यतिबेला मेरो हातमा स्वयं लेखककै हातबाट एउटा कृति परेको छ । आफैंले पढाएकी चेली गीता रेग्मीको प्रशान्तको तीरैतीर (नियात्रासङ्ग्रह, २०७८) । यो लेखक र पाठकबीचको हार्दिक सम्बन्धमात्रै नभएर चेलीले गुरुलाई गरेको सम्मान पनि हो ।

कृतिको आावरण पृष्ठबाटै थाहा हुन्छ – गीता रेग्मी कवि,कथाकार भए पनि मुलरूपमा नियात्रकार हुन् । तिनैमा उनको अधिकश्रम र सीप खनिएको देखिन्छ । विशिष्ट आयतनका एकपछि अर्को गरी तीनवटा नियात्रा कृति प्रकाशित भैसकेका छन् ती पनि सामान्य सतही नभएर गहन र उच्चकोटिका । कविता र कथाबाट आफ्नो शैलीसीप तिखार्दै नियात्रामा प्रवेश गरेकाले तिनमा आफ्नै शैली र स्वर मुखारित भएका छन् ।

शीर्षकको सार्थकता उनकै मन्तव्यबाटै पूर्ण भएको छ । यहाँ ‘प्रशान्त’ कुनै व्यक्तिविशेष वा भूमिविशेष नाम नभएर विशाल जलराशि भएको महासागरलाई स्थापित गरिएको हो । त्यसको ‘तीरैतीर’ भन्नाले अनेकौँ तटहरूमा स्थित दृश्य र परिवेशको सङ्केत गर्दछ । अष्ट्रेलिया भूपरिवेष्टित नभई जलसागर वेष्टित देश हो त्यसैबाट त्यस देशको उन्नति प्रगति वा शक्ति समृद्धिको सिमाको पनि पहिचान हुन्छ । त्यो नै पर्यटकीय विशेष आकर्षणको स्थल भएकोले त्यसैको आधारमा कृति नामकरण गरिएको छ । कृतिभित्र त्यसै विषयका दुईवटा निबन्धहरू पनि समाविष्ट छन्, जसले शीर्षकीय सार्थकताको अनुमोदन गर्दछन् ।

यस कृतिलाई विधागत रूपमा नियात्रा भनिए तापनि सबै एकैनासे संरचना र प्रकृतिका छैनन् । कुनै निबन्ध,कुनै कथा, कुनै संस्मरणले आफ्नो प्रभाव देखाइरहेका छन् । तापनि ती सबै नियात्राकै मूल उद्देश्यअन्तर्गत रचिएकाले नियात्राको कोटिमा परेका छन् ।अधिकांश निबन्ध हाँसो र खुसीभन्दा कष्ट र पीडामा केन्द्रित छन् । परिवश नै रोग, पीडा र उपचारको छ । कुनै रेष्टुराँ, रङ्गशाला वा मनोरञ्जन गृहको परिवेश भए त्यस्तै हाँसो र ठट्टाका कुराहरू समावेश हुने थिए । यहाँ त रोग र उपचारको सन्दर्भ र प्रसङ्ग भएकोले त्यस्तै मार्मिक अनुभूतिहरू व्यक्तिएका छन् । कतिपय विषय नै त्यस्तै प्रकारका छन् । वस्तुस्थितिलाई सटिक रूपमा पेस गर्न कतै आख्यानको,कतै संस्मरणको त कतै नैबन्धिक पद्धतिको सहारा लिइएको छ । विधागत स्वर दिनुभन्दा यात्रागत सन्देश दिनु लेखिकाको उद्देश्य रहेको पाइन्छ ।

बिरामी बहिनी भेट्न गएकी लेखिकाको मन हलुङ्गो छैन । बहिनी शारीरिक रूपले जीर्ण र दुर्बल हुनुका साथै उनमा प्रजननको समस्या छ । लेखकमा उत्साह, उल्लास र उमङ्गको स्थिति छैन । स्वाभाविक दायित्वबोध, तनाव र पीडा छ । त्यस उदासीन मनस्थितिमा पनि सृजनाको हुट्हुटी छ । आफ्ना सबै दायित्व र कर्तव्य निर्वाह गर्दै बाँकी समयको सदुपयोग गर्दै जे–जति देखे–भोगेका अनुभूतिहरू पुञ्जीकृत गरेकी छन् त्यो नै विशेष उपलब्धि बन्न गएको छ । हतार–हतारमा यात्रा गरी हडबडमा बितेका अढाई महिनाको अवधिभित्रै पनि बृहत् रचनाराशि समायोजन गरे पनि यति गहकिलो र खँदिलो कृति तयार भएर आउनु लेखकीय जीवनको महत्त्वपूर्ण उपलब्धि यसमा एक बसाइँमा नै आल्हादित तुल्याउने नियात्राहरू सङ्गृहीत छन् । पढ्दै गएपछि स्पष्ट हुन्छ, यो नियात्राकै कृति हो । तर आवरण पृष्ठमा कतै पनि विधागत परिचय उल्लेख छैन । विधागत तथ्य नखुलाई कृति दर्ता नै हुँदैन । यसतथ्यलाई छुटाउनमा विषयको प्रकृतिलाई प्रक्षिप्र राखेको हुन सक्छ । पाठकलाई उत्सुक बनाउन र बिक्रीको प्रावधानले हुन सक्छ ।

कपिल अज्ञात

नियात्राका वर्णनात्मकता, विवरणात्मकता, सूचनात्मकता, स्मृतिमयता आदि स्वाभाविकतत्त्व छन् ।यसमा गतिमय परिस्थितिको जीवन्त चित्रण छ । पारिवेशिक वस्तुस्थितिको चित्रात्मक वर्णनले सुन्दर गति पाएको छ । स–साना सन्दर्भ र प्रसङ्गहरू जोडिएर आएका छन् । तिनले पाठकको मन छुने तीव्र सामथ्र्य राख्दछन्, जस्तैः “कुकुर मेरा लागि इमानदार भैदियो वा लाटो ”(पृ.१३)। अभिव्यक्तिका दृष्टिलेले कथनमहिमा पनि प्रचुर छन्, जस्तै “म यन्त्रमानवजस्तै उनैको पछि लागेँ ”(पृ. १५) । कथनको लम्बेतान प्रस्तुतिभन्दा मितव्ययितामा मर्म छिचिन्ने सारभूत प्रस्तुति पनि प्रशस्त छन्, जस्तै , “आश्चर्य र पीडाको दोसाँधमा छु ”(पृ. १५)। लेखकले व्याख्या र विस्तारबाट बचेर जे भन्न खोजिएको हो त्यसैलाई छोटो, छरितो शैलीमा खुलस्त पारेकी छन् । सम्प्रषणमा कहीँकतै झमेला छैन ।यसले पाठकीय रोचकता बृद्धि गर्दै उत्सुकता पनि जगाएको पाइन्छ । परम्परा र वस्तुस्थितिको तुलना गरिएको काव्यात्मक प्रस्तुतिले पनि निबन्धलाई पाइन थपेको अनुभव हुन्छ, जस्तै , “ऊशारीरिक पीडामा छ भने हामी मानसिक पीडामा छौँ ”(पृ. १६)। त्यस्तै दृष्टिकोणहरू पनि तेजिला, स्पष्ट र धारिला छन् ।

वस्तुस्थितिको चित्रात्मक चित्रण गर्दै त्यसमा पनि आफ्ना दृष्टिकोण घुसाउँदै क्यामराले फोटो खिचेको प्रभावोत्पादक दृश्यभन्दा सन्दर्भबाटै उत्पन्न भएको शक्तिशाली भाव खिँच्दै नियात्रालाई अत्यन्तै रोचक र घोचक तुल्याइएको पाइन्छ, जस्तै , “बच्चालाई रङ्गमा गरेको वर्गीकरण मलाई पटक्कै मन परेन ”(पृ. १७)। यस्तै आफ्नै क्यामराले फोटो खिच्न लाग्दा आफैं छेलिएको सन्दर्भमा प्रस्तुत गरेको अभिव्यक्त कति प्रचुर छ, जस्तै , “उनले मतर्फ फर्कदै,तपाईंसँग देखाउनका लागि केही छ र ?” भनिन्। मैले हत्त न पत्त भने, “छैन–छैन ।”

यसमा कल्पना र भावनाको अद्भुत मिसावटले ओतप्रोत बनेको छ । रागात्मकताको स्थिति सुरुसुरुमा त्यति नभए पनि जति पढ्दै अगाडि बढ्दै गयो उनका सृजनात्मक विशेषताहरू एकपछि अर्को हुँदै मुखारित भएर आउँछन् ।कल्पना र भावुकता पनि उबडिँदै देखापर्छन् । कतिपयले विदेशको बसाइलाई नै स्वर्गसमान सुखमय मान्दछन् ।अभाव र कष्टबाट गुज्रिएका बाबुआमाको मनमा पनि त्यस्तै धारणा बनेको हुन्छ तर लेखिकामा राष्ट्रिय भावनाप्रबल छ कि आफ्नो योग्यता, सीप, उत्साह र जाँगरले आत्माविश्वास जागृत गरेको छ । आफ्नै परिवेशभित्र शान्ति र सन्तोषका साथै उन्नति र प्रगति खोजिरहेकी छन् । विदेश घुम्न चाहे पनि उतै जम्नन पाएकोमा उनमा कुनै ग्लानि र पश्चात्ताप छैन । कुनै आकाङ्क्षा र गुनासा पनि छैनन् ।उनले प्रकट गरेका मनोवाद एवम् परिस्थितिजन्य उनका प्रतिक्रियाहरूले यही तथ्यलाई दर्शाइरहेका हुन्छन् । जस्तै , “ तिमी पनि नेपालमा दौडिएजस्तै यहाँ आएर दौडिएको भए दिदीको जस्तै हैसियत हुन्थ्यो नि !” भन्ने र बुबाले भन्दा दाँतमा किरिक्क ढुङ्गा लागेजस्तो भयो भनेकी छिन् । वस्तुतथ्यमा आधारित सन्दर्भ प्रसङ्गहरूको मार्मिक सन्देशले भने नियात्रालाई वजनदार बनाएका छन् ।

सृजना प्रेम शक्तिको आकलन गर्दा कतै भावुकता र काल्पनिकताको पनि सुन्दर समन्वय भएको पाइन्छ । अब खुट्टोले धर्म छोड्यो यस्तै प्रकारको नियात्रा देखिन्छ । यसले नियात्राको सुन्दर स्वरूप सिर्जेको देखिन्छ ।उनको समपक्षाचेत पनि अतितीव्र छ, आत्मिक अभिव्यक्तिलाई पनि आत्मिक समीक्षाले परीक्षण गरेको पाइन्छ । यस्तै परीक्षणको सामथ्र्य राख्नेहरू नै त उच्चदर्जाका साहित्यकार बन्न पुग्दछन् । एक प्रसङ्गबाट उठेको एक रोचक अभिव्यक्ति हेरौँ – एउटै शब्दले मन र मस्तिष्कको अवस्थाअनुसार फरक अर्थ र सूचनात्मकता रहन्छ नै त्यसैमा लेखकले रागात्मकश्रृङ्गारले सजाएर पाठकलाई आह्लादित तुल्याउँछ । नियात्राकार गीता आफ्नो नियात्रा सृजना प्रक्रियामा निकै अगाडि बढिसकेकी छन् । बीचबीचमा नैबन्धिक गतिमा ज्ञानबर्धक सुक्तिहरू समावेश गराएर नियात्रालाई निकै रसिलो, भरिलो र ओझिलो तुल्याएकी छन् । वस्तुको मानविकरणले लेखनीमा रोचकता थपेको छ । नियात्राकार चरासँग मात्रै होइन समुद्रसँग पनि वार्ता गर्छिन् । ती वार्तामा वर्णित सुक्तिहरू जीवन–दर्शनकै निम्ति उल्लेख्य छन् ।

कतिपय अवस्थामा पढ्दापढ्दै पाठकको मन र आँखा हरर रसाएर आउँछ, जस्तै , “रक्सी पिउनका लागि वा तास खेल्नका लागि मात्रै साथी चाहिने होइन रहेछ, हाँस्नलाई पनि साथी चाहिने रहेछ ”(पृ. ९३) । कुनै कुनै नियात्रा नैबान्धिक कथा बनेका छन् । पहिले–पहिले युरोप, अमेरिकातिरका नियात्रा धेरै आउँथे, अहिले अष्ट्रेलियाका पनि आउन थालेका छन् । जता धेरै आउजाउ भयो उतैको धेरै आउनु स्वाभाविक पनि हो । सबैको यात्रा एकैनासको हुँदैन र सबैको दृष्टि पनि समान कहाँ हुन्छ र ? यसैले पनि होला सबैका सृजना पनि समान नभएका । लेखिकाले यहाँ जुन पाटोको उजागर गरेकी छन् ती नितान्त नयाँ र उल्लेख्य रहेका देखिन्छन् । उनले गतिबाट संस्मरणभन्दा संस्मरणबाट गति पक्रिएकी छन् । वस्तुको मानवीयकरण पनि त्यत्तिकै यथेष्ट र श्रेष्ठ छ । पाठकलाई पनि लाग्छ उनको उनको शैली नै सिर्जनात्मक पद्धतिबाट परिचालित छ । छोटाछोटा वाक्यहरूको यस्तो मिठो शृङ्खला छ, जसले पठकको मनमा मनोरमणीयताको भाव उत्पन्न हुन्छ । एकहारबाट सुरुभएको वाक्य त्यही हारमा पूर्ण हुनु, कथ्यलाई स्पष्ट र प्रभावोत्पादक तुल्याउँदै अघि बढ्नु लेखकको उर्भर क्षमता हो भन्न सकिन्छ । कथ्यभित्र आफ्नो दृष्टिकोणलाई समावेश गराउँदै जाने सामथ्र्यले पनि सृजनालाई ओजिलो तुल्याएको छ ।

सफल नियात्राकार हुन कुशल पत्रकारको जस्तो गति र मति हुनुका साथै सशक्त दृष्टि र चेत हुनुपर्छ । नियात्राकार गीतामा ती तत्त्वहरूको प्रचुरता र प्रखरता पाउन सकिन्छ । नियात्राकार कुशल बन्यो भने शालीन प्रवृत्ति रहन्छ । त्यसले विषयान्तर कुरा गरेर पनि नियात्रालाई सरलतामा बृद्धि गर्ने प्रयत्न गर्छ । यस्तो गहन प्रयत्न यस कृतिमा नियात्राकारले गरेको देखिन्छ । ‘प्रशान्तको तीरैतीर’मा यस तथ्यको आभाष मिल्दछ । अध्ययन र अनुभवको पृष्ठभूमि तथा सृजनात्मक अभ्यास र सीपको विकासबिना यति सुन्दर नियात्रहरू एकाएक आउँदैनन् वा बन्दैनन् । यस दृष्टिले पूर्ववर्ती नियात्राकारहरूको अध्ययन, सीप र शैलीको पनि यथेष्ट आत्मसात र अनुकरण गरेकी छन् । उनी भन्छिन् “जब जब घुम्न निस्कन्छु बालापन फर्किएजस्तो लाग्छ ।”

अग्ला नियात्राकार निर्मोही व्यासले यात्रा वर्णनका क्रममा धेरै ठाउँमा फुर्फुरिनु शब्दको प्रयोग गरेका छन् । फुर्फुरिनु भनेको उमङ्गमय, उल्लासयुक्त भावनाले वा खुसीले भुइँमा खुट्टा नराख्नु हो । यस्तै यहाँ नियात्राकार गीताले पनि बालापनको कुरा उठाएकी छन् । जुन सृजनाधर्मिताको स्वभाविक तत्त्व हो भनेर बुझ्न सकिन्छ । यात्रा र स्वतन्त्रतामा समानता भेट्न उनले नियात्रा सृजनाको सैद्धान्तिक पक्षलाई पनि उजागर गरेकी छन् । तथापि सिद्धान्त अनुरूप चली कसैले पनि सिर्जना गरेको हुँदैन । सृजनाकै आधारमा सिद्धान्तको प्रतिपादन भएको हुन्छ । त्यस्तै उनको एक ठाउँको अभिव्यक्तिले पङ्तिकारलाई पनि झसङ्ग पार्यो । उनले जयालक्ष्मी राईको कृति भर्जिनियाउल्फ र आँसुका फूल (बेलायतयात्रा) को टिप्पणी गर्ने क्रममा भनेकी छन् , “विदेश घुम्न गएकाअल्लारेझैँ ठूलाठूला, लामा र अग्ला घरहरूको चित्रणमा नअल्मलिएर यथार्थको धरातलमा बेलायतको व्याख्या गरेकी छन्”(पृ. ७१)।

अक्सर नयाँ ठाउँको यात्रा गर्दा भौतिक वस्तु नै हाम्रा सामु प्रस्तुत हुनेछन् । तिनैको वणन गर्नमा हामी अल्झन्छौँ । सिर्जनात्मक गहिराइतर्फ गएर यथार्थ धरातलको बयान गर्न छुटाउँछौँ । नियात्राकार गीतामा सृजनात्मक शक्तिका साथै समीक्षात्मक चेत पनि कति तीव्र रहेछ भन्ने यसै प्रसङ्गले पृष्टि गर्दछ । रचना गर्दा ठूलाठूला कुरा भलै नआउलान् सामान्य कुरालाई पनि शृङ्गार गर्न सकियो वा यथार्थलाई रागात्मक किसिमबाट खोतल्न सकियो भने त्यसले लेखकलाई सार्थक बनाउँछ । लेखकको कलम निरन्तर चलिरहोस शुभकामना छ ।