योगी आचार्य राजन शर्मा योग दर्शनका एक कुशल प्रवर्तक हुन् । योगकै माध्यमबाट रोगको निदानसम्मको अनुसन्धान र प्रयोगलाई उनले किताबमार्फत् प्रस्तुत गरेका छन् । योग दर्शनको पृष्ठभूमि इतिहासदेखि चिकित्सापद्धतिका कुरालाई पुस्तकभित्र सचित्र वर्णन गरिएको छ ।

योग के हो ? भन्ने प्रश्नउत्तरसँगै सुरु गरिएको यो पुस्तकमा योग एक महामिलन हो भन्ने विचार अभिव्यक्त गरिएको छ । योग चेतनालाई महाचेतनामा विलय गराउने महाविद्या र महासन्धि हो । रोगीका लागि योग चिकित्सा पद्धति हो भने निरोगीका लागि जीवन पद्धति हो । योगीका लागि यो जीवन मुक्तिको महाविद्या र समाधिको सेतु हो । योग संस्कृतको ‘युज’ धातुबाट बनेको हो, जसको अर्थ हुन्छ एकाकार गर्नु । अज्ञानताबाट ज्ञानतर्फ, जडबाट चेतनातर्फ, निर्बलताबाट सबलतातर्फ, जीवनबाट ब्रह्मतर्फ, प्रत्यक्षबाट परोक्ष एवं सीमितबाट असीमिततर्फको आध्यात्मिक यात्रा हो योग । योग विद्वान् र ऋषिमुनिको मतमा योगको अर्थ संयोग अथवा मिलन पनि हो । अझ सारांशमा आफ्नो इच्छाशक्तिलाई परमात्माको इच्छाशक्तिमा संयोग गराउनु नै योग हो । शारीरिक रूपमा स्वस्थ, मानसिक तवरले शान्त र आध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कला नै योग हो । सामान्यतया, आत्माको परमात्मासँगको जोड नै योग हो । साथै, जीवबोधबाट शिववोधको अनुभूति र रूपान्तरण नै योग हो ।

योग त्यस्तो महाशक्तिहरूको महासागर हो जसमा शारीरिक, बौद्धिक, आध्यात्मिक आदि सबै प्रकारका शक्तिहरूको विकास हुने गर्दछ र सुख एवं शान्ति स्वास्थ्यको अन्वेषणमा सफलता दिलाउने काम गर्दछ । यसै कारणले गर्दा प्राचीनकालदेखि अहिलेसम्म विश्वशान्ति एवं स्वास्थ्यको खोजीमा योगको आश्रय लिइरहेको देखिएको छ । ऋृषिमुनिको संस्कार, ग्रन्थको अनमोल रत्न, योगको शक्ति, प्राणायामको प्राण शुद्धि, पञ्चतत्त्वको स्वच्छता, आयुर्वेदको आरोग्यता अब षट्कर्म र पञ्चकर्म ज्ञान अब एकै पुस्तकमा समाविष्ट गरिएको छ ।

त्यसकारण यस युगलाई योग युगभन्दा पनि अतिशयोक्ति हुँदैन । योग एक सनातन विज्ञान हो । शाश्वत साधना पद्धति हो । ब्रह्मद्वारा निर्दिष्ट ऋषि, तपस्वी तथा योगीहरूद्वारा बनेको श्रेष्ठ विधा हो । योगको मूल सृष्टिकालदेखि नै रहेको स्पष्ट हुन्छ किनकि महाभारत र याज्ञवल्क्य स्मृतिमा भनिएको छ, ‘हिरण्यगर्भो योगस्य वक्ता नान्य पुरातन’ अर्थात् हिरण्यगर्भ नै योगका प्रथम वक्ता हुन् । यो भन्दा पुरातन अरू कोही पनि हुन सक्दैन । यी दुई प्रमाणबाट पनि स्पष्ट हुन्छ कि योग आदिकालदेखिको धरोहर हो । हिरण्यगर्भ भनेका को हुन् त ? आर्ष ग्रन्थहरूमा धेरै हिरण्यगर्भहरूको व्याख्या पाइन्छ । तीमध्ये योगका वक्ता भनिएका हिरण्यगर्भ सृष्टिकर्ता ब्रह्मा नै हुन् किनकि अन्य हिरण्यगर्भहरूले योगका बारेमा बोलेको कतै भेटिँदैन । योगका विभिन्न मार्गहरू देख्न सकिन्छ । जस्तै– ज्ञानयोग, कर्मयोग, राजयोग भक्तियोग । यसका अलावा पनि योगको रूपमा हठयोग, राजयोग, मन्त्रयोग आदि देख्न सकिन्छ । वर्तमान समयमा विशेष प्रचलित योग भनेको हठयोग हो जसमा षट्कर्म, आसन, प्राणायाम, बन्ध हुने गर्दछ । राजयोगमा ध्यान एवं प्राणायाम हुने गर्दछ ।

सामान्य रूपमा योगको अर्थ जोड्नु हुन्छ । पाणिनि अष्टाध्यायीका अनुसार योग शब्दको उत्पत्ति तीन धातुहरूबाट हुन्छ ।

‘युजिर योगे, युग सम्यमने एवं युज समाधौ ।’ पहिलो उत्पत्ति युजिर योगेलाई विभिन्न अर्थमा व्याख्या गरेको पाइन्छ । जोड्नु–मिलाउनु आदि । दोस्रोका अनुसार वशमा गर्नु भन्ने हुन्छ । यिनै आधारहरूबाट जीवात्मा र परमात्माको मिलन योग हो भन्ने कुरा स्पष्ट भएको हो । यही संयोगलाई ‘समाधि’ को संज्ञा दिने गर्दछन् । जो कि जीवात्मा र परमात्माको समतावस्थाको आनन्दजनित सुख हुने गर्दछ । महर्षि पतञ्जलिले योगलाई समाधिको अर्थमा प्रयुक्त गरेका छन्– ‘तदा द्रष्ट स्वरूपेवस्थानम ।’ (यो.सू.) अर्थात् द्रष्टा आफ्नो स्वरूपमा स्थित हुनु नै समाधि हो, योगको उच्चतम अवस्था हो र महर्षि वेदव्यास भन्छन्– योगको वास्तविक अर्थ नै समाधि हो । ‘योगः समाधि ।’ (यो.सु. व्यास भास्य)

सृष्टिक्रमदेखि अहिलेसम्म आउँदा योगले विभिन्न आयामहरूलाई पार गर्दै आएको छ । यस कालखण्डमा विभिन्न तत्त्व द्रष्टा ऋषि र विद्वान् जनहरूले योगलाई आफ्नो जीवनको अभिन्न्न अङ्ग बनाए र आफ्नै अनुभवको कसीले बाँध्ने प्रयास गरे र योगका बारेमा आफ्ना अनुभवअनुसार परिभाषा दिँदै गए ।

बद्रीप्रसाद ढकाल

श्रीमद्भगवत्गीतामा योगको परिभाषामा समता, सामथ्र्य र समाधि तीन पक्षलाई जोड दिइएको छ । जस्तो कि,

समताको रूपमा,

योगस्थः कुरु कर्माणि सङ्गम त्यक्त्वा धनञ्जय ।
सिद्ध्यसिद्ध्योः समो भूत्वा समत्वं योग उच्यते ।।२।४८।।

सामथ्र्यको रूपमा,

बुद्धियुक्तो जहातिह उभे सुकृतदुष्कृते ।
तस्माद्धोगाय युजयस्व योगःकर्मसु कौशलम् ।।२।५०।।

समाधिको रूपमा,

तं विद्यादुःखसंयोगवियोगं योगसंज्ञितम् ।
स निश्चयेन योक्तव्यो योगोऽनिर्विण्णचेतसा ।६।२३।।

यस्तै सांख्य दर्शनले योगको चर्चामा – ‘पुरुषप्रकृत्योर्वियोगेपि योगइत्यमिधीयते ।’ पुरुष एवं प्रकृतिका बीचमा पार्थक्य स्थापित गरेर पुरुषका ‘स्व’ स्वरूपमा अवस्थित हुनुलाई जनाएको छ । यस्तै विष्णुपुराणका अनुसार– ‘योगः संयोग इत्युक्तः जीवात्म परमात्मने’ भनिएको छ । जीवात्मा तथा परमात्माको पूर्णतया मिलन नै योग हो । महाभारत र याज्ञवल्क्यस्मृतिमा भनिएको छ– ‘हिरण्यगर्भो योगस्य वक्ता नान्य पुरातनः ।’

बुद्ध साहित्यले– ‘कुशल चितैकग्गता योगः’ अर्थात् कुशल चित्तको एकाग्रता हुनु नै योग हो भनेर दर्शाएको छ भने पातञ्जल योग दर्शनले– ‘योगश्चित्तवृतिनिरोधः’ (१/२) अर्थात् चित्तको वृत्तियोको निरोधलाई योग मानेको छ । एक व्यक्ति पञ्च क्लेशबाट मुक्त बन्दै अन्तःकरण र वाह्य जगत्बाट शुद्ध भएर ब्रह्ममा लीन हुनु नै योग हो ।

हरेक भोक्ता र महापुरुषका आ–आफ्ना अनुभव नै यी परिभाषा हुन् । वास्तवमा आ–आफ्नो चेत र अनुभवका आधारमा व्यक्तिपिच्छे यो फरक हुन सक्नेछ र तपाईंको पनि । विभिन्न कालखण्डमा परिभाषा बदलिँदै जानेछन् तर योगको वास्तविक स्वरूप, यसले दिने लाभ र प्रभाव भने अनादिकालदेखि यथावत् छ र हुनेछ भन्ने विचार अभिव्यक्त गरेको छ ।

योग र शिवको परिपुरकपनलाई जोड्दै जहाँ टेक्दा हृदयको लयहरू प्रकृतिको माधुर्यसँगै विलय हुन्छन्, धड्कनहरू मन्द बन्छन् र आत्म पुलकित हुन थाल्छ । यही धाम नै हो शिवालय । योगका आदिगुरु नै शिव हुनुहुन्छ । शिवबाटै सारा योग प्रवद्र्धन भएको पाइन्छ ।

‘शि’को अर्थ पूर्ण कल्याणकारी शक्ति हो । जहाँ स्त्री शक्ति र पुरुषको सामूहिक कल्याणकारी ऊर्जा निहित छ । जीवको गतिबाट शिवको स्थितिमा बोध र विलय हुनु नै योग हो । शिव जान्नु नै योग जान्नु हो । योग जान्नु नै शिव जान्नु हो । त्यसैले शिवसूत्रमा शिवजी भन्नुहुन्छ, “त्यो एकलाई जान जसलाई जानेपछि अरू केही जान्न बाँकी रहँदैन ।”

सदैव सबैको कल्याण कार्य गर्नेवाला ऊर्जा नै शिव हो । कहिल्यै उत्पत्ति र विनाश नभएको, सधैँ अस्तित्वमा रहेको जहाँ मिसियो त्यसैलाई शक्तिशाली बन्ने ऊर्जा नै महाचेतना वा शिव हो । यो ऊर्जा कुनै वर्ग, साम्प्रदायिक धर्म, रङ्ग, समूहसँग सम्बन्धित छैन जस्तो किन सूर्यको प्रकाश, हावा सबैको साझा हो । त्यसैले नै दैवी र दानवीय दुवै शक्तिहरू नै शिवका उपासक हुन् । यसको अर्थ त्यो शक्ति ऊर्जा जुन गुणमा जोडिन्छ त्यही गुणलाई व्यापक शक्तिशाली बनाइदिन्छ । जस्तो कि आगोमा हावा मिसियो ज्वाला र डढेलो बन्छ । पानीमा हावा मिसियो सुनामी भेल र छाल बन्छ । धुलोमा मिसियो हुरी हुन्छ ।

यो ऊर्जा आवश्यकताअनुसार कल्याणमा लाग्दा शिव, क्रोधमा परिणत हुँदा रुद्र, नाचमा परिणत हुँदा नाट्येश्वर, यौनमा परिणत हुँदा कामदेव, आफैँमा मस्त हुँदा भोलेनाथ, आफू कालकूट विषको सामना गर्ने अरूलाई अमृत छोड्ने महान् दातामा ऊर्जा परिणत हुँदा नीलकण्ठ, कालको रूपमा ऊर्जा परिणत हुँदा महाङ्कालेश्वर र यो ब्रह्माण्डको ऊर्जा विभिन्न रूपमा परिणत हुँदा त्यो नै शिवको सहस्र नाम र ऊर्जा बन्न जान्छ ।

देवता सद्गुणी रूपी ऊर्जाको नाम हो । धन ऊर्जा लक्ष्मीको, विद्या ऊर्जा सरस्वतीको, सकारात्मक ऊर्जाको बल गणेश हो । तर सबै ऊर्जाको स्रोत वा सबैभन्दा माथिको ऊर्जा नै देवताको पनि देव नै महादेव हो । शास्त्रमा उल्लेख भए झैं श्रीरामजीले समुद्र पार पूर्व रामेश्वरमा शिवलिङ्ग स्थापनापश्चात् ‘रामस्यः ईश्वर सः रामेश्वरः’ अर्थात् रामको ईश्वर नै शिव हो भन्नु अनि शिवजीले पार्वतीलाई ‘राम ईश्वरो यस्य सः रामेश्वरः ।’ अर्थात् जसको ईश्वर हो राम उसैको स्थापना हो । रामेश्वर भनेर वर्णन गर्नु राम र विष्णुबीचको एकात्मकता र एउटै रूपको भिन्न अभिव्यक्ति मात्र हो भन्ने बुझिन्छ । यस्तै ऋग्वेदको प्रथम मण्डलको १६४ औँ सूक्तको ४६ औँ ऋचा भन्छ– इन्द्रं मित्रं वरुणमग्निमाहुरथो दिव्यः स सुपर्णो गरुत्मान् । एकं सद्विप्रा बहुधा वदन्त्यग्निं यमं मातरिश्वानमाहुः ।। ब्रह्मशक्ति र ऊर्जालाई नै इन्द्र, मित्र, वरुण भनेर ऋषिहरूले बोलाए पनि यसको सत्ता एकै हो भनेका छन् ।

यस्तै ‘अहम् ब्रह्मास्मि– म (ब्रह्मको हिस्सा) हूँ’, म दिव्य हूँ’ भनेर यजुर्वेदको बृहदारण्यक उपनिषद् १।४।१० मा उल्लेख हुनु । ‘तत्त्वम् असिः !’, छान्दोज्ञ उपनिषद् ६।८।७ मा भनिएझैँ तिमी नै त्यो विराटता हौ ।

यस्तै शिवजी गुरुगीतामार्फत स्कन्ध पुराणमा ‘गुरुब्रह्मा गुरुर्विष्णुः, गुरु देवो महेश्वरः, गुरुर्साक्षात् परब्रह्मः, तस्मै श्री गुरुवे नमः’ शिव पार्वतीलाई भन्नुहुन्छ, त्यो अनेक नामको एउटै ऊर्जा नै गुरु वा जरा हो । तसर्थ सारमा झरेको ऊर्जालाई ऊध्र्वगामी बनाउनु, छरिएका ऊर्जालाई एकत्रित गर्नु, निर्वल शक्तिको सशक्तीकरण गर्नु नै शिव साधना हो । वैश्विक ऊर्जा सर्वव्यापी र कल्याणकारी छ ।”

त्यो कल्याणकारी ऊर्जा नै सुन्दर छ । सर्वप्रिय छ । त्यही ऊर्जा नै शिव हो । शिवलाई अयोनिः पनि भनिन्छ । अ =छैन, यो=जो, निः=निशेष, जो शेष छैन । जसको गर्भ वा योनिबाट उत्पन्न हुँदैन । जन्म र मृत्यु छैन । सुरुवात र अन्त्य छैन । स्वयं उत्पत्ति भएकाले नै स्वयम्भूको उपमा दिइएको छ । सारा जीवको उत्पत्ति द्वार योनि हो । तर शिव मात्र अयोनिः हुनुहुन्छ । ब्रह्माण्डको सत्य र शिवको यही महिमा बुझाउन चित्र, तस्बिर, कला, प्रतिमाको सहारा लिएको पाइन्छ । आकाश, शीतलताको प्रतीक चन्द्रमा, शुद्धता र धर्तीको प्रतीक गङ्गा, मृत्युको प्रतीक श्मशानको भस्म खरानी, डमरुको अर्थ ब्रह्मध्वनि, भय समनको अर्थ गलाको नाग, सत्य खुला हुन्छ को अर्थ नाङ्गोपन, दिव्य दृष्टिको अर्थ तेस्रो आँखा, त्रिशूलको अर्थ त्रिगुण व्याप्त संसार, आधा पुरुष आधा नारीको अर्थ स्त्री–पुरुषमा विभक्त एकै ऊर्जाको रूप, ध्यानस्थको अर्थ सत्य जान्ने एउटै बाटो आन्तरिक साधनाको बाटो देखाउनु नै शिव मूर्ति हो ।

यस्तै साँढेको वाहनको अर्थ आफूमा भएको पशुपनभन्दा चेतना माथि उठेको अवस्था, पार्वती प्रकृतिरूपा हुन् । क्रोध र हिंसा जितेर माथि उठेकी स्त्री नै देवी हुन् । मुसो चञ्चल मन र यसलाई वशमा ल्याएर स्थिर ऊर्जा रहने दैवी शक्ति नै गणेश हो । मिहिनेत पराक्रम ऊर्जा नै कुमार हो भन्ने जस्ता प्रतीकात्मक ज्ञानलाई पुस्तौँ–पुस्ता हस्तान्तरण गर्नलाई नै मूर्ति, कथा, पुराण, शास्त्र आदिको सहारा लिएको देखिन्छ ।

योगको आदि भूमिका रूपमा नेपाल

विश्वकै अनुपम प्राकृतिक आभूषणयुक्त देश । पृथ्वीको धुरी नेपाल । भौगोलिक रूपमा मात्र यो भूखण्ड अब्बल छैन । बरु योग, संस्कृत भाषा, आयुर्वेद, खगोल विज्ञान एवं विश्वकै दुर्लभ संस्कारको उद्गम भूमि नै नेपाल हो । यही भूमि वा हिमवत्खण्डमा सृष्टिको प्रथम बीज उत्पन्न भएको थियो । जसलाई नेपालको कालीगण्डकी नदीमा उत्पन्न भइरहेका शालिग्राम अर्थात् करोडौं वर्ष अघिदेखिका जीवाष्मले प्रमाणित गरिरहेको छ । यस्तै मुस्ताङको ओढारमा उत्खनन गरिएको २८ हजार वर्ष अघिदेखिको प्राचीन चित्रकलाले पनि ध्यान र योग नेपालबाटै प्रारम्भ भएको प्रमाण मिल्छ । शिवजीको क्रीडा र साधना स्थल, अनेकौं महापुरुषको तपोभूमि, पाणिनि ऋषिले माहेश्वराणि सूत्राणिको सूत्रपात गरेको स्थल, अष्टावक्र, ऋषि, राजऋषि जनक, गौतम बुद्ध, नाथ परम्पराका मत्स्यन्द्रनाथ, गोरक्ष नाथ, स्वामी प्रपन्नाचार्य, राष्ट्रयोगी नरहरिनाथ, खप्तड बाबा, योगमायालगागायत योगीहरूको तपोस्थल नै विश्वम सर्वप्रथम योग प्रारम्भ भएको स्थल हो । १९४७ अगस्ट १५ अर्थात् ७५ वर्ष अघिसम्म इन्डिया छुट्टै देशको रूपमा अस्तित्वमा थिएन । २६ जनवरी १७८८ सम्म वा लगभग साढे २ सय वर्ष अघिसम्म अष्ट्रेलिया अस्तित्वमा थिएन । ४ जुलाई १७७६ अर्थात् लगभग अढाई सय वर्ष अघिसम्म अमेरिका अस्तित्वमा थिएन तर नेपालको चाँगुनारायण नै सन् ४६४ वा लगभग ३ हजर वर्ष पहिल्यै बनेको थियो ।

दशौं शताब्दीअघि लिखित शिव पुराणमा ‘नयपाल इति नेपाल’ भनेर उल्लेख हुनु, माता पार्वतीकै जन्म स्थलको रूपमा पर्वत जिल्ला देखिनु, ऋषि पराशरले तपस्या गरेको स्थल नवलपरासीकै रूपमा भेटिनुजस्ता कारणले योग भूमि नेपाल, शिव भूमि हिमालय खण्ड नेपाल नै रहेको भेटिन्छ ।

उच्च हिमाल सगरमाथासहित ८ हजार मिटर माथिका १४ वटा हिमाल र अन्य नामकरण भएका ८६६ हिमाल नेपालमै रहेको देखिन्छ । पुराण, वेदले उच्च हिमाल र हिमवत्खण्ड नेपाल नै रहेको, पार्वतीका अङ्ग पतनका स्थलहरूमा विभिन्न पीठहरू रहेकाले पनि नेपाल शिव र योगको आदि भूमि रहेको यथेष्ट प्रमाण मिल्छ । ऐतिहासिक विवरण, पौराणिक ग्रन्थ, पुरातात्त्विक स्रोत र भूगर्वको प्रमाणले पनि नेपाल विश्वकै सर्वप्राचीन योग प्रादुर्भाव भूमि रहेको पाइन्छ ।

यही भूमिको एक स्वर्गीय खण्ड पोखरा । माछापुच्छे हिमाल र मुक्तिनाथको काख । जहाँ फेवालगायतका तालहरूको अनुपम सुन्दरता, हिम शृङ्खलाको मनमोहक दृश्यसँगै उभिएको सुन्दर पुग्दिकोट । जहाँ श्वास–श्वासमा दैवी ऊर्जा भेटिन्छ । त्यही शिवालय नै नेपालको एक शिव तीर्थ र पर्यटकीय गन्तव्य हो । जहाँको एकै क्षणले परम आनन्द बोध गराउँदछ । आस्था, विश्वास र पवित्रताको यो एक धाम मानिन्छ ।

विश्वका हरेक मानिस पुग्नै पर्ने वैश्विक ध्यान केन्द्रको रूपमा समेत यो परिणत भएको छ । आदिमकालदेखि नै यो देवस्थल रहेको इतिहास र अग्रजहरूको वाणीले प्रस्ट्याउँछ ।

पातञ्जल योगसूत्रको उत्पत्ति भूमि नेपाल

डाक्टर विष्णुराज आत्रेयले आफ्नो ‘पातञ्जल’ भन्ने कृतिमार्फत् योगको उदय भूमि नेपाल नै हो र योगसूत्रका रचनाकार पतञ्जलिको जन्म नेपालको अर्घाखाँची जिल्लास्थित गोनर्द (गल्दा) पर्वतप्रखण्डको ऐरावत तीर्थअन्तर्गत पलाटे गाउँमा भएको उल्लेख छ । यो यथेष्ट प्रमाणले पनि योग दर्शनको भूमि नेपाल नै हो भन्ने दर्बिलो तथ्य पेश गर्दछ । झिम्रुक र माडी नदीको सङ्गमस्थल तथा प्युठान र अर्घाखाँची जिल्लाको सिमानाको ऐरावत क्षेत्रमा लेखिएको योगसूत्र नै आजको मानवको वरदान दर्शन योगसूत्रको उत्पत्ति स्थल हो ।

‘गोनर्दीय’ नामको संज्ञामार्फत चिनिने गोनर्द पर्वतप्रखण्डका पतञ्जलिले नेपाल भूखण्डको गोनर्दमा बसेर संस्कृतको महाग्रन्थ ‘महाभाष्य’ लेख्नुभएको प्रमाणको शोधकार्य ‘पतञ्जलि’ ग्रन्थ साक्षी भएको छ । इतिहासकार र शोधकर्ताको दृष्टिले हचुवामा कलम चलाउँदैनन् ।

भारतको दिल्ली विश्वविद्यालय, संस्कृत विभागको अध्यक्ष बनिसकेकी प्रो. डा. दीप्ति शर्मा त्रिपाठीले २०१९ मा पतञ्जलि ग्रन्थका लागि शुभाशंसा लेख्दै पतञ्जलि योगसूत्रको रचना भूमि नेपाल नै रहेको लिखित पत्रमार्फत नै यथेष्ट संकेत गर्नुले पनि योग भूमि नेपालको ऐतिहासिक तथ्य थप मजबुत बनेको देखिन्छ ।

ऋषि पाणिनिकृत अष्टाध्यायी सूत्रमा उल्लेख छ ‘एङ् प्राचां देशे ।१।१।७५।।’ ‘यतः ज्ञायते गोनर्ददेश प्राच्यदेशे वर्तते । पतञ्जलेर्जन्म गोनर्दपरिक्षेत्रस्य पर्वतप्रान्ते अभूत’ योगसूत्रको उत्पत्तिका बारेमा संस्कृत ग्रन्थमा उल्लिखित यो शब्दले पनि पूर्वको देश, गोनर्द पर्वतप्रखण्डस्थित भूमि नेपाल नै योग उत्पत्तिको मूल भूमि हो भन्ने दर्शाउँछ । नेपालको गोनर्द पर्वतकै बासिन्दा भएकाले पतञ्जलिलाई गोनर्दीय भनेर पनि चिनिएको यी थप प्रमाणहरू साक्षी बनेका छन् ।

विश्व इतिहासलाई हेर्दा विश्वको सबैभन्दा प्राचीन सभ्यता, संस्कृति र विचार–दर्शन आदिको आदिभूमि नेपाल हो भन्ने कुरामा कुनै विवाद छैन । तापनि यसलाई हामीले विश्व सामु जसरी स्थापित गर्नुपर्ने हो, त्यसमा हाम्रो कमी नरहोस् भनेरै यो कृति तयार भएको हो ।

बोलीचाली, भाषण, लेखन र विवेचनाका क्रममा हामीले त्यस कुरामा गौरवबोध त गर्छौं तर तथ्यका आधारमा प्रमाणित रूपमा अनेकौं कोणबाट पुष्टि गर्ने कुरामा हामीले जुन कोसिस गर्नु पर्ने हो, त्यसमा कमी छ भन्ने कुरा हटाउन यस योग दर्शन ग्रन्थले केही आयाम अवश्य थप्न सक्छ । पूर्वीय सभ्यताको विकासको जननीका रूपमा रहेको नेपाल, हामी नेपाली आफैँमा गौरवशाली छौं । तर यो गौरवलाई विश्वव्यापी रूपमा प्रचारित गर्नु समस्त नेपालीको दायित्व हो ।

यो पुम्दिकोट अपाङ्ग मैत्री र सबैलाई सहज तरिकाले दर्शन गर्न सकिने र राष्ट्रिय मापदण्ड पूरा गरेको एक विशिष्ट गन्तव्य हो । नेपालको मात्र हैन सम्भवतः पूरै विश्वकै अग्लो महादेव मूर्ति रहेको यो स्थल नेपाली मात्र हैन विश्वकै गौरवशाली संरचना रहेको छ । पोखरा उपत्यकालाई ३६० डिग्रीबाटै अवलोकन गर्न सकिने यो स्थलमा जो आइपुग्छ उसले जीवनमा पुग्नै पर्ने एक स्थल हो भन्ने महसुस र गर्व गर्छ । पोखरा नगरपालिका २२ पुम्दिकोटमा पुग्नासाथ माछापुच्छ्रे हिमशैलको लस्करले मुस्कुराउँदै स्वागत गर्छन् । हजारौं व्यक्तिले एकैसाथ ध्यान, योग, तप र आत्माको प्यास मेटाउन सक्ने यो स्थलमा गणेशले शिवजीलाई परिक्रमा गरिरहेको दृश्यले गणेशको प्रथम पूजासम्बन्धी शिव पुराणमा उल्लेख पौराणिक आख्यानलाई पुष्टि गरेको प्रत्यक्ष्य देख्न सकिन्छ । १०८ शिवलिङ्गको पूर्ण दर्शन र ध्यान मनुष्य जीवनकै अब्बल उपलब्धिमा पर्छ । जसलाई यो पुम्दिकोटले पुरा गरेको छ । यो अन्तर्राष्ट्रिय केन्द्र अब विश्वकै आकर्षक, नेपालको गरिमा र लाखौं लाख आत्माहरूको मुक्तिधाम बनेर युगको सेतु बनिरहेको छ ।

यस पुस्तकभित्र योगका प्रकार एक शिखरमा पुग्न अनेकौं मार्गहरू रहेझैं कैवल्यावस्थामा पुग्न योगका अनेक प्रकार रहेका छन् । आफ्नो संस्कार, अनुभवअनुसार व्यक्तिले आफ्नो मुक्तिका लागि स्वभावअनुसारको सुहाउँदो मार्ग चयन गर्न सक्छ । योगको प्रामाणिक ग्रन्थ शिवसंहिता तथा गोरक्षशतकमा योगलाई निम्न चार प्रकारमाका वर्णन गरेको देखिन्छ ।

भावप्रद योगः

१) कर्मयोग – कर्ता भावको विलय गर्दै फलको आसक्ति त्याग ,

यस मार्गले फलहरू वा कर्मको नतिजा अरूलाई समर्पण गरेर निःस्वार्थ जीवनमा आफ्नो कर्तव्यहरू गर्न सिकाउँछ । यो कार्यको परिणामबाट अहंकार हटाउने प्रक्रिया हो । फलको आसक्तिमा नपरी कर्म गर्नु नै कर्मयोग हो । शरीर, मन तथा इन्द्रियहरूद्वारा गर्ने खालका प्रत्येक चेष्टा, व्यापार वा हलचलको नाम कर्म हो ।

२) ज्ञानयोग – बुद्धिको मन्थन गर्दै सात्त्विक चिन्तनका साथ अगाडि बढ्ने,

ज्ञान योगको मौलिक लक्ष्य मायाको भ्रमपूर्ण संसारबाट स्वतन्त्र हुनु हो – विचारहरू र धारणाहरू र अन्तर्मनको आत्म – ब्रह्माण्डसँग आत्म – ब्रह्मसँग मिलन गर्नु ।

३) भक्तियोग – श्रद्धापूर्वक, हर कर्म ईश्वरमै समर्पण गर्ने ,

भक्तियोगी मुख्य रूपले प्रेमको शक्तिबाट प्रेरित हुन्छ र ईश्वरलाई प्रत्येक र सबैमा आत्म–प्राप्तिका लागि प्रेमको मूर्त रूपको रूपमा देख्छ ।

जे–जे नाम वा पद्धति भए पनि यी सबै योगले कुनै एक आलम्बनको प्रयोग गरी चित्त वृत्तिहरूको निरोध गर्ने र चित्तलाई एकाकार बनाई अन्ततः निर्विकल्प चैतन्यको अवस्थामा पुग्ने बाटो देखाउँछन् । परमात्मालाई सर्वसमर्थ मानेर ऊप्रति आफूलाई समर्पित गर्नु भक्तियोग हो ।

४) अष्टाङ्ग योग

क) यम (पाँच परिहार) अहिंसा, झूटो नबोल्नु, गैरलोभ, गैरविषयासक्ति र आत्म–संयम वा सामाजिक आचार संहिता

ख) नियम (पाँच नैतिक क्रिया ) पवित्रता, सन्तुष्टि, तपस्या, अध्ययन र भगवान् प्रति आत्मसमर्पण

ग) आसनः मूलार्थक अर्थ ‘स्थिर रहने आसन’ र पतञ्जलि सूत्रमा ध्यान

घ) प्राणायाम (सांस कृया), प्राण, सांस, आयाम, विस्तार

ङ) प्रत्यहार (अमूर्त) , इन्द्रियको भित्री यात्रा वा इन्द्रियलाई अन्तर्मुखी पार्नु

च) धारणा (एकाग्रता), एक वस्तुमा निरन्तर लक्ष्यमा रहनु

छ) ध्यान (ध्यान), प्रकृतिको गहन चिन्तन गर्दै विचार मुक्त बन्नु

झ) समाधि (विमुक्ति), चेतनालाई महा चेतनामा विलय गर्नु । समाधि दुई प्रकारका छ्न् । एक सविकल्प अर्को निर्विकल्प । निर्विकल्प समाधिमा संसारमा फिर्ता आउने मार्ग रहँदैन । यो नै योगको चरम अवस्था हो ।

यसरी योगको वैज्ञानिक परिक्षण समेत भएको प्रसङ्गको चर्चा गर्दै सन् १९३२ जनवरी १९ तारिखका दिन कलकत्ता विश्वविद्यालयको हलमा सिबी रमणको अध्यक्षतामा साइन्स फ्याकल्टीका डिन डा. भट्टाचार्य, केमिस्ट्री विभागका प्रमुख डा. सरकार, वैज्ञानिक डा. निमोनि, अतिरिक्त अक्स्फोर्ड विश्वविद्यालय इङ्ल्यान्ड, पेरिस विश्वविद्यालय, न्यूयोर्क विश्वविद्यालय, मद्रास विश्वविद्यालय, कलकत्ता विश्वविद्यालयका विज्ञान विभागका डिन प्रोफेसरहरूको उपस्थितिमा भारतका प्रख्यात स्वामी नरसिंह महायोगीले कुण्डलिनी जागरण भएपछि शरीरलाई आफ्नो वशमा गर्न सकिने र उक्त शरीरमा आफ्नो इच्छाबेगर कुनै पनि कुराको घातक प्रभाव नपर्ने कुराको पुष्टिका लागि वैज्ञानिक परीक्षण गर्न दिनुभएको थियो । कुण्डलिनी जागरणबाट प्राप्त प्रबल इच्छाशक्तिबाट शरीरमा कुनै प्रदार्थको पनि प्रभाव पर्न सक्दैन चाहे त्यो पोटासियम साइनाइड नै किन नहोस् भन्ने कुरा त्यस वैज्ञानिक परीक्षणबाट प्रमाणित भएको थियो ।

परीक्षणका लागि सबैभन्दा पहिले स्वामीको स्वास्थ्य जाँच गरियो । उहाँको स्वास्थ्यलाई सामान्य घोषित गरिएपछि उहाँलाई इच्छापत्रमा सही गर्न लगाइयो जसमा स्वामी स्वयंले स्वेच्छाले वैज्ञानिक परीक्षण गर्न दिएको र यस परीक्षणमा स्वामीको मृत्यु भएमा आयोजक समितिलाई कुनै दोष लाग्ने छैन । त्यसपछि प्रयोगमा उपयोग गरिने सामग्रीहरूको शुद्धता पनि जाँच गरियो । सबैभन्दा पहिले स्वामीको हात, पाखुरामा तीव्र तेजाव खन्याइयो । स्वामीजीले त तेजावलाई चाट्न पो थाल्नुभयो ।

त्यो देखेर सारा दर्शक तथा वैज्ञानिकहरू स्तम्भित भए । त्यसपछि उहाँलाई कार्बोलिक एसिड नामक विष चाट्न दिइयो । त्यसले पनि उहाँलाई केही दुष्प्रभाव नपारेपछि उहाँलाई अझै कडा खालका अर्को विष खान दिइयो । यी विषबाट पनि उहाँलाई कुनै दुष्प्रभाव नपारेपछि उहाँलाई संसारकै सबभन्दा कडा विष पोटासियम साइनाइड खान दिइयो । यसलाई स्वामीले जय माँ कालीको जयकारसँगै पिउनुभयो । यो देखेर सारा उपस्थित महानुभावहरू मूर्तिवत् भए । त्यस विषले पनि केही गर्न नसकेपछि दर्शकदीर्घाको माझबाट कर्तलध्वनिका साथ तालीको गडगडाहट गुन्जियो । यसरी कुण्डलिनी शक्ति जागृत भइसकेको अवस्थामा शरीर स्वेच्छाले चलायमान गर्न सकिने कुरा उक्त वैज्ञानिक परीक्षणबाट संसार सामु प्रमाणित भयो ।

यसरी योगका सबैप्रकार प्रयोग तथा प्राचीन चिकित्सा पद्धतिसँगै योगको आदि स्थलका रूपमा नेपालको विस्तृत वर्णन गरिएको योदर्शन र प्रचीनचिकित्सा पुस्तक योगदर्शन र योग कर्म बुझ्न चाहनेहरूका लागि एक अत्यन्तै उपयोगी पुस्तक हो यसको अध्यनबाट योगका बारेमा निकै ज्ञान प्राप्त हुने देखिन्छ । ३३८ मूल पृष्ठ रहेको यस पुस्तकलाई ओरिएन्टल प्रकाशनले बजारमा ल्याएको छ भने प्रमुख वितरक भुँडीपुराण प्रकाशनले नेपाल भित्र र बाहिर वितरण गरिरहेको छ । यसको बजार मूल्य रु. ५०१ रहेको छ ।