बस पोखिनु थियो पोखिँए । मनमा छचल्केका भावहरू बटुल्ने गर्थे र त्यसलाई एउटा आकार दिएर श्रोतामाझ पस्कँदा पस्कँदै मुक्तककार कहलिएँ । आफ्ना मुक्तकलाई हरिकृष्ण काफ्लेले समयभन्दा टाढा हुन दिएनन् । मुक्तककारलाई विश्वास थियो मुक्तकको सबभन्दा ठुलो शक्ति समयको अल्झिएको गाठो, प्रतिकूलतालाई अभिव्यक्त गर्नु हो । मुक्तकको शक्ति र स्वायत्तता यदि यही हो भने “इन्द्रेणीको दाग”मा रहेका मुक्तकबाट अभिव्यक्त भएको छ । हरिकृष्णले समयलाई खुब मथेका छन्— आफ्नो मुक्तकमा । मुक्तककारले चिच्याउँदै, कराउँदै आफ्ना शब्द अभिव्यक्त गरेका छैनन्, शान्त र एकाग्र भावले विस्तारै विस्तारै मुक्तकमार्फत प्रहार गरेका छन् । यसकारण हरिकृष्णको मुक्तक आफ्नो समयको वास्तविक इतिहास बनेर आएको छ ।

असम्भवलाई पनि सम्भव गर्न जान्दो रे’छ आँसु
तानाशाही सत्ता समेत हर्न जान्दो रे’छ आँसु,
दुःख छेक्ने आड यै हो सुख बोल्ने भाषा पनि
सुख दुःख दुवै बेला झनै जान्दो रे’छ आँसु ।

कतिञ्जेल बोक्नु पर्ला भार ठालुको ?
घट्नेवाला देखिएन मार ठालुको
कुरा एउटा काम अर्कै बुझ्नै सकिएन,
के गरेर फर्ने होला बिचार ठालुको ?

खोज्न सके शास्त्रभित्र सार पत्ता लाग्छ,
जोखेपछि वस्तुहरूको भार पत्ता लाग्छ,
उसले गर्ने कलाकौशल देखाउने लीला हेरी,
मुखुण्डोको भित्र बस्ने मुहार पत्ता लाग्छ ।

साहित्यकारलाई उसको कृतिमा हेर्न, सुन्न र बुझ्न सकिन्छ । यसको साथै भेटेर कुराकानी गरेर कुनै पनि साहित्यकारको मन र उसको विचारको पत्र पल्टाएर पढ्न सकिन्छ । ‘इन्द्रेणीको दाग’का मुक्तककार हरिकृष्ण काफ्ले मुक्तकमा झै परादर्शी छन्, भित्रैदेखि स्पष्ट भएको हुँदा जीवन र जगतको बोझिल प्रश्नमा अल्झाउनु निरर्थक लाग्दछ । ‘समकालीन नेपाली मुक्तककारहरूका पुस्तामा उनी दह्रोसँग यही विधामा मात्र लागेर नेपाली मुक्तकलाई निकै माथिसम्म पुर्याउने मुक्तकस्रष्टा हुन्’ भनेर समालोचक डा.मुरारि पराजुली लेख्नु हुन्छ । हरिकृष्णको यस पुस्तकमा प्रस्तावना, समर्पण र उपसंहारका मुक्तक छाडेर १०८ वटा मुक्तक छन् । यी मुक्तकहरूले हरिकृष्णको रचना–प्रक्रिया, सरोकार, सोच, देशको अवस्था, मुक्तककारको चिन्ता, समाज, जीवन, परिवर्तन इत्यादी जस्ताको तस्तै मुक्तकबाट बुझ्न पाइन्छ ।

शीतल गिरी

हरिकृष्ण काफ्लेको यो दोस्रो जीवन हो र पहिलो जीवनजस्तै अहिले पनि सृजनशील छन्, पहिलो जीवनमा त बरू, “खानहुने कुरा नखाने, नखान हुने कुरा खाने” पनि गर्थे । घरनजिक बाँसघारीमा कुटी बनाएर साधु बन्ने अभ्यास पनि गरे, घरबाट निस्किएर महिनौं साधुहरूमाझ हराएका पनि थिए । अहिले भने समाज सेवा र मुक्तकमा मात्र रमाउने गरेको पाएको छु । साहित्यक कार्यक्रम गर्न औधी रौसिने, कार्यक्रम समाप्त भएपछि तिरोतारो गर्न बाँकी रहँदा खेती गरिसकेको आफ्नो घरको गोरु फुकाएर बेचीकन तिरेको केही व्यक्तिलाई थाहा छ । मेरो साथमा मिलेर कार्यक्रम गर्दा पनि, ‘केही छैन दादा ! कठ्ठा बेच्नु पर्दैन, धुर बेच्दा पुग्छ । बाउले जोडिदिएका छन् ।’ भनेर हौसला बढाएका थिए र साथ दिए पनि बेच्न चाहिँ परेन है । यहाँ म हरिकृष्णको बारेमा नभएर उनको मुक्तकमा डुब्न खोज्दैछु । उनको मुक्तक आफ्नो समयको प्रतिबिम्ब भएको हुँदा सर्वकालिक बन्न पुगेको छ । मन भन्ने कुरो बुझिनसक्नु रैछ भन्दै हरिले यो समीक्षा कृतिलाई “…… एक मनको मयुँर हो ……” भनेका छन् । वर्तमान समयको व्यस्त मुक्तककार हरिकृष्ण काफ्लेले आफ्ना मुक्तकसंग्रहको बारेमा— “लामो अन्तरालको मगज मन्थन पछि आएको यो पुस्तक, हुन त यो न आएको भए पनि साहित्य जगतलाई केही फरक पार्थेन” भनेर लेखेका छन् । हो फरक पार्यो— प्रकाशित भएपछि हरिकृष्णले नेपाली साहित्यको मुक्तक फाटमा छलाङ लगाउन पुगेका छन् ।

हिजोआज मानिसको जीवन निरस बन्दै गैरहेको छ, साथै खण्ड खण्डमा विभाजित हुँदै जाँदैछ र आर्थिक तृष्णाहरू पनि बढ्दैछ, तब कुनै पनि मुक्तकले जीवन सन्तुलित, संवेदनशील र रसमय बनाउने यत्न गर्छन् नै । हरिकृष्णका मुक्तक विशेषतः अँध्यारोबाट मुक्त हुनको लागि छलांग लगाउन तत्पर रहेको पाइन्छ ।

कुनै पनि लेखकले सामाजिक सरोकारलाई आफ्नो रचनामा स्थान दिनुको अर्थ हो ऊ राजनीतिक रूपमा सजग छ । प्रजातान्त्रिक विचारधारसँग जोडिएका हरिकृष्ण काफ्ले समताको पक्षमा उभिन मन पराउँछन् । जब धर्म र संस्कृतिलाई व्यापार गर्नेले किन्न थाले, तब जन्मोन्मुखी राजनीतिको लागि धर्म, संस्कृति, शिक्षा, स्वास्थ्य र राम्रो जीवन बचाउनको लागि धर्म मुक्तकलाई गतिलो हतियार बनाएर हरिकृष्ण अगाडि सरेको पाइन्छ । जिन्दगी जसरी परिवर्तन हुँदै जान्छ, त्यसरी त्यसरी यसलाई बुझ्ने थाहा पाउने इच्छा पनि प्रबल हुँदै जान्छ— ती अप्ठेरो परिस्थिति, संशय र आकांक्षाहरूलाई मुक्तक बनाएर लेख्ने इच्छा निश्चय नै सामाजिक–सांस्कृतिक प्रक्रियाहरूका परिणाम हुन् ।

एउटा ईमान्दार लेखक सधैं अन्यायको विरुद्ध हुन्छ । यसकारण हरिका मुक्तक वास्तवमा जीवनदायिनी शक्ति र सभ्यता–विमर्श पनि पाइन्छ । मुक्तकको यात्रा दुवैतर्फबाट हुनुपर्दछ । जो बाहिरको संसार छ, त्यसलाई झुठो हो भन्न सकिन्न र आफू भित्रको संसारलाई भने नियमित रूपमा खोजिरहनु पर्छ । यस अर्थमा हरिकृष्णका मुक्तक, उसको मुक्तकत्व, जीवन, जीवन–दृष्टि, रचना–प्रक्रिया, भावनात्मक अनुभव, देशको स्थिति, दैनिक जीवनको परिवेश, साहित्य–साधना, सृजनक्षण, वर्तमान भविष्य, साहित्यको विविध विमर्श, प्रेम, सामाजिक सरोकार, लोक–भाषा, साहित्यको चिन्ता, शिक्षा, राजनीति, आनन्द, ख्याति, समकालीन परिदृश्य, जीवन–मूल्य, प्रतिबद्धताजस्ता तमाम विषयका विचार नेपाली साहित्यको चिन्तनमा नासोको रूपमा अक्षुण्ण रहन्छ ।

हरिकृष्ण काफ्लेको मुक्तकमा समाज नै केन्द्रमा रहन्छ । आफ्नो वरिपरी, संघर्ष, त्रासदी, चुनौतिहरू, शोषण, छल–कपट, पूंजीवादी व्यवस्था, राजनीतिको घृणित चाल, गरीबी, क्रूरता, विषमता आदिलाई मुक्तकका माध्यमले उजागर गरेको छ । हरिकृष्ण काफ्लेको मुक्तक संग्रहको विवेचना गर्न बसेको यस समयमा वर्तमान समयको जीवन र व्यवस्थाको जटिलता नै कतिपयलाई धेरैजसो अवसरवादिता र सम्झौताको लागि बाटो खोली दिएको हुन्छ, किनभने म देख्दैछु त्यस्तो आचरणले नै तिनीहरूलाई समृद्धिको बाटो खोल्दछ । हामी यही तन्त्रमा छौ र त्यस तन्त्रमा नै छैनौं पनि, यसकारण मुक्तकमा यसको विरोध गरेको पाइन्छ । यसकारण म निरन्तर चिन्ता गर्दछु— सत्ता, व्यवस्थाको निरंकुशताको बीच रचना–कर्म नै स्वाधीनतालाई कसरी बचाउन सकिन्छ । हो यस्तो लडाई र कष्टले स्रष्टामा ऊर्जाको काम गर्दछ र निराशा पन्छाएर कर्तव्यप्रति उत्साह जगाउँछ ।

हरिकृष्ण काफ्ले आशा र ऊर्जाका मुक्तककार हुन् । राजनीति र व्यवस्थाबाट उनको मोहभंग भइसकेको छ । आफ्नो जीवनको उद्देश्य नै मनुष्यको स्वाधीनता र मनुष्यको समताको लागि लेखन अपनाएको जस्तो लाग्दछ । यिनको यो मुक्तककारले भविष्य खोज्ने कोशिस गरेका छन् । शोषणविहीन समाजको आशा व्यक्त गरिएको छ ताकि मनुष्य सुखमय, शान्तिमय, तनावरहित जीवन बाँच्न पाउन । मनुष्य जातिका तर्फबाट मुक्तककार हरिकृष्ण काफ्लेको इच्छा यस समीक्षा कृति केलाउँदा हामी बाचेको समाज विषमतारहित बनोस्, अहिले देखिएका अनेकौं थरिका विषमताहरू चाहे ती जाति, चाहे धर्म, चाहे अशिक्षा, चाहे स्वास्थ्यको नै होस्, त्यसबाट मानिसले थोरै भन्दा थोरै पनि कष्ट भोग्न नपरोस् । यो सत्य हो जो सुकै लेखकले बाहिरी दबाबको सामना झेल्नै पर्छ, लेखकले सधैं आन्तरिक दबावको कारणले मात्रै लेख्दैन । बाहिरबाट हेर्दा हरिकृष्ण अव्यवस्थितजस्तो लाग्दछ तर ऊ आफ्नो चेतनास्तरमा सन्तुलित भएको हुँदा नै यथार्थको धरातलबाट एकरत्ति नडगमगिएका चोटिला मुक्तक लेख्न सकेका हुन् ।

हरिकृष्ण काफ्लेको जीवन, चितन, सृजन–प्रक्रिया व्यापक चिन्ता, समयको धुकधुकी र मनुष्य जीवनको प्रगतिको लागि सङ्घर्षले मुक्तककारलाई चिन्न सघाएको छ ।