विषयप्रवेश

साहित्यले समाजलाई मार्गदर्शन गराउँछ । स्रष्टाका कलमले समाजका विकृति र विसङ्गतिहरूलाई बढारीकन स्वच्छ समाजको निर्माण कार्यमा कडीको काम गरेको हुन्छ । कलमका माध्यमबाट व्यक्ति र समाजलाई उज्यालो प्रदान गर्ने प्रतिभाका रूपमा परिचित छन् छायादत्त न्यौपाने ‘बगर’ । चालिसभन्दा बढी कृतिहरू प्रकाशनमा ल्याइसकेका बगरले साहित्यका विविध विधामा कलम चलाएका छन् । निबन्ध, कविता–काव्य, कथा, जीवनी, नाटक, उपन्यास आदि विधामा सशक्त रूपमा यिनको कलम चलेको पाइन्छ । बच्चाहरूका लागि उपयुक्त हुने बालसाहित्यका सामग्री लेखन र प्रकाशनमा पनि न्यौपानेको अहं भूमिका रहेको छ । यसै गरी समालोचनाका क्षेत्रमा पनि यिनको साधना निरन्तर रूपमा अगाडि बढेको पाइन्छ । पाठ्यपुस्तक लेखन र प्रकाशनका क्षेत्रमा पनि यिनको रुचि र सक्रियता देख्न सकिन्छ । विभिन्न कृतिहरूको सम्पादन गरी प्रकाशनमा ल्याउने कार्य पनि यिनले गरेको देखिन्छ । नेपाली कविताका फाँटमा ‘साइनो’को प्रवर्तनको श्रेय पनि यिनैलाई जान्छ । धेरै क्षेत्रमा कलम चलाएका यिनको ‘मान्छे’ (२०७८) कवितासङ्ग्रहमाथि प्रकाश पार्ने काम यस लेखमा गरिएको छ ।

मान्छे कवितासङ्ग्रह

प्रस्तुत कृति छायादत्त न्यौपाने ‘बगर’द्वारा २०७८ सालमा प्रकाशन गरिएको हो । भूमिका खण्ड र मूल विषयको विन्यासमा कुल एक सय बाह्र पृष्ठमा यसको कलेवर निर्माण भएको छ । लामा र पट्यार लाग्दा प्रकृतिका नभई प्रायः लघु आकारका कविता रचनातर्फको मोह कवि छायादत्तमा देख्न सकिन्छ । यस कवितासङ्ग्रहमा समेटिएका कुल सतासीवटा कविताको अध्ययन गर्दा केहीबाहेक अधिकजसो कविताहरू एक पृष्ठमै निर्मित भएको देख्न सकिन्छ । कवितासङ्ग्रहको आवरण पृष्ठलाई अवलोकन गर्दा आकर्षक रङ्गीन पृष्ठभूमिमा नेपालको झन्डा र छेउमा मानव आकृतिको बिम्ब चयन गरिनुले राष्ट्रप्रेमको मर्मलाई व्यञ्जित गरिएको सङ्केत पाइन्छ । मानव आकृतिको छाया अङ्कित हुनुले ‘मान्छे’ शीर्षकलाई ध्वनित गरिएको स्पष्ट हुन्छ । आवरण पृष्ठको पश्च भागमा कविले हालसम्म प्रकाशित गरेका कृतिहरूको सूची देख्न सकिन्छ ।

भावविन्यास

टङ्कप्रसाद पन्थ

प्रस्तुत कवितासङ्ग्रहमा समकालीन नेपाली समाजको यथार्थ चित्रबिम्बलाई सजीव रूपमा उतार्ने काम गरिएको छ । वर्तमान समयमा विकास भएका विविध खालका विकृति र विसङ्गतिहरूको चित्रण गरी आम मानिसको व्यवहारमा सुधार र परिष्कारको अपेक्षा राखिएको छ । वर्तमान नेपाली जनजीवनमा हुर्किएका बेथिति र अराजकताबाट कविभित्रको मान्छे वाक्कदिक्क भएको देखिन्छ । उर्वराभूमि र सम्भावना बोकेको राष्ट्र भएर पनि सधैँ गरिबीको नियति भोग्न बाध्य पारिनुमा कविको सशक्त विमति रहेको छ । हाम्रो राष्ट्रिय अस्मिता र स्वाभिमान कमजोर बन्दै गएकोप्रति कविको गम्भीर चिन्ता व्यक्त भएको छ । समाजिक, राजनीतिक, सांस्कृतिक तथा अन्य व्यावहारिक जीवनका केन्द्रमा मानिसलाई राखी सबै बेथितिहरूको जड मानिस नै रहेको र मानिसको चिन्तन र व्यवहारमा सुधार नआएसम्म अवस्था झन् बिग्रँदै जाने चिन्ता यहाँ व्यक्त भएको छ । कवितामा सुधारका स्वरहरू पनि सघन रूपमा सल्बलाएको पाइन्छ । राष्ट्रलाई सही गतिमा लैजाने अठोट गर्दै कवि यस्तो भन्छन् ,

ठोक्नुछ मैले
आमाको फरिया च्यातेर
पगरी गुथ्नेहरू
तह लगाउन शक्ति भरी
पाखुरा उठाउनुछ मैले
पसिना रोपेर बिउ फुलाउने
सन्तानसँग बाँच्नु छ मैले । (पृ. ४०)

कवि छायादत्त न्यौपानेमा वर्गीय चेतनाको स्वर सशक्त रूपमा सल्बलाएको पाइन्छ । गरिबको जीवन कायापलट गर्ने आश्वासन देखाएर सत्तारोहण गर्नेहरूकै वर्ग फेरिन गएकोमा कवि चिन्तित देखिन्छन् । देशमा ठुला ठुला परिवर्तनहरू भए तापनि गरिब जनताको अवस्था झन् जर्जर बन्दै गएको कुरा यहाँ उल्लेख गरिएको छ,

बिउ महलमा उम्रन्छ
झोपडी चुसेर सिंचाइ र गोडमेल गर्छ
बत्ती महलमा बल्छ
सडक महलले तान्छ
सरकारी मुहान त्यतै फर्कन्छ
बिचरा झोपडी खोल्सो तरेर
पर्खालभित्र पुग्न पाउँदैन
महलले बाली भित्र्याउँछ । (पृ. ४९)

देशका लागि लडेकाहरू नै सुखसुबिधाको भोग गर्नतिर लागी महको माखा बन्न पुगेको नियतिको राम्रो चिरफार गर्ने काम यहाँ गरिएको छ । नेतृत्व तहमै परिष्कार र शुद्धीकरणको आवश्यकता रहेको विचार पनि यहाँ व्यक्त भएको छ । गरिब वर्गप्रति सहानुभूति प्रकट गर्नुका साथै श्रम र पसिनाको मूल्य खोज्ने काम पनि यहाँ गरिएको छ ।

‘बगर’का कवितामा क्रान्तिकारी उद्घोषका साथमा विद्रोही चेतना तीव्र रूपमा सल्बलाएको पाइन्छ । जनतामा परिवर्तन र स्वतन्त्रताको वास्तविक अनुभूति हुन नसकेको विचार धेरैजसो कवितामा व्यक्त भएको छ । नेता र नेतृत्व तहमा स्वार्थलिप्सा बढेको यथार्थ पनि यहाँ व्यक्त भएको छ । मातृभूमि नेपाललाई आमाको रूपमा सम्बोधन गरी नेपाल र नेपालीको अवस्थामा सुधार नआउनुको कारक पक्ष समकालीन अक्षम नेतृत्व रहेको कुरा प्रस्तुत गरिएको छ । समाजमा विद्यमान विभेदपूर्ण अवस्थालाई यसरी प्रस्तुत गरिएको छ ,

व्यवहार उस्तै छ
पोसाक फेरिएको छ संस्कार उस्तै
उमेर फेरिएको छ प्रवृत्ति उस्तै
पात्र फेरिएका छन् अभिनय उस्तै
संवाद फेरिएको छ निष्कर्ष उस्तै । (पृ. ५६)

समाजका सबै क्षेत्रमा अराजकता र घुसखोरी प्रवृत्ति बढ्दै जानु, असल मानिएकाहरू पनि व्यक्ति स्वार्थ र कमाउधन्दामा लागेको देख्दा कविभित्र विद्रोह उम्लिन पुगेको छ ,

खानै जन्मेकाहरू
खन्चुवाको भीड बढाए
नखानेलाई ठेगान लाए
खबरदार पुरानै थाङ्नामा सुतेकाहरू हो
स्वाभिमान बाँच्ने प्रतिबद्ध विचार लिएर
बिउँझेर आउँदै छन् तिमीहरूसँग
सिँगौरी खेल्न बिर्सेका छैनन्
पुरुषार्थी नेपालीले । (पृ. ५८)

जनताकै जल्दोबल्दो समस्याका रूपमा रहेको स्वास्थ्य क्षेत्र पनि जनतामैत्री हुन नसकेको सन्दर्भ उठाई सुधारको अपेक्षा राखिएको छ । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा पनि लुच्याइँ र अकर्मण्यता बढ्ने कुराले कविलाई भित्रसम्म छोएको छ । पैसामुखी बन्दै गएको स्वस्थ्य क्षेत्रमा निजीकरण मौलाएका कारण साधारण गरिब जनताका पहुँचबाट स्वास्थ्य टाढा रहेको यथार्थलाई यहाँ प्रकाश पारिएको छ । जनतालाई उपचार दुर्लभ हुनुको कारण सरकारी अस्पतालमा साधनस्रोत र प्रविधिप्रति ध्यान नदिनु नै मुख्य समस्या रहेको छ । राज्यको दायित्वभित्र रहनुपर्ने स्वस्थ्य केही पहुँचवालाहरूको मात्र पेवा बन्न पुगेका कारण गरिब जनताहरू उपचार नपाएर मर्नुपरेको पीडाजन्य अवस्थालाई मार्मिक रूपमा प्रकाश पारिएको छ ।

अस्पताल आफै बिरामी
भोकै भोक
सचेतना सबै बिरामी
उपकरण बिरामी
नढाँटी भनौँ
निमुखाको सहारै बिरामी
भन्नै मुस्किल
परीक्षकका आँखै बिरामी !
एकोहोरो हेर्छन्
बिरामीको कम्मरतिर सुर्के थैली ! (पृ. ८७)

शासनसत्तामा बस्नेहरू जनताका सच्चा सेवक नबन्दा भोग्नुपरेको तितो अनुभूति यहाँ प्रतिबिम्बित भएको छ । देशलाई आत्मनिर्भर बनाउनतर्फ नलागी पराइको दासत्व स्वीकार्ने पात्रहरूले गर्दा राष्ट्रिय अस्तित्व नै सङ्कटमा रहेको मर्म यहाँ मुखरित भएको छ । मानवीय छुद्र प्रवृत्तिलाई सतहमा ल्याई असल आचरणमा बसेर स्वाभिमानपूर्ण जीवन बाँच्नका लागि क्रान्ति गर्न उठ्नुपर्ने उद्घोषका साथमा विद्रोही चेतना मुखरित भएको छ,

स्वाभिमानप्रेमी मान्छे
शिर उचालेर हिँड्छ
दासत्वप्रेमी मान्छे
पराइ खटन मानेर डुल्छ
बिउँझ मान्छे
फटाहाको मलाम जान
अबेर भयो
हातहातै राँको लिएर बिउँझ । (पृ. ९७)

मानिसको इमानमा वास्तवमै अनिकाल लाग्नाले निम्तिएको दुरावस्थालाई संवेदनशील रूपमा उठाइएको छ । साझा भावना लिएर राष्ट्रिय हितमा सोच्ने व्यक्तिको अभावले सिर्जिन पुगेको विद्रुप अवस्थालाई यहाँ प्रकाश पारिएको छ । कोरोनाको प्रायोजित आतङ्कले विश्वलाई नै त्रसित बनाएको, धनी मुलुकको व्यापारिक स्वार्थको सिकार विश्वका गरिब मुलुक र जनता बन्नुपरेको रहस्यमय अन्तर्यलाई यहाँ उठाइएको छ,

कोरोनाको कहर
विज्ञानमा राजनीतिक अन्तर्घुलन
व्यापार आतङ्क
घातक पश्चिमी जीवनदर्शन
परिचयहीन कोरोना
संवेदनाहीन धनी मुलुक
अन्योलमा विश्वस्वास्थ्य
भत्काउँदै छ जनजीवन । (पृ. ९९)

कवि छायादत्त न्यौपानेका कवितामा जीवनप्रतिको मोहभाव सघन बनेर आएको देख्न सकिन्छ । राष्ट्र, राष्ट्रियता र स्वाभिमानप्रतिको आस्थाका साथमा भोलिको सुनौलो आगतप्रतिको आशाकिरण पनि झुल्किएको पाइन्छ । निर्माण र सिर्जनाप्रतिको आस्थाका साथै मानिसलाई आफ्नो वास्तिविक धरातल नबिर्सन आग्रह गरिएको छ ,

चिरौँ अँध्यारो
छाडौँ जातका कुरा
भेटौँ बिहानी
गरौँ सिर्जनाका कुरा
भाँचौँ आग्लाहरू
खोलिनुपर्छ न्यायका ढोका
नबिर्सौँ भुइँ
सजिनुपर्छ आफ्नै पाखाहरू । (पृ. १०५)

वास्तवमै आत्मनिर्भर बन्ने अवसर खोजेर आफ्नै देशमा रमाउनुपर्ने सन्देश कवितामा प्रवाहित भएको छ ।

व्यङ्ग्य चेतना

प्रस्तुत कवितासङ्ग्रहका कविताहरू पढ्दै जाँदा पाठकले व्यङ्ग्य र कटाक्षको अभिव्यक्ति मनग्गे रूपमा पाउँछ । यस सङ्ग्रहका सबैजसो कविताहरूमा वर्तमान नेपाली समाजमा भित्रिएको स्वच्छन्दता, व्यक्ति स्वार्थ र नेतृत्वतमा बढ्दै गएको स्वेच्छाचारी प्रवृत्तिलाई राम्ररी झेको झार्ने काम गरिएको छ । शिष्ट अनि शालीन रूपमा उठेको व्यङ्ग्य चेतना ठाउँठाउँमा आक्रोसपूर्ण विद्रोहमा समेत प्रकट भएको पाइन्छ । सारमा भन्नुपर्दा परिवर्तनका नाममा भित्रिएका स्वच्छन्द र प्रतिकूल व्यवहारका साथै समाजमा बढ्दै गएको आडम्बरपूर्ण दम्भ र खस्किँदै गएको स्वाभिमानलाई कटाक्षपूर्ण रूपमा प्रहार गरिएको छ । ‘मालिक’ शीर्षकको कविताबाट यसरी झटारो हान्ने काम गरिएको छ,

अँ गाउँतिर पनि परिवर्तन भा’छ हजुर
खेतीयोग्य जमिनमा – घाँस पलायो
गाईभैँसी पालन – छिमेकतिर सरे
युवाहरू सबै – खाडीतिर पुगे
तिनका श्रीमती – सदरमुकाम छिरे
बाँकी रहेका कताकति बुढाबुढी
बाढी पहिराको प्रतीक्षामा छन्
राम्रै परिवर्तन भा’छ हजुर ! (पृ. १०७)

‘राजाहरू’ शीर्षकको कवितामा वर्तमान समयमा विकास भएको व्यक्तिवादी चिन्तन, सिद्धान्त र मर्यादाच्यूत बन्दै गएका मान्छेहरूको यथार्थ तस्बिर उतारिएको छ । नेताहरू जनताका सेवक नबनी शासक बन्दै गएको यथार्थलाई कटाक्षपूर्ण शैलीमा प्रस्तुत गरिएको छ,

तर आज मान्छे मान्छे छैन
सत्तासँग जोडिएर शासक भएको छ
बडे राजा छोटे राजा राजै राजाले भरिएको छ
भीर पाखा देउराली चिन्दैन ऊ
जनताका कुरा सुन्दैन ऊ । (पृ. ४२)

‘मान्छे’ शीर्षकको कवितामा मानवीय मूल्य र अस्तित्वलाई भन्दा पैसालाई महत्त्व दिने मानसिकताप्रति सघन व्यङ्ग्य कसिएको छ । ‘स्वभाव’ शीर्षकको कवितामा हरेक प्राणीका आ–आफ्नै स्वभाव र पहिचान रहेको तर मानिस भने समयअनुसार रङ बदल्न सक्ने कला भएको सन्दर्भलाई उठाई आम मानवीय प्रवृत्तिमाथि नै प्रहार गरिएको छ । यसै गरी ‘सन्चै’ शीर्षकको कवितामा विकृति र विसङ्गतिले गाँजेको समाजमा मानवीय शुद्धीकरणको खोजी गरिएको छ । मानिस पूर्ण रूपमा मानव बनेको हेर्न चाहनुले प्रच्छन्न रूपमा अस्तित्व गुमाएको मानवप्रतिको कटाक्ष प्रतिबिम्बित भएको छ । दानवी चरित्र र मदरूपी दम्भलाई त्यागी सौम्य र परिष्कृत व्यवहारको अपेक्षा यहाँ गरिएको छ । ‘परिवर्तन’ शीर्षकको कवितामा गाउँबाट सहर पसेपछि गाउँलाई चटक्कै भुल्ने मानवीय स्वार्थी प्रवृत्तिलाई कटाक्ष गरिएको छ ।

गाउँबाट सहर पसे
कति सांसद बने
कति परिचय ढाँटीढाँटी
नागरिकता साट्न सफल भए
कतिले मेचटेबल भाँच्न जाने
कति मोटाए कति मोटर चढ्ने भए
गाउँ उस्तै छ हिँजो जस्तै भोकै
मोटाउनेहरू गाउँ फर्कने कुरो हुँदैन
किनकि गाउँमा बस्ने उनै हिँजका पाखे हुन् । (पृ. ३७)

‘बोलबाला’ शीर्षकको कवितामा हाम्रो समाजको विडम्बनालाई कटाक्षपूर्ण शैलीमा झल्काइएको छ । समाजमा विकृत मानिसहरूकै बोलबाला भएको विसङ्गत तत्त्वकै रवाफ भएको यथार्थलाई गहन रूपमा कटाक्ष गरिएको छ । त्यस्तो पवृत्ति भएका मानिसहरूलाई ठाँडोको बिम्बद्वारा कटाक्ष गरिएको छ,

मान्छेहरू हराउँछन्
ठाँडाहरू भट्टी छिर्छन्
झोलले मात्तिएपछि
काँचो मासुको मोल गर्छन्
भोक, रोग र अत्याचार नपचाउनेहरू
जेल पर्छन् नेल खेप्छन्
ठाँडाहरू रत्यौली गाउन थाल्छन् । (पृ. ३९)

नेपाली समाजको यथार्थलाई पिँधमै पुगेर छाम्ने काम कविले गरेको देखिन्छ । नग्न यथार्थको चित्रणका साथमा समाजका कुरूपता अनि जीर्णशीर्ण अवस्थालाई मर्ममै पुग्ने गरी प्रहार गरिएको छ ।

शिल्पशैली

कवि छायादत्त न्यौपानेका कवितामा शुद्ध रूपमा गद्यलयको प्रयोग भएको छ । कवित्वकलाका साथमा विचारपक्षलाई कवितामा सूक्ष्म रूपले संयोजन गरिएको देख्न सकिन्छ । यस कवितासङ्ग्रहमा कतै सरल स्वाभाविक प्रकृतिका कविता रहेका छन् भने कतै चाहिँ अमूर्त र दुर्बोध्य बन्न पुगेको अवस्था पनि भेट्न सकिन्छ । बिम्ब, प्रतीक र सङ्केतहरूको प्रयोग कवितामा यत्रतत्र पाउन सकिन्छ । कवितामा खास विचार चिन्तन प्रवाहित गर्नतर्फ कवि उद्यत रहेको पाइन्छ । यिनका कविताहरू आम जनसरोकारमा केन्द्रित रहेको पाइन्छ । कतै भने विचार चेतनाले कवित्वलाई थिचेको अनुभूति पनि पाठकले गर्दछ । न्यौपानेको कवित्व संरचना पनि पृथक् प्रकृतिको रहेको छ । सूक्ष्म संरचनाप्रतिको मोह, मितव्ययी सुझका साथमा पदावलीको चयन, प्रायः अन्तिम पंक्तिमा शीर्षकीय सन्दर्भको उठान भाषिका प्रभावित जीवन्त अभिव्यक्तिकला, व्याजस्तुति शैलीमा रोचक पाराले विकृतिमाथि प्रहार, व्यञ्जनामय प्रस्तुति, अन्तरसाङ्गीतिक लयप्रवाहको संयोजन आदि विशेषताले गर्दा कविता पढ्दै जाँदा पाठकलाई बेग्लै प्रकारको मजा आउँछ । सङ्ग्रहमा तेस्रो क्रममा रहेको ‘मान्छे’ शीर्षकको कवितालाई कृतिकै शीर्षकका रूपमा चयन गरिएको छ । यस सङ्ग्रहका सतासीवटै कवितामा मान्छेको छाया प्रतिबिम्बित हुन आएकाले समग्रमा शीर्षक विन्यास अनुकूल र सार्थक रहेको पाइन्छ । शीर्षककै धुरीमा कविताको भाव चुलिएको देख्न सकिन्छ ।

निष्कर्ष

छायादत्त न्यौपाने ‘बगर’ साहित्यका बहुविधामा कलम चलाउने प्रतिभाका रूपमा चिनिन्छन् । नेपाली साहित्यको श्रीवृद्धिका लागि निरन्तर रूपमा खट्ने न्यौपानेका चारदर्जन कृतिहरू प्रकाशित भइसकेका छन् । सबै उमेरका मानिसहरूमा केन्द्रित भई साहित्यको सिर्जना गर्ने ‘बगर’ मूलतः बालसाहित्यकारका रूपमा परिचित छन् । साहित्य लेखन तथा सम्पादनका साथै पाठ्यपुस्तक तयारी गर्ने कार्यमा समेत यिनले भूमिका खेलेका छन् । समाजका यथार्थ अवस्थालाई झल्काई सिर्जना र निर्माणका स्वर सम्प्रेषण गर्ने हुनाले यिनका रचना समाजोपयोगी रहेका छन् । साहित्यमा नयाँ नयाँ प्रयोग गर्न रुचाउने ‘बगर’ले पछिल्लो समयमा नेपाली कविताको उपभेद ‘साइनो’ कवितालाई जन्म दिएका हुन् । बालबालिकामा उत्प्रेरणा जाग्ने खालका रचना गर्नुले बालकप्रतिको संवेदना प्रबल रूपमा प्रकट भएको देख्न सकिन्छ ।

यिनको ‘मान्छे’ (२०७८) कवितासङ्ग्रहमा कुल सतासीवटा कविताहरू सङ्गृहीत छन् । प्रायः एक पृष्ठमा संरचित यिनका कविताको आयाम लघु रूपमै केन्द्रित रहेको पाइन्छ । सामाजिक जीवनका यथार्थलाई कविताको विषय बनाई समग्र मानिसमा सुधार र परिष्कारको अपेक्षा राख्नु यिनका कविताको वैशिष्ट्य हो । समाजका हरेक भूमिकामा रहेका व्यक्तिहरू र विशेष गरी नेतृत्व तहमा रहेको स्वार्थलोलुप प्रवृत्तिलाई उठाई व्यक्तिगत स्वार्थबाट माथि उठेर राष्ट्रको समृद्धिमा लाग्नका लागि घचघच्याउने काम यहाँ गरिएको छ । हाम्रो सेरोफेरोमा हुर्किएका विकृति र विसङ्गतिप्रति व्यङ्ग्य प्रहार गरी सुधार र निर्माणको स्वर यहाँ मुखरित भएको छ । युगीन चेतनाका साथमा माथि उठेर परिवर्तन र स्वतन्त्रताको मर्मलाई आत्मसात गरी शासक नभई जनताको सेवक बन्न नेतृत्वलाई आह्वान गरिएको छ । आफूमा रहेको दम्भ र अभिमानलाई त्यागेर साझा हित चिताई आम जनताका पीरमर्कामा मलम लगाउन तत्पर हुनुपर्ने सन्देश प्रवाहित गरिएको छ । अहिलेको विद्यमान अवस्थामा सुधार नआएसम्म जनता जुर्मुराएर उठ्छन् भन्ने विद्रोही चेतना पनि यहाँ सल्बलाएको छ । आम श्रमजीवी गरिब जनताको अवस्था उठ्न नसक्नुको कारक कडी नेतृत्व रहेको मर्म यहाँ व्यञ्जित भएको छ । समग्रमा व्यक्ति समाज र राष्ट्रको अवस्था माथि उठाउनुपर्ने आग्रह यहाँ पाइन्छ ।

लघु संरचनामा गद्यलयको प्रयोग गरी लेखिएका कवितामा अन्र्तसाङ्गीतिक लय प्रवाह पाउन सकिन्छ । व्याजस्तुतिमय शैलीको प्रचुर प्रयोगले व्यङ्ग्यकला चुलिन पुगेको छ । प्रगतिवादी रुझानमा समाज र राष्ट्रको परिवर्तनको चाहना राखिएको छ । भाषिका प्रभावित शब्दावलीको प्रयोगले शैलीमा मठिास थपेको पाइन्छ । एक शब्दमा निर्मित कविताहसमग्ररूको शीर्षकले कविको चुस्त प्रस्तुति मोहलाई झल्काएको पाइन्छ । सबैजसो कवितामा आदर्शको आग्रह पनि उत्तिकै रहेको पाइन्छ ।