साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

नियात्राको मानक परिपुञ्ज दामोदर पुडासैनीकृत ‘ग्रीष्मको नीलो बतास’

कौतुकमय कथा पढेजस्तो, प्रकृतिको अनन्त रहस्यभित्र पूर्ण प्रवेश गरेजस्तो, समाजशास्त्रका गम्भीर विषयहरूमा गहिरिएर छलफल गरेजस्तो, इतिहास र दर्शनको भण्डारमै प्रवेश गरेर गीताज्ञान हासिल गरेजस्तो, राष्ट्र-अन्तर्राष्ट्रमा पुगेर त्यहाँका चमत्कारिक उपलब्धिहरू आफैँले देखेजस्तो, सबै ती प्रतीतिहरू बोध गराउन सक्ने दामोदरको शिल्पलाई एकपल्ट अभिवादन गर्नैपर्छ ।

समकालीन नेपाली साहित्यमा विकसित हुँदै अघि बढिरहेको नियात्रा संरचना निबन्धकै एक प्रारुप मानिन्छ । भूगोलका भिन्न भिन्न परिवेशजन्यता–प्रतीतिहरूले ती निजात्मक अनुभूतिहरूलाई सर्जकले वैश्विक–सांस्कृतिक परिप्रेक्ष्ययितामा सम्प्रेषण तुल्याएपछि नियात्राको विशेष कुनै स्वायत्त स्वरुपता तय भएको हुन्छ । हिमवत्खण्डनिसृत नदीको लहर र तरङ्गजस्तो संवेदनाप्रसवित मनुष्य जगत्को उत्ताल अनुभूतिको त्यही ‘गत’ रहेको हुन्छ । पञ्चस्कन्धीय प्रणयित जीव जीवातको अन्तशः र मौन सवाईजस्तो भावोन्मादिता परिचालित लेखकीय अभिकथनको त्यही ‘सङ्कथनता’ संवेदित भएको हुन्छ । परिभाषेयमा जोखेर साहित्यिकी त्यसैले, बन्धनताले प्रविष्टियुक्त गर्न सकिन्न नियात्रालाई ।

अघिदेखि, धरातलीय अवस्थितिहरूमा निबन्धकै कुलीन प्रयुक्तिनिर्मित नियात्रा, सांस्कृतिक संगोष्ठीहरूले, मानक रहस्योद्घाटनहरूले फेला पार्न थालेपछि ज्ञात–अज्ञात ‘हिडेन ट्रेजर’, आत्मोदयको विशिष्ट अभीष्टता हात लाग्छ ।

bahulako diary small and inside post

डायरीगत उकुसमुकुसहरूभित्र क्रमैले ज्ञान छ । संज्ञान छ । हृदय र मस्तिकको सहजोड छ, सर्जक त्यहाँ आइपुग्दासम्म । कथनकारकीय सनातनीय उद्बोधनहरूले, सुललितताका आकस्मिकी सुयोगहरूले पात्र–पात्रता, विधान–विधानता, भाषा–सांस्कृतिकता, प्रथा–परम्परितता, विज्ञान–प्रविधियुक्तता, भूगोल–पर्यावरणीयता, नीति करणनीतिक, मर्यादितता, सामञ्जस्यीय–असामञ्जस्यकृत समाजशास्त्रीयता, शासकीय चरमोत्कर्षता, अकल्पनीय औद्योगिक क्रान्ति उन्मुखता लगायतका मानव विकासक्रमका अवबोधहरूमाथिको सूक्ष्म निरीक्षणले जे हात पार्छ सर्जक चैतन्थले, राष्ट्र राष्ट्रका लागि ‘क्रसकल्चर’को लाभान्वितता विस्तारित हुन पाउँछ, डा. दामोदर पुडासैनी किशोरजस्ता सुयोग्य नियात्राकारका कौशलताबाट । पुडासैनीकृत ‘ग्रीष्मको नीलो बतास’ अन्तर्गत ‘सोलोडोलो अनुभूति’ परस्पर भावोच्छलनीय यौगिकता मात्र थिएन त्यहाँ । ज्ञान र विज्ञानका, दर्शन र चिन्तनका, सिर्जना र सौन्दर्यका मनन–विहङ्गमहरूले समाज प्रवर्धनका उन्नत परिपञ्चहरू पनि थालिएका प्रसङ्ग छन् । आस्था र निष्ठाका, आग्रह र आकांक्षाका, प्रेम र उत्सर्गका चरण–विचरणहरूले उत्प्रेरणा–उमङ्गका सौष्ठव संकीर्तनहरू पनि थालिएका शब्द संयोजन छन् ।

काव्यिक व्यञ्जनाको दशकौं अन्तरालपछि निर्वन्ध चेतनाकालीन नियात्रा जोहो गरेर एक नवीन प्रारम्भको उद्घोषतर्फ परीक्षणहरूले ती स्थितिप्रज्ञता जारी गरिएका हुन् । सर्जक संस्कृति दामोदरले ‘जे नहुनुपर्थ्यो त्यो भएकोमा विरोध जनाउन, जे हुनुपर्थ्यो त्यो नभएकोमा बाटो देखाउन’ प्रसङ्गहरूले कुनै उद्यमहरू कवुल गर्न, ‘जीवन र जगत्का मर्महरूलाई कोट्याउन र पुनश्च ‘जीवन र जगत्को उचाइ बृद्धि गर्न’ महत सांस्कृतिक पर्यवेक्षण गर्नैपर्ने स्थिति सामान्य साधना र साधारण घटनाअन्तर्गत निर्धारण भएको होइन । डा. दामोदरको चिन्तन–विपर्यय पनि इन्द्रबहादुर राईका झैँ लिलात्वका सादृश्यमा प्रिज्म प्रेरित छ । “साहित्यलाई एउटा ज्ञान मान्दा अन्तर्विधात्मकतिर धाएको समेत संघटनात्मक कुनै उच्चतर उद्यममा नहोला ?

अर्थशास्त्रको ‘ह्रासमान उपयोगिताको नियम’बाट आइ.ए. रिचर्डस्ले काव्यिक मूल्यको सिद्धान्त बनाए भन्छन् । समस्त विधिका मनोविज्ञानहरू मिलाइएको ‘विधिक्रम मनोविज्ञान’ प्रचेष्ट छ । (केन विल्बर, १९७५) । संघटन प्रयतनीय छ । मञ्चमा आफू अभिनयकार र आफूले पात्र अभिनेताले सँगै पाएको, दर्शकले सँगै स्थित देखेको संघटन नहोला ? प्रतिरुपण (प्रेजन्टेशन) को तलमा ती सहस्थित भन्दैछन् । प्रतिरुपणहरू प्रतीति (लीला) हुन्छन् । समान (अ) प्राधान्यका ।’ (लीलालेखन वार्ता र अन्तर्वार्ता, पृ. ७३) ।

महेश प्रसाईं

सन्दर्भहरूले यात्रानुभूतिमा लीलादर्शन भिन्न विधि, भिन्न मनोक्रम देखिए पनि ती ती योगात्मक रुप भिन्न थिएनन् । भिन्न हुन सक्तैनन् । क्रीडागत पात्रताहरू सहस्थित छन् । संघटनहरू जेजति ग्राह्य कर्म भइदिएका हुन्, अनुभूतता र रोमाञ्चक प्रत्यारोपणहरूले थरी थरी भेदका पुनः सहसंयोजनले ‘क्रमिक’ भइरहेका हुन् । अन्योक्ति भइदिनु पर्ने स्थितता छैन ।

पुनरावृत्तिले लीलाकारितामा प्रचेष्ठित ती परात्मरतिक दामोदर पुडासैनी ‘किशोर’ प्रयुक्त यायावरचेतद्वारा अनेकानेक अनुभव ज्ञानको विशाल भार धारण गरेकै हो । बिसाउने उद्यमताहरूमा देश दर्शनको गौरवगाथा गाउँदै गर्दा भिन्न भू–संस्कृतिको ‘उपलब्धि र उच्चता’ तर्फ स्वराङ्कित गायनलाई स्वगत गर्न सम्भव छ । अघि कुनै पात्रतामा वरण गरिएको स्थितता नियात्रामर्मअन्तर्गत वैश्विक प्रयोजनको कुनै संज्ञान ठहर्याउँदा अनुपयुक्त देखिँदैन ।

अतिरिक्त यी सस्वर स्वरहरूलाई, देशदर्शनका अभिकुञ्जमा पर्यवेक्षण गरेर, आत्मज्ञानलाई समेत, मूल्याङ्कित गरिनुपर्दा पुडासैनीको ‘प्याट्रियोटिक मेसेज’ कुनै सम्भावनाको खोजीतर्फ मुखरित भएको अर्थ लाग्छ । सशक्त आत्मस्वीकृतिले उत्सव गरेको छ, डा. दामोदरलाई । पाठरचनाहरूमा, पाठरचनाका विपठनहरूमा, ‘टेक्स्ट म्यानुअल’का पूर्वपीठिकाहरूमा । आद्यबिम्बमा साक्षी छन्, दामोदर उच्चारित ती ती ध्येययिताहरू । पहिचानबोधहरूले संघटित आकृतिअन्तर्गत ‘दाग र गन्ध नलागून् बतासका धूलोमा पनि’ जस्ता कुलीन मनोक्रमहरूले स्वराज्यका अनुगमनमा न्यायिक गवेषणा राखेको छ ।

अनर्गतल होइनन् स्वराष्ट्रका पहरेदारीमा यी र यीसहितका प्रमेयहरू, प्रक्षेपणीयहरू । स्वरतिमा निहित सनातन धर्ती, आकाश, जंगम विहार, छवि–प्रकृति, जलवायु लगायतका सौन्दर्य सम्पदाहरू ‘जीवनलाई सार्थक तुल्याउन’ कम ऊर्जाशील्य साध्यता होइनन्, सचेष्ट यी गौरवहरूले सर्जकदेखि पाठकबोधसम्म रक्तसञ्चार हुने भावयिनती, कम रोमाञ्चक छैनन् पनि ।

पावन पुण्यित भूमि खप्तड र खप्तड वरिपरिको परिवेशमाथि केन्द्रिकृत दामोदर पुडासैनीका स्वान्त चिन्तनहरूले कर्मभूमि, ज्ञानभूमि, जन्मभूमिलाई जुन श्रेष्ठताले आवहवन गरिएको छ, ती ती अनुस्मरणहरूले अथक नेपालीको प्रत्याभूतिक परिणति द्रवित नहोला भन्न सकिन्न ।

प्रतीतिकारिताहरूले आकृष्ट तुल्याइने योगासनहरू छन् ।

लोभ हर्षकारिताहरूले वायवीय मनाइने संघटनताहरू छन् ।

यात्रा छ, कौतूकमय यात्रा ।

विचरण विहार छ, उत्सर्गमेय परिव्राजकता ।

सन्निकटले, यात्रीविचारहरू छन् ।

ती यात्री विचारका सहयोद्धा दामोदर पुडासैनी ‘किशोर’ विचार, अनुभूति, ज्ञान–विज्ञान, दर्शन–चिन्तन, भूगोल–संस्कृतिको महाभोग लगाएर जगत् सुखमा तृप्त रहेको परिदृश्यता दृष्टान्तीय छ । डा. दामोदर पुडासैनी ‘किशोर’ भित्र पल्लवित कुनै सुकुमार कविलाई निरपेक्ष र सापेक्ष दुबै ती युक्तिहरूले ‘फ्युजन’ गरेर प्रवेश गर्ने हो यदि, वैचारिक ‘इन्नोभेसन’ का निकटस्थता कायम हुने आधारहरू छन् ।

ग्वोवमा पूर्ण थिएन, छैन यात्रीविचार । यात्री विचारमा आयोजित मानिस । उसका गुणहरू । उसका कदहरू । ऊ तर, उसका तुलबुलहरू । कहीँ पुगेको होइन । पुगेको अवबोधन मात्र । करणहरू । एउटा खास समय र सीमाका लागि पुगेको बोध मात्र हो । ऊ एउटा गन्तव्य । गन्तव्यलाई उतार्छ । गन्तव्यका ‘डाइमेन्सनहरू’, कुना–काप्चा, हाँगाविँगाहरू, शाखा–प्रशाखा, अङ्ग–प्रत्यङ्ग र स्थितताहरू उतार्छ । वैचारिकीहरू, अभीष्टहरू, अनुभूतिकीहरू, परस्पर विनियोजित गरिुएका हुन् । ‘इनोभेसन’ का उद्यम ती ‘डिस्कोर्स’ हरू ‘कम्प्लिमेन्टारिटी’ ले साहचर्य तुल्याइएका छन्, हुन् । बोधिततायुक्त ।

सम्बन्धित पोस्टहरु

‘झिँग्रानाको साँझ’ होस्, ‘धूवाँजस्तै जिन्दगी’ को आयतन होस् थाप्लोमै स्थित, बीचपानी तिर्यक् स्थितताहरू पुडासेनले बेहोरेकोलाई काठमाडौँले सहस्थितिमा थाहा पाइहाल्न, सम्हाल्न काठमाडौँग्रसित दामोदर र दामोदरजस्तै यायावरीय कुनै पृथक् अनुभूति कहीँ छ । खोजी हुँदैछ आनुसन्धेयले । अघि कुनै बेला पाश्र्वमा आइ.ए.रिचर्डस्ले सहय्राएको मानक सैद्धान्तिकी जस्तै । प्रत्येक ठाउँ, प्रत्येक घटना, पहिरन प्रत्येक, छद्म परिदृश्यताका र प्रत्येक स्थिति–स्थितताहरू ‘प्रकृति, मेरो पहिलो प्रेम र अन्तिम पनि’ लागेको (छ) निर्विकल्प ‘अनुभूतिक सत्य’, डा. दामोदरको निर्बन्ध चैतन्यलाई । प्रारम्भदेखि उत्कर्षसम्म, ‘खप्तडदेखि खप्तडहरूकै केन्द्रियता वरिपरि, पुनरागमनको तिर्खा, तिर्खातृप्त उज्यालो, यी र यीहरूकै वृत्तमा छन् । घेरिएका सकस पहाडहरूले, मुक्त–मुक्ता चरीपन्छीहरूले, कलरवित किलोल झरना–नदी–छङ्छङ्हरूले, गुमसुम कुहिरोहरूले अर्थ्याइएका जस्ता मात्र हुन्, रति आत्मरति वा परात्मरतिकीहरूका लागि । फरक चरणहरू, फरक वरणहरू पात्र विधानताले पहिल्याइएको ‘अनुभूति तात्कालीन’ रिक्त स्थितताको कुनै परिवेश सुख मात्र । सुखबोधको यो परिदृश्यतामाथि एक एक अध्येता कुनै, विचरित भएको छ । विचरित हुने स्थितता छ । कुशलतापूर्वक । दामोदरले छोडेका डोवहरूमाथि, पछ्याएर कुनै अधिति ।

‘हिउँले पुरिएका पाटनहरूमा कैयौंपटक आफैँले बाटो बनाउँदै हिँडेको (छु) । कैयौंपटक हिउँले, पुर्दै गर्दा झण्डै झण्डै ज्यान गएको (थियो मेरो) ।
‘जिउ थकाइको पाँजामा (छ), मन पक्रेको (छ) उमङ्गमा ।’

ग्रीष्म (महिना, मौसम), बतास (ऋतुको मौलिक उत्सव), लीलात्वका प्राकृत परिप्रेक्ष्यहरू ‘मानव सापेक्ष’, भएका दुवै ती असांख्यिकी योगहरू हिउँले पुरिँदा उत्पन्न हुने संकट वा निष्कर्ष, थकानका ‘एमबुस’मा लुकेको उमङ्ग कम सात्विकी अनुभव हुँदैन । मिजासले मनोरम पनि ।

दौड यी अनन्तउन्मुख, तात्कालिक ‘लुसीग्रे’ का खोजीमा कुनै पर्वतीय शृङ्खलाका उपत्यकाअन्तर्गत पछि पछि पछ्याइरहेको एक विशिष्ट वर्डस्वर्थ जस्तो संज्ञानले निरन्तर छ । मृगतृष्णाविहीनको खोजमा लम्किरहेको दामोदरकृत ‘बिम्ब’ वर्डस्वर्थभन्दा दूरस्थ छैन ।

हिउँको बर्को ओढेर, पुष्पलताको अलङ्कार पहिरिएर खप्तडगाथाले हिमाल–पहाड लेकालीको व्यञ्जन सञ्चार गरिनुमा हिमाली क्षेत्रका आदिवासी नेपालीका लागि ‘गर्वबोधि मुन्धुमता’ ‘लीलानुसारी सङ्घर्ष’ मात्र थिएन । आविच्छेद्य स्वर्णिमताका यी आल्हादिक सम्पदा लेक, खर्क र पाटनको सांयोगिक आबद्धतामा खप्तड धर्तीले व्यवहृत गरेको छ । ‘वैश्विक चैतन्यमा विस्तारित खप्तड आलोक सर्वसुलभ सञ्चार गर्न दामोदरको लेखनीले ‘संगति’ कवुल गरेको मात्र हो । प्रतीति सर्वदा निरर्थक छैन । आलोकहरू यी, देख्नु र अनुभव गर्नुमा, परस्पर ‘अन्तर्विधात्मक’ हुन सक्छ, ज्ञान र ज्ञेयको ‘देखिसत्य भाव’ जो कोहीले ‘उपयोगिता’ अन्तर्गत स्वीकार गर्न पाउँछ । ‘संसारमा मान्छे हुनु— उसको यात्रा–गति र सुस्केरा नहुनु के अर्थ हुन्छ मान्छे हुनुको’, ले उब्जाएका अप्रतीतिहरू खप्तडीय सुस्केरातक ‘जैविकता’ नपहिल्याइनुको तालमेलसित संवाद जारी भएको छ । सुखद् विषय नै भएको यो अव्यक्तिकलाई, कुनै ‘मायासत्य’ मा मात्र राखेर पर्गेल्न मिल्दैन । ‘भावसत्य’ ले पनि गुरुत्वाकर्षीय ज्ञान सञ्चार गर्नसक्छ ।

संचारित उद्धृतताहरूले अनुभूतिको निष्ठालाई कहीँ कतै स्पर्श गरेको तथ्य खुलेको छ । ‘व्यक्तिनिष्ठता र वस्तुनिष्ठताको समन्वयकारितामा प्रयुक्त यी अनुभूतिहरू ‘मस्तिष्क र तर्क’ को सहारामा प्रतिपादित नभई, वर्ण्य विषयातिरेकीय सजीव शब्दकारितातर्फ उन्मुख रहेको स्थिति ‘एन अथर ह्वाट हि फिल्स एण्ड नट ह्वाट हि थिङ्कस’तर्फ झण्डै मोडिएको छ । वेकनदेखि मोण्टेन, वा जोन्सन हुँदै अघि बढेको निर्बन्धीय यी पाश्चात्य ‘शैली र प्रभाव’ यहाँसम्म आइपुग्दा ‘अनुभूति, उद्धृतता र आख्यानात्मकतामा रमाएको ‘यायावरीय प्रकरण’ जसलाई दामोदरले श्रृङ्खलाबद्ध अनुमोदन गरेको अनुभव हुन्छ ।

‘मानसिक जगत्को विश्रृङ्खल विचार तरङ्ग’ माथि विजय छ, छद्मभेषी । चमत्कार गर्छ, तिलस्मिता कदाचित् होइन । छद्मचाल त्यसैले कुतूहलमय रहेको हो । ‘मस्तिष्क र तर्क’ माथि त्यसैले, ‘राज’ गर्न आइपुगेको दामोदरको ‘निरीक्षक नियात्राकार’ त्यहीँसम्म सचेत लाग्छ ती ती उद्यमताहरूमा ।
‘अँध्यारो मृत्यु हो, उज्यालो जीवन ।’ अँध्यारोलाई हाँक्न पनि जीवनकै प्रकाशबोध हुनुपर्ने स्थिति सहसम्बन्धहरूले तय गरेको, भावसत्यलाई लागेको छ ।

प्रवल विचारले उस्तै उस्तै उपस्थिति निर्माण गरेको छ, अँध्यारो उज्यालो ‘गति पारस्परिक’ स्वीकार गर्दागर्दै । भालुवाङ छिचोल्नै लाग्दा फेला परेको यो जीवनदर्शनले छर्लङ्गै ऐना देखाएको छ, अक्करमा पनि खर्कमा पनि । सर्जक स्वयं मृत्यु हो र जीवन पनि, ज्याक डेरिडाले घोषित तुल्याएको, मृत्यु र उप्रान्तभन्दा फरक । भाक्सुको भीरमा मृत्युको ‘दोहरीलत्त जोखिम’ भन्दा फरक । काठगोदामदेखि नाघेर दोगाँव वरिपरि छरपस्टिएका ती मृत्युमोडहरूको सन्त्रासभन्दा फरक ।

ज्ञानदिलको ‘नजरभरि जालो’ जस्तै दृष्टिसत्य भरिएको जीवन अघि अघि, पछि पछि भएको अलंकारजडित मृत्यु छ, मनोकांक्षाको ज्योतिमा । अघि इन्द्रबहादुर राईजीले देखाएजस्तै ‘यो जीवनमा हामी जन्मेका छौँ’ को परतन्त्रताबोधमाथि, केही अलमल भएकै हो । प्रतीतिले त्यसैले, मृत्यु र जीवनको पहारिलो फाँटमा आइपुगेर दामोदरले सङ्ग्रह गर्नुभएको परतन्त्रीयबोध बाहिरिन सकेको छैन ।

पाठकबोधमा आइपुग्दा भाव सत्यलाई परिचयात्म गरेको छ, यो संवेद्य प्रतीतिले । अक्षरक्रीडाका अवबोधी दामोदर स्वयं निर्देशक सल्लाहकार, सहकर्मी सहयात्री सबै ती पारंगतताहरूले, कहिले अघि कहिले पछि हिँडाइरहेको अनुभूतिजन्यता स्वरतिक रोमाञ्चकारी भएको छ ।

‘कन्टेम्पोरेरी लिट्रेचर’ ले ठहर गरेको निर्बन्धीय गतिक्रीडाका स्थितताहरूमा कुनै एउटा स्थानबाट नवीन परिदृश्यतातर्फ मनुष्य सत्ता सँगसँगै हिँडेको उसको सांस्कृतिकता र उसले व्यहोरेको कथनकारकीयताले रसग्राही अध्येताहरूका लागि मुक्त रचनात्मक स्वरुपता स्थापित भइदिनु अस्वभाविक होइन । त्यहाँ उत्प्रेरणा स्थित छ । अकल्पनीय ज्ञानस्रोत छ । चिनिएको अपराप्रकृति छ । चिनिनु पर्ने पराप्रकृति छ । कल्पितिले अभिप्रेरित । पुष्टि गरेको छ ‘ग्रीष्मको नीलो बतास’ ले पनि । जीवन सँगसँगै समय त्यसैले ब्युँझिएको हुनुपर्छ, सुपात्रहरूका आकस्मिकीहरूले । कुपात्रहरू जञ्जाल भएर सुपात्रहरूको उदय भएको बोध । दामोदर हुनुको यात्री विचार ‘मान्छेको सर्वोच्चता’ पहिल्याउन तदाकारित ‘मातृवत् सर्जकता’ भित्र प्रवेश तुल्याइनुलाई वैयक्तिक वस्तुताबोध मात्र भएको छैन । परात्मरतिक बर्चस्वता सँगसँगै कायम छ । काव्यपङ्क्तिका आलंकारिक व्यञ्जनहरूले फिजाउनु पर्ने जटिल प्रकाश उत्तरोत्तर गद्यकारिताका वाचनहरूले पाटन पनि उठाएका छन्, खर्क वा लेक पनि फिँजाएका छन् ।

व्यास शैलीमा मुखरित डा. दामोदर पुडासैनी ‘किशोर’को ‘सब्जेक्टिभ्ली’ विस्तारमा निर्वैयक्तिक रङ् प्रेक्षणहरू पनि छन् र वैयक्तिक रङ् विन्यास पनि । दृष्टि सत्यका विचरणहरूले मात्र सांस्कृतिक अधीतिहरूलाई नाघेर जाने स्थितता छैन, अन्तशः आयोजित ‘पर्सपेक्टिभ’ भित्र ।

पूर्ण बोध छ दामोदर चेतनिहित ती बुझाइ र ग्रहणशीललाई । मान्यताहरू यी प्रणालीगत कोष्ठमा छन्, जहाँ आख्यानको पूर्ण विनियोग छ । सापेक्षित भौगोलिकता र पात्रताअन्तर्गत । आख्यान निर्माण हुन जीवन चाहिन्छ । जीवन भइदिन त्यसैले सौन्दर्य छ, प्रसवित । सौन्दर्यकै कारण दर्द विरहहरू पल्लवित देखिएका हुन् । जीवनको कथाव्यथामा विस्तारित अधिकांश उद्धरणहरूले ‘उपलब्धि र सार्थकता’ सहितको अन्योललाई जसरी छिमलेर हेरिएको छ, ‘ग्रीष्मको नीलो बतास’ नै ‘साक्ष्य’ रहेको छ । स्याउलामै जन्मेर स्याउलामै निस्पन्द हुने जीवनको भाष्य कुनै अदृश्य सत्ताको खोजमा निरन्तर छ, उपक्रमहरूले त्यही ग्रीष्म जस्तै त्यही नीलो बतासजस्तै ।

मादकताहरू यी, देउराली हुन् जीवनवृत्तका भञ्ज्याङ चौतारी प्रतीक्षा–कामना, जे सुकै हुन्, स्पन्दित स्वप्निलताका । कुलिन संस्कृतिहरूले कहीँ सजधज ‘काठमाडौँ फेरी’मा अतिरिक्त काठमाडौँसित भेटिएका राप्ती, कैलाली, बझाङ, वैतडी, डोटी, डडेलधुरा सबै ती छन्, वैश्विक केमिस्ट्रीयुक्त । भारत उत्तराखण्ड स्थित नैनितालिन सहवासहरू छन् सम्पूरकता, छचल्किएका बहुवर्णित व्यासका झैं नीलो आँखा, नीलो बतास, घुलमिलिएर आकाशगर्भास्थित, अक्षमा वाचित । व्याख्यायित उपरोक्त सन्दर्भहरूले दामोदरकृतलाई पठन–विपठनमा उत्तेजक स्पर्श गर्न सहज छ । विचलित भइदिनुपर्ने ‘यान्त्रिक प्रमात्रा’ छैन । जिवन्त गतिशीलताहरू छन्, सचित्र, आख्यानिक परिकारहरूले । अनेक घटना–परिघटनायुक्त पात्रताहरूका कोरसमा देखिएको ‘जावेदखान’ चरित्रता, तीभित्र सुपात्रताको रोमाञ्चकारी प्रदर्शन, उत्प्रेरकीय त्यसैले, भएको सर्वस्वीकार्य छ, प्रकृतिको सम्मानबाट प्राप्त उज्यालोजस्तै । क्रमैले यात्राको आयतनमा, प्रदर्शित वजनदार जीवनको उपलब्धिमाथि, आँकलन गरिएको गर्विलो प्रचेष्टालाई प्रण गर्नु, पौरखी सम्पादन, भएको छ, यो आख्यानीय निबन्धकाव्य, ‘ग्रीष्मको नीलो बतास ।’

सहर्याएर काँचो रगतको अभिलेख, चपाउँदै भालुवाङको चिसो भात, प्रवञ्चना तुल्याउँदै झिँग्राना फाइव स्टार, संघटित आत्मगुन्जनहरूले अनगिन्ती तेजताप प्रसारण हुनुमा दामोदर अन्तर्गतको ऊर्जात्व प्रमुख हो । कुन्नि कुमारी पाटनकै सुललित लय होस् वा खप्तडको खसखस, ग्रीष्मको नीलो बतास होस् वा बेलापुर ब्लुजको मीठो पीडा, पाठबोधलाई गीतासारकै ज्ञेययिता उद्घोष गरिएको हो कि चलमलाउँछ, अन्तभूति । पहाड र पानीको चञ्चलतानिसृत एक चेतक भवभूति ।

डा. दामोदर पुडासैनी किशोरको एक चहकिलो नियात्राकारभित्र प्रवेश गरेर पाठकबोधले, आधुनिक नियात्रा विधाको मानक परिपञ्च कवुल गर्न कुनै कठिनता उत्पन्न नहुने विज्ञानसम्मत आधारहरू छन्, कृतिका यी संज्ञानअन्तर्गत । ज्ञान, विज्ञान, अनुसन्धान, इतिहास, दर्शन, संस्कृति, चिन्तन उपलब्धि, तर्क, विचार, अनुभूति, घटना–परिघटना र आख्यानका सहस्थितताहरूमा निर्मित ‘ग्रीष्मको नीलो बतास’ ले नियात्राको मानक ‘रोडम्याप’ निर्धारण गरेको छ भन्नुपर्दा कुनै अतिशयोक्ति हुनेछैन ।

‘आफन्तका अनुहारहरू’ २०४९, ‘आँखाको खोजीमा, २०६२’, ‘आलोकित आयाम, २०६३’, ‘आकारको खोजीमा, २०६३’, ‘समयको सहीछाप, २०६९’, ‘पहाड र प्रेम, २०७१’, ‘उज्यालो खोजिरहेको घाम, २०७४’, ‘सहरविनाको सहर, २०७५’, ‘हिमालका आवाज, २०७६’, ‘निर्वस्त्र घाम र लोलाएको साँझ, २०७७’, जस्ता झण्डै एक दर्जन जति उत्कृष्ट काव्यकृतिहरूका प्रणेता डा. दामोदर पुडासैनी ‘किशोर’ ले ‘ग्रीष्मको नीलो बतास, २०७८ अघि ‘यात्राका प्रेमिल तरङ्गहरू, २०६५’ ‘नमेटिएका चित्रहरू, २०७०’, ‘मायालु हुम्ला, २०७१’, ‘सिमानाका रङ्ग, सिमानाका तरङ्ग, २०७२’ र ‘पर्खालभित्रको राजधानी, २०७३’ लगायतका नियात्रा कृतिहरू सार्वजनिक तुल्याएर आफ्नो सर्जकीय पहिचानलाई अग्रपङ्क्तिमा राख्नु भएको छ । नियात्रा (निर्वन्धता) मा काव्यगुणको आल्हादकारिता प्रस्तुत गरेर, आख्यानकारिताको व्यञ्जन थपेर पाठकबोधलाई समृद्ध तुल्याउन सक्ने उहाँको क्षमता विशिष्ट रहेको छ । नियात्रा विधामा दामोदरले रसग्राहीहरूका लागि प्रेरकीय ऊर्जा सञ्चार गरेकोलाई कसैले अस्वीकार गर्न सक्तैन ।

कौतुकमय कथा पढेजस्तो, प्रकृतिको अनन्त रहस्यभित्र पूर्ण प्रवेश गरेजस्तो, समाजशास्त्रका गम्भीर विषयहरूमा गहिरिएर छलफल गरेजस्तो, इतिहास र दर्शनको भण्डारमै प्रवेश गरेर गीताज्ञान हासिल गरेजस्तो, राष्ट्र-अन्तर्राष्ट्रमा पुगेर त्यहाँका चमत्कारिक उपलब्धिहरू आफैँले देखेजस्तो, सबै ती प्रतीतिहरू बोध गराउन सक्ने दामोदरको शिल्पलाई एकपल्ट अभिवादन गर्नैपर्छ, पाठकीय अधितिले ।

प्रतिक्रिया
Loading...