साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

एकै पुस्तकमा दुई कृति

समयलाई पर्खिने बानी भएर होला मलाई किञ्चित हतार लाग्दैन । मेरा मित्रहरू भन्ने गर्छन् — म निकै जुम्सी छु रे ! हतपत केही गर्न नजान्ने । परन्तु त्यसमा मलाई केही आपत्ति छैन, यही बानी ठीक लाग्छ । धैर्य गर्न अभ्यस्त हुनु के बेठीक हो  र ? 

 

त्यो नारी दिवसको दिन थियो, अझ बिहानी प्रहरको समय थियो । ट्याङ्ला फाँटको एउटा कटेजमा साहित्यिक कार्यक्रम आयोजना भएको थियो । डा. अञ्जना वस्ती भट्टराईकृत स्मृतिलोकको यात्रा निबन्ध सङ्ग्रह विश्वका सम्पूर्ण नारीहरूको सम्झनामा  लोकार्पण हुँदै थियो । एउटी नारीको आवाज अरू नारीलाई सुनाउने अवसर थियो त्यो । जहाँ सहभागी हुने र कृतिमाथि केही बोल्ने सुयोग मलाई पनि मिलेको थियो । अञ्जना म्यामको त्यो हार्दिकतालाई मैले भुलेकी छैन ।

नारीको उपस्थितिलाई ध्यान दिइएको हुँदा पुरुष उपस्थिति कम्ती थियो । केही व्यक्तित्वहरू उपस्थित हुनुहुन्थ्यो—डा. गोविन्दराज भट्टराई, डा. कुमार कोइराला, डा. विष्णु एस राई, ओरिएन्टल पब्लिकेशनका प्रमुख श्री हरि गौतम, कान्तिरपुर दैनिक पत्रिकाका संवाददाता श्री देवेन्द्र भट्टराई, श्री गंगाप्रसाद भेटवाललगायत अरू केही विशिष्ट व्यक्तित्वहरू हुनुहुन्थ्यो । यद्यपि नारी विशेष अवसरमा वहाँहरू स्रोताको रूपमा हुनुहुन्थ्यो, पार्श्वमा ।

bahulako diary small and inside post

त्यस निमेष मलाई बडो अप्ठ्यारो अनुभूत भएको थियो । मेरा गुरु कुमार कोइरला र गोविन्द सर हाम्रा पछाडि हुनुहुन्थ्यो । गुरुका अग्रस्थानमा त्यसरी बस्दा वहाँहरूको मर्यादालाई ख्याल गर्न नसकेको बोध हुँदै थियो । किन्तु त्यो मेरो होइन नारी दिवसको दोष थियो, अर्थात् मान इज्जत गर्नु पर्ने पुरुष नै किन नहोस्, उसलाई पछाडि पारेर अघि बढ्ने, बोल्ने दिनको रूपमा लिइएको थियो ।

नारी आधिक्य रहेको त्यस कार्यक्रम सदाको भन्दा बिल्कुल फरक थियो । मेरो लागि त्यो अत्यन्तै गौरवको घडी थियो । डा. अञ्जना वस्ती भट्टराई, डा. ज्ञानु पाण्डे, डा. साधना प्रतीक्षा, डा. रेणुका सोलु, श्रीमती ज्ञानु अधिकारी, श्रीमती अनुपमा रेग्मी, श्रीमती उषा थपलियालगायत महिला उपस्थिति जोसिलो थियो । पाण्डे र रेग्मी मेरा गुरुआमा हुनुहुन्थ्यो । हृदयदेखि नै वहाँहरूलाई नमन गरेँ । वहाँहरूको सम्मुखीन रहेर बोलेको त्यो मेरो प्रथम अनुभव स्मरणीय थियो, अनौठो थियो । मसँग केही अज्ञात दकस पनि थिए । युवा पिँढीको उपस्थितिलाई पनि त्यहाँ ध्यान दिइएको थियो । सिन्धिया श्रेष्ठ, रेणू खरेललगायतले युवाको प्रतिनिधित्व गरेका थिए ।

निमन्त्रित पुरुषहरू सप्पै पछाडिको लाइनमा छन् । अग्रभागमा लहरै नारीहरू उज्याला मुहारमा, उत्साहित छन् । पुरुषले त्यसरी सम्मान दिएकोमा कृतज्ञ छन् ।

बायाँपट्टिको मेरो छेउमा एउटी युवती छिन् । उनको नजिकै अर्को छेउमा देवेन्द्र भट्टराई छन् । यी दुई व्यक्तिको अनुहार मलाई उस्तै लाग्यो । संयोगले त्यो अनुहार मिलेको हो या  एउटै घरका, एउटै आमाका सन्तान हुन्, कुन्नि ? कस्तो ठ्याक्कै मिलेको । थाहा नपाउने किसिमले घरी घरी म दुवैलाई हेर्थेँ । त्यो कद उस्तै छ, वर्ण उस्तै छ, अरू सबै उस्तै छ । फरक त्यत्ति थियो, महिला र पुरुष हुनु बाहेक ।

कृतिमाथि आफूलाई लागेको कुरा अभिव्यक्त गर्ने पालो अब मेरो आएको थियो । देख्छु आडैकी उनीले बेला बेला मेरो भनाइमा टाउको हल्लाउँदै थिइन् । लाग्यो, मैले चित्त बुझ्ने कुरा नै बेलेँछु ।

त्यो दिन त्यतिकै भयो । त्यसपछिका साहित्यिक कार्यक्रममा मैले उनलाई फेरि फेरि देख्न थालेँ । यद्यपि बोलचाल थिएन । उनी को हुन् म चिन्दिनँ । चिन्ने प्रयास पनि गरिनँ । जेहोस् उनी साहित्यप्रेमी पाठक, स्रष्टा त्यस्तै केही हुनु पर्छ ।

हरेकचोटि मैले उनलाई एउटी किशोरीसँग देख्थेँ । अनुहार केही मिल्न खोजेजस्तो देखिन्थ्यो । ती सँगसँगै आउँथे र सँगै जान्थे पनि । आमा छोरी, दिदी बहिनी त्यस्तै केही नाता हुनु पर्छ । अझ मन मिल्ने साथीजस्ता देखिन्थे । एकै व्यक्ति पटक पटक देखिँदा नचिनेर पनि उसलाई चिनेको आभास हुँदो रहेछ । मसँग यस्ता धेरै आभासहरू छन् ।

त्यसदिन गोरखा पत्र दैनिकमा एउटा कथा पढेकी थिएँ—कोभिडले क्षत–विक्षत पात्रको मनोदशा कारुणिक थियो । त्यस कथाको शीर्षक मैले कस्तो भुलेँछु नै । केही दिनसम्म त सम्झिँदै थिएँ ।

धेरै अघिदेखिको अज्ञात कुरा अकस्मात् उद्बोध भएजस्तो लाग्यो, कथा लेखिकाको तस्वीरसँगै जोडिएको नाम देख्दा । ए … उनी पो रहिछिन्—शशी भट्टराई श्रेष्ठ । केही समयदेखि भेट भइरहेकी तथापि चिनजान नभएकी, त्यसदिन आडैमा बसेकी उनी नै रहिछिन् । समयले उनलाई एउटा स्रष्टाको रूपमा चिनायो अर्थात् मैले उनलाई एउटा सर्जकको रूपमा चिनेँ । पहिलो प्रभाव नै अन्तिम प्रभाव हो भने झैँ मेरो मनमा गडेको त्यो स्रष्टा अब  परिवर्तित हुने छैन । अझ भनौँ उनी परिवर्तित होलिन्– नहोलिन्, साहित्यिक कर्म गर्लिन्–नगर्लिन् तर मेरो दृष्टि बदलिने छैन । गोरखा पत्रको त्यही तस्वीर र नामले चिन्ने छु ।

अनिता पन्थी

कुनै पनि कुरामा हतार गर्नु हुँदैन, समय आउनु पर्छ । समयअगावैको कुरा दीर्घकालीन नहुन सक्छ । मलाई यस्तै लाग्छ । समयलाई पर्खिने बानी भएर होला मलाई किञ्चित हतार लाग्दैन । मेरा मित्रहरू भन्ने गर्छन् — म निकै जुम्सी छु रे ! हतपत केही गर्न नजान्ने । परन्तु त्यसमा मलाई केही आपत्ति छैन, यही बानी ठीक लाग्छ । धैर्य गर्न अभ्यस्त हुनु के बेठीक हो  र ?

त्यसै दिन मैले उनको नाम थाहा पाउँदो हुँ, केहीबेरपछि त्यो नाम भुलिसकेकी हुने थिएँ । मस्तिष्कले त्यसको वास्ता गर्ने थिएन । लामो समयको उत्सुकताले पार्ने प्रभाव नै बलियो हुने गर्छ । अनि त्यसै दिन उनको परिचय थाहा पाउँदो हुँ अहिले यस्तो प्रसङ्ग आउने थिएन । जुन कुरा लेख्य विषय बन्ने थिएन । धैर्यमा रहँदा जेजस्तो अनुभूति मिल्छ, म त्यसैलाई उपलब्धि देख्ने गर्छु ।

अनलाइन पत्रिका अझ बढी साहित्यपोस्टमा प्रकाशित लेख रचनामार्फत मैले उनलाई अरू चिन्दै गएँ । उनका समीक्षा, समालोचना— म केही सिक्ने तरिकाले पढेकी हुन्थेँ । प्रभावक हुन्थे उनका ती आलेखहरू ।  अझ विशेष त समीक्षा भन्नु नै ठीक होला ।  उनका कविता पनि आइरहन्थे । तर म खासै बुझ्दैन्थेँ । कविताको गहिराइ बोध गर्ने पाठक म होइन ।

उनलाई चिनेको केही समयपछि उनकी किशोरी साथीलाई पनि चिनेँ—सिन्धिया श्रेष्ठ । भरे थाहा पाएँ उनीहरू त आमा छोरी रहेछन् । सामाजिक सञ्जालमा छोरीका लेख पनि फाट्टफुट्ट आइरहन्थे । त्यति सानै उमेर परिष्कृत भाषा र परिपक्व अनुभव मलाई आश्चर्य लाग्यो । शुरुमा त उनको लेखनप्रति म विश्वस्त हुन सकिनँ । त्यो अभ्यस्त कलम … म त अवाक् भएँ । उनको उमेरमा साहित्य सम्बन्धी मलाई केही ज्ञान थिएन । केही जान्दिनथेँ । केही लेख्दिनथेँ ।

त्यो समयदेखि पढ्दै आएका शशी भट्टराईका कविताले कृतिको आकार लिइसकेछ कति छिट्टै— निर्मल तलाउमा तरङ्ग । खरायोको गति बरु अलिक सुस्त होला । उनको गति, त्यति द्रुत लाग्यो । ती कविता तलाउजस्तै निर्मल छन्, गहिरा छन्, तरङ्ग उत्पन्न गर्ने छन्, यही सुन्दै आएकी थिएँ पाठकमाझ ।

एउटा अनुभूतिसँगै त्यसले पैदा गरेको भावना कहाँबाट शुरु भएर, त्यसको अन्त्य भएको हो ? कवितामा त्यो कुरा ठम्याउन पाठकलाई मुस्किल पर्छ । गहिरा कविताको भावार्थमा पाठक किञ्चित पुग्न सक्दैन । एउटा अनुमानित अर्थ पहिल्याउने मात्रै हो । पाठक अनुसार ती अर्थ पनि भिन्न भिन्न हुन सक्छन् ।

शशीका कविता उस्ता कठिन त होइनन् कि,  जेहोस् मलाई कठिन लाग्छ । शायद कवितालाई बुझ्ने पर्याप्त संवेदना मसँग नहोला । तर कृति आफैँमा राम्रो छ । साहित्यपोस्ट उत्तम काव्य छनोटमा परेका नौ कृतिमध्ये निर्मल तलाउमा तरङ्ग एउटा रहेको छ । साहित्यपोस्टजस्तो गरिमामय साहित्यिक अनलाइन पोर्टलमा उत्तम काव्यका लागि चुनिनु नै  कृति ओजस्विताको आधार हो ।

कृतिको आरम्भमै म आश्चर्यमा परेँ । मेरा दृष्टिमा फेरि त्यही दिनका शशी र सिन्धिया आए । आमा छोरी अझ साथी साथी । निर्मल तलाउमा सिन्धियाको भूमिका पढेर केही निमेष म भावशून्य स्थितिमा पुगेँ । उनको लेखन शक्तिको अगाडि मैले आफूलाई  फुच्चे देखेँ । त्यो प्रस्तावनाबाट मैले केही सिक्नु पर्छ भन्ने लाग्यो । यो कुरा भावकुतावश भनिरहेकी छैन ।  मैले यही अनुभूति गरेकी थिएँ । सुन्दर लेख रचना तथा कृति पढ्दा मलाई नित्य यस्तै हुने गर्छ—साँच्चि मलाई त केही आउँदैनजस्तो एक किसिमको लघुताबोध हुन्छ । एउटा आलेखलाई घण्टौँ लगाएर पढेकी हुन्छ । अनि म त्यस्तै लेख्न सकूँ भनी कामना गर्छु । त्यसैले मेरो पठन विलम्ब तरिकाले चल्छ ।

आजै यति सुन्दर शिल्प कला छ । भोलिका दिनमा सिन्धियाको लेखन कस्तो होला ? आफैँलाई सोधेँ । जेहोस् यस्तो सम्भावना बोकेका युवा स्रष्टा साहित्यमा आकृष्ट भएर लागे भने, नेपाली वाङ्मयले निश्चय केही फड्को मार्ने छ  । अहिले नै यस्तो उचाइ प्राप्त गरेको देख्दा लाग्छ, आउँदा दिनमा निकै गम्भीर भएर अघि बढ्ने छ त्यो लेखन । यसै लेख मार्फत भनेँ, सिन्धिया ! तिमीले सम्पूर्ण कुरा छोडेर अब शब्दसँग खेल्न थाले हुन्छ, रम्न थाले हुन्छ ।

शायदै यस्तो सौभाग्य मिल्छ, आमा पुस्तक तयार गर्ने छोरी भूमिका लेख्ने, जुन दुर्लभ कुरा हो । त्यो पनि उच्च अभिव्यक्तिमा । सिन्धियाको लागि यो एउटा माइल स्टोन हो । आमाको पुस्तकमा छोरीले त्यो पनि किशोरी छोरीले प्रस्तावना लेखेको, मेरो अनुभवमा यो पहिलो कृति हो । यसले एउटा राम्रो सन्देश दिनेछ  । एउटा नवीन परम्परा स्थापित हुने निश्चित छ । आमाको ठाउँमा कतै बाबुले कृति तयार गर्लान् अनि पुस्तकको चिनारी  छोरा या छोरीले गर्लान् । जेहोस् लेख्छन् । एउटा मोह भाव यसले पैदा गरेको छ । यो कृति पढिसकेपछि एउटी आमालाई लाग्ने छ, म पनि यस्तै छोरी जन्माउन सकूँ ।  म एक अविवाहिता हुँ तर पनि मलाई एक किसिमको त्यस्तै सोच आयो ।

निर्मल तलाउमा तरङ्ग पढिसक्दा मलाई  दुइटा पुस्तक  अध्ययन गरेको महसूस भयो । एउटा कृति बराबरको ओजन भूमिकाले प्राप्त गरेको छ । पुस्तक समीक्षाको निम्ति यी कुरा मैले  बोल्दै छैन । म एकदम अनौपचारिक निबन्धात्क शैलीमा छु । अतीत र अतीतका अनुभूतिसँगै निस्फिक्रीले बोल्न पाउँदा मलाई बडो तृप्ति मिल्छ । निबन्ध म त्यसकारण लेख्ने गर्छु । समीक्षा, समालोचनामा निश्चित सीमा निर्धारण गरेर व्यक्तिनु पर्छ, त्यसो गर्न मलाई किञ्चित मन पर्दैन । तैपनि बेला बेला अनिच्छाका कर्महरू गर्नु पर्छ, गर्दै पनि छु ।

निर्मल तलाउका कविता पढ्नकै लागि पढेकी हुँ । यद्यपि समीक्षा गर्नको लागि होइन । कविता पढेर जुन सन्तुष्टि प्राप्त भएको छ त्यसलाई व्यक्त गर्न फेरि म ठ्याक्कै जान्दिनँ । अझ भनौँ कविता आनन्द प्राप्तिको लागि पढेकी हुँ, बोधको लागि होइन । काव्यको गहिराइमा पुग्न व्यापक ज्ञान चाहिन्छ अनि संवेदनशील हृदय चाहिन्छ । मेरो कठोर हृदय कविको भाषा बुझ्न नित्य असमर्थ हुन्छ ।

कविले कुन मूडमा भावात्मक शिखर चढेको हुन्छ । त्यो पाठकलाई बोध हुँदैन । त्यस क्षण कविले निजी विम्ब र प्रतीकहरू निर्माण गर्न थाल्छ । उच्च संवेदनामा प्रस्फुतिट भावना र विचारहरू तिनै विम्ब र प्रतीक हुन् । एककिसिमले कविता मौन अभिव्यक्ति हो । आख्यान तथा गद्य साहित्यका अन्य विधामा लेखकले के भन्न खोजेको हो, त्यो सन्दर्भ र पृष्ठभूमिबाट थाहा पाउन सकिन्छ । किन्तु कविता काव्यमा त्यसो हुँदैन, जसले गर्दा कविता बोध गर्ने विषय होइन । सुखानुभूतिसँगै एउटा सम्भावित र अनुमानित अर्थ खोज्ने चेष्टा मात्रै हो ।

त्यसो त मूर्त कविता काव्यमा पाठकले त्यस किसिमको कठिनाइ झेल्नु पर्दैन । ती सिधा हुन्छन्, प्रष्ट हुन्छन् । फेरि त्यसको सार्थकता पनि कम्ती नै हुन्छ । एकचोटि बुझेपछि बुझ्न बाँकी केही रहँदैन । फर्किएर हेर्ने, के रहेछ त भनेर घोत्लिने, त्यसको वरिपरि झुम्मिने कोही हुँदैन । मौरीको फोस्रो चाकाजस्तै । मह काढ्न, हात चाट्न, मौरीसँग जुध्न, उसको टोकाइ सहन आवश्यक पर्दैन ।

त्यस्तै शशी भट्टराईका कविता मूर्त र अमूर्तका बीचमा छन् । केही मूर्त छन् । केही अमूर्त पनि छन् । एकथरि मूर्त र अमूर्तका मिश्रण छन् । पैँतीस थान कवितामा, शशी बेग्ला बेग्लै तरिकाले उद्भाषित भएकी छन् । सुन्ने गर्छु कविको हृदय निकै कोमल, काफर हुने गर्छ रे ! साधारण कुराले पनि छालहरू उठाउने, सुनामी ल्याउने खालको । त्यो कुरा सही जस्तै लाग्छ । निर्मल तलाउमा जुन कुरा बोध गर्न सकिन्छ । भाव उत्पन्न गराउने, कविता लेख्न आह्वान गर्ने तरङ्ग सूक्ष्म छन्, त्यति नै जटिल पनि । कविको मनमा छिन छिनमा आइरहने हलचलले नै शक्तिशाली कविताहरू सिर्जना हुने गर्छन्—

कहिले फेरि,

पसल र मार्टहरूमाकहिले फाइभ स्टार होटलमा बसेर

स्याम्पियनको चुस्की  लिन्छु भन्छ,

कहिले फेरि

दौडेर तपोवनमा गई ध्यानमा हराउँछु भन्छ ।

कहिले,

आफ्ना पीर र व्यथाहरूलाई

कागजका पानाहरूमा

रङ्गीन पुतली बनाइ उडाइदिन्छु भन्छ,

आँखाभरिका सपना बेची आउँछु भन्छ ।

कहिले कैयौँ घरहरू बगार बनाई भाग्ने खोलालाई

समातेर जेलमा हाल्छु भन्छ …

                       कान्छाको योजना (पृ–२९) ।

कान्छाको योजनमा यो के भन्न खोजिएको हो ? त्यति मूर्त छैन । व्यक्त भएर पनि अव्यक्तजस्ता लाग्छन् । किन्तु कान्छाको अस्थिर चित्तवृत्ति भने ठम्याउन सकिन्छ  ।

निर्मल तलाउमा कविको मनोजगत् सशक्त छ ।  एउटा समीक्षकले विश्लेषण गर्ने कुरा यहाँ प्रशस्त छन् । अस्थिर र भ्रष्ट राजनीतिले सिर्जना गरेका जटिलता आइरहन्छन् । मातृ वात्सल्य प्रबल छ । कोभिडको हाहाकार व्याप्त छ । माया प्रीतिको कुरा गहिरो छ । पटक पटक गरिने ‘तिमी’ को सम्बोधन फेरि कसलाई हो ? प्रायः अमूर्त नै छ त्यो सम्बोधन । प्रियसी, ओ डियर, प्रियजस्ता शब्द दोहोरिरहन्छन् । प्रेमका गीत गाएर नथाक्ने शशीका कविता पढेपछि प्रेम गर्न नजान्नेहरू पनि प्रेम गर्न थाल्नेछन् । जीवनमा आइरहने आशा निराशा त्यो स्वाभाविक छ । सपना छ । प्रतीक्षा छ । छिमेकी (देश) ले दुखाएको मन बेलाबेलै बल्झिएको छ । आयातीत शब्द प्रयोगले उनका कविता प्राकृतिक  र अत्तरको बास्ना मिसाएको, एउटा भिन्न सुवासजस्तो लाग्छ । ती सुहाउँदिला छन् । स्वाभाविक छन्—

बाँकी एक–दुई सुइनाहरू

उसको अङ्गालोमा बेरिएर,

रसियन स्याम्पिएनको प्यालामा

चियर्स भएर रित्तिए ।

होटल र रिसोर्टहरू,

ठमेलका बैँसालु गल्लीहरूमा,

पाटनका  हिटी र तालहरूमा

कैँयन् समय

रोमियो र जुलियट सम्झँदै

हामीले डुमेरो लगाइरह्यौँ

                    सुइना (पृ–२४) ।

अग्र पृष्ठमा, कविताका कुरामा उनी भन्छिन्, “भविष्यका कुनै पनि कुराहरू अगाडि थाहा नहुनाले नै मानव जीवन सुन्दर छ ।” लाग्छ शशी वैचारिकतामा रमाउने स्रष्टा हुन् । एकै वाणीले म प्रभावित भएँ ।  भविष्य सधैँ अज्ञात  हुन्छ, उनले भनिरहँदा मलाई यो कुरा सम्पूर्ण ठीक लागेन ।  किनकि निर्मल तलाउ पढ्दा उनको साहित्यिक भविष्य सुनिश्चित देखिन्छ । यति राम्रा कविता लेख्ने उनीलाई मेरो एउटा अनुरोध छ— अरू विधामा लाग्नु नलाग्नु म भन्दिनँ तर काव्यिक मार्ग भने नछोड्नु होला । निर्मल तलाउले यही कुरा निर्देश गरेको छ ।

त्यो लुसिड ड्रिममा इतिहासका सतीलाई सम्झिँदै उनी भन्छिन्—

मलाई फकाउँदै भनेः

मेरी प्रियसी,

झूठो इतिहास नपढ,

त्यहाँ मलाई मारिसके,

म जीवितै छु र तिमीलाई आजसम्म पर्खिरहेछु

सयौँ ऋतुहरू यसैगरी तिम्रो प्रतीक्षामा बिताएँ

नपत्याए सोध्नु यी हिटीहरूलाई …  (पृ–४२)।

एउटा स्रष्टासँग यति ठूलो साहस हुन्छ कि असम्भव कुरामा पनि ऊ सम्भव देख्न थाल्छ । कल्पनामा उसले इतिहास बदलिदिन्छ, अनौठा सपनाहरू ऊ देख्ने गर्छ—

उसका कथाहरू अनौठा हुन्छन् ।

त्यहाँ, बुद्ध बन्दुक बोकेर दौडन्छ

अनि

हिट्लर शान्ति वार्तामा बस्छ ।

सर्रियल उसका कथाहरूमा,

ऊ  सरकार बन्छ र

लिम्यियाधुरामा ग्रेटवाल सार्छ,

स्वास्थ्य र शिक्षा निशुल्क पार्छ र

किताबहरूमा कर फ्रि गरिदिन्छ  (भद्र मान्छे, पृ–४७) ।

यो देशभक्त नागरिकको  प्रतिनिधि वाणी हो । उसको अपेक्षा हो । प्रतीक्षा हो ।  सुखद सपनाको परिकल्पना हो ।

कविका मनमा अनेक प्रश्न छन्, व्यापक विषय छन् । मायालु भाषामा कविता प्रिय छन् । पाठकलाई कुतुहलता पैदा गराउने शीर्षकले, निर्मल तलाउ अरू बढी सार्थक देखिन्छ । साहित्य सिर्जना गर्नु र शीर्षक छनोट गर्नु बराबरी शिल्पका कुरा हुन् । महत्त्वका कुरा हुन् । विद्यमान समयमा महिला हिंसा र बलात्कारका घटना मामुली छन् । त्यसैको व्यङ्ग्यमा त्यो एक रात ओहो ! रचिएको छ—

त्यसै बेला,

पर कुनाबाट एक हुल स्वास्नीमान्छे चिच्याए,

कसैलाई श्रवण कुमार चाहिएको छ ?

आऊ,

यहाँ धेरै पाठेघरहरू खाली छन्

तिमीले छानेर विर्य भर्न पाउनेछौँ,  (पृ–५८) ।”

कविहरू बडो आश्चर्यका कुरा गर्छन् । अझ अगाडि आफ्नै मृत्युमा रोएको सन्दर्भ छ ।  ऊ र उसको वाइन ग्लासमा फेरि के भन्न खोजिएको हो ? प्रिय पाठक एकपटक आफैँले पढेर बुझ्ने कोसिस गर्नु ल … । यतीलाई प्रेम प्रस्ताव राख्छिन् फेरि अर्को पृष्ठमा ।  देशको विसङ्गतपूर्ण राज्यव्यवस्थाप्रति उनलाई दया लागेको छ—कठै नेपाली कानून त्यसैको प्रतिमा बनेको छ ।

सम्सरामा आफ्नो दाजुको असामयिक मृत्यु र मृत्युको सत्यतालाई स्वीकारिएको छ । त्यो घटना थाहा नभएकालाई कवितामा के भन्न खोजिएको थोरै पनि बोध हुने छैन । अलमल पर्ने छन् । त्यस्तै अरू पनि केही कविता अलमल पार्ने खालका छन् । मृत्युको अवस्यम्भावितालाई स्वीकार्न समर्थ हुनु साधारण कुरा होइन । कविको सम्यक दृष्टि दिव्य लाग्छ । मृत्यु सबैको साझा सत्य हो भन्ने जानेर पनि हामी त्यसक्षण नजान्ने हुँदा रहेछौँ ।

शशी बेलाबेलै दार्शनिक मूडमा हुन्छिन् । त्यतिखेर उनका कविताले वैचारिक मार्ग समात्छ—

जीवनको अन्तिम सार …

भुल्नु भुलाउनुको सङ्घर्ष हो, (पृ–६१) ।

महामारीले आक्रान्त समयमा कोभिडसँग प्रेम साटेर भ्यालेन्टाइन डे मनाउन मञ्जुर कविको भनाइ बडो साहसिक लाग्छ, यसले कोभिडको क्रुरतालाई संकेत गरेको छ । मानव इतिहास नै डगमगाएको समय त्रासदी छ । घरी घरी कविका कविताले सरकारलाई चुनौती दिएको छ । प्रश्न गरेको छ । उत्तरकोरियाको कानूनसँग नेपालको कानून साट्ने कुरा गर्नु भनेको, देशको अर्थव्यवस्था तथा राज्यव्यवस्थाप्रति आमनागरिकको उदासीनता, निराशा र आक्रोसको सूचक हो ।

आफैँ कवि भएर फेरि कुन कविलाई भनिएको हो कुन्नि—तिम्रो कविता यस्तो होस् ।

शशीका कविता सम्बन्धमा बोल्दै गर्दा मलाई अलिकति त्रास पनि छ, भोलि उनकी छोरीले के भन्ने हुन् ? उनको भूमिका नजिक म थोरै पनि पुग्न सकेकी छैन । त्यही नपुग्ने थाहा पाएर नै मैले निबन्धको शैली रोजेँ, जहाँ कसैले प्रश्न गर्ने ठाउँ पाउँदैन, निजी विचारमा लेखक यसरी सुरक्षित हुन्छ भन्ने थाहा नपाएकाले फेरि औँला ठड्याउन पनि सक्छन् । भो अब धेरै बोल्दिनँ ।  बरु यहीँ रोकिन्छु  ।

प्रतिक्रिया
Loading...