कुनै कुनै किताब पढेर मन परेपछि त्यसका बारेमा गज्जबले लेखौंला भन्ने हुन्छ । तर गज्जबले लेखौंला भन्दाभन्दै समय घर्किन्छ र त्यो किताब पढ्दाको मनमा आएका कुराहरू पनि बिस्तारै सेलाएर जान्छ । महारानी पढिसक्दा पनि लगभग त्यही स्थिति भयो । अब आएर किताबकै कुरा लेख्नुभन्दा किताबले समावेश गरेका केही कुराहरूका बारेमा लेख्न मन लाग्यो । किताबको बारेमा धेरै लेखिसकिए । किताबले देशकै नामी मदन पुरस्कार पनि पाइसक्यो । अब त्यसका बारेमा सालाखाला प्रतिक्रिया मात्रै लेख्नुको खासै तुक छैन  ।

“भाइलाई के ल्याइदिऊँ ? नेपालबाट केही ल्याउनु परे भन ल !”, रविना दिदीले मेसेज गर्नुभएको थियो । मैले तितौरा र पुष्टकारीको रहर नगरी किताब ल्याइदिनु भनेँ – याम्बुनेर र महारानी ।

सन् २०२० को अन्ततिर नेपाल हुँदा जमलनजिकको पुस्तक पसलमा किताब भेटिएको थिएन । त्यतिबेला चर्चा चुलीमा थियो । त्यसैले बजारमा किताबको अभाव थियो । प्रायः पुस्तक पढ्नेहरूजस्तै हातमा दशौँ किताब भए पनि बजारमा चर्चामा रहेको थप एक किताबकै मायाले सधैँ सताउँछ । महारानी त्यही थप एक पुस्तक थियो ।

महारानीको पठन केही सुस्त थियो । लेखकले उपन्यासलाई खस राज्य पर्वतको इतिहास उप्काउने प्रयास गरेका छन् । त्यसबेलाको राजनीतिक स्थिति र रहन सहनका कुराहरू पनि किताबमा अटेका छन् । अन्तिम पानामा बयान गरिएका घटनाक्रमले मनमा बनाउने तस्बिरहरू र के होला के होला ? भन्ने उत्सुकताले किताबको सुरुतिरको सुस्ततालाई बिर्साएको छ ।

राजकुमार मलेवमको बिहेको कुरादेखि लिएर अर्का राजकुमार भद्रिवमसँगको सत्ता सङ्घर्षको अन्त्यसम्मको यस्तै ४-५ वर्षको मूल कथा छ । त्यसैसँग जोडिएर इतिहासका अन्य घटनाहरू पनि उपन्यासमा उल्लेख गरिएको छ । विशेषतः गोरखा राज्यइतरको इतिहास उति सारो चल्तीमा छैन । यो किताबले चल्तीमा नभएको र विस्मृतिमा धकेलिसकिएको आधुनिक नेपालभित्रैको एक पुरानो पर्वत राज्यको कथा प्रकाशमा ल्याएको छ । त्यो नै यो किताब महत्त्वपूर्ण हुनुको मूल कारण हो ।

रमण जैसेरी

महारानीले पर्वत राज्यको इतिहास सुनाउने क्रममै केही यस्तै कुराहरू पनि उप्काएको छ जसले हालको हाम्रो धर्म र संस्कृतिप्रतिको धारणामा समेत परिवर्तन ल्याउन सक्छ । नेपालको चलचित्र क्षेत्रमा भारतीय चलचित्रको प्रभाव जत्तिकै प्रभाव नेपाली राजनीतिमा भारतीय राजनीतिको पनि छ । सन् २०१४ मा मोदी सत्तामा आएदेखि चलचित्र र राजनीति दुबैतर्फ धर्म र राष्ट्रवादले विशेष स्थान पाउन थालेको छ । नेपालमा पनि त्यसका बाछिटा महसुस गर्न सकिन्छ । ठोरीमा राम जन्मभूमि भेटिनु त्यसको एक उदाहरण हो ।

उत्यो सानो ढिस्को महाराज डिम्बवमको समाधि हो । महाराजको इच्छानुसार जगन्नाथको नजिकै समाधिरथ गरियाको हो भन्छन् । उ त्यो सेतो फेटा गुथाइएको मौलो जगन्नाथको स्थापना हो ।”

राजाहरू या शक्तिशाली आत्माको पूजा गर्ने चलनका बारेमा यसअघि इमान सिंह चेमजोङको किराँतको संस्कृति र इतिहास किताबमा पढेको थिएँ । त्यसमा एउटा गज्जबको प्रसङ्ग थियो । बुद्धिकर्ण राईलाई मृत्युपश्चात द्यौता बनाइएको प्रसङ्ग । त्यो प्रसङ्गले कता कता आफ्नै कुल देवता कैलीपालको उत्पत्तिका बारेमा यदाकदा सुनिने गरेको किंवदन्ती पनि सम्झाउँथ्यो ।

“आजै गई बुढासुब्बा, लेखौं नाम बासैमा” सबिन राईको यो गीत धेरै जनालाई थाहा छ । धरानको बुढासुब्बालाई जोडेर बनाइएको यो गीतले बुढा सुब्बाको परिसरमा रहेको बाँसमा जोडीहरूले प्रेम दिगो रहोस् भन्ने कामनाका साथ नाम लेखाउने प्रचलनलाई सङ्केत गरेको छ । यिनै बुढासुब्बा खासमा बुद्धिकर्ण राई हुन् भन्ने रहस्यचाहिँ चेमजोङको किताबमा फेला पारेको थिएँ । मकवानपुरका दिवान रहेका राईले सेन वंशी शासनको अन्त्य गरेर आफैँ बलिया शासकका रूपमा स्थापित भएका थिए । तिनलाई बलले नसकेपछि छलले नै भए पनि मारेपछि शक्तिशाली व्यक्तिको आत्माले पिरोल्ला भन्ने भयले बुढासुब्बाका नाममा तिनै बुद्धिकर्ण राईको आत्माको पूजा सुरु भएको हो । महारानीमा पनि त्यस्तै किसिमको प्रसङ्ग पढ्न पाउँदा यो आत्मालाई द्यौताका रूपमा पूजा गर्ने चलन खस र किराँतको साझा चलन पो रहेछ कि भन्ने भएको थियो ।

देवताभन्दा मानिसलाई पहिले पूजा गर्ने पर्वतको चलन देखेर राजकुमारीहरूलाई आश्चर्य लाग्यो ।

देवताको नाममा गाईगोरू बाँध्न ठोकिएको जस्तो एउटा पयुको किलो मात्रै थियो । त्यही किलोमा सेतो कपडाको पगडी बाँधिदिइएको थियो ।”

“यतातिर देवताको रूपमा किलो पूजन्या चलन छ । किलो ‘लिङ्ग’को प्रतीक हो कि कुन्नि ? हाम्रातिर देवीको प्रतीक मानिकन मौलो’ पूजन्या चलन पनि छ । कोटहरूमा मौलो पुजिन्छ । बागलुङमा भने देवीको मूर्ति स्थापित छ । बलि भने त्यहाँ पनि बाहिरको मौलोमै दिइन्छ । जगन्नाथलाई शिवरूप मानिँदैन । विष्णु पनि मानिँदैन । यस मन्दिरमा मूर्ति स्थापना गरियाको पनि छैन, लिङ्ग पनि छैन । किन छैन भन्ने इतिहासको जानकारी मकन छैन । कुनै दिन मेसो मिल्यो भन्या सुमन्त बानियाँबाट जगन्नाथको इतिहास कथा सुनौला । जगन्नाथको यो सानो मौलो चन्दनको काठबाट बन्याको हो भनिन्छ ।”

देवीद्यौताका बारेमा यी प्रसङ्गहरु पढ्दा नेपाली समाजको धर्मको खेस्रा इतिहास पढेझैँ भान भएको थियो । अचेलजस्तो हिन्दू देवीदेवताहरूको पूजापाठभन्दा पनि स्थानीय किसिममा देवीदेवताहरूको प्रसङ्गले धार्मिक इतिहासका बारेमा केही जिज्ञासा मेटेको थियो । नेपाली समाजमा हिन्दू धर्मले ठाउँ पाएको कुरामा अप्रमाणित तर गाउँघरका केही जान्नेसुन्नेले बोलेको सुनेको चाहिँ हो । लिखितरूपमा चेमजोङले पनि धेरथोर लेखेका छन् । त्यसैको निरन्तरता महारानीले पनि गऱ्यो ।

“भारतबाट लखेटिएर आएका हिन्दुहरूले आफू बसेको ठाउँमा मानस देवीदेवताको स्थापना गरेका हुन् भन्ने पनि छ ।” एकपटक एक जना बुज्रुकले कुलदेवताको थानमा कुराकानीका क्रममा भनेका थिए । खस राज्यको विस्तारको समय र भारतमा इस्लामको विस्तारको समय पनि लगभग मिल्न जान्छ । मौलो पुजिने प्रसङ्ग किताबमा उल्लेख भएजस्तै पश्चिम पहाडको पुरानो डोटी राज्यअन्तर्गत (खस राज्य टुक्रिएर बनेको डोटी राज्य) पर्ने डडेल्धुरा जिल्लाको कैलपाल माण्डौ गाविसमा कैलपाल देवताको थान छ । त्यसमा देवताका रूपमा कालो घण्टीको पूजा हुन्छ । त्यस्तै मन्दिरमा जात या जात्रा (यात्राको अपभ्रंश हुनुपर्छ) को बेलामा भण्डारबाट डोला ल्याउने गरिन्छ । डोलाभित्रको कुराका बारेमा जानकारी नभए पनि डोलासँगै चाँदीका भालालगायतका हातहतियार पनि बोकेर ल्याउने गरिन्छ । कैलपाल भनेर पुजिने स्थानीय देवतासँग जोडिएका धेरै किंवदन्तीमध्ये एउटा महारानीमा उल्लेख गरिएजस्तै छ ।

पुर्खाहरूले युद्धको सल्लाह दिएको र युद्धमा हार भएपछि सपनामा कैलीपालले “तेरो सल्लाहमा युद्धमा गएर ज्यान गुमाउनु परेको” भनेर गुनासो गरेको, र त्यसैबेलादेखि कैलीपाललाई देवताका रूपमा पूजा गर्न थालिएको भन्ने छ । बलिया आत्माहरूले नपिराउन् भनेर पूजा गरिने चलनसँग मेल खाने यो स्थानीय कथाले कैलीपाल नाम गरेका शासक खोज्न पनि खुब तल्लीन भएको थिएँ । समस्या भनेको खस क्षेत्रको इतिहास उति सहज रूपमा भेटिँदैन । त्यसैले पनि महारानीजस्ता किताबहरू महत्त्वपूर्ण लाग्छन् ।

“आजकल त लास भष्म गरिन्छ । हाम्रा नदीकिनारमा लगेर जलाउन्या चलन थियान रे । जलाइहाले पनि गाउँभन्दा तलको चिहानडाँडामा लगेर भष्म गरिन्थ्यो रे ।”

यो दाहसंस्कारको विविधता पनि बडो रोचक छ । यसले पनि धार्मिक अभ्यासहरू छुट्याउँछ । या भनौं यसको अनुसार पनि धर्मका बारेमा अनुमान लगाउन सकिन्छ । जस्तो जोरास्ट्रियनहरुले परम्परागत रुपमा शवलाई घाममा चिल र गिद्दको आहाराका लागि छाडिदिन्थे । अन्य किसिमको गाह संस्कारले वातावरण प्रदुषित गर्ने मानिन्थ्यो । मुम्बैका पार्सीहरुले जीवित राखेको यो संस्कारका बारेमा बिबिसीले समेत लेखेको थियो (https://www.bbc.co.uk/religion/religions/zoroastrian/ritesrituals/funerals.shtml) । द फिजिसियन नामक चलचित्रमा पनि शवको चिरफारमा बन्देज भएका बेलामा जोरास्ट्रियनले आफ्नो शरीर प्रयोगका लागि दिएको दृश्यले पनि मृत्यु संस्कारको विविधताका बारेमा जानकारी गराएको थियो । रुढीवादीमा जकडिएको ११ औं शताब्दीको बेलायती समाजबाट उपचार विधि सिक्न इब्न सिना (https://en.m.wikipedia.org/wiki/Avicenna) को सङ्गतमा पुगेका एक युवकको कथा रोचक छ । जे होस् महारानीमा पनि शवदाहको फरक संस्कार पढ्दा रोचक लागेको थियो ।

“निसी मगर राज्य थियो । राजा पनि मगरै प्रजा पनि मगरै । निसीपश्चिम खस राज्यहरू थिए । पश्चिमका खस राजाहरूले जनै घरिवरी क्षत्री भयाछन् । राजा हुन्या सबै क्षत्रीहरूकन ‘ठकुरी भन्न थालिया छ । त्यही सिको गरिकन मगरातका कैयौँ मगर राजाहरूले पनि जनै हाल्याछन् र आफूकन ठकुरी भनाउन थाल्याछन् । निसीको मगर राजा मात्रै जनै नलगायाका बाँकी रह्याछन् ।“

‘पश्चिमका खस सबै क्षत्री ठकुरी भैगया । जनै लगायाका हुनाले हामीसँग बिहेवारी नगर्न्या भया । पूर्वतिरका मगर राजाहरूले पनि त्यही बाटो समात्या छन् । भीरकोटका मगर राजा जनै धरेर ‘शाही, र शाह’ भया छन् । पाल्पा, मकवानपुर, अर्घा, खाँची र तनहुँका मगर राजाहरू ‘सेन ठकुरी भयाछन् । जनै धरिकन ठकुरीमा दरियाका पूर्वेली मगरहरूले हामीसँग चेलीबेटी लिनुदिनु नगर्न्या भए । …२१५

महारानीले छोएको अर्को पाटो जात व्यवस्था पनि हो । बेलाबेला पृथ्वीनारायण शाहको किराँती पृष्ठभूमिको पनि चर्चा हुने गर्छ । चेमजोङले पनि हिन्दुकरणको इतिहासमा धेरै पैसावाल पैसा खर्चेरै पनि हिन्दु भएका भन्ने लेखेका छन् । गोत्र परिवर्तन त पृथ्वीनारायण शाहले पनि गरेको भन्ने छ । यसले पनि जातलाई जसरी एक शुद्धताको परिचायक या कुलीनताको सूचकको रुपमा हेरिन्छ, त्यो गलत हो भन्ने देखाउँछ । अरू त अरू यो जमानामा पनि नाममा “ठकुरी” या “राज्यलक्ष्मी” अनि “विक्रम”, आदिको फुर्के जोड्नेका लागि महारानीमा उल्लेख भएको जातको प्रसङ्गले घैंटामा घामको काम गर्न सक्छ । हामी ठिमाहाहरूले एकअर्काभन्दा विशेष हुन जातको साहरा या नाममा अनेक फुर्का जोडिरहनु आवश्यक छैन ।

यी इतिहासका प्रसङ्गले महारानीलाई केही सुस्त त बनाएको छ तर यसले निकै महत्त्वपूर्ण कुराहरूलाई अभिलेखीकरण पनि गरेको छ । क्याप्सुलमा गुलीयो तहमुनि टर्रो औषधी लुकाएजस्तै यसले एक आख्यानको आवरणमा खस इतिहास पस्केको छ । त्यस उसले पनि यो किताब पठनीय छ । महारानीका बारेमा निकै अघिदेखि लेखौंला भनेको कुराहरूमा यी कुराहरू नछुटाउनु पर्ने थियो । समाजमा विभादन र विभेदको आधार बनेको जात र धर्मको अनि हामीले बनाएका देवताको कथाले अवस्यै पनि पाठकहरूलाई जिज्ञासु बनाउँला र सत्यको खोजीका लागि उत्प्रेरणा थप्ला । एक पाठकलाई पनि त्यसो हुन गयो भने यो लेखाइले सार्थकता पाएको मान्नेछु ।

अस्तु !