अनुहारभित्रको आकाश असम गुवाहाटी निवासी इन्दु प्रभा देवीकृत उपन्यास हो । २०२० मा बजारमा आएको यो उपन्यास युवावर्गलाई लक्षित गरेर लेखिएको छ । कथा, कविता, निबन्ध, गजल, मुक्तक सबै विधामा कलम चलाउने विदुषी नारी इन्दु प्रभा देवीको नाम नेपाली साहित्य जगत्मा परिचित नाम हो । उनी असममा रहेर नेपाली साहित्य कर्ममा निरन्तर कलम चलाउने स्रष्टा हुन् ।
तीन खण्डमा विभाजन गरिएको यो उपन्यासभित्र खण्ड एकमा परिचित अपरिचित अनुहारहरु नामक शीर्षक रहेको छ, खण्ड दुईमा तिर्सनाको अर्को पाटो, अर्को बाटो शीर्षक छ भने खण्ड तीनमा सपना पछिको ब्युँझाइ भन्ने शीर्षक रहेको छ । जन्म र मृत्युको बिचमा मान्छेको जीवनले के कस्ता जटिलताहरूसँग जुध्नुपर्छ भन्ने कुरा स्पष्ट रुपमा देखाइएको छ उपन्यास अनुहारभित्रको आकाशमा ।
यो कृति युवावर्गलाई लक्षित गरेर लेखिएको हुनाले सामाजिक उपन्यासजस्तो सरल कथामा बुनिएको भने छैन । धेरै पात्र र उपकथाहरु यहाँ जेलिएका छन् तर कथाले बाटो नबिराइकन पाठकलाई अन्त्यसम्म तानिरहन्छ । मुख्य पात्रलाई नछोडिकन लेखकले उपन्यास टुङ्ग्याउनु चानचुने कुरो होइन ।
प्रत्येक स्रष्टाका विषयवस्तु भिन्नाभिन्नै हुन्छन् । कति कृतिहरू ज्ञान दिने हुन्छन् त कति कृतिहरु यस्ता हुन्छन् कि त्यसभित्र कुनै गुदी नै हुँदैन । कतिपय नाम चलेका साहित्यकारले पाठकलाई धोका दिएका उदाहरण पनि प्रसस्तै छन् । समय बर्बाद गरिदिने त्यस्ता लेखकप्रति पाठकको विश्वास हटेर जानु स्वाभाविक नै हो ।
यो उपन्यासको कुरा गर्दा, दुई सय साठी रुपैयाँमा यति ज्ञान किन्न कहाँ पाइन्छ ? यताका लेखकले यो किताब लेखेको भए छ सय रुपैयाँ यसको मूल्य कम्तिमा तोकिन्थ्यो होला । यो किताब पढेपछि मलाई यस्तो लाग्यो, असम कति चुपचाप बस्न सकेको ? आफ्नै देशकी एउटी नारी स्रष्टाबाट यस्तो उत्कृष्ट पुस्तक बजारमा आएको छ । कतै खल्लीबल्ली छैन, हाम्रो यता भए कत्रो मान सम्मान इज्जत हुन्थ्यो । उताका बासिन्दाहरुले साहित्य पढदैनन् जस्तो लाग्यो मलाई ।
आवरणको अमूर्त चित्र र किताबको नामले नै पाठकलाई बेस्सरी लोभ्याउँछ । असमदेखि किताब ल्याइदिनु हुने दाजु गोविन्दराज भट्टराईलाई धेरै धेरै धन्यवाद टक्र्याउन चाहन्छु किनभने यस किताबले, अझ यसको प्रमुख पात्रले मलाई धेरै पाठ सिकाएको छ ।
डाक्टर राजीव भण्डारी
उमेर ३२ वर्ष
लखिमपुर गाउँ ,असम।
एउटा भुलभुलैयाको बजारमा पसेर रमिता हेरेझैं जीवनलाई हेरेको छ राजीवले, आफ्नो यात्रा कालमा उसका पैतालाहरुले कहिले उसलाई आल्हादका समुद्री छालसित जिस्किन पुर्याएका छन् भने कहिले पीडाको आहालमा भासिन छोडिदिएका छन् अनि कहिले चढाएका छन् कुनै निर्विकार चुचुरामा । पिठ्युँमा मरिकुच्चे प्रमाणपत्रको भारी बोकेर जागिरको खोजीमा दौडिने केटो राजीव कलेजमा पार्ट टाइम क्लास लिन्छ, घर घरमा गएर टिउसन पढाउँछ आफ्नो जिन्दगी चलाउन । गाउँमा कान्छी आमा र बुवा बस्छन् तर ऊ पढेलेखेको छोरो गाउँमा गएर बस्न मन पराउँदैन । राजीव सहरको गुणगान गाउँछ– एक्लै–गुवाहटीसँग जादु छ, मोहनी छ, लट्याउने राग छ । त्यसैले त म यहाँ लाटिएको छु नत्र के छ र म यहाँ बस्नै पर्ने कारण ?
एउटै कलेजमा सँगै पढाउने नम्रतासँग राजीव आफ्ना दुःख सुखका कुराहरु सेयर गर्छ । उनीहरू दुवैजना स्थाइ जागिरको लागि सँगसँगै आवेदन दि’रहन्छन् तर नतिजा आफ्नो पक्षमा आउँदैन । राजीवका एकजना मायालु सर छन् धरणीधर चौधरी । उनी ५५ वर्षका छन् । उनी एक्लै भएकाले एकजना भोला भन्ने केटाले उनको हेरविचार गर्ने गर्छ । धरणीधर सरको जीवन रहस्यमय छ, उनी एक्लो हुन्छन् जीवनभरि तर अन्त्यमा उनको छोरो र श्रीमती कथामा अचानक देखापर्छन् । रेलको लिकमा दुई टुक्रा भएकी अर्पितालाई राजीवले कथाभरि सम्झिरहन्छ, पहिलो प्रेमिकाको रुपमा ।
यो उपन्यासभित्र असाध्यै सुन्दर गाउँ लखिमपुरको चिनारी गराउन सफल छन् लेखक, त्यहाँ राजीवको लखिमपुर गाउँ आउँछ, गाउँ सँगै जोडिएर उसका बाबुआमा आउँछन् । राजीवले सधैं गरिरहनु परेको सङ्घर्ष र त्यागले उसलाई कहिल्यै सुखको संसारमा पुर्याउँदैन । उसको जीवनमा एक पछि अर्को गरेर दुःखहरु लाइन लाग्छन् । नगरेको कामको दोष उसको टाउकोमा जवर्जस्ती थोपरिँदा अत्याचार सहनु हुन्न, तिमी उठ बोल, तिमीसँग म छु भनेर पाठकलाई चिच्याउन मन लाग्छ ।
राजीव भण्डारी चन्दन सइकियाको दुई कोठे घरमा बस्छ । आफ्नो कोठाबाट नजिकै भएकाले ऊ ब्रह्मपुत्र नदीको किनारमा गइरहन्छ मनको बह बिसाउन । कहिले एक्लै त कहिले नम्रता र प्रतीकसँग । ब्रम्हपुत्रको साँझमा घाम डुबेको हेर्न कसलाई पो मन नपर्ला र ? राजीव नदीको किनारमा बसेको उत्ताउलो हाट हेर्दाहेर्दै शान्त घाटसम्म पुगेर सबैतिर नियाल्छ । प्रेमी युगलले मदहोस् बनेको घाटको पार्कमा ऊ एक्लै टोलाउँछ । तिब्बतको दक्षिणमा कैलाश मानसरोवरको निकटको आँसु ग्लेसियर नामको हिमालबाट बगेर आएको छ यो । ब्रह्मपुत्र नदी यसरी तिब्बतदेखि चीन भारत हुँदै बाङ्लादेशसम्म फैलिएको छ । पूर्वोत्तर भारतको प्रमुख यो नदी एसियाकै सबैभन्दा लामो र पुरुष नाम भएको नदी हो । उमानन्द टापू ब्रम्हपुत्रको अथाह गर्जनको बिच अडिग र निडर भइ उभिइरहेको छ । ऊ एक्लै छ, यो भयङ्कर गर्जनको बिच पनि एक्लो….सायद राजीव जस्तै ।
राजीव भन्छ – “द अलकेमिस्ट किताबको भेडा गोठालो सान्टिअगोसँगै म पनि हिँड्दैछु । आफ्नै धुनमा हिँडिरहेछु । भेडा गोठालो सान्टिअगोलाई पछ्याउँदै । उसले मलाई सिकाइरहेको छ अनेक कुराहरु । रोकिनु जिन्दगीको उद्देश्य होइन । जिन्दगी भनेको निरन्तर गति हो जन्मदेखि मृत्युसम्म को परिदृश्यको परिवर्तन हुन्छ, मान्छे परिवर्तन हुन्छन्, आवश्यकता बदलिन्छ तर रेल कुदिरहन्छ । जिन्दगी एउटा रेल हो, स्टेशन होइन (पेज – ९२) । राजीवको अनुहारभित्र इतिहास, वर्तमान, मनोविज्ञान सबै अटाएको एउटा फराकिलो आकाश छ त्यहाँ खुसी भन्दा धेरै दुःखका ताराहरू पिलिक्क पिलिक्क गरिरहन्छन् ।
एकदिन राजीव आमा सम्झेर भक्कानिन्छ – भुइँमा खुत्रुक्क लड्नेबित्तिकै मरेकी आमा कहिल्यै उठेर मलाई छुन आइनन् । आमालाई अँगालो हालेर ‘आमा आमा’ भनिरहेँ तर आमाले एकपटक पनि आँखा उघारेर हेरिनन् । आखिर आँगन रित्तो पारेर कसैका काँधमा चढी आमा बाटो लागिन् म भने छेउको आँपको बोटलाई समातेर दिनभरि रोइरहेँ । यस वृक्षलाई बिर्सन कसरी सक्छु म ? …. कसरी ? यसले मेरो मुटु जलेको देखेको छ । (पेज ६७)
बारम्बार बसाई सर्नु पर्ने स्थिति, बाढी, अशिक्षा आदिले गर्दा भएका कागजपत्रहरु पनि सम्हालेर राख्न नसक्नाले एनआरसिमा नाम छुटेका हजारौं व्यक्तिको पीडा विदेशी भनेर डिटेन्सन क्याम्पमा थुनिनेहरुको मानसिक स्थितिको नजर अन्दाज गरेर आवाज बुलन्द पारेकी छिन् लेखकले यो उपन्यासको माध्यमबाट, एउटा अनागरिक बनाइएको कथा लेखेर । एक ठाउँमा राजीवको साथीले अन्तर्जातीय विवाह गरेर सहरमा लुकेर बसेको कुराले मन छुन्छ । ब्राह्मणवादी अहम् झल्किने तुच्छ सोच अझै समाजबाट हट्न सकेको छैन । जातीय विभेद हुनुहुँदैन भन्नेहरुबाट नै यस्ता गल्तीहरु हुन्छन् त्यसैले समाजमा आमुल परिवर्तन ल्याउन अझै बाँकी छ भन्ने कुरालाई सुक्ष्म रुपमा देखाइएको लेखकको साहसिक कदमलाई हामी सबैले स्वागत गर्नैपर्छ ।
राजीवको जीवनमा तीन जना प्रेमिका आए तर आफ्नो करियरलाई प्राथमिकता दिने क्रममा कुनै आफ्ना बनाउन सकेन राजीवले, त्यसैले त ऊ एक्लो भयो । प्रेमिकासँग जोडिन नसकेको सम्बन्धलाई ऊ यसरी शब्दमा पोख्दछ – उनानन्द र उर्वशी दुवै एक्ला छन् पर–––पर । ब्रम्हपुत्रको दुई किनारलाई जोड्न नयाँ बनिदै गरेको रोप–वेलाई सघाउन उभिएकी छे यो उर्वशी । उसको मनको किनारलाई कतै जोड्ने रोप–वे कहाँ होला, कुन होला ? ब्रम्हपुत्रको सुसेली एकमुठी बोकेर म एक्लै एक्लै डेरातिर फर्किएँ । (पेज १२५)
लखिमपुरको स्थाइ बासिन्दा राजीव भण्डारी शिक्षा क्षेत्रमै काम गर्ने उदेश्यले जागिरको खोजी गर्दा गर्दै बिहे गर्ने उमेर बितेर जान्छ र ऊ एक्लो बन्छ । स्थायी कर्मचारी बन्ने सपना भत्किएपछि ऊ एक्लै बरबराउँछ – सपना भत्किएपछि फेरि सपना देख्नु नै जिन्दगी हो ।
मुटुमा घाउ बनेर बसेकी अर्पिता, एकोहोरो प्रेमिका बनेकी प्रिती, करियर बनाउने सपना देखेर छोडिएकी नम्रता, आखिर जीवनको अन्त्यमा उसका साथमा कोही रहेनन् । छोडिनु र छोड्नु उसको जीवनका दुःखद् पाटाहरू रहे ।
अन्त्यमा, गाउँ फर्किएको राजीव स्वर्गलोकतिर गैसकेका आफ्ना बाबु सम्झेर बोल्छ एक्लै.. जिन्दगीमा पक्षपातरहित हुन सक्दो रहेनछ मान्छे । ज्ञान र क्रियाको खोजी गर्ने पक्षपातरहित इतिहास पढेर पनि म इतिहास झैँ निरपेक्ष हुन सकिनँ, मैले आफ्नै पक्ष लिएँ । साँच्चै भन्नुपर्दा जीवन एक मृगतृष्णा हो, जिन्दगीको अन्त्यसम्म पनि धेरै तृष्णा अधूरै रहन्छन् ।
कतिपय ठाउँमा साथ दिने कोही नभएर एक्लै पनि चेस खेल्ने पात्रहरूको कथा लेख्दै गर्दा लेखक आफैँ नै चेसको निपूर्ण खेलाडी हो जस्तो भान हुन्छ । यो उपन्यासको भन्नैपर्ने कुरा चाहिँ के हो भने यो पुस्तकमा कतिपय शब्दहरू मैले सुनेकी थिइनँ । ती असमिया शब्दहरूको फुटनोट भएको भए हामी नेपाली पाठकलाई धेरै सजिलो हुने थियो ।
मलाई सम्झेर किताब पठाइदिनु भएकोमा साहित्यकार इन्दु प्रभा देवीलाई हार्दिक धन्यवाद दिदैं यसैगरी पाठकको मन मष्तिस्कमा बस्न सक्ने कृतिहरू निक्लिरहुन् भन्ने कामना व्यक्त गर्दछु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।