नेपाली साहित्यमा मुक्तक लेखन परम्परा पुरानै भए पनि कलम चलाउनेहरुको संख्या चाहिँ ज्यादै कम देखिन्छ । मुक्तकका सङ्ग्रह प्रकाशित गर्ने साहित्यकारहरु औंलामा गन्नुपर्ने अवस्था छ र यसैभित्र कवयत्री कल्पना पौडेल ‘जिज्ञासु’ पनि पर्दछिन् । कवयत्री कल्पनाको विद्रोहका तरङ्ग नामक मुक्तकसङ्ग्रह २०७७ सालमा प्रकाशित भएको छ । यसभित्र २३६ वटा मुक्तकहरु राखिएका छन् । कल्पनाले मुक्तक लेखेर जीवन, समय, प्रकृतिलाई गाँसेकी छिन् । जहाँ सरल भाव, अनुभूति र बिचार सङ्ग्रहभित्रका मुक्तकमा रहेका छन् । सङ्ग्रहको नामअनुसार नै यसभित्र मुक्तकहरू समावेश गरिएका छन् ।
सङ्कटमा छ देश हाम्रो पार लाउनुपर्छ
देशद्रोहीलाई समातेर मार लाउनुपर्छ
स्वाभिमान उच्च राख्दै जोगाऔँ मातृभूमि
सिमानाका चार किल्लामा बार लाउनुपर्छ ।
यो विद्रोहका तरङ्ग मुक्तकसङ्ग्रहभित्र देश, समाज, प्रकृतिप्रेम, अध्यात्मचिन्तन, मित्र महत्त्व, हाम्रो संस्कृति र संस्कार, कानुन, भोक रोग र अभाव गरिबीहरु पनि पाइन्छन् । यसभित्र हामीले भोगेका विविध तमासा छन् । उनका हरेक शब्दहरू फगत अक्षरका तास नभएर भर्भराउँदा विचारका लप्काहरू हुन् । उनका मुक्तकहरूले विचार र भावको तलाउमा झ्वाम्म ढुङ्गा हानेर तरङ्ग उठाउने गर्छन् र झङ्कृत मनको अन्तिम किनारासम्म तरङ्ग विस्तारित गर्दछन् । जीवन, चेतना र भावको सम्बन्धको सन्तुलनको खोजी गरेर जीवन दर्शनको अर्थपूर्ण निष्कर्षसहित दृष्टिकोण दिन्छन् । एउटा सामान्य विषयलाई पनि मुक्तकको विषय बनाएकी छिन् मुक्तककारले । सङ्ग्रहभित्रका मुक्तकहरुमा विषयगत विविधता पाइन्छ । थोरैमा धेरै कुरा भन्न सकिने भएकाले नै नेपाली साहित्यको मुक्तक विधा अहिले सर्वाधिक लेखिने विधा भएको छ । स्रष्टाहरु निरन्तर मुक्तक सिर्जनामा लागेका छन् । सूक्ष्मतामा सम्पूर्णमा मुक्तकको विशेषता हो । मुक्तक भनेको तुक्का होइन, गफ र शब्दको थुप्रो पनि होइन ।
फर्कौ साथी अब हामी आफ्नै बाटोमा
स्वदेश सिँगारौ परदेशको साटोमा
जातीयताको निहुँमा देश खण्डित हुँदैछ
नेपाल आमा रुन्छिन् सन्ततिको फाटोमा ।
कवितालाई निचोरेपछि मात्र मुक्तकको जन्म हुन्छ । आफूले भन्न खोजेको कुरालाई चार हरफमै लेख्नु पर्ने हुँदा साहित्यका अन्य विधाभन्दा यो विधा चुनौतिपूर्ण त हुन्छ नै । त्यसो त एउटा सानो मुक्तकभित्र सिङ्गो ब्रह्माण्ड नै अटाउन सक्छ । जीवन र जगत्सँग सम्बन्ध गाँसिएका मुक्तक रचनाहरु सङ्ग्रहित यस कृतिले मुक्तक लेखनका क्षेत्रमा थप योगदान गरेको त छ नै । कविताको सबैभन्दा लघुतम रुपलाई मुक्तक काव्यको रुपमा चिन्ने गरिन्छ । हरेक साहित्यिक रचनामा मानव चरित्र र क्रियाकलाप चित्रण गरेजस्तै मुक्तक काव्यमा पनि व्यक्ति, समाज, वातावरण र मानव समाजसँग सम्बन्धित अनेक पक्षलाई नै समेटेर सिर्जना गरिएका हुन्छन् । मुक्तककार कल्पनाले सिर्जनामा बिम्बको राम्रोसँग प्रयोग गरेकी छिन् । विषयवस्तु प्रभावकारी ढङ्गले प्रस्तुत गरेकी छिन् । जसका कारण मुक्तक पठनीय हुनमा थपेको छ तर कतिपय मुक्तकहरु सायरी शैलीमा सिर्जिएका पनि देखिन्छन् ।
उनको माया कसैसँग सक्दिन दाज्न मैले
रम्दैन मन कतै पनि बिर्सिसके हाँस्न मैले
मेरो प्राण जिन्दगी नै उनी हुन् मनले भन्छ
टाढा हुँदै गए भने कहाँ सक्छु र बाँच्न मैले ।
विद्रोहका तरङ्ग नामै काफी छ । यसभित्र उनिएका मुक्तक पढ्दा मन छुने र पढ्दै जाँदा अरु पनि पढौँ पढौँ लाग्ने हृदयस्पर्शी, मनमोहक र हृदयलाई उद्धेलित गर्ने क्षमताका शब्दहरुलाई सलाम भन्न मन लाग्छ । शाकहारी दसैँ पर्व बनाउन सकौँ हत्या बिनाको दसैँ मनाउन सकौँ, उनले मुक्तकमा लेखेकी छिन् । बदलिन्छ रुप जिन्दगीको साथ कसैको जुटेपछि हौसला र प्रोत्साहनका बुलन्द आवाज फुटेपछि कल्पनाले मुक्तकमा बोलेकी छिन् । उनको मुक्तकसङ्ग्रहमा व्यङ्ग्यप्रधान मुक्तकको बाहुल्य रहेको छ । भन्न सुन्न नसकिने पीडादायी तनाव छ, जसरी पनि बाँच्नु पर्ने जिन्दगीको दबाब छ उनले मुक्तकमा लेखेकी छिन् । मुक्तककार कल्पनाका मुक्तक पढ्दा लाग्छ– खारिएको कलम यतिञ्जेल कहाँ सुस्ताएको थियो ? पाठकको मनमा यही खुल्दुली जगाउँछ । कविले लेख्ने भनेको समय र जिन्दगी नै हो । यस सङ्ग्रहका मुक्तकले लेख्न बाँकी कुनै विषय छोडेको छैन । नेपाली मुक्तक साहित्यमा नारी हस्ताक्षरको उपस्थिति बाक्लो रहेको छ । भिडहरूका बिचमा अलग्गै पहिचान बनाउनु समकालीन लेखनको चुनौती पनि हो । सरल विषयलाई पनि बहुअर्थी गहन अभिव्यक्ति दिनु मीनाको मुक्तकिलो खुबी हो ।
कम खर्चिलो तरिकाले तीज पर्व मान्नुपर्छ
तडकभडक गर्नु हुन्न सादा जीवन छान्नुपर्छ
पुँजीपति सामन्तीको देखासिकी नगरौं है
घाँटी हेरी हाड निलौ संस्कृति पनि धान्नुपर्छ ।
नेपाली मुक्तकको प्रमुख प्रवृत्ति प्रणय अनुभूति पनि हो । मुक्तककार कल्पना प्रणय अभिव्यक्तिका कुशल शिल्पीका रूपमा दरिएकी छिन् । आफूले भोग्दै आएको र आफूमा भएको पीडा, देशले भोगेको अव्यवावहारिक समस्या, समाजको चित्रण आदिको बारेमा व्याख्या गर्दै गहकिला मुक्तक उनले लेखेकी छिन् । धेरैले बोल्न नसकेका र नपाएका कुरा कल्पनाका मुक्तकले बोलेका छन् । कदर गरौँ मुस्किलले मिल्छन् यहाँ असल मित्र उच्च स्थान दिदै तिनीलाई राख्नुपर्छ मुटुभित्र उनले मुक्तकमा लेखेकी छिन् । आफ्नो सुकोमल मुक्तकमा मुक्तककार कल्पनाको मिठो र गहकिलो मुक्तक यात्रा आगामी दिनमा सबल र सफल बन्ने नै छ । उनका मुक्तक सुन्दर छन् र विविधताले भरिएका छन् । विद्रोहका तरङ्ग नामक यस मुक्तक सङ्ग्रहभित्रका भावभङ्गी र अस्तित्व सबै लालित्यले भरिपूर्ण पारेकी छिन् कल्पनाले ।
सँगालेर राखेको छु तिमीले दिएका फूलहरु
यसै गरी फुटाइदिनू माया प्रेमका मूलहरु
सकिनँ भने मैले तिमीलाई खुसी राख्न
माफ गर्नु प्रिय, मेरा अञ्जानका हुन् भूलहरु ।
सानो आकारको पुस्तकमा धेरै कुरा अटाइएको उनको यो मुक्तकसङ्ग्रह समसामयिक नेपालको शब्दचित्र नै बन्न पुगेको छ । सबै क्षेत्रमा सुधार र समृद्धिको चाहना राखिएको यो कृति देशको मौलिक स्वरुप हो । उनका मुक्तकभित्र उठाइएका प्रश्नहरु सबै देशप्रेमी नागरिकका प्रश्न हुन् । सारमा भन्दा जीवनका यथार्थहरु जे जस्ता छन् तिनलाई त्यस्तैमा प्रकट गर्दाको मौलिक स्वरुप उनका मुक्तकहरुको मुख्य विशेषता हो । भावी साहित्यिक लेखनमा कवयत्री कल्पनालाई सफलताको कामना गर्दछु । आगामी दिनमा उनका अन्य कृतिहरु हामीले पढ्न पाउने ठूलो आशामा बाधिएको छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।