यो पुस्तक एक आरोही तथा सर्वेयरको नियात्रा वा आत्मकथा मात्र होइन, सगरमाथाको उचाइ मापन कसरी गरियो भन्ने रिपोर्ट मात्र पनि होइन, हिमाल आरोहण कसरी गरिन्छ भन्ने गाईड बुक मात्र पनि होइन । यसमा ती तमाम विषयहरुलाई समावेश गरिएको छ, जहाँ आम नागरिकले हिमाललाई कसरी हेर्ने गरेको छ । एक आरोहीले हिमाललाई कुन रुपमा हेर्ने गर्दछ । विदेशीहरुको नजरमा सगरमाथाको महत्त्व के कति छ । साहित्य कला संस्कृतिमा हिमाल कस्तो रुपमा छाएको छ । यसमा इतिहास छ, वर्तमान छ, भूगोल छ, साहित्य छ । व्यवहारिक पाटो छ, परिवारिक जिम्मेवारी र कर्मचारीको कर्तव्यपराणता र राष्ट्रप्रतिको उत्तरदायित्व छ । यो हिमालसँग सम्बन्धी तमाम जीवनका आयमलाई जोड्ने एउटा खोजपूर्ण दस्ताबेज हो । ३५१ पेजको यो पन्ध्रौँ चुलीभित्र थुप्रै घटनाक्रमहरुलाई श्रीङ्खलाबद्ध रुपमा केही तस्बिरहरु सहित प्रस्तुत गरिएको छ ।
लेखक गौतमले हिमाल आरोहण र सगरमाथा सम्बन्धी प्रकाशित अप्रकाशित थुप्रै लेख रचनाहरुको अध्ययन गरी त्यसमा आफ्ना भावनाहरु थपेर पुस्तक तयार गरेको देखिन्छ । त्यसैले पनि यो पुस्तक हिमाल आरोहण त्यस सम्बन्धी अनुसन्धान गर्ने जो कोहीलाई वरदान सिद्ध हुनेछ ।
पन्ध्रौचुलीमा आरोहण खण्ड, दोश्रो आरोहण खण्ड र इतिहास खण्ड गरी दुईवटा खण्डमा बाँडिएको छ । पहिलो खण्डमा लेखक एवम् सर्बेयर गौतमले पहिलो पटक निजामती कर्मचारीको तर्फबाट सगरमाथा आरोहण गर्ने क्रममा भएका घटनाक्रमहरुलाई वर्णन गरेका छन् भने दोश्रो आरोहण खण्डमा सगरमाथाको उचाइ नाप्न जाँदा घटेका घटनाहरुलाई क्रमिकरुपले जोडेका छन् । जसमा हिमाल आरोहण गर्ने क्रममा पालना गर्नु पर्ने नियम, साधनश्रोत, प्राविधिक ज्ञान, कपडाका किसिम, खाना आदिको बारेमा सम्पूर्ण जानकारीहरु उल्लेख गरेका छन् । सगरमाथाको मापनको तयारी, लुक्लादेखि नाम्चे बजारसम्मको यात्रा वर्णन, दिङ्बोचेमा नयाँ वर्ष, आइसल्याण्ड पिक आरोहण, हिमालका सहिदहरु, पिरामिड एन्टेनाहरु, हिमालमा इन्टरनेटको सुविधा, सगरमाथाको आगन आधारशिविर, खुम्बु आइेसफल, पहिलो, दोश्रो, तेश्रो, चौथोबाट साउथ कोलको यात्रा, बाल्कोनी , साउथ समिट, हिलारी स्टेपदेखि सगरमाथाको चुचुरोमा पाइलादेखि सगरमाथाको उचाइ मापनको बारेमा बिस्तृत वर्णन गरिएको छ । तेश्रो खण्डमा जसलाई इतिहास खण्ड भनेर लेखकले भनेका छन्र, त्यसमा हिमालयको उत्पत्तिदेखि साहित्यमा हिमाल, सगरमाथा आरोहणका विभिन्न समयमा विभिन्न देशले गरेका अभियानहरु, सगरमाथामा पहिलो पाइला कसरी टेकिएको रहेछ भन्ने बारे जानकारी, विभिन्न देशहरुबाट सगरमाथा आरोहणको अथक प्रयास, सगरमाथाको नामनक्शा तयार गर्ने विधि तथा विभिन्न देशहरुले सगरमाथाको नक्शा बनाउन गरेको प्रयास, सगरमाथा उचाइ नाप्न गरेको अनेकौ सर्वेक्षण र सर्बेहरु र अन्तमा सगरमाथा नयाँ उचाइ मापन विधि र उचाइको घोषणाको बारेमा वर्णन गरिएको छ ।
सगरमाथा र जीवन बिच तुलना सगरमाथाको उचाइ र जीवनको उचाइ बिच दुई फरक कुरा हुन् भन्ने कुरालाई लेखक गौतमले दार्शनिक तबरबाट उल्लेख गरेका छन् । सगरमाथाको अन्तिम चुचुरो एउटा अग्लो बिन्दु हुन्छ तर मान्छेको अन्तिम चुचुरो के छ त ? भौतिक संसारको सगरमाथाभन्दा आफ्नो जीवनको सगरमाथा कैयौं गुणा अग्लो छ र प्राप्त गर्न निकै कठीन छ । सगरमाथाको गहिराइ सागरको पिँधसँगै र उचाइ आकाशको शून्यतासम्म जोडिएको छ ।
माछापुच्छ्रेलाई प्रेम पत्र लेखेर सुरु भएको पन्ध्रौँ चुलीको आख्यान सगरमाथालाई प्रेम लेखिएको प्रेम पत्र हुँदै सगरमाथासँग सम्बन्धित थुप्रै सत्य तथ्यहरुको बाटो हुँदै सगरमाथाको सफल आरोहण, सगरमाथा उचाइको मापन गरेर यसको उचाइ घोषणा गरेर अन्त्य हुन्छ ।
संसारले माउन्ट एभरेष्ट भनेर चिनिने सगरमाथालाई चाइनाले चोमोलोङ्ममा भन्छ भने यसको अर्को नाम पन्ध्रौँ चुली पनि हो ।
सगरमाथाको नाम सगरमाथा भनेर अलि सुहाएन कि भनेर लेखक तर्क पनि गर्दछन् । कवि शिरोमणि बाबुराम आचार्यले जुराएको नाम सगरमाथाको अर्थ सगरको अर्थ आकाश र माथाको अर्थ निधार हुन्छ । शब्दवली अनुसार सगरमाथाको नाम धर्तीमाथा राख्दा उपर्युक्त हुन्छ कि ? जसमा धर्तीमा रहेको सबैभन्दा अग्लो ठाउँ, यथार्थ निधार भन्ने जिज्ञासा लेखको रहेको देखिन्छ ।
सगरमाथाको पहिलो सर्वे ग्रेट ट्रिगोनोमेट्रिक सर्वे अफ इन्डियाको अनुसन्धानबाट सन् १८५० को दशकमा भएको र ब्रिटिश सर्बे अफ इन्डियाले सन् १८५६ मा सगरमाथाको उचाइ २९००२ फिट रहेको घोषणा गरेको तथ्य लेखकले उल्लेख गरेका छन् ।
तिब्बततिर झोल्मोलुङमा भनेर चिनिने यस शिखरलाई पछि रोयल जियोग्राफिक सोसाइटीले पूर्व निर्देशक सर जर्ज एभेरेस्टको सम्मानमा माउन्ट एभरेष्ट भनी नामाकरण गर्यो । पछि इतिहास शिरोमणि बाबुराम आचार्यले नेपाली नाम सगरमाथा भनेर जुराए ।
२०१६ सालमा नेपाल चाइना सिमा सम्झौताका क्रममा सगरमाथाको विषयमा दुई देशबिच मतभेद सिर्जना हुँदा चिनिया नेता माओसेतुङलाई भेटेर तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाले सगरमाथालाई नेपालभित्र रहेको दाबी गरे । चिनियाँ प्रधानमन्त्री चाउएनलाईले सगरमाथा नेपालको होइन भनेर बिपीसँग भनेका थिए । तर बिपीले त्यसमा आपत्ती मात्र जनाएनन् कि माओलेतुङलाई भेटेर सगरमाथालाई नेपालभित्र रहेको कुरा मिलाए भन्ने कुरा उल्लेख गरेका छन् ।
लेखकले हिमाललाई बहुआयामिक दृष्टिकोणबाट प्रस्ट पार्न खोजेका छन् । साहित्यमा हिमाल, पुराण तथा लोक कथामा हिमाल, भुगोल र अर्थशास्त्रमा हिमाल देखाउन खोजेका छन् । त्यसैगरी गीत संगीतमा हिमाल, कविता, उपन्यासमा हिमाल, चित्रकला र कला संस्कृतिमा हिमाल भएको कुरा सप्रमाण पेश गरेका छन् ।
सगरमाथा आरोहणको सबैभन्दा महत्त्वपूर्ण कुरा वातानुकूलित हुनलाई मानेका छन् । वातानुकूलित हुने विभिन्न प्रकृयाहरु बारेमा समेत आफूले भोगेका अनुभव गरेका र अन्य सामग्रीबाट साभार गरेर समेत जानकारी गराएका छन् । त्यसैले पनि यो पुस्तक हिमाल आरोहण गर्नेहरु र हिमाल सम्बन्धी अध्ययन अनुसन्धान गर्नेहरुको लागि निकै महत्त्वपूर्ण हुनेछ ।
लेखकले सगरमाथाको इतिहास, वर्तमान र पौराणिक सन्दर्भहरुसमेत जोडेका छन् । आदीकालमा सगरमाथालाई नौबन्धन भनेर चिनेने कुरालाई उनले पौराणिक कथालाई जोडेका छन् । त्यसै गरी गौरीशंकर, देव ढुङ्गा, छोमोङ्कर, भैरवलङुर अनेकौं नामहरुले पुकारिने सन्दर्भहरुको वर्णन गरेका छन् ।
नामाकरणकै सन्दर्भमा ग्ला चुलीहरुको तथान्क लिने क्रममा ग्रेट ट्रिगोनोमेट्रिक सर्वेका क्रममा पूर्वतिरबाट पहिलो दोश्रो तेश्रो गरी रोमन नम्बरिङ्गमा ७९ वटा अग्ला पर्बतहरुलाई स्केचमा देखाउने क्रममा सगरमाथालाई पन्ध्रौँ चुली भनी फिल्डबुकमा जनाइएको रहेछ । स्केचमा हेर्दा सगरमाथालाई १५औं नम्बरमा सबैभन्दा अग्लो भेटियो । त्यसपछि उनीहरुले सगरमाथालाई चिनाउन पन्ध्रौचुली भन्न थाले । यसैलाई आधार मानेर लेखक गौतमले यस पुस्तकको नामाकरण पनि पन्ध्रौँ चुली राखेको हुनुपर्छ ।
सगरमाथाको सर्बे चाहिँ जर्च एभरेष्टका नभई उनीपछि आएका भारतको सर्बे विभागका महानिर्देशक एन्द्र्यु स्कट वागका पालामा भएको थियो । उनले नै पूर्व सर्वेयर एभरेष्टको नाममा नामाकरण गरिनु पर्छ भनी १ मार्च १८५६ मा सुझाएका थिए ।
सन् १८९३ मा बेलायती सैनिकले सगरमाथाको आरोहणको अभियान सुरु गरे । त्यो बेला नेपालमा बिदेशीहरुलाई प्रवेश निषेध थियो । तिब्बत जान पनि अनुमती थिएन । बेलायती सैनिकले आफ्नो भेष बदलेर भिक्षुका रुपमा सन् १९१३ मा तिब्बत गए । सगरमाथालाई नजिकबाट निहाले । लामो भूमिगत अनुसन्धान पश्चात् सगरमाथा आरोहण गर्न सकिन्छ भन्ने कुरा रोयल जियोग्राफिकल सोसाइटीको बैठकमा राखे । यसैलाई सगरमाथाको औपचारिक आरोहोरणको सुरुवात हो भनेर लेखक गौतमले भनेका छन् ।
सन् १९२० मा बेलायती सरकारले सगरमाथाको आरोहणका लागि तिब्बतसँग अनुमती मागेको, १९२१ मा व्हिलरको नेत्रृत्वमा १६ जना भरिया सहितको सर्बे टोली गठन भएको, भारतीय सर्वे विभागमा कार्यरत एकजना नेपाली सर्वेयर लालबिर सिंह थापा पनि सहभागी भएको भन्ने जस्ता सगरमाथा सम्बन्धी ऐतिहासिक तथ्यहरु पन्ध्रौँ चुलीमा समावेश गरिएको छ ।
इतिहासमा अधिकारिक रुपमा भेटिएको सगरमाथाको सबैभन्दा माथिल्लो उचाइमा पुग्न सफल पहिलो नेपाली तिजबिर बुढा हुन् । उनी १९२२ मा आरोहणकै क्रममा ८३०० मिटरभन्दा माथि पुगेको तथ्य प्रमाणहरु पुस्तकमा भेट्न सकिन्छ ।
अनौठो कुरा ७५ वर्षअगाडि सगरमाथा उक्लने क्रममा हराएका मेलोरी र इरभिनको खोजीका क्रममा ८१५५ मि उचाइमा एक मानव कंकाल भेटिएको र डिएनए परिक्षणबाट उक्त कंकाल मेलोरीकै भएको पुष्टि भएको साथै अर्को टोलीमा आरोहणको क्रममा इरभिनको हिम बन्चरो फेला परेको, त्यसैगरी सन् १९३३ मा पहिलो पटक बेलायतीले सगरमाथामाथि जहाज उडाएर कृतिमान राखेको र फोटो खिचेको तथ्यहरु लेखकले प्रस्तुत गरेका छन् ।
लेखकले तेन्जिङ नोर्गे शेर्पाको बारेमा पनि खोज तलास गरी अनेकौ सत्य तथ्यहरु समावेश गरेका छन् । २१ वर्षको उमेरमा तेन्जिङ नोर्गे शेर्पा सन् १९३५ मा सगरमाथा आरोहण टोलीमा फोटो थियडलाइट बोक्ने सहयोगका रुपमा सहभागी भएका थिए । उनलाई आङयार्के शेर्पाले पहिलो पटक सहभागी गराएका थिए । पहिलो पटक उनलाई छनौट गरिएको थिएन ।
बिचबिचमा लेखकले आफ्नो भावनाहरुलाई हिमालसँग तुलना गर्ने गरेका छन् । हिमाल चट्टान हिँउको पहाड मात्र होइन समस्या र चुनौतीहरुको चुचुरो पनि हो । हिमालसँग मौसम खेल्न चाहन्छ । हिमाल र मौसमको खेललाई छलेर चुलीमा पुग्न र पुगेर फर्कनु नयाँ जीवन पाउनु बराबर हो । पन्ध्रौँ चुली पढेपछि मैले सगरमाथा सम्बन्धी केही लेख रचना र सिनेमा पनि हेरेँ । एभरेष्ट नाम गरेको सन् २००७ मा बनेको एउटा सिनेमा रहेछ जुन सन् १९८२ मा क्यानेडेली समूह सगरमाथा आरोहण गर्ने क्रममा भएका सत्य घटनासँग सम्बन्धित रहेछ । त्यो सिनेमाका मुटु हल्लाउने दृश्य र गौतमको पुस्तकमा लेखिएका शब्दहरुले उस्तै प्रकारको अनुभुति दियो । किताब पढ्दै गर्दा मानसपटलमा जुन प्रकारको स्मृतिहरु चलचित्रझैं घुमिरहेका थिए, ठीक त्यस्तै प्रकारको दृश्यहरु पाए । उच्च शिखरमा टेन्ट नै हल्लाउने गरी आउने हावाहुरी, हिँड्दा हिँड्दै अकस्मात् मौसममा परिवर्तन आएर हिँउ पहिरो आउने र गहिरा गहिरा खरपसहरु भित्र आरोहीहरु पर्ने जस्ता कारुणिक दृश्यहरु । अर्कोतिर शिखरमा पाइतला राखेर, शिखर चुमेको बेला सफलताले चम्किएको मुहारको खुसीयाली दुबै दृश्यहरुलाई पुस्तकमा एक अनुभवी आरोहीको रुपमा गौतमले प्रस्तुत गरेका छन् ।
आठ हजार मिटरभन्दा माथिका सबै हिमालको सबैभन्दा छिटो अर्थात् १८९ दिनमा आरोहण गरेका नेपाली युवा निर्मल पुर्जा बारेको डकुमेन्टरी बियोन्ड पोसिबलू र फोर्टिन्थ पिकू पनि हेरेँ । उनले शीर्ष पाँच हिमाल सबैभन्दा छिटो ७० दिनमा चढेको र गिनिज वर्ल्ड रेकर्ड राखेका रहेछन् ।
उनले शिखरमा पाइतला टेक्नु मात्र होइन, शिखरमा पुर्गेर सकुशल फर्किनुलाई पनि उत्तिकै महत्त्वपूर्ण कुरा भएको बताउँछन् । शिखरमा टेकेर फर्कने क्रममा थुप्रै आरोहीहरुको मृत्यु हुने गरेको हामीले सुन्दै आएका छौं । उनी आफैं पनि फर्कने क्रममा बाटोमा अचेत भएर लड्न पुग्छन् । अक्सिजनको कमीले गर्दा हो कि वा अन्य कारणले गर्दा उनी बाटोमा नै लडिरहेको अवस्थामा एक जना आरोहीले आफ्नो क्र्याम्पटन लगाएको खुट्टाले कुल्ची हेर्दा उनको होस खुल्दछ र उनीले नयाँ जीवन पाएको कुरा पुस्तकमा लेखेका छन् ।
उनले त्यो समयको अनुभवमा आफूलाई केही थाहा नभएको, घर परिवार अफिस काम इत्यादि केहीको सोच विचार नआएको तर एक प्रकारको छुट्टै आन्नदको अनुभूति भएको । स्वर्गीय आनन्द भएको भने लेखेका छन् । उक्त कुरालाई मैले मौखिक रुपमा फोनमा पनि अझ प्रस्ट पारिदिन भनेको थिए । उनले त्यो क्षणलाई मृत्युको नजिकैको पल भनेर भने । उनले अगाडि थपे, मानिसको मृत्यु हुँदा केही बेर अगाडि त्यस्तै सबै कुरा बिर्सेंर निकै आनन्दित भएको महसुस हुन्छ रे, मलाई पनि त्यस्तै महसुस भयो । तर मलाई उनको त्यो क्षण ध्यानको विचार शून्य अवस्था हो किझैं लागेको छ । हिमाल पहाडमा आदीकालदेखि ॠषिमुनिहरुले ध्यान गरेर बस्ने हुनाले हिमाल पहाडमा एक प्रकारको बुद्ध फिल्ड, ध्यान गर्न योग्य भूमिको निर्माण भएको हुन्छ । त्यस्तो ठाउँमा जो सुकै जाओस् ध्यान लाग्ने गर्दछ । उनी त्यतिबेला नो माइण्डको अवस्थ्यामा पुगेका हुन् कि जस्तो लाग्छ । उच्च शिखर उक्लिँदै गर्दा पनि उनलाई उस्तै प्रकारको अनुभूति भएको कुरा उल्लेख गरेका छन् ।
साउथ समिटबाट सवा घण्टा हिंडेर हिलारी स्टेप आउँदा उनले यस्तो महसुस गरेका थिए, १५० मिटर मात्र थियो चुलीमा पुग्न । मलाई एकदमै गाह्रो भइरहेको थियो । अरु ठाउँमा भएको भए यति दूरी पार गर्न ५ मिनेट पनि लाग्ने थिएञन । जति उचाइ पुग्यो, उति हिँड्न गर्यो भयो । त्यही थुचुक्क बसूँ जस्तो भयो । तर बस्न भएन । बसियो भने सायद उठ्न सकिन्थ्यो । पाइला चाल्न पनि सकेको थिइन । लामो सास लिएर अक्सिजनको मात्रा बढाए । त्यसपछि पाइला सार्न पनि सजिलो भयो । मस्तिष्क खाली हुँदै गयो । विचारहरु कम आउँदै थिए । मन पनि खाली हुँदै थियो । भावनाहरु पनि कम आउँदै थिए । पीडा सँगै आनन्द पनि उभिएको थियो । जुन आनन्दको उनी व्याख्या गर्न सक्दिन भनेका छन् । यो अवस्था भनेको ध्यानको अवस्था हो । पहाडमा हिमालले उनलाई ध्यानी बनाउँदै थियो । आध्यात्मिकताका अनुसार उनी ध्यानमा लिन हुँदै थिए ।
उनले सगरमाथा आरोहणको सफलतालाई प्रसव पीडासँग तुलना गरेका छन् । जसरी एउटी आमालाई सन्तान जन्माउँदा अथाह पीडा हुन्छ र जन्माइसकेपछि जुन आनन्द हुन्छ, त्यसरी नै एउटा आरोहीलाई पनि हिमाल चड्दा अथाह पीडा हुन्छ र शिखरमा पुगेपछि अत्यन्त आनन्द लाग्छ ।
सन् १९५० मा नेपालमा जहानिया राणा शासनको अन्त्य भई प्रजातन्त्र आएपछि विदेशीहरुलाई सजिलै नेपाल आउने वातावरण मिल्यो । त्यसपछि सगरमाथाको आरोहण नेपाली भूमिबाट गर्ने सुरुवात भयो ।
रोचक तथा चाहिँ के चाहिँ के छ भने, १९५१ मा बेलायतीहरुले सगरमाथा आरोहण गर्ने अनुमती नेपाल सरकारबाट पाएको थाहा पाएपछि न्युजील्याण्डका ४ आरोहीले आफूहरुलाई पनि सगरमाथा चढ्ने समुहभित्र राखिदिन सहयोग गरिदिनु पर्यो भनी अनुरोध पत्र पठाएका रहेछन् । तर ब्रिटिश टोलीले ४ मध्य जम्मा २ जनालाई मात्र समावेश गर्ने भन्ने उत्तर पठाइएको रहेछ । ती २ जना न्युजील्याण्डका आरोहीहरु सर एडमण्ड हिलारी र अर्ली रिडीफर्ड थिए ।
पुस्तकमा आरोहीहरुले ज्यान खुट्टा र मौसममा निर्भर हुने तर आँट र भरोसाले उद्देश्यूपुरा गर्न सकिने तथ्य पेश गरेका छन् । जस्तै ल्याबर्ट, फ्लोरी र अवर्ट सहित तेन्जिङको टोली २७००० फिटको उचाइमा पुगेर शिविर खडा गर्छन् । तर अचानक मौसममा आएको परिवर्तनले ल्याबर्ट र तेन्जिङ मात्र अगाडि बढ्न सफल हुन्छन् । उनीहरुसँग स्लिपिङ ब्याग र टेन्ट बाहेर अरु केही हुँदैन, पानी तताउने भाँडो समेत हुँदैन । उनीहरु एक अर्काको हात रगड्दै त्यो कठिन रात गुजारेको प्रसङ्गलाई लेखकले जोडेका छ्न् । भोक प्यास र अक्सिजनको अभावका कारण उनीहरु ८६०० मिटर उचाइबाट तल फर्किनु पर्यो ।
यो पुस्तक पनि सकारात्मक सन्देश दिने पुस्तकहरुको समूहमा पर्दछ । सगरमाथा आरोहण सयौं वर्षको अनेकौं प्रयासपछि मात्रै सफल भएको हो । यसमा अनेकौं असफताहरु भए पनि सगरमाथा आरोहणलाई निरन्तरता दिएको तथ्यहरु छन् । थुप्रै देशहरुबाट आरोहणका प्रयासहरु भएका छन् भने अन्त्यमा न्युजिल्याण्डका सर एडमण्ड हिलारी र नेपालका तेन्जिङ शेर्पाले चुचुरोमा सर्वप्रथम पाइतला राखेको कुरालाई वर्णन गरिएको छ । असफला नै सफलताको कडी हो भन्ने कुराको चरीथार्थका अनेकौं उदाहरणहरु यस पुस्तकमा रहेको छ । पटक पटकको असफलता पश्चात् उनीहरुले आरोहणमा प्रयोग गरिने सामाग्रीको गुणस्तरमा सुधार गर्दै लगे । नयाँ नयाँ सामाग्रीहरुको आविष्कार गर्दै गए । नयाँ नयाँ रणनीति र साधनहरुको निर्माण गर्दै गए । आरोहण टोलीमा आरोही र शेर्पाको अलवा फिजियोलोगिस्ट, भुगर्वविद्, भौतिकशास्त्री, सैनिक, क्यामेरा म्यान, डाक्टर लगायत थुप्रै व्यक्तिहरुलाई समावेश गर्दै तालिम र योजनाहरु लिएर एकपछि अर्को गर्दै शिखर चुम्ने प्रयास गरि नै रहे । कहिल्यै हार स्वीकार गरेनन् ।
ब्रिटिशले सगरमाथामा पहिलो पाइला आफ्नै देशको नागरिकबाट राखिनु पर्छ भनेर अनेकौ प्रयास गर्यो । अरबौंको लगानी गर्यो । ब्रिटिशले पहिलो पटक सगरमाथाको मापन गर्यो । नामाकरण गर्यो । पहिलो फोटो खिच्यो । पहिलो पटक जहाज सगरमाथामाथि जहाज उडायो । सगरमाथा आरोहण गर्दा सयौं ब्रिटिश नागरिकको मृत्यु भयो । तर पनि पहिलो पाइला भने न्युजील्याण्ड र नेपालका आरोहीले राख्न सफल भए । एद्यपि ब्रिटिश नागरिककै नेत्रृत्वमा रहेको सगरमाथा आरोहण अभियानमा टोली सदस्यका रुपमा एडमण्ड हिलारी र तेन्जिङ नोर्गेले चुचुरोमा पहिलो पाइला राख्न सफल भएका हुन् ।
अर्को रोचक कुरा त्यस्तो डर लाग्दो, ज्यानकै बाजी लगाएर शिखरमा पुग्दा सबैभन्दा माथि कसको झन्डा राख्ने भन्ने दुविधा भएको रहेछ । उनीहरु १५ मिनेट जति शिखरमा बसेका रहेछन् । त्यतिबेला बेलायतकी नयाँ महारानी एलिजाबेथ द्वितियको राज्यभिषेकको कार्यक्रम रहेछ । ३ जुन १९५३ मा संसारका सबै पत्रपत्रिकाहरुमा बेलायती नयाँ महारानी एलीजाबेथ द्वितियाको भव्य राज्याभिषेक समारोह र बेलायती सेनाले गरेको सगरमाथा आरोहण अभियानका २ जना आरोहीले सफलतापूर्बक शिखर चढेको समाचार प्रमुख शीर्षक बनेर छापिएको रहेछ ।
बेलायती महारानीले जोन हन्ट र एमण्ड हिलरीलाई नाइट हुडू विशिष्ट पदक र तेन्जिङ शेर्पालाई सामान्य पदकबाट सम्मान गरियो । यता नेपालका पनि १३ जुन १९५३ मा राजा त्रिभुवनले तेन्जिङ शेर्पालाई सर्वोच्च पदक नेपाल तारा र हन्ट र हिलारीलाई त्यो भन्दा कम स्तरको पदमबाट विभुषित गरियो । यस्ता अनेकौं रोचक तथ्यहरुलाई तिथिमिति सहित लेखकले पन्ध्रौँ चुली मार्फत उजागार गरेका छन् ।
सगरमाथाको आरोहण गरेपछि नेपाल सरकारले तेन्जिङ शेर्पालाई आजीवन पेन्सन सुविधा दिने निर्णय गरेको थियो तर भारतीय प्रधानमन्त्री पण्डित जवारलाल नेहरुले उनलाई दार्जेलिङमा माउन्टेन तालिम केन्द्र खोली त्यसको प्रमुखको जिम्मेवारी सुम्पिएपछि उनी उतै दार्जलिङतिर स्थायी बसोबास गर्न थाले ।
सगरमाथा आरोहणको क्रममा प्रायः जसो शिखरको लागि आन्तिम क्याम्पबाट साझपख हिंड्न पर्ने रहेछ । दिनमा हिड्दा मौसम खराबी हुने, घामले हिँउ पग्लेर हिंड्न गाह्रो हुने, पग्लेको हिँउमा चिप्लेर गहिरा खरपसमा खस्ने डर हुने, मान्छे नै उडाउने गरी चिसो हावा चल्ने र ज्यान नै जोखिममा हुने हुँदा साझमा मात्र हिंड्नु पर्ने रहेछ । तर आरोही, लेखक, सर्वेयर खिमलाल गौतमले ज्योतिष विज्ञानमा विश्वाश गर्ने र आफैं पनि ज्योतिष विज्ञान अध्ययनमा रुची भएकोले गर्दा ज्योतिष साइतअनुसार दिनको २ बजे यात्रा सुरु गर्नु पर्ने कुरा आफ्नो टिममा राख्छन् । टिमका सबै सदस्यले यो कुरा मान्न तयार हुँदैनन् । यो निर्णय आत्मघाती हुनसक्छ भनेर उनका गाइड छिरिङ्गले पनि गौतमलाई सम्जाउने प्रयास गर्छन् । तर गौतम साइतमै गरेको कुरा जहिले पनि सफल हुन्छ भन्दै सबैलाई कन्भिन्स गर्दछन् । उनी अगाडि भन्छन्, हामी सगरमाथामा पुगेपछि हाम्रो काम सुरु हुन्छ, उचाइ नाप्ने काम । तर अरुको सगरमाथा चुचुरोमा पुगेपछि अभियानको अन्त्य हुन्छ । त्यसैले हामी अरु भन्दा पहिले नै पुगेर सगरमाथाको उचाइ लिने काम गर्नुपर्छ । यसरी उनले सबैलाई चित्त बुझाएर २ बजे नै यात्रा सुरु गरेर अरु भन्दा एक ढेड घण्टा पहिले पुगेर आफ्नो काम तमाम गर्छन् । त्यो तीन सगरमाथाको सफल आरोहण गर्ने २०३ जना थिए, जुन अहिलेसम्मको एकै दिन धेरै आरोहीले सगरमाथा चढ्ने रेकर्ड बनेको छ ।
आज सम्म जति पनि सगरमाथा र हिमाल बारे लेख रचना पुस्तक लेखिएका छन्, प्रायः ती सबै बिदेशी भाषामा बिदेशी नागरिकहरुबाट लेखिएका छन् । त्यसैको कारणले पनि होला नेपाली साहित्यमा हिमाल आरोहीको कथा व्यथाहरु नेपाली कथा, उपन्यास, कविता, निबन्ध आदीमा अत्यधिक कमै मात्रामा भेट्न सकिन्छ । पन्ध्रौँ चुलीले त्यो अभावलाई केही हदसम्म पुर्ती गर्ने प्रयास गरेको छ । त्यसैले यो पुस्तक हिमाली साहित्यको दस्ताबेजको रुपमा लिन सकिन्छ ।
हिमाल आरोहणको क्रममा कसरी हिंड्ने, खाने, बोल्ने, दिसा(पिसाब गर्ने, कस्तो कपडा लगाउने, कसरी लगाउने आदिइत्यादि कुराहरुको बारेमा यो पुस्तकमा उल्लेख गरिएको छ । हिमाल आरोहण गर्ने तथा आरोहण सम्बन्धी अध्ययन अनुसन्धान गर्ने, ज्ञान तथा जानकारी लिने सबैलाई यो पुस्तकले धेरै मद्दत गर्दछ ।
हालसम्म पनि सगरमाथाको चुचुरोमा कसले पहिले पाइतला राख्ने भन्ने कुरा विवादित नै छ । जे हिलारी र तेन्जिङ मन्ध्य एउटाले चाहिँ पक्कै हो ।
सगरमाथाको उचाइ ८८४८ मि भनेर हामीले पढ्दै आएको थियौं तर अब यो उचाइ बढेर ८८४८।८६ मि भएको छ । सयौं वर्ष अगाडि विदेशीले नापिदिएको उचाइ अहिले एक नेपालीले सर्वेयरले फेरि नापेर नयाँ माप दिएका छन् । यो हामी सबै नेपालीले मात्र नभई संसारले नै गर्व गर्ने कुरा हो । यसैक्रममा सर्वेयर गौतमलाई हामी सबै नेपालीको तर्फबाट हार्दिक धन्यावाद तथा बधाई भन्न चाहन्छु ।
सगरमाथा कसरी चढिन्छ ? सगरमाथा चढ्न आधुनिक उपकरण मात्र भए पुग्छ कि ? आँट साहस र आत्मबल पनि चाहिन्छ या दुबैको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ ? सगरमाथा आरोहीले कस्ता कपडा लगाउनु पर्छ ? कस्ता टर्मीनोलोजीहरुको प्रयोग गर्छन् ? खरपस भनेको के हो ? हिँउ बन्चरो भनेको के हो ? यसको उपयोगीता कसरी गरिन्छ लगायतका धुप्रै आरोहण सम्बन्धी कुराहरु यस पुस्तकमा समेटिएको छ ।
उनी कसरी सगरमाथाको सर्वे गर्ने अभियानमा छनौट भएर कसरी सर्वे कार्य सम्पन्न गरियो, सर्वे कार्यमा अन्य को को कर्मचारीहरु सहभागी थिए, उचाइ मापनको प्रकृया कसरी सफलतापूर्वक सम्म्पन गरियो ? आदि बारे सर्वेयरले भोगेका कठिनाइँहरु, त्यसबेला मन उत्पन्न भएका उतार चढाबहरु, घर व्यवहारको परिस्थिति, जिम्मेबारीप्रतिको उत्तरदायित्व, अनुभव र अनुभूतिहरुलाई शब्द मार्फत जीवन्त रुपमा प्रस्तुत गरेका छन् ।
पढिरहदा पाठकलाई आफैं सगरमाथाको आरोहण गरिरहेको, हिँउका खरपसहरु पार गरिरहेको आभाष गराउँदछ ।
यो पुस्तकमा केही कुराहरु दोहोरिएका पनि छन्, ती दोहोरिएका कुराहरुलाई हटाउँदा राम्रो होला । सकिन्छ भने सगरमाथा आरोहणका जोखिम स्थानमा खिचिएका तस्बिरहरु थप्ने । नेता र मन्त्रीसँग खिचिएका तस्बिर भन्दा आरोहणका गर्दाका तस्बिरहरुले कथा बोल्नेछन् ।
विगतदेखि वर्तमानसम्म सगरमाथाको सर्वे कहिले कसले कसरी गरेका थिए भन्ने कुराको सम्पूर्ण जानकारी मिति र नक्सा सहित समावेश गरिएको छ । उचाइ मापनको पुर्वीय प्राचीन विधि, त्रिकोणमितीय विधि परम्परागत विधि र स्याटलाइट जियोडेसीको आधुनिक विधिबारे उदाहरण सहित विश्लेषण गरेका छन् ।जसले आम पाठकलाई उचाइको मापन विधि र प्रकृया बारे जानकारी गराउँदछ ।
सगरमाथाको उचाइ नाप्न विभिन्न समयमा बेलायती, भारतीय, चिनियाँ, इटलियन, अमेरिकन, डेनमार्क लगायत अन्य देशहरुले प्रयास गरेका थिए । जसमा फरक फरक सर्वेको ढाँचालाई अबलम्बन गरिएको थियो । जसमा सगरमाथाको उचाइ ८८४८ मिटरकै वरीपरी उचाइ रेकर्ड गरिएको पाहिन्छ ।
२०७७ मङ्सिर २३ गतेका दिन सगरमाथाको नयाँ उचाइ सार्वजनिक भएको थियो । तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यी ले आआफ्नो देशका राष्ट्रपतीको शुभकामना सन्देश सुनाउँदै नयाँ उचाइ ८८४८।८६ मिटर रहेको सार्वजनीकरण गरियो ।
सगरमाथा सम्बन्धी कहिल्यै नसुनिएका र थाहा नपाइएका अपत्यारिला तर सत्यतथ्यहरु लेखकले यस पुस्तकमा समावेश गरेका छन् ।
दुई दुईपटक सगरमाथाको आरोहण गर्न सफल लेखक एवम् सर्वेयर खिमलाल गौतमले माछापुच्छ्रेलाई प्रेम पत्र लेखेर पुस्तकको सुरुवात गरेका छन्, जहाँ उनले आफू माछापुच्छ्रेको आँगनमा खेलेर हिमाल हेर्दै आफ्नो बाल्यकाल बिताएको कुरा गरेका छन् ।
उनले सगरमाथालाई पनि प्रेम पत्र लेखेका छन् । हिमालसँगको प्रेमले सगरमाथाको चुचुरो चुम्न सफल भएको बताउछन् । उनले सगरमाथाको आरोहणको अनुभव र अनुभूति लेख्ने क्रममा सगरमाथाको उचाइसँग जीवनको उचाइको तुलना गरेका छन् । उनी भन्छन् भौतिक सगरमाथा चढ्न भन्दा कयौं गुणा कठिन जीवनको सगरमाथा चढ्न ।
हिँउमा कसरी हिंड्ने, भर्याङ्गको प्रयोग कसरी गर्ने, जुमर र हार्नेसको प्रयोग कसरी गर्ने, क्रायाम्पन कसरी लगाउने, निलो बरफ, ग्लेसियर, गेग्रान कसरी छ्ट्याउने तथा आधार शिविर, खुम्बु आइसफल, पहिलो दोश्रो तेश्रोचौथो शिविर, साउथकोल, बाल्कोनी साउथ समिट, हिलारी स्टेप आदि बारे संक्षेपमा जानकारी दिइएको छ । जसबाट हिमाल आरोहोणसँग सम्बन्धित महत्त्वपूर्ण सुचनाहरु पाइने छ ।
२०७२ बैशाखमा गएको विनासकारी भूकम्पका करण सगरमाथाको उचाइ घटेको भनी विभिन्न अन्तराष्ट्रिय जर्नलहरुमा शोधमुलक लेखहरु प्रकाशित भए । कतिपयले नेपाली हिमाली क्षेत्र दुईवटा भौगर्विक ढिक्का टेक्टोनिक प्लेट बिचमा भूकम्पले ल्याएको परिवर्तन स्वरुप सगरमाथाको उचाइमा फेरबदल भएको कुराहरु छापामा आइेरहका कुराहरुलाई मध्य नजर गर्दै नापी विभागले सगरमाथाको उचाइ नाप्नेबारे अनुसन्धान अगाडि बढायो ।
काठमाडौं उपत्यकाको जमिन ९८ सेन्टीमिटरमाथि उठेको र १४२ सेन्टिमिटर दक्षिण पच्चिम सर्किएको कुरा बाहिर आएपछि सगरमाथाको उचाइ नाप्ने कुरामा अझ बढी जिज्ञाशा बढ्यो । फलस्वरुप २०७४,७५ को वार्षिक कार्यक्रममा सगरमाथाको मापन कार्यलाई समावेश गरी २०७६ जेठमा सर्वेयर खिमलाई गौतमको नेत्रृत्वमा सगरमाथाको नयाँ मापन कार्य सफलतापूर्वक सम्पन्न भयो ।
हिमालहरु प्रकृतिले बनाइदिएको पिरामिड हुन् भनेका छन् । हाम्रा पैतालाले हिमाललाई जति प्रेम गर्दछन् । हिमालले हामीलाई त्यति नै प्रेम गर्दछन् । उनले आरोहणको महत्त्वपूर्ण पाटो वतानुकुलित हुनलाई मान्दछन् ।
हिमालमा खानेकुरा नबिग्रियोस् भन्ने हेतुले खानेकुरालाई हिँउमा सानो खाल्डो खाने गाड्ने प्रचलन भएको बताउँछन् । जसलाई उनी प्राकृतिक फ्रीज भनेका छन् ।
उच्च हिमालमा पानीका धारा, कुवा नहुने हुँदा हिँउलाई नै पगालेर पानीको रुपमा प्रयोग गर्ने गरिएको तर उक्त पानी स्वादिलो र मिठो नहुने साथै पौक्टिक तत्त्वहरु पनि खासै नहुने बताउँछन् ।
हिमालमा दिशा गर्नको लागि छुट्टै ड्रमको प्रयोग गरिन्छ । दिशाले ड्रम भरिएपछि त्यो ड्रम खाली गर्न प्रति किलो ३५० का दरले भरिया लगाई अर्को ठाउँमा विसर्जन गर्नेपर्ने हुँदो रहेछ । एउटा ड्रममा ५० किलो दिशा हुने रहेछ, एउटा ड्रम खाली गरेको १७,५०० रुपैयाँ लाग्दो रहेछ । यो कुरालाई लेखकले बढो रोचक तबरले व्याख्या गरेका छन् । हिँउको ढल्ला तताएर पानी पिउनु पर्ने भएको होला दिशा जहाँ पायो त्यही गर्न नपाइने र ड्रममा नै गर्नु पर्ने भएको । जथाभावी फोहोर गर्नाले रोग तथा संक्रमण फैलने सम्भावना हुन्छ ।
लेखक भन्दछन्, पुर्णिमाको रातमा आइसफलका हिम ढिक्का माथि खुट्टा राख्दै सगरको यात्रा स्वर्गको यात्रा गरे जस्तो लाग्छ । शरीरको रगत थर्मसको पानी जस्तै हो, थर्मसले आफुभित्रको पानी तातो राखिरहे जस्तै आरोहीले पनि रगतको तातोलाई जोगाइरहनु पर्दछ । आरोहणको क्रममा बाटोमा कसैले एक कप तातो पानी दियो भने पनि त्यो अमृत समान हुन्छ । उचाइमा हावा र हिँउ अशान्त हुन्छन् हिमाल शान्त हुन्छन्, हाम्रो मन पनि अशान्त हुन्छ, मनलाई शान्त बनाउनु पर्दछ । आफ्नो अनुभव सुनाउँदै उनी सुझाव पनि दिइरहेका हुन्छन् । जति जति माथि चड्दै गइन्छ, अक्सिजनको कमले अलिअलि होस् पनि गुम हुनसक्छ । बोल्न मन लाग्दैन, बोल्न निकै गार्हो हुन्छ, त्यसैले साङ्केतिक भाषामा कुरा गर्नु पर्ने हुन्छ ।
त्यसैक्रममा उनले आफ्नो एक्सपेडिसन कम्पनीले उचित व्यवस्थापन नगरेको आफ्नो पुस्तकमा लेखेका छन् । जीवन मृत्युको दोसादमा रहेछ, जीवनलाई खुट्टाको पैतालामा राखेर सगरमाथा आरोहण गर्नु पर्ने जस्तो काममा एक्सपेडिसन कम्पनीहरुले निकै नै जिम्मेबारी पूर्वक व्यवस्थापना गर्नु पर्ने बताउँछन् ।
सूर्यको प्रकाश पर्नेबित्तिकै खुम्बु आइसफलका बरफका ढिस्काहरू पढ्किने र पहिरो जाने गर्दछ, जसलाई सर एडमण्ड हिलारीले ‘एटम बम’ क्षेत्र भनेका छन् । त्यसलाई छल्न आधार शिविरबाट राति नै यात्रा गर्नु पर्दछ ।
हिमालयात्राको क्रममा उनले आफैँसँग थुप्रै प्रश्नहरू गरेका छन् । म को हो ? मैले यत्रो काम गर्न सक्छु र ? म लक्ष्यमा पुग्न असफल भएँ भने के होला ? भन्ने जस्ता अनेकौ प्रश्नहरू गर्दछन् । फेरि अर्को मनमा जसरी पनि मैले यो मिसन पूरा गर्नै पर्छ भन्ने भावना पैदा हुने कुराहरु मनमा आउने गरेको बताउँछन् ।
सगरमाथाको नजिक पुग्दा उनले यसरी आफ्नो अनुभूतिलाई शब्दमा उतारेका छन् । हिमालमा भोक लाग्छ, खान मन लाग्दैन । तिर्खा लाग्छ पिउन मन लाग्दैन । सुत्न मन लाग्छ, निन्द्रा लाग्दैन । थकाइ लाग्छ, बस्न मन लाग्दैन । बोल्न मन लाग्छ, बोली फुट्दैन । हिँड्न मन लाग्छ, खुट्टा जाग्दैन । मस्तिष्क थाक्छ, मन थाक्दैन ।
बल्ल आँखै अगाडि सगरमाथाको शिर देखियो । रातमा पनि झलमल चन्द्रमा भन्दा चम्किलो देखियो । मलाई भगवान नै प्रत्यक्ष दर्शन गरे जस्तो भयो । साउथ समिटमा पुग्दाको उनको अनुभुति सेयर गरेका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।