कथाको प्रमुख पात्र विगुल रहेको छ । मोफसलमा बसेर देखालो रूपमा पत्रकारिता र गुप्त रूपमा एन.जी.ओ आदिका कार्यक्रम संयोजन गरी समाजमा प्रभाव जमाएको पात्रका रूपमा उसको चित्रण गरिएको छ । एउटा कार्यक्रमको संयोजन गर्दा पाँच हजार लिने गरेको कुरा यहाँ उल्लेख पाइन्छ । यहाँ पत्रकारहरूका वास्तविकतालाई झल्काउनुका साथै कागजमा मात्र कार्यप्रगति देखाउने एनजीओ, आइ एनजीओको वास्तविक चरित्रमाथि कटाक्ष गरिएको छ । यहाँ विगुलकै मुखबाट उसको वास्तविकतालाई झल्काई मानसिक विश्लेषण गरिएको छ । वर्तमान समाजको यथार्थको तस्बिर यहाँ उतारिएको छ ।

‘प्रकारान्तर’ शीर्षकको चौथो कथाकी प्रमुख चरित्र सचिना रहेकी छ । ऊ विवाहिता महिला हो । छोरा छोरी पढाउनका लागि गाउँबाट सदरमुकाम आएर बसेकी उसको लोग्ने कतारमा पसिना बगाउन गएको छ । आफू बसेकै घरमा डेरा गरी बस्ने बैंकको कर्मचारीसँग उसको हिमचिम बढ्छ । सामाजिक अनुशासन र संहिताले सचिनाको आवेगलाई रोक्छ । बगलको कर्मचारी सरुवा भएर गएपछि मोबाइलमार्फत उनीहरूको आकर्षण बढ्दै जान्छ । यौनको विषयमा अन्तरङ्ग कुराकानी हुन थाल्छन् । एकले अर्कोलाई छाड्न नसक्ने अवस्थामा पुग्दछन् । आफ्नै छोरीको प्रश्नले सचिनालाई झल्यास्स बनाउँछ । यसपछि फोन नगर्ने निष्कर्षमा पुग्छे । सचिनासँगको अन्तरङ्ग कर्मचारीकी श्रीमतीले थाहा पाउँछे । कर्मचारी आत्महत्या गर्दछ, यो थाहा पाएपछि त्यसको कारण आफू रहेकोमा पश्चाताप बोध गरी सबै कुराको जड मोबाइल भएको निचोड निकाली मोबाइललाई नदीमा बगाइदिन्छे । सामाजिक सञ्जालले निम्त्याएको सामाजिक विकृतिलाई यहाँ उजागर गराइएको छ । यस कथामा यौन मनोविज्ञान सजीव रूपमा आएको छ ।

यस कृतिको पाँचौँ कथा ‘टायरको धुवाँ’ रहेको छ । प्रस्तुत कथाको प्रमुख पात्र प्रमोद हो । सहायक पात्रका रूपमा शान्ता (श्रीमती) र सूचना (डाक्टर) रहेका छन् । प्रमोद राजनीतिमा जीवन होमेको व्यक्ति हो । ऊ किड्नीको उपचार गराउन अस्पतालमा भर्ना भएको छ । उसलाई जाच्नका लागि आफ्नै नेताकी छोरी सूचना आउँछे । बेलायतबाट उच्च शिक्षा लिएर आएकी सूचनालाई डाक्टरका रूपमा पाउँदा उसलाई खुसी लाग्छ तर सूचनाका व्यवहारमा कुनै परिवर्तन नआउनुले ऊ निराश भई पीडाबोध गर्छ । आफूले जीवनभर टायरको धुवाँ बाल्नुपरेकोमा ऊ आक्रोसित बन्दछ । नेताहरूलाई सत्तारोहण गराउनका लागि होमिएका प्रमोदजस्ता धेरै नागरिकको नाजुक अवस्थाको चित्रणका साथै नेताहरूले आफ्ना छोराछोरी विदेशमा पढ्न पठाउने जनताका छोराछोरीलाई आन्दोलनमा होमेर जीवन बर्बाद गरिदिने प्रवृत्तिप्रतिको प्रहार पनि यहाँ पाइन्छ ।

‘खण्डहर डुङ्गा र बुढो माझी’ शीर्षकको कथामा वृद्धावस्थाको मनोविश्लेषण पाइन्छ । बुढो माझी प्रमुख पात्र रहेको प्रस्तुत कथामा उसको प्रमुख जिउने आधार डुङ्गा रहेको र साठी वर्षसम्म मानिसहरूलाई वारिपारि गराएको, जवानीका सुखद अनुभूति, श्रीमतीसँगका हासपरिहासको यथार्थलाई झल्काइएको छ । विकासका नाममा नदीमा पुल बनेपछि बुढो माझीको पेसा खोसिएको दयनीय अवस्थाप्रति कसैको ध्यान नगएको कुरालाई संवेदनशील रूपमा उठाइएको छ । श्रीमतीलाई गुमाइसकेको र आफू पनि अशक्त भएको माझी एक दिन केटाकेटीहरू डुङ्गाको वरिपरि खेलेको दृश्यलाई आनन्द मानेर हेर्छ । आफ्नो जीवनको प्रिय वस्तु डुङ्गालाई मुसार्दै गर्दा त्यो रात त्यही डुङ्गामा बिताउँछ । अर्को दिन बिहान त्यही डुङ्गामा उसको लास फेला पर्छ । मानवीय जीवनको संवेदनशील अवस्थालाई यहाँ प्रकाश पारिएको छ । जीवनमा ससाना कुरा पनि कति संवेदनशील बन्दा रहेछन् भन्ने कुराको सञ्चार यहाँ भएको छ ।

यस सङ्ग्रहको अर्को कथा ‘मृगतृष्णा’ हो । रेशम सर र समिना यस कथाका प्रमुख चरित्र रहेका छन् । जन्मदिन मनाउने आधुनिक जीवनशैलीको परिवेशगत झलक यहाँ पाइन्छ । समिनाको बौद्धिक शारीरिक क्षमताका साथै कलाका कारण मपात्रसँगको निकता देखिन्छ । भित्र प्रेम अङ्कुरण भए पनि समाज र परम्परालाई तोड्न नसकेको अवस्था यहाँ पाइन्छ । समिनाको तीनवटा पुरुषसँग विवाह भए पनि छोराछोरी जन्माएर आदर्श पारिवारिक जीवन बाँच्ने उद्देश्य मृगतृष्णा बन्न पुगेको मर्ममा कथा केन्द्रित रहेको छ । बहुपत्नी र बहुपति वरण गर्न किञ्चित सङ्कोच नमान्ने मानसिक अवस्थाको झलक पनि यहाँ पाइन्छ । मानवीय मनको विश्लेषणका साथमा रोमान्टिक र संवेगात्मक प्रसङ्गहरू पनि कथामा देखिन्छन् ।

‘घरपूजा’ शीर्षकको कथामा पारिवारिक समस्यालाई उजागर गरिएको छ । सुजन र मेरिना यस कथाका प्रमुख पात्र रहेका छन् । आमा, दाइ, भाउजू अन्य पात्रका रूपमा आएका छन् । सुजनका दाजुको घरपूजा हुँदा सुजन र मेरिना गएनन् । आफ्नो घरपूजाको समयमा सबैतिर निमन्त्रणा बाँडियो तर दाजुलाई बाँकी रहेको कुराले सुजनलाई पोल्यो । दाजुको घरपूजामा आफूहरू नजाँदा आफन्त र गाउँलेहरूले आलोचना गरेको सम्झ्यो । श्रीमतीलाई सम्झाउँदै गर्दा दाजुलाई लिएर आमा स्वयं आइन् । एउटै लाम्टो चुसेका दुई सन्तानको शत्रुता देखेर समाजले कुरा काटेको सन्दर्भ जोडी आमाले कडा स्वरमा प्रतिवाद गर्दा दुवै भाइ नतमस्तक भए । आमासँगै दुवै छोराहरू रोए । घरपूजामा सबै सामेल हुने क्षणमा पुगेर कथाको अन्त्य भएको छ । आदर्शको पाटो यस कथामा चुलिएर आएको पाइन्छ ।

‘भँगालो’ कथाका प्रमुख पात्र हरिराम र कमला रहेका छन् । बस्याल सर, छोराछोरी, आमा अन्य पात्रका रूपमा आएका छन् । हरिराम दुबै र मलेसियामा गरी आठ वर्ष बिताएर नेपालमै केही व्यवसाय गर्ने सोचले फर्किएको छ । कमला र बस्याल सरका बीचको सामीप्यलाई लिएर टीकाटिप्णी हुने गरेको देखिन्छ । एक दिन हरिरामले कमलासँग जबाफ माग्छ, दुवैका बीचमा झगडा भई हात हालाहालको अवस्था सिर्जना हुन्छ । समाज र पार्टी तथा महिला अधिकारवादी र पत्रकारहरूका फरकफरक प्रतिक्रिया आउँछन् । कमलाले छोडपत्र मागेपछि दुवैको सम्बन्ध टाढिन्छ । हरिरामले सदरमुकाममा गई होटल व्यवसाय सुरु गर्छ । आमा र छोराछोरीलाई पनि लैजान्छ । बस्याल सरसँगको निकटताले कमला पनि सांसद बन्छे । पछि छोराछोरी विदेशबाट फर्किएसँगै बाआमाका बीचमा मेल गराउने प्रयास गर्छन् । हरिरामले सामाजिक अनुबन्धनका हिसाबले सँगै नबसे पनि समदूरीको सम्बन्ध रहने निष्कर्षमा पुगी कथाको अन्त्य भएको छ । नदीको भँगालोजस्तै नजिक रहेर पनि कहिल्यै भेट नहुने सम्बन्ध रहने निचोड हरिरामको रहेको छ । वर्तमान नेपालको राजनीतिक क्षेत्रको वास्तविकतालाई पनि कथाले उधिन्ने काम गरेको छ ।

‘बहुचरित्र’ कथाका पात्र धर्मनाथको छोरा रमानाथ बहुचरित्रको व्यक्तिका रूपमा कथामा उपस्थित भएको छ । बैँसमा धेरै रमाइलो जीवन बिताएकाले रमानाथको संज्ञा पाएको सन्दर्भ पनि यहाँ आएको छ । सुरुमा केही इलम नभएको रमानाथ बाबुका सल्लाह र सुझावबाट पत्रिकाको हकरबाट मिडिया क्षेत्रमा प्रवेश गर्छ । एकपछि अर्को क्षेत्रमा हात हाल्दै गएको रमानाथको सफल जीवनको चित्रण यहाँ पाइन्छ ।

‘खुसीको खोजी’ कथाको शीर्षकलाई यस कथासङ्ग्रहको शीर्षकका रूपमा चयन गरिएको छ । म पात्र, छोरो, बुहारी, श्रीमती सुधा, नातिनातिनी, कलावती लगायतका सूच्य पात्रहरू पनि यहाँ रहेका छन् । नेपाली समाजको वर्तमान यथार्थको तस्बिर यस कथामा उतारिएको छ । श्रीमती सुधाको अवसानपछि एकल बन्न गएका बाबु र ससुराको भावना नबुझी खान लाउन दिएकै कुरामा कर्तव्यबोध पूरा भएको ठान्ने सन्तानहरूको वास्तविक चरित्रलाई यहाँ उद्घाटन गरिएको छ । आफूले प्रतिज्ञा गरी जन्माएको छोराले सन्चो बिसन्चोको आत्मीयता समेत नदेखाउने, घरको कोठामा बन्दीको जस्तै जीवन बिताउनुपर्ने, छोराको इज्जत र प्रतिष्ठा जोगाउनका लागि आफू प्रताडित बन्नुपर्ने अनि बुढेसकालको मर्मसमेत पोख्न नपाइने घरमा बस्नभन्दा स्वतन्त्र पन्छीजस्तै विचरण गर्ने उद्देश्यले एकल महिलाको जीवन बिताएकी पचास वर्षकी कलावतीलाई पत्नीको रूपमा वरण गरी आफ्नै जन्मथलोमा फर्केको बाबुको यथार्थ अनि खुसीको खोजीको सार्थकता यहाँ मुखरित भएको छ ।

‘जिजीविषा’ कथाको प्रमुख पात्रका रूपमा कृष्ण सर रहेको छ । श्रीमतीको अवसान, छोराछोरी विदेश, चौरासी वर्षको वृद्ध शरीर रोगको घर, औषधीले क्षीण बनेको शरीर निराशाले झन् गलाउँदै गएको अवस्थामा कृष्ण सरमा सकारात्मक ऊर्जा सञ्चार भई क्रियाशील बन्न गएको अवस्थाको झलक यहाँ पाइन्छ । मानवीय जिजीविषका अनेक उत्कण्ठाहरू यस कथामा व्यक्त भएका छन् जीवनमा मृत्युबोधको सञ्चार हुँदा मानिस खिन्न, विरक्त, जीर्णशीर्ण र शिथिल हुन्छ तर जीवनबोधको तरङ्ग सञ्चार हुँदा ऊर्जा र उत्साह भरिएर आउँछ भन्ने मर्म यहाँ व्यक्त भएको छ । मानवीय मनको सूक्ष्म अवस्थाको विश्लेषण यस कथामा भएको छ । एकान्तमा हुने गन्ट्यौना अनि स्वप्नसंसारका झलकहरू पनि कथामा पाउन सकिन्छ ।
‘मरेपछि पनि मिनेले जार काट्यो’ शीर्षको कथामा अपराधबोध मनोविज्ञान उत्कर्षमा पुगेको छ । यहाँ विपनामा गरेको गल्तीले सपनामा पनि पछ्याउन पुग्ने र भयभीत बनाउने यथार्थको उद्घाटनका साथै स्वप्निल सन्दर्भहरू कथामा प्रचुर मात्रामा आएका छन् । प्रस्तुत कथामा मिने, हेम र मङ्गली, मिनेकी स्वास्नी गाउँले आदि पात्रहरू रहेका छन् । हेमेले मिनेकी स्वास्नीसँग सम्बन्ध बढाएको कारण मिनेले आत्महत्या गरेको परिचर्चा गाउँभरि फैलिन्छ । हेमेभित्र पनि यही कुराले मानसिक द्वन्द्व चर्किन गई बेचैनी बढ्छ । सपनामा मिनेले लखेटेर खुकुरी प्रहार गरेको वीभत्स अवस्थाबाट ब्युँझन्छ । उसमा मानसिक बेचैनी बढ्छ, त्यही कारण मृत्यु हुन पुग्छ । भयले मानसिक विक्षिप्ति निम्त्याउँछ र मानिसको मृत्युसम्म हुन पुग्छ भन्ने दृष्टान्त यस कथामा पाइन्छ ।

‘सिरुबारी कविता र डायरी’ मपात्रको सिरुबारी घुम्ने उत्कण्ठा अनि केही दिन उतै बस्ने र साहित्य सिर्जना गर्ने उद्देश्यले जानु र घले आमैकहाँ बास बस्नु, गतवर्ष पनि यस्तै लेखनमा आएकी महिलाले डायरी छाडेर गएको र पाल्पातिरकी भएकीले उक्त डायरी लगिदिनका लागि घले आमैले दिएको उक्त डायरीमा महिलाको जीवनको वास्तविक मर्मलाई व्यक्त गरिएको छ । महिलाको सौन्दर्य, जागिरे जीवन अनि पुरुष कर्मचारीहरूले यौनिक आँखाले हेर्ने व्यवहार, उपहार र कोसेली दिएर प्रभावित पार्ने प्रवृत्ति आदिको यथार्थ प्रस्तुति डायरीमा उल्लेख भएको पाइन्छ । नारीभित्रको मनोदशा र मान्यता पनि प्रस्तुत कथामा व्यक्त भएको छ । कविता यौनका विषयमा सचेत नारी देखिन्छे । ऊभित्रको नारी संवेदना अनि कुनै सुन्दर पुरुषलाई आफ्नो बनाउने चाहनाको सङ्केत पनि यहाँ पाइन्छ । कथा भावना प्रधान छ निबन्धात्मकताभित्र आख्यानात्मकताको संयोजन भएको अनुभूति हुन्छ । मानिस र पशुका बीचमा फरक भएकाले प्रेम र यौनजस्ता कुरालाई सामाजिक आचारको रूपमा हेर्नुपर्ने मान्यता पनि यहाँ अभिव्यक्त भएर आएको छ ।

‘पात्र चर्चा’ कथामा पात्र चर्चा कार्यक्रमको आयोजनाको सन्दर्भलाई जोडिएको छ । यस कथामा सुजाता, सुप्रिया, सन्देश, सुचिता र सम्पूर्ण पाँच सका पात्रहरू चयन गरिएको छ । पुस्तक अनि वास्तविक जीवनका पात्रहरूको उत्खनन गर्ने काम यहाँ भएको छ । कथामा समेटिएका पाँच पात्रहरूका रुचि, स्वभाव र प्रवृत्तिलाई सतहमा लउने काम यहाँ भएको छ । सीता पाण्डेको ‘ज्वरो’ कथाको चरित्र विश्लेषण स्वयं सीता पाण्डेद्वारा गराई उक्त कथाकी महिला पात्र सुप्रिया नै रहेको रहस्यको उद्घाटन हुँदा परिवेश नै भिन्न बन्न पुगेको सन्दर्भ यहाँ पाइन्छ । पात्रहरूभित्र अव्यक्त रूपमा रहेका मनोदशाहरूको सफल शल्यक्रिया गरी बाहिर ल्याउन सक्नु अनि घटना विकास र परिवेश चित्रणको काकताली मिलाउन सक्ने कला पनि पाण्डेमा पाइन्छ । जीवनमा आइलाग्ने अप्रत्याशित घटना–दुर्घटनाहरूको प्रस्तुति पनि यहाँ पाइन्छ । कथामा मनोविज्ञान सशक्त बनेर आएको देख्न सकिन्छ ।
‘बोके’ शीर्षकको कथाका प्रमुख पात्रहरू कान्छी, रमिला र सुरेन्द्र रहेका छन् । कान्छीका घरमा बोके पालेको र गाउँका बाख्रीहरू बोकेका लागि आँगनमा ल्याउने प्रक्रियासँगै कान्छीमा विकास भएको यौनप्रतिको चेतना अनि लज्जाबोधको मनोविज्ञान पनि यहाँ पाइन्छ । यस्तै बाख्रा चराउन जाँदा सुरेन्द्रसँग निगुरो टिप्न गएको, निगुरो पुरुष लिङ्गको बिम्बका रूपमा यहाँ आएको छ । कान्छी र सुरेन्द्रेको संवाद अनि कान्छी र रमिलाका बीचको संवादमा यौन मनोविज्ञान सशक्त बनेर आएको पाइन्छ । सामाजिक सांस्कृतिक सन्दर्भहरू पनि कथामा आएका छन् । कतैकतै प्रचलित शिष्टतालाई नाघेर प्रस्तुति अश्लील बन्न गएको अनुभव पनि पाठकले गर्दछ । प्रकृतवादी यथार्थवादी चेतनाका आधारमा पनि कथाको विश्लेषण गर्न सकिन्छ । यौन मनोविज्ञान यहाँ सशक्त बनेर आएको देख्न सकिन्छ ।

‘क्यानभासको कालो धर्सो’ कथाका पात्रहरू वकिल प्रवेश, श्रीमती सुनिता र माया रहेका छन् । सुनिताबाट यौन सन्तुष्टि र मायाबाट सन्तान सन्तुष्टि लिएको प्रवेशको चरित्र नारीलाई भोग्याका रूपमा वरण गर्ने प्रकृतिको छ । मायाका कारण परिवारमा कलह र झगडा भएकाले सुनितालाई सहमतिमा लिएर मायाको हत्या गर्नु, सुनिता जेलमा पर्नु भनेको समयमा जेलबाट निस्कन ढिलो भएका कारण सनिता अर्धसिल्ली बन्न पुग्छे । अचेतनमा खेलेका कुराहरू निर्लज्ज रूपले व्यक्त गर्दछे । आफूलाई बाँझी बनाएको रिस प्रवेशमाथि पोख्छे । होस गुमाएकी सुनितालाई कसैले मारिदिई वकिल प्रवेशलाई फसाउने नियत कसैले राखेको सन्दर्भ पनि यहाँ आएको छ । प्रवेशले यो सबै वृतान्त मपात्रलाई सुनाउनुजस्ता सन्दर्भहरू कथामा आएको पाइन्छ । यहाँ यौनिक बिम्ब र प्रतीकको प्रयोग भएको छ । कथामा अपराध मनोविज्ञान अनि असामान्य मनोदशाको सजीव प्रस्तुति पाइन्छ ।

‘सम्बन्धका वक्र रेखाहरू’ कथामा मपात्र, ऋषि सर भाउजू कमला आदि पात्रहरू आएका छन् । ऋषि सर भाउजूको रखौटोजस्तै बनेर रहेको सन्दर्भ अनि भाउजूका सम्पूर्ण लुगाहरू धुनेलगायत घरका सबै कामधन्दा गर्ने व्यक्तिका रूपमा उपस्थित भएको छ । अर्को कोठामा बस्नेले भाउजूकै अगुवाइमा ऋषि सर र कमलाको विवाह भएको सन्दर्भले मपात्र विस्मित भएको यथार्थ यहाँ व्यक्त भएको छ । मानिसको जीवनमा सम्बधहरू वक्ररेखाजस्तै रहेको सन्दर्भ पनि यहाँ आएको छ । स्याङ्जा, पोखरा र नवलपुरको परिवेशगत झलक यहाँ पाइन्छ । भाउजू र ऋषि सरका बीचको सम्बन्ध अनि एक्कासी कमलासँगको विवाहको कुराले मपात्र अचम्ममा परेको कुरा यहाँ व्यक्त भएको छ ।

सङ्ग्रहको अन्तिम कथा ‘बोटे गाउँ र कालीको छाल’ मा मपात्र, उसका बा (थापा सर) आमा, सानीमा (मालती) म पात्रकी श्रीमती शोभा यस कथाका पात्रका रूपमा आएका छन् । स्याउली बजार पछि सिम्लेका रूपमा चर्चा पाएको उल्लेख छ । मपात्रका बुबा जागिरको सिलसिलामा सरुवा भई सिम्ले आउनु, मपात्रको विद्यालय पनि फेरिनु, कुमाल र बोटेको गरिबीको अवस्थाको चित्रण, उनीहरूको खानपान, जीवनशैली आदि कुराको उल्लेख पाइन्छ । घरको काम गर्नका लागि दश कक्षामा पढ्ने मालतीलाई राखिएको, बाले मालतीलाई श्रीमतीजस्तै व्यवहार गरेको र पछि गाउँलेहरूका अगाडि आफ्नी श्रीमतीका रूपमा स्वीकारेको सन्दर्भलाई यहाँ उठाइएको छ । यहाँ मपात्रकी आमा र सानीआमा आमाको चरित्रलाई पनि तुलना गरिएको छ । कान्छी आमाको मृत्युको समयमा श्रीमती शोभासँग सिम्लेमा गएको बेलामा मपात्रका बाल्यकालीन स्मृतिबिम्बहरू सजीव भएर आएको पाइन्छ ।

यहाँ उल्लेखित सम्पूर्ण कथामा समसामयिक नेपाली समाजको यथार्थ अवस्था युवा तथा वृद्धहरूका मनोदशाको विश्लेषण, सामाजिक समस्या, नारी मनोविज्ञान, वैदेशिक रोजगारीले निम्त्याएको समस्या आदिलाई सजीव रूपमा उतारिएको छ । भावना, कल्पना, स्वप्न तथा रोमाञ्चक सन्दर्भहरू कथामा आएका छन् । मानवीय एषणा र जिजीविषाका स्वरहरू पनि प्रबल रूपमा आएको पाइन्छ । राजनीतिक अनि सामाजिक जीवनका वास्तविकतालाई अमुक पात्र र सन्दर्भमा आरोपित गरी प्रस्तुत गरिएको छ ।

निष्कर्षः

कथाकार शालिकराम पाण्डे ‘शिला’ नेपाली कथा र नियात्रा लेखनमा परिचित स्रष्टा हुन् । जागिरे जीवनका साथै समाजिक सेवामा लागेर साहित्यको साधनामा पनि लाग्नुलाई प्रशंसनीय कार्य मान्न सकिन्छ । पात्रका जीवनका वास्तविक झलकहरूलाई अवतरण गराई उनीहरूको मनोवृत्तिलाई विश्लेषण गर्ने कुरामा पनि यिनी सफल रहेको मान्न सकिन्छ । यिनका कथाहरूलाई विविध पक्षबाट अध्ययन गर्न सकिन्छ । त्यसमा पनि मनोविज्ञान यिनका कथाको प्रमुख पक्ष रहेको छ । मनोविज्ञानका विभिन्न दशा र अवस्थाको प्रस्तुति यिनका कथामा पाइन्छ । यौन विषयको उठानका साथै यौनका विविध अवस्था र वृत्तिलाई प्रकाश पार्ने कार्यमा पनि यिनी सफल रहेको पाइन्छ । जीवनका विविध मनोदशाको विश्लेषण गरी मानिसको भित्री यथार्थलाई उत्खनन गर्नमा यिनी सफल रहेका छन् ।

यस सङ्ग्रहका सबैजसो कथाहरूमा मनोविज्ञान प्रबल बनेर आएको छ । सामाजिक यथार्थको उद्घाटनका साथमा मानवीय प्रवृत्ति र चरित्रलाई उजागर गराइएको छ । कथाको प्रस्तुतिलाई हेर्दा आदि मध्य र अन्त्यको रैखिक शृङ्खलामा कथा अगाडि बढेको पाइन्छ । विभिन्न बिम्ब र प्रतीकहरूको प्रयोग गरी कथालाई रोचक र आकर्षक तुल्याउने यिनको शैली पनि प्रभावकारी रहेको छ । पाठकलाई तानिरहन सक्ने शैली पनि कथाकार पाण्डेको विशिष्ट पक्ष मानिन्छ । मोफसलमा बसेर साहित्यको सिर्जना गरी आख्यानको विशिष्ट स्वाद चखाउन सक्नु यिनको क्षमता मान्नुपर्दछ । कुनै कथामा निबन्धात्मक प्रकृतिको अनुभूति पनि हुन्छ । उनको प्रस्तुत कृति पठनीय र सङ्ग्रहणीय सामग्रीका रूपमा रहेको छ । समसामयिक नेपाली कथाको मनोवैज्ञानिक धारलाई सबल तुल्याउने कुरामा साहित्यकार पाण्डेका पनि अहं भूमिका रहेको कुरा स्पष्ट हुन्छ ।