कालसँग डराउँदिन भनेर घमण्ड गर्ने हुन् वा जीवनभर तिमीलाई साथ दिन्छु भन्ने नै किन नहुन्, त्यो अदृश्य किटाणु शरीरमा प्रवेश गरेको शङ्काकै भरमा अहम्देखि नातासम्बन्ध र वाचा बिर्सेर भागाभाग गरे, लुकामारी चल्यो । न जात, न वर्ग, न लिङ्गबिच विभेद रह्यो, रह्यो त केवल मानवमानवबिचकै अस्पृश्य दूरी । मनमा ठूलो हुरी तर सडकमा सन्नाटा । परिचित होस् वा अपरिचित, नजिक पर्यो कि तर्कने, एकले अर्कालाई छुन, हात मिलाउन कहाँ हिम्मत ? अङ्कमाल गर्ने त परकै कुरा । बन्दाबन्दीले गरिखाने बाटो बन्द गरेपछि भोकले गाँजेको पेट मुसार्दै गाउँघर वा पुर्ख्यौली थलो सम्झेर बाँच्ने आशामा लम्केका पदचाप गन्तव्यमा पुग्नै कठिन । जेलजीवनजस्तो क्वारेन्टाइन, अझ भनौँ छाउपडीमा बसेझैँ बसाइ क्वारेन्टाइनको । यही अदृश्य तर त्रासद, अपरिचित र उपचारविहीन विश्वव्यापी महामारी कोरानालाई विषय बनाएर लेखिएको बखतबहादुर थापाको देशान उपन्यास हालसालै प्रकाशित भएको छ । यो उनको छैटौँ उपन्यास हो ।

२०५५ सालमा दैलेखी सेवा समाजबाट प्रकाशित ज्वाला सन्देशमा ‘दैलेख’ शीर्षकको कविताबाट साहित्ययात्रा प्रारम्भ गरेका थापा विभिन्न विधामा कलम चलाउने स्रष्टा हुन् । विशेषगरी आख्यानकारका रुपमा स्थापित बनिसकेका थापाका आघात (२०६२), कम्प्युटर आतङ्क (२०६९), शीर्षकसँगै सरिता (२०७५) जस्ता कथासङ्ग्रह तथा परदेश (२०५८), कुहिरो र काग (२०६१), कालचक्र (२०६४), जङ्गे (२०७१), जङ्गेको डायरी (२०७४) उपन्यास प्रकाशित भइसकेका छन् । थापाको परदेश गरिबी र अशिक्षाको दोहोरो बाध्यावस्थाका कारण मुग्लान पस्न विवश नेपालीका दुःख, सङ्घर्ष र उसका पारिवारिक जीवनमा आइपरेका सङ्कटलाई प्रस्तुत गरिएको उपन्यास हो । कुहिरो र काग पश्चिम नेपालको सामाजिक जीवनलाई आधार बनाएर लेखिएको उपन्यास हो । यसमा गरिबी, अशिक्षा र अज्ञानता कारण अनेक दुःख भोग्न बाध्य नेपालीहरुको कथा र दुःखबाट मुक्तिका निम्ति विदेसिनुका सट्टा देशभित्रै गरिएको सम्भावनाको खोजी एवम् सङ्घर्षलाई अत्यन्त मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । कालचक्र प्राविधिक क्षेत्रको विकृति र विसङ्गतिलाई उदाङ्गो पारेर देखाइएको उपन्यास हो । यसमा मालिक र कामदार मिलेर सोझासाझा ग्राहकहरुलाई ठग्ने प्रवृत्ति, मालिकको दुर्व्यवहार र चलाख कामदारको हर्कत, ग्रामीण जनताको गरिबी, अज्ञानता, शोषण, देहव्यापार र यौनदुर्व्यवहार, माओवादी गतिविधि, वैदेशिक रोजगारका क्रममा देखापरेका विकृतिका साथै इराकमा नेपालीहरुको वीभत्स हत्यासम्मका घटनाहरुलाई प्रस्तुत गरिएको छ । जङ्गे मध्यपश्चिम पहाडी ग्रामीण सामाजिक जीवनको यथार्थ चित्रण गरिएको उपन्यास हो । यसमा जुझारु पात्र जङ्गेको जीवनमा आएका उतारचढावका माध्यमबाट सामाजिक रहनसहन, विश्वास, कुरीति, कुसंस्कार, अशिक्षा, गरिबी र निरस जीवनको यथार्थ चित्र प्रस्तुत गरिएको छ । जङ्गे उपन्यासकै दास्रो शृङ्खलाका रुपमा प्रकाशित अर्को उपन्यास जङ्गेको डायरी हो । जङ्गेकै कथावस्तुलाई निरन्तरता दिएर लेखिएको यस उपन्यासमा आफ्ना कर्तुत लुकाउनका लागि इमान्दार व्यक्तिमाथि दुष्टहरुले रच्ने कुकृत्य, मार्ने योजना र विफलतालाई प्रस्तुत गरिएको छ ।

डा. अम्बिका अर्याल

देशान ओरिएन्टल पब्लिकेसनले बजारमा ल्याएको २२३ पृष्ठ भएको मझौला आयामको उपन्यास हो । यसमा कोरोनाका कारण नेपाली समाजमा फैलिएको त्रास र त्यसबाट उत्पन्न पीडालाई मूल विषयवस्तु बनाइएको छ । कोरोनाको उत्पत्तिका सम्बन्धमा चीनमाथि लागेका आरोपप्रत्यारोपदेखि वैज्ञानिक अतिवादिताका कारणले प्रकृतिले दिएको चुनौतीका सन्दर्भलाई समेत तर्कवितर्कका रुपमा यसमा प्रस्तुत गरिएको छ । उच्चशिक्षा अध्ययनका लागि विदेशीभूमिमा हानिएकी करिनालाई केन्द्रीय भूमिकामा उपस्थित गरिएको यस उपन्यासमा जङ्गे, अङ्कल, आन्टी, करन, करिनाका बुबाआमालगायत हस्पिटलमा कार्यरत डाक्टर, नर्स, एम्बुलेन्स चालक, बिरामी, बिरामीका आफन्त आदिको उपस्थिति पाइन्छ ।

यस उपन्यासमा एकातिर कोरानाका कारण नेपाली समाजमा व्याप्त त्रास र औषधोपचारका गतिविधिलाई प्रस्तुत गरिएको छ भने अर्कातिर आफन्तजनसँग बिछोडिएर एक्लै रोगसँग लड्नुपर्दाको पिडा, नैराश्यता, सङ्घर्ष एवम् मृत्युसँग गरिएको लडाइँलाई प्रस्तुत गरिएको छ । दुःखभित्र सुखको खोजी र रोदनभित्रको हाँसो ठट्टाले विरोधाभासमै जीवनलाई सहज बनाइदिने सन्दर्भ पनि उपन्यासमा भेटिन्छ । कोरोनाले लुछीलुछी मृत्युको मुखमा धकेलिरहँदा पनि लगातारको खोकी, शारीरिक थकान एवम् कमजोरीलाई भुलेर साहस भर्दै कोरोना लखेट्ने उत्साह बाँड्ने अङ्कलको उपस्थितिले कथालाई थप रोचक र प्रेरणादायी बनाएको छ । प्रेमी, परिवार र आफन्तजनसँगको सम्पर्कविना अस्पतालमा उपचाररत करिनाको शारीरिक एवम् मानसिक छटपटी उपन्यासको मूल कथ्य बनेको छ ।

डा. अम्बिका अर्याल

स्वतन्त्रताप्रेमी करिनाको लापर्वाही व्यवहारका कारण अमेरिकाबाट फर्कँदा उसले उपहारका रुपमा नेपालमा कोरोना बोकेर आई सबै आफन्तलाई फैलाएको साक्ष्यमार्फत युवाहरुमा विदेशी संस्कृतिप्रति बढ्दै गएको मोह र त्यसको नकारात्मक प्रभावलाई लेखकले कलात्मक ढङ्गले प्रस्तुत गरेका छन् । नेपाली समाजमा भेटघाटका क्रममा गरिने अभिवादनका रुपमा प्रचलनमा रहेको नमस्कारलाई भुलेर अङ्कमाल गर्ने, चुम्बन गर्ने विदेशी संस्कारको नक्कलले युवाहरुले विभिन्न किसिमका रोग सार्ने सम्भावना बढाएको तर्क उपन्यासमा प्रस्तुत गरिएको छ । करिनाको सोही गल्तीका कारण जङ्गेबाट उसलाई सरेको कोरोना परिवार तथा प्रेमीसँगको भेटघाट एवम् निकटताले सबैमा फैलिएको र अन्ततः बाबुआमा तथा प्रेमीलाई समेत गुमाउनुपरेको पीडालाई यस उपन्यासमा प्रस्तुत गरिएको हुनाले दुःखान्त बन्न पुगेको छ ।

कोरोना लाग्यो भनेर निराश बन्दा झनै रोगले बल पाउने हुनाले त्यसलाई भुलेर हिम्मत बढाउन सके बाँच्न सकिन्छ भन्ने चेतना लेखकले हरेक पात्रमा भरिदिएका छन् । अस्पतालमा भर्ना भएका कोरोना रोगीलाई उनीहरुको अवस्थानुरुप फरकफरक कोठामा उपचार गराइएको र उस्तै पोसाकमा ड्युटीमा खटिएका कतिपय डाक्टर तथा नर्सले डराइडराइ ड्युटी पूरा गरिरहेको, बिरामीलाई थर्काउने, झर्कने गरेको देखि कतिपयले सम्झाउने, बुझाउने र हिम्मत थपिदिने गरेको सन्दर्भ पनि उपन्यासमा प्रस्तुत भएको छ । मृत्युसँग छपटिएका बिरामीलाई थप उपचारका माध्यमबाट बचाउनतिर लाग्नुभन्दा अक्सिजन नै थुतिदिएर मर्न बल दिएको वा मृत्यु सहज गरिदिएको हो भन्ने अस्पष्ट भाव पनि उपन्यासमा पाइन्छ । अङ्कलको मृत्युका कारकका रुपमा घरिघरि करिनाले रमा दिदीमाथि गरेको कटाक्षले सोही कुराको पुष्टि गर्दछ ।

गोपाल दाइजस्ता दीर्घ रोगीलाई कोरोनासँग जुध्नु र जित्नु कठिन सङ्घर्ष बनिदिन्छ भने युवा र दीर्घ रोग नभएकाले भने सजिलै कोरोनालाई जितेको कथा पनि यसमा पाइन्छ । कोरोनालाई भुल्नकै लागि कल्पनामा अनेक लक्ष्यहरु सजाएकी करिना भन्छे, ‘अब म राजनीतितिरै लाग्छु र प्रधानमन्त्री हैन, स्वास्थ्यमन्त्री बन्नेछु ।’ (पृ. ५९) उसले आफू टेकु अस्पतालमा उपचाररत हुँदा देखेको अव्यवस्थित अस्पताल, दुर्गन्ध, फोहोर एवम् कर्मचारीको दिक्क लाग्ने व्यवहारका विकल्पमा स्वच्छ वातावरण र समव्यवहारयुक्त अस्पतालको निर्माण गर्ने कल्पना सजाएकी छ । पहरेदारको खप्की खाँदै बाबुको उपचारमा अस्पतालमा भौँतारिएका छोराहरुको दयनीय अवस्था, हारगुहार तर सुनुवाइ नभइदिँदा परेको दोहोरो मानसिक चोट पनि उपन्यासमा पाइन्छ । अस्पतालभित्रै गरिब, निरीह र पहुँच नभएका बिरामी र पहुँचवाला बिरामीमाथि गरिएको विभेदको चरमोत्कर्षलाई पनि वास्तविक रुपमा उपन्यासमा उतारिएको छ । बिरामीलाई उपचारका लागि अस्पतालभित्र छिराएपछि उनका आफन्तलाई भेट्न नदिने तर एकैचोटि मरेको खबर ल्याइदिने परिपाटीप्रति व्यङ्ग्य गरिएको छ । लास उठाउनकै लागि एम्बुलेन्सलाई पच्चीस हजार बुझाउनुपर्ने तर उक्त लास कसको हो भन्नेसम्म ठम्याउन नपाई अर्काकै विश्वासका भरमा लानुपर्ने बाध्यता छ । दाजुभाइले बुबाको नाम जीवन शर्मा भनेर एम्बुलेन्स चालक भूतपाललाई टिपाएपछि ऊ फोनमा कुरा गर्दै भन्छः ‘जीवन शर्माको लास भेटिएन भने रमेशको हाल ।’ (पृ.८०) आफ्नो बुबाको जस्तो शरीर ढाँचा नभएको लासलाई जबर्जस्ती बुबाकै मानेर जलाउनुपरेको कारुणिक दृश्य र लापरवाही प्रवृत्तिलाई समेत यस उपन्यासमा चित्रण गरिएको छ ।

एकातिर यसमा कोरानाको लकडाउनका कारण रोजीरोटी खोसिएर भौँतारिएका गोपाल र उसका दाजुभाउजूले गाउँ फर्कने क्रममा भोगेका आपत्विपत्लाई प्रस्तुत गरिएको छ भने अर्कातिर लकडाउनको फाइदा उठाउँदै जुवातास, मदिरासेवन, काठतस्करी, औषधिको कालोबजारी, भ्रष्टाचार, आरोपप्रत्यारोप तथा मौकामा चौका हान्ने नेपालीको प्रवृत्तिको समेत पर्दाफास गरिएको छ । कोरोना लागेका बिरामीलाई काललाई जस्तो व्यवहार गर्न पछि नपर्ने, नजिकै नपर्ने, छुन त के फोनमा बोल्दा पनि कोरोना सरिहाल्छ झैँ व्यवहार गर्नेले उनैका सम्पत्तिप्रति राल काढेर अनेक झुठा बहाना बनाई उठिबास लगाएको सन्दर्भलाई थापाले अत्यन्त मार्मिक रुपमा देखाएका छन् । करिनाको बुबाआमाको मृत्युपछि यमराजले करिना र आन्टी दुवैलाई पछ्याएर अनेक लोभ, धम्की, त्रासका साथै झुठा मुद्दा सुनाएर घर बेच्न बाध्य पारी थोरै रकम मात्र उनीहरुलाई थमाएर अरु आफ्नो हात पारेको दुःखदायी कथा पनि यसमा छ ।

मूलतः काठमाडौँलाई परिवेश बनाएर लेखिएको यस उपन्यासमा सहरिया मात्र नभएर ग्रामीण जनजीवनको यथार्थ तस्बिरसमेत उतारिएको छ । स्वदेशी मात्र नभएर अमेरिका, चीन, भारतजस्ता विदेशी भूमिको परिवेश पनि प्रत्यक्षअप्रत्यक्ष रुपमा चित्रण गरिएको छ । एकातिर तत्कालीन समयमा फैलिएको कोरोनाको भय र सन्त्रासपूर्ण वातावरणलाई आख्यानात्मकता प्रदान गर्नु लेखकको सफलता हो भने कोरानाबाट सङ्क्रमित हुँदा आफैँले अनुभव गरेका कहालीलाग्दा भोगाइलाई तृतीयपुरुष कथनपद्धतिमा सरल र सहज भाषाको प्रयोग गरी प्रस्तुत गरेका छन् । यसमा समग्र नेपालीको कोरोना कहरको यथार्थ अनुभूति उपन्यासमा उतारेर पाठकलाई आफ्नै भोगाइ लेखिएको अनुभूति दिलाउन सक्नु लेखकको अर्को सफलता हो ।

उपन्यास विगतको रेखाङ्कन मात्रै होइन, वर्तमान र भविष्यको दस्तावेज पनि हो । नेपाली उपन्यासलेखनको इतिहास हेर्दा अधिकांश उपन्यासले विगतका घटना तथा मिथकको दस्तावेज प्रस्तुत गर्दैआएको सन्दर्भमा थापाको प्रस्तुत उपन्यासले वर्तमानका वास्तविक भोगाइलाई आख्यानात्मक स्वरूप प्रदान गरेको छ । उपन्यासमा प्रयोग गरिने आलङ्कारिक भाषा तथा दुर्बोध्य शब्दका विपरीत सरलता र मिठासपन थापाका औपन्यासिक विशिष्टता बनेका छन् । पछिल्ला उपन्यासमा जङ्गे पात्रकै प्रयोगलाई निरन्तरता दिनु पनि उनको औपन्यासिक वैशिष्ठ्य हो । वर्तमानमा यस उपन्यासको जति मूल्य छ त्योभन्दा भविष्यमा झन् ठूलो मूल्य पाउने कुरामा दुईमत छैन किनभने यो नेपालको मात्र नभएर विश्वकै कहरको कथा हो । विश्वमा कोरानाजस्तै प्लेग, पोलियो, हैजा, दादुरा, कोढ आदि अनेक महामारीहरु देखापरेका थिए तर यिनलाई विषय बनाएर लेखिएका साहित्य निकै कम रहेको सन्दर्भमा थापाले एउटा सिर्जनात्मक इँट थपेका छन् । त्यसैले यसले विश्वसाहित्यको ऐतिहासिक उपन्यासका रुपमा आफ्नो अस्तित्व कायम गर्ने पक्का छ । आगामी दिनमा पनि उपन्यासकारको सशक्त लेखनीको अपेक्षासहित उज्ज्वल भविष्यको शुभकामना ।