साहित्यका विभिन्न विधाहरूमध्ये निबन्धको रूपमा आफ्ना भाव र विचारहरूलाई मूर्त रूप दिन शिपालु हुनुहुन्छ डा. अन्जना वस्ती भट्टराई । साहित्यिक यात्रामा उहाँ “जीवनका घुम्ती र देउरालीहरू” (संस्मरणत्मक यात्रा निबन्ध) हुँदै “स्मृतिलोकको यात्रा” (संस्मरणात्म निबन्ध) गर्दै “समय संवेग” (निबन्धसङ्ग्रह) सम्म आइपुग्नुभएको छ । यी कृतिहरू क्रमशः २०७५, २०७६ र २०७८ सालमा बजारमा आएका हुन् । योबाहेक २०५७ देखि २०७० सालसम्मको अवधिमा उहाँले अङ्ग्रेजी विषयको अध्ययन तथा अध्यापनमा उपयोगी हुने ५ वटा पुस्तकहरू पनि निकालिसक्नु भएको छ ।

समयको प्रवाहसँगै हरेक क्षणलाई अतित बनाउँदै जीवन बगिरहेको हुन्छ । ती क्षणहरू कसरी बित्छन् ? त्यो कुरा महत्त्वपूर्ण हुन्छ । समय कसरी बिताइन्छ ? भविष्य त्यसैमा निर्भर हुन्छ । आफ्नो जीवनमा बितेका तिनै क्षणहरूमा घटेका घटनाक्रमहरूलाई मनमा कैद गरेर गरिएको विश्लेषणात्मक अभिव्यक्ति नै डा. अन्जनाको “समय संवेग” हो ।  शाब्दिक अर्थमा भन्ने हो भने कुनै निश्चित समयमा देखिएका, सुनिएका तथा भोगिएका घटनाहरूले लेखकलाई कस्तो महसुस गरायो भन्ने कुराहरूको वर्णन नै “समय संवेग” हो । २१ वटा निबन्धहरू रहेको यस सङ्ग्रहमा लेखकले समाज र राष्ट्रमा देख्नुभएको विभिन्न किसिमको कुरीति तथा कुकृत्यहरूलाई शसक्त र स्पष्ट रूपले प्रस्तुत गर्दै यसका विरुद्धमा जाग्न प्रेरित गर्नुभएको हुनाले मलाई “समय संवेग” चेतनाको प्रवल मनोवेग हो भन्न मन लाग्यो ।

हाम्रो समाजमा मान्छेलाई अरूको कति चासो हुन्छ, अरूलाई सल्लाह दिन मान्छे कति आतूर भइहाल्छन्, पुरुषप्रधान समाजमा नारीहरूप्रतिको बुझाइ र विश्लेषण कस्तो छ, नारीले सहेकै कारण पुरुषको हेपाहा प्रवृत्तिले टेवा पाएको यथार्थदेखि लिएर प्रकृतिमा हाम्रो निर्भरता, जीवनका लागि स्वच्छ वातावरणको अपरिहार्यता, प्रदुषण र मासिँदै गएका जैविक सम्पदाका कारण वातावरणमा आइरहेको ह्रास, बेइमान र धूर्त नेताहरूको चलखेलले डुबाएको देशको अवस्था र देशभक्तिले उब्जाएका चिन्ताहरू, यी सबै यी निबन्धहरूमा समाविष्ट गरिएका छन् ।

कुनै एउटा विषयमाथि पुरुषको सोच यस्तो छ भने महिलाको सोच कस्तो छ ? महिलाका लागि यसरी सोच्दा रहेछन्, यही कुरा पुरुषका लागि भए कसरी सोच्थे ? बोलचाल र व्यवहारको आधारमा पुरुष र महिलाको मनोवैज्ञानिक अध्ययन गरेर पाएको निचोडलाई लेखकले पाठकमाझ राख्नुभएको छ । श्रीमान् लेखक हुँदा श्रीमती पनि लेखक हुनुपर्ने अपेक्षा समाजले किन राख्दो रहेछ ? भन्ने प्रश्न यस्तै मनोवैज्ञानिक अध्ययनको विषय बनेको छ निबन्ध “तपाईँ पनि लेख्नुहुन्छ ? तपाईँ लेख्नुहुन्न ?”मा । सहकार्य र सह–अस्तित्व नै आजको समयमा महिलाका अपेक्षा हुन् तर पितृसतात्मक सोचले ढाकिएर घरपरिवारमा कामको उचित बाँडफाँड हुन नसक्दा सबै काम महिलाकै बोझ बनेको नेपाली परिवारको यथार्थ चित्रण निबन्ध “अपेक्षा महिलका”ले गरेको छ । यौनको लागि भुतुक्क भएर जोसुकै र जतिसुकै उमेरका महिलालाई प्रयोग गर्न खोज्ने पशुझैँ अधर्मी पुरुषहरूलाई समाजले कसरी ठेकान लगाउन सक्छ ? भन्ने प्रश्नको उत्तर “पुरुषत्व र पशुत्व” भन्ने निबन्धले दिएको छ ।

पढ्नु पर्छ, शिक्षित हुनुपर्छ भन्ने चेतना नारीमा वि.स. १९८० कै दशकदेखि भएको अनुमान लेखकको छ । किनभने त्यतिबेलाका आमाहरूले बुबा नभएका सन्तानलाई शिक्षाको बाटोतिर लगाएका उदाहरणहरू छन् । पुरुष अनुशासनले दबेर रहेको शिक्षाचेतना पुरुष नभएको बेलामा उघ्रिएको पाइएको छ । सही वातावरण र अवसर पाए छोरीहरू पनि जीवनमा जुनसुकै ढोका खोल्न सक्षम भएका प्रशस्त उदाहरणहरू छन् । केही निबन्धहरूमार्फत निबन्धकारले महिलाप्रति हुने गरेको भेदभावको कडा प्रतिकार गर्नुभएको छ,  परिवर्तनको लागि आवाज उठाउनुभएको छ र यी आवाजहरू महिलाको सक्षमताको प्रत्यक्ष उदाहरणहरूका साथ अघि बढेकाले शसक्त छन् । बुलन्द छन् ।

सुमन पाण्डे

नारी सुन्दर हुनुपर्छ भन्ने धारणा नारीको श्रीमान्देखि सबैमा हुने र हाम्रो समाजको संस्कृतिहरूले पनि त्यसैलाई टेवा दिएको हुनाले नारीको अस्तित्व सौन्दर्यसँगै गासिएको हो (लेखककै भनाइबाट) । यसैको फलस्वरूप महिलाहरूको रूपमा पनि समाजले चासो देखाउँछ । नत्र सेतो कपालले गर्दा सेतो कपाल भएकालाई भन्दा अरूलाई कालो किन नपारेको होला भनेर पिरोल्दैनथ्यो होला । सेतो कपालजस्तो अरू विभिन्न कुराहरू हुन सक्छन् ।

निबन्धहरूमार्फत पुष्पझैँ फक्रिनुभएकी लेखक पुष्पको सौन्दर्यप्रति मानव आकर्षणलाई नियाल्नु हुन्छ । पुष्पसँगै मानवजातिको विभिन्न खाले भावनाहरू जोडिएका छन् । त्यसैले मानव सभ्यतामा पुष्पले महत्त्वपूर्ण स्थान ओगटेको छ । यसको साथै पृथ्वीमा मानवजातिको दीर्घकालीन अस्तित्वको लागि पुष्पलगायत प्रकृतिका सबै बोटबिरुवा, जीवजन्तु तथा माटो, पानी सबैको संरक्षण र सम्वद्धन अपरिहार्य छ । निबन्धकारले यस्ता निबन्धहरूमार्फत समाजलाई वातावरण संरक्षणप्रति सचेत गराउनुभएको छ । निबन्ध “वासनाको मोल”मा श्रीलङ्कामा भ्रमणको आनन्द लिँदै गर्दा पनि लेखकको मन भने उडेर कोशौँ दूरीको यात्रा तय गर्न पुग्छ । मनले उहाँलाई कहिले खोटाको बास्ना सम्झाएर धनकुट्टाको जङ्गल पुर्याउँछ, कहिले दालचिनीको रूखको सम्झनाले धनकुट्टा कचिँडेका कविराजको घर पुर्याउँछ भने कहिले चिल्लो मसलाको बोट सम्झाएर धनकुट्टाको निशान भगवती मन्दिरको आँगनमा पुर्याउँछ । बाल्यकालसँगै जोडिएका स्मृतिहरू साँच्चै अविस्मरणीय हुन्छन् । स्वदेशी यादहरू विदेशी हावामा मिलेका सुगन्धले बिर्स्याउन सक्दैनन् ।

“कोरोनाको लकडाउनमा सिर्जना”, “कोरोना सङ्क्रमण र यसको व्यवस्थापन” र “पृथक्करणका स्वरूप” यस्ता निबन्धहरू हुन् जो ज्ञानबर्द्धक हुनुका साथै कोरोना कालको सम्पूर्ण इतिहास बोक्दछन्, योभन्दा अरू के भयो त्यसबेला भनेर खोज्नै पर्दैन । त्यस विकट समयमा समाज र राष्ट्रमा के भयो ? भन्ने कुराको दस्ताबेज बनेका छन् यी निबन्धहरू । त्यसैगरी “दर्पण” र “शक्तिको उन्माद” निबन्धहरूले देशमा विद्यमान स्वार्थ र धूर्त्याइँपूर्ण राजनीतिको सटीक व्याख्या गरेको छ । यी निबन्धहरूले देश उद्योगतिमा लाग्नुको सम्पूर्ण यथार्थहरू एकमुस्ट स्मरण गराएका छन् ।  धूर्त्याइँ र ठगीको विभिन्न तरिकाहरू सिकेकाहरूको बाहुल्य नै राजनीतिमा भएकाले जनता ठगिएका छन् र देशको अस्मिता खतरामा परेको छ (“दर्पण” निबन्धबाट) ।

स्वैरकल्पनात्मक ढङ्गमा लेखिएको निबन्ध “वीरेन्द्र शाहको नेपाल भ्रमण” भावनाप्रधान छ जसमा राजा वीरेन्द्रले जीवित हुँदा देशको समुन्नति र जनताको खुसी दुवै जोगाउनको लागि गरेको प्रयास, षणयन्त्रकारीद्वारा उनको वंश विनाश र राजसंस्थाको अन्त्यपछि जनताको छोराको शासनमा मौलाएको भ्रष्टाचार, बेथिति र विकृतिको वर्णनले पाठकलाई भावविभोर बनाउँछ ।

यस पुस्तकका सबै निबन्धहरू चेतनामूलक छन् जसले पाठकलाई समाज र राष्ट्रको सकारात्मक परिवर्तनको लागि उर्जा दिन्छन् । आउने पुस्ताका लागि पनि यो पुस्तकले धेरै कुरा जोगिदिएको छ । जस्तैः देशको अहिलेको राजनीतिक अवस्था र यससँगै जोडिएका विकृति, कोरोना कहरले आक्रान्त बनाएको बेला विश्वको एक झलक, लोप हुँदै गइरहेका नेपाली शब्दहरू र तिनको उचित प्रयोग, नेपाली संस्कृति र चाडपर्वहरू ।

त्रिभुवन विश्वविद्यालयमा लामो समयको अध्यापनपश्चात् अवकाश पाउनुभए तापनि डा. अन्जनामा भएको शिक्षकको प्रज्ञा र दक्षताले समाजलाई पढ्न र बुझ्न छोडेको छैन । उहाँ चलनचल्तीमा रहेका शब्दहरू र तिनका प्रयोगको सूक्ष्म अध्ययन गरेर भाषामा आइरहेका परिवर्तनतिर चिन्तित हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, कति नेपाली शब्दहरूको अर्थ बिस्तारै अर्कोतिर मोडिइदै गएको छ । जस्तैः “गुरु” । कति विदेशी शब्दहरू हाम्रो भाषमा हावी हुँदै गइरहेका छन् । जस्तैः “सर” । कति असल शब्दहरू कमसल शब्दहरूका प्रयोगले विस्थापित हुँदैछन् । जस्तैः “धेरै” भन्ने बुझाउन अचेल “लास्टै” र “बबाल”को प्रयोग गरेको पाइन्छ । कति शब्दहरू लोप हुँदै गइरहेका छन् । जस्तैः दियालो ।

हुन त लेखकका लागि समाजमा देखापरेका असहजता र विसङ्गतिहरू नै विचारको सिर्जना गर्ने तत्त्व बन्छन् तर एक एक शब्दलाई केलाएर यति सूक्ष्म विश्लेषण गरेर निर्क्यौलमा पुग्ने धैर्य जो कोहीमा हुँदैन । एउटा लेखकको पुस्तक उसको सोचको उपज हो भने त्यसभित्र पोखिएका भाव र विचारहरूले उसको चाहना र दक्षतालाई प्रतिबिम्बित गर्छन् । तसर्थ यो पुस्तक पढ्नुहुने सबैले डा. अन्जनालाई बुझ्नु हुनेछ र उहाँका निबन्धहरूले उघारेका यथार्थले सबैमा चेतना जगाउनेछन् । साथै यस पुस्तकमाथि आफ्ना विचारहरूको प्रकाशले अझ उज्यालो बनाइदिने डा. साधना प्रतीक्षाको भूमिकाले पनि पाठकलाई निकै आनन्दित बनाउनेछन् ।