नेपाली साहित्यका परिपक्व समालोचक लक्ष्मणप्रसाद गौतमको पहिलो कथासङ्ग्रह ‘ऊहापोह’मा प्रचलित मान्यताभन्दा केही पृथक् कुराहरु चित्रण गरिएको पाइन्छ । उनको यस कथाकृतिमा साइबर संस्कृति, डिजिटल प्रेम, अन्तरिक्षमा हनिमुन, परदेश र स्वदेशमा अन्तर, मानवीय संवेदना तथा मनोविज्ञानको फरक तरिकाले प्रयोग गरिएको छ । समसामयिक कथाभन्दा फरक धारका यी कथामा समकालीन नेपाली जीवनको पृथक् चित्रण पाइन्छ ।

आरम्भ

सर्जक तथा समीक्षक लक्ष्मणप्रसाद गौतम (२०२०) को कथासङ्ग्रह हो ‘ऊहापोह’ (२०७४) । त्यसो गौतम नेपाली साहित्यको मूलतः समालोचना लेखनमा क्रियाशील व्यक्तित्व हुन् । हालसम्म उनका नेपाली समालोचनाका डेढ दर्जन जति कृति प्रकाशित भइसकेका छन् । उनले नेपाली समालोचनाका अतिरिक्त छिटफुट रुपमा फुटकर कविता, कथा र निबन्धमा पनि कलम चलाउने गरेका छन् । उनका फुटकर रुपमा विभिन्न पत्रिकामा प्रकाशित र केही नयाँ कथाहरुलाई सङ्कलन गरी ‘ऊहापोह’ (२०७४) नामक कथाकृति प्रकाशित भएको पाइन्छ । उक्त कथाकृतिमा प्रचलित मान्यताभन्दा केही पृथक् रहेर साइबर संस्कृति, मानवीय संवेदना तथा मनोविज्ञानको प्रयोग गरी लेखिएका यी कथामा समकालीन नेपाली जीवनको मार्मिक चित्रण पाइन्छ ।

लामाछोटा गरी जम्मा चौधवटा कथाहरु समेटिएको ‘ऊहापोह’ कथासङ्ग्रहका कथामा समकालीन जीवनमा राम्ररी भिजेको साइबर जीवन राम्रोसँग घुसेको छ । नेपालीले वर्तमानमा भोग्ने गरेका भोगाइ नै यसका कथाका विषयवस्तु हुन् । आजको पुस्ताका साथमा भएका परिवार, साथीसँगी, पति–पत्नीभन्दा पनि भर्चुअल रुपमा भेटिएका साथीसँग बढी रमाउने गरेका मान्छेको चित्रणमा यी कथाहरु केन्द्रित रहेका छन् ।

साइबरप्रेमको छोटो चिनारी र ‘ऊहापोह’ मा त्यसको सन्दर्भ

हिजोआज मान्छे प्रत्यक्षभन्दा पनि इन्टरनेटमा भएको भेटघाटमा रमाउने गर्दछन् । यसरी इन्टरनेटका माध्यमबाट भेटिएका र त्यसमै जोडिएका मान्छेका बीचमा विकास हुने प्रेम नै साइबरप्रेम हो । यसका लागि सेलफोन, कम्प्युटर, ल्यापटप, पामटपलगायतका साधन तथा इमेल, भाइबर, फेसबुक, मेसेन्जर, ट्विटर, ह्वाट्स् एप आदिजस्ता प्रोग्रामले सहयोग पुर्याउँछन् । यस्था गतिविधि विद्युतीय तरङ्गका माध्यमबाट सञ्चालित हुन्छन् । यसर्थ त्यसका लागि विद्युत् मात्र नभई इन्टरनेट पनि अत्यावश्यक हुन्छ । यसरी आजका युवा प्रत्यक्ष्य दुनियाँभन्दा साइबर दुनियाँमा हराउने र प्रत्यक्ष प्रेमभन्दा साइबरप्रेममा रमाउने गरेका छन् । त्यसैको खोजी गर्नु यो आलेखको मुख्य काम हो ।

‘ऊहापोह’ भित्रका कथामा साइबरप्रेम

साहित्यकार लक्ष्मणप्रसाद गौतमद्वारा लेखिएका कूल चौधवटा कथाहरु सङ्कलन गरी तयार पारिएको ‘ऊहापोह’ कथासङ्ग्रहका मूलतः ‘नाइटबल्बको उज्यालो–१’, ‘नाइटबल्बको उज्यालो–२’ र ‘उत्तरआधुनिक प्रेम’ शीर्षकका तीवनटा कथामा साइबरप्रेम बढी मात्रामा आएका छन् भने बाँकी कथामा छिटफुट रुपमा आएका छन् । यहाँ यिनै तीनवटा कथालाई आधार मानेर उक्त कृतिमा प्रतिबिम्बित साइबरप्रेमको चर्चा निम्न उपशीर्षकमा गरिएको छः

रमेश प्रभात

‘ऊहापोह’ भित्रका कथाको कथावस्तुमा साइबरप्रेम : लक्ष्मणप्रसाद गौतमद्वारा लेखिएको ‘ऊहापोह’ कथासङ्ग्रहका कथामा आजका युवायुवतीले रमाउने गरेको साइबर दुनियाँको सुन्दर चित्रण गरिएको छ । यसमा सङ्कलित चौधवटा कथाहरुमध्ये ‘नाइटबल्बको उज्यालो–१’, ‘नाइटबल्बको उज्यालो–२’ र ‘उत्तरआधुनिक प्रेम’ शीर्षकका तीवनटा कथामा साइबरप्रेम राम्ररी मौलाएको छ । यी प्रतिनिधि कथामा अभिव्यक्त साइबरप्रेमको कथानकलाई निम्नानुसार समीक्षा गरिन्छः

‘नाइट बल्बको उज्यालो–१’ कथा बिन्दु नामक महिला पात्रले बयान गरेको उसको आफ्नै कथा हो । यो कथा साइबर दुनियाँमा हराउने दुई नारी र पुरुषको कथा हो । यो कथामा पूर्वी तराइमा काम गर्ने सरोज र पश्चिम तराइमा काम गर्ने बिन्दुको भेट काठमाडौँमा मन्त्रालयले आयोजना गरेको एउटा सेमिनारमा भएको कुरा कथाको बीचतिर देखाइएको छ । त्यसपछि उनीहरु आ–आफ्नो मोबाइल नम्बर र इमेल साटासाट गरेर छुट्टिन्छन् । आ–आफ्नो कार्यथलोमा गएपछि उनीहरु साइबर दुनियाँमा जोडिन्छन् । विवाह बन्धनमा बाँधिइसकेका यी दुबै व्यक्ति आफ्नो परिवारभन्दा पनि साइबर दुनियाँमा बढी रमाउन थाल्छन् । आफ्नो पति सुतेको मौकामा बिन्दु च्याटमा जोडिन्छे । उनीहरु एक अर्कालाई अघ्घोरै माया गर्छन् । यतिसम्म कि एक अर्कासँग भर्चुअल कुराकानी नगरी बस्नै नसक्ने अवस्थामा पुग्छन् । कथाको अन्त्यमा सरोजले मेलमा आफ्नो भोगाइलाई कथा बनाएर पठाउँछ । बिन्दुले त्यो पढ्दै गर्दा कथा टुङ्गिन्छ ।

‘नाइट बल्बको उज्यालो–२’ कथा ‘नाइट बल्बको उज्यालो–१’ कथाको सिक्वेल कथा हो । यसमा पहिलो कथामा पुरुष पात्रले पठाएको कथा महिला पात्रले पढ्दै गरेकोबाट कथा अगाडि बढ्छ । यसमा महिला पात्रले आफ्नो जीवन भोगाइ अभिव्यक्त गरेकी छ । यसमा उसले आफ्नी आमाले दिएको अर्तीभन्दा ठीक विपरीत काम गर्दा आफूलाई आनन्द आउने गरेको कुरा बताउँदै घरमा भएको लोग्ने सुतेका बेलामा साइबर दुनियाँको प्रेमीसँग गफिन मन लाग्ने कुरा गरेकी छ । यसो गर्दा कतै आफूले गल्ती त गर्दै छैन भन्ने पनि लाग्छ, तर ऊ साइबरप्रेममा रमाउँछे । च्याटमा बस्ने वातावरण मिलाउनका लागि लोग्नेलाई लाग्ने गरी रक्सी खुवाउने गर्छे र आफू उन्मुक्त भएको महसूस गर्छे । छोराछोरी होस्टलमा राखेर लोग्नेसँग उन्मुक्त बाँचेकी ऊ लोग्नेको आँखा छलेर साइबर दुनियाँको प्रेमीसँग अन्तरङ्ग वार्तालापमा भुल्छे ।

‘उत्तरआधुनिक प्रेम’ पृथ्वी रहेका दुई फरक प्रेमिका र अन्तरिक्षमा काम गर्ने दुई फरक प्रेमीको साइबर संवादमा मग्न कथा हो । यसमा उनीहरु साइबर दुनियाँमा रमाउने गरेको, विहेभन्दा पहिला अन्तरिक्षमा हनिमुन मनाउन चाहेको, विहेपछि अन्तरिक्षमा घर बनाएर बस्न चाहेकोजस्ता अजीव खालका कुरा गर्छन् । उनीहरु विभिन्न खालका यन्त्रबाट कुराकानी गर्छन्, त्यसलाई म पात्रले कम्प्युटरका माध्यमबाट नियालिरहेको हुन्छ । यस्तैमा फरक अन्तरिक्ष यानमा चढेर ती दुई युवती अन्तरिक्षमा जान्छन् । त्यहाँ पुगेर उनीहरु आ–आफ्ना प्रेमीहरुसँग भेटिन्छन् र साइबर सेक्समा लिप्त हुन्छ । त्यसपछि उनीहरु रोबोट मात्र बन्दैनन्, फटाफट रोबोट जन्माउन सुरु गर्छन् । कथाको अन्त्यमा म पात्रले आफूलाई कसैले रिमोटकन्ट्रोलरद्वारा सञ्चालन गरेको थाहा पाउँछ । यसरी साइबर दुनियाँको प्रेममा रमाउने दुई जोडी युवायुवतीको कथालाई यसमा उतारिएको छ ।

‘ऊहापोह’भित्रका कथाको परिवेशमा साइबरप्रेम  : ‘ऊहापोह’ कथासङ्ग्रहका ‘नाइटबल्बको उज्यालो–१’, ‘नाइटबल्बको उज्यालो–२’ र ‘उत्तरआधुनिक प्रेम’ शीर्षकका तीवनटा कथामा साइबरप्रेम बढी मात्रामा चित्रित छन् । यहाँ त्यसखालको साइबरप्रेमका लागि कस्तो परिवेश बनेको छ भन्नका लागि ती कथाबाट केही साक्ष्यहरु लिएर निम्नानुसार समीक्षा गरिएको छः

‘नाइट बल्बको उज्यालो–१’ कथाकी समाख्याता बिन्दुले साइबर दुनियाँमा रमाउन तयार पारेको परिवेशलाई तलको साक्ष्यले पुष्टि गर्छः
आज मेरो अफिसको वार्षिकोत्स थियो र उत्कृष्ट काम गरेबापत म पुरस्कृत भएकी थिएँ । त्यस खुसीयालीमा उहाँलाई एउटा रेडलेबल ल्याइदिएँ । उहाँले खुसी भएर मेरो गालामा चुम्बन बर्साउनुभयो । मेरो योजना सफल हुने आशामा म भित्रभित्रै खुसी थिएँ । त्यो खुसीयालीमा मैले आधा पेग लिएँ र उहाँलाई अलि बढी नै पिलाएँ ।

आज कम्प्युटरमा मेल चेक गर्न नभ्याएको ठ्याक्कै दुई दिन भएछ । सरोजका एघारवटा मेल आइसकेका रहेछन् । कुनै मेल त निकै लामा पनि थिए । ऊ मेलमा प्रायः कुरा दोहोर्याउँदैनथ्यो । मलाई नयाँ कुरा भन्न पाए ऊ निकै प्रफुल्ल हुन्थ्यो । ऊ प्रायः साहित्यिक शैली प्रयो गर्थ्यो । पहिले उसका सबै मेल खोल्दैथिएँ । एउटा मेलमा आँखा पर्यो । चौध पृष्ठको लामो रहेछ । त्यही पढ्न थालेँ । ऊ अत्यन्त भावुक थियो र भावुक र व्यावहारिक दुवै भएर लेखेको थियो । उसको मेलका केही हरफमा म हराउँदै गएँ ।

“प्रिय कुमदिनी ! लेख्न कहाँबाट थालूँ, म अलमलिँदै छु । मलाई कैयौँ नारीहरुले प्रत्यक्ष वा अप्रत्यक्ष आफूतिर तान्न खोजे म कमजोर भइनँ । तर तिम्रो मेलका चार हरफले म कमजोर भएँ, विखण्डित भएँ र आफैँसँग हारेँ ।” (पृ. ५२)

माथिको साक्ष्यमा नारी पात्रले पुरुष पात्रसँग च्याटमा बस्न, उसको मेल हेर्नका लागि आफ्नो पतिलाई रक्सी खुवाएर सुताएको कुरा गरिएको छ । एकान्त वातावरण सिर्जना गर्न यतिविधि मेहनत गर्नु साइबरप्रेमका लागि उचित परिवेश मिलाउन खोज्नु सिवाय अरु केही होइन ।

त्यस्तै खालको वातावरण तलको साक्ष्यामा पनि तयार परिएको छ । लोग्नेले पार्टीमा टन्न पिएर आएको अवसर छोपेर ऊ च्याटमा बसेको कुरा कथामा यसरी देखाइएको छ,

आज फेरि के भयो ? मन थाम्न सकिनँ । आज उहाँ पार्टीमा खाएर आउनुभएकोले मस्तसँग घुरेर निदाइरहनुभएको थियो । यही मौका छोपेर म पनि सुटुक्क सिरक पन्छाएर मोबाइल च्याटमा गएँ ।

यो साइबर दुनियाँ नभएको भए कसरी गहिरो हुनु हाम्रो प्रेम ? (पृ. ६२–६३)

‘नाइट बल्बको उज्यालो–२’ कथामा साइबर दुनियाँमा हराउनका लागि एउटी विवाहित नारीले सँगै सुतेको पतिबाट समय निकाल्न के के गर्न सक्छे भन्ने कुरालाई तलको साक्ष्यले स्पष्ट पारेको छ,

अब उहाँ ब्युँझनुहुन्न कम्तीमा पनि दुई÷तीन घण्टालाई । सिरक पन्छाएर उठेँ । बिरालोको चालमा गएर ट्याबलेट अन गरेँ, बत्ती नबालीकनै । टेलिफोनको लाइन सेटबाट छुटाएकी हुनाले टेलिफोनको घण्टी बज्ने कुरै थिएन ।

सोचेँ– मोबाइलको घण्टीले उहाँलाई ब्युँझाउन सक्छ । उहाँको र मेरो मोबाइल भाइब्रेसनमा राखेँ । मेरो मनमा भने अर्कै किसिमको भाइब्रेसन थियो, जसले मेरो मुटु ढुकढुक गराइरहेको थियो । (पृ. ६७)

प्रत्यक्ष भेटभन्दा पनि साइबर दुनियाँमा रमाउनेहरु मोबाइलमा फोन गर्ने, च्याट गर्ने, इन्टरनेट र बत्ती गएको बेलामा म्यासेज लेखेर भएपनि आफ्नो मनको कुरा पोख्न कति लालायित हुन्छन् भन्ने कुरा तलको साक्ष्यले प्रष्ट पारेको छ,

म्यासेज गर्न मोबाइल हातमा लिएँ । मध्यरातमा पनि टावर थिएन । दुईतीन पटक प्रयास गरेँ, भएन । म्यासेज टाइप गरेपछि सुस्त ढोका खोली बरन्डामा गएर सेन्ड गर्न खोज्दा पनि भएन । ‘राम्रो सर्भिस दिन नसक्ने भएपछि सिमकार्ड वितरण नगर्नु नि ?’ – दूरसञ्चारप्रति मनमनै आक्रोश पोखेँ । एक मन त लाग्यो– मोबाइल नै हुर्याइदिऊँ तर सकिनँ । (पृ. ७१)

त्यस्तै ‘उत्तरआधुनिक प्रेम’ शीर्षकको कथामा साइबर दुनियाँमा हराएर प्रेमी–प्रेमिकाहरु कसरी प्रेममा मग्न हुन्छन् भन्ने कुरालाई यसरी देखाइएको पाइन्छ,

ती दुवै युवतीका ल्यापटपका स्क्रिनको दायाँतिरको छेउमा तिनका प्रेमीहरुको अनुहार देखिन्छ । चलचित्रको मान्छेसँग कुरा गरेझैँ, ती आफ्ना प्रेमीहरुसँग कुरा गरिरहेका छन् । युवती–१ को प्रेमी मङ्गल ग्रहमा पुगेर त्यहाँ पानी र अन्य तत्त्वहरुको अनुसन्धानमा व्यस्त छ । ऊ फुर्सद मिल्नेबित्तिकै आफ्नी प्रेमिका युवती–१ लाई वेबक्याममा हेर्दै कुरा गर्छ । कहिले अफलाइन म्यासेज पठाउँछ । कहिलेकाहीँ अलि फुर्सद निकालेर च्याटिङमा बस्छ । युवती–२ को प्रेमी पनि अन्तरिक्ष्मा नै छ र ऊ अन्तरिक्ष यानभित्रै आफ्नी प्रेमिका युवती–२ सँग वेबक्याममार्फत् अनुहार हेरेर कुरा गर्दै रोमान्टिक हुन्छ । साइबर सेक्सका कुरा गर्छ । बाँकी कुराहरु उसले पनि युवती–१ को प्रेमीले जस्तै गर्दछ । (पृ. ७७)

यसरी साइबर दुनियाँमा हराउने र साइबरप्रेममा रमाउनेहरुका लागि पनि एकान्त आवश्यक हुन्छ । त्यति मात्र नभएर त्यसका लागि विभिन्न प्रकार विद्युतीय यन्त्र र विद्युत्को समेत आवश्यक हुन्छ । त्यस्तो भर्चुअल वातावरणमा रमाउने बानी परेकाहरु वास्तविक वातावरणमा रमाउन सक्दैनन् भन्ने कुरा यी कथाका साक्ष्यले बताएका छन् ।

निष्कर्ष

समीक्षकबाट आफूलाई कथाकारका रुपमा उभ्याउन सफल लक्ष्मणप्रसाद गौतमको ‘ऊहापोह’ अचेल बजारमा चलेका नेपाली कथाभन्दा फरक धारको कथाकृति हो । उनले समालोचना लेख्ने क्रममा राम्रो लागेका र केही खट्किएका प्रसङ्गहरुको उठान यो कृतिमार्फत् गरेका छन् । आफैँ समालोचक भएका कारण उनले नेपाली कथालाई कुन दिशातिर लैजाने भन्ने कुरा यसमा गरेका छन् । अचेलका युवा हरेक कुरामा नयाँपन चाहन्छन् । यहाँसम्म कि उनीहरु प्रेममा पनि साइबरप्रेम, सेक्समा पनि साइबरसेक्स, हनिमुन पनि अन्तरिक्षमा मनाउन चाहन्छन् भन्ने कुरालाई यी कथाहरुले पुष्टि गरेका छन् । त्यसो हुँदैगर्दा आजका मान्छे मान्छे नभएर रोबोट बन्दै गएको निष्कर्ष उनको ‘उत्तरआधुनिक प्रेम’ कथाले दिएको छ । उनी आधुनिकताका नाममा मानवता हराउँदै गएकोमा चिन्तित छन् । मान्छेलाई मान्छेकै रुपमा रहन दिन यन्त्रमानव होइन मानवको जरुरत भएको कुरा उनका कथाले भन्न खोजेको मूल कथ्य हो ।

अन्त्यमा उनको कृतिभित्रबाट यी संवाद सापटी लिन्छु ः

“म तिम्रो फोटो हेरेर चित्त बुझाइरहेको छु ।”
“म बिम्ब र प्रतीक हेरेर मन बुझाइरहेकी छु । बिम्ब भनेको तस्बीर र प्रतीक भनेको सिरानी ।” (पृ. ५४)

यसरी साइबर संस्कृति, साइबरप्रेमको चित्रण गर्दा पनि मानवताको चित्रण गर्ने गौतम सरको मानवताप्रतिको अगाध प्रेमलाई सलाम गर्दै कलम रोक्छु । शुभमस्तु ।