आधुनिक समयमा मानवको कल्याणका लागि ईश्वरीय गुण लिएर अवतरण भएका महामानवको रूपमा राम, कृष्ण, बुद्ध, मच्छिन्द्रनाथ, शङ्कराचार्य आदि प्रमुख छन् । यिनीहरूका चरित्रका बारेमा थोर बहुत लेखिएका पनि छ तर नेपालमा समयसमयमा अवतरण भएर कहिले न्याय, कहिले एकीकरण, कहिले धर्म उत्थानको प्रेरणा बनेका गोरखनाथको योगदान बारेमा राम्ररी जानकारी गराउने पुस्तकको अभाव नभएको होइन । गोरखनाथको देनको कारण नै नेपाली गोर्खाको नाममा विश्वमा आफ्नो शौर्यले गर्दा वीरको रूपमा पहिचान बन्न गएको छ । यति हुँदाहुँदै पनि गोरखनाथको परिचय र देनको बारे समग्र जानकारी गराउन उच्चकोटिको पुस्तक नेपालीमा नभए पनि जिज्ञासा जगाउने पहल “गोरखवाणी”को माध्यमबाट प्रवचनकर्ता डा. चिन्तामणिनाथ योगीले गरेका छन् ।

यो प्रवचन संगालो गोरखनाथको व्यक्तित्वको चित्रणमात्र होइन, गोरखनाथको माध्यमबाट हठयोग, शिव र शक्तिको समरस थाहा पाउने ज्ञानको भण्डार पनि हो । हाम्रो इतिहाससँगै जोडिएको, हाम्रो माटोसँग जोडिएको गोरखनाथको योगसन्देशबारे जानकारी गराउने ग्रन्थ पनि हो । प्रवचन संगालोमा मानव जीवन सहज बनाउन, मनलाई स्थिर बनाउने सूत्रहरू पनि छन् । मानव जीवनमा अनेकौँ किसिमका द्वन्द्व र कुण्ठाहरू जन्मनु स्वभाविक हो र अनेकौँ विसंगतिहरूबाट बच्दै सुन्दर जीवन बनाउने कलाको विस्तारपूर्वक वर्णन भएको छ । आफूलाई जसले बुझ्नसक्यो उसको जीवन सहज र सफल हुने कुरा उदाहरण पनि दिइएको छ । जीवन संघर्षको पहिलो कसीमा वाणी र बानी जाँचेर स्वच्छ बनाउनुपर्ने सुझाव छ । वाणी र बानी जसको स्वच्छ हुन्छ या व्यवहारमा लागु गरेको हुन्छ त्यस्ता मानिस जस्तोसुकै द्वन्द्वबाट पनि बच्न सक्छ । कर्मकाण्डको पछि नलागेर कर्ममा रमाउने मानिस जहाँ र जहिले पनि प्रफुल्ल हुन्छ । सफल मानिस त्यही हुन्छ जो अर्काको धेरै कुरा सुन्छ र गम्छ, आफू थोरै तर गहकिलो बोल्छ ।
डा. चिन्तामणिनाथ योगी गोरखनाथ पन्थको रहनुभएको हुँदा म हठयोगको त्यो साधना शिव र शक्तिको समरस त्यस स्तरमा मेरो भोक शान्त पार्न सक्छ कि सक्दैन यस पुस्तकले मेरो ध्यान त्यसतर्फ केन्द्रित बनाउन चाहेको छु । हठयोगको बारेमा केही चर्चा गर्छु । गोरखनाथको दार्शनिक आधार के हो ? यसतर्फ पनि म केन्द्रित हुने विचार बनाएको छु । विस्तृत रूपमा केलाइसकेपछि मैले आफ्नो धारणा राखिनँ भने ‘गोरखवाणी’बाट मैले केही ग्रहण गर्न नसकेको हुनेछ यसर्थ अधिकारपूर्वक आफ्नो विचार पोख्नेछु ।

जबसम्म मानिस सामान्य जीवन व्यतित गर्दछ अर्थात् शारीरिक वृतिहरू, इन्द्रियहरू, मन सदा सांसारिक शक्तिहरूका अधीन रहनेछ, ऊ आफूभित्र रहेको अन्तर्निहीत अनन्त शक्तिप्रति जागरूक हुँदैन । योगसाधनाको माध्यमबाट जब मानिसले आफ्नो शरीर, इन्द्रिय तथा मानसिक प्रवृत्तिहरूमा संयम स्थापित गरिसकेपछि उसले आफूभित्र यस्तो ज्ञान र शक्ति, यस्तो इच्छा–मुक्ति, शान्ति सौन्दर्य र आनन्द अनुभव गर्दछ जो सामान्य जीवनक्रममा असम्भवजस्तो लाग्दछ । हठयोग साधना गर्ने योगीहरू मस्तिष्क तथा भौतिक इन्द्रियहरूबाट पनि मुक्त हुन सक्दछन् । उनीहरूका मान्यतामा हाम्रो चारैतिर हाम्रो सम्भावनाभन्दा पनि धेरै ठूलो एउटा अर्को विस्तृत संसार छ, यस विस्तृत संसारको उपलब्धि र रहस्यात्मक शक्तिको उद्घाट्न निश्चित नियमको आधारमा हुने गर्छ । मनस्तन्तुहरूका परिवर्तनको आधारमा योगसाधनाले हामीलाई सामान्य मानवीय अनुभूतिहरूभन्दा टाढा चेतनाको उच्चतर धरातलमा पुगाउनमा सहायता गर्दछ । योगसाधनाअन्तर्गत हामी पौरस्त्य चिन्तनका ती प्रमुख मान्यताहरूका विवेचना एवं प्रत्यक्षीकरण गर्दछौँ जसको कारण परम्परागत जीवन–दृष्टि आधुनिक विचारहरूका लागि अद्भूत र काल्पनिक जस्तो लाग्दछ । शान्ति, एकान्त ध्यान र आनन्द प्राप्ति नै योगसाधनाको अन्तिम लक्ष्य भने होइन । गुह्य शक्तिले व्यक्तिको आन्तरिक महत्त्व प्रकट गर्दछ कि मानिसले आफूलाई के बनाउन सक्छ । साधकको अन्तिम लक्ष्य प्रकृतिको क्षेत्र अतिक्रमण गरेर सीमातीत, दुःखातीत, बन्धनातीत, अहंकारशून्य, आत्मप्रकाशित आत्मतत्त्वको अनुभूति गर्नु हो ।

यस्तो मानिएको छ, ‘हठयोग’को सम्बन्धमा नाथयोगी सम्प्रदायले विशेष ज्ञान राख्ने गरेका छन् । सामान्यतः ‘हठयोग’को अर्थ हो ‘हठेन बलात्कारेण योग सिद्धिः’ अर्थात् बलपूर्वक योगसाधनामा सिद्धि लाभ गर्नु । नाथ सम्प्रदायअन्तर्गत यसको विशेष अर्थ पनि प्रचलित छ । ‘ह’ बाट ‘सूर्य’, ‘प्राण’, ‘विन्दु’ र ‘ठ’ बाट ‘चन्द्र’, ‘अपान’, ‘रज’ को अर्थ लगाउने गरिएको छ । शास्त्र अनुसार सबै शारीरिक अवयवहरूका क्रियाहरू— ज्ञान, भावना, इच्छा र क्रियातत्त्वका सम्पूर्ण कार्य तथा सबै आन्तरिक चेष्टाहरू, चाहे स्वेच्छाबाट होस् या अनिच्छाबाट, चाहे चेतनको स्थितिमा होस् या अचेतनको स्थितिमा यो सबै नाडी–मण्डलद्वारा संयमित र नियोजित हुने गर्दछ, यो नाडी–मण्डल पनि ‘इडा’, ‘पिङ्गला’ तथा ‘सुषुम्ना’ तीन प्रमुख नाडिहरूसँग सम्बद्ध र शासित छ ।

शीतल गिरी

शरीरको सूक्ष्मातिसूक्ष्म अङ्ग र अवयवहरूलाई सङ्गठित तथा क्रियाशील बनाउनमा बहुसङ्ख्यक नाडीहरूले धेरै महत्त्वपूर्ण भूमिका निभाएका हुन्छन् । नाडीहरू श्वासेन्द्रियसँग अत्यधिक सम्बद्ध छन् र श्वासक्रियाद्वारा सञ्चालित हुन्छन् । शरीरभीत्र हुने प्रायः सबै महत्त्वपूर्ण क्रियाहरू सामान्यतः हाम्रो नियन्त्रण या इच्छाबाट नभएर स्वतः हुनेगर्छ । इडा र पिङ्गलालाई सुषुम्नासँग ‘प्राण’ र ‘अपान’ वायुलाई जीवन शक्तिको केन्द्रविन्दुसँग, ‘विन्दु’ र ‘रज’लाई सम्पूर्ण मानसिक–शारीरिक शक्तिको केन्द्र–विन्दुसँग र अन्ततः चेतनाको उच्चतम स्थितिमा शिव र शक्तिको एकता स्थापित गर्नु हठयोग साधनाको अंतिम साध्य हो । मस्तिष्कले आन्तरिक अवयवहरूमा पूर्ण अथवा पर्याप्त नियन्त्रण राख्न सक्दैन, मस्तिष्कले कहिल्यै पनि शरीरमा पूर्ण स्वामित्व स्थापित गर्न सक्दैन भन्ने मान्यता पाइएको छ । यस तथ्यलाई कसैले पनि अस्विकार गर्न सक्दैन, मस्तिष्कको स्वभाविक सञ्चालन शरीरको नियमित क्रियाहरूमा निर्भर छ ।
योगसाधना सिद्धान्तको आधारमा योगी गुरु गोरखनाथ (शुद्ध रूपमा गोरक्षनाथ) एउटा सुसंगठित धार्मिक सम्प्रदायको प्रवर्तन गरे ।

अहिलेसम्म यी महान् सन्त र सुधारकको जन्मस्थान र समय आधुनिक विद्वान्हरूले निर्विवाद रूपमा निर्धारण गर्न सकेका छैनन् । नेपालका इष्टदेव मानिएका गोरखनाथ नेपाल र भारतको भौगोलिक सीमाभन्दा बाहिर पनि यिनको जन्म, आत्मसंयम, धार्मिक शिक्षा, अद्भुत शक्ति र करुणापूर्ण कार्यहरूका सम्बन्धमा अनेकन जनश्रुतिहरू प्रचलित छन् । नेपालबाहेक भारतको बंगाल, उत्तरप्रदेशको गोरखपुर, पञ्जाब, महाराष्ट्रलगायत अनेकन ठाउँहरूमा युगौँदेखि चल्दै आएका स्थानीय जनश्रुतिहरूका आधारमा, आफ्नै ठाउँलाई गोरखनाथको जन्मभूमि र अति मानवीय क्रियाको भूमि घोषित गरेका छन् । गोरखनाथ एक महान् योगी र आश्चर्यजनक कृत्यहरूका कर्ताको रूपमा प्रसिद्ध रहेका छन् र असंख्य भावहरूका जनश्रुतिहरू र गीतहरूमा उनका र उनका अनुयायीहरूका महिमा गाइएको छ । नेपालदेखि राजपूताना, पञ्जाबदेखि बंगाल तथा सिन्धदेखि दक्षिणसम्म जनश्रुतिहरू र लोकवार्ताहरू गोरखनाथका अद्भुत कृत्यहरूतर्फ संकेत गरिएको छ ।

गोरखनाथले प्रवर्तित गरेका योगी सम्प्रदाय सामान्यतः ‘नाथ–योगी’, ‘दरसनी–योगी’ अथवा ‘कानचिरेका योगी’का नामले प्रसिद्ध छन् ।

योगीको लक्ष्य नाथ अर्थात् स्वामी हुनु हो । योगीले निश्चय नै सबै किसिमका बन्धन, दुःख र सीमाहरूभन्दा माथि उठ्नुपर्दछ । उसमा वास्तविक दृष्टि (दर्शन) अर्थात् परमतत्त्वको मूलभूत विशिष्टताहरू बुझ्नका लागि अन्तर्दृष्टि उपलब्धि हुनुपर्छ ।

प्रामाणिक ग्रन्थहरूबाट प्रकट भएअनुसार, योगीहरू ‘पिण्ड’लाई ‘ब्रह्माण्ड’को नै वैयक्तिक मूर्तरूप मान्दछन् । प्रत्येक मानव प्राणी ‘संसार’को जीवित एवं चल रूप हो । संसारको शक्तितत्त्व शिव या ब्रह्म (परमतत्त्व)सँग शाश्वतरूपमा सम्बद्ध तथा अभिन्न छ । तर शक्तितत्त्व शिवको परम्–श्रेष्ठ आतम प्रकाशरूपलाई आफ्नो भेदात्मक रूपले आच्छादित राख्दछ । यस दार्शनिक प्रणलीअनुसार परमतत्त्वको वास्तविक स्वरूप शिवको शाश्वत मिलनबाट प्रकट गर्ने गरिन्छ अथवा शक्तिलाई शिवको असीम वक्षस्थलमा शाश्वतरूपबाट नित्य गर्दैगरेको मानेर परमतत्वको वास्तविक स्वरूपको कल्पना गर्ने गरिन्छ । शिव एउटा नित्य, निःसीम अपरिवर्तनशील तत्त्व हो जो कालातीत र सीमातीत छ र शक्ति असीम गतिशील एवं क्रियाशील तत्त्व हो र सदैव काल र सीमाको रूपमा आफूलाई व्यक्त गर्दछ ।

शिव गुण–दोष, विधि–निषेध, आदर्श र यथार्थको भेदभन्दा पर छ जबकि शक्ति गुण–दोष, आदर्श–यथार्थको सापेक्षता तथा एकबाट अर्कोसम्मको गतिशीलताको आधारमा व्यक्त हुन्छ । शिव पूर्ण मौन छ जबकि शक्ति आफूमा क्रियाशीलता, उद्वेगशीलता तथा आत्मोच्चारमा अभिव्यक्त गर्दछ । आफ्नो सांसारिक जीवनमा हामी शक्तिको सीमामा रहने गर्छौं । प्रत्येक व्यक्तिले यस्तो अनुभव गर्दछ, ऊ अस्तव्यस्त तरिकाबाट विभिन्नरूपमा विभाजित यस संसारका असंख्य प्राणीहरूमध्ये एक हो । प्रत्येक व्यक्ति आफैमा परस्पर संघर्ष र द्वन्द्व उत्पन्न गर्ने विरोधी स्वार्थहरू, आत्मरक्षा र आत्मविश्वासको लागि हुने संघर्ष तथा शक्तिमानको सुरक्षा र कमजोरको विनाश हेर्दछ । ऊ यस विशाल संसारको अनुभव गर्दछ, यस्तो संसार जो समय र स्थानको सीमाहरू भन्दा पर प्रतीत हुन्छ, जो विविध किसिमका तत्त्वहरू एवं शक्तिहरूले भरिएको छ र जसले उसलाई अनेकौँ रूपबाट प्रभावित गर्दछ । यस सीमित एवं परिवर्तनशील अस्तित्वको दुःखात्मक स्थितिबाट छुटकारा पाउनको लागि यो पूर्ण शान्ति एवं एकता अपरिवर्तनशील र अभेदात्मकता तथा शुद्ध कर्तृत्वरहितता एवं आनन्दमयत्व सर्वनिरपेक्ष चेतनाको स्थिति प्राप्त गर्न चाहन्छ ।

जब कुनै पनि व्यक्ति यस आदर्श भावनाबाट प्रेरित हुने गर्छ तब ऊ सम्पूर्ण सांसारिक कार्यहरूबाट विमुख भैहाल्छ, आफ्नो पारिवारिक र सामाजिक अधिकार एवं दायित्वप्रति उदासीन भैहाल्छ, त्याग र तपस्याको जीवन स्वीकार गर्दछ र सर्व निरपेक्ष चेतनाको स्थितितर्फ लैजाने आध्यात्मिक साधनाको नियमित अभ्यासमा लाग्ने गर्छ ।

जब वैयक्तिक चेतना शिवतत्त्वको अनुभूति गर्दछ, तब ‘शक्तितत्त्व’ एउटा पैथक सत्ताझैँ आफ्ना क्रियाहरू र अभिव्यक्तिहरूका साथ त्यसै गरी तिरोहित हुनेगर्छ जसरी सत्यको अनुभूति भएपछि भ्रम तिरोहित हुनेगर्छ । केही धर्म प्रधान दार्शनिक मत समाधिको अवस्थामा चेतन आत्माको अद्वैतात्मक, अभेदात्मक, अविकृत स्थितिलाई जबकी त्यो बन्धन, सीमा र दुःखबाट पूर्ण मुक्त हुने गर्छ, धेरै महत्त्वपूर्ण मान्दै यसैलाई नै सत्यानुभूतिको निश्चित मानदण्ड मान्छन् र यसै अपरिवर्तनशील, अभेदात्मक र अद्वैतात्मक चेनता या ‘शिव’लाई पूर्ण सत्य मान्छन् । शिव र शक्ति, एकता र अनेकता, अपरिवर्तनशीलता र परिवर्तनशीलता, कर्तृत्व र निश्चलता तथा शुद्ध चेतनात्मक स्थिति र गतिशील चेतनामा लक्षित हुने विरोध यथार्थमा सत्य होइन । ‘शक्ति’ नित्यरूप शिवको वक्षस्थलमा स्थित भएर आफ्नो कार्य गर्दछ । ‘शिव’को अभावमा ‘शक्ति’को सत्ता हुँदैन र ‘शक्ति’को अभावमा ‘शिव’को अभिव्यक्ति असम्भव हुन्छ । शिवको असीम गौरव शक्तिरूपमा प्रकट हुन्छ, तर हामीमा चेतनाको तल्लो स्तरमा शक्तितत्त्वको नै प्रधानता रहन्छ जसले शिवको वास्तविक रूपलाई आच्छन्न गरिराखेको हुन्छ ।

जब योगदृष्टि प्राप्त हुन्छ— तब शिवको पूर्ण आत्मप्रकाश एवं शक्तिको क्रियात्मक अभिव्यक्तिमा कुनै किसिमको असंगति प्रतीत हुँदैन । शिव र शक्ति एउटै आत्मप्रकाशित, अद्वैतात्मक पमतत्त्वको निश्चल एवं गतिशील रूप अनुभूत हुन्छ र यसप्रकार एकअर्काको नजिक मात्रै होइन बरू एकअर्काभन्दा अभिन्न छ । आत्मज्योति चेतनाको स्थिति एवं गतिहरूको प्रकाशिका हो र चेतनाको स्थिति र गति त्यो विशिष्ट रूप हो जसको आधारमा आत्मज्योति आफूलाई प्रकाशमान गर्ने गर्छ । जबसम्म शिव आफ्नो वास्तविक सर्वनिरपेक्ष रूपलाई कुनै व्यक्तिको चेतन आत्मा समक्ष प्रत्यक्ष गर्दैन, तबसम्म उसको शक्तिले नै उसलाई लुकाएर राख्दछ, पृष्ठभूमिमा राख्दछ र उसलाई विरोधात्मक तत्त्वको रूपमा प्रकट गर्दछ र यसले व्यक्तिको चेतनालाई शक्तिद्वारा प्रकट शिवको नानात्वमय रूपमा पृथक तत्त्व प्रतीत हुन्छ ।

डा. चिन्तामणिनाथ योगीको ‘गोरखवाणी’ जब मैले पढेँ, यसमा डुबेँ, रस विभोर भएँ ।

गोरखनाथका ज्ञानको जब म अध्ययन गर्ने गर्छु, म आफूलाई यस लोकमा होइन अर्कै लोकमा पाउँछु ।

मेरो मनको कुनै कुनामा दियो बलेकोजस्तो लाग्छ, कमल फक्रेकोजस्तो लाग्छ ।

प्रवचन सुनेकाहरूबाट पनि सुनेको छु— प्रवचन सुन्दाको आनन्द सुनिसकेपछि हराउँछ । सुन्नेको मनको अन्तरकुन्तरमा बलेको दियो निभ्दछ र फक्रेको कमलको फूल पनि हराउँछ । अनि बाँकी रहन्छ पहिलेको जस्तै अज्ञानताको अँध्यारो । स्रोताहरूलाई बारम्बार यस्तो हुने गर्छ । प्रवचनबाट ज्ञान प्राप्त भएको थाहा हुँदैन मात्र सपना देखेकोजस्तो लाग्दछ । यसकारण स्रोता बनेकाले बाटो पहिल्याउन सक्नु पर्छ— कस्तो प्रवचन सुनेर व्यवहारमा उतार्न सकिन्छ । व्यवहारमा उतार्नु भनेको आफ्नो जीवनमा ज्ञानको प्रकाश पार्नु हो । अरुले आर्जन गरेको ज्ञान सुन्नु या पढेर रमाउनु भनेको त्यस प्रभावबाट मुक्त हुनासाथ अज्ञानताको अँध्यारोमा भौतारिनु पनि हो । शास्त्रमात्र अध्ययन गर्नेहरू अँध्यारोमा भौतारिने गर्छन् । यो प्रवचनमाला मात्र पढ्नु भनेको योगीजीको ज्ञानको सहारा लिएर केही समय हिँड्नु हो, उहाँको ज्ञानको प्रकाशबाट सबै कुरा प्रष्ट देख्नु हो ।

हो, अरूको प्रकाश सदाको लागि आफ्नो हुन सक्दैन । पुस्तक अध्ययन र प्रवचन श्रवणको भरपर्ने बाटोमा त निस्कन सक्छन् तर लक्ष्यमा पुग्न नसकेर अल्मलिने संकेत गुरु गोरखनाथको रहेको छ । हो सत्सङ्गले हामीभित्र दियो बाल्दछ, तर त्यो हाम्रो आफ्नो ज्ञानको दियो हुँदैन । स्वर्गीय आनन्द कुनै अरूको ज्ञानको हो । अरूले प्राप्त गरेको ज्ञानको जानकारी पाइएको मात्र हो ।

विचार गर्नुपर्ने कुरा के हो भने गोरखनाथको मार्गमा हिँड्ने हो भने योग्य गुरुबाट ज्ञान प्राप्त गरेर हठयोगको साधनामा रही आफैले व्यवहारमा उतारेमा त्यो चहकिलो प्रकाश प्राप्त गर्न सकिन्छ, जो हामीभित्रै छ । पुस्तक र प्रवचनमा मात्र निर्भर रहनेले अंधकार चिरेर ज्ञान प्राप्त गर्न सक्दैन । आकाशमा चम्केको बिजुलीको सहारामा बाटो हिँड्न सहज नभएझँै हो । हुन त आकाशमा चम्केको बिजुली पनि प्रकाश नै हो— जसले अँध्यारो हटाउन सक्दैन । त्यस्तै हो पुस्तक र प्रवचन । हो बाटो भने देखाउँछ, त्यो पहिचान गरेर मार्ग पहिल्याएर हिँड्न त व्यक्तिले नै सक्नु पर्छ । अरूको प्रकाशमा हामी केहीबेर अवश्य प्रकाशित हुन सक्छौं, चाहिन्छ आफ्नो प्रकाश जसरी चिन्तामणिनाथ आफ्नै प्रकाशले प्रकाशित छन् । प्रवचनकर्ताले नाथ सम्प्रदायको मान्यता र वर्तमान समयको आवश्यकताको आधारमा गोरखनाथको विचार समाजमा कतिको व्यावहारिक छ यसतर्फ विचार गरेर प्रस्तुत गरेका छन् । तर यस प्रवचन संगालोको भरमा मात्र कसैले पनि नाथ सम्प्रदाय, हठयोग, कौलाचार यसो भनौँ गोरखनाथकै बारेमा विस्तृत जानकारी भने पाउन सक्दैन (हुन पनि एउटा पुस्तकमा अटाउने विषय पनि होइन)— रूचि भने जगाएको छ, खोजी गरेर अध्ययन गर्न प्रेरित भने गरेको छ । पूजा मात्र गर्ने सो बारे गहिराइमा डुबेर थाहा पाउने चाहना भएर पनि अल्मलिरहेका हरुका लागि यो कृति रूचि जगाउन सामथ्र्य रहेको पाएको छु ।

सामान्यतः इतिहासमा भन्दा पनि लोकवार्तामा, सम्प्रदायमा लोकप्रिय ऐतिहासिक चरित्र हो गोरखनाथ, यस्ता महापुरुषको बारेमा कल्पना होइन यथार्थ आउनुपर्ने हो, उहाँको साथमा न्याय गर्न वर्तमान समयमा अत्यन्त असहज काम हो तर जनबोलीको वाणी संग्रह गरेर, व्याख्यानमार्फत् भए पनि चिन्तामणिनाथजी यसमा पूर्णतः सफल छन् । संवेदना, कुतूहल र जिज्ञासाको दृष्टिले पनि यो संगालो रोचक छ ।